Sunday, June 28, 2020

उनीलाई

बदलिएछ कि समय
बदलिछु आफैं
भिन्नै उमंग छ मनमा
खोजीरहेको अमुल्य चिज भेटाए झै
मुल बाटो भेट्न हतारिएको बटुवा झैं
कस्तो अनौठो व्यग्रता
कस्तो चन्चल प्रतीक्षा
धर्तीआकाश नै मुस्कुराइरहे झैं ।

एकै उद्देश्य
एकै गन्तव्य
समाहित भएछु निसन्देह
एक सहयात्री
एक सारथि बनेर
उप्रान्त
हिड्नु छ तिमीसँगै निरन्तर
र पुग्नुछ धेरै पर परसम्म
संघर्षको कष्टकर यात्रामा हाँसीखुशी ।

हाँस्दै साथमा
रुदै काखमा
हरपल हरक्षण
जीवन जिउने अभिलाषाले पुलंकित स्वप्नहरु
दकमक्क फुल्दैछन् यामहरु छोपिने गरि
पलाउदै छन् बाह्रैमास सुगन्ध छर्ने यादहरु
लालायित अन्तर्मनका मीठो तरंगहरु
मेरी तिमीलाई ।

तिम्रो एक इन्च उचाई अझै बद्छ भने
तिम्रो पाइला एक फड्को अघि सर्छ भने
तिम्रो खुट्टालाई निसंकोच काध थाप्न के भो र!

मभित्रै बसेकी छ्यौ सधैं सधैंलाई
जिन्दगीभर सुखदुःखको साक्षी बन्ने मान्छे
जुनी जुनीलाई पुग्ने अजम्बरी प्रण मेरो
मबाट हामी भैसकेको छु
तिम्रो सेतो जुत्ताको हिफाजत गर्न सकूँ ।

चित्रविचित्र सम्बन्धहरु
टक्टकाएर झर्ने पाइतलाको धुलो
बैँसमै वइलाएर झर्ने शिरफूल
विश्वासको अग्लो चुचुरो अट्ने तिम्रो दिल
तिमी भएरै
निकै फरक लाग्दैछ समय
उस्तै फरक लाग्दैछ मेरो जिन्दगी नै ।
१३ असार, २०७७

Saturday, June 13, 2020

गाउँतिर फैलिदै कोरोना

अहिले विश्वभरी महामारीको रुप लिएको कोभिड-१९ नयाँ कोरोना भाइरस त हो तर कोरोना भाइरस भने नयाँ होईन । योभन्दा अगाडि मानव जातिले धेरै प्रकारका कोरोना भाइरसको सामना गरिसकेका छौं । यस अघिका सार्स र मर्स कोरोना भाइरसको मृत्युदर क्रमशः ~१०% र ~३५% थियो जुन निकै उच्च दर हो जब कि कोभिड-१९ को संक्रमणले हुने मृत्युदर जम्मा २-४% मात्रै देखिन्छ । यसरी मृत्युदरलाई तुलना गरेर हेर्दा अहिलेको भाइरसलाई पहिलेको भन्दा कमजोर मान्नुपर्छ तर हलुको रूपमा लिएर लापरबाही गर्ने भुल भने गर्नुहुदैन ।

बिश्वमै उत्कृष्ट स्वास्थ्य प्रणालीको अभ्यास गर्ने भनिएका देशहरू नै कोरोनाका सामु घुँडा टेकिरहेको सन्दर्भमा नेपालमा कोरोना भाइरस संक्रमित भेटिन थालेसँगै सरकारले लकडाउन घोषणा गर्नैपर्ने बाध्यता थियो किनकि कोरोनासँग जुध्नलाई आवश्यक मानसिक र भौतिक पूर्वतयारी पर्याप्त मात्रामा गरिएकै थिएन । अरु देशहरूले पनि कोरोना नियन्त्रण गर्न यहीँ उपाय अपनाइरहेका थिए । लकडाउन हुनेबित्तिकै देशैभरी मान्छेहरुमा भाइरसले अब सखाप पार्नेभयो भन्ने अल्पबुझाई र चेतनाको कमीले गर्दा गाउँशहर जताततै त्रसित वातावरण बन्न पुग्यो । अहिलेसम्म समाजमा त्यो सन्त्रास कायमै छ जसले धेरैलाई रातदिन विक्षिप्त हुनेगरी सताइरहेको छ । यी सम्भावनालाई ध्यान दिएर नै मैले लकडाउन लगत्तै कोरोना सम्बन्धि केही जानकारीसहित फेसबुकमा आफ्नो नम्बर पनि शेयर गरेको थिएँ । अहिले मान्छेहरुमा रोगको बारेमा थुप्रै चेतना त आएको छ तर अझै पनि धेरै व्यक्तिहरुमा अस्पष्ट र अन्धाधुन्ध बुझाई रहेकाले निकै आतंकित भएको पाइएको छ । विशेषगरी जोखिम समुहहरु नै रोग बारे अनविज्ञ रहदा भोलिका दिनमा स्थिति नियन्त्रण बाहिर गयो भने अकल्पनीय मानवीय क्षति हुन सक्दछ । सामाजिक सन्जाल, टिभी, रेडियो, पत्रिकामार्फत कोरोना बारे लगातार प्रसारण भइरहेको हुनाले मलाई केही लेखिरहन जरुरी लागेको थिएन तैपनि लकडाउन खुकुलो भएसँगै पहाडी क्षेत्रमा पनि संक्रमितको संख्यामा वृद्धि हुँदै गइरहेकाले आफुलाई लागेको कुरा लेख्दा अलिकति भए पनि कोरोना नियन्त्रणमा सहयोग पुग्छ कि सोचेर लेख्ने निधो गरेकोछु ।

