Friday, March 8, 2013

अनुरोध! शान्तिलाई

सयौको माझमा पनि बिरानोमा एक्लो छु म
हाँसी रहे झै गरे पनि आसुँ लुकाइ रुदैछु आज
हर्षित पार्न मनलाई भौतारिदैछु उनकै लागि
पर्खि पर्खि बसेकोछु फर्क मेरी शान्ती!

कोइ जादुगरले लायो कि मोहनी तिमीलाई
निष्ठुरी बनिकन छाडेर हिड्यौ मलाई
नदेखाउन अरुलाइ चाहेको जस्तो नानाभाँटी
रातदिन बिलापमा छु फर्की आउ है शान्ती ।  

पश्चिम पुगें लुम्बिनी भेटेन कोइ पनि
मध्य भ्याएँ स्वयम्भु र पशुपती घुमी
जहाँ धाएँ मनमा तिम्रै अभाव कान्ती
पूर्व लागें तिमीलाई पाउने आशमा शान्ती ।    

धेरै थिए साट्नु पर्ने कुराहरु जीवनका
सत्य थिए वाचाहरु झुटा होइनन यौवनका
सोध्न गएँ भ्रिकुटीलाई भेटिइन जानकी नि
सवै भन्छन मेरो लागि तिमी नै हौ रे शान्ती । 

बोलाए नि अरुले तिम्रो नाम चिच्याइ चिच्याइ
अङाल्न आतुर छु पिरतीको मान्द्रो बिछ्याइ
मौनतामा भित्र भित्रै तिम्रै याद झलझली
फूलमाला उन्न थाल्छु आउ है मेरी शान्ती ।
चाडै आउ है मेरो आँखाको ज्योति बनी
हुने छ संसार हराभरा नत्र खरानी
टद्पिदैछु एक्लै एक्लै तिम्रै नाम जपी
चौतारीमा कुर्दै हुन्छु आउ है प्यारी शान्ती
मेरी मनकी प्यारी शान्ती ।

११ भाद्र २०६१
थसिखेल, ललितपुर   




गाउँ र शहर


गाउँ भन्नु गाउँ हो
शहर भन्नु शहर नै
यही नै त छ भिन्नता ।

शहरको जननी हो - गाउँ
शहरीयाको पुर्ख्यौली हो - गाउँ
गाउँ सुसम्पन्न हो
शहर सुसज्जित हो
ए! मेरो साथी, आउ
हामी सँग-सँगै एउटा ठाउँ जाउँ ।

गाउँको त्रिष्णा मेट्नलाई
मैले कसरी शहर रोज्नुँ?   
यहाँ गाउँमा जस्तै
कहाँ हुनु - स्वच्छता
कहाँ देख्नु - सुन्दरता
कहाँ पाउनु - आत्मियता
धेरै नै भो गाउँ नगा’को पनि
ए मेरो साथी 
म त अचेल पाखे भाछु ।

ए शहरीया साथी!
गाउँ सजाउनलाई
जाउँ मसङै हिड उतैतिर ।
२८ मार्च, २०१२

धापासी, काठमाडौं

नव-जीवन


यसैलाई भन्दा हुन
चखेवाका जोडा-जोडी

टुसाहरु सङै
मन पलायो होला  
कोपिला हुँदै
प्रेम फुल्यो होला
यो सुघन्ध फैलियो

सन्तान मोह
पुष्टाको आश
बंशको निरन्तरता
चरम सुख हो कि!

असह्य पिडा भोग्नुछ
तर प्रसव रहर
जन्म दोधार
तर विश्वाश

जन्म्यो
खुशी भएँ
रोएन
छट्पटिएँ
जोडले रोयो
सबै हाँस्न थाल्यौं
बिपरित
तर कस्तो यो
पर्याय सम्बन्ध!

जनम - भय
मृत्यु - भय
अनौठो जीवन - मान्छेको
यही रैछ खुशीको चाङ    

०३ मे, २०१२

धापसी, काठमाडौं

गीत: म त्यही हुन्छु


जती निर्मम ठान्छौ मलाई निर्दयी म छैन
जती कोमल सोच्छौ त्यती नरम पनि छैन
मलाई बुझ्न नजिक आइ मुटु छाम्नै पर्छ
चोखो माया फुलाउन त बेर्ना सार्नै पर्छ

सुख दु:ख दुबै छन मेरो पनि जीवनमा
चाहेको पाउनै पर्छ भन्या छैन यो मनमा
मिल्ने जती खुशीहरु अरुसँग बाड्नै पर्छ
हृदयहरु साटिकन हाँशी-खुशी बाँच्नै पर्छ

