Wednesday, September 30, 2009

यसपालिको दशैं

दशैको उपलक्ष्यमा वेइफ्याङ मेडिकल युनिभर्सिटीमा अध्ययनरत ८औ र ९औ ब्याचले 'दशै भलिबल रनिङ् शिल्ड' को आयोजना गरेका थिए । ५औ, ६औ, ७औ, ८औ, ९औ र १०औ ब्याचका खेलाडिहरुको सहभागिता थियो । खेल २३, २४ र २५ तारिखका तीन दिन लगाएर खेलाइएको थियो । फाईनल खेल ५औ ब्याच र ६औ ब्याचका बिच २५ तारिखका दिन ४:३० बजे तय गरिएको थियो । अतिथिका रुपमा फोरेइन अफैर्सका प्रेसिडेन्ट प्रो लिउ लाई बोलाइएको भए पनि उनको कार्य ब्यस्तताले गर्दा फोरेइन अफैर्सका मिस्टर म्यात , सिनियर ट्युटर ज्हाङ, जुनियर ट्युटर को उपस्थिती थियो । खेल अती नै प्रतिस्पर्धात्मक र रोचक भएको थियो । खेलको पहिलो सेट ५औ ब्याचले जितेर हाम्रो ६औ ब्याच माथि नराम्रो दवाव पार्न सफल भएको थियो । तर त्यसपछिका लगातार तीन सेट जितेर हामी बिजयी भयौ । खेल हेर्न ओभर्सिज मात्र नभएर चाइनिज विद्यार्थीहरु पनि झुम्मिएका थिए । आयोजकका तर्फबाट केशब धामीले प्रथम र द्वितिय हुने खेलाडिहरुलाई अबिरको टिका लगाएर बधाई दिए । पुरुस्कार र प्रमाण-पत्र अतिथिहरुबाट बितरण गरिसके पछी मिस्टर म्यातले अबका दिनमा प्रोग्राम गर्नु अगावै अफिसमा जानकारी दिन र सके जतिको सहयोग गर्न आफु तयार रहेको बताए । एकछिन रमाइलो फोटोसेशन चल्यो । विनर टिमको बिरुद्ध मिक्स टिम भिडाएर रमाइलो गर्ने योजना भने समय अभावले पुरा हुन सकेन । अर्को दिन खशी काटेर दशै भोज मनाउने कार्यक्रम थियो ।

खशी कात्न धामी सर र सन्जित शाह खत्नु भयो । बिभिन्न परीकार बनाउन राजन लुइतेल सरले निकै मेहिनेत गर्नु भयो । साँझ ८:३० बजेबाट भोज शुरु भयो । जित्ने टिम क्याप्टेनको हैसियतमा मलाई शुरुमै अगाडि बोलाइयो । सबैको अगाडि बोल्नु पर्ला भन्ने अलिकती सम्म पनि सोचेको थिएन । एक्कासी बोल्नु पर्दा मनमा के बोलम् के बोलम् भएर आयो तर अली संयमित भएर आफुलाई लागेका केही कुराहरु राखें । जसको सारांश यस्तो थियो ।

“सर्ब प्रथम त दशैको अबसरमा खेलको आयोजना गर्ने ८औ र ९औ ब्याचका साथीहरु र मलाई यहाँ आफ्नो २/४ कुरा राख्न मौका दिने केशब धामी जी लाई धन्यवाद ।

मेरो अगाडि सम्पूर्ण सिनियर र जुनियर साथीहरुलाई देखेर म निकै खुशी छु । हामी नेपालको बिभिन्न ठाउँबाट आएको भए पनि यहाँ एउटै परिवार झै भएर दशै मनाउन पाउदा शायद हामी आफ्नो घरबाट धेरै टाढा छैनौ भन्ने महशुस हामी सबैले गरिरहेको नै हौला । हामीले खेल खेल्यौ, कसैले जित्यौ कसैले हार्यौ भन्ने भावना कसैले पनि मनमा राख्नु हुँदैन । खेललाई हामीले सबै साथीभाइ एकजुट भएर दशै रमाइलो गरी मनाउने बहनाको रुपमा मात्र बुझ्न जरुरी छ । हाम्रो मुख्य उद्देश्य त सबैले एक आपसमा गफ गर्दै नजिक बनौ, मनोरन्जन गरौं, चिन्जान नभएकाहरुले चिन्जान गरौं, चिन्जान भएकाहरुले अझै बदी आत्मियता बदाउ भन्ने नै हो । हामीले सिनियर र जुनियरका बिच ठुलो ग्याप देख्यौ र भोग्यौ तसर्थ त्यो हाम्रो पालादेखी नै हतेर जावोस भन्ने हाम्रो चाहना छ । यस अघी हामीले 'द रेड कोङ्ची भलिबल प्रतियोगिता' पनि सम्पन्न गर्यौ जसको मुल उद्देश्य पनि यही नै थियो ।

