आदरणीय गलकोटबासी आमाबुवा, दाजुभाइ एवम् दिदीबहिनीहरु,
जनआन्दोलन ०६२/६३ पश्चात् पनि मुलुकले करीब एक दशक संक्रमणकालीन प्रसव पिडा भोग्नुपर्यो । देशमा ठुलो राजनीतिक उथलपुथलपछि आएको परिवर्तनले जनतामा नौलो आशा पलाएको थियो । गाउँ शहरतिर सबैको मनमा बिशेष उमंग र उत्साह छाएको थियो । त्यहीँ परिवेशमा स्थानीय तहको चुनाव हुँदै गर्दा म यहाँ उम्मेदवार बनेर आउछु भन्ने सोचेको पनि थिएन तर पार्टीले निर्णय गरि उप मेयरको उम्मेदवार बनाएर पठायो । हजुरहरुले बिश्वास गरेर मलाई निर्वाचित बनाई आफ्नो जनप्रतिनिधिको रूपमा जिम्मेवारी सुम्पिनुभयो । यहाँहरुले गरेको भरोसाप्रति सदैव सम्मान प्रकट गरिरहने छु । मलाई योग्य सम्झेर अवसर प्रदान गर्ने पार्टी नेतृत्वलाई पनि धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
पहिलो पटक स्थानीय सरकारको अभ्यास हुँदै गर्दा चुनिएका हामी जनप्रतिनिधिहरु सबै नयाँ थियौं त्यसैले ऐतिहासिक परिवर्तनलाई संस्थागत गर्दै लाने र जनआकांक्षालाई सम्बोधन गर्दै जाने जिम्मेवारी बहन गर्नु आफैमा अग्निपरिक्षा थियो । जनताको आवश्यकता र अपेक्षालाई सीमित स्रोत साधनको भरमा पुरा गर्नखोज्नु वास्तवमा निकै चुनौतीपूर्ण थियो ।
स्थानीय सरकार संचालनका लागि स्पष्ट कानुन बनि नसकेको अवस्था, आवश्यक जनशक्ति र भौतिक पुर्वाधारको अभाव, जनप्रतिनिधिका अधिकार क्षेत्रमै अन्योलता, कोभिड महामारी जस्ता थुप्रै प्रतिकुलताका वावजुद नगरको सर्वाङ्गिन बिकास र नगरबासीहरुलाई सुशासन दिन हर समय हर सम्भव अत्यधिक प्रयत्न गरिरह्यौं जुन यहाँहरु सबैले धेरैथोरै महशुस गर्नुभएकै होला ।
आदरणीय गलकोटबासी आमाबुवा, दाजुभाइ एवम् दिदीबहिनीहरु,
विगत पाँच बर्षमा नगर प्रमुख आदरणीय भरत शर्मा गैरेको नेतृत्वमा नगरपालिकाभित्र थुप्रै नयाँ कामहरू सम्पन्न भएका छन् भने केही राम्रा कामको थालनी भएका छन् । भौतिक पुर्वाधार निर्माण, विद्यालयहरुको गुणस्तर सुधार, स्वास्थ्य सेवामा स्तरोन्नति, सामाजिक मेलमिलाप, मुद्दा मामिलामा तथ्यपरक छानबिन र न्यायीक फैसला, खानेपानी, सिंचाइ र सरसफाइ, आत्मनिर्भर पालिका बनाउन आय आर्जन र उत्पादनमुलक क्षेत्र पहिचान र अनुदान, कृषि, पर्यटन, उद्यम, स्वरोजगार, खेलकुद, समाज उत्थान र सशक्तीकरण, ज्येष्ठ नागरिक, विपन्न, महिला, एकल महिला, दलित, अपांगलाई सुविधा, बाल मैत्री अभियान, आर्थिक पारदर्शीता र चुस्त सेवा प्रवाह, भ्रष्टाचार बिरुद्ध शुन्य सहनशीलता लगायतका महत्त्वपूर्ण कामहरू नै हाम्रो प्राथमिकतामा थिए । हाम्रो ध्यान नगरको भौतिक बिकासका साथसाथै सामाजिक र मानवीय बिकासमा थिए । आम मान्छेमा राजनीतिप्रति रहेको गलत बुझाईलाई सकारात्मकतातिर बदल्न ईमान, निष्ठा, नैतिकता र संस्कार व्यबहारमै देखाउने चेष्टा पनि गर्यौं । यसको समग्र मुल्यांकन गलकोटबासी सबैले गर्नुभएकै होला ।
