Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Sunday, June 28, 2020

उनीलाई

बदलिएछ कि समय
बदलिछु आफैं
भिन्नै उमंग छ मनमा
खोजीरहेको अमुल्य चिज भेटाए झै
मुल बाटो भेट्न हतारिएको बटुवा झैं
कस्तो अनौठो व्यग्रता
कस्तो चन्चल प्रतीक्षा
धर्तीआकाश नै मुस्कुराइरहे झैं ।

एकै उद्देश्य
एकै गन्तव्य
समाहित भएछु निसन्देह
एक सहयात्री
एक सारथि बनेर
उप्रान्त
हिड्नु छ तिमीसँगै निरन्तर
र पुग्नुछ धेरै पर परसम्म
संघर्षको कष्टकर यात्रामा हाँसीखुशी ।

हाँस्दै साथमा
रुदै काखमा
हरपल हरक्षण
जीवन जिउने अभिलाषाले पुलंकित स्वप्नहरु
दकमक्क फुल्दैछन् यामहरु छोपिने गरि
पलाउदै छन् बाह्रैमास सुगन्ध छर्ने यादहरु
लालायित अन्तर्मनका मीठो तरंगहरु
मेरी तिमीलाई ।

तिम्रो एक इन्च उचाई अझै बद्छ भने
तिम्रो पाइला एक फड्को अघि सर्छ भने
तिम्रो खुट्टालाई निसंकोच काध थाप्न के भो र!

मभित्रै बसेकी छ्यौ सधैं सधैंलाई
जिन्दगीभर सुखदुःखको साक्षी बन्ने मान्छे
जुनी जुनीलाई पुग्ने अजम्बरी प्रण मेरो
मबाट हामी भैसकेको छु
तिम्रो सेतो जुत्ताको हिफाजत गर्न सकूँ ।

चित्रविचित्र सम्बन्धहरु
टक्टकाएर झर्ने पाइतलाको धुलो
बैँसमै वइलाएर झर्ने शिरफूल
विश्वासको अग्लो चुचुरो अट्ने तिम्रो दिल
तिमी भएरै
निकै फरक लाग्दैछ समय
उस्तै फरक लाग्दैछ मेरो जिन्दगी नै ।
१३ असार, २०७७

Sunday, May 31, 2020

बालापन बाँच्न खोज्दा

बिहान ह्वामा धुरी हेर्यो
साँझ थुर्पा धुरी हेर्यो
फुला उठेको मकै खादै
भुक्क फुलेको रोटी च्याप्दै
दिनभरि रमाई रमाई गाउँ डुल्यो ।

अति रमाइलो थ्यो घामपानी
औधी पृय थिए इन्द्रेणी फूलहरु
धापालसँग टाँसिएको आकाश छुने
कस्तो अदभूत थ्यो रहर पनि ।

मनभरी बोल्दा नि हुने
पेटभरी माग्दा नि पाइने
सुते पनि, उठे पनि
रोएरै जिते पनि हुने ।

उहिले खास नभए पनि
सवैसवै भए जस्तै
अहिले सबै भएभए जस्तो
तर केहि खास हराए जस्तो ।

आफ्नै मर्जीले नबिउँझीन उर्दी छ
मनको कुरा नबोल्न आदेस छ
गरिबीकै मुनि चिनेको अक्षरहरु
जान्ने भएर नलेख्न हुकुम छ ।

देश भताभुङ्ग छ
व्यवस्था लथालिङ्ग छ
कसैलाई छाती चिथोर्नुछ
कसैलाई मंश लुछ्नु छ
कसैलाई मुटु चाख्नु छ
हेर्दाहेर्दै
देश निरस निरस हुँदैछ
राष्ट्रियता खोक्रो खोक्रो हुँदैछ
सरकार भने तिनैलाई भाला ठमाइरहेछ
आफैंले जथाभावी छुरी चलाइरहेछ ।

समाज हेर्छु
खलवल खलवल देख्छु
सरकार हेर्छु
धरमर धरमर देख्छु
गाउँ हेर्छु
सुत्केरीहरु दोकोमै मरिरहेको देख्छु
शहर हेर्छु
रोगीहरु ठेलामै टड्पिरहेको देख्छु
गरीवीले थिचिएर थिलथिलो निधारहरु
कुपोषणले चाउरिएका शिशुहरु
कतै कठ्याङ्रिएका लाशहरु
कतै पहिरोले पुरिएका परिवारहरु
करोडौको हेलिकप्टर भने राजधानीमा जगेडा हुन्छ
उता जनताहरु मलामी गइरहेका छन्
यता शासकहरु सलामी थापिरहेका छन्
प्रशासन हेर्छु
ज्यानमारासँग चियर्स गर्दैछ
अदालत हेर्छु
भ्रष्टचारीकै पक्षमा फैसला सुनाइरहेकोछ
लेखेर के नै हुन्छ र सोच्छु
बोलेर छुच्चो नबनु सोच्छु
मुर्दासँग जीउँदो बात नगरुँ भन्छु
बरु बालापनमा फर्किन खोज्छु
दौँतरीसँग बेस्सरी दगुर्ने मन गर्छु
तर उसैगरी रमाउनै नसक्ने भएछु ।

