Saturday, May 29, 2021

एक चिकित्सकको स्पष्टीकरण

अहिले हामी अत्यन्तै कठिन अवस्थाबाट गुज्रिरहेका छौं । देश महामारीले आक्रान्त छ । सबैजना जीवन मरणको लडाइँ छौं । देशको शहरी क्षेत्रमा मात्रै नभएर दुर्गमका घर गाउँमा समेत कोरोना भुसको आगो झै फैलिरहेको छ । देशभरका हस्पिटलहरुमा आइसियु, भेन्टिलेटर र अक्सिजनको अभावमा हरेक दिन सयौले आफ्नो परिवार गुमाइरहेका छौ । समुदायमा कोरोनाको भयावह स्थिति छ । अहिलेको हाम्रो मुख्य उद्देश्य जीवन बाँच्नु र बचाउनु हो । यस्तो अप्ठ्यारो स्थितिमा जसरी नेपाली श्रमिकहरुले खाडीबाट अक्सिजन सिलिण्डर पठाउनुभयो त्यसरी नै अरुले पनि छट्पटिदै मर्न वाध्य बिरामीहरुको चित्कार र क्रन्दनलाई सुनेर सजगतापूर्वक सकेको मद्दत गर्न जुट्ने बेला हो । हाम्रा सांसदहरुले पनि हाम्रो लागि भ्याक्सिन ल्याउन दत्तचित्त भएर लाग्नुपर्ने, सरकार र राजनैतीक दलहरुले पनि सत्ताको जोडघटाउ र भोटको हिसावकिताव गर्न छाडेर देश र जनताप्रति अझै बदी जिम्मेवार र उत्तरदायी भूमिका निर्बाह गर्नुपर्ने आजको प्रमुख आवश्यकता हो तर विडम्बना त्यस्तो एकाग्रता देख्न पाएका छैनौ । सरकारले कुटनैतिक पहल, नीति निर्धारण र नियमन गर्दै स्वास्थ्यकर्मीको उचित परिचालन र उपलब्ध सामाग्रीको ब्यबस्थित प्रयोग गरेर यो भुमरीबाट छिट्टै पार लाउने कदम चाल्नुपर्दछ । साझा समस्यालाई सामुहिक रुपमै सामना गर्ने भावना पैदा गर्न सार्वजनिक आह्वान गर्नुपर्दछ । 

देशको स्वाधिनता र सार्वभौमिकताको रक्षा गर्नुपर्ने अवस्थामा जसरी अग्रपन्तिमा लामबद्ध सेनाहरु देशको निम्ति लड्न र बलिदान गर्न तयार रहन्छन् भने अरुले भौतिक र मानसिक रुपले साथ दिन्छन् त्यसरी नै अहिलेको महामारीबिरुद्ध ज्यानको माया मारेर एसाल्टमा उत्रिएका स्वास्थ्यकर्मीलाई नैतीक रुपले साथ र सहयोग गर्नु पर्ने हो तर सबै चिज त्यागेर अनवरत बिरामीको सेवामा खटिरहेका स्वास्थ्यकर्मीहरु उल्टै प्रश्नै प्रश्नको कठघरामा उभिनुपर्दाको पिडा कसैले अनुमान गरेभन्दा कयौ गुणा बदी हुन्छ । एउटा स्वास्थ्यकर्मीका लागि यतिबेला सुख,भोक,प्यास, थकान, निन्द्रा सबैसबै गौण छन् । भर्खरका आफ्नै सन्तान र सहारा चाहिने बुवाआमाहरु समेत प्राथमिकतामा पर्दैनन् । जतिसुकै जोखिम मोलेर पनि बर्षौबर्षको परिश्रम र समय खर्चिएर आर्जन गरेको ज्ञान र सिपअनुसार आफ्नो कर्म गर्नुछ, इमान्दारिपूर्वक आफ्नो कर्तब्य पुरा गर्नुछ । आफ्नो ज्यान दाउमा राखेरै पेशागत जीवनमा थोरै पनि दाग लाग्न नदिन अहोरात्र बिभिन्न प्रतिकुलताका बाबजुद महामारीसँग जुधिरहदा जुन प्रकारका अकल्पनिय घटनाहरु घटिरहेका छन् त्यसले सम्पूर्ण फ्रन्टलाइनरहरुलाई पक्कै पनि निराश बनाउनेछ । सबैले आआफ्नो ठाउँबाट मिलेर लड्नुपर्नेमा झन् स्वास्थ्यकर्मीहरुमाथि ज्यान मार्ने धम्की दिनु र हातपात हुनुले लाजसमेत लज्जित हुनुपरेको छ । 