यहाँहरुलाई यो विश्वास दिलाउन चाहन्छु कि सबैको सामुहिक प्रयासले नगरपालिकाको जग मजबुत किसिमले खारिएकोछ जसको परिणामस्वरूप नेपाल सरकारद्वारा आधिकारिक रूपमा गरिएको कार्यसम्पादन मूल्याकंनमा गलकोट नगरपालिका नेपालभरिमै सातौं र गण्डकी प्रदेशमा दोस्रो बनाउन सफल भयौं । अब आउने नेतृत्वले यसलाई निरन्तरता दिनुका साथै गलकोटको समुन्नतिका लागि व्यवस्थित दंगले योजनाहरु थप परिस्कृत पार्दै जानेछ भन्नेमा विश्वस्त छु । मलाई लाग्छ, गलकोटको समग्र विकास नै हामी सबैको साझा र एउटै मात्र उद्देश्य हो ।
सचेत नागरिकको लागि सामाजिक जिम्मेवारी जीवनको अन्तिम बिन्दुसम्मै रहन्छ भने पदीय जिम्मेवारी निश्चित अवधीका लागि मात्रै हुन्छ । यस अवसरलाई सक्दो सदुपयोग गर्नुपर्नेमा म पहिल्यै प्रष्ट थिएँ त्यसैले आफ्नो कार्यकालभर जनताप्रति उत्तरदायी रहेर सच्चा सेवक बनिरहने प्रतिबद्धता गरेकी थिएँ । त्यहीँ प्रतिबद्धतालाई पूरा गर्नका लागि भोक, प्यास, थकान र निन्द्राको रत्तिभर परवाह नगरी रातदिन खटिदाखटिदै अहिले आएर मलाई पाँच बर्ष पनि छिट्टै बितेको महशुस भइरहेको छ । हजुरहरुको साथ, सहयोग र स्नेहले मलाई समाजका लागि अझै लगनशील भएर लागिरहन थप हौशला र उर्जा मिलेको छ ।
आफ्नो कार्यकालको अन्तिम दिन आफ्नै आत्माप्रति इमान्दार रहेर, गलकोटको भूमिलाई साक्षी राखेर यति भन्न सक्ने भएछु कि पदीय जिम्मेवारीमा रहदाखेरी जति गरे मेरो क्षमताले भ्याएसम्म गरे, जे गरे अशल नियतका साथ गरे । समग्र गलकोट र सम्पूर्ण गलकोटबासीका पक्षमा गरे । हजुरहरुले दिनुभएको हरेक मतको कदर गर्दै नगरको हित हुनेगरी र नगरले जित्ने गरि प्रयत्न गरेकी छु । मेरो कार्यकालभर यहाँहरुको शिर झुक्ने कुनै पनि अनैतिक, अनुचित कार्य गरेको छैन र भविष्यमा समेत त्यस्तो कुनै दुष्कर्म गर्नेछैन । जनप्रतिनिधिबाट सन्तुष्टिका साथ बिदा भएर जादै गर्दा यहाँहरुलाई यो मेरो वाचा भयो ।
कुनै पनि चिजप्रति अधिक आसक्ति राख्ने मेरो स्वभाव छैन । मेरो क्षमता र योग्यताभन्दा बदी अनावश्यक महत्वाकांक्षा पनि राख्ने गरेको छैन । मैले राजनीतिमा कुनै पद पाउछु, पैसा कमाउछु भनेर लागेको कदापी होईन । राजनीति भनेकै पद प्राप्ति हो भन्ने अर्थमा लिएकी पनि छैन । सामाजिक न्यायका लागि बोल्नुलाई मेरो कर्तव्य ठान्दछु र मानवीय सेवालाई नै मेरो धर्म मान्दछु । राजनीतिक सामाजिक समस्याहरुको दीर्घकालीन समाधान शुद्ध चेत र सामुहिक प्रयासले मात्रै सम्भव छ जो कसैको पदीय जिम्मेवारी गौण कुरा हो । राजनीतिक र सामाजिक आन्दोलनको यात्रा अनवरत चलिरहन्छ, चलिरहनेछ । मेरो सवालमा पनि त्यहीँ लागु हुनेछ ।