यसपालिको कार्यक्रम एकदम सफल भएको ठान्छु । कार्यक्रम सफल बनाउन कति अप्ठ्यारो पर्‍यो, कति परिश्रम गर्नु पर्‍यो भन्ने मलाई राम्ररी थाहा छ । यस्ता कार्यक्रमहरुले भबिश्यमा पनि निरन्तरता पाइरहनु पर्छ । यस खेलको आयोजना गरेर आज टुंगिएको छैन, यसले एउटा परम्पराको बिकास गराएको छ । सबैले यसबाट सिक्दै र गर्दै जानुपर्छ । सकेसम्म परिमार्जित र परिस्क्रित गर्दै लानुपर्छ । आजको दिन हाम्रो जीवनमा एक अबिस्मरनीय क्षण बनेर हाम्रो मानसपातलमा रहिरहनेछ । यस प्रतियोगितामा एउटा कुराले अत्ती नै गर्ब महशुस गरायो, पुरुषको भलिबल टिममा एकजना मात्र केटी (संगिता) पनि समाबेश भएर प्रतिस्पर्धा गर्नु चानचुने काम पक्कै पनि होइन । चुलो चौकोमा सीमित हाम्रा नेपाली दिदिबहिनीहरु पनि चेतनाका साथ चौघेरालाई तोडेर अगाडि बद्नु अत्ती नै प्रसंसनीय कुरा हो । उनको यो साहसको हामीले कदर गर्नै पर्छ ।

अनी अर्को कुरा मैले प्रस्तावको रुपमा के भन्न चाहन्छु भने, हामी जत्ती पनि ओभर्सिज विद्यार्थीहरु छौ, हामीले एउटा अप्लिकेसन अफिसलाई बुझाऔ । प्रत्येक सेम्स्टेरको शुरुवातमा अफिसले हामीलाई केही खेलकुदका सामाग्री उपलब्ध गराउनु पर्‍यो । चाइनिज स्टुडेन्टसलाई एक एक वटा भलिबल वा बास्केटबल दिन सक्छ भने हामीलाई एक दुई वटा बल कसरी दिन सक्दैन ? यसमा अफिसलाई सहमत गराउन नसकिएला र !? हाम्रो त अब जाने दिन पनि नजिक नजिक आइसकेको छ तर हाम्रो पछाडिका अरु ब्याचले हामीले जस्तै बल किन्ने बेलामा सधैं पैसा उठाउदै हिंड्न नपरोस ।

अन्तमा, यसरी सबै सँगै मिलेर रमाइलो गरेको, साथै बसेर खाएको अन्तिम दिन नभैदियोस । बिजया दशमीको यस् पावन अबसरमा सबै साथीहरुलाई दुर्गा माताले सुख शान्ती प्रदान गरुन् । जीवनमा आइपर्ने अनेक बाधा अबरोधहरु छिचोल्न सफल पारुन् । जिन्दगीका अध्यारा पाटाहरुलाई बिर्सेंर उज्यालो तिर लम्केका पाइलाहरु नथाकेर बदिरहुन् । यही कामना सहित यस खेललाई आयोजना गर्ने देखी सफल पार्न मुख्य भूमिका खेल्ने केशब धामी सर र सबैका लागि मिठो खानेकुरा तयार पार्ने राजन लुईटेल सर लाई बिशेष धन्यवाद दिदै बिदा हुन चाहन्छु । धन्यवाद ।”

मेरो मन्तब्य लगत्तै भोज शुरु भयो । खाने र पिउने काम सँग सँगै मनोरन्जन गर्ने काम पनि चलिरह्यो । सबैले आ-आफ्नो पुरा परिचय र आफ्नो छोटो ब्याक ग्राउन्ड बताउने कुरा राखें । रमाइलोको लागि सबैले एक एक वटा केही भन्न वा गर्न पनि मन्जुरी भयो । सबैको सहमति भए पछी त्यो क्रम चल्यो । सबैले पालै पालो दशैको शुभकामना पनि बाड्यौ । सबैको अनुहारमा भिन्नै चमक देखिन्थ्यो । सबैले सके जत्तिको रमाइलो गर्यौ । ११:३० बजे तिर पार्टी सकियो। टिकाको दिन फेरी यही भेला भएर नाचगान गरी रमाइलो गर्ने वाचाका साथ हामी छुट्टीयौ ।