अक्षर चिनाउने निरक्षर मेरी आमा
च्याटिएको लुङिलाई नमन
माटो प्रेम चिनाउने मेरो बुवा
प्रदेशमा थापेको छातीप्रति सलाम
देशभक्ति बुझाउने मेरो दाजु
सामाजिक मनप्रति कृतज्ञ छु
न्याय सिकाउने मेरी दिदी
जीवन संघर्षप्रति गर्व छ ।

उखुबारीमा दिनहुँ
बहिनी निर्मलाहरुको सास थुनिन्छ
भेरी नदीको वहावमा
दिउँसै नवराजहरु बिलिन हुन्छन्
कतै वर्गीय खाडल देख्छु
कतै अधर्मको चीत्कार सुन्छु
कतै जातीय क्रन्दन
कतै लिङ्गीय दमन
कतै हिंसाको डमडमी छ
कतै आस्थाको विचलन छ
शहरभरी महँगा स्कुलहरु छन्
चोकचोकमा निर्दयी अस्पतालहरु छन्
अनाथ अनागरिक अमान्छेहरु
शिक्षाको भिक्षा चाहिरहेका छन्
ओखतीको आश गरिरहेका छन्
स्वतन्त्र र स्वाधिन राज्य खोज्दै
राज्यसँग न्यायको भिख मागिरहेछन्
निउरोहरु बाँसुरीको धुनमा मस्त छन्
गोयवल्सहरु सारंगीको तालमा लट्ठ छन्
नसुने झै म कसरी गरुँ
नदेखे झै म कसरी गरुँ
बोल्नै नआए झै मौन म कसरी रहूँ
बरु शिर झुकाएरै बिन्ती गर्न बाध्य छु
सरकार! जवाफ देउ
सरकार! इन्साफ देउ ।

अचेल मेरो दैनिकी बदलिएको छ
हरेक दिन नयाँ अवतार फेरिएकोछ
म बुद्ध भएर जन्मिन्छु
गान्धी भएर हुर्किन्छु
दिनभर मार्क्स भएर जिउछु
राती स्टालिन र हिटलर भएर मर्छु ।

मैले बाँचिरहेको दुनियाँ अर्कै छ
म बाँच्न चाहेको समाज झन् भिन्नै छ
देश बुझाइमै बिशाल अन्तर परेछ
जनजनकै भोगाई असमान भएछ
म एकदिन लेख्न बोल्न छाड्नेछु शायद
र चुपचाप पाइलाहरु चाल्न थाल्नेछु ।

सुदुरपश्चिम भोकमा छ
सुदुरपूर्व रोगमा छ
दरवार अझै प्यासमा छ
शितल निवास गहिरो शोकमा छ
देशको दुर्दशाले म आहत छु
मभन्दा बहुत दुखेकोछ सिंहदरवार बालुवाटार
यसर्थ कि
समय उसको बिरुद्धमा छ
अर्को चुनावमा जिन्दावाद र मुर्दावाद भन्नेहरु मर्दैछन्
पार्टीको चिन्हमा सरासर ल्याप्चे ठोक्नेहरु मर्दैछन्
खाडी गएर रेमिट्यान्स पठाउने कामदारहरु घट्दैछन्
सचेतहरु मासुभात र रक्सीमा बिक्न इन्कार गर्दैछन्
म तिनको झुटा सपना बोक्ने भरिया बन्न राजी छैन ।

Friday, May 22, 2020

दुष्ट छिमेकी

छिमेकीले
मेरो आँगनलाई रछ्यान बनायो
चुपचाप सहेर बसें ।

अस्तितिर चल्ला हरायो
बाख्रो हरायो
पानी हरायो
पिंदीको दुङ्गा हरायो ।

काँडेबार लाउँ
पिर मान्छ कि सोच्छुँ
बोलचाल रोकूँ
मर्दापर्दा चाहिएला सोच्छुँ
हुदाहुदै
हिजो त दिउसै दोका नै फोरियो ।

आज त झन् सबेरै
घरभित्रैबाट छोरी चोरियो
बाहिर
बारी चोरियो
माथि
लेकै चोरियो
वल्लो गाउँ नै चोरियो ।

कपटी!
खुल्ला दिललाई घात गर्दैछस्
कठै!
तेरै अहंकारले आफैं जल्दैछस् ।

कसरी सोचिस् तैले
मेरो पुर्ख्यौली नासो हडप्ने
कसरी आँट्न सकिस्
मेरो पुस्ताको छाती चिथोर्ने
कत्रो दुस्साहस गरिस्
स्वाभिमानी इतिहास मेट्ने
कस्तो छली नियत तेरो
नेपाली बंशज सखाप पार्ने
तेरो तिखा दाह्रा नङ्राहरु विरुद्ध
मैले अझै प्रतिकार गर्न नहुने!?

