Sunday, October 18, 2009

दिदी फेरी रुने भईन्


तिहारमा माइत जान, दिदी औंला भाच्दै होलिन ।
मनका कुरा मेलापातमा, सङीसँग साट्दै होलिन ।

भाइको लागि माला भनी, फूलहरु उन्दा उन्दै
प्रदेशी यो भाइको चिठ्ठी, दोहोर्याएर पढ्दै होलिन ।

सयपत्री, मखमली र, जमरा'नि छरिन रे
ओइलिएको फूल हेर्दै, आसुँ धारा झार्दै होलिन ।

बर्षभरी भाइ आउने, निकै आशा गर्दै थिइन् रे
खाली खाली आँगन देख्दा, बेस्सरी दुख्दै होलिन ।

पिडा थप्दा भाईटिकाले, पोहोर झै यो साल पनि
सधैंभरी आफ्नै भाग्य, खोतैखोत सोच्दै होलिन ।

उज्यालो त्यो जन्मघर, अन्धकार देखे पछी
हाँस्दै हाँस्दै आउने दिदी, रुदै रुदै फिर्दै होलिन ।
18 Oct,'09
भाइटिकाको दिन

Friday, October 16, 2009

बालस्म्रिती र तिहार

जब जब कुनै चाडपर्ब नजिकिदै आउछ, तब तब म मेरा ति वाल दौतरीहरुलाई कहिल्यै नछुताइ सम्झिरहेको हुन्छु । उनिहरुको याद र बालापनको दिनहरु सम्झेर एक्लै रोमान्चित बनिरहेको हुन्छु । दशै आउथ्यो, माघी संक्रान्ती आउथ्यो, होली आउथ्यो, हामी खुब खुशी हुन्थ्यौ । बर्षभरी चाड पर्बहरु अनगिन्ती नै पर्ने भए पनि हाम्रो लागि भने तिहार अरु चाडभन्दा अली बिशेष पर्ब हुन्थ्यो । धेरै पर्खाइ पछी दसैं मनाइ सकेर हामी तिहार कहिले आउँला भनी निकै आतुर हुन्थ्यौ । साँझ औंला भाच्दै निदाउथ्यौ, बिहान ओछ्यानमै अब एक दिन कम भएकोमा खुशीले रमाइरहेका हुन्थ्यौ । हाम्रो खुशी नयाँ कपडा, मासुभात वा भाईटिका मात्र हुँदैन्थ्यो । तिहारलाई ब्यग्रतापुर्बक कुर्नुको कारण त गाउँभरिका सबै साथीहरु मिलेर देउसीभैलो खेल्दै रमाइलो गर्न पाउनुमा थियो । एक बर्षमा एकचोटि आउने यो अबसर सके सम्म कसैले पनि छुटाउन चाहन्नथ्यौ । कहिले काही कसैलाई आमासँग मामा घर जानु पर्ने हुन्थ्यो त कसैलाई कुनै त्यस्तै पारिवारिक जमघतका लागि परिवारसंगै जानु पर्ने हुन्थ्यो । तर पनि हामी रोएर भए पनि एक्लै साथीहरुको घरमै बस्ने गरी जिद्धी गर्ने गर्थ्यौ । सबै साथीहरु सँग तिहारको त्यो रमझम मनाउनुमा रमाइलो त हुने नै भयो अर्को कारण पनि हुन्थ्यो । यदी तिहारभरी समुहमा सहभागि भइएन भने पछी साथीहरुले आफुसँग नमिलाउलान भन्ने डर हुन्थ्यो । उनिहरुले सँगै खेल्न नदिलान र को सँग खेल्ने भन्ने चिन्ता पनि हुन्थ्यो । त्यसैले हामी सबैजनाले पहिल्यैबाट घरमा तिहारभरी आफु कतै पनि केही गर्न नजाने बरु जे गर्नुछ तिहार अगावै गर्न तयार रहेको कुरा राख्थ्यौ । जे होस्, जसरी भए पनि हामी साथीहरुसँग नै तिहार मनाउने प्रबन्ध मिलाउथ्यौ । जसोतसो हामीले भनेको जस्तै हुन्थ्यो, जित सधैं हाम्रै हुन्थ्यो । घरबाट पनि सबैनजालाई स्वतन्त्र नै छादिदिनु हुन्थ्यो ।

हाम्रो एउटा ‘बाल संगठन’ थियो । प्रत्येक वडामा एउटा बाल संगठन बनाएका थियौ र ति सबैलाई हेर्ने गरी एउटा ‘मुल बाल संगठन’ बनाएका थियौ । मुल संगठनको काम वडा संगठनको निर्माण र रेखदेख गर्ने, चाडपर्ब अनुसार केही शारीरिक, सांस्कृतिक र साहित्यिक प्रतिस्पर्धात्मक कार्यक्रम 'सेट' गरेर आयोजना गर्ने, गाउँमा एक्लो बुदा-बुदीहरुलाई खेतमा श्रम सहयोग गर्ने र अर्को गा.बि.स. को मुल संगठनसँग सम्बन्ध बदाउने र राम्ररी समन्बय गर्ने । हाम्रो संगठनको प्रमुख उद्देश्य चाँही हामी बालकहरु समाजसेवा प्रती प्रेरित हुनु तथा शारीरिक र बौदिक बिकास गर्नु थियो । सबै जनाको आत्माभित्र ‘हामी भबिश्यका कर्णधार हौ, देशका खम्बा हौ’ भन्ने भावना बलिरहेको हुन्थ्यो । म त्यही मुल संगठनको सचिव थिएँ । हामीलाई सल्लाह र सुझाव दिने गाउँका दाइ-दिदिहरु हुनुहुन्थ्यो । एक पटक गंगा पुनलाई प्रमुख अतिथी बोलाएका थियौ । एक नम्बर वडा (माडिचौर) का अध्यक्ष कुल प्रशाद बुढा थिएँ । दिलमाया पुन पाँच नम्बर (ओङ्वाङ) का सकृय सदस्य थिइन् । उनिहरु तिनै जना अहिले हाम्रो माझमा छैनन् भन्नु पर्दा मलाई निकै दु:ख लागिरहेको छ । यद्धपी उनिहरुले देख्न चाहेका गणतन्त्र, संबिधानसभा र अपुर्ण शान्ती आज देशमा देख्दा औधी खुशी पनि लाग्छ । भन्नै पर्छ, उनिहरुले देशको लागि गरेको धेरथोर योगदान खेर गएको छैन । रगतले लेखिएको यो ईतिहास हामीले यत्तिकै मेटिएर जान दिनु पनि हुँदैन ।

हामीले सबै चाडपर्बमा केही न केही कार्यक्रम त गरिरहेका नै हुन्थ्यौ तर बिशेष गरी तिहारमा हामीले सबै संगठन एउटै समुहमा मिसिएर देउसी-भैलो खेल्ने गर्दथ्यौ । तिहार आउनु केही दिन अघीदेखी नै ‘रिहर्सल’ गर्न सुरु गर्ने गर्थ्यौ । सबैलाई क्षमता अनुसार, घरबाट पायक पर्ने र समयले पनि साथ दिन सक्ने गरि जिम्मेवारी दिइन्थ्यो । कसैलाई खैचडी-मादल तयार पार्ने, कसैलाई भत्याउने तयारी गर्ने, कसैलाई हामी पुग्ने ठाउँमा खाने बस्नेको पहिल्यै ब्यबस्था गर्ने, कसैलाई रातिको लागि लाल्तिन र तर्च खोज्ने, नाँच्ने गाउँनेलाई भने त्यस्तो केही पर्दैनथियो । मेरो भागमा सधैं नै गीत लेख्ने पर्थ्यो । मैले पनि सके जती, आफ्नो बालमस्तिष्कले भ्याए सम्म राम्रो गीत लेख्ने प्रयास गर्दथें । हाम्रो समुह धेरै ठुलो हुन्थ्यो, करिब चालिस पैतालिस जना जति बालबालिकाहरुको बेग्लै देउसी समुह । हाम्रो तोलीका सबै साथीहरु लक्ष्मी पूजाको दिन आ-आफ्नो घरमा खाना खाएर जंकोटमा जम्मा हुन्थ्यौ । सबैले केही न केही जिम्मा लिउनु पर्ने हुन्थ्यो । फुल र पाटी लगाउनेले फुल र पाटी, गीत गाउनेले गीतको कापी, भत्याउनेले भत्याउने लेखिएको कापी, दानदक्षिणा उठाउनेले हिसाबकिताब, झोला सम्हाल्ने, लाल्तिन बोक्ने,.. यस्तै यस्तै । भत्याउनेमा प्राय: कुम बहादुर र नौल सिंह हुन्थे । गीत गाउनेमा श्याम, ज्ञान, बुद्धी, सुशिला, श्यामकला,.. हुन्थे । नाच्नेमा ईन्द्रजीत, अर्जुन, पवित्रा, जुनमाया, सुनु, दुर्गा, डम्बर,.. हुन्थे । मुरली धिरोजले राम्रो बजाउथे । चार दिनका लागि सबैभन्दा राम्रो मादल मेरो जिम्मामा हुन्थ्यो । हात सुन्निएर दुख्नुको सत्ता चिलाउने गर्दथ्यो । त्यसैले झन जोड जोडले थताउने गर्दथे । खैचडी र अर्को मादल अरुले पालै पालो बजाइरहेका हुन्थे । देउसी खेल्दा सबैजनाले एउटा घेरामा घुम्दै खेल्ने र बिच बिचमा नाच्ने गर्दथ्यौ । हामी जहाँ जहाँ पुग्थ्यौ सबैले हामीलाई दियो बालेर स्वागत गर्दथे । केही घरलाई मिलाएर एउटै ठाउँमा खेल्थ्यौ जस्ले गर्दा हामीलाई समयको बचत हुने गर्दथ्यो भने हेर्नेहरुले हामीले देखाएको बाहेक उनिहरुको रोजाइको मान्छेबाट धेरै गीत सुन्न र नाच हेर्न पाउथे । गाउँमा हाम्रो तोली कहिले कहाँ पुग्छ र कहिले उनिहरुको गाउँमा आउछौ भनेर सोधेर कुर्ने गर्दथे । । सानो सानो समुह बनाएर घुम्नु भन्दा यसरी सबैजना मिलेर अर्को बर्ष पनि आउन आग्रह गर्दथे । केस फुलेका बुदाबुदीले समेट मन खुलाएर हाम्रो प्रसंसा गर्दथे । हामीसँगै नाच्दै र गाउदै प्रोत्साहन दिने गर्दथे । दक्षिणा पनि हासिखुशी सबैले सकेजती दिने गर्दथे । हामीले दक्षिणा धेरै दिन कहिल्यै पनि जबर्जस्ती कर गरेनौ । जती जे जे दिन्थे, खुशीले तिहारको आशिष दिन्थ्यौ । हामीले हिडिरहदा गाउँने छुट्टै गीत बनाएका हुन्थ्यौ र बाटोमा हिडिरहेको बेला पनि गाउदै हिंड्ने गर्दथ्यौ । हामीले कुन दिन कुन कुन ठाउँ कहिले पुग्ने र कति समय खर्चिने भन्ने पहिल्यै निश्चित गर्थ्यौ । प्राय त्यसदिन कोर्चाबाङ गा.बि.स.को घापामा बास जान्थ्यौ । अर्को दिन त्यहा सके जती भ्याएर कोतगाउँ गा.बि.स.को माडिचौर बास बस्न पुग्थ्यौ । त्यहाबाट बिहानै उठेर सबैजना आ-आफ्नो घरतिर जान्थ्यौ र भाइटीका मनाइ सकेपछी फेरी माडिचौरमा नै भेला भएर देउसी खेल्न सुरु गर्थ्यौ । कोतगाउँ माडिचौर र जंकोट माडिचौरमा दुई दिन खेलिसकेर चौथो रात जंकोटतिर उक्लिने गर्थ्यौ । अन्तिम दिनको बिहान सधैं बामरुप, ओङ्वाङ र दहखोलाबाङ, साँझतिर जंकोट गाउँमा नै खेलेर रातितिर सम्भव भए साँस्कृतिक कार्यक्रम राख्ने गर्थ्यौ । तिहार सकिसके पछी अर्को दिन भोजको आयोजना गर्ने गर्दथ्यौ । भोजको सम्पूर्ण ब्यबस्था सँगसँगै, खेल्ने, नाच्ने, गफ गर्दै रमाइलो गर्ने र साँझतिर हाम्रो देउसीभैलो बारे समिक्षा हुन्थ्यो । आफुबाट भएका कमी कमजोरी स्विकारेर आत्मआलोचना गर्ने राम्रो चलन पनि बसाएका थियौ । त्यही दिन नै देउसीभैलोबाट उठाएको जम्मा पैसा र प्रत्येक वडालाई कती कती बिभाजन गर्ने र संगठनका लागि के के सामान कती कती मुल्य सम्ममा खरिद गर्ने भन्ने सल्लाह गर्थ्यौ । त्यसपछी अब आउने पर्बमा अझै राम्रो कार्यक्रम चलाऊने सहमतिका साथ हामीहरु छुट्टीन्थ्यौ ।