टिकाको दिन निकै रमाइलो गरी नाचगान भयो, मैले पनि केही बेर रमाइलो मानी मानी हेरें । साँझ ८ बजेतिर शुरु भएको रमझम १०:३० सम्म चलि नै रह्यो । मलाई सबैले थुप्रै पटक नाच्न आग्रह गर्न थाले । नाच्नै पर्छ भनेर तान्न नै थालेपछि राजन सरलाई मैले मेरो तितो वास्तबिकता भन्न वाध्य भएँ । भलिबलमा प्रथम भएर पनि अबिर लगाएन मैले । दशमीको दिन पनि टिका लगाएन । पोहोर सालसम्म आफ्नो गाउँ-ठाउँ, परिवार र साथीसँगी भन्दा टादा रहेर मनाएको दशै भन्ने गर्थे तर अहिले बुवा बिनाको पहिलो दशै जबर्जस्ती मान्न वाध्य भैरहेको छु । धनीलाई दशै गरीबलाई दशा भनेको सुनेको थिएँ । हो रहेछ नै, धनको गरीबलाई भन्दा मनको गरीबलाई दशै त दशा नै बनेर आउदो रहेछ । इश्वरको लीला भनु या प्रक्रितिको नियम, एकदिन यस संसारबाट बिलाएर जानु त छदैछ तर पनि जीवन बाँचुन्जेल पिडा पनि सहनै पर्ने रहेछ । जीवनको सकारात्मक पक्षलाई सधैं माथि नै राख्नु पर्ने रहेछ । हामी प्रक्रिती र समयको दास हौं त्यसैले जे जे आइपर्छ चुपचाप आज्ञा पालन गर्नु नै हाम्रो कर्तब्य हो । त्यही नै हाम्रो धर्म हो, जित पनि हो ।

नेटको समस्या र निकाल्न नसकिएको बेफुर्सदिले दशैको शुभकामना पहिल्यै दिन सकिन । दिलै भए पनि मेरो ब्लग भिजिट गर्ने सम्पूर्ण परिचित-अपरिचित मित्रहरुमा दशैको हार्दिक शुभकामना । असत्यको हार र सत्यानाश भएर जावस, सधैं सत्यको जित भैइराखोस् ।
31 Sep,'09

Tuesday, September 29, 2009

बुवाको तस्बिर र दुई दिने डायरी

- २२ सेप्टेम्बर, ०९
रातभरी राम्ररी निन्द्रा लागेन । मनमा नानाभाँटी कुराहरु खेलिरहे । दाजुभाउजुले ब्रुनाइबाट पठाउनु भएको पार्सेल आज मात्र पाएकोछु तर खोल्ने साहास गर्न सकिन, त्यसैले जस्तो आएको थियो त्यस्तै राखेकोछु । शायद मेरो बदलामा अरु कोही भैदिएको भए हतार हतार खोलेर हेर्ने थियो होला । यदी फरक समय र फरक पार्सेल भएको खण्डमा मैले पनि मेरो हात पर्ना साथ खोलेर हेर्ने थिएँ होला । मान्छेको बिबशता पनि कस्तो कस्तो हुदो रहेछ । समयसँग जुध्न कति गाह्रो रहेछ, समयलाई स्विकार्न निकै कठिन रहेछ । राती एक बजेसम्म जाक्तै थिएँ, कोल्ते फेर्दा फेर्दै कतिबेला निदाएछु ।

- २३ सेप्टेम्बर, ०९
बिहान ५:४५ तिर उठेर हात-मुख धोएँ । हिजो मात्र पाएको त्यो पार्सेल वा बुवाको फोटो प्याक गरिएको बन्द खाम खोल्ने आँट गरेँ । खोलेर सादर दोघ गरेँ, सफा र चिल्लो सतहमा हात घुमाएँ अनि मेरो सामुन्ने टेबलमा सजाएँ । सधैं झै चार वटा धुप बालेर अगाडि राखिदिएँ । धुप सँग सँगै मेरो मन पनि जल्न खोज्यो, धुपको उडिरहेको त्यो धुवा सँगै कता कता मेरो मन पनि उड्न खोज्यो तर संयमित भएर आँफैले आँफैले रोकेँ । गह भरी आसुँ भरिए तर बग्न दिएन । एक गिलास चिसो पानी पिउने सोचें, सम्झिए बुवाको त्यो अन्तिम चित्कारमा आमाको क्रन्दन । दिमखोलाको चिसो पानी खाने सधैं सधैंलाई अपुरो भैदिएको बुवाको अन्तिम इच्छा । अरु दिन झै चाइनिज चियामा तातो पानी हालेर खान तम्सिएँ । फेरी झलक्क सम्झिएँ, बुवाले बिहान उठ्ने बित्तिकै तातो फिका चिया कहिल्यै नतुताइ सधैं खाने गर्नु भएको । स्याउ झिँके, दुध झिँके, केही कुनै पनि मुखमा हाल्न सकिन । मेरो आत्माले मलाई केही खाने अनुमती नै दिएन । बुवाको हातमा यि सब सुम्पिन मिल्ने भए ! मसँग भएका सबै खानेकुरा बाँडेर खान मिल्ने भए ! बुवाको आँखा एकोहोरो मतिर हेरिरहेका थिएँ । मेरो मन मान्दै मानेन, मलाई हेरेर टोलाई रहेका बुवाका ति दुई आँखाहरु अनि मन्द मुस्कान छरेर बोलाइरहेका झै लाग्ने बुवाका ति ओठहरु, बुवाको अती सुन्दर तस्बिरलाई जसरी हेर्दा पनि मलाई नै चियाइरहे जस्तो लागेर आयो । उहाँले बाँया हातमा लगाउनु भएको घडि, जुन उहाँको अबशेष र चिनोको रुपमा मात्र मसँग मेरो साथमा छ । पहेलो रङको कुर्चिमा बसेर आशिर्वाद दिइरहे जस्तो, गलत कुराबाट सचेत बनाउदै सहि बाटो देखाइरहे जस्तो । मेरै सामु बसेर दिब्य उपदेश दिइरहे जस्तो लाग्यो । मेरो अघिल्तिर मेरो अतितका कल्पना अनायास दोहोरिएर घुम्न थाल्यो । कुनै दिन सोचेको थिएँ, "समयले साथ दियो भने म मेरो बुवाआमा लगायत हाम्रो सम्पूर्ण परिवारलाई चाइना घुमाइ ल्याउनेछु । मैले पढेको क्लास रूम, म बसेको कोठा, सुतेको बेड, फोनमा उहाँहरु सँग कुरा गर्दा हिंडेका बाटा, घुमेका पार्क र ठाउँहरु देखाउनेछु । 'ग्रेट वाल' चदाउनेछु ।" समयले साथ नदिए पनि, भाग्यले घाट गरे पनि आज बुवाको तस्बिर यहाँ सम्म आएकोछ । फोटो मात्र भए पनि मेरो कोठामा आइपुगेकोमा साँच्चीकै बुवा नै आउनु भए जस्तो भाण भैरहेकोछ । मैले चाहेको पनि यही हो तर समय कति क्रुर, कति निर्मम हुदोरहेछ । कस्तो कस्तो अकल्पनिय दुर्दशा भोग्न वाध्य पार्दो रहेछ । भौतिक सम्पन्नता र सक्षमताले बलवान भन्दा पनि सर्बशक्तिमान त समय रहेछ । समयसँग आएको दुर्घटना रहेछ, दुर्घटनाको चोट रहेछ, चोटलाई सहनै पर्ने बिबशता रहेछ, बिबशतालाई जित्न सक्ने सिर्फ मन रहेछ । मनलाई पनि जित्न सक्ने आत्मबल मात्र रहेछ, केवल आत्मबल ।

