Thursday, January 26, 2012

बिघटन


कमरेड!
थोरैले भिन्ना-भिन्नै
धेरैले एक हौं
र त,
अडिग छ हाम्रो संकल्प
सँगसङै छौं यात्राभर
ति भीषण संघर्षदेखी
आजसम्म पनि ।

आपसी मेल थ्यो
अजङ विश्वाश थ्यो
तसर्थ,
युद्ध लड्न, युद्ध जित्न
तिमीले जे-जे भन्यौ
सबै पुरा गरें
शान्ती ल्याउन, कान्ती छाउन
मैले सोही गर्दै गएँ ।

मुक्ती वा मृत्‍यु, त्यो
बैचारिक शपथ रोजेर
दुनियाँ बदल्ने द्रिडता
बाटो एउटै, गन्तब्य एकै
उद्धेश्य, बिचार, भावना एउटै
परिवर्तनको चाहनामा
तिमीले दिएका आदेसहरु
बिना हिच्किचाहत पालना गर्दै गएँ ।

पुरानोको ध्वंस गरौं
नयाँ निर्माण थालौं भनी
आफ्नै घरको धुरी खम्बा
तोड भन्यौ, तोडिदिएँ ।

विभेदहरु मेटाउनलाई
सफायाको अभियानमा
आफ्नै ठुलो बालाई समेत
मार भन्यौ, मारिदिएँ ।

सामन्तको अन्त्य गर्न
सत्रु-मित्र छुट्याएर
आफ्नै दौतरीको घाँटी
सेर भन्यौ, सेरिदिएँ ।

क्रान्तिको ज्वाला बाल्न
गाउँमा आगो लगाउ भन्यौ
मैले आगो सल्काइ दिएँ
गाउँ हेर्दा हेर्दै घाट बन्यो
मानवीयता गौण भन्यौ
समर्थनमा टाउको हल्लाएँ ।

स्कुलहरु बन्द भन्यौ
गुरु-चेला हरण गरें
शान्ति क्षेत्र सुनसान रह्यो
कलमहरु अलप भए
बन्दुकले शून्यता दियो!
भावुकता डवाउ, भन्यौ
मैले सजिलै मानिदिएँ ।

मन्दिरहरु भत्काउ भन्यौ
त्रिसुल-घण्टी फुटाइ दिएँ
रुदिवादी पर्ब भन्यौ
बहिस्कारको उर्दी लाएँ
सडक कब्जा गर, भन्यौ
गाडीहरु बिस्फोट पारें
दुश्मनमाथि धावा बोल्न भन्यौ
गोली बर्साई लाशहरु दालें
निरंकुस जरा काट्न भन्यौ
बिजुली-पानीमा प्रहार गरें
तिमीले यसै गरी भन्दै गयौ
मैले सरासर मान्दै गएँ
किन कि
जन्माउने भन्दा तिमी उच्च थियौ
तिमी नै क्रान्तिको मेरुदण्द थियौ ।

यसरी नै हरेक कासनहरु
म खुरुखुरु पुरा गरिरहें
यसर्थ कि,
संघर्षमा बलिदान अपरिहार्य थियो
जोखिम यात्रा अनिबार्य थियो
समानताका आतुर अभिलाषाहरु
खुलेको बिहानीमा चाडै
रङिन सपनाहरु फुलेको हेर्न चाहन्थें
त्यो दिन ल्याउने दस्ता म
चाहनाको स्वप्नद्रस्ता तिमी
तर उप्रान्त
ति बिचार र उद्देश्यहरु फेरिएर
त्यो एकता र विश्वाश तोडिएछ
मलाई बिघटन गर्यौ
तिमी सङठित भयौ
हाम्रो सपना र आशाहरु
आफ्नै एम्बुसमा घाइते भए
बलियो सम्बन्ध धुजाधुजा भयो
हामीहरु अब ध्वस्त भयौं
अस्तिका जनसेनाहरु
हिजोका पूर्व छापामारहरु
आजका अयोग्य लडाकुहरु
05 Nov, 2011