तिहार अबधी भर निकै रमाइलो हुनुका साथै पैसा पनि निकै उठाउथ्यौ । त्यही पैसाले पछी खेलकुदका सामाग्री किन्ने र अत्ती गरीबहरुलाई सहयोग दिने गर्थ्यौ । यदी कसैले प्रगतिशील विवाह गरेमा केही उपहार लिएर बधाई दिन पुग्थ्यौ । बाँकी पैसा कसैले चलाऊन चाहेमा ब्याजमा ऋन दिन्थ्यौ । गाउँमा हामी सबैको तारिफ हुन्थ्यो । हामी सबै १२ /१३ उमेरमा हिडिरहेका केटा-केटी थियौ । त्यतिबेला ठुलाहरुले "तिमीहरु यती सानो उमेरमा त यस्तो छौ, यसरी नै प्रगती गर्दै गयौ भने पछी धेरै बिकास गर्न सक्नेछौ " भन्ने बेला त्यस्तो खासै केही नगरेको जस्तो लाग्थ्यो तर अहिले आएर सोच्नेबेला केही त गरिएकै रहेछ नि भन्ने लाग्छ । यसरी ति बालापन र दौतरीहरुलाई सम्झिदा अहिले पनि मन खुशीले गदगद हुन्छ । फेरी त्यो प्रयासलाई सफलतातिर दोर्याउदै निरन्तरता दिन नसकेकोमा आँफैप्रती धिक्कार पनि लागेर आउछ । अहिले म यहाँ एक्लै छु, अरु साथीहरु पनि गाउँमा त्यसरी नै देउसीभैलो खेल्दै रमाइरहेका छैनन् । सबैले आ-आफ्नो भबिश्यको जिम्मेवारी बोकेर संसारको कुनाकाप्चा तिर रुमल्लीइ रहेका छन् । अहिले त हाम्रो त्यो गाउँ हामी बालकहरुले हैन कतिपय मेरा दौतरीका लालाबालाहरुले पो भरिपूर्ण बनाइरहेका छन् । सोच्दा पनि कती रोमान्चकारी कुरो !

अहिले सानोमा जस्तो आफ्नो खुशीमा तिहार गाउँमा गएर मनाउन पनि पाइदैन र गाउँ जान सकिए पनि सबै साथीहरु जुतेर भैलो खेल्दै हिंड्ने मौका मिल्दैन । समयले समाजलाई परिवर्तन गरिरहन्छ, मान्छेलाई बदलिसकेको हुन्छ । त्यसरी नै रमाइलो गर्न त्यो बालापन फर्काउन सम्भव नभए पनि अहिले सम्झनालायक बनाएकोमा र केही न केही रुपमा अर्थपूर्ण बनाएकोमा हर्षित छु । हाम्रो बालापनको यो अतित अब मिठो सम्झना बनेर सधैं रहिरहनेछ । दौतरीहरु टाढा-टाढा भए पनि भुल्न नसकिने यस स्मरणले एक्लै हसाइरहनेछ, कहिले काही रुवाइरहनेछ । तिहारको यस पावन अबसरमा मेरो दौतरीहरुलाई जहाँ जस्तो सुकै परिस्थितीमा जीवन संघर्षको खेल खेलिरहेको र जितिरहेको भए पनि यो वालदौतरीले मुटुभरिको सम्झना सहित हृदयदेखी नै दिपावलीको लाख-लाख शुभकामना दिन चाहन्छ । सफलतातिर बदेका कदमहरु निरन्तर अगाडि बदिरहेको हेर्न चाहन्छ । सम्पूर्ण दौतरीहरुले आ-आफ्नो जीवन हाँसि-खुशी बिताइरहेको हेर्न चाहन्छ । अनी आफ्नो मुल्यवान समय खर्चेर मेरो ब्लगमा पाल्नु हुने सम्पूर्ण परिचित अपरिचित दाजुभाइ एवम् दिदीबहिनीहरुमा पनि तिहारको उपलक्ष्यमा जीवनभरी सधैं सुख शान्ति छाइरहोस् भन्ने कामना गर्न चाहन्छु ।
16 Oct,'09

Wednesday, October 14, 2009

अचेल किन मेरो जंकोट

भरिपूर्ण मेरो जंकोट, किन अचेल खाली भा'छ ।
शान्तिको गीत गाउदा'नि, दुनियाको गाली पा'छ ।

थरी थरिका फूल फुलाउने, सिपालु माली भा'थ्यो
अचेल किन मेरो जंकोट, खडेरीको वाली भा'छ ।

अस्तीसम्म ओत लाग्ने, अप्ठ्यारोको पाली भा'थ्यो
अचेल किन मेरो जंकोट, फोहोर फाल्ने नाली भा'छ ।

आफ्नो-पराइ सबै चिन्ने, अरुको सधैं ताली पा'थ्यो
अचेल किन मेरो जंकोट, च्यातिएको चाल्नी भा'छ ।

कवच बनी बाण छल्ने, रुखको डाली भा'थ्यो
अचेल किन मेरो जंकोट, शिकारीको थाली भा'छ ।

जीवन मरणको धरापमा, न्यायको मुली भा'थ्यो
अचेल किन मेरो जंकोट, असत्यको फुली भा'छ ।

खुनै खुनको कुलो बग्दा, खेतालाको फाली भा'थ्यो
अचेल किन मेरो जंकोट, जमिन्दारको हली भा'छ ।

मेरै गीत देश बिउझाउने, समानताको चाली भा'थ्यो
अचेल किन मेरो जंकोट, मुखियाको जाली भा'छ ।

भरिपूर्ण मेरो जंकोट, किन अचेल खाली भा'छ ।
शान्तिको गीत गाउदा पनि, दुनियाको गाली पा'छ ।
13 Oct, '09

Monday, October 12, 2009

म त लाहुरे

बुवा लाहुरे हुनुहुन्थ्यो, थुप्रै काकाहरु पनि लाहुरे हुनुहुन्थ्यो । पछी दाजु पनि लाहुरे हुनुभयो, गाउँका अरु छिमेकी दाजुहरु पनि लाहुरे हुन थाल्नुभयो । लाहुरे जीवन बाहिरी रुपमा हेर्दा जतीसुकै सुन्दर लागे पनि लाहुरे भएर कती बाध्यतासँग जुध्नु पर्छ भन्ने मैले नजिकबाट देखेको छु । लाहुरेको परिवार जतिसुकै सम्पन्न र सुखी देखिए पनि भित्री रुपमा कती पिडा लुकाएर हाँसिरहेको हुन्छ भन्ने मैले जन्म जात नै भोग्न थालेको हुँ । एक जना लाहुरे वा लाहुरेको परिवार हुनु नै अरुले नभोगेको एउटा फरक पिडादायी अनुभुतीलाई आत्मसात गर्नु हो । घरको मुल मान्छे भए पनि सानो बालक भए पनि, हरेक पल आफ्नो पूर्ण परिवारको खोजी गरिरहन्छ । अझै चाडपर्बको बेला त सबैको हृदयमा नदेखिने गरी सन्नाटा छाइरहेको हुन्छ । र पनि, उता लाहुरे प्रदेशमा आँशुले अनगिन्ती रुमाल बिझाए पनि चिठ्ठीमा लेखिरहेको हुन्छ," मैले त यसपालिको पर्ब निकै रमाइलो गरेर मनाएँ ।" यता परिवारले जबर्जस्ती पत्रको जवाफ लेखिरहेका हुन्छन," हामीले एकदम धुमधामका साथ मनायौं ।"

म स्कुलमा पढिरहेको बेला दशै तिहारको बिदामा रोल्पा गएको थिएँ । भाईटिकामा माहिला दाजु र म मात्र जेठी दिदीको हातबाट टिका थाप्यौ । जेठा दाजु यु.के. मा हुनुहुन्थ्यो भने कान्छी दिदी घरमा साथै रहे पनि महासमरको यात्रामा हुनुहुन्थ्यो । हाँसि-खुशी टिका लगायौं तर पनि मेरो मन कता कता जेठा दाजुलाई सम्झिरहेको थियो । शायद भित्र भित्रै सबैलाई केही न केही अभावको महशुस त हुदो हो तर पनि समयलाई बुझेर चित्त बुझाउनु पो ठुलो कुरा हो । त्यही दिन घरको उपल्लो तलामा गएर म आँफै प्रदेशमा युद्ध लडिरहेको लाहुरे बनेर एउटा गीत लेखेको थिएँ । आज पुरानो डायरी पल्ताउदा त्यही गीत देखेर तिहारको बेलामा यहाँ राख्नु उचित नै होला ठानेर जस्ताको त्यस्तै राखेकोछु ।

गीत
---

तिम्रो भाई परे दिदी म त लाहुरे
तिम्रो दाई परे बहिनी बिदेशको बाहुरे

पूर्वको किरण दोकैमा परे ( दिदी भाई आउछु पर्खिनु )२
सुर्यको छाँया धुरिमा देखे ( बहिनी दाई फर्किन्न सोच्नु )२
युद्धको आवाज कानमा परे ( दिदी भाईटिका नगन्नु )२
बन्दुकको गोली पोकोमा ल्याए ( बहिनी वारीको फूल नचार्नु )२
तिम्रो भाई ....
तिम्रो दाई ....