बिहान क्लास थियो, क्लासबाट आएर मेरो सिरानीको ठीक माथि कार्ल मार्क्सको फोटो राखेँ । मार्क्सको दाँया बाँया माओत्से तुङ, मदर टेरेसा, गान्धी, चे ग्वभेरा, नेल्सन मण्डेला, शेक्सपियर लगायतका मेरा आदर्शहरुको फोटो टाँसे । कार्ल मार्क्सको सिधा माथि बुवाको फोटो राखेँ । विश्वका ति महामानवहरु लाई धेरैले आदर्श ब्यक्ति मान्छन् तर मेरो बुवा त मेरो लागि अनेक कोणबाट सबै भन्दा अग्लो, चौडा र ठुलो आदर्श हुनुहुन्छ । मेरो आदर्शहरु भन्दा पनि धेरै माथि म मेरो बुवालाई पाउछु । जती धेरै ति संसारकै आदर्शहरुबाट सिक्न सक्छु, त्यो भन्दा कयौ गुणा म मेरो बुवाबाट सिकेकोछु र सिक्छु । उनिहरुको जस्तै निश्चित सिद्दान्त र दर्शनका कुरा नहोला तर म मेरो बुवासँग सामाजिक व्यबहार बदी लिएकोछु । मैले सिद्दान्त र दर्शनका कुरा सामाजिक व्यबहारका एउटा भाग मात्र ठान्छु । मेरा ति आदर्शहरुको जीवनीबाट मैले जती प्रोत्साहन पाउछु, त्यो भन्दा धेरै माथि म मेरो बुवाको जीवनीमा पाउछु । मेरो बुवा मेरो लागि संसारका मेरो आदर्शहरुमा पनि आदर्श पुरुष हुनुहुन्छ, तसर्थ मेरो बुवाको तस्बिर सबैभन्दा ऊच्च स्थानमा राख्नु अनुचित हो जस्तो लाग्दैन । मैले सधैं मेरो मुटुको धद्कन सुन्ने गरेकोछु, मेरो आत्माको आज्ञा पालन गर्ने गरेकोछु । मेरो आत्मा यही भन्छ, "मेरो बुवा संसारका मेरा आदर्शहरुमा पनि आदर्श हुनुहुन्छ ।" उहाँको जती प्रभाव मेरो दैनिक जीवन र व्यबहारमा परेको छ, त्यती अरु कसैको पनि परेको छैन र पर्न सक्ने पनि छैन । उहाँको स्थान मेरो मन, मस्तिष्क र मुटुको ऊच्च सिहाँसनमा सधैं आसिन रहि रहनेछ र म आफ्नो सौभाग्य सम्झेर जीवनभरी निरन्तर पुजिरहनेछु ।

Tuesday, September 22, 2009

ऊ अर्थात मेरो साथी

आग्रह गर्‍यो,
उसको आँखामा चियाएँ
कत्ती विश्वाश त लागेन
तर पनि
उसको बिनम्रतालाई स्विकारीदिएँ
शरण पर्नेलाई मरन नगरु सोची
आफ्नो काध थापिदिएँ
आफ्नो सँगै उसको पनि भार थामिदिएँ ।

