Thursday, September 4, 2025

जनयुद्धका कायरहरु

 कलो घरको खाने, सेवा अर्कोको गर्ने । लडाइँ एउटा बर्गले लड्ने, रजाइँ अर्को बर्गले गर्ने ।

पार्टीलाई मलजल गरीबको खुनपसिनाले गर्दिनुपर्ने तर फल चाहिँ सामन्तका मुखमा हाल्दिनुपर्ने ।
जनयुद्ध व्यवस्थाबिरुद्धको विद्रोह थियो तर जनयुद्ध हाँक्ने कमाण्डरहरु आफैं रुपान्तरण हुँदै मनयुद्ध र अझै विकृत भएर धनयुद्धमा विलीन हुँदैजानुको परिणाम सिङ्गै पार्टी र समुदायले भोग्नुपरेको छ । ति निस्वार्थ त्याग र इमान्दार बलिदानप्रतिको धोका त हो नै, समयप्रति घोर अन्याय पनि ।
नुन र चिनीले आफ्नो गुण तथा सुन र पित्तलले आफ्नो अशली पहिचान नगुमाएसम्म तिनको अस्तित्वको चर्चा र भिन्नता छुट्याउने बहस थाल्नु नै निरर्थक हुन्छ । जब अविश्वास र आशंका उत्पन्न हुन्छ तब प्रश्नहरु स्वतः उठ्न थाल्छन् । जनयुद्ध हिंसा थियो वा क्रान्ति, सवाल त्यहीँ नै हो ।
इतिहासमा परिवर्तनको एजेन्डा बोकेर संघर्ष गरेका स्थापित पार्टीहरुको बैचारिक सिद्धान्तमा विचलन र नेताहरुको व्यवहारमा स्खलन हुँदै गएपछि समयक्रममा यस्तैयस्तै विचित्रको नियतिहरु दोहोरिने रहेछ । नैतिकता र चेतना समाजको मेरुदण्ड हो र हुनैपर्छ । अहिलेको समस्या मुलतः ईमान र आस्थामा अडिग रहन चुकेकै कारणले उब्जिरहेका हुन् । नेता, पार्टी, जनता सबैसबैले आत्मसमिक्षा गरौं र मिलेर अघि बदौं ।
सबैको सधैं भलो हवस्, जय हवस्!
14 Feb 2025
उहिले रोल्पालीले भटमास र टिमुर लगेर ब्यापारीसँग चामल र नुन साट्ने गर्दथे । अहिले नेताका छोराछोरीले सहिदका खुनसँग सुन साटासाट गर्न थालेछन् ।
कहिले खुनले नाम कमाउने, कहिले सुनले बदनाम कमाउने ।
रोल्पाले शान सोच्ने, आफूले चिहान खोज्ने!
यो पनि एउटा उथलपुथल र क्रमभंग नै होला ।
चाइनाबाट सुन होईन सत्बुद्धि ल्याउ ।

कृष्ण बहादुर महरा माओवादी आन्दोलनको शालीन बिम्ब हुनुहुन्थ्यो । युद्ध अघिदेखि युद्धअवधि र युद्धपछि धेरैको आदर्श पात्र पनि बन्नुभयो । विडम्बना! मुक्ति र मृत्युको कफन बाँधेर सिंहदरबार कब्जा गर्न निस्किनुभएका महरा सर उल्टै सिंहदरबारको कब्जामा पर्नुभयो ।
एउटा त्यस्तो अशल गुरुको रुपान्तरण यस्तो स्खलित स्वरुपमा होला भन्ने धेरैलाई कल्पनामा पनि थिएन । बिधि र पार्टीभन्दा ब्यक्ति र प्रवृत्ति हावी हुँदा कुनै पनि सुखान्त यात्रा वियोगान्त कथामा टुंगिने रहेछ । अहिलेको नेपाली राजनीतिमा मुख्यतः सुधार्नुपर्ने र सदाका लागि अन्त्य गर्नुपर्ने पक्ष यहीँ नै हो ।

