Sunday, October 4, 2009

फरक ति र यि दिनहरु

१ अक्टोबर, चिनिया कम्युनिष्ट पार्टी सत्तामा आएको ६० बर्षको अबसरमा चिनिया जनता देशैभरी भब्य उत्सब मनाइरहेका छन् र जताततै खुशीयाली छाइरहेकोछ । हाम्रो युनिभर्सिटीमा भएको झण्डात्तोलन कार्यक्रममा म पनि सरीक भएँ । बेइजिङमा जनमुक्तिसेनाले देखाएको लाल परेड पनि युनिभर्सिटीले ब्यबस्था गरेको प्रोजेक्टरमा प्रत्यक्ष प्रसारन हेरेँ । अघिल्लो बर्षहरुमा जहिले एक हप्ता राष्ट्रिय बिदा हुन्थ्यो यसपाली भने स्वाइन फ्लुको संक्रमन रोक्न भनेर अहिलेको बिदा पछी जनवरीमा हुने जाडो बिदामा दिने गरी अफिसले मिलाएकोछ ।

पोहोर साल बिदा पाएका थियौ । साथीहरुसँग यही मौकामा चाइनाको पुरानो राजधानी नान्जिङ घुम्न जाने र त्यहिबाट चर्चित सुचाउ पार्क हुँदै एसियाको न्युयोर्क भनिने साङ्घाई शहर घुमेर फर्किने निधो गर्यौ । हाम्रो योजना मुताबिक दुई तारिख साँझको बस चदेर नान्जिङ प्रस्थान गर्यौ । हामी नयाँ ठाउँ घुम्न र साथीहरुलाई भेट्न पाएकोमा साह्रै हर्षित थियौ । ति ऐतिहासिक ठाउँहरु हेर्न निकै उत्साहित पनि थियौ । नान्जिङमा एरोमेटिक्स पद्ढै गरेका साथीहरु पनि थिए । सल्लाह अनुसार हामी उनिहरुको होस्टेलमा पुग्यौ । तीन तारिखको दिन भरी नान्जिङ घुम्यौ । साथीहरुसँग निकै रमाइलो भयो । साँझ उनिहरुकै होस्टेलमा गएर सुत्यौ । म अरु साथीहरु भन्दा राती अली चाडै सुतेको थिएँ । अरु साथीहरु कोही ३ बजे कोही ५ बजे तिर सुतेछन । त्यहा जहिले पनि त्यसरी नै बिहान तिर मात्र सुत्ने गर्दा रहेछन । बिहान सुतिरहेकै बेला आठ बजेतिर मेरो मोबाईल बज्यो । उठेर नम्बर हेरें, बाहिरबाट आएको रहेछ । एकछिन तर्सिएँ, किन कि बिहान मेरो फोन बिरलै मात्र आउथ्यो । मैले पनि फोन गर्ने बेलामा जहिले साँझको समयमा मात्र गर्ने गदथेँ । फोन उठाएँ, जेठा दाजुले ब्रुनाइबाट गर्नु भएको रहेछ । "कान्छा, बुवा ठूली आमाको १३ दिने काजकृयामा जानु भएको थियो रे । दुखिरहेको टाउको त्यहा झनै दुख्न थालेपछि सबैजनाले मिलेर राती घरमा लिएर सुताएछन । बिहान बुवा अचेत हुनु भएछ । बोल्ने चल्ने केही गर्नु हुन्न रे। अहिले बोकेर सिमलवाङ तिर लिएर आउँदैछन रे, अहिले फोन गरेको लाग्दै लागेको छैन । तिमीलाई थाहा भएको राम्रो डाक्टर कोही छन भने त्यही लग्न भन्दिन्छु ।" दाजुको एकोहोरो कुराले म छिन्नभिन्न हुन्छु । र पनि भन्छु," मैले पनि फोन लगाउन प्रयास गर्छु । यदी लाग्यो भने तपाईंलाई पनि खबर गर्नेछु । डाक्टरको बारे साथीहरु सबैसँग एकचोटि राम्ररी सोधेर फोन गर्छु ।"

