Thursday, September 4, 2025

राजनीतिक भस्मासुरहरु

 जनयुद्ध कालमा ढाडमा टेकेर टाउकोमा हान्ने प्रचण्डको युद्ध रणनीति सफल मानिएको थियो । उनलाई एउटा चमत्कारिक, आँटिलो र कुशल नेतृत्व कला भएको विद्रोही नेताको रूपमा लिइएको थियो । संसदीय राजनीतिमा आइसकेपछि कमरेड किरणको जनबिद्रोह र डाक्टर बाबुराम भट्टराईको शान्ति र संविधानको डुङ्गामा सयर गर्दैगर्दा त्यति चुनौतीपूर्ण र अप्ठ्यारो परिस्थितिसँग जुध्नु परेको थिएन । आन्तरिक कलह र आपसी असमझदारीले पार्टी फुट्ने र नेताकार्यकर्ता छुट्टिने क्रम जारी रहे पनि उनलाई एकजुट र मजबुत माओवादी पार्टी बनाइराख्न खासै चासो र चिन्ता भए जस्तो देखिन्थेन । पार्टीभित्र उनको एकाधिकार चलिरहेकै थियो, पार्टीकै नेताकार्यकर्ताको कुरालाई बेवास्ता गरेर अरुसँग गरिने सहकार्य उनी र उनका केहि निकट ब्यक्तिहरुलाई फापिरहेकै थियो । जसरी पनि सत्तामा पुग्ने आकांक्षाले कालान्तरमा न आफ्नोहरु आफ्नो रहे न त अवसरबादीहरु सँगै भए । जब चुनावमा कम अंक आउन थाल्यो त्यसपछि भने प्रचण्ड र माओवादी पार्टीको सहज सत्तारोहण भइरहे तापनि प्रचण्डको चमत्कार, उथलपुथल, क्रमभंग क्रमश भुत्ते सावित हुँदै गएको छ । त्यसो हुँदा उनले उठाउदै आएका मुद्दाहरु ओझेल पर्दै जानू र उनीप्रतिको जनविश्वास घट्दै जानू स्वभाविक थियो । उनीबाट जनताले धेरै आशा राखेका थिए, देशले धेरै चिज पाउने संभावना पनि थियो तर आफैं दायाँ र बायाँ गर्दै समय र अवसर खेर फालिरहे ।