म आएँ भने दिदी र बहिनी गुन्युचोलो साटौंला
लडाईंमा परें दुश्मनलाई जित्दै सकेमा म बाँचुला
गोली नै खाएँ नरोएरै ( दिदी बुवा आमा सम्हाल्नु )२
प्रदेशमै मेरो रगत सुके ( बहिनी भाईलाई सम्झाउनु )२
तिम्रो भाई ....
तिम्रो दाई ....

मेरो दल्के टोपी भुलेर पनि ( दिदी भान्जालाई नदिनु )२
मायाले मेरो पिरोल्दा पनि ( बहिनी बदला नसोच्नु )२
भाईटिकामा अरुलाई देख्दा ( दिदी आसुँ नझार्नु है )२
सुनसान देखी माइतलाई कहिल्यै ( बहिनी माया नमार्नु है )२
तिम्रो भाई ....
तिम्रो दाई ....

०५९-०७-२० भाईटिकाको दिन
( लाहुरेको कठोर चिनारी भए पनि कोमोल भावना र माटो प्रेम सधैं मुटु भित्र सँगालेर तितो यथार्थलाई सहिरहेको हुन्छ ।)

Sunday, October 4, 2009

फरक ति र यि दिनहरु

१ अक्टोबर, चिनिया कम्युनिष्ट पार्टी सत्तामा आएको ६० बर्षको अबसरमा चिनिया जनता देशैभरी भब्य उत्सब मनाइरहेका छन् र जताततै खुशीयाली छाइरहेकोछ । हाम्रो युनिभर्सिटीमा भएको झण्डात्तोलन कार्यक्रममा म पनि सरीक भएँ । बेइजिङमा जनमुक्तिसेनाले देखाएको लाल परेड पनि युनिभर्सिटीले ब्यबस्था गरेको प्रोजेक्टरमा प्रत्यक्ष प्रसारन हेरेँ । अघिल्लो बर्षहरुमा जहिले एक हप्ता राष्ट्रिय बिदा हुन्थ्यो यसपाली भने स्वाइन फ्लुको संक्रमन रोक्न भनेर अहिलेको बिदा पछी जनवरीमा हुने जाडो बिदामा दिने गरी अफिसले मिलाएकोछ ।

पोहोर साल बिदा पाएका थियौ । साथीहरुसँग यही मौकामा चाइनाको पुरानो राजधानी नान्जिङ घुम्न जाने र त्यहिबाट चर्चित सुचाउ पार्क हुँदै एसियाको न्युयोर्क भनिने साङ्घाई शहर घुमेर फर्किने निधो गर्यौ । हाम्रो योजना मुताबिक दुई तारिख साँझको बस चदेर नान्जिङ प्रस्थान गर्यौ । हामी नयाँ ठाउँ घुम्न र साथीहरुलाई भेट्न पाएकोमा साह्रै हर्षित थियौ । ति ऐतिहासिक ठाउँहरु हेर्न निकै उत्साहित पनि थियौ । नान्जिङमा एरोमेटिक्स पद्ढै गरेका साथीहरु पनि थिए । सल्लाह अनुसार हामी उनिहरुको होस्टेलमा पुग्यौ । तीन तारिखको दिन भरी नान्जिङ घुम्यौ । साथीहरुसँग निकै रमाइलो भयो । साँझ उनिहरुकै होस्टेलमा गएर सुत्यौ । म अरु साथीहरु भन्दा राती अली चाडै सुतेको थिएँ । अरु साथीहरु कोही ३ बजे कोही ५ बजे तिर सुतेछन । त्यहा जहिले पनि त्यसरी नै बिहान तिर मात्र सुत्ने गर्दा रहेछन । बिहान सुतिरहेकै बेला आठ बजेतिर मेरो मोबाईल बज्यो । उठेर नम्बर हेरें, बाहिरबाट आएको रहेछ । एकछिन तर्सिएँ, किन कि बिहान मेरो फोन बिरलै मात्र आउथ्यो । मैले पनि फोन गर्ने बेलामा जहिले साँझको समयमा मात्र गर्ने गदथेँ । फोन उठाएँ, जेठा दाजुले ब्रुनाइबाट गर्नु भएको रहेछ । "कान्छा, बुवा ठूली आमाको १३ दिने काजकृयामा जानु भएको थियो रे । दुखिरहेको टाउको त्यहा झनै दुख्न थालेपछि सबैजनाले मिलेर राती घरमा लिएर सुताएछन । बिहान बुवा अचेत हुनु भएछ । बोल्ने चल्ने केही गर्नु हुन्न रे। अहिले बोकेर सिमलवाङ तिर लिएर आउँदैछन रे, अहिले फोन गरेको लाग्दै लागेको छैन । तिमीलाई थाहा भएको राम्रो डाक्टर कोही छन भने त्यही लग्न भन्दिन्छु ।" दाजुको एकोहोरो कुराले म छिन्नभिन्न हुन्छु । र पनि भन्छु," मैले पनि फोन लगाउन प्रयास गर्छु । यदी लाग्यो भने तपाईंलाई पनि खबर गर्नेछु । डाक्टरको बारे साथीहरु सबैसँग एकचोटि राम्ररी सोधेर फोन गर्छु ।"

जुलाईमा म चाइनाबाट नेपाल गएँ । अगस्त सुरुतिर जेठा दाजुका सबै परिवार ब्रुनाइबाट आउनु भयो । रोल्पा घर गयौ, इष्टमित्रलाई भेट्यौ, गाउँघर घुम्यौ र भ्याए जती जन्मस्थलका बनपाखा हेर्यौ । आफन्तहरुले खुवाउन बोलाएर घरमै राम्ररी बस्न पाएनौ । नजाउ भन्दा पिर मान्ने, सबैकोमा जाऔ भन्दा भ्याउदै नभ्याउने । एकदिनमा दुई घर पुगेर पनि सकेजती धेरैकोमा पुग्यौ तर पनि धेरै जनाले नगएकोमा गुनासो गर्नु भयो । समय अपुग भएकोले सहोदर मामा र जेठी दिदिले समेट् घरमा बोलाएर खाना खुवाउने धोको पुरा हुन सकेन । अगस्त अन्तिम २४/२५ तिर घर छाड्यौ । हाम्रो सबै परिवार घरबाट हिंडेर सादे एक घण्टा लाग्ने दाजु भाउजुकोको माइत माडिचौरमा बास बस्ने कुरो थियो । तर अन्तिममा आएर बुवाले टाउको पनि दुखिरहेको र उकालोमा फर्केर आउन पनि गाह्रो हुने भएकाले अली नजाने मन गर्नुभयो । त्यसैले आमा, दुई दिदी, दाजुभाउजु, भतिजिहरु र भान्जाभान्जिहरु माडिचौरतिर हिड्यौ । घर निरको सानो थुम्को कताउनै लाग्दा जेठि दिदिले चिन्ता मिश्रित स्वरमा भन्नुभयो," बुवालाई हेर त, यतै हामीलाई हेरिरहनु भएको छ । एक दुई दिनलाई मात्र झुल्केर फर्किन आट्यौ । नातिनिहरुको पिरले बुवा यहाँ एक्लै टाउको दुखेर बिरामी परी तलमाथि हुनुहोला र हामी एक्लै के गर्ने हो । कोही पनि छोराबुहारी घरमा छैनौ ।" कान्छी दिदिले थप्नुभयो," पक्कै पनि एक न एक दिन त्यस्तै हुने त होला नि । नजिक भए पो चाडै खबर पनि पुग्छ र आउँलान ।" मैले फर्केर घरको दोकातिर हेरें । दोका बन्द रहेछ । बुवा आँगनको दुँगामा बसेर हामीतिर हेर्दै सुल्पामा तमाखु तानिरहनु भएको थियो । मैले अन्तिम पटक बुवालाई उभिएर हेरेँ, अनी मन मनै भगवान सँग प्रथाना गरेँ, मेरो बुवालाई मैले यही स्वस्थ अवस्थामै फेरी भेट्न पाउँ ।

