Saturday, August 22, 2020

तीजको शुभकामना

तीजलाई सकारात्मक संस्कृतिका रूपमै ग्रहण र अभ्यास गरौं, बेथितिका रूपमा होईन । बेथितिले सांस्कृतिक पवित्रतालाई नै नष्ट पारिदिने खतरा रहन्छ । 

हिजोको पितृसत्तात्मक समाजमा हाम्री आमा दिदीबहिनीहरुले तीजमा मनभित्र गुम्सिएको इच्छा आकांक्षा र पिर व्यथाहरु पोख्न र सामाजिक असन्तुष्टि प्रकट गर्न तीजलाई सदुपयोग गर्नु स्वभाविक थियो । अब हामीले चाहिँ निर्धक्क भएर नारी हकहित र समानताको सन्देशमुलक गीत गाउँदै समाज परिवर्तनमा जुट्नुपर्छ । 

कोरोना महामारीका कारण एकै ठाउँमा भेला भएर तीज मनाउने अवस्था नभएको हुनाले जो जहाँ छौं त्यहीँ घरभित्रै सामान्य तरिकाले तीज मनाउन र सामाजिक दूरीको ख्याल गर्न पनि अनुरोध गर्न चाहन्छु । 

हामीले अपनाउने सचेतताले कोरोनालाई नियन्त्रणमै राख्न सफल हुनेछौं भन्ने विश्वासका साथ सम्पूर्ण हिन्दु आमा दिदीबहिनीहरुमा हरितालिका तीजको हार्दिक हार्दिक शुभकामना! 

०५ भाद्र ०७७

आफ्नो सुरक्षा आफैंले गरौं

कोरोना महामारीसँग लड्न सरकारको तयारी कस्तो छ भन्ने प्रश्नको जवाफमा मन्त्री भन्छन्, आफ्नो घरमा पाहुना आएकाछन्, हतार छ, बोल्दैन भनेसी बोल्दै बोल्दैन नि!  

चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले संक्रमणको जोखिम कम गर्न पिपिइ माग गर्दा मन्त्री भन्छन्, भान्सामा लाउन समेत पिपिए मागे । 

स्वास्थ्य सामाग्री खरिदमा किन भ्रष्टाचार भयो भन्दा मन्त्री भन्छन्, जवाफ दिन आवश्यक छैन । 

क्वारेन्टाइनलाई व्यवस्थित पारौं भन्ने आवाज उठाउनेहरुलाई मन्त्री भन्छन्, तिनका आँखामा मोतियाविन्दु लागेको छ । 

पिसिआरको दायरा बदाउनुपर्छ, हस्पिटलहरुमा आइसियु र भेन्टिलेटर थप्नुपर्छ भन्दा मन्त्री भन्छन्, पिसिआरको गीत सक्यो अब भेन्टिलेटरको गीत गाउनेहरु गाइरहुन् । 

दिनहुुँ संक्रमित र मृत्यु दर बद्न थालेकाले कोरोना नियन्त्रण गर्न सरकारले अलि गम्भीर र प्रभावकारी काम गरोस् भन्नेलाई छुच्चो मन्त्री भन्छन्, तिनीहरुको मति सुध्रियोस्, शुभकामना छ । 

यी सबैको एकमुष्ट जवाफ प्रधानमन्त्रीले झन् सजिलैसँग दिन्छन्,"भ्रष्टाचार भएकै छैन, मन्त्रीको संलग्नता त झन् छदैछैन । देशमा त रामराज्य चलिरहेको छ ।" जब उनको दाबीलाई घटनाक्रमले गलत पुष्टि गर्दै लान्छ तब तुरुन्तै भन्छन्,"मलाई त थाहै छैन ।" उनी बल्ल सत्य बोल्छन्, हुन पनि आफ्नैं ईमान समेत थाहा नपाउनेबाट अरु आशा राख्नु नि व्यर्थ नै हो । 

हाम्रो समाजमा कथित जातीय अहंकार, सामाजिक विभेद, धार्मिक कट्टरपन्थी सोच, लैङ्गिक हिंसा, रुढीबादी संस्कार, जघन्य अपराध, आर्थिक-श्रम शोषण जस्ता तुच्छ कुराहरुलाई पनि जायज र स्वभाविक ठान्ने एउटा हिस्सा छ । त्यसले आफ्नो स्वार्थपुर्ती गर्न खराबलाई पनि सधैं सहि नै भनिरहन्छ । त्यही एउटा हिस्सा अझै पनि सरकार र मन्त्रीले गरिरहेका अनेकौं कुकर्मका वावजुद गुणगान गाउनमै ब्यस्त छ । तिनले सिर्फ दम्भ प्रदर्शन गर्नु, नीतिगत लुट मच्चाउनु, चलखेल र छलछाम गर्नुलाई नै सबथोक मानेका छन् । 