हिजो जनयुद्ध दिवस, आज प्रणय दिवस ।
प्रेम मनले गरिन्छ भने युद्ध बिचारले । समाज र सभ्यता रहुन्जेल
यस्ता प्रेम र युद्धहरु भविष्यमा पनि जारी रहनेछन् । विवाद र बहसहरु पनि अवश्य भइरहेकै हुनेछन् । सर्वसम्मतिले हुने प्रेम र युद्ध बिरलै हुन्छन् ।
मुख्यतः जीवनमा प्रेमको अर्थ प्रेमीले र युद्धको सान्दर्भिकता योद्धाले व्यबहारबाट आफैं पुष्टि गर्नुपर्ने हुन्छ । एकपटक मात्रै नभएर पटकपटक, निरन्तर ।
आम रूपमा प्रश्न त्यतिबेला उठ्नथाल्दछ जतिबेला प्रेमीहरु सम्बन्धको समवेदनाबाट र योद्धाहरु आस्थाको आदर्शबाट आफैं चुक्न थाल्दछन् । जब कोहि आफ्नो कसम र प्रतिबद्धताबाट च्युत भएर आफैंलाई धोका दिन्छन् तब आफ्नो अस्तित्वमाथि सबैभन्दा ठुलो खतरा उत्पन्न हुन्छ नै ।
हरेक क्रिया र प्रतिक्रियालाई बाह्यभन्दा आन्तरिक कारणले नै बढी प्रभावित पार्दछ । संसारभर प्रेम र युद्ध सँगसँगै चलिरहेकै हुन्छ तर ती सकारात्मक उर्जा प्राप्ति र समाज बिकासका लागि भने हुनैपर्छ । कुनै पनि घटनाको रूपभन्दा सार नै महत्त्वपूर्ण हो । सबै सबैको प्रतिवाद गरिरहनुभन्दा समय छदै प्रमाणित गर्नु सहि समाधान हो । जग चाहिँ ईमान र इमान्दारिता, चाहे प्रेममा होस् या युद्धमा ।
सबैलाई प्रेमिल शुभकामना ।
14 Feb 2024

माओवादी र जनयुद्धप्रति एकपक्षीय दंगले गरिने दानवीकरण र देवत्वकरण दुबै बुझाइ गलत हुन्छ । तत्कालीन अवस्थामा विद्रोहको आवश्यकता, आदर्श, उद्देश्य र परिणामको समिक्षा बेग्लै पाटो हुनसक्ला । केही व्यक्तिहरु रातारात खाओवादीमा परिणत भए होलान्, केही धनयुद्धमै लागेका पनि देखिएका छन् तर युद्धले पारेका सकारात्मक र नकारात्मक प्रभावहरु कसैले आँखा चिम्लिदैमा निमिट्यान्न भएर जादैनन् ।
सरकारले दिएको एकदिन बिदा कसैको जय र पराजयको विषय हुँदै होईन । एकदिने बिदाले इतिहासको औचित्य पुष्टि हुने र बिदा नदिदैमा ध्वस्त हुने कदापि होईन । दशक लामो गृहयुद्धका कारण पाउने भन्दा गुमाउने धेरै छन् । ती बेसहारा आमाबुबाहरु, विधुवा दिदिबहिनीहरु र टुहुरा छोराछोरीहरु कोहि पनि पराइ होइनन्, सबै हाम्रो आफ्नै हुन् । बन्दुक हानाहान गरेर मर्न मार्न तम्तयार वैरी दुश्मनहरु एकै परिवारका हुन् । मुख्य सवाल त युद्धमा राज्य र माओवादी दुबै पक्षबाट सहिद, घाइते र बेपत्ता पारिएकाहरुको सपना साकार पार्नु र परिवर्तनको लप्काले पोलेका आहत जीवनहरुमा मल्हम पट्टी लाउनु हो । सहिद हुने र अंग गुमाउनेहरुको जिन्दगीको क्षतिपूर्ति सम्भव नभए पनि सुनौलो भविष्यको सुनिश्चितता खोजिनुपर्दछ ता कि पटकपटक निहत्था गरीबका छोराछोरीहरु अनाहकमा मर्नु नपरोस् । शोषक र सामन्तीका बिरुद्ध बैचारिक नाराको नाउँमा भावनात्मक खेलबाड गरेर नयाँ सामन्तहरुको उदय हुनुहुँदैन । नैतिक रुपले पतित र स्खलित पात्रहरु नौलो अवतारमा झुल्किन दिनु हुँदैन । यसका खिलाफमा देशका सम्पूर्ण जागरुक नागरिकहरु एकजुट र समवेदनशील हुनैपर्दछ । विशेषगरी युद्धका कमाण्डर कमरेड प्रचण्डहरु बढी जिम्मेवार र इमान्दार बन्नुपर्नेथ्यो, अझै बन्नुपर्दछ । देशमा अस्थिरता सिर्जना गरेर गरीबहरुको चितामा आफ्नो स्वार्थको रोटी सेक्ने र पुनः नेपाललाई बधशाला बनाउने शक्तिकेन्द्रहरुको चाहना पुरा हुन दिनुहुँदैन ।
नेपाल युद्ध स्थल र मानव शिकार क्षेत्र नभई शान्ति क्षेत्र बन्न लायक मुलुक हो । बुद्धको जन्मभूमिबाट बिश्वलाई शान्तिको सन्देश फैलाउने अभिभारा हामी सबैको हो । सोचौं ।
13 Feb 2023

