Sunday, March 16, 2014

होलीको पर्खाइमा

यसपाली नि फागुमा  
होली त खेल्छ्यौ नै होला ।   

उदास त्यो मुहारभरी
रङ नै रङले पोतिएला नै
पुरुषत्वको आडम्बरमा सदा झै  
रङ्याइन्छन् नै होला - पुरै अङहरु ।

सत्य जितेको खुशीयालीमा  
एउटा उत्सव मनाउन आतुर तिमी     
आजैदेखी पुन: जिन्दगीमा  
अरु निराशाहरु थप्न वाध्य छ्यौ । 

रङले पनि मुक्त गर्न नसकेका हाँसोहरु
खै! ति कहिले खुल्ने होलान!?
जिउमा अनेक रङहरु पोत्दा-पोत्दै  
छताछुल्ल पोख्न विवश छ्यौ 
तिम्रै खुशीहरु ।

जीवन भर्ने - रङ
जीवन बोल्ने - रङ
अब के तिम्रो जिन्दगी पनि उस्तै रङिन होला त!?

मैले बल्ल त्यो एक दिन  
हातमा एक मुठ्ठी रङ लिएर हाजिर हुनेछु
र, घस्नेछु तिम्रो मुहारभरी ।

पोहोर साल झै यसपाली नि
फिक्का होली त खेल्छ्यौ नै होला ।
2070/12/02