महामारीमा सरकारको आदेश उल्लंघन गर्ने सर्वसाधारणहरु, पेशागत धर्मबाट च्युत हुने चिकित्सक र स्वास्थ्यकर्मीहरु, कृटिकल अवस्थामा प्राणको भिख मागिरहेका बिरामीको छातीमा प्राइस ट्याग टाँसेर आर्थिक लाभ लिनेे ब्यापारीहरु, जनताको प्राण बचाउनभन्दा लाशको गन्ती गर्नमै ब्यस्त मन्त्रीहरु यस्तो अपराधीक कुकार्य हुनुमा दोषी छौ कि छैनौ? म त भन्छु, अंशअंशमा हामी सबै अपराधका भागीदार हौं । जीवनसँग खेलवाड गर्ने र मानवीय जिम्मेवारी भुल्नेहरु समाजका झन् खतरनाक भाइरसहरु हौं । र यसको लागि अनुकुल बातावरण तयार पारीदिने सरकार हो जसले दण्डहिनतालाई बदावा दिइरह्यो । मुख्य दोषी राज्य हो जसले ति अराजाकहरुलाई संरक्षण गरिरह्यो र बारम्बार अस्पतालमा स्वास्थ्यकर्मीहरुको `सुरक्षाको प्रत्याभूति´ बारे पटकपटक बिन्ती बिसाउदा पनि सुनुवाइ नहुनुले भेरी अस्पतालकै जस्ता हिंस्रक घटनाहरु अब पनि सुन्दै र भोग्दै जानुपर्ने बाध्यता छ ।  

महामारीमा पीपीई लगाएर ड्युटीमा खटिएका स्वास्थ्यकर्मीलाई समेत अपराधी सरह लखेटीलखेटी आक्रमण गर्ने, आतंककारीले झै घेराबन्दी गरेर घाँटी अठ्याउने, लात हान्ने, तथनाम गाली गर्ने, माफी माग्न लाउने, आत्मसमर्पण गराउने, ज्यान लिने धम्की दिने जस्ता अमानवीय व्यवहार सभ्य समाजको लागि सह्य र शोभनीय हुनै सक्दैन । यसले हाम्रो सामाजिक मानसिकताको स्तर छर्लङ्ग पारिरहेको छ । आँफैंलाई सर्वश्रेष्ठ र सचेत प्राणीको पगरी गुथेर शान्ति क्षेत्र र अति समवेदनशील क्षेत्रमा ताण्डव देखाउने दानवहरु कदापी क्षमा पाउन लायक छैनन् । ति मान्छेपन गुमाएका निर्दयी खोक्रो मान्छे मात्रै हुन् । जजसले यस्ता कुपात्रलाई पैरवी गर्छन् तिनीहरु अशल समाजमा बस्न योग्य हुनै सक्दैनन् ।      

स्वास्थ्य क्षेत्रमा तमाम बेथितिहरु छन् । जताततै टाल्नुपर्ने प्वालैप्वालहरु छन्, सुधार गर्नुपर्ने अनगिन्ती कुराहरु छन् । तर त्यसो हुनुमा स्वास्थ्यकर्मीहरु मात्रै जिम्मेवार होईनन् । सबैलाई पायक पर्नेगरी अस्पताल नहुनु, अस्पतालमा अक्सिजन नहुनु, बेड नपाउनु, ट्वाइलेट सफा नहुनु, धारामा पानी नआउनु, औषधी महङ्गोमा किन्नुपर्दाको असन्तुष्टि र आक्रोश स्वास्थ्यकर्मीसँग पोखेर समाधान हुने होईनन् । एउटा मजदुरसँग ती बिषयहरु पुरै असम्बन्धित छन् । कतिपय गलत ब्यक्तिका कारण हाम्रो पेशामा रहेका गलत अभ्यासलाई सच्याउन भने संघर्षरत छौं, संघर्ष गरिरहने छौं । 

