Thursday, September 4, 2025

देशको हाल र अवको विकल्प

"आफ्नो जनतालाई चाहिँ पानी पनि खुवाउन नसक्ने तर बिदेशीसँग भिख मागेर आफ्नो सेवासुविधा भने थपिरहने सरकार र पार्टीहरुको काम छैन, विघटन गरौं । प्रधानमन्त्री, मन्त्री, नेता, कार्यकर्ता र आम सर्वसाधारण जनताले श्रम गर्नैपर्छ, श्रम नगरि देश बन्दै बन्दैन ।" - मेयर हर्क साम्पाङ
"सरकार चलाउने गोक्तेकाजीहरु र प्रशासन चलाउने महाफटाहा सचिवहरुले अनुसन्धान र आविष्कारको महत्त्व नबुझेकै कारण देश बिकास हुनसकेन । अब बृहत आन्दोलन गरौं ।" - डाक्टर महावीर पुन
"यति राम्रो देशले अशल नेता नपाएकोमा अत्यन्तै दु:ख लाग्छ ।" - डाक्टर सन्दूक रुइत
यी त प्रतिनिधि पात्रहरु हुन् । अधिकांश नागरिकको निष्कर्ष यस्तै यस्तै छ । खास जनताको वास्तविक आवाज पनि यहीँ नै हो । चुनावदेखि चुनावसम्म र फेरि सत्ता र भत्ताको खेलले देश अस्थिर बनेको छ । जनताले जति सहनु सहिसके उप्रान्त सहने धैर्यता नराख्लान् । अब छिट्टै मौन बिद्रोहको अवधी सकिदैछ । राजनीतिक दलहरूले आजै अहिल्यैबाट आफुभित्रको फोहोर सफा गर्दै सच्चिन र सुध्रिन थालेनन् भने बदारिनुको विकल्प छैन । त्यो बेलामा प्रभुले समेत राम राम भन्नु सिवाय काँध थाप्ने अवस्था रहन्न । थोरै समय छदै चेत खुलोस् ।
भवतु: सब्ब मंगलम् ।

 हरेक बिहान उठेपछि देशमा कुनै भ्रष्ट, अपराधी र गुण्डाले सजाय पाएको, जनस्तरबाट बहिष्कार गरेको सुन्न पाउने आशा हुन्छ ।

