Thursday, September 4, 2025

पवित्र सम्बन्ध

 दिब्य लिम्बु । घर झापा । कलेजको साथी । होस्टेलको एउटै रूममा बस्थ्यौं । कलेजपछि आआफ्नो भविष्य खोज्दै छुट्टाछुट्टै देश पुग्यौं । करीब अठार बर्षपछि संजोगले आफ्नै देशमा भेट भयौं । कलेजका ती रमाइला दिनहरू एकएक गर्दै याद गर्यौ । अरुअरु साथीहरूलाई पनि सम्झियौ ।

यस अन्तरालमा मेरो कालो कपाल केही सेतो भएछ, उनको कपाल टाउकोमै केही अंशबण्डा भएछ । उचाई चाहिँ उनको पनि बदेनछ, मेरो पनि बदेनछ । जस्ताको तस्तै रहेछ । अनि आत्मीयता पनि अझै उस्तै नै ।
हामी कलेजको फुटबल टिममा थियौं । कहिलेकाहीँ दुईजना मात्रै पनि अभ्यास गर्थ्यौं । मैले आफूलाई डेभिड बेख्याम झैं ठान्थें, बल पनि त्यसैगरी कर्लिङ्ग क्रस गर्न खोज्थें । उनले पनि शायद आफूलाई जिडान नै सोच्दा हुन्, जोडजोडले एक्कुरेट हेडिङ गर्ने प्रयास गर्दथे । फुटबलप्रति हाम्रो रुचि र माया उस्तै थियो । फुटबल खेल्नु हामी दुबैको शोख भए पनि प्रोफेसनल खेलाडी भने बनेनौं । हाम्रो सम्बन्धमा सुमधुरता थप्न शायद फूटबलले पनि मद्दत गरेको थियो ।
बर्षौपछी उनले आफ्नै घरमा बोलाए । खुवाए, घुमाए र परिवारसँग चिनजान गराए । म पश्चिम रोल्पाको, ऊनी पूर्व झापाको । मान्छेको सम्बन्ध बाँचिरहे कुनै पनि बेला भेट जुर्ने रहेछ । भेटिएर छुटेको माया प्यारो भन्थे, छुट्टीएर भेटिएको माया झन् प्यारो हुदोरहेछ । अब पनि यसरी नै छिट्टै भेट्ने बाचा छ । कलेजका ती अन्य साथीहरु पनि थपिने आशा छ ।
अध्ययनको सिलसिलामा गाँसिएको चोखो मित्रता सधैंभर कायमै रहिरहनेछ साथी । धन्यवाद यस्तो पवित्र मित्रताका लागि ।
24 Feb 2024
एउटै स्कुल, एउटै कक्षा कोठा । एउटै डाइनिङ हल, एउटै परिक्षा हल ।
एसएलसीपछि ठूल्ठूला सपना बोकेर स्कुलको एउटै गेटबाट बाहिर निस्किएका हामीहरु बीस बर्षपछि अर्कै गेटबाट भित्र छिरेर बल्ल आआफ्ना अनुभवका पोकाहरु साट्न पायौं ।
गोर्खा स्कुलका ती रमाइला क्षणहरु पुनः स्मरणमा आए । धेरैजस्तो अतितका कुरा भए । अलिअलि वर्तमान र थोरैथोरै भविष्यका कुराहरु पनि । सम्झनामा भएका सबै सबैलाई खुबै सम्झियौं ।
9 March 2024
नदि जस्तै रैछ जीवन मौसमअनुसार बहनुपर्ने
रुख जस्तै नि रैछ जीवन ऋतुअनुसार फेरिनुपर्ने
समयलाई सम्झनासँग साटासाट गर्दै निरन्तर हिडिरहनुपर्ने..
प्रेम त म सबैलाई गर्छु नै, यहाँ त अझ बिश्वास र समर्पण थियो । यस ठाउँमा आफ्नोपन र सम्बन्धमा आत्मीयता पनि थियो । यहाँको बसाइँमा भेटिएका अशल मन र सुन्दर पलहरु सधैंभर सम्झनामा रहिरहने छन् ।
यहाँहरुको साथ, सहयोग र असीम मायाका लागि धेरैधेरै आभारी छु ।
सबैको आगामी दिनहरु शुभ रहोस् । पुनः भेटिने आशा सहित..
21 Jan 2024
बीस बर्षपछि स्कुलमा एउटै कक्षामा पदेका साथीहरू भेटियौं । चैत्र मास बेस्सरी परिरहेको पानीसँगै स्कुलबाट छुटिनुअघि र पछिका दिनहरू सम्झियौं ।
उतिबेला बच्चै थियौं । अहिले अलि जवान भएछौं । जीवनका उकालीओराली छिचोल्दै भोगेका तितामिठा अनुभवहरु पनि साट्यौं । हाम्रो बसमा समय थिएन तर कतिपय अवस्थामा समयको बसमा हामी पनि त थिएनौं । सबैका बेग्लाबेग्लै कथा थिए । संघर्ष, उतारचढाव र अनुभव आआफ्नै थिए ।
अन्तमा फेरि पनि यसरी नै भेटिने वाचा गर्दै पुनः छुट्टिनु त छदैथियो, छुट्टियौं । एकअर्कालाई अंकमाल गर्दै स्कुल जाने बाटो हाम्रो एउटै थियो तर अफिसको बाटो भने फरकफरक भइसकेछ ।

त्यहाँ उपस्थित नभएका सबै साथीहरूलाई धेरैधेरै सम्झना छ ।
कुनैकुनै सम्बन्ध यति सरल हुन्छ कि जसको बर्णन गर्न निकै कठिन हुदोरहेछ ।
मित्रता अनन्त कालसम्मलाई हो, एक दुई बीसको के गन्ती गर्नु र!

बिहानी किरणले उत्साह भर्छ । साँझको जूनले शीतलता छर्छ । प्रकृति जीवन हो भने सम्बन्ध आत्मा हो ।
जीवन र सम्बन्ध जोडिदा विशाल उर्जा पैदा गर्छ, टुंगिएपछिको शून्यता र रिक्तता निकै भयावह हुन्छ । प्रकृति र सम्बन्धको मौनता शान्ति र बिद्रोहको सोच र खोज हो । जीवन र जगतलाई बुझ्ने र हेर्ने धेरै कोणहरु छन् तर सत्य भने सधैं एक सत्य नै रहिरहन्छ । त्यस सत्यलाई आत्मसात गर्नु नै जीवनको महाज्ञान र महाबिज्ञान हो ।
भवतु: सब्ब मंगलम् ।

No comments:

Post a Comment