शिक्षक आन्दोलन

 विद्यार्थीको भविष्य अन्योलमै छाडेर

शिक्षकहरु सडकमा
बिरामीको ज्यान अलपत्र पारेर
डाक्टरहरु सडकमै
कर्मचारी, व्यवसायी, पत्रकार, ..
सबै पालैपालो सडकमै ।
सरकार अन्धो भो
बिरामी बाँचे बाँचुन्, मरे मरुन् नि भन्दो हो
सदन बहिरो भो
विद्यार्थीले पढे पढुुन्, नपढे नपढुुुन् नि भन्दो हो
प्रतिपक्षी चर्को भो
सकभर त सरकारै ढालुन् नि भन्दो हो
सवाल जीवनमरणको हुने भो
बिद्यालय र अस्पतालमा राजनीतिकरण धेरै भो
देशमा सधैं जिन्दावाद र मुर्दावाद मात्रै हुने भो
आदरणीय गुरुवर र चिकित्सक गण,
मेरो सादर अनुरोध छ
अब सडकबाटै फ्याट्टै एउटा घोषणा गर्दिनुहोस्
अलिकति त्यागी बनिदिनुहोस्
आआफ्नो गोजीको पार्टी सदस्यता च्यातिदिनुहोस्
र, सडक आन्दोलनलाई सधैंका लागि समापन गर्दिनुहोस् ।
26 April 2025

नेपाल शिक्षक महासंघको आह्वानमा देशैभरीका शिक्षकहरु राजधानी केन्द्रित आन्दोलनमा होमिएको १९औं दिन पुगेको छ । सरकार `नसुने झैं गर्ने´ र महासंघ पनि सरकारले `नसुनी धरै छैन´ भन्ने खालको आआफ्नै मनोबिज्ञानमा अडिग देखिन्छन् ।
आन्दोलन शालीन र शान्तिपूर्ण देखिन्छ । अरुबेला जस्तो चर्को नाराजुलुस, घम्साघम्सी, तोडफोड केहि पनि छैन । बरु विद्यार्थी भर्ना र बार्षिक पठनपाठनमा असर पर्नसक्ने कुरामा शिक्षकहरुको चिन्ता झल्किन्छ । सरकारले छिटोभन्दा छिटो आफ्नो माग सम्बोधन गरिदिए हुन्थ्यो भन्ने चाहना छ । सुदूरपश्चिमको देउडा, मध्य नेपालको झ्याउरे र पुर्बेली लोकभाकाले शिक्षकहरुबीच एकापसमा सामीप्यता बदाएको देखिन्छ । साँस्कृतिक महोत्सवको झल्को दिए झै अनुभुति जो कसैलाई पनि हुनेरहेछ ।
मुगु जिल्लाबाट आउनुभएका शिक्षकहरुको गीत पनि उस्तै शालीन, संयमित र आग्रहपूर्ण सुनिन्छ ।
रारा तालमा पानी छ
अधिकार खोज्ने बानी छ..
देशका महत्वपूर्ण अंगहरुमा आवद्ध पेशाकर्मीहरु बारम्बार पेशागत माग लिएर सडकमा ओर्लिनुपर्ने अवस्था आउनु दुःखद् छ । अहिले शिक्षा, स्वास्थ्य, कृषिजस्ता क्षेत्रहरूलाई सीमित जनशक्तिले मात्रै जेनतेन धानिरहेको तितो यथार्थ छ । यस्तो चुनौतीपूर्ण अवस्थालाई मध्यनजर गर्दै जतिसक्दो चाडो समस्याको दीर्घकालीन समाधान निकाल्न उपयुक्त नीतिनिर्माणकार्यमा लाग्न सरकार गम्भीर बन्नैपर्छ ।
राज्य सबै नागरिकको अभिभावक हो, अभिभावकीय भूमिका निर्वाह गर्नैपर्छ । नागरिकको आत्मसम्मानमा ठेस पुर्याएर संसारको कुनै पनि सरकार सफल हुनसक्दैन । राज्यले उल्टै घुर्की लाउने, बेवास्ता गर्ने, टार्ने, पन्छिने वा पन्छाउने मानसिकताबाट कदापी प्रेरित हुनुहुदैन । सहिलाई `हुन्छ´ र गलतलाई `हुन्न´ भनिदिनुपर्छ ।
राज्य संचालनका लागि पारित हुनुपर्ने आवश्यक कुनै पनि ऐन सडकमा नभई सदनमा गुन्जियोस् । जायज मागको सुनुवाइ र सकारात्मक परिणामका लागि सरकारले फास्ट ट्र्याक बिधि अपनाउने साहस पनि गर्नुपर्छ । यति धेरै शिक्षित जमात र सबल सुरक्षाकर्मी सडकमा हप्तौंसम्म समय खर्चिरहदा देशलाई ठुलो क्षति पुगिरहेको छ । हरेक पेशालाई जिम्मेवार बनाउन कडाइसाथ नियमन हवस् तर सम्मानित र मर्यादित बनाउन राज्यले कुनै कन्जुस्याइँ नगरोस् । शिक्षकहरुलाई पार्टीको कार्यकर्ता वा आन्दोलनकारी नभई विद्यार्थी र समाजकै आदर्श गुरु बन्ने उपयुक्त बाताबरण सिर्जना गरियोस् ।
सरकार र शिक्षक महासंघ दुबैलाई उचित निकासका लागि शुभकामना!
20 April 2025