छिमेकी सम्झेर सहनु सहियो
मेरो सर्वस्व लुटिन खोजियो
दुष्ट छिमेकी!
अब त मेरो सबथोक फिर्ता चाहियो ।
२०७७/०२/०७

Thursday, January 24, 2019

पागलको विपक्षमा

ए! पागल  
कहिल्यै नखुल्ने भो चेत तिम्रो 
सतिले सरापेको मुलुक भन्थे  
तिमीलाई चाँही कसले सरापेछ हँ? 
आँफै अर्धपागल म 
धन्नै तिम्रो संगतले पुरै पागल भईनछु ।  

दुर्गममा चिकित्सक नपुगेर के भो र ?   
गरीब विरामी अकालमै मरे नि के भो र ? 
विपन्नले पढ्न नपाएर के नै हुने हो र ? 
माफियाले सरकार चलाए पनि 
नेताहरु विदेश गई उपचार गरेर आए पनि 
आखिर तिमीलाई हुने नाफाघाटा के छ र!? 

खानेलाई खान देउ 
मर्नेलाई मर्न देउ 
जसको शक्ति छ 
उसैको भक्तिगान गर्ने त हो 
सवै मान्छेलाई वरावरी देख्ने तिम्रो दृष्टिभ्रम 
सवै नागरिकलाई समान सोच्ने तिम्रो दोषी मन 
कठै! तिम्रो पागलपन । 

पुष्तौपुष्ता पुग्ने भ्रष्टाचार गर्नलाई  
न सत्ता चाहिएकोछ तिमीलाई   
न त भत्ता नै 
अपराधबाट चोखिन 
न कसैको सुरक्षा चाहिएकोछ 
न त राज्यको संरक्षण नै 
कुर्सीमा बस्नेका रङ धेरै फेरिए 
तिमी किन कहिल्यै फेरिन्नौ?  
बुदी आमाकोभन्दा वदी देशको माया गरेर  
आफ्नै ज्यानलाई मारेर गरीबको चिन्ता गरेर 
यस्तो के अनर्थ गर्न खोजिरहेछौ?   
कठै! तिम्रो बहुलापन । 

तिम्रो सोंच 
तिम्रो नैतीकता 
तिम्रो भावना 
सवै सवै त्यागिदेउ 
वरु गिज्याउनदेउ साँझ बिहान तिम्रै निष्ठालाई   
त्यागी न हौ तिमी  
त्यसै त अरुकै लागि जीवन त्याग्न तयार छौ  
न श्रीमती 
न छोराछोरी  
किन गर्दैछौ बेथितीको विरोध?     
कसका लागि बसाल्नुछ - संस्कार?   
ए! पागल
यो तिम्रो कस्तो जिद्दि मन !?  

वाणले छियाछिया शरीरको असह्य पिडा सहदै   
तिखा तीरैतीरैको ओछ्यानमा पल्टिरहेको भिष्मपितामह झै  
अविचलित, निसंकोच, द्रिद, शान्त, शान्त 
ए! पागल 
तिम्रो पाउ छोएर मेरो अन्तर्मनले प्रणाम भनिरहेछ  
तर 
तिमीले झै अन्न र पानी त्याग्ने आँट छैन मसँग 
मभित्रको लोभ, स्वार्थ, मोहलाई जितेर 
न त अरुको सुर्ता गर्दै पागल वन्ने सामर्थ्य नै  
ए! पागल  
अरुकै निम्ती प्राण दिन तयार 
यो तिम्रो कस्तो बिचित्र तन!? 
तिम्रो यो कस्तो पवित्र मन!? 