नेपालमा लकडाउनले शुरुका दिनदेखि नै ज्यालादारी गर्ने श्रमिक र  विपन्न वर्गलाई प्रत्यक्ष असर गरेको भए पनि यस अवधीभर पहाडी र हिमाली जिल्लाहरुमा जनजीवनलाई भने त्यति असर पुर्याएको थिएन । गाउँमा सबैको घरमा खानलाई भकारीभरि अन्न, बारीमा तरकारी, धारामा पानी भएकाले केही नुनतेल बाहेक अरु चिज खासै जोहो गर्न कठिनाई भोग्नु परेन । अरु बेलामा जस्तै अर्मपर्म, खेतीपाती र मेलापात निरन्तर चलिरहेकै थियो । तर शहरबजारमा करीब असी दिन कर्फ्यु सरह लागू भएको लकडाउनको प्रतिक्रिया स्वरुप लकडाउनको अन्य विकल्प खोज्नुपर्ने दबाबका कारण सरकारले नै अब खुकुलो पार्दै जाने भएपछि चाहिँ पहाडी र हिमाली भेगतिर पनि संक्रमितहरुको आवतजावत हुनसक्ने सम्भावना भएकाले सबैजना सचेत र समवेदनशील हुन अति जरुरी छ । अब लकडाउन खुकुलो भएसँगै गाउँघरतिर पनि संक्रमण फैलिनसक्ने र संक्रमितको संख्या बद्न सक्नेछ ।

अधिकांश मान्छेहरुलाई आजकाल स्वास्थ्यमा देखिने अन्य समस्यालाई पनि कोरोनाले पो छोयो कि भन्ने भ्रमले गर्दा छट्पटी बदेको देखिन्छ । एलर्जी, रुघाखोकी, सिजनल फ्लू र कोरोना भाइरसका लक्षणहरु एक अर्कोसँग मेल खाने भएकाले आम मान्छेले फरक छुट्याउन नसक्दा अनावश्यक मानसिक तनावबाट गुज्रिनु परेको छ । तसर्थ यी लक्षणहरु थाहा भयो भने केही तनाव कम हुनसक्छ भन्ने हेतुले छोटकरीमा लक्षणहरु उल्लेख्य गर्नु उपयुुक्त ठानेकोछु ।
एलर्जी: सुख्खा खोकी, हाच्छ्यु आउनु, नाकबाट पातलो सिंगान बग्नु, आँखा चिलाउनु र आँखाबाट पानी आउनु
रुघाखोकी: खोकी, हाच्छ्यु, घाँटी बस्नु, नाकबाट पानी बग्नु
फ्लू: खोकी, नाक र घाँटीमा म्युकस जम्नु, जीउ दुख्नु, टाउको दुख्नु, मन्द ज्वरो आउनु
कोरोना: उच्च ज्वरो, सुख्खा खोकी, हाच्छ्यु आउनु, नाक बग्नु, थकाइ महशुस हुनु, टाउको दुख्नु, घाँटी बस्नु, सास फेर्न अप्ठ्यारो हुनु
यदि कसैलाई यस्तो लक्षणहरु देखिएमा स्वास्थ्यकर्मीलाई तुरुन्तै खबर गर्नुपर्छ । उहाँहरुको सल्लाहअनुसार उपचारको जरुरत पर्नसक्छ वा आफैं होम क्वारेन्टाइनमा बस्नुपर्ने पनि हुनसक्दछ ।

