Thursday, September 4, 2025

जनयुद्धका कायरहरु

 कलो घरको खाने, सेवा अर्कोको गर्ने । लडाइँ एउटा बर्गले लड्ने, रजाइँ अर्को बर्गले गर्ने ।

पार्टीलाई मलजल गरीबको खुनपसिनाले गर्दिनुपर्ने तर फल चाहिँ सामन्तका मुखमा हाल्दिनुपर्ने ।
जनयुद्ध व्यवस्थाबिरुद्धको विद्रोह थियो तर जनयुद्ध हाँक्ने कमाण्डरहरु आफैं रुपान्तरण हुँदै मनयुद्ध र अझै विकृत भएर धनयुद्धमा विलीन हुँदैजानुको परिणाम सिङ्गै पार्टी र समुदायले भोग्नुपरेको छ । ति निस्वार्थ त्याग र इमान्दार बलिदानप्रतिको धोका त हो नै, समयप्रति घोर अन्याय पनि ।
नुन र चिनीले आफ्नो गुण तथा सुन र पित्तलले आफ्नो अशली पहिचान नगुमाएसम्म तिनको अस्तित्वको चर्चा र भिन्नता छुट्याउने बहस थाल्नु नै निरर्थक हुन्छ । जब अविश्वास र आशंका उत्पन्न हुन्छ तब प्रश्नहरु स्वतः उठ्न थाल्छन् । जनयुद्ध हिंसा थियो वा क्रान्ति, सवाल त्यहीँ नै हो ।
इतिहासमा परिवर्तनको एजेन्डा बोकेर संघर्ष गरेका स्थापित पार्टीहरुको बैचारिक सिद्धान्तमा विचलन र नेताहरुको व्यवहारमा स्खलन हुँदै गएपछि समयक्रममा यस्तैयस्तै विचित्रको नियतिहरु दोहोरिने रहेछ । नैतिकता र चेतना समाजको मेरुदण्ड हो र हुनैपर्छ । अहिलेको समस्या मुलतः ईमान र आस्थामा अडिग रहन चुकेकै कारणले उब्जिरहेका हुन् । नेता, पार्टी, जनता सबैसबैले आत्मसमिक्षा गरौं र मिलेर अघि बदौं ।
सबैको सधैं भलो हवस्, जय हवस्!
14 Feb 2025
उहिले रोल्पालीले भटमास र टिमुर लगेर ब्यापारीसँग चामल र नुन साट्ने गर्दथे । अहिले नेताका छोराछोरीले सहिदका खुनसँग सुन साटासाट गर्न थालेछन् ।
कहिले खुनले नाम कमाउने, कहिले सुनले बदनाम कमाउने ।
रोल्पाले शान सोच्ने, आफूले चिहान खोज्ने!
यो पनि एउटा उथलपुथल र क्रमभंग नै होला ।
चाइनाबाट सुन होईन सत्बुद्धि ल्याउ ।

कृष्ण बहादुर महरा माओवादी आन्दोलनको शालीन बिम्ब हुनुहुन्थ्यो । युद्ध अघिदेखि युद्धअवधि र युद्धपछि धेरैको आदर्श पात्र पनि बन्नुभयो । विडम्बना! मुक्ति र मृत्युको कफन बाँधेर सिंहदरबार कब्जा गर्न निस्किनुभएका महरा सर उल्टै सिंहदरबारको कब्जामा पर्नुभयो ।
एउटा त्यस्तो अशल गुरुको रुपान्तरण यस्तो स्खलित स्वरुपमा होला भन्ने धेरैलाई कल्पनामा पनि थिएन । बिधि र पार्टीभन्दा ब्यक्ति र प्रवृत्ति हावी हुँदा कुनै पनि सुखान्त यात्रा वियोगान्त कथामा टुंगिने रहेछ । अहिलेको नेपाली राजनीतिमा मुख्यतः सुधार्नुपर्ने र सदाका लागि अन्त्य गर्नुपर्ने पक्ष यहीँ नै हो ।