रात रहे अग्राख पलाउँछ रे
कति नै समय पो लाग्दो रहेछ र !
सोचाइ फेरिएको, मन बदलिएको भ्रम पार्न
स्वयम मान्छेकै सक्कली आवरन लुकाउन
फेरी कति दिन नै लाग्दो रहेछ र !
स्वयम मान्छेले पुरानै अनुहार देखाउन पनि ।

उसको एक्लोपनमा साथी बनिदिएँ
उसको दोधारमा सहि निर्णय लिइदिएँ
उसको दु:खमा मेरो सुख सुम्पिदिएँ
तर,
तर आज त ऊ
ऊ मेरो साथी
मेरो प्रगतिमा डाहा गर्छ
मेरो सफलटामा मनभरी जल्छ
मेरो पिडामा नून-खुर्सानी छर्कने
खुब रहर पो गर्छ
बाटोमा हिंडेका मेरो पाईलै पिच्छे
सकी नसकी छिर्के हाल्छ
मेरो मुटु तुक्रिएर बहेका आँशुमा
निकै आनन्दको शितलता खोज्छ
मेरो भित्री खुशीमा उसको आत्मा जलन हुन्छ
वा क्या जान्ने र बुझ्ने भएछ ऊ त
ऊ अर्थात मेरो मिल्ने साथी

आफैलाई रिझाउन अरुलाई बिझाउने भएछ
खोला तरेर लौरो बिर्सने बिचार बोक्ने भएछ
दुध पिएर उल्तै बिष डस्ने भएछ
ऊ अर्थात मेरो अत्ति नै मिल्ने साथी । ।

मेरो साथी

साथी
चदेर मेरो बुई
पुग सबै भन्दा माथि ।

साथी
थिचेर मेरो घाँटी
बन संसारकै आँटी ।

साथी
साटेर मेरै छाती
हुनु दुनियाँमै जाती ।

साथी
सुखलाई त्यागी
रह सधैं खुशी ।

साथी
बन्धनलाई तोडि
बदी राख अघी अघी ।

साथी
आँफैलाई जिती
बसाउ जितको तिथी ।

साथी
राखेर ह्रिदय साक्षी
म सदा तिम्रै हुँ साथी ।

25 Jan, 2011  

Monday, September 21, 2009

धेरै पछी आज

हाम्रो युनिभर्सिटी नयाँ ठाउँमा सारीसके पछी होस्टेलमा ईन्टरनेटको ब्यबस्था गरिसकेको छैन । नेट चलाऊने भए युनिभर्सिटी एरिया भित्र नै रहेको साईबरमा कहिले काही गएर एकछिन बस्यो, मेल चेक गर्‍यो अनी रूम फर्क्यो। जहिले साईबर आउन समय त्यती मिल्दैन । आउँदा पनि ब्लगमा पोस्ट गर्न सोचे जत्ती सजिलो छैन । ब्लग, फेसबूक, हाइ५, युत्युब जस्ता साईटहरु चाइनामा ब्लक गरेको छ । प्रोक्जी साईटको सहायाताले चलाइरहेका थियौ अब त त्यो पनि ब्लक गरेको छ । फेसबुक मित्रहरु सँग भेट हुन पाएको पनि छैन, न त ब्लग नै पोस्ट गर्न पाएको छु । कोठामा समय मिलाएर केही कबिता लेखेको थिएँ । सोचेको थिएँ, कुनै दिन साईबर जाँदा USB मा लगेर पोस्ट गरौला तर एक्कासी कम्प्युटर बिग्रेर सबै उड्यो । बिभिन्न साईटहरुमा गरेको कमेन्टका लिन्कहरु, फुर्सद मिल्दा तुङ्याउन बाँकी राखेका कबिताका केही अन्शहरु, बि.बि.सी. मा पढिएका मेरो स्रोता प्रतिकृया र आफ्नै आवाजमा प्रसारित स्रोता बिचार सबै हराएर गए । अघिल्लो महिनामा बिदा हुनुका साथै कोठामै नेट थियो र सजिलो थियो तर अहिले अली गाह्रो हुदो रहेछ । सोचेको जस्तो केही नहुने । फेसबुक बल्ल बल्ल खोलिन्छ तर होम पेज मात्र, अरु केही गर्न मिल्दैन । पढाई पनि अन्तिम बर्ष पुगिसकेकाले अली बदी समय दिने पनि सोचिरहेको छु । यस सेम्स्टेरमा निकै महत्वपूर्ण छ वटा बिषय छन । कोठामा नै नेट भएको खण्डमा ब्लग पोस्ट र साथीहरु सँग संपर्कमा रहन शायद त्यती गाह्रो नहोला । आशा गरौ, चाडै नेटको ब्यबस्था गरिनेछ । छिट्टै सोचे जसरी नै सबै कुरा सजिलै हुँदै जानेछ ।
21 Sept,'09

