Sunday, March 16, 2014

होलीको पर्खाइ

यसपाली नि फागुमा  
होली त खेल्छ्यौ नै होला ।   

उदास त्यो मुहारभरी
रङ नै रङले पोतिएला नै
पुरुषत्वको आडम्बरमा सदा झै 
लोलाले हानेर निथ्रुक्कै 
रङ्याइन्छन् नै होला - तिम्रा पुरै अङहरु ।

सत्य जितेको खुशीयालीमा  
एउटा उत्सव मनाउन आतुर तिमी     
आजैदेखी पुन: जिन्दगीमा  
अरु निराशाहरु थप्न वाध्य हुनेछ्यौ । 

रङले पनि मुक्त गर्न नसकेका हाँसोहरु
खै! ति कहिले खुल्ने होलान!?
जिउमा अनेक रङहरु पोत्दा-पोत्दै  
छताछुल्ल पोख्न विवश छ्यौ 
आफ्नै सारा खुशीहरु ।

जीवन भर्ने - रङ
जीवन बोल्ने - रङ
अब के तिम्रो जिन्दगी पनि उस्तै रङिन होला त!?

म त्यो एक दिन बल्ल 
तिम्रो सामु एक मुठ्ठी रङ लिएर हाजिर हुनेछु
अनि घस्नेछु तिम्रो मुहारभरी 
तब हेर्नेछु तिम्रो उन्मुक्त हाँसो र रंगीन जीवन । 

पोहोर परार झै यसपाली नि 
फिक्का होली त खेल्छ्यौ नै होला । 
२०७०/१२/०२ 
घोराही, दाङ 

No comments:

Post a Comment