तर उनीहरुलाई फूलमालाले स्वागत र सम्मान गरेको पढ्न, सुन्न र देख्नुपर्छ । यस्तो दृश्य मनमा झल्झली सम्झिदै दिनभरि ड्युटी गर्नुपर्छ ।
समाचारमा बरु घाउमा टांका लगाइरहेका स्वास्थ्यकर्मीको घाँटी अठ्याएको, बिरामी हेर्दै गरेको डाक्टरलाई हुलले हातपात गरेको, भिड जम्मा गरेर अस्पतालमा आक्रमण गरेको, ज्यान मार्ने धम्की दिइएको सुन्नु र देख्नुपर्छ ।
एउटा चिकित्सकका लागि सबै बिरामी बराबरी हुन्छन् । आफ्नै परिवारको जीवन र प्राण जस्तै अरुको पनि उत्तिकै प्यारो हुन्छ ।
देशमा जताततै अति हुदैछ । समाजमा अराजकताले सिमा नाघ्दैछ ।
निमुखाहरु निरही भएर कति दिन बस्नु!
कति सहनु, कति लुटिनु, कति कुटिनु र तर्सिनु!?
एक व्यक्तिका लागि थुप्रै सजिला विकल्पहरु हुन्छन् । तर सबैभन्दा कठिन विकल्प रोजेर बिरामीको उपचारमा खटिरहेका चिकित्सक र बिरामीको बीचमा दुरि बदिरहदा राज्य भने रमिते बनेको छ । अस्पताल, बिरामी र नागरिक सबै सशंकित र असुरक्षित महशुस गर्नुपरेको छ । यति संवेदनशील बिषयमा राज्य मुकदर्शक बनिरहदा कालान्तरमा चिकित्सक र देशकै दुरि बदाउने निश्चित छ । राज्यले कम्तीमा पनि सत्यतथ्य, सहि र गलत, न्याय र अन्याय छुट्ट्याएर अभिभावकीय भूमिका खेलिदिनुपर्छ । एउटा घटनामा कुनै एक पात्र बिशेषको कमजोरी हुनसक्छ तर जुन मनोबिज्ञान, प्रवृत्ति र संस्कारको बिकास हुदैछ यसले देशलाई ठुलो हानी गर्नेछ । देश सुधार्न सरकार र जनता सबै जिम्मेवार बन्नुपर्छ, सच्चिनुपर्नेमा सच्चिनु पनि पर्छ ।
मलाई धेरैले लेख्न र बोल्न नछाडेर पुनः निरन्तरता दिन सुझाउछन् । मलाई बोलेर र लेखेर केहि हुँदैन भन्ने लागेरै चुपचाप छु । यो गलत हो भन्नेमा पनि विश्वस्त छु । मलाई लाग्छ, अब त मैले धेरै कुरा पचाउन र सहनसक्छु । यस्ता दुःखद् घटनाहरु सुन्नुपर्दा तैपनि बेलाबेलामा बिथोलिन्छु ।
मानवीयताको मैन बाल्दाबाल्दै कहिलेकाही त हनुमानले लंका भस्म बनाए झैं बेइमानहरुको स्वर्ग र अपराधीहरुको अखडामा आगो झोस्न मन लाग्छ । शायद, अब त्यस्तै गर्नुपर्ने परिस्थिति नजिकनजिकै आउदैछ ।
सबैलाई शुभदिन ।
28 sep 2023
पुराना पार्टीहरुको रवैयाले आजित जनताहरु सुशासन र समृद्धिका लागि विकल्पका प्यासी थिए । तिनको चाहना मलिलो माटो सिंचाइ गर्न मुलको पानी कुलो खनेर ल्याउनु थियो तर धुमिल छबिका खहरे रबिहरु गड्गडाउदै आएर वास्तविक स्वतन्त्रहरुको आकांक्षामा तुषारापात गरिदिए । दलहरूले गलत गर्दैथिए, रबिहरु पनि अशल नियतले आएका थिएनन् । रबिहरुको मारुनी सपनामा झुम्दै भ्रमको डुंगामा शयर गरेर पुगिने त फेरि रसातलमै हो । अहिलेसम्मको उकुसमुकुसलाई बिथोल्नसक्ने ठूलो उथलपुथलको विकल्प कि आत्मविश्वासपूर्वक आफैं बन्ने हो कि त सचेततापूर्वक अझै खोज्ने हो ।

प्रधानमन्त्रीकै सामुन्ने आत्मदाह गर्ने युवाको बकपत्र आफुसँगै जलेर नजावस् ।
उनको उर्जामा पानी खन्याउनेहरुलाई राज्यले विभूषण दिएर सम्मान नगरोस्, निष्पक्ष छानबिन गरेर कारबाही गरोस् ।
जनताले अब भाषणमा होईन शासनमा बिश्वास गर्छन् भन्ने प्रधानमन्त्री र मन्त्रीहरुलाई हेक्का रहोस् ।
प्रेम आचार्यलाई पोल्ने आगोले सबै अपराधीहरुलाई पनि भतभती पोलोस् ।