म १३ बर्षको हुँदा पहिलो पटक बुवाआमाको काखभन्दा टाढा भएँ । ५ बर्ष पनि नपुगेकी सानी भतिजि मनिषासँग घरपरिवारबाट टाढा रहेर जिप्सको होस्टेलमा बसेर पढ्न थाल्यौ । जुन दिनदेखी म पहिलो पटक घर छाडे त्यही देखिन् नै मेरो आसुँ कहिल्यै नरोकिएर झरेको झरेइ छ । जब म एक्लै टाढा हुन्छु, सोचिरहेको हुन्छु, अर्को पटक घरबाट निस्कदा नरोएर नै निस्कन्छु । मेरो आसुँ बहेको देखेर मेरी सानी भतिजी रुन्छिन्, हाम्रो आसुँ देखेर कोमोल मनकी हाम्री बज्यै-आमा रुनुहुन्छ । म हाँसी हाँसी बिदा हुन्छु, आसुँ देखाउदिन सोच्छु,तर आसुँ थाम्न कहिल्यै सकिन । जब स्कुलमा बिदा नजिक नजिक आउन थाल्थ्यो, जहिल्यै मनमा एउटै कुरा खेलाइरहन्थेँ," म घर पुग्ना साथ बुवाआमाको खुट्टा दोघ्छु, बिदा सकेर फर्कदा अलिकती पनि अध्यारो मुख नलगाएर नै स्कुल फर्किन्छु ।" तर मैले दुबै काम कहिल्यै गर्न सकिन, दाङमा पढिरहेको बेला होस् या काठमाडौंमा । चाइनाबाट पनि त्यही सोचेर गएको थिएँ तर बुवाआमाको अगाडि पुग्ना साथ म यती अधैर्य हुन्छु कि ति औपचारिकताका कुराहरु सबै बिर्सिदिन्छु । जब बिदा सकिएर घर छाडेर जाने दिन नजिकिन थाल्छ, मन गह्रुङो भएर आउछ । हाँस्दा हाँस्दै पनि आसुँहरु आँफै झर्छन । सबै भन्दा दुख्ने भनेको बुवाआमाबाट टाढा हुनुले नै हो, त्यो भन्दा पनि अझै दुई दिने जिन्दगीमा कतै फेरी भेट पो हुन नपाईने पो हो कि भन्ने भय नै हो । मेरो ति भयहरु अनाबश्यक लाग्थेनन् कहिल्यै पनि, किन कि कालले कतिखेर कस्लाई तिपेर लाने हो अनिश्चित छ । मृत्‍यु अबश्य हुन्छ र पनि मलाई मृत्‍यु स्विकार्न मलाई चेतना भएदेखी नै निकै गाह्रो लाग्ने गर्दछ । पोहोर साल पनि घरमा बुवालाई एक्लै छाडेर हिंड्नु पर्दा मन भित्र भित्रै कुदियो तर आसुँ झरेन । शायद बुवा बाहेक अरु परिवार सँगै निस्केको कारणले घर छाड्दैछु भन्ने महशुस भएन होला । हो, अहिलेसम्म एक पटक मात्र मेरो आँखाबाट आँशुको बलिन्ध्र धारा झरेन, सिर्फ एकपटक मात्र अहिलेसम्म । अर्थात बुवाबाट टाढा हुने बेला एक पटक मात्र भए पनि मेरो आसुँ झारेन, उहाँले मलाई हाँसी हाँसी आफ्नो झोला बोकेर टाढा भएको देख्नुभयो । लागेको थियो, अब मैले आफुलाई बलियो बनाउन सकेछु ।तर त्यो आसुँ माडिचौर आएर आमासँग छुट्टीने बेलामा नराम्ररी पोखियो । दाइको फोन सँग संगै फेरी रुन थाल्यो निरिही मन आँशु बनेर ।

साथीहरु सबै सुतिरहेका थिए । उनिहरुलाई उठाएर पनि के नै पो गर्न सकिन्थ्यो र ! निकै बेचैन भएँ । बल्लतल्ल १२ बज्यो । साथीहरुलाई अब चाँही उठाउन थालें । संगै गएका साथीहरुलाई सबै बताएँ । नान्जिङका साथीहरुलाई केही पनि भनिन । फोन कार्ड जसरी पनि खोज्दिन आग्रह गरेँ । फोन कार्ड त पाएँ तर जती फोन गर्दा पनि लागेन । न ब्रुनाइ लाग्छ, न रोल्पा, न दाङ, न भेनाको मोबाईलमा । भित्र भित्रै होस्टेल फर्किने मन भए पनि साथीहरुसँग गएको फरक्क फर्केर आउँदा पनि उनिहरुलाई नरमाइलो हुने । घुम्न त झन रहर हुने कुरै छैन । फोन लगाउन कती प्रयास गरे तर एकचोटि पनि कतै लागेन । संपर्क हुने बेलामा दाइले बुवाको पछिल्लो स्थिती बारे जानकारी दिनुहुन्थ्यो । अन्त्यमा एउटै बिकल्प देखें, हेनानमा रहेकी साथी सुस्मितालाई फोन गर्न लगाउने । उनले रोल्पा गरिन्, काठमाडौं गरिन्, ब्रुनाइ पनि गरिन् । सबै कुरा सोधेर मलाई भन्दै गर्थिन । नान्जिङ्का साथीहरुले गफ गर्न कर गर्थे । साथीहरुलाई भन्दा मोबाईलमा धेरै टाईम दिएकोमा गुनासो गर्थे । 'सेन्टि मूड' नगरि अली रमाइलो गर्न भन्थे तर मैले जसो तसो टारिदिन्थे । ५ तारिख सुचाउ हुँदै शांघाई जाने पूर्वयोजना क्यान्सिल गरेर सबै साथीहरुले युनिभर्सिटी तिर नै फर्किने सल्लाह गर्यौ । नान्जिङ्का साथीहरुलाई समय मिले अर्को पटक घुम्न आउने बताउदै बस खोज्न गयौ । बल्ल बल्ल एउटै बस भेट्यौ र चदेर वेइफ्याङ फर्क्यौ । बाटोमा दाइले फोन गर्नुभयो । सुस्मिताले पनि गरिरहन्थिन । स्लिपिङ बस थियो । साथीहरु गफ गर्दै थिए, म अर्कोतिर फर्किएर बेस्सरी रोएँ । अरुको लागि त्यो आन्शुको कुनै महत्व थिएन, सिर्फ निरर्थक आसुँ तर मेरो लागि भने त्यो एक्लोपनको साहरा र उकुसमुकुसबाट उम्काउने घनिष्ठ मित्र बनेको थियो । जब सबै बिकल्पहरु बन्द भएको पाउछु, केही गर्न नसक्ने अवस्थामा पुग्छु तब जहिले मेरो आसुँ धरधरी झर्न थाल्छन् ।

मैले यता साथीहरु सँग रमाइलो गरी बिदा मनाउने र नयाँ ठाउँ घुम्ने योजना बनाउदै गर्दा उता बुवा एक्कासी अचेत भएर दल्नु भएछ । यही दिनबाट सुरु भएको थियो हाम्रो ग्रह दशा । काठमाडौं लिएर बि एन्ड बि मा भर्ना गरेर डीप भेन थ्रोम्बोसिस ‘DVT’ को सफल अपरेसन भयो । कक्कड भरेर खाने गर्नुहुन्थ्यो, फोक्सोमा पनि इन्फेक्सन देखिएछ । COPD को पनि राम्रो उपचार भएछ । हाइपरटेन्सन पनि ठीक भएछ । उहाँले सानैमा आमा गुमाएर टुहुरे बालापन, अती नै कष्टप्रद सैन्य जागिर र पिडादायी जीवन जिउनु भएको थियो । त्यसैले पनि होला संघर्षशील दिनहरुलाई जित्न चुरोतको साथ लिउनु भएको पनि । खुशीको कुरा उहाँ अशक्त हुँदा हुँदै पनि पुरा होशमा आउनुभयो । दाजुभाउजुहरु पनि एक महिना काठमाडौंमा सँगै बस्नु भयो । आजैका दिनबाट बुवाको बाँया पट्टिको शरीर चल्न छाडेको थियो त्यसपछी कहिल्यै पनि चलेनछ । बरु ठीक ६ महिनापछी अप्रिल २ तारिख चैते दशैका दिन सधैं सधैंका लागि मृत्‍युका सामु हार खानुभएछ । चाडै सन्चो हुने आशा गर्दा गर्दै मृत्‍युले जितेछ । बुवा त्यसरी बिरामी पर्नु भएको आज ठीक एक बर्ष पुगेको छ । पोहोर साल बुवा बिरामी परेर अब के होला भन्ने पिडामा रुदैथियौ, यसपाली त झनै बुवा गुमाएर टुहुरा-टुहुरि भएर बुवाको यादमा रुदैछौ । समय पनि कस्तो कस्तो आइपर्दोरहेछ । डायरीका पुराना पानाहरु पल्ताउछु, जताततै बुवाको स्वास्थ्यलाभका लागि भगवानसँग प्रथाना गरेको छु तर आखिर इश्वर कारुणिक आवाजहरु कहाँ सुन्दोरहेछ र !? मैले पुजेका प्रत्येक देवतासँग बुवाकै दिर्घायुको आशिर्वाद मागेको छु तर जवाफमा अन्याय पाएकोछु । शरण परेकोछु तर मरन पाएकोछु । आस्था राखेर आस्तिक बनेकोछु तर भ्रम हताएर नास्तिक मार्ग देखाएकोछ । मेरो जन्मदाताको सेवा लामो समय गर्न पाउने बर माग्छु तर अफसोच दैब मसँग खेलाँचीको ठट्यौली गर्छ । आजकाल मेरो मनमा एउटा द्विबिधा जन्मिएकोछ । मैले मेरो आदर्शको कोटिमा राखेका गान्धीले भन्ने गरे झै 'गड' भनेको के साँच्चीकै 'सत्य' नै हो त ? गड् भन्नुको अर्थ सत्य नै हो भने त्रुथ को अर्थ पनि गड हुनुपर्छ कि पर्दैन ? त्यो गड र त्रुथ भित्र किन प्रत्यक्ष अन्तर्सम्बन्ध हुँदैन ? के आस्तिकहरुको चाँही त्रुथ अर्थात सत्यलाई आत्मसात गर्दैनन र ? मलाई त गड भनेको विश्वाश मात्र लाग्न थालेकोछ, त्रुथ अर्थात सत्य भनेको बरु भौतिकतामा पाउन थालेकोछु ।

जीवन पछी मृत्‍यु हुन्छ, बिज्ञान यही भन्छ । मृत्‍यु पछी जिउ मर्छ, आत्मा जीबित नै हुन्छ र पुनर्जन्म लिउछ, धर्मिक ग्रन्थ यही भन्छ । जब म कलेज पढिरहेको थिएँ, मैले भौतिकवाद र आध्यात्मावादको समायोजनमा बाँचेको जीवन नै उत्कृष्ट जीवन ठान्ने गर्दथें । तर अब म त्यो बिचार बदलेर एउटा सार्थक जीवन जिउन चाहन्छु । अब आँफैलाई जितेर बिजयी बन्न चाहन्छु किन कि आफुले आँफैलाई जित्नु नै संसार जित्नुको पहिलो जित हो । मैले मृत्‍यु अन्तिम हार मान्ने गर्दथें भने अन्तिम जित सहादत मान्दथें । चाहे हार होस्, चाहे जित नै होस् । बुवाको स्वर्गारोहन भएर उहाँको जित भएकोछ, हाम्रो हार भएकोछ । जिन्दगीभरी हाम्रो लागि हार्नुभयो, अन्तिममा मात्र उहाँले आफ्नो लागि जित्नुभएको छ । उहाँले स्वर्गमा बसाइ सार्नु भयो । हामीले कत्ती गर्दा पनि रोक्न सकेनौ । हामीले बुवाको काललाई चाहेर पनि जित्न सकेनौ, हामी हार्यौ । अन्तिम पटक बुवासँग टादिदा दिदिहरुले भन्नु भए झै बुवा त्यही निहुमा बिरामी पर्नु भयो र सदाका लागि हामीलाई छाडेर जानुभयो । घरमा त के बुवाले हामीलाई भेट्न चाहेको बेलामा पनि हामी कोही पनि पुग्न सकेनौ । पानी पानी भनेर माग्दा पनि पानी खुवाउने न दुई दिदिहरु नेपालमै भएर पनि साथमा पुग्नु भयो, न त हामी प्रदेशी तीन छोराहरु नै । टाउको दुख्न थालेपछि आँफै अस्पताल पुगेर औषधी लग्नु भएको थियो रे । अम्मल गर्न छाडेर सन्चो हुन्छु कि भनेर रक्सी र चुरोत पनि छाड्नु भएको थियो रे । तमाखु उहाँको सानैदेखिको साथी थियो रे । रक्सी चाँही २२ बर्ष भारतीय सेनाको सेवा पछी पेन्सन आएर मात्र खान थाल्नु भएको हो रे । दिनभरी सुघ्न पनि नसुघ्ने तर साँझ भने अलिकती मात्र भए पनि हुनै पर्थ्यो । अहिले आएर केही भन्नुछ त केवल बुवाको स्वर्ग बसाइमा उहाँको आत्माले सुख शान्ती पावोस ।