आमा

 मेरो खुशीमा दुई गुणा खुशी हुन्छिन्

मेरो दु:खमा चौ गुणा दुखी हुन्छिन्
आफू खाली खुट्टै काँडामा टेकेर हिड्छिन बरु
मलाई चाहिँ काँधमा बोकेर
मेरो बाटैभरि फूलैफूल बिछ्याइदिन्छिन् उनी
धर्तीकै अनुपम सृष्टि हुन् आमा

बेस्सरी माया गर्छु भन्नेहरूले
मान्छेलाई भगवान बनाए
तिरस्कार गर्नेहरुले
सम्भवतः सैतान पनि बनाए
जब सम्झिन्छु
भ्रमको चितामा बेरिएको आफ्नै लासलाई
तब ब्युतिन्छु, पुनः नवीकरण गर्न
एक बिस्कुन सपना
अनि मान्छे बनेर जिउने एउटा रैथाने अठोट ।

उहाँ लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री एवम् रोल्पा `ख´ का प्रदेश सांसद माननीय दीपेन्द्र पुन `सिजल´ ।
हुनसक्छ, कुनै ठाउँको कार्यक्रमको सिलसिलामा हाम्रै गाउँ जंकोटको बाटो भएर जानुपर्यो । होला, जङ्बाङ्स्थित बुबाको समाधी स्थललाई नियालेर मनमा केहि भावना पैदा भयो । शायद, सम्झिनुभयो युद्धकालमा जनताले गरेको निस्वार्थ सहयोग । उहाँ बिचारले भौतिकवादी भए पनि अन्तर्मनमा जाग्यो होला पितृहरुको आत्माप्रति थोरै विश्वास । र त, बुबाको फोटोलाई देखेर पनि नदेखे झैं गरेर बेवास्ता गर्न सक्नुभएन ।
मान्छेलाई, बाँचुन्जेल गरिएको पवित्र कर्मले मात्रै मृत्युपछि पनि सम्मान पाउन लायक बनाउछ । म अहिलेसम्म पनि समाजमा बुवाकै सम्बन्धले जोडिन्छु, बुबाकै ईमानले गर्वका साथ चिनिन्छु । आफुलाई सधैं एक अशल बुबाको अत्यन्तै भाग्यमानी छोरो सम्झिरहेको हुन्छु ।
आदरणीय सिजल दाइले बुवाप्रति दर्साउनु भएको श्रद्धाका लागि आभारी छु र उहाँको उदार र बिशाल हृदयप्रति नतमस्तक छु ।
आज परेको १६औं पुन्यतिथीमा बुबाकै आदर्श पछ्याइरहने संकल्प गर्दै बुवाप्रति पुनः हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