Wednesday, September 9, 2009

रातो भाले अर्थात 'द रेड कोङ्ची'

हाम्रो युनिभर्सिटी पुरानो ठाउँ शेङ्लिदोङ, वेइफ्याङबाट फुयान्शामा सरेको छ । ४औ र ५औ ब्याचहरुलाई हस्पिटल आउन जान नजिक पर्ने भएकाले उहाँहरुलाई उतै राखेको छ भने अरु सबै ब्याचहरुलाई यहाँ सारेको छ । सर्दा के कती झन्झट र अप्ठ्यारो ब्यहोर्नु पर्‍यो त्यो कुनै दिन अबश्य लेख्ने नै छु । अहिले भने म अलि भिन्नै कुरा लेख्न खोजी रहेको छु ।

हामी अगस्त २८ तारिखका दिनमा यता सरिसके पछी बिदा सकिन पनि एक हप्ता बाँकी नै थियो । मेरो ब्यग्तिगत दैनिकी भन्नु पर्दा बिहान उठेर मुख धोएर धुप बाल्नु, खाना खान बाहिर जानु, साथीहरुसँग गफ गर्दै कुनै राम्रो फिल्म वा कुनै डकुमेन्ट्री हेर्नु, साँझ तिर खेल्न ग्राउन्ड जानु बाहेक कुनै नौलो रहेन । त्यस बिचमा आफ्नो दैनिक जीवनलाई केही फरक बनाउन र रमाइलो गर्न साथीहरु सँग मिलेर भलिबल प्रतियोगिता राख्ने सल्लाह गर्यौ । खेल उपाधिको नाम 'द रेड कोङ्ची भलिबल कम्पेटिसन्' (कोङ्ची=चाइनिज भाषामा भाले )अर्थात ‘रातो भाले भलिबल प्रतियोगिता’ राख्यौ । खेल खेल्न उत्कृष्ट खेलाडिहरु छानेर उत्कृष्ट टिम बनाउने जिम्मेवारि अनुसार सबै क्याप्टेनहरुले आ-आफ्नो राम्रो टिम दर्ता गर्यौ । दर्ता गरिएका टिम र खेलाडिहरुको नाम जस अनुसार थियो ।

५औ ब्याच
१. बिनोद राना (क्याप्टेन)
२. देव राई
३. रत्न सुबेदी
४. कुमार श्रेष्ठ
५. बिकास श्रेष्ठ
६. नवाङ शेर्पा
७. सन्जित साह्

६औ र ७औ ब्याच
१. अक्ष थापा
२. ईन्द्र शाही
३. दावा लामा
४. सन्तोष कुँवर
५. दिनेश श्रेष्ठ
६. जीवन बुढा
७. चन्द्र जी. एम. (क्याप्टेन)

८औ, ९औ, १०औ र ११औ ब्याच (मिक्स)
१. राजु बिष्ट (क्याप्टेन)
2. सुशिल पोखरेल
3. सतिश चौधरी
४. अनिल यादव
५. तेज नारायण
६. केदार मण्डल
७. श्याम ठाकुर

खेल सन्चालन गर्न सजिलोको लागि प्रत्येक टिमबाट दुई/दुई जना अम्पायर चुन्यौ ।
५औ ब्याचबाट रत्न सुबेदी र बिकास श्रेष्ठ, ६औ र ७औ ब्याचबाट चन्द्र जी. एम. र दावा लामा तथा मिक्स टिमबाट राजु बिष्ट र सुशिल पोखरेल ।

खेललाई बदी प्रतिस्पर्धात्मक र अनुशासित तरिकाले सम्पन्न गर्न खेलाडिहरुको लागि सामान्य आचारसंहिता बनायौ र त्यो भन्दा बाहिर जान खोजेको खण्डमा रेफ्रीले गल्ती अनुसारको जुन सुकै पनि निर्णय गर्न सक्ने अधिकार रहेको जानकारी दियौ । त्यो आचारसंहितामा आफ्नो र टिमका खेलाडिको तर्फबाट टिम क्याप्टेनले प्रतिबद्दता जनाउने ब्यबस्था गर्यौ । जुन सारांशमा यस्तो थियो ।
" यस अन्तर ब्याच 'रातो भाले भलिबल' प्रतियोगितामा प्रथम चरणको खेल लिगको नियमानुसार खेलाइने छ र बराबरिको अवस्थामा स्कोरको आधारमा हेरिनेछ । दोश्रो चरणको खेल प्रथम स्थानको लागि बिजेता र उपबिजेता बिच खेलाइनेछ । खेल अबधी भर खेलाडीले पूर्ण रुपमा अनुशासनको पालना गर्नु पर्नेछ अन्यथा टिम क्याप्टेनहरुको सहमतिमा बनाइएको नियम अनुसार रेफ्रीले गरेको सम्पूर्ण निर्णय मान्य हुनेछ, मान्नु पर्नेछ । यदी केही कुरामा चित्त नबुझेर बेखुशी भएमा झै-झगडा गरेर परिस्थितीलाई जतील बनाउनु भन्दा पनि सम्बन्धित मान्छेहरु सँग सौहार्दपूर्ण बातावरणमा बसेर आफ्नो असन्टुष्ति राख्ने र सहि तरिकाले समस्याको उचित समाधान गरी त्यस बिषयलाई सकारात्मक दंगले तुङ्याउन मेरो ब्यग्तिगत र टिमको तर्फबाट प्रतिबद्दता ब्यक्त गर्दछु ।"

