Thursday, September 4, 2025

एउटा माझीको खोजी

 अचेल चोकचोकमा रास्वपाको पसल चल्दैरैछ । निलो ब्यानरमा घण्टी चिन्ह राखेर छेउछाउमा जो देखिन्छन् सबैलाई `आउ, आउ´ भन्दै बोलाएर हस्ताक्षर गर्न बाध्य पार्ने रैछ्न् ।

यो सत्य हो, रविमाथि राजनीतिक प्रतिशोध साधिएकै हो तर निर्धक्कसाथ भन्न सकिन्छ उनी चोखो छैनन् किनकि रबि दोषी हुन् भन्ने पर्याप्त आधारहरु छन् । उनी र उनी जस्ता योजनाबद्ध ठगी गर्नेहरुलाई त राज्यले जेलमा पालेर राख्ने होईन बरु दैनिक श्रममा लाउनुपर्छ जसले गर्दा पीडितहरुको रकम क्रमिक रूपमा असुल हुँदै जावस् । पीडितहरुको मनमा न्याय प्रणालीप्रति विश्वास जाग्ने र राज्य छ भन्ने गरि उचित फैसला हुनुपर्थ्यो भलै नीतिनियम नै संशोधन गर्नु किन नपरोस् ।
सवाल, रविको बदमासी किन छानबिन भयो र किन सजाय पाए भन्ने हुनुहुदैन बरु उनी जस्तै अपराध गर्नेहरुको कुकर्म किन छानबिन भएन र सजाय किन पाएनन् भन्ने हुनुपर्छ । पार्टीभित्र नेताकार्यकर्ताले एकअर्कालाई, परिवारभित्र आफ्नै परिवारलाई र आफूले आफैंलाई समेत प्रश्न सोध्ने हिम्मत गर्नुपर्छ । गलत गर्ने जोसुकै होउन्, सबैले सजाय पाउनैपर्छ । यसरी औचित्यहिन उद्देश्यका लागि बाटोमा हिडिरहेका सर्वसाधारणलाई जबर्जस्ती हस्ताक्षर गराएर अपराधको भागिदार बनाउनु हुँदैन ।
रास्वपा अरु पार्टीभन्दा फरक देखिने र लामो यात्रा तय गर्ने गरि विकल्पका रूपमा आएको हो भने एनजीओ आईएनजीओ जस्तो छबि त्यागेर स्पष्ट राजनीतिक कार्यदिशाका लागि मन्थन गर्नुपर्ने देखिन्छ । अरु दल र अरु नेताभन्दा भिन्न रहेर जनताको सपना पुरा गर्छु भन्ने तर सिङ्गो पार्टी यसरी सधैंजसो एकोहोरो रविको दाकछोप गर्नमा समय र शक्ति खर्च गर्नु व्यर्थ छ ।
पुराना दलहरूप्रतिको वितृष्णाका कारण जनताले विकल्प अवश्य खोजेका छन् तर रवि चरित्रको विकल्प अर्को झुटको पुलिंदा मात्रै देखिदैछ । स्वतन्त्रको नाउँमा अर्को असहिष्णु र कट्टर पक्षधरताको उदय हुन खोज्दैछ । अहिले जनतामा आशा जगाउने र जनताको बिश्वासलाई व्यवहारिक रुपमै पुष्टि गर्ने नेतृत्व चाहिएको छ । राजनीतिमा छलछाम, झालझेल, षड्यन्त्र धेरै भयो । भ्रष्ट र अपराधीको त खडेरी नै छैन । खाँचो त मनमा समाज सुधार्ने र देश बनाउने इमान्दारिता, नैतिकता र दृढ़ इच्छाशक्तिको हो ।
15th July 2025

हिजोअस्तितिर भ्रष्टाचारीलाई संरक्षण गरिरहेको र अरुकै आदेश पालना गरिरहेको गाइगुइ चलिरहेकै थियो ।
अहिले आएर गृहमन्त्री आफैं धन्दामा मुछिएको कुरा आउन थाल्यो ।
गलत भए सजायको भागिदार बन्नुपर्छ, कि त गलत गर्नेलाई कारबाही गर्नुपर्छ ।
हातमा कलम भएर मात्रै सुन्दर कथा नलेखिने रहेछ ।
देशको सुनौलो भविष्य लेख्ने कलम हातमा लिएका गृहमन्त्री लेखकले सुशासनको कुरुप कथा लेख्न थालेछन् ।
आफ्नै इच्छाअनुसार वा अरुकै इशारामा यस्ता कुकर्म भइरहेका हुन् त्यो त निष्पक्ष अनुसन्धान र छानबिन भएपछि मात्रै थाहा हुनेछ ।
विगतमा झैं चोख्याउने मनसायले गरिएका छानबिनले उल्टै अपराधीलाई उन्मुक्ति मिल्नेछ ।
गृहमन्त्री देशप्रति जिम्मेवार हुने हो कि कुनै पार्टी वा अमुक घरानाको स्वार्थप्रति?
स्वतन्त्र नागरिकहरु यस्तो पाखण्डी राज्यप्रति कसरी विश्वस्त हुने होला है!?
26 May 2025