भीषण हवाई र सडक दुर्घटना । बादी, पहिरो र डुवान । असिना, पानी र खडेरी । लू र शीतलहर । आगलागी र भोकमरी । महामारी र भुइँचालो । यी बारम्बार दोहोरिरहन्छन् । थुप्रैका थुप्रै प्यारा मान्छेहरुको अकालमै जीवन टुङ्गिन्छ । हामीलाई पिराउछन्, रुवाउछन् र बिक्षिप्त बनाउछन् । स्तब्ध हुन्छौं, भावुक श्रद्धाञ्जली दिन्छौं र सधैं झैं एकदुई दिनमै शोकलाई सजिलै भुलिदिन्छौं । राज्य र सरोकारवालाहरुको तर्फबाट क्षति न्यूनीकरण र रोकथाम गर्न पूर्वतयारी पुगिरहेको छैन वा हेलचेक्र्याई भइरहेको हो? यदी त्यसो हो भने दोषी को? हामी साच्चै भगवान भरोसामै बाँचिरहेका छौं । कहिले हो सोच्ने, कहिले हो चेत्ने? अमुल्य जीवन किन यति महत्वहिन हुदैछ!?
आज भएको विमान दुर्घटनामा ज्यान गुमाउनुहुने सम्पूर्ण मृतकहरुको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।
नेताहरूले लोकतन्त्रको हुर्मत लिनसम्म लिएर अहिले मिलिजुली गणतन्त्रलाई पंगु बनाउदैछन् । हजारौं छोराछोरीले रगत बगाएर ल्याएको व्यवस्थामा हेर्दाहेर्दै एकदिन सबथोक सखाप पार्ने छन् ।
नेताहरु राजनेता बन्लान् भन्दाभन्दै भष्मासुर पो बन्न थाले ।
विश्वास र अविश्वासको दु:ख!
`राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन´ र `राजनीतिमा जे पनि जायज छ´ भन्ने मान्यता स्थापित हुँदै जादा नेताहरुले सत्ताको लागि जस्तोसुकै अनैतिक हर्कत गरिरहे पनि स्विकार्य बनिरह्यो । बुदाहरुको यस्तो रवैयामा युवाहरूले सहि थाप्दै `हो मा हो´ मिलाउनाले राजनीति झन्झन् विकृत हुँदैगयो ।
जनताको चाहना र देशको आवश्यकता गौण भए । बिचार र सिद्धान्त अलपत्र हुँदा आदर्श, ईमान र निष्ठा अलप हुँदैगयो । यिनको खोजी नगरी राजनीति सहि दंगले अघि बढने र दलहरु सुध्रिने सम्भावना शून्यप्रायः छ । विकल्प भनिएकाहरु विकल्प बनुन्, हेरौं ।
सांसदहरुको शपथ;
प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, सुशासन, सामाजिक न्याय, सवल अर्थतन्त्रलगायत जनजीविकाका सवालमा संसद भवनभित्र र बाहिर माननीयहरुको बुलन्द आवाज र प्रष्ट अडान सुन्न पाइयोस् ।
देश र जनताप्रति उत्तरदायी रहनुहुने अपेक्षासहित पुनः हार्दिक बधाई एवं शुभकामना!
कांग्रेसको चौधौं महाधिवेशनमा पार्टीका नेताकार्यकर्ताले र भर्खरैको निर्वाचनमा आम मतदाताले पुस्तान्तरण र रुपान्तरणको पक्षमा खुलेरै मतदान गरे । कांग्रेसका माननीयहरुलाई संसदीय दलको नेता चुन्दा परिवर्तनको पक्षमा उभिने त्यस्तै ऐतिहासिक अवसर थियो । देश, पार्टी र जनताको जीवनमा उल्लेखनीय फेरबदल हुनसक्थ्यो सक्थेन तर उहाँहरुले विवेकपूर्ण निर्णय गर्दा अहिलेको राजनीतिक दिशाले अलिकति भए पनि कोल्टे भने अवश्य फेर्नेथ्यो । शेरबहादुर देउवाले जित्ने र गगन थापाले हार्नेभन्दा पनि सक्षम युवाहरूले यथास्थितिका विरुद्ध उभिने र हस्तक्षेप गर्ने प्रयास गर्नु सराहनीय कार्य हो । अन्य पार्टीभित्रका युवाहरुले पनि प्रयत्न गरुन् । शुभेच्छा छ ।

आगोको लप्का नै निल्नुछ भने
चिसा चिसा कोइलाको अपेक्षा व्यर्थ छ
बरु राता राता फिलिङ्गोमा टेकेर मुकाविला गर्ने र जित्ने हो
सामर्थ्य हुनेले त गर्ने हुन् संघर्ष
काल्कुट विष जो कसैले कहाँ पिउन सक्छन् र!

हिजो र आज:
राजनीति अन्योलको भुमरीमा छ । समाजमा अराजकता व्याप्त छ । यी दुबै विघटनको संघारमा छन् । राज्य मनमौजी छ । जनता अर्को आन्दोलनको द्विविधामा छन् । हिजोको राजा र प्रजा प्रथा आज नेता र जनताको आवरणमा निरन्तर रहिरहन असम्भव छ । समय गतिशील छ । नयाँ सोच, विचार, शैली र आचरणको खोजी हुदैछ । समयमै गतिशीलतालाई आत्मसात गर्न नसके भीमकाय संस्थाहरु चाडै डायनोसर बन्नेछन् ।

No comments:

Post a Comment