जुलाईमा म चाइनाबाट नेपाल गएँ । अगस्त सुरुतिर जेठा दाजुका सबै परिवार ब्रुनाइबाट आउनु भयो । रोल्पा घर गयौ, इष्टमित्रलाई भेट्यौ, गाउँघर घुम्यौ र भ्याए जती जन्मस्थलका बनपाखा हेर्यौ । आफन्तहरुले खुवाउन बोलाएर घरमै राम्ररी बस्न पाएनौ । नजाउ भन्दा पिर मान्ने, सबैकोमा जाऔ भन्दा भ्याउदै नभ्याउने । एकदिनमा दुई घर पुगेर पनि सकेजती धेरैकोमा पुग्यौ तर पनि धेरै जनाले नगएकोमा गुनासो गर्नु भयो । समय अपुग भएकोले सहोदर मामा र जेठी दिदिले समेट् घरमा बोलाएर खाना खुवाउने धोको पुरा हुन सकेन । अगस्त अन्तिम २४/२५ तिर घर छाड्यौ । हाम्रो सबै परिवार घरबाट हिंडेर सादे एक घण्टा लाग्ने दाजु भाउजुकोको माइत माडिचौरमा बास बस्ने कुरो थियो । तर अन्तिममा आएर बुवाले टाउको पनि दुखिरहेको र उकालोमा फर्केर आउन पनि गाह्रो हुने भएकाले अली नजाने मन गर्नुभयो । त्यसैले आमा, दुई दिदी, दाजुभाउजु, भतिजिहरु र भान्जाभान्जिहरु माडिचौरतिर हिड्यौ । घर निरको सानो थुम्को कताउनै लाग्दा जेठि दिदिले चिन्ता मिश्रित स्वरमा भन्नुभयो," बुवालाई हेर त, यतै हामीलाई हेरिरहनु भएको छ । एक दुई दिनलाई मात्र झुल्केर फर्किन आट्यौ । नातिनिहरुको पिरले बुवा यहाँ एक्लै टाउको दुखेर बिरामी परी तलमाथि हुनुहोला र हामी एक्लै के गर्ने हो । कोही पनि छोराबुहारी घरमा छैनौ ।" कान्छी दिदिले थप्नुभयो," पक्कै पनि एक न एक दिन त्यस्तै हुने त होला नि । नजिक भए पो चाडै खबर पनि पुग्छ र आउँलान ।" मैले फर्केर घरको दोकातिर हेरें । दोका बन्द रहेछ । बुवा आँगनको दुँगामा बसेर हामीतिर हेर्दै सुल्पामा तमाखु तानिरहनु भएको थियो । मैले अन्तिम पटक बुवालाई उभिएर हेरेँ, अनी मन मनै भगवान सँग प्रथाना गरेँ, मेरो बुवालाई मैले यही स्वस्थ अवस्थामै फेरी भेट्न पाउँ ।

म १३ बर्षको हुँदा पहिलो पटक बुवाआमाको काखभन्दा टाढा भएँ । ५ बर्ष पनि नपुगेकी सानी भतिजि मनिषासँग घरपरिवारबाट टाढा रहेर जिप्सको होस्टेलमा बसेर पढ्न थाल्यौ । जुन दिनदेखी म पहिलो पटक घर छाडे त्यही देखिन् नै मेरो आसुँ कहिल्यै नरोकिएर झरेको झरेइ छ । जब म एक्लै टाढा हुन्छु, सोचिरहेको हुन्छु, अर्को पटक घरबाट निस्कदा नरोएर नै निस्कन्छु । मेरो आसुँ बहेको देखेर मेरी सानी भतिजी रुन्छिन्, हाम्रो आसुँ देखेर कोमोल मनकी हाम्री बज्यै-आमा रुनुहुन्छ । म हाँसी हाँसी बिदा हुन्छु, आसुँ देखाउदिन सोच्छु,तर आसुँ थाम्न कहिल्यै सकिन । जब स्कुलमा बिदा नजिक नजिक आउन थाल्थ्यो, जहिल्यै मनमा एउटै कुरा खेलाइरहन्थेँ," म घर पुग्ना साथ बुवाआमाको खुट्टा दोघ्छु, बिदा सकेर फर्कदा अलिकती पनि अध्यारो मुख नलगाएर नै स्कुल फर्किन्छु ।" तर मैले दुबै काम कहिल्यै गर्न सकिन, दाङमा पढिरहेको बेला होस् या काठमाडौंमा । चाइनाबाट पनि त्यही सोचेर गएको थिएँ तर बुवाआमाको अगाडि पुग्ना साथ म यती अधैर्य हुन्छु कि ति औपचारिकताका कुराहरु सबै बिर्सिदिन्छु । जब बिदा सकिएर घर छाडेर जाने दिन नजिकिन थाल्छ, मन गह्रुङो भएर आउछ । हाँस्दा हाँस्दै पनि आसुँहरु आँफै झर्छन । सबै भन्दा दुख्ने भनेको बुवाआमाबाट टाढा हुनुले नै हो, त्यो भन्दा पनि अझै दुई दिने जिन्दगीमा कतै फेरी भेट पो हुन नपाईने पो हो कि भन्ने भय नै हो । मेरो ति भयहरु अनाबश्यक लाग्थेनन् कहिल्यै पनि, किन कि कालले कतिखेर कस्लाई तिपेर लाने हो अनिश्चित छ । मृत्‍यु अबश्य हुन्छ र पनि मलाई मृत्‍यु स्विकार्न मलाई चेतना भएदेखी नै निकै गाह्रो लाग्ने गर्दछ । पोहोर साल पनि घरमा बुवालाई एक्लै छाडेर हिंड्नु पर्दा मन भित्र भित्रै कुदियो तर आसुँ झरेन । शायद बुवा बाहेक अरु परिवार सँगै निस्केको कारणले घर छाड्दैछु भन्ने महशुस भएन होला । हो, अहिलेसम्म एक पटक मात्र मेरो आँखाबाट आँशुको बलिन्ध्र धारा झरेन, सिर्फ एकपटक मात्र अहिलेसम्म । अर्थात बुवाबाट टाढा हुने बेला एक पटक मात्र भए पनि मेरो आसुँ झारेन, उहाँले मलाई हाँसी हाँसी आफ्नो झोला बोकेर टाढा भएको देख्नुभयो । लागेको थियो, अब मैले आफुलाई बलियो बनाउन सकेछु ।तर त्यो आसुँ माडिचौर आएर आमासँग छुट्टीने बेलामा नराम्ररी पोखियो । दाइको फोन सँग संगै फेरी रुन थाल्यो निरिही मन आँशु बनेर ।