कृपया, हामीलाई निर्धक्क भएर केवल ड्युटी गर्न दिनुहोस् । आफ्नो कारण अरुको जीवन समेत खतरामा पुर्याइदिने गम्भिर गल्ती नगरिदिनु होस् । यस् बिषम परिस्थितीमा सबैलाई सुरक्षित राख्न नै स्वास्थ्यकर्मीहरु अहोरात्र हस्पिटलमा खटिरहेकै छौं । कुनै पनि स्वास्थ्यकर्मीको चाहना शत प्रतिशत बिरामीको ज्यान जोगाउने नै हुन्छ । यसमा दुक्क रहनु होस् । अस्पतालबाट बिरामीहरु सन्चो भएर घर फर्किएको क्षण स्वास्थ्यकर्मीले अनुभुती गर्ने त्यो खुशी र आनन्द कुनै चिजसंग तुलना गर्नै सकिदैन । हामीले हरसम्भव कोसिस गर्दागर्दै पनि बिरामीको निधन हुदा शुरुमा मर्माहत हुने पनि स्वास्थ्यकर्मी नै हुन्छौं भलै आफ्नो भावनालाई जबर्जस्ती डबाएर राख्न बिबस हुन्छौं । त्यतिबेला परिवारको आँखाबाट बगिरहेका आँशुले दिने पिडा साच्चिकै असह्य हुने गर्छन् । परिवारको मनमा परेको शोकलाई भित्रभित्रै महशुस गरिने नमिठो अनुभवहरु जीवनभर कहिल्यै बिर्सन नसकिने घाऊ बनी बल्झिरहेकै हुन्छ ।   

यदी कसैले इथिक्सलाई नाघेर पेशागत मर्यादा कायम राख्न असमर्थ भएमा हामी आफैंले नै भित्रैबाट आवाज उठाउनेछौं, उठाइरहेकै छौं । आफ्नो जीवनको पर्याय मानेको आफ्नो प्यारो पेशाको माया र गरिमासँगै सवैको हितका लागि खबरदारी गर्न र लड्न तत्पर रहनेछौं । हामी स्वास्थ्यकर्मी हुँदाहुँदै पनि पहिले त मान्छे हौं । कुनै कमजोरी भएको खण्डमा कानुनी प्रकृया अपनाएमा गलतका बिरुद्ध सहिको साथ हाम्रो प्राथमिकतामा सधैं रहनेछ । आफ्नो ब्यक्तिगत स्वार्थ हेरेर मानवता र न्यायलाई कदापी मर्न दिने छैनौ । यो मेरो प्रतिबद्धता, शपथ वा प्रण जे भन्नुहुन्छ तर यो सत्य हो । कृपया, अनावश्यक शंका होईन, बिश्वास गरिदिनु होस् । तपाईंहरुको शंका जुन दिन आफैंलाई पनि सत्य लाग्छ त्यो दिन म मेरो पेशा नै त्यागेर आम मान्छेहरुसँगै सेतो एप्रोनधारी अपराधी र आतंककारीहरुलाई लखेट्न आउनेछु । अहिलेको संकटमा चाहिँ ज्यान मार्ने धम्की नभई जीवन बचाउन सहयोग गरिदिनु होस् । म आशावादी छु । 

डा. चन्द्र घर्ती मगर 

रोल्पा 

हाल: पोखरा

Friday, May 14, 2021

राम राज्य

संसारका दुई थरि मान्छेहरु 

जो अचेल शोकमा मौनमौन छन् 

गरीबले सोच्दो हुन् 

पैसा भएको भए जीवन बँच्दो हो 

धनीहरु सोच्दा हुन् 

धनले जीवन नबांँच्दो रैछ, धनको के अर्थ भो र!? 


एकादेशमा 

एकै समय कानुन पनि फरकफरक हुनेरैछ 

`बा´लाई बधाई दिन छोराछोरीको भिड हुनैपर्ने 

`आमा´ रहिनन् भने 

आमाकै मलामी जान चाहिँ सख्त मनाही छ । 


कसैका आँखा 

खुशीको आँसुले भरिएका छन् 

कसैका आँसु पिडाले निखृएका छन् 

कसैले कुर्सी जितेका छन् 

धेरैले भने अकालमै जीवन हारेका छन् ।  


शायद 

राम राज्य यस्तै हुदो हो 

शासकको मुटु पत्थरले बन्दो हो । 

३१ बैशाख ०७८ 

पोखरा