ए! पागल 
म पागल बन्न नसक्नेरहेछु
कृपया! तिमी नै अर्धपागल वनिदेउ 
फोहोरमा सुहाउने झिंगाहरुलाई 
भन्किनदेउ त्यतै रछ्यानतिर  
प्रिय! पागल 
निस्वार्थ सेवाको अभियोगमा यमराज  
जारी गर्दैछ अहंकारको रेडकर्नर नोटिस तिम्रै नाउँमा       
सत्याग्रहीको सम्मान गर्दै सरकार  
अभिनन्दनको शान्दार कात्रो बुन्दैछ  
तिमी भने निश्चिन्त 
बुझाईरहेछौ - सत्य र धर्म     
खोजिरहेछौ - कोठीमा बन्देज न्याय  
चाहिरहेछौ - मानवता 
मागिरहेछौ - नागरिक हक 
र बसिरहेछौ आमरण अनसन      
यो तिम्रो कत्रो आत्मबिश्वास!?  
तिमी कस्तो दुर्लभ पात्र!? 
तिम्रो यो कस्तो चरित्र!? 
प्रिय! पागल  
बिन्ती छ  
अरुकै लागि सर्वस्व त्याग्न तयार तिमी 
अव तिम्रै पागल ब्रम्हज्ञान पनि त्यागिदेउ ।   

११ माघ २०७५  
हुबेई, चाइना 

Wednesday, January 16, 2019

सुनछहारी

सुनछहारी! 
पुस्तौदेखी बेहिसाव बगिरहेछ 
कलकल 
निरन्तर ।    

केवल पानी त कहाँ बग्यो र!?  
छालसँग खिइदै सुन पनि बगिरह्यो  
गहनाले सजिने आमादिदीहरुको रहरहरु 
बर्खे भेलले त झन निर्मम मुग्लान कटाइरह्यो ।  

नाक र कानहरु बुच्चै पारेर  
बगिरहेछ, पवित्र कहलिदै सुनपानी झरना 
सतिसाल झै ठिङ उभिएकोछ ईतिहास  
तर समयसङै ओझेल पर्दै गैइरहेछ रोल्पा । 

जती बाझै छन खेतका आलीहरु 
त्यस्तै छन रित्तिएका काख पनि  
जती उजाडिए रोल्पाली भिरपाखा 
त्योभन्दा खुइलिएका अचेल मनहरु 
कसले लायो - सुन 
कहाँ मिसियो - पानी 
मुल पुरै बेखबर छ 
जसरी बेखबर छन आमाहरु 
तिनै बगेका रहरहरु खोज्न निस्किएका सन्तान बारे । 

पानीसङै सुन बगिरहेछ 
जून रोज्दा आफ्नै गुण हराइरहेछ 
एउटा सिङो जुगको उर्जा भरेर     
सपनाको सफल उडान गर्दागर्दै 
अन्तै पो भएछ रोल्पाको आकस्मिक अवतरण । 
०१ माघ २०७५
15th Jan 019 

मन्जुरिनामा

आमा!  
तिम्रै यादमा वेचैन छु अचेल 
ओखोतीमुलो लिएर पौरखभरी 
हतारमा छु बिसेक पार्नलाई । 

गोडा दुख्दा उठ्नलाई  
टेक्ने लठ्ठी वन्न सकिनँ 
खोकी लाग्दा जुध्नलाई  
कुनै वुटी दिन सकिनँ 
साथै नभए पनि 
छेउमा नरहे पनि 
मर्म बुझेकोछु आमै  
म वेस्सरी दुखेकोछु आमै ।   

आमा! 
गाउँ आफ्नो रहेन 
शहर आफ्नो भएन 
प्रदेश त झन कसरी आफ्नो होला र!   
एक्लै छाडेर टाढा जानलाई  
चाहना त मेरो कहाँ थ्यो र! 
मन नलाई नलाई 
आँखा रुवाई रुवाई 
कठोर वन्न विवश छु आमा । 

जती जती नजिक हुनखोज्छु 
त्यती त्यती टाढा धकिलिदैगाछु   
ताकेको दिशा नै फरक परेछ कि! 
हिंडेको पाइलाकै चाल विरेछ कि!  
बिहानी भेट्न हतारिदै जती पूर्व कुद्छु 
उत्ती नै पो हुत्तिदै पश्चिम पुग्छु 
जत्ती उत्तरतिर शिखर चद्न खोज्छु 
त्योभन्दा वेसी नै पो दक्षिण भास्सिन्छु  
शान्ति खोज्दाखोज्दै आँफै आशान्त वन्छु 
पुस्तक पद्दा पद्दै समाज झनै दुर देख्छु 
जसको डर छ मलाई  
उनैको भर छ तिमीलाई  
छुच्चोलाई जाती मान्छौ 
अल्छिलाई राम्रो ठान्छौ  
अमर्यादितलाई प्यारो भन्छौ 
तिम्रै पिरले आमै 
दिनहरु हाँसेर वितेका छैनन 
रातहरु निदाएर कटेका छैनन  
जती तिम्रो विसन्चोको खबर सुन्छु 
विक्षिप्त म अजङको ददेलो हुन्छु 
मभित्रको न्याय र धर्ममा आगो झोसेर  
भर्खरै गएर श्रद्धान्जली दिउ झै लाग्छ 
कुपुतहरुका सारा लस्कर भष्म पारुँ झै लाग्छ 
तर, अहँ सक्दैन 
अन्धा साङ्लोले वाँधिएका जागरुक कुकुरहरु  
अनिष्ट रोक्नलाई जोड जोडले भुकिरहेछन   
बहुला हात्ती वितण्डा मच्चाउदै सिंहदरवार पसिरहेछ 
म टुलुटुलु हेरिरहेछु  
आफ्नै आँशुमा डुव्छु र जवर्जस्ती निभ्छु 
जती सोच्छु, त्यती आफुलाई मुर्दा सम्झिन्छु 
आमा!   
वरु वैध अपराधी करार हुन राजी छु   
म तिम्रो वैध सन्तान अवैध जिउन चाहन्न  
म वैध अपराधी कवोल गर्न मन्जुर छु 
म वैध अपराधको सजाय भोग्न तयार छु । 
२०७५ पौष २३ 
9th Jan 019
स्याङ्याङ्, चाइना

