Wednesday, October 14, 2009

अचेल किन मेरो जंकोट

भरिपूर्ण मेरो जंकोट, किन अचेल खाली भा'छ ।
शान्तिको गीत गाउदा'नि, दुनियाको गाली पा'छ ।

थरी थरिका फूल फुलाउने, सिपालु माली भा'थ्यो
अचेल किन मेरो जंकोट, खडेरीको वाली भा'छ ।

अस्तीसम्म ओत लाग्ने, अप्ठ्यारोको पाली भा'थ्यो
अचेल किन मेरो जंकोट, फोहोर फाल्ने नाली भा'छ ।

आफ्नो-पराइ सबै चिन्ने, अरुको सधैं ताली पा'थ्यो
अचेल किन मेरो जंकोट, च्यातिएको चाल्नी भा'छ ।

कवच बनी बाण छल्ने, रुखको डाली भा'थ्यो
अचेल किन मेरो जंकोट, शिकारीको थाली भा'छ ।

जीवन मरणको धरापमा, न्यायको मुली भा'थ्यो
अचेल किन मेरो जंकोट, असत्यको फुली भा'छ ।

खुनै खुनको कुलो बग्दा, खेतालाको फाली भा'थ्यो
अचेल किन मेरो जंकोट, जमिन्दारको हली भा'छ ।

मेरै गीत देश बिउझाउने, समानताको चाली भा'थ्यो
अचेल किन मेरो जंकोट, मुखियाको जाली भा'छ ।

भरिपूर्ण मेरो जंकोट, किन अचेल खाली भा'छ ।
शान्तिको गीत गाउदा पनि, दुनियाको गाली पा'छ ।
13 Oct, '09

No comments:

Post a Comment