साथीहरु सबै सुतिरहेका थिए । उनिहरुलाई उठाएर पनि के नै पो गर्न सकिन्थ्यो र ! निकै बेचैन भएँ । बल्लतल्ल १२ बज्यो । साथीहरुलाई अब चाँही उठाउन थालें । संगै गएका साथीहरुलाई सबै बताएँ । नान्जिङका साथीहरुलाई केही पनि भनिन । फोन कार्ड जसरी पनि खोज्दिन आग्रह गरेँ । फोन कार्ड त पाएँ तर जती फोन गर्दा पनि लागेन । न ब्रुनाइ लाग्छ, न रोल्पा, न दाङ, न भेनाको मोबाईलमा । भित्र भित्रै होस्टेल फर्किने मन भए पनि साथीहरुसँग गएको फरक्क फर्केर आउँदा पनि उनिहरुलाई नरमाइलो हुने । घुम्न त झन रहर हुने कुरै छैन । फोन लगाउन कती प्रयास गरे तर एकचोटि पनि कतै लागेन । संपर्क हुने बेलामा दाइले बुवाको पछिल्लो स्थिती बारे जानकारी दिनुहुन्थ्यो । अन्त्यमा एउटै बिकल्प देखें, हेनानमा रहेकी साथी सुस्मितालाई फोन गर्न लगाउने । उनले रोल्पा गरिन्, काठमाडौं गरिन्, ब्रुनाइ पनि गरिन् । सबै कुरा सोधेर मलाई भन्दै गर्थिन । नान्जिङ्का साथीहरुले गफ गर्न कर गर्थे । साथीहरुलाई भन्दा मोबाईलमा धेरै टाईम दिएकोमा गुनासो गर्थे । 'सेन्टि मूड' नगरि अली रमाइलो गर्न भन्थे तर मैले जसो तसो टारिदिन्थे । ५ तारिख सुचाउ हुँदै शांघाई जाने पूर्वयोजना क्यान्सिल गरेर सबै साथीहरुले युनिभर्सिटी तिर नै फर्किने सल्लाह गर्यौ । नान्जिङ्का साथीहरुलाई समय मिले अर्को पटक घुम्न आउने बताउदै बस खोज्न गयौ । बल्ल बल्ल एउटै बस भेट्यौ र चदेर वेइफ्याङ फर्क्यौ । बाटोमा दाइले फोन गर्नुभयो । सुस्मिताले पनि गरिरहन्थिन । स्लिपिङ बस थियो । साथीहरु गफ गर्दै थिए, म अर्कोतिर फर्किएर बेस्सरी रोएँ । अरुको लागि त्यो आन्शुको कुनै महत्व थिएन, सिर्फ निरर्थक आसुँ तर मेरो लागि भने त्यो एक्लोपनको साहरा र उकुसमुकुसबाट उम्काउने घनिष्ठ मित्र बनेको थियो । जब सबै बिकल्पहरु बन्द भएको पाउछु, केही गर्न नसक्ने अवस्थामा पुग्छु तब जहिले मेरो आसुँ धरधरी झर्न थाल्छन् ।