Wednesday, March 21, 2018

साक्षी

सौभाग्यले बाँचेकाहरु
भञ्ज्याङमा ठिङ उभिएर
सुइ-सुइ सुस्केरा हाल्नलाई हो र!?

ति बम र बन्दुकहरु
नक्कली थिए झै पनि लाग्छन
यत्रतत्र छरिएका लाशहरु
नलागेका होइनन पटक पटक

कहिले भयानक सपना झै
कहिले कम्प्युटरका खेल झै

अफशोच!
बेसहाराका खिन्न अनुहार हेर्दा
बिधुवा र टुहुराहरुको पिडा देख्दा
आफ्नै ह्रिदय सत्य लागेर आउछ ।

घर आँगनमै चल्यो
'सफाया' अभियानहरु
हाम्रै गाउँमा चलाए
'कर्डन एण्ड सर्च' अप्रेसनहरु
तर पनि जिउदो रहेको म 
लोकतन्त्रको बिउ वचाउनलाई हो कि!
स्वतन्त्रताको विरुवा उमार्नलाई होला!?

निरन्कुशताको विरुद्ध वोल्दा
आतंककारी भनेकै हुन
हिंसाको विरोध गर्दा
बुर्जुवा भनेकै हुन
भुमध्ये रेखाको मझदारमा ट्वाल्ल उभिएर 
जीवन मरणको हिसावमा रुमलिदै 
लुकिछिपी सास फेर्ने पशु त पक्कै हुँदै होईन ।

13th Nov 2017

स्याङ्याङ्, चाइना

Tuesday, July 19, 2016

मेरो स्कुल जिप्स

बिरताको चिनो गौरवपूर्ण गाँठा
लाहुरे दाजुहरु सिर्जनशिल दाँचा
स्वदेशको माया गर्ने सच्चा सपुतहरु
सजेको चाहने नेपालको पखेरु ।

ज्यानको बाजी थाप्ने सिपाही भए नि
जन्मभुमिको शान राख्ने छौ स्वाभिमानी
पसिना बगाइकन कष्टमा दिन कटाएर
ज्योति छर्न चाहेछौ शैक्षिक किरण फिजाएर ।

जिप्सरुपी सुर्यको भएकोछ उदय
नफस्टाएको देशमा शिक्षाको बिजय
समाजको बिकृति पुरै हटाउनलाई
लाग्दैछ जिप्स देशको नाम उकास्नलाई ।

सयौ युवाको पाखुरी लगाइएको छ यहाँ
धेरै उन्नत बिउ पनि छरिएको छ यहाँ
भावी सन्तान यसैका सक्षम होलान कि
लाहुरेका सन्देश बुझी प्रगती गर्लान कि ।

चोखो र निश्छल भाव यसैमा समेटिएकोछ
अनुशासनको सिमा कोरी ज्ञानपुन्ज बनाइएकोछ
मिलिजुली पढि लेखी योग्यता लिदैछन 
प्रकाश छावस गाउँ शहर जिप्सलाई हेर्दैछन ।  

उद्देश्य बिना हतारिने शैक्षिक भिडमा
गन्तव्य लिइ बदेकोछ नयाँ शैलिमा
कामना छ जिप्सलाई आफ्नो लक्ष्य चुम्नु  
लर्बराए नि कैले काही अगाडि नै बद्नु ।

२८ पौष, २०५९

रब्बे, घोराही दाङ   

छोरीकी चिठ्ठी

गर्भ दिने बाबालाई लेख्दैछिन चिठ्ठी
कविले स्वर्ग कल्पना गरे झै उनले पनि
बाजे र बज्यैको अनुहार सक्षी राखी
दुई मुहार एक बनाउदै यस्तै होलान भनी ।

