Wednesday, February 15, 2012

सम्बन्ध

मेरा खुट्टाहरु
तिम्रा खुट्टाहरु
चल्मलाइरहन्छन
एकै धर्तीमा
दुबैका खुट्टाहरु ।

तिमीले देख्ने जून
मैले देख्ने सूर्य
अर्थात
तिमीले हेर्ने सूर्य
मैले हेर्ने जून
खेलिरहन्छन सधैं
आकाशमा उसैगरी ।

जूनले - घाम
घामले - जून
खोजिरहन्छन
यताउती,..
आकाशभरी
कठै!
न भेटिन्छन
न छुटिन्छन
न त बिर्सिन्छन ।

खुट्टाहरुले भुइ टेकेर
जून हेरिराख्ने
एकोहोरो ति नयनहरु
किरणसँग खेलिरहने
मेरा यि आँखाहरु
एकै धरातलमा उभिएर
बिशाल आकाशमा
घाम-जून झै पोख्त छन
चोखो प्रेम साट्न ।

भुगोलले टाढा छौ
यद्धपी
म तिमी भित्र छु
तिमी मभित्र छौ ।

हो, प्रिय
हाम्रा शिर माथि
एउटै आकाशमा
तिनै घाम र जून छन
जस्तो एउटै जमिनमा
हाम्रा पाउहरु छन
न भेटिएका
न छुटिएका
न त बिर्सिइएका ।
14th February 011

No comments:

Post a Comment