Thursday, September 4, 2025

धरानको एउटा कथा - `तक्माको ब्यापार´

एकजना वृद्ध भूपू लाहुरे मेरो ओपिडी कोठाभित्र पस्नुभयो । मैले नमस्कार गरेर छेउको कुर्सीमा बस्न आग्रह गरेपछि सुइय सुस्केरा हाल्दै थ्याच्च बस्नुभयो । उहाँको समस्याहरु सुनिसकेपछि छातीमा स्टेथेस्कोप लाएर जाँच्दै गर्दा गोजीमा गोलोगोलो धातुजस्तो कडा बस्तु रहेको चाल पाएँ ।

मलाई जिज्ञासा लागेर सोधिहाले,"मामा, गोजीमा के राख्नुभएको छ?"
जीवनको उत्तराद्धतिर लम्किदै गर्नुभएका लाहुरे मामाले बिस्तारै ओठे जवाफ दिनुभयो," मेरो पल्टनको चिनो हो डाक्टर साप ।"
बुढ्यौली उमेरसँगै श्रवण शक्ति र दृष्टि गुम्दै गएको मामाको कुरा सुनेपछि अचुक सुझाव दिए झैं गरि अलि जोडले भने," जवानीमा दु:ख गरेर पाएको तक्मा घरमै सजाएर पो राख्नुपर्छ त मामा । कतै खसेर हराउला नि ।"
उहाँले कान थापेर सुन्नु त भयो तर भित्री मनलाई भने मेरो कुराले रत्तिभर छोए झैं लागेन । मेरो सुझाव त नदिको छालहरु बगरको पत्थरमा ठोकिँदै पुनः नदिमै मिसिएर बगेर गए जस्तै भान भयो । उहाँले न सहमति न बिमतीको शिथिल भावमा निधार खुम्च्याउदै भन्नुभयो," उमेरमा यो पाउनलाई कत्रो महाभारत भयो, बुदेसकालमा बचाउन अर्को महाभारत हुनेभो हाउ डाक्टर बाबु । त्यो पनि आफ्नै छोरा भनाउदाबाट । त्यसैले आफैं पो खल्तीमा बोकेर हिडेको छु त ।"
उहाँले भन्नखोजेका कुराको अलि मेसो पाइन तसर्थ प्रष्ट बुझ्नलाई फेरि प्रतिप्रश्न गरें," जितेर पाएको तक्मा बचाउन पनि के को महाभारत भयो र मामा? के गर्नुहुन्छ र छोराले?" अनायास अर्को प्रश्न मुखबाट फुट्ट फुस्कियो ।
मामाको हाउभाउमा केही दिक्दारीपन देखिए पनि बहुत आज्ञाकारी विद्यार्थीले झैं गरि उत्तर दिनुभयो," ब्यापार गर्छ नि हाउ डाक्टर साप, ठुलो ब्यापारी हो नि उ त।"
मैले हर्षित हुँदै थपिहाले," ए त्यसो भए त राम्रो हो नि मामा । ब्यापारबाट आम्दानी पनि राम्रै गर्नुहुन्छ होला । बरु ब्यापार चाहिँ केको गर्नुहुन्छ?"
मामाले एकछिन दुबै आँखा पर भित्तातिर डुलाउदै अलि बल गरेर चिमचिम पार्नुभयो । आँखाहरु पानीले हो कि आँसुले हो अलि टल्किरहेका थिए । बिस्तारै शिर थोरै भुइँतिर निहुराउनुभयो । जीउमा देखिएको अलिअलि उत्साह पनि अलप भएर गयो अनि कालो बादलले छोपेको धुम्म आकाश सम्झाउने अनुहार पारेर भन्नुभयो," हो, गर्छ नै भन्नुपर्यो डाक्टर साप । उसको आमा रहुन्जेल आमाको राखना, गरगहना बेचेर ब्यापार गर्यो । उसैको नाउँमा लालपुर्जा गर्दिएको घडेरी पनि थाहै नदिइ सस्तैमा मास्यो । त्यति मात्रै नभएर कुलतमा फसेर पटकपटक जेल पनि पर्यो । छोराको यस्तो चर्तीकला देखेर आमा पिरैपिरले चाडै बितेर गइन् । अहिले जेलबाट निस्किएर मेरो पेन्सन उसलाई एकलौटी नगर्दिए मार्छु भन्दै दिनहुुँ धम्काउछ । मैले पल्टनमा हुँदा गरेको कडा मेहनतको निशानी भनेर साचेर राखेका मेडलहरु समेत चालै नदिइ कताकता बेचेर खायो कुन्नी! यहीँ एउटा तक्मा अहिलेसम्म जसोतसो जोगाएर राखेको छु डाक्टर साप । श्रीमती बेलैमा बाटो लागिहालिन्, काँध थाप्ने छोराको हालत यस्तो छ । अब यो तक्मा, म जुन दिन मरेर जान्छु त्यहीँ दिन मसङै जलेर जावस् वा मेरो चिहानमा गाडियोस् भन्ने चाहना छ ।"