काखमै नखेलेको छोरीको चिठ्ठी पद्दा
हाँस्छन वा आसुँ झार्छन होला
छोरीको अक्षरमा स्वदेशी भाव देख्दा
प्रदेशमा कसो गरी पद्छन होला ।

चिन्नेलाई नेपाल देश सबथोक हो
नचिन्नेलाई गौतम बुद्ध बुद्ढु हो  
कुशल बुवालाई त्यो चिठ्ठी भार हो  
अशल नागरिकलाई मुटु जलाउने खर हो ।

कसले बुझ्छ उनले के बाध्यता देखाउदैछिन
कसलाई थाहा उनले के सन्देश पठाउदैछिन
चिठ्ठी लेख्न नसकी नजानी पनि कोर्दैछिन  
के के लेखिन खै चार पाना त भराइ नै सकिन ।

लाहुरेको कथा र ब्यथा सुन्दा सुन्दै
मानिन्छिन उनी त पूर्ण अनुभवी झै
झस्किन्छिन रातमा लडाईंको कुरा सम्झिदै
लाग्दो हो आँफैले घोर युद्द लगिरहे झै । 

मायाको टुक्रा बिदेशमै हराउछ कि सोंची
निदाएको बेला टिपें एक अंश मैले पनि
*'तराइमाको महिदानमा' हत्तार नदेखाउनु ड्याडी
भेट्न मन लायकोछ तपाईं आउनुहुन्छ कहिले?

*लडाइको मैदानमा
१८ पौष, २०५७

घोराही, दाङ

अनुरोध! प्यारी शान्तिलाई

सयौको माझमा पनि बिरानोमा एक्लो छु म
हाँसी रहे झै गरे पनि आसुँ लुकाइ रुदैछु आज
हर्षित पार्न मनलाई भौतारिदैछु उनकै लागि
पर्खि पर्खि बसेकोछु फर्क मेरी शान्ती!

कोइ जादुगरले लायो कि मोहनी तिमीलाई
निष्ठुरी बनिकन छाडेर हिड्यौ मलाई
नदेखाउन अरुलाइ चाहेको जस्तो नानाभाँटी
रातदिन बिलापमा छु फर्की आउ है शान्ती ।  

पश्चिम पुगें लुम्बिनी भेटेन कोइ पनि
मध्य भ्याएँ स्वयम्भु र पशुपती घुमी
जहाँ धाएँ मनमा तिम्रै अभाव कान्ती
पूर्व लागें तिमीलाई पाउने आशमा शान्ती ।    

धेरै थिए साट्नु पर्ने कुराहरु जीवनका
सत्य थिए वाचाहरु झुटा होइनन यौवनका
सोध्न गएँ भ्रिकुटीलाई भेटिइन जानकी नि
सवै भन्छन मेरो लागि तिमी नै हौ रे शान्ती । 

बोलाए नि अरुले तिम्रो नाम चिच्याइ चिच्याइ
अङाल्न आतुर छु पिरतीको मान्द्रो बिछ्याइ
मौनतामा भित्र भित्रै तिम्रै याद झलझली
फूलमाला उन्न थाल्छु आउ है मेरी शान्ती ।

चाडै आउ है मेरो आँखाको ज्योति बनी
हुने छ संसार हराभरा नत्र खरानी
टद्पिदैछु एक्लै एक्लै तिम्रै नाम जपी
चौतारीमा कुर्दै हुन्छु आउ है प्यारी शान्ती
मेरी मनकी प्यारी शान्ती ।

११ भाद्र २०६१
थसिखेल, ललितपुर   




Tuesday, February 3, 2015

चिंहानको खोजी

स्वप्नदोष हो कि
कल्पदोष मेरो
वा दृष्टिदोष हो  
जीवन पाउन कठिन 
जिउन झन कठिन ।  

एउटा सत्य नि दाइ  
म मरेको दिन 
दिदीले चुल्होचौको छाड्नुहुनेछ 
वहिनीले एकदिन 
पानी भर्न धारामा जानुपर्नेछैन 
कान्छाले पनि एकदिन 
स्कुल विदा पाउनेछन 
तर, मलाई भन्नुस त दाइ   
मेरो मृत्‍युपछी   
मेरो लागि कुन ठाउँ खाँली छ ?  
मेरो लाश राख्नलाई  
धरतीको कुन भाग खाँली छ ? 
अर्थात 
हामीलाई फाल्न, गाड्न वा जलाउन 
हाम्रो सुरुक्षित जमिन कहाँनिर छ ? 
भन्नुस त मेरो दाइ  
पृथ्वी हाम्रो साझा स्थल होइन र ?       

मर्नु त छदैछ अबश्य 
तर पनि वाँचुन्जेल किन  
यि सत्यहरु सत्य हुँदैनन !?