सर्वसाधारणले के गर्ने र के नगर्ने:
नगर्नुपर्ने:
- भिडभाडमा नजाने, पूजापाठ र भोजभतेर नगर्ने
- अनावश्यक हिडडुल नगर्ने
- हात नमिलाउने, अंकमाल नगर्ने
- हातले नाक, मुख र आँखा नछुने
- शाकाहारी भोजन गर्ने वा माछामासु तथा अण्डा राम्ररी पकाएर मात्रै खाने
- पशुपंछीबाट सक्दो टाढा रहने
- क्वारेन्टाइनमा बसेकालाई शंकास्पद र हेयको नजरले नहेर्ने

गर्नुपर्ने:
- नियमित साबुनपानीले हात धुने
- सम्भव भएसम्म मास्क, पन्जा र चस्मा लगाउने
- हाछ्यु गर्दा कुहिनो वा रुमालले नाक मुख छोप्ने
- गाउँमा सामुहिक धारा प्रयोग हुने हुनाले टुटीलाई साबुनपानीले नियमित पखालिरहने
- दुई मिटर जतिको भौतिक दुरीलाई सदैव कायम राख्ने
- खानपिनमा मह, लसुन, अदुवा, बेसार, मिठी, धनिया, कागतीमा जोड दिने

क्वारेन्टाइनमा बस्नेहरूले:
- देशको परिस्थितिलाई बुझेर सरकारी चिज निशुल्क पाइन्छ भन्ने सोचले अनावश्यक सुविधाको माग नगर्ने, अधिक अपेक्षा नराख्ने
- आफ्नो सीप अनुसारको सिर्जनात्मक काममा व्यस्त रहने
- ध्यान र योग अभ्यास गर्ने
- धेरैजसो स्कुलहरुलाई नै क्वारेन्टाइन स्थल बनाइएको हुनाले त्यहाँ स्वविवेकले सरसफाइ गर्ने, बगैंचा बनाउने
- पिसिआर टेस्ट नेगेटिभ आएपछि मात्रै घर जाने मानसिकता बनाउने र घर गएको एक हप्तासम्म पनि घरमै सेल्फ आइसोलेसनमा बस्ने

जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुले:
- उचित खाने, बस्ने, पानी, साबुन र शौचालयको व्यवस्था गरिदिने
- जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुले क्वारेन्टाइन स्थलमा नियमित निरीक्षण, हेरचाह, परामर्श र उत्प्रेरित पार्ने खालको कुराहरू गर्ने
- पिसिआर टेस्ट गरेर मात्रै घर पठाउने व्यवस्था मिलाउने
- संक्रमित संख्यालाई ख्याल गरेर अतिरिक्त क्वारेन्टाइन तयारी अवस्थामा राख्ने

बिशेष अभियान:
- पालिका, वडा कार्यालय, स्वास्थ्य चौकी, क्लब, स्कुल र युवाहरू मिलेर भौतिक दुरीलाई ख्याल गर्दै टोलटोलमा मनोबैज्ञानिक परामर्श र सचेतना अभियान संचालन गर्ने । जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षित र सचेत तप्काको सूचनामूलक कुरालाई सुनेर सर्वसाधारणको आत्मबलमा अधिक वृद्धि हुनेछ ।
- जोखिम समुहलाई बढी ध्यान दिने: बिश्वभरिको तथ्यांकले जेष्ठ नागरिकहरु र दिर्घरोगीहरुलाई तुलनात्मक रूपमा सजिलैसँग संक्रमण र मृत्यु भएको देखाएकोछ । तसर्थ, साठी बर्षभन्दा बढी उमेरका र सुगर, प्रेसर, दम, मुटु, मृगौला, क्यान्सर लगायतका बिरामीहरुलाई सक्दो अरुको सम्पर्कमा नजान सल्लाह दिने, संक्रमण भएमा हुनसक्ने खतराको बारेमा जानकारी दिने ।
- नगरपालिका र गाउँपालिकाहरुले चेकजाँच छिटोछरितो बनाउन साझेदारीमा पिसिआर मेसिन खरिद र स्वास्थ्य जनशक्ति थप्नका लागि सामुहिक छलफल गरेर उचित विकल्प निकाल्ने
- फ्रन्टलाईनमा खटिने स्वास्थ्यकर्मीहरुलाई सम्भावित भयावह स्थितिका लागि मौजदात राख्न ध्यान दिने