कहिले काही हातहरु खोसिए झै लागे भने
कहिले तिम्रो आँखाहरु पोखिए झै लागे भने 
आँशु पुछ्दै अधर चुम्न म समिपमै हुन्छु
हात ठाम्न साथ दिन सधैं म त्यही हुन्छु । 
July 23 2012

गइन् उनी


अलग थिए बाटाहरु मिलाएर गइन् उनी ।
बुन्दै थिए सपनाहरु बिलाएर गइन् उनी ।

हरियाली देख्थें सारा, सधैं सुन्दर दृष्‍टि
स्थिर मेरा नजरहरु हिलाएर गइन् उनी ।

खोपिकन रित्तो रित्तो, मेरो मन-मुटु भरी
अनगिन्ती यादहरु दिलाएर गइन् उनी ।

जुगौ बाँच्न खुशी साट्न, सङै खोज्यौ संजीवनी
ऐले बिषका प्यालाहरु पिलाएर गइन् उनी ।

सुहाएन कि निष्ठुरीलाई, ओदाएको आफ्नोपन  
फाटेका ति साइनोहरु सिलाएर गइन् उनी ।
23 August 2012

दिदीको गीत: तिज


चुल्होचौको दिकीजाँतो गर्नु पर्ने दिनभरी
भित्र-भित्रै माइतीकै याद मनभरी ।

साथीसङी भाइ र बहिनी रुदै थिए म आउँदा
कती खुशी हुन्छन होला माइत म जादा ।  

बुवाआमा बुदाबुदी भाइ र बहिनी सानै छन
साँझ बिहान कसोगरी के के खाँदै छन ।

जन्म घर छाड्नै पर्ने छोरीको कर्म यो
कसले बुझ्न सक्ला बरै हाम्रो मर्म यो । 
2012 

Saturday, February 16, 2013

गजल: खोइ!


भै गयो कमरेड! कती गर्छौ खोक्रो भाषण हामीलाई 
के-के नै गर्छु भन्थ्यौ झन्, चर्को भो शासन हामीलाई ।

मार्यौ, मार्न लायौ हाम्रै दिन पक्का आउछ भनी
रगतले लपक्क लट्पटियौ, खै त सिंहासन हामीलाई ।

लालाबाला टुहुरो बनाइ, पुछ्यौ सिन्दुर चेलीको
लुकी-छिपी अझै पाप् गर्ने, दिदैछौ कासन हामीलाई ।

सारा दु:ख बिर्सिकन लडि जित्यौ तिम्रो लागि
अपाङ्ग भो बस्ती आज, देउ खाने राशन हामीलाई ।
January 17, 2013

खोजी

एउटा टिप्छ
अर्को देख्छ
अनी चटक्क छाडेर
च्याप्प छोप्छ  
छिनभरमा   
पुन: अर्को ताक्छ ।

घुमाइ फिराइ हेर्छ
मन पर्छ/मन पर्दैन
गुणी/ बैगुणी
एकनाश हुन्न रैछ
हेराइ,
बुझाई,
छामाई
भिन्न छ
आफ्नै जिन्दगी ।

फरक मान्छे
फरक चिज
सबै फरक
नितान्त फरक ।

पलपल हाँस्छ
सधैंको लागि
पलपल बाँच्छ  
सबैको लागि
तर कतै-कतै 
कोपिलाहरु निमोठिदा
हिलो र पानीमा फुल्ने फूल
आज बिस्तारै रोयो ।

कठै नि!   
अस्थाइ बबुरोलाई
अचेल खोज्दैमा बित्दो छ  
स्थाइ मान्छे
स्थाइ नाम
स्थाइ भबिश्य
स्थाइ जिन्दगी ।
10th Feb 2013

Friday, January 18, 2013

आग्रह


जाउ साथी घुम्नलाई लिवाङ बजार
जन्माउने रोल्पालाई लगाउ नजर 

जलजला पहाड उस्तै साहस
अरुको छैन भो तिम्रै छ आश

नदिमा पुल छैन गाउँमा बिजुली
हिजो झै आज छन् सोझा रोल्पाली

न पानी न शिक्षा न त उपचार
सेवा नै धर्म हो गरौ उपकार

सङ्लो छ माडी झन् सङ्लो यो मन
स्पर्श गर्न आउ सुनिदेउ धड्कन 
Dec 21, 2012

सवाल जिन्दगीको


सवाल थियो
प्रिय जिन्दगीको ।

संक्रमणकालिन समयको घेराभित्र
बन्दी पारिएको म
कि पार लाउनु पर्ने
कि भार ठाम्नु पर्ने ।