बुवा, अब हामीले तपाईंलाई देख्न नसिर्जिए पनि, पहिले जस्तै भेटेर र बोलेर नमिले पनि सधैं सधैं आशिर्वाद दिइरहनु होला । गलत बाटोतिर जानबाट रोकेर सुमार्ग देखाइ रहनुहोला । इज्जत कमाएको हेर्न चाहने ति आँखाहरु हामीबाट कहिल्यै नहताउनुहोला, एक न एक दिन त्यो क्षण अबश्य आउने नै छ । चोला मात्र फेरिएको हो, हामी सबै साथै छौ बुवा । हामी जिउदै छौ बुवा । छुट्टीने बेलामा नबर्सिएका आसुँ अहिले हरेक पल तपाईंको सम्झनामा नरोकिएर अनबरत बगिरहेकाछन । यो जीवन भरी एउटा मृत्‍यु सन्चो नहुने घाऊ बनी बल्झिरहनेछ बुवा । शायद तपाईंको चाहना थियो, मेरो जीवन आसुँ र दु:खबिहिन देख्ने, त्यसैले त अन्तिम पटक तपाईंसँग छुट्टीदा सधैं झर्ने गरेका आसुँ रोकिए । जसरी बिना आसुँ चुहाइ तपाईंसँग अन्तिम बिदा लिएको थिएँ, त्यसरी नै बिना आसुँ तपाईंको सेवा गर्न चाहन्छु । आशिर्वाद पाउन लायक त छैन तर पनि सराप नदिनु होला बुवा । यदी भगवान छ नै भने तपाईंको पुनर्जन्म मैले देख्ने गरी मेरो यही जुनीमा हवस् अनी पार गर्न नसके पनि भार उतार्ने प्रयास गर्नेछु बुवा । पुनर्जन्म चाडै भैदियोस बुवा । मनुवा रुपमा छिट्टै पुनरागमन हवस् बुवा ।
04 Oct, 09

Wednesday, September 30, 2009

यसपालिको दशैं

दशैको उपलक्ष्यमा वेइफ्याङ मेडिकल युनिभर्सिटीमा अध्ययनरत ८औ र ९औ ब्याचले 'दशै भलिबल रनिङ् शिल्ड' को आयोजना गरेका थिए । ५औ, ६औ, ७औ, ८औ, ९औ र १०औ ब्याचका खेलाडिहरुको सहभागिता थियो । खेल २३, २४ र २५ तारिखका तीन दिन लगाएर खेलाइएको थियो । फाईनल खेल ५औ ब्याच र ६औ ब्याचका बिच २५ तारिखका दिन ४:३० बजे तय गरिएको थियो । अतिथिका रुपमा फोरेइन अफैर्सका प्रेसिडेन्ट प्रो लिउ लाई बोलाइएको भए पनि उनको कार्य ब्यस्तताले गर्दा फोरेइन अफैर्सका मिस्टर म्यात , सिनियर ट्युटर ज्हाङ, जुनियर ट्युटर को उपस्थिती थियो । खेल अती नै प्रतिस्पर्धात्मक र रोचक भएको थियो । खेलको पहिलो सेट ५औ ब्याचले जितेर हाम्रो ६औ ब्याच माथि नराम्रो दवाव पार्न सफल भएको थियो । तर त्यसपछिका लगातार तीन सेट जितेर हामी बिजयी भयौ । खेल हेर्न ओभर्सिज मात्र नभएर चाइनिज विद्यार्थीहरु पनि झुम्मिएका थिए । आयोजकका तर्फबाट केशब धामीले प्रथम र द्वितिय हुने खेलाडिहरुलाई अबिरको टिका लगाएर बधाई दिए । पुरुस्कार र प्रमाण-पत्र अतिथिहरुबाट बितरण गरिसके पछी मिस्टर म्यातले अबका दिनमा प्रोग्राम गर्नु अगावै अफिसमा जानकारी दिन र सके जतिको सहयोग गर्न आफु तयार रहेको बताए । एकछिन रमाइलो फोटोसेशन चल्यो । विनर टिमको बिरुद्ध मिक्स टिम भिडाएर रमाइलो गर्ने योजना भने समय अभावले पुरा हुन सकेन । अर्को दिन खशी काटेर दशै भोज मनाउने कार्यक्रम थियो ।

खशी कात्न धामी सर र सन्जित शाह खत्नु भयो । बिभिन्न परीकार बनाउन राजन लुइतेल सरले निकै मेहिनेत गर्नु भयो । साँझ ८:३० बजेबाट भोज शुरु भयो । जित्ने टिम क्याप्टेनको हैसियतमा मलाई शुरुमै अगाडि बोलाइयो । सबैको अगाडि बोल्नु पर्ला भन्ने अलिकती सम्म पनि सोचेको थिएन । एक्कासी बोल्नु पर्दा मनमा के बोलम् के बोलम् भएर आयो तर अली संयमित भएर आफुलाई लागेका केही कुराहरु राखें । जसको सारांश यस्तो थियो ।

“सर्ब प्रथम त दशैको अबसरमा खेलको आयोजना गर्ने ८औ र ९औ ब्याचका साथीहरु र मलाई यहाँ आफ्नो २/४ कुरा राख्न मौका दिने केशब धामी जी लाई धन्यवाद ।

मेरो अगाडि सम्पूर्ण सिनियर र जुनियर साथीहरुलाई देखेर म निकै खुशी छु । हामी नेपालको बिभिन्न ठाउँबाट आएको भए पनि यहाँ एउटै परिवार झै भएर दशै मनाउन पाउदा शायद हामी आफ्नो घरबाट धेरै टाढा छैनौ भन्ने महशुस हामी सबैले गरिरहेको नै हौला । हामीले खेल खेल्यौ, कसैले जित्यौ कसैले हार्यौ भन्ने भावना कसैले पनि मनमा राख्नु हुँदैन । खेललाई हामीले सबै साथीभाइ एकजुट भएर दशै रमाइलो गरी मनाउने बहनाको रुपमा मात्र बुझ्न जरुरी छ । हाम्रो मुख्य उद्देश्य त सबैले एक आपसमा गफ गर्दै नजिक बनौ, मनोरन्जन गरौं, चिन्जान नभएकाहरुले चिन्जान गरौं, चिन्जान भएकाहरुले अझै बदी आत्मियता बदाउ भन्ने नै हो । हामीले सिनियर र जुनियरका बिच ठुलो ग्याप देख्यौ र भोग्यौ तसर्थ त्यो हाम्रो पालादेखी नै हतेर जावोस भन्ने हाम्रो चाहना छ । यस अघी हामीले 'द रेड कोङ्ची भलिबल प्रतियोगिता' पनि सम्पन्न गर्यौ जसको मुल उद्देश्य पनि यही नै थियो ।

यसपालिको कार्यक्रम एकदम सफल भएको ठान्छु । कार्यक्रम सफल बनाउन कति अप्ठ्यारो पर्‍यो, कति परिश्रम गर्नु पर्‍यो भन्ने मलाई राम्ररी थाहा छ । यस्ता कार्यक्रमहरुले भबिश्यमा पनि निरन्तरता पाइरहनु पर्छ । यस खेलको आयोजना गरेर आज टुंगिएको छैन, यसले एउटा परम्पराको बिकास गराएको छ । सबैले यसबाट सिक्दै र गर्दै जानुपर्छ । सकेसम्म परिमार्जित र परिस्क्रित गर्दै लानुपर्छ । आजको दिन हाम्रो जीवनमा एक अबिस्मरनीय क्षण बनेर हाम्रो मानसपातलमा रहिरहनेछ । यस प्रतियोगितामा एउटा कुराले अत्ती नै गर्ब महशुस गरायो, पुरुषको भलिबल टिममा एकजना मात्र केटी (संगिता) पनि समाबेश भएर प्रतिस्पर्धा गर्नु चानचुने काम पक्कै पनि होइन । चुलो चौकोमा सीमित हाम्रा नेपाली दिदिबहिनीहरु पनि चेतनाका साथ चौघेरालाई तोडेर अगाडि बद्नु अत्ती नै प्रसंसनीय कुरा हो । उनको यो साहसको हामीले कदर गर्नै पर्छ ।

अनी अर्को कुरा मैले प्रस्तावको रुपमा के भन्न चाहन्छु भने, हामी जत्ती पनि ओभर्सिज विद्यार्थीहरु छौ, हामीले एउटा अप्लिकेसन अफिसलाई बुझाऔ । प्रत्येक सेम्स्टेरको शुरुवातमा अफिसले हामीलाई केही खेलकुदका सामाग्री उपलब्ध गराउनु पर्‍यो । चाइनिज स्टुडेन्टसलाई एक एक वटा भलिबल वा बास्केटबल दिन सक्छ भने हामीलाई एक दुई वटा बल कसरी दिन सक्दैन ? यसमा अफिसलाई सहमत गराउन नसकिएला र !? हाम्रो त अब जाने दिन पनि नजिक नजिक आइसकेको छ तर हाम्रो पछाडिका अरु ब्याचले हामीले जस्तै बल किन्ने बेलामा सधैं पैसा उठाउदै हिंड्न नपरोस ।