बैज्ञानिकहरुद्वारा कोरोना भाइरस कोभिड-१९ को संक्रमण चमेरा वा अर्को कुनै वन्यजन्तुबाट भएको अनुमान गरिएको छ । चीनबाट संक्रमण हुन शुरु भइ युरोप र अमेरिकी शक्तिशाली मुलुकहरूलाई तहसनहस पार्दै महामारीको रुपधारण गरि पुनः एसियामै प्रवेश गरेको छ । ईन्डियामा भाइरस फैलिन थालेसँगै उता रहेका नेपालीहरु घर फर्किने क्रम ह्वात्तै बद्नु स्वभाविक थियो । सरकारले नेपालमा पनि भाइरस फैलिनसक्ने सम्भावनालाई हेरेर तुरुन्तै लकडाउन गर्ने सहि निर्णय गर्दागर्दै पनि स्वास्थ्य क्षेत्रमा आवश्यक प्राविधिक तयारी गर्न चुक्नु र सिमानाका सामुदायिक भवन र होटेलहरुलाई धमाधम सुविधाजनक क्वारेन्टाइन बनाउदै परिस्थिति अनुसार व्यवस्थित नयाँ क्वारेन्टाइन निर्माणमा लाग्नुपर्थ्यो । सिमानामा जथाभावी आवातजावतलाई कडाइ गर्दै व्यबहारिक रूपमा प्रवेशको प्रबन्ध गर्नुपर्थ्यो । नेपाल भित्रिएकालाई केही समय क्वारेन्टाइनमा राखेर पिसिआर जाँच गर्दै स्थानीय तह र प्रदेशको समन्वयमा सुरक्षित दंगले घरघरमा पुर्याउनु पर्थ्यो । यदि त्यसो गरिएको भए हाम्रो गाउँहरु पुरै सुरक्षित रहने र जनजीवन सामान्य अवस्थामै चलिरहने सम्भावना थियो तर सरकारले विपत्तिको बेला आफ्नो देश भित्रिन चाहने आफ्नै जनताहरुलाई उतै रोक्ने र छेक्ने कठोर नीति मात्रै लिने गल्ती गर्यो । जसले गर्दा नागरिकहरु सिमापारी कष्टकर समयमा आफुलाई अनाथ महसुस गर्नुपर्यो । देशको सिमानामा मात्रै नभएर देशभित्रै पनि पहुँच हुनेहरूलाई लकडाउन कडाइका साथ लागु हुनसकेन, केवल पहुँच नभएका गरिबहरुलाई मात्रै निर्ममतापूर्वक लकडाउनको पालना गर्न बाध्य पारियो । दैनिक ज्यालादारीमा पेट पाल्नेहरु भोकभोकै बच्चा च्यापेर हप्तौं हिडेर आफ्नो थातथलो जानुपर्ने परिस्थिति आइपर्यो । सिमानाबाट रातारात हजारौं मान्छे नेपाल पसेर बिना चेकजाँच आफ्नो गाउँगाउँ पुगे, बजारमा पावर हुनेहरु मनपरि यताउता गरिरहे । नागरिकहरुलाई गरिएको यस्तै असमान व्यबहारले गर्दा असन्तुष्टि चुलिदै गएपछि सरकार रक्षात्मक हुनुपरेको छ । सरकारसँग जनतालाई भोकको विकल्पमा राहत दिने सामर्थ्य छैन । लकडाउन लम्बिदै गएर निम्न मध्यम वर्गलाई असर गर्न थालेपछि उनीहरु बिरोध गर्दै बाहिर निस्किन थाल्दा लकडाउन खुकुलो पार्नैपर्ने अवस्था आउने निश्चित थियो । लामो समयसम्म देश नै बन्दाबन्दीमा राख्नु उचित र सम्भव पनि थिएन किनकि औषधी तुरुन्तै पत्ता लाग्ने सम्भावना अत्यन्तै न्यून छ । यस अघिका सार्स र मर्स कोरोना भाइरसहरुको पनि कुनै खोप वा औषधी अहिलेसम्म पत्ता नलागिसकेको हुनाले अझै कहिलेसम्म कुर्नुपर्ने हो भन्ने कुनै ठेगान छैन । स्वास्थ्यकर्मीहरुले बिरामीलाई अहिले गर्नसक्ने भनेको जे जति औषधी र उपलब्ध प्रविधि छ त्यसैमा निर्भर रहेर उपचार गर्ने मात्रै हो । बिज्ञानले अन्तर्महादेशीय मिसाइलको बिकास त गर्यो, अर्को ग्रहमा पुग्नसक्ने यान पनि आविष्कार गर्यो, पृथ्वीलाई नै कयौं पटक ध्वस्त पार्नसक्ने अस्त्रशस्त्रको निर्माण त गर्नसक्यो तर प्रकृतिको सामु सधैं लाचार हुनुपरेको छ । प्रकृतिलाई अज्ञानताबस चुनौती दिएकै कारणले सिङ्गो मानव जातीले यस्तै कहालीलाग्दो परिणाम बेलाबखत भोग्नुपरेको छ । त्यसैले लकडाउनले संक्रमणलाई जित्न असम्भव थियो । यो त केवल महामारीको समयलाई केही दिलो गराएर तयारी गर्ने सुनौलो अवसर मात्र थियो ।