५औ ब्याच
बिनोद राना
६औ र ७औ ब्याच
चन्द्र जी. एम.
८औ, ९औ, १०औ र ११औ ब्याच (मिक्स)
राजु बिष्ट


फाईनल पुग्नु अगाडि तीन टिमका बिच लिग खेलाएर पहिलो र दोस्रो हुनेलाई अन्तिम भिडन्तमा उतार्ने निर्णय गर्यौ । त्यही अनुरुप सेप्तेम्बर ४ तारिख साँझ चित्ठा तिपाउने काम भयो । पहिलो खेल ५ तारिखका दिन बिहान ७ बजे ६औ र ७औ ब्याचको टिम र मिक्स टिम बिच भयो , जसमा ६औ र ७औ ब्याचको टिम सोझो सेटमा दुई खेल जित्न सफल भयो । दोस्रो खेल ६औ र ७औ को टिमका बिरुद्ध ५औ ब्याचको टिम थियो । त्यसमा पनि ६औ र ७औ को टिम २-१ को अग्रतामा जित हात पार्दै फाईनल प्रबेश पायो । अब फाईनल खेलको प्रतिस्पर्धी हुन ५औ ब्याच र मिक्स टिमको बिच खेल भयो । खेल ५औ ब्याचले सोझो सेटमा २-० ले जित्दै फाईनल यात्रा तय गर्‍यो । फाईनल खेल त्यही दिनको दिउसो ४ बजे निर्धारण गरिएको थियो । फाईनल खेल ५औ ब्याचका बिरुद्ध ६औ र ७औ ब्याचको टिम बिच थियो । 'बेस्ट अफ फाइभ' अनुसार भएको अन्तिम खेल ६औ र ७औ ब्याचको टिमले ५औ ब्याचको सिनियर टिमलाई १५-८, १५-११ र १५-५ को अवस्थामा सजिलै जित्न सफल भयो । ६औ र ७औ ब्याचको टिम अन्तत: उत्कृष्टहरुमा पनि सर्बोत्कृष्ट बन्न सफल भयो ।

प्रतियोगिताको प्रथम हुने टिम अथवा हाम्रो टिमले पाएको पुरुस्कार कुनै आफ्नो ब्यग्तिगत स्वार्थमा प्रयोग गर्नु थिएन । बरु आफ्नो जितको खुशीमा पूर्वयोजना अनुरुप साँझ ८ बजेदेखि राती ११ बजेसम्म सामुहिक भोजको आयोजना गर्यौ सबै र खेलाडी र आमन्त्रित सिनियर्सलाई एकै ठाउँमा बसेर रमाइलो गर्ने र भलाकुसारी सात्ने अबसर मिल्यो । हाम्रो मुख्य उद्देश्य हामीसँग छुट्टीएका सिनियरहरुसँग भेटघात गर्ने मौका मिलाउनु एवम खेलसंगै रमाइलो गर्नु र समयको पनि उपयोग गर्नु नै थियो । हाम्रो चाहना चाँही ५औ ब्याचदेखि ११औ ब्याचसम्मका सबैले एक अर्कालाई चिनजान गर्न र घुलमिल हुन सहयोग मिलोस भन्नु नै हो । हामी एउटै युनिभर्सिटीमा अध्ययन गरिरहेर पनि धेरै साँघुरो घेरामा बसिरहेका हुन्छौ, त्यो हताउनु खोज्नु पनि हाम्रो अर्को स्वार्थ थियो । रुपमा हेर्दा प्रतिस्पर्धात्मक कार्यक्रम हो तर पनि सारमा चाँही आपसी मिलाप र एक अर्काप्रती सहयोगको भावना जाग्रित गराउनु नै थियो, जुन कुरामा हामी सफल पनि रह्यौ भन्ने लाग्छ । सिनियरहरुको तर्फबाट उपहार स्वरुप भलिबल प्राप्त गर्नु र हामीले हाम्रो अतिथी मानेर सकेजतिको सत्कार गर्नु पक्कै पनि सानो कुरा होइन । सिनियर्सले खेल शुरु हुनु अगावै बल ल्याइदिएको जानकारी संगै प्रदान गर्नु, हामीले आ-आफ्नो कोर्टबाट नै ताली पितेर धन्यवाद दिनुले पनि खेलको महत्व अझै बदाएको थियो । खेलमा सबै खेलाडिहरुले अनुशासनको पूर्ण पालना गर्नुले पनि खेलको शालीनता र मान्यता थपेको थियो । भित्रैबाट गर्वले छाती फुलेको पनि थियो किन कि यस्तो आयोजना यो भन्दा पहिले यसरी विद्यार्थीको पहलमा भएको थिएन । पोहोर साल दशैमा गरेका थियौ र जितेका पनि थियौ तर त्यो भन्दा यसपाली धेरै कुरामा फरक थियो । त्यतिबेला दशैको नाममा बाजी मारेका थियौ, जितेका थियौ र एक्लै रमाएका थियौ तर यसपाली हामीले आफ्नो क्षमताले भ्याए सम्म सके जती ब्यबस्थित बनाउन सोच्यौ, समय खर्च्यौ, कार्यक्रमको सफल आयोजनाको लागि खत्यौ र अन्तिम समय सम्म पनि खतिरह्यौ । जित्न भन्दा हामी प्रतियोगिताको सफलताको लागि परिश्रम बदी गर्यौ । मलाई ब्यग्तिगत रुपमा हामीले राम्रो परम्पराको शुरुवात गर्यौ भन्ने लागि रहेको छ ।