यतिबेला हामीलाई परिस्थितिले गम्भीर संकेत गरिरहेकोछ । अब उच्च ओहदा र तिनको पहुँचमा रहेकाले सरकारी र निजी अस्पतालहरुमा आफ्नो र आफ्नो परिवारको लागि आईसियु र भेन्टिलेटरहरु छुट्ट्याएर सुरक्षित राख्नेछन् । कोरोना संक्रमित सर्वसाधारण जनताहरु चाहिँ कोही अस्पताल जाने साधन नपाई घरमै टड्पिएर प्राण त्याग्नुपर्नेछ, कोही अस्पतालकै आँगनमा बेड खोज्दाखोज्दै छट्पटिएर मर्नुपर्नेछ । हाम्रै सामुन्ने कसैले आफ्नो आमाबुबा त कसैले छोराछोरी गुमाउनु पर्नेछ या आफैं मर्नेछौं । तर पनि त्यो अनैतिक झुण्डले यी सम्पूर्ण घटनालाई जायज र स्वभाविक नै ठानिरहनेछ । त्यो जमातले हाम्रो मरणमा कुनै सरोकार राख्नेछैन, कुनै पछुतो मान्नेछैन, आत्मग्लानी महशुस हुनेछैन, दु:ख मनाउ गर्नेछैन । उनीहरुको लागि राज्यको गैरजिम्मेवारीपनले आम मान्छे मरिरहनु कुनै समवेदनशील विषय नै हुँदैन । हाम्रो लागि कहालीलाग्दो विडम्बना होला तर तिनीहरुका लागि एक सामान्य परिघटना मात्रै हुनेछ । 

तसर्थ, आफू जोगिने र आआफ्नो घरपरिवार र आफन्तलाई जोगाउने कोशिस गरौं । कोरोनाले रातो बत्ती बालुन्जेल संयमित बनौं, केही समय धैर्यता अपनाऊ । समय कठिन होस् या सहज, सधैंभरी रहिरहदैन । यस सामुहिक युद्धमा तपाई हामी सबैजना उत्तिकै सशक्त योद्धा हौं । सबैले मनोबल उच्च राखौं । ०३ भाद्र ०७७ 

Wednesday, August 12, 2020

आदिवासी जनजाति र युवा दिवस

आदिवासी जनजातिहरुको सदियौंदेखि आफ्नै मौलिक कला, संस्कृति, संस्कार, भाषा, भेषभूषा, भिन्नै खालको परम्परागत मुल्य र मान्यताहरु छन् । अहिले लोपोन्मुख ती सबैको संरक्षण, सम्बर्द्धन र जगेर्ना राज्यको तर्फबाट नै गरिनुपर्दछ किनकि ती राज्य र समाजको साझा सम्पत्ति हुन् । त्यसैले सबैलाई सम्मान, पहिचान र अस्तित्व प्रदान गर्नु राज्यकै दायित्व हो । 

आदिवासी जनजातिको अनुकरण गर्नैपर्ने एउटा कुरा प्रकृति प्रेम पनि हो । प्रकृतिलाई सम्मान गरेर पुज्नुको अर्थ प्रकृतिलाई मानव जननी र सभ्यताको सृष्टिकर्ता ठान्नु देखिन्छ । अहिले विश्वभर कोरोना भाइरसले तहसनहस पारिरहेको बेला प्रकृति र जीवनबीच रहने परस्पर सम्बन्धको सान्दर्भिकता झनै प्रष्ट भएको छ । 

नेपालमा ०६८ को जनगणना अनुसार १६ देखि ४० वर्षका युवावर्गको संख्या ४०.३५ प्रतिशत रहेकोे छ । त्यसैगरी १६ देखि ३५ वर्षका युवा समूह ३४.३६ प्रतिशत रहेको छ भने १५ देखि २९ वर्षका युवा २७.८ प्रतिशत र १५ वर्ष मूनिको जनसंख्या हेर्दा झण्डै ३४.८ प्रतिशत छ ।