मैले यता साथीहरु सँग रमाइलो गरी बिदा मनाउने र नयाँ ठाउँ घुम्ने योजना बनाउदै गर्दा उता बुवा एक्कासी अचेत भएर दल्नु भएछ । यही दिनबाट सुरु भएको थियो हाम्रो ग्रह दशा । काठमाडौं लिएर बि एन्ड बि मा भर्ना गरेर डीप भेन थ्रोम्बोसिस ‘DVT’ को सफल अपरेसन भयो । कक्कड भरेर खाने गर्नुहुन्थ्यो, फोक्सोमा पनि इन्फेक्सन देखिएछ । COPD को पनि राम्रो उपचार भएछ । हाइपरटेन्सन पनि ठीक भएछ । उहाँले सानैमा आमा गुमाएर टुहुरे बालापन, अती नै कष्टप्रद सैन्य जागिर र पिडादायी जीवन जिउनु भएको थियो । त्यसैले पनि होला संघर्षशील दिनहरुलाई जित्न चुरोतको साथ लिउनु भएको पनि । खुशीको कुरा उहाँ अशक्त हुँदा हुँदै पनि पुरा होशमा आउनुभयो । दाजुभाउजुहरु पनि एक महिना काठमाडौंमा सँगै बस्नु भयो । आजैका दिनबाट बुवाको बाँया पट्टिको शरीर चल्न छाडेको थियो त्यसपछी कहिल्यै पनि चलेनछ । बरु ठीक ६ महिनापछी अप्रिल २ तारिख चैते दशैका दिन सधैं सधैंका लागि मृत्‍युका सामु हार खानुभएछ । चाडै सन्चो हुने आशा गर्दा गर्दै मृत्‍युले जितेछ । बुवा त्यसरी बिरामी पर्नु भएको आज ठीक एक बर्ष पुगेको छ । पोहोर साल बुवा बिरामी परेर अब के होला भन्ने पिडामा रुदैथियौ, यसपाली त झनै बुवा गुमाएर टुहुरा-टुहुरि भएर बुवाको यादमा रुदैछौ । समय पनि कस्तो कस्तो आइपर्दोरहेछ । डायरीका पुराना पानाहरु पल्ताउछु, जताततै बुवाको स्वास्थ्यलाभका लागि भगवानसँग प्रथाना गरेको छु तर आखिर इश्वर कारुणिक आवाजहरु कहाँ सुन्दोरहेछ र !? मैले पुजेका प्रत्येक देवतासँग बुवाकै दिर्घायुको आशिर्वाद मागेको छु तर जवाफमा अन्याय पाएकोछु । शरण परेकोछु तर मरन पाएकोछु । आस्था राखेर आस्तिक बनेकोछु तर भ्रम हताएर नास्तिक मार्ग देखाएकोछ । मेरो जन्मदाताको सेवा लामो समय गर्न पाउने बर माग्छु तर अफसोच दैब मसँग खेलाँचीको ठट्यौली गर्छ । आजकाल मेरो मनमा एउटा द्विबिधा जन्मिएकोछ । मैले मेरो आदर्शको कोटिमा राखेका गान्धीले भन्ने गरे झै 'गड' भनेको के साँच्चीकै 'सत्य' नै हो त ? गड् भन्नुको अर्थ सत्य नै हो भने त्रुथ को अर्थ पनि गड हुनुपर्छ कि पर्दैन ? त्यो गड र त्रुथ भित्र किन प्रत्यक्ष अन्तर्सम्बन्ध हुँदैन ? के आस्तिकहरुको चाँही त्रुथ अर्थात सत्यलाई आत्मसात गर्दैनन र ? मलाई त गड भनेको विश्वाश मात्र लाग्न थालेकोछ, त्रुथ अर्थात सत्य भनेको बरु भौतिकतामा पाउन थालेकोछु ।