हुन त खेलको सकारात्मक कुरा मात्र भएको होइन, एउटा बिर्सनै नसकिने कमजोरी हामीले सबैलाई सुचना दिन सकेनौ । कसैलाई प्रतियोगिता बारे ब्यापक प्रचार गर्न खताउन सकेनौ या आँफै खत्न सकेनौ जसले गर्दा केही गुनासा पनि सुनिए । एक हप्ताको समयमा हतार-हतार आयोजना गरिएको हुनाले पनि गल्ती भएको भएको हो कि ! भन्ने लागेको छ । अब भबिश्यमा ति र त्यस्ता भुल नगर्न प्रयास गर्ने मन मनै प्रण लिएका छौ । जितमा जित्ने र हारमा पनि नहार्ने आत्मबिश्वास बोकेका हामी यसरी नै सिक्दै जानु पर्छ भन्ने लाग्छ । साँझ पार्टी शुरु हुनु अगाडि मैले यो हार र जितको खेल भन्दा पनि सिनियर्स र जुनियर्सको मित्रता कस्ने दाउ भएकाले सबै साथीभाइले आफ्नो दिमागबाट हार र जितको मानसिकता हताएर आ-आफ्नो कुरा बिना संकोच निर्धक्क सात्न आग्रह गरेको थिएँ । बिनोद दाइले पनि हार र जितको खेल जुवामा मात्र हुने भएकाले यो खेललाई हामीले सँगै बसेर रमाइलो गरेको रुपमा मात्र बुझ्न भन्नु भयो । सबैले आउने दिनमा पनि यस्तो कार्यक्रम गर्न सुझाव दिए । सबैको एउटै प्रतिकृया थियो, कार्यक्रम निकै उत्साहजनक र सफल रह्यो ।

अन्तमा मलाई पनि भन्न मन लागिरहेको छ, हो कार्यक्रम सफल भएकै हो र हामी सफल भएकै हौ । सफल बन्न र बनाउन सहयोग गर्ने सहभागि टिमका खेलाडिहरुलाई हार्दिक धन्यवाद । खेललाई बदी रोमान्चक बनाउन २५ किलोमिटर टाढाबाट पनि खेल हेर्न आउने सिनियरहरु र यहिका जुनियर साथीहरुको माया पाएकोमा सबै खेलाडिको तर्फबाट मुरिमुरी धन्यवाद दिन चाहन्छु । खेलाडिहरुलाई पानीको ब्यबस्था गरिदिने सबै ब्याचका साथीहरु र आयोजनाको लागि सहयोग गर्ने सम्पूर्ण सिनियर र जुनियर साथीहरु प्रती आभार प्रकत गर्न चाहन्छु । आफ्नै ब्याचका साथीहरु दिनेश श्रेष्ठ र सन्तोष कुँवर (६औ ब्याच), दावा लामा (७औ ब्याच) र राजु बिष्ट र सुशिल पोखरेल (८औ ब्याच) लाई ह्रिदयदेखि नै बिशेष धन्यवाद दिएर पनि कम हुन्छ । हामी सबैको प्रयासले मात्र हामी सफल भएका हौ । शुरुबाट अन्त सम्म नै हामी सम्भव भए जती गर्यौ र गरिरह्यौ । फलत: हामीले राम्रो आयोजनाको अनुभव सँगालेर अब आउने दिनका लागि मार्ग सहज बनाएका छौ । भबिश्यमा नयाँ नयाँ कार्यक्रम आयोजना गर्ने आत्मबिश्वास थपेका छौ । मुख्य कुरा त हामीले राम्रो उदाहरण पेश गरेका छौ, जुन अरुले पनि सिक्न सक्ने छन र आउने दिनहरुमा पनि यसलाई एउटा परम्पराको रुपमा अगाडि बदाउनेछौ । पछी पछी सम्म पनि यसरी नै निरन्तर आयोजना हुँदै जानेछ,, भइरहनेछ । अहिलेलाई यही आशा र कामना गरौं ।