अन्तमा, यसरी सबै सँगै मिलेर रमाइलो गरेको, साथै बसेर खाएको अन्तिम दिन नभैदियोस । बिजया दशमीको यस् पावन अबसरमा सबै साथीहरुलाई दुर्गा माताले सुख शान्ती प्रदान गरुन् । जीवनमा आइपर्ने अनेक बाधा अबरोधहरु छिचोल्न सफल पारुन् । जिन्दगीका अध्यारा पाटाहरुलाई बिर्सेंर उज्यालो तिर लम्केका पाइलाहरु नथाकेर बदिरहुन् । यही कामना सहित यस खेललाई आयोजना गर्ने देखी सफल पार्न मुख्य भूमिका खेल्ने केशब धामी सर र सबैका लागि मिठो खानेकुरा तयार पार्ने राजन लुईटेल सर लाई बिशेष धन्यवाद दिदै बिदा हुन चाहन्छु । धन्यवाद ।”

मेरो मन्तब्य लगत्तै भोज शुरु भयो । खाने र पिउने काम सँग सँगै मनोरन्जन गर्ने काम पनि चलिरह्यो । सबैले आ-आफ्नो पुरा परिचय र आफ्नो छोटो ब्याक ग्राउन्ड बताउने कुरा राखें । रमाइलोको लागि सबैले एक एक वटा केही भन्न वा गर्न पनि मन्जुरी भयो । सबैको सहमति भए पछी त्यो क्रम चल्यो । सबैले पालै पालो दशैको शुभकामना पनि बाड्यौ । सबैको अनुहारमा भिन्नै चमक देखिन्थ्यो । सबैले सके जत्तिको रमाइलो गर्यौ । ११:३० बजे तिर पार्टी सकियो। टिकाको दिन फेरी यही भेला भएर नाचगान गरी रमाइलो गर्ने वाचाका साथ हामी छुट्टीयौ ।

टिकाको दिन निकै रमाइलो गरी नाचगान भयो, मैले पनि केही बेर रमाइलो मानी मानी हेरें । साँझ ८ बजेतिर शुरु भएको रमझम १०:३० सम्म चलि नै रह्यो । मलाई सबैले थुप्रै पटक नाच्न आग्रह गर्न थाले । नाच्नै पर्छ भनेर तान्न नै थालेपछि राजन सरलाई मैले मेरो तितो वास्तबिकता भन्न वाध्य भएँ । भलिबलमा प्रथम भएर पनि अबिर लगाएन मैले । दशमीको दिन पनि टिका लगाएन । पोहोर सालसम्म आफ्नो गाउँ-ठाउँ, परिवार र साथीसँगी भन्दा टादा रहेर मनाएको दशै भन्ने गर्थे तर अहिले बुवा बिनाको पहिलो दशै जबर्जस्ती मान्न वाध्य भैरहेको छु । धनीलाई दशै गरीबलाई दशा भनेको सुनेको थिएँ । हो रहेछ नै, धनको गरीबलाई भन्दा मनको गरीबलाई दशै त दशा नै बनेर आउदो रहेछ । इश्वरको लीला भनु या प्रक्रितिको नियम, एकदिन यस संसारबाट बिलाएर जानु त छदैछ तर पनि जीवन बाँचुन्जेल पिडा पनि सहनै पर्ने रहेछ । जीवनको सकारात्मक पक्षलाई सधैं माथि नै राख्नु पर्ने रहेछ । हामी प्रक्रिती र समयको दास हौं त्यसैले जे जे आइपर्छ चुपचाप आज्ञा पालन गर्नु नै हाम्रो कर्तब्य हो । त्यही नै हाम्रो धर्म हो, जित पनि हो ।

नेटको समस्या र निकाल्न नसकिएको बेफुर्सदिले दशैको शुभकामना पहिल्यै दिन सकिन । दिलै भए पनि मेरो ब्लग भिजिट गर्ने सम्पूर्ण परिचित-अपरिचित मित्रहरुमा दशैको हार्दिक शुभकामना । असत्यको हार र सत्यानाश भएर जावस, सधैं सत्यको जित भैइराखोस् ।
31 Sep,'09

Tuesday, September 29, 2009

बुवाको तस्बिर र दुई दिने डायरी

- २२ सेप्टेम्बर, ०९
रातभरी राम्ररी निन्द्रा लागेन । मनमा नानाभाँटी कुराहरु खेलिरहे । दाजुभाउजुले ब्रुनाइबाट पठाउनु भएको पार्सेल आज मात्र पाएकोछु तर खोल्ने साहास गर्न सकिन, त्यसैले जस्तो आएको थियो त्यस्तै राखेकोछु । शायद मेरो बदलामा अरु कोही भैदिएको भए हतार हतार खोलेर हेर्ने थियो होला । यदी फरक समय र फरक पार्सेल भएको खण्डमा मैले पनि मेरो हात पर्ना साथ खोलेर हेर्ने थिएँ होला । मान्छेको बिबशता पनि कस्तो कस्तो हुदो रहेछ । समयसँग जुध्न कति गाह्रो रहेछ, समयलाई स्विकार्न निकै कठिन रहेछ । राती एक बजेसम्म जाक्तै थिएँ, कोल्ते फेर्दा फेर्दै कतिबेला निदाएछु ।

- २३ सेप्टेम्बर, ०९
बिहान ५:४५ तिर उठेर हात-मुख धोएँ । हिजो मात्र पाएको त्यो पार्सेल वा बुवाको फोटो प्याक गरिएको बन्द खाम खोल्ने आँट गरेँ । खोलेर सादर दोघ गरेँ, सफा र चिल्लो सतहमा हात घुमाएँ अनि मेरो सामुन्ने टेबलमा सजाएँ । सधैं झै चार वटा धुप बालेर अगाडि राखिदिएँ । धुप सँग सँगै मेरो मन पनि जल्न खोज्यो, धुपको उडिरहेको त्यो धुवा सँगै कता कता मेरो मन पनि उड्न खोज्यो तर संयमित भएर आँफैले आँफैले रोकेँ । गह भरी आसुँ भरिए तर बग्न दिएन । एक गिलास चिसो पानी पिउने सोचें, सम्झिए बुवाको त्यो अन्तिम चित्कारमा आमाको क्रन्दन । दिमखोलाको चिसो पानी खाने सधैं सधैंलाई अपुरो भैदिएको बुवाको अन्तिम इच्छा । अरु दिन झै चाइनिज चियामा तातो पानी हालेर खान तम्सिएँ । फेरी झलक्क सम्झिएँ, बुवाले बिहान उठ्ने बित्तिकै तातो फिका चिया कहिल्यै नतुताइ सधैं खाने गर्नु भएको । स्याउ झिँके, दुध झिँके, केही कुनै पनि मुखमा हाल्न सकिन । मेरो आत्माले मलाई केही खाने अनुमती नै दिएन । बुवाको हातमा यि सब सुम्पिन मिल्ने भए ! मसँग भएका सबै खानेकुरा बाँडेर खान मिल्ने भए ! बुवाको आँखा एकोहोरो मतिर हेरिरहेका थिएँ । मेरो मन मान्दै मानेन, मलाई हेरेर टोलाई रहेका बुवाका ति दुई आँखाहरु अनि मन्द मुस्कान छरेर बोलाइरहेका झै लाग्ने बुवाका ति ओठहरु, बुवाको अती सुन्दर तस्बिरलाई जसरी हेर्दा पनि मलाई नै चियाइरहे जस्तो लागेर आयो । उहाँले बाँया हातमा लगाउनु भएको घडि, जुन उहाँको अबशेष र चिनोको रुपमा मात्र मसँग मेरो साथमा छ । पहेलो रङको कुर्चिमा बसेर आशिर्वाद दिइरहे जस्तो, गलत कुराबाट सचेत बनाउदै सहि बाटो देखाइरहे जस्तो । मेरै सामु बसेर दिब्य उपदेश दिइरहे जस्तो लाग्यो । मेरो अघिल्तिर मेरो अतितका कल्पना अनायास दोहोरिएर घुम्न थाल्यो । कुनै दिन सोचेको थिएँ, "समयले साथ दियो भने म मेरो बुवाआमा लगायत हाम्रो सम्पूर्ण परिवारलाई चाइना घुमाइ ल्याउनेछु । मैले पढेको क्लास रूम, म बसेको कोठा, सुतेको बेड, फोनमा उहाँहरु सँग कुरा गर्दा हिंडेका बाटा, घुमेका पार्क र ठाउँहरु देखाउनेछु । 'ग्रेट वाल' चदाउनेछु ।" समयले साथ नदिए पनि, भाग्यले घाट गरे पनि आज बुवाको तस्बिर यहाँ सम्म आएकोछ । फोटो मात्र भए पनि मेरो कोठामा आइपुगेकोमा साँच्चीकै बुवा नै आउनु भए जस्तो भाण भैरहेकोछ । मैले चाहेको पनि यही हो तर समय कति क्रुर, कति निर्मम हुदोरहेछ । कस्तो कस्तो अकल्पनिय दुर्दशा भोग्न वाध्य पार्दो रहेछ । भौतिक सम्पन्नता र सक्षमताले बलवान भन्दा पनि सर्बशक्तिमान त समय रहेछ । समयसँग आएको दुर्घटना रहेछ, दुर्घटनाको चोट रहेछ, चोटलाई सहनै पर्ने बिबशता रहेछ, बिबशतालाई जित्न सक्ने सिर्फ मन रहेछ । मनलाई पनि जित्न सक्ने आत्मबल मात्र रहेछ, केवल आत्मबल ।

बिहान क्लास थियो, क्लासबाट आएर मेरो सिरानीको ठीक माथि कार्ल मार्क्सको फोटो राखेँ । मार्क्सको दाँया बाँया माओत्से तुङ, मदर टेरेसा, गान्धी, चे ग्वभेरा, नेल्सन मण्डेला, शेक्सपियर लगायतका मेरा आदर्शहरुको फोटो टाँसे । कार्ल मार्क्सको सिधा माथि बुवाको फोटो राखेँ । विश्वका ति महामानवहरु लाई धेरैले आदर्श ब्यक्ति मान्छन् तर मेरो बुवा त मेरो लागि अनेक कोणबाट सबै भन्दा अग्लो, चौडा र ठुलो आदर्श हुनुहुन्छ । मेरो आदर्शहरु भन्दा पनि धेरै माथि म मेरो बुवालाई पाउछु । जती धेरै ति संसारकै आदर्शहरुबाट सिक्न सक्छु, त्यो भन्दा कयौ गुणा म मेरो बुवाबाट सिकेकोछु र सिक्छु । उनिहरुको जस्तै निश्चित सिद्दान्त र दर्शनका कुरा नहोला तर म मेरो बुवासँग सामाजिक व्यबहार बदी लिएकोछु । मैले सिद्दान्त र दर्शनका कुरा सामाजिक व्यबहारका एउटा भाग मात्र ठान्छु । मेरा ति आदर्शहरुको जीवनीबाट मैले जती प्रोत्साहन पाउछु, त्यो भन्दा धेरै माथि म मेरो बुवाको जीवनीमा पाउछु । मेरो बुवा मेरो लागि संसारका मेरो आदर्शहरुमा पनि आदर्श पुरुष हुनुहुन्छ, तसर्थ मेरो बुवाको तस्बिर सबैभन्दा ऊच्च स्थानमा राख्नु अनुचित हो जस्तो लाग्दैन । मैले सधैं मेरो मुटुको धद्कन सुन्ने गरेकोछु, मेरो आत्माको आज्ञा पालन गर्ने गरेकोछु । मेरो आत्मा यही भन्छ, "मेरो बुवा संसारका मेरा आदर्शहरुमा पनि आदर्श हुनुहुन्छ ।" उहाँको जती प्रभाव मेरो दैनिक जीवन र व्यबहारमा परेको छ, त्यती अरु कसैको पनि परेको छैन र पर्न सक्ने पनि छैन । उहाँको स्थान मेरो मन, मस्तिष्क र मुटुको ऊच्च सिहाँसनमा सधैं आसिन रहि रहनेछ र म आफ्नो सौभाग्य सम्झेर जीवनभरी निरन्तर पुजिरहनेछु ।