नेपालमा प्रजातन्त्र पुनःस्थापनपश्चात् राज्यको हरेक निकायमा रजगज गर्दै आएका पुराना संसदबादी दलहरूको पृष्ठभुमि, इतिहास र वर्तमान तथा माओवादी पार्टीको अहिलेको यात्रा लगभग उस्तै नै रह्यो । पन्चायत कालमा राज्य दोहन र शक्तिको दुरुपयोग गरिरहेका राजावादी र मण्डलेहरुको समुहमा ०४६/०४७ पछि बहुदलबादी दलहरु थपिए । ०६२/०६३ पछि गणतन्त्र प्राप्तिसँगै सत्ताको लुछाचुडी र भागबन्डामा नयाँ दल माओवादी आएर मिसियो ।
यसैगरी आलोपालो सत्तामा रजाइँ गर्ने दल र नेताहरु फेरिदैरहे तर समय र जनताले चाहे जसरी देशको काँचुली फेरिनै सकेन । उप्रान्त ओलीको बयलगाडामा गेयर बदेको छ र उनको भाषणमा उखानटुक्का र रामायण, महाभारतका कथाहरु, काल्पनिक र बकम्फुसे कुराहरु हावी हुन थाल्नेछन् । सम्भवतः हामीलाई यस्तायस्तै हर्कत झेल्ने वा मजा लिने बानी परिसकेको छ ।
सत्तामा जुनसुकै पार्टी र कुर्सीमा जोसुकै नेता बसे पनि सुशासन कायम गर्ने, जनताप्रति उत्तरदायी बन्ने, समृद्ध मुलुकको खाका कोर्ने र राज्य संचालन गर्ने कार्यशैलीमा भने खासै भिन्नता देखिदैन । राजतन्त्र, प्रजातन्त्र र गणतन्त्रको युगमा सर्वसाधारणको जीवनमा भने खासै अन्तर केहि देखिएन । यिनै ब्यक्तिहरु पटकपटक सत्तामा पुगे, उनीहरुको अनुहार बाहेक अरु त्यत्ति फरक परेको अनुभुति गर्न पाइएको छैन । हो, भन्न जति सजिलो छ, गर्न त्योभन्दा कयौं गुणा कठिन छ । जनतालाई अहिले त्यहीँ कठिन कार्य गर्नसक्ने अशल र दुरदर्शी राजनेता चाहिएको छ जसले कम्तीमा पनि देशको आवश्यकता र जनताको अपेक्षा सम्बोधन गर्ने इमानदारीताका साथ प्रयत्न गरोस् ।
जसलाई बिश्वास गरे, नागरिकको सहनशीलता र क्षमाशीलतामाथि बारम्बार घात गरिएको छ । अनेकौं विडम्बनापूर्ण अवस्थालाई समेत टुलुटुलु हेरेर बस्नुपरेको छ । जनताहरु बाढी पहिरोको वितण्डामा परेर जिउज्यान र घरबारी गुमाइरहदा नेताहरू भने सत्ताको रत्यौलीमा रमाइरहेका छन् । जनवाद र समाजवाद त जनतालाई दाट्ने र छल्ने मोहरा मात्रै भएको छ ।
जनताले निर्वाचनको बेलामा मासुभात, पेट्रोल, गाडी, जागिरको लालचमा मत हाल्नुको परिणामस्वरूप पुस्तौंदेखि यस्तै नियति भोग्नुपरेको छ ।
राजनीतिक दल र नेतृत्वमा आएको सैद्धान्तिक विचलन, नैतिक पतन र आत्मकेन्द्रित मनोविज्ञानकै कारण लामो समयदेखि देशले राजनीतिक अस्थिरताको सामना गर्नुपरिरहेको छ ।
नेताहरुले सत्तामा पुगेपछि आफ्नो आस्था र आदर्शलाई भुल्नु, आचरणमा चुक्नु र इमानदारीताबाट च्युत हुँदै जानु नै यसको मुल कारण हो । राजनीतिमा सबभन्दा सम्मानित, नैतिकवान, बुद्धिमान, क्षमतावान र उन्नत सोंच भएका ब्यक्तिहरु सक्रिय रहनुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन ।
अहिलेको समस्या ब्यक्तिभन्दा प्रवृत्तिमा छ । संस्थाहरुमा भन्दा पनि संस्कारमा छ । प्रमुख पात्रभन्दा राज्यको चरित्रमा छ । जबसम्म समाज र जमात दोंगी बनिरहन्छ तबसम्म जतिसुकै रवि र छविहरु आए पनि परिबर्तन सम्भव हुने देखिदैन । मुख्यतः जनताहरु राजनीतिक डन र सत्ताको शिकारीहरुबाट देशको भलो हुँदैन भन्ने यथार्थलाई प्रष्टसँग बुझ्नैपर्छ र आफैं परिबर्तन हुने र गर्ने आत्मविश्वास राख्नुपर्दछ ।
अबका प्रधानमन्त्री र मन्त्रीहरुले पनि मिडियामा पहिलेकाले भने जसरी नै आफू फोटो टाँस्न मात्रै नआएको, असफल हुने छुट नभएको, जनताको पक्षमा काम गर्न आएकोजस्ता अनेक वचनबद्धता जाहेर गर्नेछन् । आशा गरौं, ती सबै काम र व्यबहारबाटै प्रमाणित हुनेछन् ।
भुटानी शरणार्थीको छानबिन बालकोट र बुदानिलकण्ठतिर पुगेर अलप भएको कुरा सुनिएको थियो अब यो सरकारले त्यहीँ बिन्दुबाट सुशासन र भ्रष्टाचार नियन्त्रणको शुरूवात गरोस् र जनतामा बिश्वास र भरोसा आर्जन गरोस् । कामना गरौं, गठबन्धन सफल हवस्, सरकार झनै सफल हवस् । त्यो सफलता देश र जनताको बन्न सकोस् र आम नागरिकले गर्वका साथ हाम्रो सरकार भन्न सकौं ।
संसदमा बिश्वासको मत लिदै गर्दा प्रचण्डले भन्दै थिए,"जनता जाग्नुस्, आफ्नो शक्ति देखाउनुस् ।"
हो, उनले सहि कुरा भनेका हुन् । तर प्रचण्डहरुको स्वार्थपुर्तिका लागि नभई तमाम राजनीतिक विकृति र विसंगतिका विरुद्ध सचेत जनताहरु साच्चिकै जाग्ने र शक्ति देखाउने बेला भइसकेको छ ।
15 July 2024
स्यालहरु चुनावमा सन्त बन्छन्, चुनावपछि महासामन्त ।
नेपालको सन्दर्भमा चुनाव स्यालहुइयालाई अनुमोदन गर्ने दिन जस्तै भएको छ ।
जहिलेसम्म जनतामा सुदृढ राजनीतिक चेतना बिकास हुँदैन तबसम्म सामाजिकआर्थिक र राजनीतिक परिवर्तन सम्भव छैन ।
देशको समुन्नतिका लागि सचेत र जागरुक जनता नै आजका आवश्यक औजार र आधार हुन् ।
कुनै भ्रममा नपरौं बरु आँट गरौं ।
आन्दोलन:
परिस्थितिले विद्रोही बनाउछ । आवश्यकताले नेता जन्माउछ । त्यो कसैको चाहनाले नभई समयले निर्धारण गर्दछ ।

No comments:

Post a Comment