हिजो जनयुद्ध दिवस, आज प्रणय दिवस ।
प्रेम मनले गरिन्छ भने युद्ध बिचारले । समाज र सभ्यता रहुन्जेल
यस्ता प्रेम र युद्धहरु भविष्यमा पनि जारी रहनेछन् । विवाद र बहसहरु पनि अवश्य भइरहेकै हुनेछन् । सर्वसम्मतिले हुने प्रेम र युद्ध बिरलै हुन्छन् ।
मुख्यतः जीवनमा प्रेमको अर्थ प्रेमीले र युद्धको सान्दर्भिकता योद्धाले व्यबहारबाट आफैं पुष्टि गर्नुपर्ने हुन्छ । एकपटक मात्रै नभएर पटकपटक, निरन्तर ।
आम रूपमा प्रश्न त्यतिबेला उठ्नथाल्दछ जतिबेला प्रेमीहरु सम्बन्धको समवेदनाबाट र योद्धाहरु आस्थाको आदर्शबाट आफैं चुक्न थाल्दछन् । जब कोहि आफ्नो कसम र प्रतिबद्धताबाट च्युत भएर आफैंलाई धोका दिन्छन् तब आफ्नो अस्तित्वमाथि सबैभन्दा ठुलो खतरा उत्पन्न हुन्छ नै ।
हरेक क्रिया र प्रतिक्रियालाई बाह्यभन्दा आन्तरिक कारणले नै बढी प्रभावित पार्दछ । संसारभर प्रेम र युद्ध सँगसँगै चलिरहेकै हुन्छ तर ती सकारात्मक उर्जा प्राप्ति र समाज बिकासका लागि भने हुनैपर्छ । कुनै पनि घटनाको रूपभन्दा सार नै महत्त्वपूर्ण हो । सबै सबैको प्रतिवाद गरिरहनुभन्दा समय छदै प्रमाणित गर्नु सहि समाधान हो । जग चाहिँ ईमान र इमान्दारिता, चाहे प्रेममा होस् या युद्धमा ।
सबैलाई प्रेमिल शुभकामना ।
14 Feb 2024

माओवादी र जनयुद्धप्रति एकपक्षीय दंगले गरिने दानवीकरण र देवत्वकरण दुबै बुझाइ गलत हुन्छ । तत्कालीन अवस्थामा विद्रोहको आवश्यकता, आदर्श, उद्देश्य र परिणामको समिक्षा बेग्लै पाटो हुनसक्ला । केही व्यक्तिहरु रातारात खाओवादीमा परिणत भए होलान्, केही धनयुद्धमै लागेका पनि देखिएका छन् तर युद्धले पारेका सकारात्मक र नकारात्मक प्रभावहरु कसैले आँखा चिम्लिदैमा निमिट्यान्न भएर जादैनन् ।
सरकारले दिएको एकदिन बिदा कसैको जय र पराजयको विषय हुँदै होईन । एकदिने बिदाले इतिहासको औचित्य पुष्टि हुने र बिदा नदिदैमा ध्वस्त हुने कदापि होईन । दशक लामो गृहयुद्धका कारण पाउने भन्दा गुमाउने धेरै छन् । ती बेसहारा आमाबुबाहरु, विधुवा दिदिबहिनीहरु र टुहुरा छोराछोरीहरु कोहि पनि पराइ होइनन्, सबै हाम्रो आफ्नै हुन् । बन्दुक हानाहान गरेर मर्न मार्न तम्तयार वैरी दुश्मनहरु एकै परिवारका हुन् । मुख्य सवाल त युद्धमा राज्य र माओवादी दुबै पक्षबाट सहिद, घाइते र बेपत्ता पारिएकाहरुको सपना साकार पार्नु र परिवर्तनको लप्काले पोलेका आहत जीवनहरुमा मल्हम पट्टी लाउनु हो । सहिद हुने र अंग गुमाउनेहरुको जिन्दगीको क्षतिपूर्ति सम्भव नभए पनि सुनौलो भविष्यको सुनिश्चितता खोजिनुपर्दछ ता कि पटकपटक निहत्था गरीबका छोराछोरीहरु अनाहकमा मर्नु नपरोस् । शोषक र सामन्तीका बिरुद्ध बैचारिक नाराको नाउँमा भावनात्मक खेलबाड गरेर नयाँ सामन्तहरुको उदय हुनुहुँदैन । नैतिक रुपले पतित र स्खलित पात्रहरु नौलो अवतारमा झुल्किन दिनु हुँदैन । यसका खिलाफमा देशका सम्पूर्ण जागरुक नागरिकहरु एकजुट र समवेदनशील हुनैपर्दछ । विशेषगरी युद्धका कमाण्डर कमरेड प्रचण्डहरु बढी जिम्मेवार र इमान्दार बन्नुपर्नेथ्यो, अझै बन्नुपर्दछ । देशमा अस्थिरता सिर्जना गरेर गरीबहरुको चितामा आफ्नो स्वार्थको रोटी सेक्ने र पुनः नेपाललाई बधशाला बनाउने शक्तिकेन्द्रहरुको चाहना पुरा हुन दिनुहुँदैन ।
नेपाल युद्ध स्थल र मानव शिकार क्षेत्र नभई शान्ति क्षेत्र बन्न लायक मुलुक हो । बुद्धको जन्मभूमिबाट बिश्वलाई शान्तिको सन्देश फैलाउने अभिभारा हामी सबैको हो । सोचौं ।
13 Feb 2023

No comments:

Post a Comment