जिउदो छदै चिंहान खोज्नु पर्ने
खोजेर पनि नभेटिने  
हाम्रो भुई कसले चोर्यो दाइ ?   
हाम्रो भुई खै कहाँ छ दाइ ? 

२०७१/०९/२१ 
घोराही, दाङ 

मेरी आमा उकाली चढिरहेछिन

म ऐलेको छोरो
प्यारो कुमारीत्वसँग साटिएको
एउटा भ्रुण हुँ ।

उस्तै प्रिय हुदो हो  
मेरी आमालाई’नि अरुलाई झै
आफ्नो अस्मिता । 

अर्पण-हरण कति विपरित है!

राजीखुशीको समर्पणमा 
गर्भभित्र सिर्जाइएको त्यो
खुशीको भ्रुण
सपनाको भ्रुण
जीवनको भ्रुण ।

‘भ्रुण’ अब ‘म’ भैसकेको छ 
ति जम्मै 'म' भैसकेका छन  
सवै-सवै अब 'मेरा' भैसकेका छन । 

अचेल मेरी आमा,  
मलाई नै आफ्नो खुशी सोच्छिन
मलाई नै आफ्नो सपना ठान्छिन  
मलाई नै आफ्नो जीवन भन्छिन
मलाई नै आफ्नो आत्मा मान्छिन ।
     
एउटा खुशीसँग अर्को खुशी खोज्छिन
एउटा सपनासँग अर्को सपना देख्छिन
एउटा जीवनसँग अर्को जीवन रोज्छिन
एउटा आत्मासँग अर्को आत्मा जोड्छिन ।

मैले हिंड्ने बाटोलाई सम्याउदै
मेले देख्ने सपनालाई अंगाल्दै
मैले रोज्ने जीवनलाई अन्माउदै
मेरो सफलटा देख्ने आशामा
दिनमा पनि सपना बुन्छिन
रातमा पनि जाक्तै बस्छिन 
सपनाकै यान वनाइ
मलाई काखमा च्यापेर शयर गर्छिन
मलाई अग्लो चुचुरो देखाउदै माथि-माथि   
झन-झन शिखरतिर लम्किरहेछिन      
मेरी आमा, 
मेरी बुदी आमा उकाली चढिरहेछिन ।  
२०७१/०९/०३ 

घोराही, दाङ   

कफी र मङ्सिर

मङ्सिर त पोहोर साल पनि आएकै हो 
परार साल त झन चिसो मङ्सिर भोगेको हो  
तर न्यानो गरी आएकोछ यसपालिको मङ्सिर 
सङ-सङै लिएर एक जोडा मान्छेहरु    
अनि, अगाडि एक जोर कफी कपहरु ।    

वरीपरी सारा बहार छाएकोछ  
कफीहरु बयेली खेलिरहेछन  
उनी मन्द-मन्द मुस्कुराइरहेछिन 
प्रफुल्ल मुद्रामा शिर झुकाएर        
म अनायस कफीको चुस्कीहरु लिइरहेछु ।  

पानी, ताप र कफीको मिश्रण सरी      
सपनीमा थोरै बिपना सजाउदै 
बिपनीमा केही सपना मिसाउदै 
मधुरो धुनमा जूनलाई साक्षी राखेर   
जीवनभरको तरंग भर्नलाई    
एक सिप आशाको 
एक सिप खुशीको 
अर्को सिप विश्वाशको ………
अर्को उत्साहको गर्दै     
पुरै कप रित्तै पारीदिएँ । 

तातो कफीको उमंग र स्पर्श        
जिउभरी ल्याएको नौलो अनुभुति    
स्तनपानपछी हाँस्ने शिशु ओठहरु झै  
बेस्सरी बुर्कुसी मारिरहे भित्रभित्रै ।   

लुलायो कि झै भो ह्रिदय तब                
मङ्सिर तुषारोको महिना हो - भन्ने नै भुलेछु 
जिउ नै भिजाउने सीत पर्छ - भन्ने नै बिर्सेंछु ।  

क्षणभरमै अहा!     
पुरानै चिसो मङ्सिरले अँगालो हाल्यो  
कठ्याङ्रिएर मन लकलक काप्यो  
मेरो प्रिय मंसिर! 
म पनि उसैगरी पो रित्तिएछु  
जसरी रित्तिएका थिए हाम्रै सामु  
भरिएका एक जोर कफीका कपहरु ।  

मेरो प्यारो मङ्सिर!  
यि रित्ता कपहरु त छिन-छिनमै भरिनेछन 
तर कठै!  
मेरो यो रित्तो मन फेरी कहिले भरिएला!  
उस्तै गरी यो जिन्दगी कसरी भरिएला!?  
०१ मङ्सिर,
२०७० तुल्सिपुर, दाङ 