मान्छेको निर्णय कहिलेकाहीँ गलत हुनसक्छ तर नियत सहि हुनुपर्छ ।
उर्जामन्त्रीको न निर्णय सहि छ न त नियत नै । उनी पहिल्यैदेखि एक विवादित ब्यक्ति हुन् ।
उनलाई सच्याउने मन न उनको पार्टीलाई छ न त प्रधानमन्त्रीलाई, किनकि उनी रोजाईको प्रिय मान्छे हुन् । उनीभन्दा अब्बल र योग्य अर्को पनि उनी जस्तै पात्र मात्रै छनोट हुनसक्छ ।
सत्तामा चित्र फेरिन्छ, राज्यको खास चरित्र त यस्तै नै छ ।
उनी त, जस्तो जरा उस्तै हाँगा मात्रै हुन् । जुन बोट त्यसकै फल मात्रै हुन् ।
यस्ता बिषबृक्षको राजनीतिक बिरुवा रोप्ने, गोडमेल र मलजल गर्ने उस्तै खेतीवाल चाहिँ हामी जनताहरु नै हौं ।
अब त सोचौं, बुझौं र चेतौं ।
22 May 2025

गणतन्त्रका विरुद्ध राजसंस्था फर्काउन तम्सिनेलाई हतकडी लाउन सक्ने दुई तिहाई सरकार!
अनि
बिजुली बत्तीका विरुद्ध ममबत्तीको युग फर्काउन खोज्ने प्रधानमन्त्री, उर्जामन्त्री र प्राधिकरण प्रमुखले चाहिँ सजायको भागिदार हुनुपर्दैन?
रवि र रवीन्द्रहरुलाई कारबाही किन गरियो भन्ने प्रश्न होईन,
सवाल कानुन सबैलाई समान दंगले लागू हुनुपर्छ भन्ने हो ।
न नैतिकता न उत्तरदायित्व ।
धन्य छौ सरकार!
17 May 2025

अहिलेको पुर्वराजा ज्ञानेन्द्र शाहकै शैलीमा केहि मान्छे भेला पार्दै विस्तृत शान्ति सम्झौता, समग्र शान्ति प्रक्रिया, राजनीतिक दलहरूको सहमति र मन्त्री परिषदको निर्णयविरुद्ध बोल्दै हिड्ने तत्कालीन प्रधानसेनापति रुक्मांगद कटुवाललाई प्रचण्ड सरकारले बर्खास्त गर्दा राष्ट्रपतिलाई गुहार्नजाने कांग्रेस-एमालेकै शिर्ष नेतृत्वगन थिए ।
तत्कालीन संस्कृति मन्त्री गोपाल किराँतीले पशुपतिमा ईन्डियन पुजारी हटाएर नेपाली पुजारी नियुक्त गर्दा गौशाला चोकमा सडक अवरुद्ध पारेर चर्को भाषन गर्दै विरोध प्रदर्शन गर्ने पनि कांग्रेस एमालेकै वरिष्ठ नेताहरू थिए ।
सत्ता र शक्तिलाई चंगुलमा पारेर स्वार्थपूर्ति गरिरहेका माफियाहरु र कृतिम लोडसेडिङ गरेर देश लुट्न पल्केका भ्रष्टहरुको आकांक्षाबिपरित अध्यारोबाट देशलाई उज्यालोतिर लिएर जनताको मुहारमा आशा जगाउन सफल चहकिलो कुलमान घिसिङ बाधक थिए नै । जनताले उनको कार्यक्षमताको उच्च मूल्याकंन गर्दागर्दै पनि पुरा कार्यकाल काम गर्न नदिएर बर्खास्त गर्ने पनि कांग्रेस एमालेकै सरकार ।
आज रातभरि आत्मग्लानीले छट्पटिएर बिहानसम्म प्रधानमन्त्री वा उर्जामन्त्रीको राजिनामा पो आउला कि भन्ने झिनो आश थियो तर आएनछ । अब भरेभोलिसम्म पनि आएन भने चाहिँ सिंहदरबारको कुर्सीबाट गलहट्याएर सडकमा पछार्दै बाग्मती र बिष्णुमतीको ढलढलमा मिल्काइदिए देशलाई ठुलो योगदान हुनेछ ।
कुलमान घिसिङको पवित्र छविमा मन्त्री परिषदको निर्णयले खासै माने नराख्न पनि सक्छ तर सत्तापक्ष र प्रतिपक्ष दलहरूको मात्रै नभई आम जनताको भविष्यका लागि भने अहिलेको परिस्थिति आफैंमा एउटा अग्नि परिक्षा हो ।
यो देशमा कुलमान घिसिङहरु कहिलेसम्म यसैगरी शूलीमा चदिरहनुपर्ने हो?
25 March 2025