मैले देखेको सुन्दर स्वरुपको लाहुरे धरान र मैले सुन्दै गरेको कुरुप धरानको नियति बेग्लाबेग्लै थियो । अरुले सुनाएका कथा र भोगाइका कथामा धेरै अन्तर थिए । म अनपेक्षित जवाफ सुनेर नाजवाफ भएँ । मेरो हविगत देखेर होला शायद मामाले मेरो अर्को प्रश्न कुर्ने जरुरी नै ठान्नु भएन ।
उहाँले एकोहोरो भन्दै जानुभयो," जवानीमा त शक्ति थ्यो र पो त्यत्रो कडा मेहनत गरेर जित्दा कम्पनीमा कत्रो हर्ष बधाई भाथ्यो । मैले जितेका ट्रफी उसैलाई अर्पिन्थें, मेडलहरु सधैं उसैको घाँटीमा लाइदिन्थें । बैंस थ्यो र पो जिन्दगी दाउमा लगाई तक्मा कमाए डाक्टर साप, अहिले त बुदेसकालमा यहीँ तक्मा बचाउन गाह्रो भो । पल्टनमा तक्मा जित्न निकै खुनपसिना बगाए, अहिले यहीँ तक्मा बचाउन रातदिन आँसु बगाइराछु । दुश्मनसँग नझुक्ने कत्रो हिम्मत थ्यो आज आएर त आफ्नै छोरो पो महाको शत्रु निस्कियो । उसले आफ्नो जिन्दगी त बर्बाद पारिसक्यो, मलाई समेत जीवन र मरणको दोसाँधमा पुर्याइदियो । आफ्नो नशाका लागि मेरो पल्टनको सारा खुशी र यादहरुको चिनोलाई लिलाम गर्न खोज्दैछ नि डाक्टर बाबु ।"
एक मनले सोचें, नचाहिने कुराहरु नसोधी बसेको भए पनि हुन्थ्यो । अर्को मनले सोचें, कुहिरोले छोपे सरी दाकिएको हृदयको उकुसमुकुस अलिकति भए पनि हटेर पो जाला कि!
म कहाँ आउने बिरामीको घाउ सन्चो पार्नु मेरो दैनिक कर्तव्य हो तर आज म आफैं पनि भित्रभित्रै बेस्सरी घायल भएँ । भनूँ, छियाछिया नै भएँ । अलि बदी नै भावुक पनि भएँ । एकाएक ठुलै रेक्टर भुकम्पको महशुस गरें । रन्थनिएँ पनि, शायद ।
साँझतिर क्षितिजमा अस्ताउनै लागेको सूर्य जस्तै समय घर्केका बृद्धअबस्थाको बुबालाई सहारा दिनुको सट्टा पिडा दिने कथित ब्यापारी छोरोलाई सम्झेर म नि:शब्द भएँ । कस्तो निष्ठुर मन! मभित्रको आक्रोस र करुणाको भेल एकैपटक उर्लेर आयो । तन र मनमा एकैचोटि हलचल मच्चियो । म हायलकायल भएँ । जसोतसो आफैंलाई सम्हाल्ने कोशिस गरें ।
खै किन हो कुन्नि! एकाएक दुनियाँभरका छोराहरुप्रति घृणा भाव पो जागेर आउन थाल्यो । आफूलाई पनि छोरा भएकोमा सराप्नु सरापे । मैले नजन्माएको छोरोलाई समेत कपुत सम्झिएँ । अशल छोराको धर्म निर्वाह गर्न नसकेकोमा आमाबुबाप्रति हृदयदेखि माफी पनि मागें । एकछिन एक स्वतन्त्र मान्छे बनेर सोच्ने प्रयत्न गरें । मानव चोला र चलनलाई गहिरिएर समिक्षा गरें ।
अचानकमै दुखेको दिलभित्र पराकम्पन जान जारी नै थियो । एकछिन मौन रहें । आफ्नै थिलथिलो अन्तर्मनसँग बात मारे । यसो गर्नु मेरो सानैदेखिको बानी पनि हो ।
म रोगको निदान गर्ने डाक्टर त भए तर यस्ता जीवनको समाधान दिनसक्ने डाक्टर बन्न सकिनछु ।
यस्तै नालायक छोराहरुलाई हुर्काउने समाजको उपचार गर्ने डाक्टर बन्न त झन् बाँकी नै पो रहेछ ।
20 May 2025

No comments:

Post a Comment