विद्यार्थीको भविष्य अन्योलमै छाडेर
शिक्षकहरु सडकमा
बिरामीको ज्यान अलपत्र पारेर
डाक्टरहरु सडकमै
कर्मचारी, व्यवसायी, पत्रकार, ..
सरकार अन्धो भो
बिरामी बाँचे बाँचुन्, मरे मरुन् नि भन्दो हो
सदन बहिरो भो
विद्यार्थीले पढे पढुुन्, नपढे नपढुुुन् नि भन्दो हो
प्रतिपक्षी चर्को भो
सकभर त सरकारै ढालुन् नि भन्दो हो
सवाल जीवनमरणको हुने भो
बिद्यालय र अस्पतालमा राजनीतिकरण धेरै भो
देशमा सधैं जिन्दावाद र मुर्दावाद मात्रै हुने भो
आदरणीय गुरुवर र चिकित्सक गण,
मेरो सादर अनुरोध छ
अब सडकबाटै फ्याट्टै एउटा घोषणा गर्दिनुहोस्
अलिकति त्यागी बनिदिनुहोस्
आआफ्नो गोजीको पार्टी सदस्यता च्यातिदिनुहोस्
र, सडक आन्दोलनलाई सधैंका लागि समापन गर्दिनुहोस् ।
26 April 2025
नेपाल शिक्षक महासंघको आह्वानमा देशैभरीका शिक्षकहरु राजधानी केन्द्रित आन्दोलनमा होमिएको १९औं दिन पुगेको छ । सरकार `नसुने झैं गर्ने´ र महासंघ पनि सरकारले `नसुनी धरै छैन´ भन्ने खालको आआफ्नै मनोबिज्ञानमा अडिग देखिन्छन् ।
आन्दोलन शालीन र शान्तिपूर्ण देखिन्छ । अरुबेला जस्तो चर्को नाराजुलुस, घम्साघम्सी, तोडफोड केहि पनि छैन । बरु विद्यार्थी भर्ना र बार्षिक पठनपाठनमा असर पर्नसक्ने कुरामा शिक्षकहरुको चिन्ता झल्किन्छ । सरकारले छिटोभन्दा छिटो आफ्नो माग सम्बोधन गरिदिए हुन्थ्यो भन्ने चाहना छ । सुदूरपश्चिमको देउडा, मध्य नेपालको झ्याउरे र पुर्बेली लोकभाकाले शिक्षकहरुबीच एकापसमा सामीप्यता बदाएको देखिन्छ । साँस्कृतिक महोत्सवको झल्को दिए झै अनुभुति जो कसैलाई पनि हुनेरहेछ ।
मुगु जिल्लाबाट आउनुभएका शिक्षकहरुको गीत पनि उस्तै शालीन, संयमित र आग्रहपूर्ण सुनिन्छ ।
रारा तालमा पानी छ
अधिकार खोज्ने बानी छ..
देशका महत्वपूर्ण अंगहरुमा आवद्ध पेशाकर्मीहरु बारम्बार पेशागत माग लिएर सडकमा ओर्लिनुपर्ने अवस्था आउनु दुःखद् छ । अहिले शिक्षा, स्वास्थ्य, कृषिजस्ता क्षेत्रहरूलाई सीमित जनशक्तिले मात्रै जेनतेन धानिरहेको तितो यथार्थ छ । यस्तो चुनौतीपूर्ण अवस्थालाई मध्यनजर गर्दै जतिसक्दो चाडो समस्याको दीर्घकालीन समाधान निकाल्न उपयुक्त नीतिनिर्माणकार्यमा लाग्न सरकार गम्भीर बन्नैपर्छ ।
राज्य सबै नागरिकको अभिभावक हो, अभिभावकीय भूमिका निर्वाह गर्नैपर्छ । नागरिकको आत्मसम्मानमा ठेस पुर्याएर संसारको कुनै पनि सरकार सफल हुनसक्दैन । राज्यले उल्टै घुर्की लाउने, बेवास्ता गर्ने, टार्ने, पन्छिने वा पन्छाउने मानसिकताबाट कदापी प्रेरित हुनुहुदैन । सहिलाई `हुन्छ´ र गलतलाई `हुन्न´ भनिदिनुपर्छ ।
राज्य संचालनका लागि पारित हुनुपर्ने आवश्यक कुनै पनि ऐन सडकमा नभई सदनमा गुन्जियोस् । जायज मागको सुनुवाइ र सकारात्मक परिणामका लागि सरकारले फास्ट ट्र्याक बिधि अपनाउने साहस पनि गर्नुपर्छ । यति धेरै शिक्षित जमात र सबल सुरक्षाकर्मी सडकमा हप्तौंसम्म समय खर्चिरहदा देशलाई ठुलो क्षति पुगिरहेको छ । हरेक पेशालाई जिम्मेवार बनाउन कडाइसाथ नियमन हवस् तर सम्मानित र मर्यादित बनाउन राज्यले कुनै कन्जुस्याइँ नगरोस् । शिक्षकहरुलाई पार्टीको कार्यकर्ता वा आन्दोलनकारी नभई विद्यार्थी र समाजकै आदर्श गुरु बन्ने उपयुक्त बाताबरण सिर्जना गरियोस् ।
सरकार र शिक्षक महासंघ दुबैलाई उचित निकासका लागि शुभकामना!
20 April 2025
No comments:
Post a Comment