Tuesday, September 22, 2009

ऊ अर्थात मेरो साथी

आग्रह गर्‍यो,
उसको आँखामा चियाएँ
कत्ती विश्वाश त लागेन
तर पनि
उसको बिनम्रतालाई स्विकारीदिएँ
शरण पर्नेलाई मरन नगरु सोची
आफ्नो काध थापिदिएँ
आफ्नो सँगै उसको पनि भार थामिदिएँ ।

रात रहे अग्राख पलाउँछ रे
कति नै समय पो लाग्दो रहेछ र !
सोचाइ फेरिएको, मन बदलिएको भ्रम पार्न
स्वयम मान्छेकै सक्कली आवरन लुकाउन
फेरी कति दिन नै लाग्दो रहेछ र !
स्वयम मान्छेले पुरानै अनुहार देखाउन पनि ।

उसको एक्लोपनमा साथी बनिदिएँ
उसको दोधारमा सहि निर्णय लिइदिएँ
उसको दु:खमा मेरो सुख सुम्पिदिएँ
तर,
तर आज त ऊ
ऊ मेरो साथी
मेरो प्रगतिमा डाहा गर्छ
मेरो सफलटामा मनभरी जल्छ
मेरो पिडामा नून-खुर्सानी छर्कने
खुब रहर पो गर्छ
बाटोमा हिंडेका मेरो पाईलै पिच्छे
सकी नसकी छिर्के हाल्छ
मेरो मुटु तुक्रिएर बहेका आँशुमा
निकै आनन्दको शितलता खोज्छ
मेरो भित्री खुशीमा उसको आत्मा जलन हुन्छ
वा क्या जान्ने र बुझ्ने भएछ ऊ त
ऊ अर्थात मेरो मिल्ने साथी

आफैलाई रिझाउन अरुलाई बिझाउने भएछ
खोला तरेर लौरो बिर्सने बिचार बोक्ने भएछ
दुध पिएर उल्तै बिष डस्ने भएछ
ऊ अर्थात मेरो अत्ति नै मिल्ने साथी । ।

मेरो साथी

साथी
चदेर मेरो बुई
पुग सबै भन्दा माथि ।

साथी
थिचेर मेरो घाँटी
बन संसारकै आँटी ।

साथी
साटेर मेरै छाती
हुनु दुनियाँमै जाती ।

साथी
सुखलाई त्यागी
रह सधैं खुशी ।

साथी
बन्धनलाई तोडि
बदी राख अघी अघी ।

साथी
आँफैलाई जिती
बसाउ जितको तिथी ।

साथी
राखेर ह्रिदय साक्षी
म सदा तिम्रै हुँ साथी ।

25 Jan, 2011  

Monday, September 21, 2009

धेरै पछी आज

हाम्रो युनिभर्सिटी नयाँ ठाउँमा सारीसके पछी होस्टेलमा ईन्टरनेटको ब्यबस्था गरिसकेको छैन । नेट चलाऊने भए युनिभर्सिटी एरिया भित्र नै रहेको साईबरमा कहिले काही गएर एकछिन बस्यो, मेल चेक गर्‍यो अनी रूम फर्क्यो। जहिले साईबर आउन समय त्यती मिल्दैन । आउँदा पनि ब्लगमा पोस्ट गर्न सोचे जत्ती सजिलो छैन । ब्लग, फेसबूक, हाइ५, युत्युब जस्ता साईटहरु चाइनामा ब्लक गरेको छ । प्रोक्जी साईटको सहायाताले चलाइरहेका थियौ अब त त्यो पनि ब्लक गरेको छ । फेसबुक मित्रहरु सँग भेट हुन पाएको पनि छैन, न त ब्लग नै पोस्ट गर्न पाएको छु । कोठामा समय मिलाएर केही कबिता लेखेको थिएँ । सोचेको थिएँ, कुनै दिन साईबर जाँदा USB मा लगेर पोस्ट गरौला तर एक्कासी कम्प्युटर बिग्रेर सबै उड्यो । बिभिन्न साईटहरुमा गरेको कमेन्टका लिन्कहरु, फुर्सद मिल्दा तुङ्याउन बाँकी राखेका कबिताका केही अन्शहरु, बि.बि.सी. मा पढिएका मेरो स्रोता प्रतिकृया र आफ्नै आवाजमा प्रसारित स्रोता बिचार सबै हराएर गए । अघिल्लो महिनामा बिदा हुनुका साथै कोठामै नेट थियो र सजिलो थियो तर अहिले अली गाह्रो हुदो रहेछ । सोचेको जस्तो केही नहुने । फेसबुक बल्ल बल्ल खोलिन्छ तर होम पेज मात्र, अरु केही गर्न मिल्दैन । पढाई पनि अन्तिम बर्ष पुगिसकेकाले अली बदी समय दिने पनि सोचिरहेको छु । यस सेम्स्टेरमा निकै महत्वपूर्ण छ वटा बिषय छन । कोठामा नै नेट भएको खण्डमा ब्लग पोस्ट र साथीहरु सँग संपर्कमा रहन शायद त्यती गाह्रो नहोला । आशा गरौ, चाडै नेटको ब्यबस्था गरिनेछ । छिट्टै सोचे जसरी नै सबै कुरा सजिलै हुँदै जानेछ ।
21 Sept,'09

Wednesday, September 9, 2009

रातो भाले अर्थात 'द रेड कोङ्ची'

हाम्रो युनिभर्सिटी पुरानो ठाउँ शेङ्लिदोङ, वेइफ्याङबाट फुयान्शामा सरेको छ । ४औ र ५औ ब्याचहरुलाई हस्पिटल आउन जान नजिक पर्ने भएकाले उहाँहरुलाई उतै राखेको छ भने अरु सबै ब्याचहरुलाई यहाँ सारेको छ । सर्दा के कती झन्झट र अप्ठ्यारो ब्यहोर्नु पर्‍यो त्यो कुनै दिन अबश्य लेख्ने नै छु । अहिले भने म अलि भिन्नै कुरा लेख्न खोजी रहेको छु ।

हामी अगस्त २८ तारिखका दिनमा यता सरिसके पछी बिदा सकिन पनि एक हप्ता बाँकी नै थियो । मेरो ब्यग्तिगत दैनिकी भन्नु पर्दा बिहान उठेर मुख धोएर धुप बाल्नु, खाना खान बाहिर जानु, साथीहरुसँग गफ गर्दै कुनै राम्रो फिल्म वा कुनै डकुमेन्ट्री हेर्नु, साँझ तिर खेल्न ग्राउन्ड जानु बाहेक कुनै नौलो रहेन । त्यस बिचमा आफ्नो दैनिक जीवनलाई केही फरक बनाउन र रमाइलो गर्न साथीहरु सँग मिलेर भलिबल प्रतियोगिता राख्ने सल्लाह गर्यौ । खेल उपाधिको नाम 'द रेड कोङ्ची भलिबल कम्पेटिसन्' (कोङ्ची=चाइनिज भाषामा भाले )अर्थात ‘रातो भाले भलिबल प्रतियोगिता’ राख्यौ । खेल खेल्न उत्कृष्ट खेलाडिहरु छानेर उत्कृष्ट टिम बनाउने जिम्मेवारि अनुसार सबै क्याप्टेनहरुले आ-आफ्नो राम्रो टिम दर्ता गर्यौ । दर्ता गरिएका टिम र खेलाडिहरुको नाम जस अनुसार थियो ।

५औ ब्याच
१. बिनोद राना (क्याप्टेन)
२. देव राई
३. रत्न सुबेदी
४. कुमार श्रेष्ठ
५. बिकास श्रेष्ठ
६. नवाङ शेर्पा
७. सन्जित साह्

६औ र ७औ ब्याच
१. अक्ष थापा
२. ईन्द्र शाही
३. दावा लामा
४. सन्तोष कुँवर
५. दिनेश श्रेष्ठ
६. जीवन बुढा
७. चन्द्र जी. एम. (क्याप्टेन)

८औ, ९औ, १०औ र ११औ ब्याच (मिक्स)
१. राजु बिष्ट (क्याप्टेन)
2. सुशिल पोखरेल
3. सतिश चौधरी
४. अनिल यादव
५. तेज नारायण
६. केदार मण्डल
७. श्याम ठाकुर

खेल सन्चालन गर्न सजिलोको लागि प्रत्येक टिमबाट दुई/दुई जना अम्पायर चुन्यौ ।
५औ ब्याचबाट रत्न सुबेदी र बिकास श्रेष्ठ, ६औ र ७औ ब्याचबाट चन्द्र जी. एम. र दावा लामा तथा मिक्स टिमबाट राजु बिष्ट र सुशिल पोखरेल ।