मस्किदै आइन् अगाडिबाट
पार लाउन गाह्रो लाग्यो
निसंकोच डुबुल्की मारे
फनफनी त्यो भुमरीमा
बेस्सरी सर्किएँ जानी-जानी  
सवाल थियो जिन्दगीको ।

जोशिदै आइन् पछाडिबाट
भार ठाम्न गाह्रो लाग्यो 
निसंकोच खुट्टालाई ठेस लाएँ
अनायस ठुलो ठक्कर खाइ रन्थनिएँ 
सवाल थियो जिन्दगीको ।

गुज्रिनु थिएन खराब जीवनसँग
किन कि
सवाल थियो मेरै जिन्दगीको ।

दाँया हेर्छु, बाँया हेर्छु
उनी हुन्छिन सङ-सङै
माथि हेर्छु, तल हेर्छु
उनी हुन्छिन सङ-सङै
आहा! स्वतन्त्रता
आहा! जिन्दगी
न पार लाउनु पर्ने
न भार ठाम्नु पर्ने
यो जित दुई जिन्दगीको
सवाल रै'छ यि दुई जिन्दगीको ।
23 December 2012

Tuesday, September 11, 2012

हामी र हाम्राहरु

सगरमाथा
बुद्ध
नेपाल
यि हुन हाम्रा ।

शिखरको उचाई
सर्बोच्च शान हाम्रो
शान्तिको मन्त्र
बुद्दत्व ज्ञान हाम्रो
यि हुन नेपालका गौरव
हामी नेपाली
नेपाल हो स्वाभिमान हाम्रो ।

सगरमाथा हाम्रो होइन अरे!
न त बुद्द नै हाम्रो हुन अरे!
राता-रात सिमा कोरियो
दिनदहादै मान्छे चोरियो
को रह्यो, को हरायो
खोइ! कोही बोल्दैनन यहाँ ।

कहिले हाम्रो शीर काटियो
कहिले हाम्रो मन फाटियो
हाम्रो मौन सहिष्णुतालाई हेपेर
अहिले स्वाभिमानमाथि निर्लज्ज कुल्चियो ।

हामीलाई दुख्छ, ऐया! भन्छौ
हामीले देख्छौ, खबरदार भन्छौ
हाम्रो बानी बालापन मात्र अरे!
हाम्रो बोली परिपक्क हुन्न अरे!
बिडम्बना!
खोइ त हाम्रो दाजैलाई दुखेको !?
खोइ त काले-गोरेलाई हप्काको !?

हाम्रो सगरमाथालाई
निर्धक्क हाम्रो भन्न नपाउदा
हाम्रो बुद्धलाई
ससम्मान हाम्रो भन्न नपाउदा
कुन्ठित राष्ट्रियता बाँच्न बिबश पार्दैछ
हामीलाई हाम्रै देशले
अन्यथा
हाम्रो स्वाभिमान माग्न पाउनै पर्छ
हाम्रो सगरमाथा र बुद्द फिर्ता ल्याउनैपर्छ ।
10 September 2012
                   (भारतमा नक्कली लुम्बिनी खडा गरिदैछ, सगरमाथा हाम्रो देशको भनेर पाठ्यक्रममै पदाइदैछ । अमेरिकाले हाम्रो बुद्धलाई पाईलामुनी राखेर कुल्चिदैछ । देश र जनताको प्रतिनिधित्व गर्नेहरुले राष्ट्रिय भावनामा ठेस लाग्दा समेट सम्बन्धित ठाउँ र ब्यक्तिसँग केही नबोल्नुले अझ पिडाबोध भएकोछ । यो कुरो धार्मिक, भौगोलिक, ऐतिहासिक र राष्ट्रियताको हो । हाम्रा राजनैतीक नेता, प्रधानमन्त्री, मन्त्रीहरुले बिदेशी कुटनीतिज्ञहरुलाई भेट्दा यि सवालहरु उठाएउनु किन आबश्यक ठान्दैनन् ? आखिर यो तथ्य नै त हो । अब उनिहरु सिङो नेपाल र नेपालीको प्रतिनिधित्व गर्न सक्षम छन् वा छैनन्? हुन् या होइनन् ? सोचनिय र गम्भिर आशंका उब्जिएको छ ।)