समाज र सम्बन्ध
बिश्वास र व्यबहारमा बुबाकै नाउँ छ
परेको बेला एक छाक गाँस र एक रात बास
सबैसबैमा बुबाकै देन छ
यस्तो एक अशल र आदर्श बुबाको मर्यादा जिन्दगीभर उँचो रहिरहनेछ ।
पन्ध्रौं पुण्यतिथिमा हार्दिक श्रद्धाञ्जली बुबा!
2 April 2024

कला, साहित्य र संगीतले दर्शक, स्रोता र पाठकको मनलाई उद्वेलित बनाएर खुशीको होस् या पिडाको, अनायास आँसु झार्यो भने त्यो सिर्जना सफल ठानिन्छ । त्यो सिर्जनशीलताको शक्ति पनि हो ।
आफ्नै जीवन बुझ्न त कठिन हुन्छ भने अरुको जीवन, संघर्ष र सम्बन्धलाई केलाएर पर्दामा उतार्नु पक्कै पनि सजिलो काम होईन ।
यस अर्थमा चलचित्र `दिलसरा´ सबल र सफल बनेको छ ।
चलचित्र प्रदर्शनीमा निमन्त्रणा गर्नुभएकोमा मीना जीलाई धेरैधेरै धन्यवाद ।
चलचित्रका नायक एवम् भाइ कल्याण राना मगर, निर्माता मीना थापालगायत सम्पूर्ण दिलसरा युनिटलाई बधाई छ ।
आगामी प्रोजेक्टका लागि शुभकामना!
स्कुल पढ्दै गर्दा तिमीसँग थुप्रै रंगीचंगी सपनाहरू थिए । तिम्रो सपना पुरा हुनु नै मेरो पनि सपना पुरा हुनु झैं लाग्थ्यो । अहिले आएर तिम्रो एउटा सपनाको सुखद उडान भएको छ ।
सफलताको शुभकामना, शुभ यात्रा साथी निरज!

धरानको एउटा कथा - `तक्माको ब्यापार´

एकजना वृद्ध भूपू लाहुरे मेरो ओपिडी कोठाभित्र पस्नुभयो । मैले नमस्कार गरेर छेउको कुर्सीमा बस्न आग्रह गरेपछि सुइय सुस्केरा हाल्दै थ्याच्च बस्नुभयो । उहाँको समस्याहरु सुनिसकेपछि छातीमा स्टेथेस्कोप लाएर जाँच्दै गर्दा गोजीमा गोलोगोलो धातुजस्तो कडा बस्तु रहेको चाल पाएँ ।

