Wednesday, February 15, 2012

सम्बन्ध

मेरा खुट्टाहरु
तिम्रा खुट्टाहरु
चल्मलाइरहन्छन
एकै धर्तीमा
दुबैका खुट्टाहरु ।

तिमीले देख्ने जून
मैले देख्ने सूर्य
अर्थात
तिमीले हेर्ने सूर्य
मैले हेर्ने जून
खेलिरहन्छन सधैं
आकाशमा उसैगरी ।

जूनले - घाम
घामले - जून
खोजिरहन्छन
यताउती,..
आकाशभरी
कठै!
न भेटिन्छन
न छुटिन्छन
न त बिर्सिन्छन ।

खुट्टाहरुले भुइ टेकेर
जून हेरिराख्ने
एकोहोरो ति नयनहरु
किरणसँग खेलिरहने
मेरा यि आँखाहरु
एकै धरातलमा उभिएर
बिशाल आकाशमा
घाम-जून झै पोख्त छन
चोखो प्रेम साट्न ।

भुगोलले टाढा छौ
यद्धपी
म तिमी भित्र छु
तिमी मभित्र छौ ।

हो, प्रिय
हाम्रा शिर माथि
एउटै आकाशमा
तिनै घाम र जून छन
जस्तो एउटै जमिनमा
हाम्रा पाउहरु छन
न भेटिएका
न छुटिएका
न त बिर्सिइएका ।
14th February 011

म नरभक्षी हुँ

आहा!
मेरो पनि मुटु थियो
कोमोल, सुन्दर, स्वच्छ
हृदयको खानी थियो
माग्ने जतिलाई खुलेर दिन्थें ।

म जस्तै ठानेर
विश्वाश गरी हृदय दिएँ
रमायो, खुशी भयो
मेरो मुटु बन्दकी माग्यो
सिङो मुटु सुम्पिदिएँ
तर, कठै!
न जतन गर्‍यो
न त फिर्ता गर्‍यो
अलपत्र भो मेरो मुटु ।

आज फेरी तिमीले उसैगरी
मेरो मुटु नै माग्दैछौ
मैले अब कसरी मुटु दिउँ!?
एउटै मुटु थियो मसँग
अचानक बेवारीसे भयो
चोट लाग्यो, दुख्यो, रोयो
निकै छट्पटियो, आहत भयो
त्यो घाइतेलाई शान्त पार्न
एउटा गल्ति सधैंलाई भुलिदिन
मैले टुक्रा-टुक्रा बनाइ खाइसकें
हो, म मुटुहिन हिंस्रक मान्छे
भित्र-भित्रै खोक्रो भैसकें
र, पनि
चोक्टाले अझै अघाएको छैन ।

तिमी भ्रममा छौ
अर्थात, अन्जान छौ
म त कायर हुँ
शिकार गर्न नसकेर
आँफैलाई टोकेको छु
म त मांसहारी हुँ
आफ्नै देह भोग गरेको छु
यद्धपी
दुनियालाई अल्मलाउन
शरीरका कृतिम अङ-प्रत्यङहरु
भागभण्डा लगाए झै गर्छु
र, तिमी विश्वाश गर्छौ
र, मेरो मुटु रोज्दैछौ ।

अब तिमी नै भन
जीवित मुटु भएको मान्छे
मान्छेको मासु खाने
शाकाहारी भेषधारीलाई भतेर ख्वाउन
तिम्रो आलो मुटु चदाउन तयार छौ ?
यी निरस ओठहरु मिठ्याउदै
म एक गाँसमै निलिदिन्छु ।

म त नरभक्षी हुँ ।
14th February 011

Friday, February 3, 2012

लज्जावोध

मेरो आङ दाक्न
अथवा, मेरो लाज छोप्न
मसँग छ एउटै छोटो भोटो ।

सर्माउनुको अर्थ छ
र नै बिकल्पहिन म
भिडको बिचमा
न उठेर हिंड्न सक्छुँ
न त बसेर रात काट्न नै ।

टाउकोको तोपी
खुट्टाको जुत्ता
शिरदेखी पाउसम्म
जिउभरिको बस्त्र
लीलाम भैसकेछ
'ड्राई क्लिनर्स' मा ।

निर्लज्जहरु
हिंडेका पनि छन
बिना हिच्किचाहत
छतमा, बाटोमा
तर
मैले नसक्ने भएँ
नाङै डुल्न ।

म कष्ट गर्दैनँ
बालुवामा दुलो खनेर
गुम्सिएर बस्न
अह, सक्दैनँ
चिटिक्क पार्न
तुफान नछेक्ने भित्ता
बर्षा नरोक्ने छानो
घामसँग नजुध्ने घर ।

बिन्ती छ
पूर्बीय संस्कारयुक्त
ओ! आधुनिक सुन्दरी
मेरा लाजहरु टोलाउन छाडेर
अर्थात
आँखा चिम्लिनुको साटो
तिम्रै हातले एक फुर्को टालो देउ
हुरी-बतास जित्न सक्ने
घरको जग चाडै म खार्नेछु
प्रतिष्ठाको बस्त्रले छाएर
आँगनसम्म बिछ्याएर
सुहाग तिमीसँग नै मनाउनेछु ।
31 January 2012