सरकारले लकडाउन गरे सँगसँगै महामारी नियन्त्रणका लागि शहर र सिमामा व्यवस्थित क्वारेन्टाइन तयार पार्न नसक्नु, सरकारी अस्पतालमा आइसोलेसन वार्ड, आइसियु र भेन्टिलेटर थप्न नसक्नु, निजी अस्पताललाई प्रयोगमा ल्याउन नसक्नु, स्वास्थ्य सामग्री खरिदमा दिलासुस्ती गर्नु, सम्भावित जोखिमको सामना गर्न प्रष्ट मोडालिटी बनाउन नसक्नु, तिनै तहका सरकारका बीचमा आपसी समन्वय र सहकार्य हुन नसक्नु, स्वास्थ्यविदहरुको सुझावलाई बेवास्ता गर्नु, चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई संकटमा परिचालन गर्ने निश्चित पद्धति तयार नपार्नु जस्ता लापरबाहीले गर्दा संक्रमणकालमा सरकार आफैं झन्झन् अकर्मण्यतामा फस्दै गयो । संघीय सरकारको यस्तो रवैयाका वावजुद स्थानीय तहमा खटिएका जनप्रतिनिधिहरुले निर्वाह गरेको भूमिका भने असाध्यै सराहनीय र तारिफयोग्य छ ।

यतिबेला हामी गम्भीर परिस्थितिबाट गुज्रिरहेका छौं । कोरोनाका कारण हाम्रो अस्तव्यस्त स्वास्थ्य प्रणालीमा रहेको प्वाल मात्रै नभएर राज्य संचालन गर्ने शैलीमै भ्वाङ देखिने डर छ । अहिले संसारका सम्पूर्ण मान्छेहरु सामाजिक, मानसिक, आर्थिक सबै हिसाबले खल्बलिएका छौं । तर कठिन समयसँग भिड्ने र उम्कने जुक्ति नगरी धरै छैन । पहाडी र हिमाली भेगका लागि लकडाउनभन्दा लुजडाउन बदि खतरनाक सावित हुनसक्छ । कोरोनालाई समुदाय स्तरमा फैलनबाट रोकेर मानवीय क्षति कम गर्न सजगता अपनाउनु सबैको जिम्मेवारी हो । नागरिक र सरकारले हातेमालो गर्दै कोरोनाबिरुद्ध लडेर मात्रै महामारीलाई चाडै परास्त गर्न सफल हुनेछौं । यस्तो अवस्थामा आफू रोग सर्नबाट जोगिने र अरुलाई सार्नबाट जोगाउने नै उपयुक्त उपाय हो । आफू बच्नु र अरुलाई बचाउनु सबैको कर्तव्य र धर्म हो । त्यो भनेको सामाजिक र भौतिक दुरी कायम गरेर आफ्नो दैनिकी जारी राख्नु हो । त्यसो त कोरोना लागेको व्यक्तिसँग सम्पर्क हुने बित्तिकै सरिहाल्ने र रोग लाग्दैमा मरिहाल्ने पनि होईन । जुनसुकै रोगलाई जित्न पनि आत्मबल नै बलियो शक्ति हो । गाउँमा मान्छेहरुको जीवनशैली राम्रो छ, खानपिन स्वच्छ छ र घरहरु पनि केही दुरीको फरकमा हुनाले अझै फाइदा हुनेछ । सबैभन्दा मुख्य अस्त्र चाहिँ व्यक्तिगत सावधानी नै हो । तसर्थ, आफ्नैं लागि आत्मघाती नबनौं र अरुको जीवनको लागि पनि खतरा नबनौं । यहि नै अचुक मन्त्र हो ।