तसर्थ, यहीँ उमेर समुहका प्रगतिशील विचार, दृढ़ इच्छाशक्ति र शैलीमा नवीनता भएका युवाहरु नै राष्ट्र निर्माणको महत्त्वपूर्ण आधारस्तम्भ हौं । यहीँ तथ्यलाई सिरोपर गर्दै देश विकासकाे भरपर्दाे ताकत बनेर समृद्द देश बनाउनका लागि युवाहरूलाई बलियाे खम्बा बन्ने प्रेरणा मिलोस् । हामी सम्पूर्ण युवाहरूको एकता र प्रतिबद्धताले देशलाई आवश्यक योगदान पुगोस् । 

हामी सबैको चाहना आधुनिक सभ्य समाज नै हो । मानव र प्रकृतिको सन्तुलनमा मात्रै त्यो प्राप्त गर्न सकिन्छ भन्ने आदिवासी जनजातिहरुको बैज्ञानिक बुझाइलाई आजका युवाहरूले आत्मसात र अनुसरण गर्न जरुरी छ । यस आदिवासी दिवसको अवसरमा हामीलाई महामारीसँग एकजुट भएर लड्ने र परास्त गर्ने प्रेरणा मिल्नेछ भन्ने आशा र विश्वासका साथै पर्व मनाउदै गर्दा कोरोना संक्रमणलाई ख्याल गरेर सजगता अपनाउन पनि आग्रह गर्न चाहन्छु । 

सम्पूर्ण महानुभावहरुलाई २६औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस र अन्तर्राष्ट्रिय युवा दिवसकाे हार्दिक शुभकामना! 

10th Aug 2020

Wednesday, August 5, 2020

राजनैतीक ध्रुवीकरणको आवश्यकता

देशमा आमूल परिवर्तन गर्ने सपना बुन्दै समाजमा व्याप्त सबै खालका उत्पीडनहरुको अन्त्य गर्न आन्दोलनमा होमिएका थुप्रै मान्छेहरुको सामुहिक खुशीहरु मात्रै स्थगन होईन, जीवन नै अवसान भएका छन् । अधिकांशले राजीखुशी मृत्यु स्विकारेका थिए, गोलीले मुटु छेडेर रक्तमुछेल हुँदा पनि हाँसीहाँसी प्राण त्याग्नु चानचुने कुरा थिएन ।

जनयुद्ध र जनआन्दोलनको माध्यमबाट प्रस्फुटन भएको राज्य पुनर्संरचनाको मानसिकतालाई आत्मसात गर्ने कांग्रेसको तत्कालीन नेतृत्वकर्ता गिरिजाप्रसाद कोइरालाको निधन भइसक्यो, नयाँ नेतृत्वले मुद्दाहरुलाई अंगालेर सशक्त भूमिका निर्वाह गर्नै सकेन ।
देशमा राजनैतिक परिवर्तन आवश्यक रहेको यथार्थलाई स्वीकार्ने तत्कालीन एमालेको महासचिव माधव कुमार नेपाल पार्टीभित्रै हतोत्साहित भएर छट्पटिरहेका छन्, उनको उत्तराधिकारीलाई ती मुद्धाहरु प्रति खासै लगाव देखिदैन ।
एक दशक विभिन्न नारा लगाएर युद्धमा होमिएका प्रचण्ड बादलहरु बेथितिका साक्षी र रमिते मात्रै बने, संसदीय खेलमा चुर्लुम्मै डुबेर राजनैतिक कोर्सलाई बदल्ने हिम्मत गर्नै सकेनन् ।
सर्वहारा, श्रमजीवी र उत्पीडनमा परेकाहरुको अधिनायकत्वको वकालत गर्ने मोहन वैध्य किरण, गौरव, बाबुराम, विप्लवहरु छेउ परे/पारिए ।

अन्तमा हामीले यस्ता ऐतिहासिक राजनैतिक उपलब्धिहरु प्राप्त गरेर पनि गुणात्मक फड्को मार्ने अवसरबाट चुक्नुका साथै बाँदरको हातमा नरिवल भन्ने उखान चरितार्थ भइरहेको आभास गर्नुपरेको छ ।

