Thursday, September 4, 2025

हरि दाइ

जिन्दगीमा आउने हर कठिन परिस्थितिले नवीन मार्गको दोका खोलिरहेको हुन्छ । तपाईं एक साहसी योद्धा मात्रै नभएर सबैको प्रेरणाको स्रोत पनि हुनुहुन्छ । सगरमाथाको शिखर चुम्ने मिसन सफलतापुर्बक सम्पन्न भएको हेर्न पुरै संसार पर्खिरहेको छ । शुभकामना हरि दाइ ।

 "कुनै पनि खेल खेल्दा चोटपटक लाग्नबाट जोगिनुपर्छ । अझै आर्मीहरुको त खुट्टामा केहि भयो भने प्रोमोसनको चान्सै हुँदैन ।"

सन् २००५ तिर जावलाखेल फुटबल ग्राउन्डमा फूटबल खेल्दैगर्दा हाल्फ टाइमको बेला हरि दाइले यस्तै भन्नुभएको थियो ।
विडम्बना! २०१० मा अफ्गानिस्तान जादा एम्बुसमा परेर उहाँले दुबै खुट्टा गुमाउनु पर्यो ।
जबसम्म उहाँसँग आफ्नो खुट्टाहरु थिए, उहाँले केवल एउटा अफिसरको सपना देख्नुभएको थियो, पल्टनमा सीमित जुनियर्सका सलाम खाने सोच्नुभएको थियो ।
जब उहाँले होशियारीपूर्वक जोगाएर राखेका आफ्ना ती खुट्टाहरु गुमाउनुपर्यो तब उहाँले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा टेक्ने सपना देख्नुभयो र सफल हुनुभयो ।
जिन्दगीमा यस्ता थुप्रै कमा र पूर्णबिराम आउँदा रैछन् । कसैले यात्राको अन्त्य गर्छन्, कसैले नयाँ शुरूवात । कोहि रोकिन्छन् त कोहि अझै अघि बढने आँट गर्छन् । जीवनमा अनपेक्षित दुर्घटना, अप्ठ्यारा र चुनौतीलाई अवसरमा परिणत गर्नसक्ने साहस र सोच यसैगरी अरु अरुहरुमा पनि छर्दै जानुहोला हरि दाइ ।
यो संघर्ष र सफलताको कथा लेखिने क्रम जारी रहिरहनेछ । आज पुरै दुनियाँले तपाईंबाट प्रेरणा लिइरहेकोछ, सिङ्गो संसारले सलाम ठोकिरहेकोछ । म एउटा भाइ, एउटा रोल्पाली र एउटा नेपालीको नाताले गर्व गरिरहेछु । अबका थप उर्जाशील दिनहरूका लागि हार्दिक शुभकामना छ हरि दाइ ।
20 Feb 2024

No comments:

Post a Comment