Sunday, March 16, 2014

होलीको पर्खाइ

यसपाली नि फागुमा  
होली त खेल्छ्यौ नै होला ।   

उदास त्यो मुहारभरी
रङ नै रङले पोतिएला नै
पुरुषत्वको आडम्बरमा सदा झै 
लोलाले हानेर निथ्रुक्कै 
रङ्याइन्छन् नै होला - तिम्रा पुरै अङहरु ।

सत्य जितेको खुशीयालीमा  
एउटा उत्सव मनाउन आतुर तिमी     
आजैदेखी पुन: जिन्दगीमा  
अरु निराशाहरु थप्न वाध्य हुनेछ्यौ । 

रङले पनि मुक्त गर्न नसकेका हाँसोहरु
खै! ति कहिले खुल्ने होलान!?
जिउमा अनेक रङहरु पोत्दा-पोत्दै  
छताछुल्ल पोख्न विवश छ्यौ 
आफ्नै सारा खुशीहरु ।

जीवन भर्ने - रङ
जीवन बोल्ने - रङ
अब के तिम्रो जिन्दगी पनि उस्तै रङिन होला त!?

म त्यो एक दिन बल्ल 
तिम्रो सामु एक मुठ्ठी रङ लिएर हाजिर हुनेछु
अनि घस्नेछु तिम्रो मुहारभरी 
तब हेर्नेछु तिम्रो उन्मुक्त हाँसो र रंगीन जीवन । 

पोहोर परार झै यसपाली नि 
फिक्का होली त खेल्छ्यौ नै होला । 
२०७०/१२/०२ 
घोराही, दाङ 

Friday, March 8, 2013

गाउँ र शहर


गाउँ भन्नु गाउँ हो
शहर भन्नु शहर नै
यही नै त छ भिन्नता ।

शहरको जननी हो - गाउँ
शहरीयाको पुर्ख्यौली हो - गाउँ
गाउँ सुसम्पन्न हो
शहर सुसज्जित हो
ए! मेरो साथी, आउ
हामी सँग-सँगै एउटा ठाउँ जाउँ ।

गाउँको त्रिष्णा मेट्नलाई
मैले कसरी शहर रोज्नुँ?   
यहाँ गाउँमा जस्तै
कहाँ हुनु - स्वच्छता
कहाँ देख्नु - सुन्दरता
कहाँ पाउनु - आत्मियता
धेरै नै भो गाउँ नगा’को पनि
ए मेरो साथी 
म त अचेल पाखे भाछु ।

ए शहरीया साथी!
गाउँ सजाउनलाई
जाउँ मसङै हिड उतैतिर ।
२८ मार्च, २०१२

धापासी, काठमाडौं

नव-जीवन


यसैलाई भन्दा हुन
चखेवाका जोडा-जोडी

टुसाहरु सङै
मन पलायो होला  
कोपिला हुँदै
प्रेम फुल्यो होला
यो सुघन्ध फैलियो

सन्तान मोह
पुष्टाको आश
बंशको निरन्तरता
चरम सुख हो कि!

असह्य पिडा भोग्नुछ
तर प्रसव रहर
जन्म दोधार
तर विश्वाश

जन्म्यो
खुशी भएँ
रोएन
छट्पटिएँ
जोडले रोयो
सबै हाँस्न थाल्यौं
बिपरित
तर कस्तो यो
पर्याय सम्बन्ध!

जनम - भय
मृत्यु - भय
अनौठो जीवन - मान्छेको
यही रैछ खुशीको चाङ    

०३ मे, २०१२

धापसी, काठमाडौं

Saturday, February 16, 2013

खोजी

एउटा टिप्छ
अर्को देख्छ
अनी चटक्क छाडेर
च्याप्प छोप्छ  
छिनभरमा   
पुन: अर्को ताक्छ ।

घुमाइ फिराइ हेर्छ
मन पर्छ/मन पर्दैन
गुणी/ बैगुणी
एकनाश हुन्न रैछ
हेराइ,
बुझाई,
छामाई
भिन्न छ
आफ्नै जिन्दगी ।

फरक मान्छे
फरक चिज
सबै फरक
नितान्त फरक ।

पलपल हाँस्छ
सधैंको लागि
पलपल बाँच्छ  
सबैको लागि
तर कतै-कतै 
कोपिलाहरु निमोठिदा
हिलो र पानीमा फुल्ने फूल
आज बिस्तारै रोयो ।

कठै नि!   
अस्थाइ बबुरोलाई
अचेल खोज्दैमा बित्दो छ  
स्थाइ मान्छे
स्थाइ नाम
स्थाइ भबिश्य
स्थाइ जिन्दगी ।
10th Feb 2013