Wednesday, August 5, 2020

राजनैतीक ध्रुवीकरणको आवश्यकता

देशमा आमूल परिवर्तन गर्ने सपना बुन्दै समाजमा व्याप्त सबै खालका उत्पीडनहरुको अन्त्य गर्न आन्दोलनमा होमिएका थुप्रै मान्छेहरुको सामुहिक खुशीहरु मात्रै स्थगन होईन, जीवन नै अवसान भएका छन् । अधिकांशले राजीखुशी मृत्यु स्विकारेका थिए, गोलीले मुटु छेडेर रक्तमुछेल हुँदा पनि हाँसीहाँसी प्राण त्याग्नु चानचुने कुरा थिएन ।

जनयुद्ध र जनआन्दोलनको माध्यमबाट प्रस्फुटन भएको राज्य पुनर्संरचनाको मानसिकतालाई आत्मसात गर्ने कांग्रेसको तत्कालीन नेतृत्वकर्ता गिरिजाप्रसाद कोइरालाको निधन भइसक्यो, नयाँ नेतृत्वले मुद्दाहरुलाई अंगालेर सशक्त भूमिका निर्वाह गर्नै सकेन ।
देशमा राजनैतिक परिवर्तन आवश्यक रहेको यथार्थलाई स्वीकार्ने तत्कालीन एमालेको महासचिव माधव कुमार नेपाल पार्टीभित्रै हतोत्साहित भएर छट्पटिरहेका छन्, उनको उत्तराधिकारीलाई ती मुद्धाहरु प्रति खासै लगाव देखिदैन ।
एक दशक विभिन्न नारा लगाएर युद्धमा होमिएका प्रचण्ड बादलहरु बेथितिका साक्षी र रमिते मात्रै बने, संसदीय खेलमा चुर्लुम्मै डुबेर राजनैतिक कोर्सलाई बदल्ने हिम्मत गर्नै सकेनन् ।
सर्वहारा, श्रमजीवी र उत्पीडनमा परेकाहरुको अधिनायकत्वको वकालत गर्ने मोहन वैध्य किरण, गौरव, बाबुराम, विप्लवहरु छेउ परे/पारिए ।

अन्तमा हामीले यस्ता ऐतिहासिक राजनैतिक उपलब्धिहरु प्राप्त गरेर पनि गुणात्मक फड्को मार्ने अवसरबाट चुक्नुका साथै बाँदरको हातमा नरिवल भन्ने उखान चरितार्थ भइरहेको आभास गर्नुपरेको छ ।

अहिलेका राजनैतिक एजेन्डाहरु प्रचण्ड नेतृत्वको माओवादी पार्टीले जबर्जस्ती स्थापित गराएकै हो । त्यसको लागि उत्पीडित जनताले अपार समर्थन र त्याग पनि गरेकै हुन् । हजारौंको दुःखद् मृत्यु हुनु, अंगभंग हुनु अर्को कहालीलाग्दो पाटो छदैछ । युद्धकालिन घाइते मनहरुलाई अचेल कमरेड प्रचण्डसँंग अनेकौं प्रश्नहरु सोध्न मन लाग्दो हो तर यतिबेला तिनै सुप्रिमो प्रचण्ड निरिहि हुन बाध्य छन् । अहिले परिस्थितिबस् तिनीहरुलाई जवाफ चाहिँ राष्ट्रपतिसँग मिलेर केपी ओलीले निरंकुश तरिकाले रन्थनिने गरि दिदैछन् । यदी यहीँ शैली केही समय निरन्तर रह्यो भने त्यत्रो उत्साहका साथ ल्याइएको व्यवस्था धुजाधुजा हुने निश्चित छ । समाजवादको यात्रामा निस्किएर फेरि सामन्तवादकै आँगनमा आइपुग्दा यो व्यवस्थाका निम्ति रातदिन भोकप्यासै खटिएकाहरुले आफ्नो जवानी र पसिनालाई सम्झिएर गर्व गर्नुको सट्टा कताकता पछुतो पनि मान्दा हुन् । वास्तवमा ती साच्चिकै इमानदार थिए, धोकेवाज त अरु नै निस्किए ।

देशमा अहिले हेर्दा रूपमा अग्रगमन त छ तर सारमा प्रतिगमन भोग्नुपरेको छ । सिद्धान्तमा समाजवाद भनिएको भए पनि व्यबहारमा भने दलाल पुजीवाद हावी छ । लेखिने र देखिनेमा धेरै अन्तर देखिदैछ । बिज्ञान र मार्क्सवादलाई नै निकम्मा पार्ने दुस्साहस हुदैछ । जनताको आशंका, असन्तुष्टि र प्रश्नको भुमरीमा दिनानुदिन व्यवस्था फस्दैछ । हजारौंको योगदान र बलिदानले शासन गर्ने पात्र त फेरिए, चरित्र फेरिएन । व्यवस्था फेरिए पनि गरीब दु:खीका अवस्था भने फेरिएन । सबैभन्दा दु:खको कुरा त नेताहरुले समयको माग अनुरुप देश र जनताको आवश्यकतालाई बुझेर सम्बोधन गर्नै सकेनन् । राज्य हाँक्नेहरुले नै परिवर्तनको मर्म र सामाजिक मनोभावनालाई आत्मसात गर्दै गरेनन् । देशप्रति वफादार र जनताप्रति जिम्मेवार बन्ने छाँट समेत देखाएनन् । तिनीहरु सित्तैंमा झैं पाएको शक्तिको उन्मादले क्रमश: अयोग्य र असफलताको बिन्दुतिर लम्किदै छन् तर पनि अहंकारले फुलेकै छन् । दुक्कै!

राजनैतिक पार्टी र नेतृत्वहरुबाट विगतमा थुप्रै गल्तीहरु भएका छन् । तैपनि जनताले माफी दिदै पटकपटक मौका दिइरहेका छन् । अब पनि निर्मम दंगले आत्मसमिक्षा र आत्मालोचना गरेर सुध्रिने प्रण नगर्ने हो भने निश्चित छ, समय अनुकुल रहिरहने छैन ।

अबको विकल्प कि पार्टीहरु सच्चिने कि त सक्किने बाहेक अर्को छैन । जनताले पनि कि यिनैका विरुद्ध खरो उत्रिने कि त भरोसायोग्य अरु कोहि खोज्ने नै हो । प्रतिगामी, यथास्थितिवादी र प्रगतिशील व्यक्तिहरुको बीचमा ध्रुवीकरण जरुरी भइसकेको छ । निकट भविष्यमा एउटा सचेत किसिमको सामाजिक हलचल अत्यावश्यक छ । भलै एउटा अशल तानाशाहको कल्पना केवल कल्पना मात्रै हुनेछ ।

जनताले बहुला हात्तीको जस्तो अराजकता र गैरजिम्मेवारीपन धेरै सहिसके, अब शायद सहने छैनन् । यस्तो मनपरि सधैं चल्ने सम्भावना पनि हुदैन । मान्छेको चेतना कहिल्यै पनि दहको पानी जसरी यथास्थितिमा जमेर रहिरहन्न । समय सँगसँगै अझ अगाडी बद्ने बाटो खोज्छ खोज्छ नै ।

अति गर्नु, अत्याचार नगर्नु । अति गरे खटी हुन्छ । देश, जनता र स्वयम् उनैको भलाईका लागि बेलैमा चेतना हवस् ।
जय नेपाल!

No comments:

Post a Comment