राज्यको उच्च निकायमा पुगेका ब्यक्तिहरु बारम्बार अनियमिततामा मुछिनु नौलो कुरा रहेन ।
देशमा अनैतिक, ठगी धन्दा, भ्रष्टाचारजस्ता जघन्य मुद्दामा फरार सांसदहरु संसद भवनमा गएर तलबभत्ता बुझ्नमिल्ने, मञ्चमा अतिथिको आसनमा सरकारकै प्रमुखसँग कुम जोडेर बस्नमिल्ने अमर्यादित र अराजक लोकतन्त्रको अभ्यास भइरहेको छ ।
उनीहरुको मनमा अपराधको भागिदार बन्नुपर्ने त्रास रत्तिभर छैन बरु सिंहदरबारभित्र र बाहिर गर्दै कानुनलाई आफू अनुकुल प्रयोग गर्नसक्नेमा निर्धक्क देखिन्छन् ।
प्रहरीको फरार सुचीमा रहेका अधिकांश ब्यक्तिहरु प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र दलहरुकै राजनीतिक छत्रछायामा हुर्केका हुन् र छन् ।
अनौठो तर सामान्य जस्तै लाग्ने, भ्रष्टाचारीको मुखै नहेरी सिधै अंगालो हाल्ने प्रधानमन्त्रीकै बानी जो छ ।
आयोग, अदालत, अख्तियार, प्रहरी-प्रशासन जताततै सीमित व्यक्तिहरुको अंशबन्डा र सेटिङमा चलिरहेको छ । देशमा यस्तै परिदृष्य दोहोरिने क्रम जारी छ ।
राज्यकै अंग र पार्टी कार्यालयहरु बेथितिको उत्पादन केन्द्र भए । अब यिनको विकल्प सोच्नैपर्ने, खोज्नैपर्ने अवस्था आइसक्यो ।
सुशासनको भाषण त जनतालाई भ्रमित पार्न कपटीहरुले गर्ने छलछाम र कालो जादू मात्रै हो ।
हामी जनता नै छौं उस्तै!
सधैंभरि यिनका झूटा कुरा पट्याइरहने ।
अबेला नहुँदै सोचौं ।
15th May 2025

अशल नागरिकहरु न हिजोको राजाका पक्षमा छन् न त आजका ।
दलहरु कसैले सरकारमा बसेर त कसैले सडकमा उत्रेर नौटंकी गरिरहेकै कारण जनतामा उत्पन्न असन्तुष्टि र आक्रोशलाई देखेर पश्चगामीहरु बढता उत्साहित हुँदै सल्बलाउन थालेका हुन् ।
यथार्थमा चाहिँ देशमा राजतन्त्र फर्किने सम्भावना अति न्यून छ । यदि गद्दीमा फर्किएछ भने पनि रथमा नभई बयलगाडामै चदेर सयर हुने पक्का छ ।
देशका जिम्मेवार राजनीतिक पार्टीहरुले सधैं प्रतिगमनको भय र भ्रम छर्दै स्वार्थको रोटी सेकाइरहने मानसिकता त्यागेर परिवर्तनको आशा र उर्जा प्रबाह गर्ने कार्यक्रम तय गर्नेतर्फ लाग्नैपर्छ । नेताहरुको ध्यान तामझामको आन्दोलन गर्नेमाभन्दा जनजीविकाका मुद्दाहरु सम्बोधन गर्ने र आफ्नो आचरण सुधार्नेमा पुगोस् तब न राष्ट्रियता र लोकतन्त्र मजबुत बन्नेछ ।
जनताहरु सुशासन र समृद्धिको अगुवाई गर्ने भरपर्दो साझा संस्था र नेतृत्वको खोजीमा छन् । त्यो अवसरको सदुपयोग गर्नुहोस् ।
जय नेपाल!
28 March 2025

हिजो राजतन्त्रको विकल्प गणतन्त्र थियो तर आज गणतन्त्रको विकल्प गणतन्त्रकै उच्चतम अभ्यास हो ।
अहिले गणतन्त्रप्रति सबैभन्दा बढी खतरा गल्लीमा हिड्ने कुकुरबाट नभई मुल सडकमा भुक्ने कुकुरहरुबाट नै छ ।
सचेत नागरिकहरुले पहिलेका र अहिलेका राजा भन्दै पक्ष र विपक्षमा गाईजात्रा देखाइरहनु समय सान्दर्भिक छैन । अहिलेको युगमा पनि कसैको दास बन्न यति विघ्न मरिहत्ते गर्नु निकै आश्चर्यजनक पनि छ ।
जनतालाई सधैं व्यवस्थाको भरिया बनाई सत्ताको सिंहासनमा विराजमान हुने अनि मनपरि दलतन्त्र चलाउदै राज्य दोहन गर्ने भ्रष्ट महाराजाहरु विरुद्ध आन्दोलन गर्नु पो आजको आवश्यकता हो ।
सबैले पटकपटक सत्ता प्राप्तिका लागि जनतालाई भर्र्याङ् मात्रै बनाए अब जनताले निर्मम आत्मसमिक्षा गरि आफ्नो भविष्य र देशको हितका लागि कठोर निर्णय पो लिनुपर्ने हो कि!?
10 March 2025

No comments:

Post a Comment