अहिलेका राजनैतिक एजेन्डाहरु प्रचण्ड नेतृत्वको माओवादी पार्टीले जबर्जस्ती स्थापित गराएकै हो । त्यसको लागि उत्पीडित जनताले अपार समर्थन र त्याग पनि गरेकै हुन् । हजारौंको दुःखद् मृत्यु हुनु, अंगभंग हुनु अर्को कहालीलाग्दो पाटो छदैछ । युद्धकालिन घाइते मनहरुलाई अचेल कमरेड प्रचण्डसँंग अनेकौं प्रश्नहरु सोध्न मन लाग्दो हो तर यतिबेला तिनै सुप्रिमो प्रचण्ड निरिहि हुन बाध्य छन् । अहिले परिस्थितिबस् तिनीहरुलाई जवाफ चाहिँ राष्ट्रपतिसँग मिलेर केपी ओलीले निरंकुश तरिकाले रन्थनिने गरि दिदैछन् । यदी यहीँ शैली केही समय निरन्तर रह्यो भने त्यत्रो उत्साहका साथ ल्याइएको व्यवस्था धुजाधुजा हुने निश्चित छ । समाजवादको यात्रामा निस्किएर फेरि सामन्तवादकै आँगनमा आइपुग्दा यो व्यवस्थाका निम्ति रातदिन भोकप्यासै खटिएकाहरुले आफ्नो जवानी र पसिनालाई सम्झिएर गर्व गर्नुको सट्टा कताकता पछुतो पनि मान्दा हुन् । वास्तवमा ती साच्चिकै इमानदार थिए, धोकेवाज त अरु नै निस्किए ।

देशमा अहिले हेर्दा रूपमा अग्रगमन त छ तर सारमा प्रतिगमन भोग्नुपरेको छ । सिद्धान्तमा समाजवाद भनिएको भए पनि व्यबहारमा भने दलाल पुजीवाद हावी छ । लेखिने र देखिनेमा धेरै अन्तर देखिदैछ । बिज्ञान र मार्क्सवादलाई नै निकम्मा पार्ने दुस्साहस हुदैछ । जनताको आशंका, असन्तुष्टि र प्रश्नको भुमरीमा दिनानुदिन व्यवस्था फस्दैछ । हजारौंको योगदान र बलिदानले शासन गर्ने पात्र त फेरिए, चरित्र फेरिएन । व्यवस्था फेरिए पनि गरीब दु:खीका अवस्था भने फेरिएन । सबैभन्दा दु:खको कुरा त नेताहरुले समयको माग अनुरुप देश र जनताको आवश्यकतालाई बुझेर सम्बोधन गर्नै सकेनन् । राज्य हाँक्नेहरुले नै परिवर्तनको मर्म र सामाजिक मनोभावनालाई आत्मसात गर्दै गरेनन् । देशप्रति वफादार र जनताप्रति जिम्मेवार बन्ने छाँट समेत देखाएनन् । तिनीहरु सित्तैंमा झैं पाएको शक्तिको उन्मादले क्रमश: अयोग्य र असफलताको बिन्दुतिर लम्किदै छन् तर पनि अहंकारले फुलेकै छन् । दुक्कै!

राजनैतिक पार्टी र नेतृत्वहरुबाट विगतमा थुप्रै गल्तीहरु भएका छन् । तैपनि जनताले माफी दिदै पटकपटक मौका दिइरहेका छन् । अब पनि निर्मम दंगले आत्मसमिक्षा र आत्मालोचना गरेर सुध्रिने प्रण नगर्ने हो भने निश्चित छ, समय अनुकुल रहिरहने छैन ।

अबको विकल्प कि पार्टीहरु सच्चिने कि त सक्किने बाहेक अर्को छैन । जनताले पनि कि यिनैका विरुद्ध खरो उत्रिने कि त भरोसायोग्य अरु कोहि खोज्ने नै हो । प्रतिगामी, यथास्थितिवादी र प्रगतिशील व्यक्तिहरुको बीचमा ध्रुवीकरण जरुरी भइसकेको छ । निकट भविष्यमा एउटा सचेत किसिमको सामाजिक हलचल अत्यावश्यक छ । भलै एउटा अशल तानाशाहको कल्पना केवल कल्पना मात्रै हुनेछ ।

जनताले बहुला हात्तीको जस्तो अराजकता र गैरजिम्मेवारीपन धेरै सहिसके, अब शायद सहने छैनन् । यस्तो मनपरि सधैं चल्ने सम्भावना पनि हुदैन । मान्छेको चेतना कहिल्यै पनि दहको पानी जसरी यथास्थितिमा जमेर रहिरहन्न । समय सँगसँगै अझ अगाडी बद्ने बाटो खोज्छ खोज्छ नै ।

अति गर्नु, अत्याचार नगर्नु । अति गरे खटी हुन्छ । देश, जनता र स्वयम् उनैको भलाईका लागि बेलैमा चेतना हवस् ।
जय नेपाल!