जीवन पछी मृत्‍यु हुन्छ, बिज्ञान यही भन्छ । मृत्‍यु पछी जिउ मर्छ, आत्मा जीबित नै हुन्छ र पुनर्जन्म लिउछ, धर्मिक ग्रन्थ यही भन्छ । जब म कलेज पढिरहेको थिएँ, मैले भौतिकवाद र आध्यात्मावादको समायोजनमा बाँचेको जीवन नै उत्कृष्ट जीवन ठान्ने गर्दथें । तर अब म त्यो बिचार बदलेर एउटा सार्थक जीवन जिउन चाहन्छु । अब आँफैलाई जितेर बिजयी बन्न चाहन्छु किन कि आफुले आँफैलाई जित्नु नै संसार जित्नुको पहिलो जित हो । मैले मृत्‍यु अन्तिम हार मान्ने गर्दथें भने अन्तिम जित सहादत मान्दथें । चाहे हार होस्, चाहे जित नै होस् । बुवाको स्वर्गारोहन भएर उहाँको जित भएकोछ, हाम्रो हार भएकोछ । जिन्दगीभरी हाम्रो लागि हार्नुभयो, अन्तिममा मात्र उहाँले आफ्नो लागि जित्नुभएको छ । उहाँले स्वर्गमा बसाइ सार्नु भयो । हामीले कत्ती गर्दा पनि रोक्न सकेनौ । हामीले बुवाको काललाई चाहेर पनि जित्न सकेनौ, हामी हार्यौ । अन्तिम पटक बुवासँग टादिदा दिदिहरुले भन्नु भए झै बुवा त्यही निहुमा बिरामी पर्नु भयो र सदाका लागि हामीलाई छाडेर जानुभयो । घरमा त के बुवाले हामीलाई भेट्न चाहेको बेलामा पनि हामी कोही पनि पुग्न सकेनौ । पानी पानी भनेर माग्दा पनि पानी खुवाउने न दुई दिदिहरु नेपालमै भएर पनि साथमा पुग्नु भयो, न त हामी प्रदेशी तीन छोराहरु नै । टाउको दुख्न थालेपछि आँफै अस्पताल पुगेर औषधी लग्नु भएको थियो रे । अम्मल गर्न छाडेर सन्चो हुन्छु कि भनेर रक्सी र चुरोत पनि छाड्नु भएको थियो रे । तमाखु उहाँको सानैदेखिको साथी थियो रे । रक्सी चाँही २२ बर्ष भारतीय सेनाको सेवा पछी पेन्सन आएर मात्र खान थाल्नु भएको हो रे । दिनभरी सुघ्न पनि नसुघ्ने तर साँझ भने अलिकती मात्र भए पनि हुनै पर्थ्यो । अहिले आएर केही भन्नुछ त केवल बुवाको स्वर्ग बसाइमा उहाँको आत्माले सुख शान्ती पावोस ।

बुवा, अब हामीले तपाईंलाई देख्न नसिर्जिए पनि, पहिले जस्तै भेटेर र बोलेर नमिले पनि सधैं सधैं आशिर्वाद दिइरहनु होला । गलत बाटोतिर जानबाट रोकेर सुमार्ग देखाइ रहनुहोला । इज्जत कमाएको हेर्न चाहने ति आँखाहरु हामीबाट कहिल्यै नहताउनुहोला, एक न एक दिन त्यो क्षण अबश्य आउने नै छ । चोला मात्र फेरिएको हो, हामी सबै साथै छौ बुवा । हामी जिउदै छौ बुवा । छुट्टीने बेलामा नबर्सिएका आसुँ अहिले हरेक पल तपाईंको सम्झनामा नरोकिएर अनबरत बगिरहेकाछन । यो जीवन भरी एउटा मृत्‍यु सन्चो नहुने घाऊ बनी बल्झिरहनेछ बुवा । शायद तपाईंको चाहना थियो, मेरो जीवन आसुँ र दु:खबिहिन देख्ने, त्यसैले त अन्तिम पटक तपाईंसँग छुट्टीदा सधैं झर्ने गरेका आसुँ रोकिए । जसरी बिना आसुँ चुहाइ तपाईंसँग अन्तिम बिदा लिएको थिएँ, त्यसरी नै बिना आसुँ तपाईंको सेवा गर्न चाहन्छु । आशिर्वाद पाउन लायक त छैन तर पनि सराप नदिनु होला बुवा । यदी भगवान छ नै भने तपाईंको पुनर्जन्म मैले देख्ने गरी मेरो यही जुनीमा हवस् अनी पार गर्न नसके पनि भार उतार्ने प्रयास गर्नेछु बुवा । पुनर्जन्म चाडै भैदियोस बुवा । मनुवा रुपमा छिट्टै पुनरागमन हवस् बुवा ।
04 Oct, 09

No comments:

Post a Comment