हिजो म आउदै गर्दा अलि काँचो थिएँ, आज जादै गर्दा केही पाको र अनुभवी भएकी छु । स्थानीय तहमा जिम्मेवारी वहन गर्दैगर्दा मैले अझै नजिकबाट समाजको खास अवस्था बुझ्ने र धेरै कुरा सिक्ने मौका पाए । अति विकट गाउँका घरघरमा पुग्दा प्रत्यक्ष देखेका कहालिलाग्दो जनजीविकालाई छिट्टै सहज बनाउने अठोट लिन पाएँ । यिनै भुइँ तहका जनताको भोगाइबाट प्राप्त सिकाईहरु आउने दिनमा पक्कै समाजकै निम्ति उपयोगी हुनेछन् । यहीँको चिसो पानी पिउदै, शीतल हावामा सास फेर्दै र यहीँको माटोमा खेल्दै हुर्किएकी सामान्य घरकी एउटी छोरी हुँ । सौभाग्यबस्, केही समयावधीका लागि एउटा पदमा रहेर आफ्नो गाउँठाउँको सेवा गर्ने अवसर पाए, निष्पक्ष रहेर सबैको जनप्रतिनिधि भएर गरे । नगरलाई आफ्नो घरभन्दा धेरै माया गरे, परिवारभन्दा जनतालाई नै धेरै समय दिए । अब पनि मेरो तर्फबाट गर्नसक्ने आवश्यक सहयोग निरन्तर रहिरहने छ । यहाँहरुको मत र मन दुबै पाएकोमा आफुलाई भाग्यमानी ठान्दै अब पनि यस्तै आशिर्वाद पाइरहनेमा विश्वस्त छु । आजको दिनदेखि म नगरपालिकाको भवनमा नरहे पनि नगरबासीका मनमनमा छु भन्ने आत्मविश्वास राखेकी छु । आगामी दिनहरूमा पनि हाम्रो सम्बन्ध र सम्पर्क सधैं यस्तै सुमधुर र सहजरूपमा रहिरहनेछ । हजुरहरुसँग सुख साट्न र दुःख बाड्न पाउदा अत्यन्तै खुशीको अनुभुति गरेकी छु र गर्नेछु । बरु मैले अञ्जानमा केहि गल्ती गरेकी रहेछु भने आफ्नै छोरी सम्झेर, आफ्नै दिदीबहिनी ठानेर माफी दिनुहुनेछ भन्ने आशा राखेकी छु ।
अन्तमा, नगरको जिम्मेवारीमा हुँदा जति मैले गरे त्योभन्दा बदी नै पाएकी छु । यस्तो उपयुक्त वातावरण सिर्जना गरिदिनु हुने नगर प्रमुख, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृतलगायत सम्पूर्ण कर्मचारीहरु, प्रहरी प्रशासन, राजनीतिक दलहरु, सामाजिक संघ संस्थाहरु, बौद्धिक बर्ग, सञ्चारकर्मी मित्रहरू, गलकोटबासी आमाबुवा, दाजुभाइ एवम् दिदीबहिनीहरु, शुभेच्छुक महानुभावहरु सबैको साथ, सहयोग, सहकार्य र सल्लाह, सुझाव, सद्भावका लागि हृदयदेखि नै आभारी छु, रहिरहने छु ।
गलकोटको शान्ति, सुशासन र समृद्धिको यात्रामा सधैं सँगसँगै रहिरहने प्रण गर्दै र नगरले अझै तीब्र गतिमा काँचुली फेर्दै जाने अपेक्षा राख्दै सम्पूर्ण नवनिर्वाचित जनप्रतिनिधिहरुलाई पुनः हार्दिक बधाई एवम् कार्यकाल सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु ।
धन्यवाद ।
रेनुका काउचा मगर
निवर्तमान उप मेयर
गलकोट नगरपालिका, बागलुङ
No comments:
Post a Comment