खेललाई बदी प्रतिस्पर्धात्मक र अनुशासित तरिकाले सम्पन्न गर्न खेलाडिहरुको लागि सामान्य आचारसंहिता बनायौ र त्यो भन्दा बाहिर जान खोजेको खण्डमा रेफ्रीले गल्ती अनुसारको जुन सुकै पनि निर्णय गर्न सक्ने अधिकार रहेको जानकारी दियौ । त्यो आचारसंहितामा आफ्नो र टिमका खेलाडिको तर्फबाट टिम क्याप्टेनले प्रतिबद्दता जनाउने ब्यबस्था गर्यौ । जुन सारांशमा यस्तो थियो ।
" यस अन्तर ब्याच 'रातो भाले भलिबल' प्रतियोगितामा प्रथम चरणको खेल लिगको नियमानुसार खेलाइने छ र बराबरिको अवस्थामा स्कोरको आधारमा हेरिनेछ । दोश्रो चरणको खेल प्रथम स्थानको लागि बिजेता र उपबिजेता बिच खेलाइनेछ । खेल अबधी भर खेलाडीले पूर्ण रुपमा अनुशासनको पालना गर्नु पर्नेछ अन्यथा टिम क्याप्टेनहरुको सहमतिमा बनाइएको नियम अनुसार रेफ्रीले गरेको सम्पूर्ण निर्णय मान्य हुनेछ, मान्नु पर्नेछ । यदी केही कुरामा चित्त नबुझेर बेखुशी भएमा झै-झगडा गरेर परिस्थितीलाई जतील बनाउनु भन्दा पनि सम्बन्धित मान्छेहरु सँग सौहार्दपूर्ण बातावरणमा बसेर आफ्नो असन्टुष्ति राख्ने र सहि तरिकाले समस्याको उचित समाधान गरी त्यस बिषयलाई सकारात्मक दंगले तुङ्याउन मेरो ब्यग्तिगत र टिमको तर्फबाट प्रतिबद्दता ब्यक्त गर्दछु ।"

५औ ब्याच
बिनोद राना
६औ र ७औ ब्याच
चन्द्र जी. एम.
८औ, ९औ, १०औ र ११औ ब्याच (मिक्स)
राजु बिष्ट


फाईनल पुग्नु अगाडि तीन टिमका बिच लिग खेलाएर पहिलो र दोस्रो हुनेलाई अन्तिम भिडन्तमा उतार्ने निर्णय गर्यौ । त्यही अनुरुप सेप्तेम्बर ४ तारिख साँझ चित्ठा तिपाउने काम भयो । पहिलो खेल ५ तारिखका दिन बिहान ७ बजे ६औ र ७औ ब्याचको टिम र मिक्स टिम बिच भयो , जसमा ६औ र ७औ ब्याचको टिम सोझो सेटमा दुई खेल जित्न सफल भयो । दोस्रो खेल ६औ र ७औ को टिमका बिरुद्ध ५औ ब्याचको टिम थियो । त्यसमा पनि ६औ र ७औ को टिम २-१ को अग्रतामा जित हात पार्दै फाईनल प्रबेश पायो । अब फाईनल खेलको प्रतिस्पर्धी हुन ५औ ब्याच र मिक्स टिमको बिच खेल भयो । खेल ५औ ब्याचले सोझो सेटमा २-० ले जित्दै फाईनल यात्रा तय गर्‍यो । फाईनल खेल त्यही दिनको दिउसो ४ बजे निर्धारण गरिएको थियो । फाईनल खेल ५औ ब्याचका बिरुद्ध ६औ र ७औ ब्याचको टिम बिच थियो । 'बेस्ट अफ फाइभ' अनुसार भएको अन्तिम खेल ६औ र ७औ ब्याचको टिमले ५औ ब्याचको सिनियर टिमलाई १५-८, १५-११ र १५-५ को अवस्थामा सजिलै जित्न सफल भयो । ६औ र ७औ ब्याचको टिम अन्तत: उत्कृष्टहरुमा पनि सर्बोत्कृष्ट बन्न सफल भयो ।

प्रतियोगिताको प्रथम हुने टिम अथवा हाम्रो टिमले पाएको पुरुस्कार कुनै आफ्नो ब्यग्तिगत स्वार्थमा प्रयोग गर्नु थिएन । बरु आफ्नो जितको खुशीमा पूर्वयोजना अनुरुप साँझ ८ बजेदेखि राती ११ बजेसम्म सामुहिक भोजको आयोजना गर्यौ सबै र खेलाडी र आमन्त्रित सिनियर्सलाई एकै ठाउँमा बसेर रमाइलो गर्ने र भलाकुसारी सात्ने अबसर मिल्यो । हाम्रो मुख्य उद्देश्य हामीसँग छुट्टीएका सिनियरहरुसँग भेटघात गर्ने मौका मिलाउनु एवम खेलसंगै रमाइलो गर्नु र समयको पनि उपयोग गर्नु नै थियो । हाम्रो चाहना चाँही ५औ ब्याचदेखि ११औ ब्याचसम्मका सबैले एक अर्कालाई चिनजान गर्न र घुलमिल हुन सहयोग मिलोस भन्नु नै हो । हामी एउटै युनिभर्सिटीमा अध्ययन गरिरहेर पनि धेरै साँघुरो घेरामा बसिरहेका हुन्छौ, त्यो हताउनु खोज्नु पनि हाम्रो अर्को स्वार्थ थियो । रुपमा हेर्दा प्रतिस्पर्धात्मक कार्यक्रम हो तर पनि सारमा चाँही आपसी मिलाप र एक अर्काप्रती सहयोगको भावना जाग्रित गराउनु नै थियो, जुन कुरामा हामी सफल पनि रह्यौ भन्ने लाग्छ । सिनियरहरुको तर्फबाट उपहार स्वरुप भलिबल प्राप्त गर्नु र हामीले हाम्रो अतिथी मानेर सकेजतिको सत्कार गर्नु पक्कै पनि सानो कुरा होइन । सिनियर्सले खेल शुरु हुनु अगावै बल ल्याइदिएको जानकारी संगै प्रदान गर्नु, हामीले आ-आफ्नो कोर्टबाट नै ताली पितेर धन्यवाद दिनुले पनि खेलको महत्व अझै बदाएको थियो । खेलमा सबै खेलाडिहरुले अनुशासनको पूर्ण पालना गर्नुले पनि खेलको शालीनता र मान्यता थपेको थियो । भित्रैबाट गर्वले छाती फुलेको पनि थियो किन कि यस्तो आयोजना यो भन्दा पहिले यसरी विद्यार्थीको पहलमा भएको थिएन । पोहोर साल दशैमा गरेका थियौ र जितेका पनि थियौ तर त्यो भन्दा यसपाली धेरै कुरामा फरक थियो । त्यतिबेला दशैको नाममा बाजी मारेका थियौ, जितेका थियौ र एक्लै रमाएका थियौ तर यसपाली हामीले आफ्नो क्षमताले भ्याए सम्म सके जती ब्यबस्थित बनाउन सोच्यौ, समय खर्च्यौ, कार्यक्रमको सफल आयोजनाको लागि खत्यौ र अन्तिम समय सम्म पनि खतिरह्यौ । जित्न भन्दा हामी प्रतियोगिताको सफलताको लागि परिश्रम बदी गर्यौ । मलाई ब्यग्तिगत रुपमा हामीले राम्रो परम्पराको शुरुवात गर्यौ भन्ने लागि रहेको छ ।

हुन त खेलको सकारात्मक कुरा मात्र भएको होइन, एउटा बिर्सनै नसकिने कमजोरी हामीले सबैलाई सुचना दिन सकेनौ । कसैलाई प्रतियोगिता बारे ब्यापक प्रचार गर्न खताउन सकेनौ या आँफै खत्न सकेनौ जसले गर्दा केही गुनासा पनि सुनिए । एक हप्ताको समयमा हतार-हतार आयोजना गरिएको हुनाले पनि गल्ती भएको भएको हो कि ! भन्ने लागेको छ । अब भबिश्यमा ति र त्यस्ता भुल नगर्न प्रयास गर्ने मन मनै प्रण लिएका छौ । जितमा जित्ने र हारमा पनि नहार्ने आत्मबिश्वास बोकेका हामी यसरी नै सिक्दै जानु पर्छ भन्ने लाग्छ । साँझ पार्टी शुरु हुनु अगाडि मैले यो हार र जितको खेल भन्दा पनि सिनियर्स र जुनियर्सको मित्रता कस्ने दाउ भएकाले सबै साथीभाइले आफ्नो दिमागबाट हार र जितको मानसिकता हताएर आ-आफ्नो कुरा बिना संकोच निर्धक्क सात्न आग्रह गरेको थिएँ । बिनोद दाइले पनि हार र जितको खेल जुवामा मात्र हुने भएकाले यो खेललाई हामीले सँगै बसेर रमाइलो गरेको रुपमा मात्र बुझ्न भन्नु भयो । सबैले आउने दिनमा पनि यस्तो कार्यक्रम गर्न सुझाव दिए । सबैको एउटै प्रतिकृया थियो, कार्यक्रम निकै उत्साहजनक र सफल रह्यो ।

अन्तमा मलाई पनि भन्न मन लागिरहेको छ, हो कार्यक्रम सफल भएकै हो र हामी सफल भएकै हौ । सफल बन्न र बनाउन सहयोग गर्ने सहभागि टिमका खेलाडिहरुलाई हार्दिक धन्यवाद । खेललाई बदी रोमान्चक बनाउन २५ किलोमिटर टाढाबाट पनि खेल हेर्न आउने सिनियरहरु र यहिका जुनियर साथीहरुको माया पाएकोमा सबै खेलाडिको तर्फबाट मुरिमुरी धन्यवाद दिन चाहन्छु । खेलाडिहरुलाई पानीको ब्यबस्था गरिदिने सबै ब्याचका साथीहरु र आयोजनाको लागि सहयोग गर्ने सम्पूर्ण सिनियर र जुनियर साथीहरु प्रती आभार प्रकत गर्न चाहन्छु । आफ्नै ब्याचका साथीहरु दिनेश श्रेष्ठ र सन्तोष कुँवर (६औ ब्याच), दावा लामा (७औ ब्याच) र राजु बिष्ट र सुशिल पोखरेल (८औ ब्याच) लाई ह्रिदयदेखि नै बिशेष धन्यवाद दिएर पनि कम हुन्छ । हामी सबैको प्रयासले मात्र हामी सफल भएका हौ । शुरुबाट अन्त सम्म नै हामी सम्भव भए जती गर्यौ र गरिरह्यौ । फलत: हामीले राम्रो आयोजनाको अनुभव सँगालेर अब आउने दिनका लागि मार्ग सहज बनाएका छौ । भबिश्यमा नयाँ नयाँ कार्यक्रम आयोजना गर्ने आत्मबिश्वास थपेका छौ । मुख्य कुरा त हामीले राम्रो उदाहरण पेश गरेका छौ, जुन अरुले पनि सिक्न सक्ने छन र आउने दिनहरुमा पनि यसलाई एउटा परम्पराको रुपमा अगाडि बदाउनेछौ । पछी पछी सम्म पनि यसरी नै निरन्तर आयोजना हुँदै जानेछ,, भइरहनेछ । अहिलेलाई यही आशा र कामना गरौं ।