कोरोना, न्यायलय र नेकपा

स्वर्ग र नर्क रहेछ भने पनि,
अरुको बुद्धिले स्वर्ग पुग्नेहरुभन्दा आफ्नैं विवेकले नर्क टेक्नेहरु नै बढी खुशी होलान् । अरुको हरेक काममा सधैं न्यायाधीश बन्न खोज्ने दुनियाँसँग साच्चिकैमा भने न्यायाधीश बन्ने सामर्थ्य नै हुदैन । आफ्नो जीवनकालमा आफ्नैं विवेक प्रयोग गरेर बाँंच्ने ब्यक्तिहरु नै खास अशल र सफलहरु हुन् ।

मान्छेको जनमदेखी मरणसम्मको अवधी मात्रै आफ्नो हो । तसर्थ, मृत्युको एकछिनअगाडि पश्चाताप गर्नुछैन भने जे गर्ने हो समयमै गर्नुपर्नेछ । समय सीमित छ ।
शुभ दिन! 
२२ जुलाई २०२० 

अन्धा छ कानुन । फैसला अन्धाधुन्ध नै गर्थ्यो । अहिले त त्यसैको निरन्तरता मात्रै हो । आम मान्छेका लागि निष्पक्ष छानबिन र न्यायको आशा त भगवान भरोसा नै थियो ।
आश्चर्य के मान्नु र!?

राष्ट्रपति, प्रधानमन्त्री, न्यायालय, राजनैतिक दल, अख्तियार, प्रहरी, प्रशासन जस्ता राज्यका प्रमुख अंगहरुले क्रमशः बिश्वास गुमाउँदै जानुले व्यवस्था नै पंगु बन्ने खतरा देखिदैछ । बेलैमा शुद्धीकरण थालौं ।

राज्यले नागरिकप्रतिको उत्तरदायित्व र जवाफदेहिता इमानदारीपूर्वक निर्वाह नगर्दासम्म यस्तै चलिरहनेछ । जतिसक्दो चाडो आचरण सुधारौं ।

क्यान्सर लागेपछि तुरुन्तै उपचार गर्नुपर्छ अन्यथा अन्यत्र फैलिएर जीउ नै जोखिममा पर्नेछ । समयमै सचेत बनौं । 
२३ जुलाई २०२० 


मान्छे आफैंप्रति इमान्दार हुनुपर्छ अरुको सामु आफ्नो ईमान प्रमाणित गरिरहनु पर्दैन । अनेकन प्रयत्न त तिनले मात्रै गर्छन्, जो आफैंभित्र गलत छु भन्ने जान्दाजान्दै पनि सहि देखिने स्वाङ पार्नैपर्छ ।

आफ्नो सामुन्ने दुई वटा मात्रै बाटो छन्, दुई मध्ये एउटा बाटो हिंड्नैपर्छ भन्ने बाध्यता छैन । अर्को नयाँ बाटो आफैं खन्न पनि त सकिन्छ । कठिन हुनसक्छ तर अधिक खुशी र स्वतन्त्रता मिल्नेछ । त्यसो गर्दा जीवन खेर जादैन बरु परम सन्तुष्टि प्राप्त हुन्छ ।

यहीँ नै हो जीवन । सार्थक जीवनको प्रयोगात्मक आत्मविश्वास! 
२७ जुलाई २०२० 

विश्वभर महामारीले तहसनहस पारेर हामीलाई खतरापूर्ण घण्टी बजाउँदै गर्दा पनि सिमानामा कडाइ गर्न, लकडाउन पालना गर्न, हस्पिटलमा आइसोलेसन बेड, आइसियु र भेन्टिलेटरहरु थप्न, भौतिक पुर्वाधार, यथेष्ट स्वास्थ्य सामाग्री र जनशक्ति तयारी अवस्थामा राख्न, क्वारेन्टाइन व्यवस्थित गर्न लगायतका पूर्वतयारी गर्ने प्रशस्त समय पाएर पनि सदुपयोग गर्नमा नचुक्नु चुक्यौं ।

प्रकृतिको कृपाले बाँचिरहेका र भगवान भरोसामा विश्वास गर्ने हामीहरु कोरोना नियन्त्रणपछि पनि सबैसँग सकुशल भेट्न पाइयोस् ।
आफू जोगिने र अरुलाई जोगाउने सद्वुद्धी मिलिरहोस् ।
शुभदिन!
२९ जुलाई २०२०