मलाई जिज्ञासा लागेर सोधिहाले,"मामा, गोजीमा के राख्नुभएको छ?"
जीवनको उत्तराद्धतिर लम्किदै गर्नुभएका लाहुरे मामाले बिस्तारै ओठे जवाफ दिनुभयो," मेरो पल्टनको चिनो हो डाक्टर साप ।"
बुढ्यौली उमेरसँगै श्रवण शक्ति र दृष्टि गुम्दै गएको मामाको कुरा सुनेपछि अचुक सुझाव दिए झैं गरि अलि जोडले भने," जवानीमा दु:ख गरेर पाएको तक्मा घरमै सजाएर पो राख्नुपर्छ त मामा । कतै खसेर हराउला नि ।"
उहाँले कान थापेर सुन्नु त भयो तर भित्री मनलाई भने मेरो कुराले रत्तिभर छोए झैं लागेन । मेरो सुझाव त नदिको छालहरु बगरको पत्थरमा ठोकिँदै पुनः नदिमै मिसिएर बगेर गए जस्तै भान भयो । उहाँले न सहमति न बिमतीको शिथिल भावमा निधार खुम्च्याउदै भन्नुभयो," उमेरमा यो पाउनलाई कत्रो महाभारत भयो, बुदेसकालमा बचाउन अर्को महाभारत हुनेभो हाउ डाक्टर बाबु । त्यो पनि आफ्नै छोरा भनाउदाबाट । त्यसैले आफैं पो खल्तीमा बोकेर हिडेको छु त ।"
उहाँले भन्नखोजेका कुराको अलि मेसो पाइन तसर्थ प्रष्ट बुझ्नलाई फेरि प्रतिप्रश्न गरें," जितेर पाएको तक्मा बचाउन पनि के को महाभारत भयो र मामा? के गर्नुहुन्छ र छोराले?" अनायास अर्को प्रश्न मुखबाट फुट्ट फुस्कियो ।
मामाको हाउभाउमा केही दिक्दारीपन देखिए पनि बहुत आज्ञाकारी विद्यार्थीले झैं गरि उत्तर दिनुभयो," ब्यापार गर्छ नि हाउ डाक्टर साप, ठुलो ब्यापारी हो नि उ त।"
मैले हर्षित हुँदै थपिहाले," ए त्यसो भए त राम्रो हो नि मामा । ब्यापारबाट आम्दानी पनि राम्रै गर्नुहुन्छ होला । बरु ब्यापार चाहिँ केको गर्नुहुन्छ?"
मामाले एकछिन दुबै आँखा पर भित्तातिर डुलाउदै अलि बल गरेर चिमचिम पार्नुभयो । आँखाहरु पानीले हो कि आँसुले हो अलि टल्किरहेका थिए । बिस्तारै शिर थोरै भुइँतिर निहुराउनुभयो । जीउमा देखिएको अलिअलि उत्साह पनि अलप भएर गयो अनि कालो बादलले छोपेको धुम्म आकाश सम्झाउने अनुहार पारेर भन्नुभयो," हो, गर्छ नै भन्नुपर्यो डाक्टर साप । उसको आमा रहुन्जेल आमाको राखना, गरगहना बेचेर ब्यापार गर्यो । उसैको नाउँमा लालपुर्जा गर्दिएको घडेरी पनि थाहै नदिइ सस्तैमा मास्यो । त्यति मात्रै नभएर कुलतमा फसेर पटकपटक जेल पनि पर्यो । छोराको यस्तो चर्तीकला देखेर आमा पिरैपिरले चाडै बितेर गइन् । अहिले जेलबाट निस्किएर मेरो पेन्सन उसलाई एकलौटी नगर्दिए मार्छु भन्दै दिनहुुँ धम्काउछ । मैले पल्टनमा हुँदा गरेको कडा मेहनतको निशानी भनेर साचेर राखेका मेडलहरु समेत चालै नदिइ कताकता बेचेर खायो कुन्नी! यहीँ एउटा तक्मा अहिलेसम्म जसोतसो जोगाएर राखेको छु डाक्टर साप । श्रीमती बेलैमा बाटो लागिहालिन्, काँध थाप्ने छोराको हालत यस्तो छ । अब यो तक्मा, म जुन दिन मरेर जान्छु त्यहीँ दिन मसङै जलेर जावस् वा मेरो चिहानमा गाडियोस् भन्ने चाहना छ ।"
मैले देखेको सुन्दर स्वरुपको लाहुरे धरान र मैले सुन्दै गरेको कुरुप धरानको नियति बेग्लाबेग्लै थियो । अरुले सुनाएका कथा र भोगाइका कथामा धेरै अन्तर थिए । म अनपेक्षित जवाफ सुनेर नाजवाफ भएँ । मेरो हविगत देखेर होला शायद मामाले मेरो अर्को प्रश्न कुर्ने जरुरी नै ठान्नु भएन ।
उहाँले एकोहोरो भन्दै जानुभयो," जवानीमा त शक्ति थ्यो र पो त्यत्रो कडा मेहनत गरेर जित्दा कम्पनीमा कत्रो हर्ष बधाई भाथ्यो । मैले जितेका ट्रफी उसैलाई अर्पिन्थें, मेडलहरु सधैं उसैको घाँटीमा लाइदिन्थें । बैंस थ्यो र पो जिन्दगी दाउमा लगाई तक्मा कमाए डाक्टर साप, अहिले त बुदेसकालमा यहीँ तक्मा बचाउन गाह्रो भो । पल्टनमा तक्मा जित्न निकै खुनपसिना बगाए, अहिले यहीँ तक्मा बचाउन रातदिन आँसु बगाइराछु । दुश्मनसँग नझुक्ने कत्रो हिम्मत थ्यो आज आएर त आफ्नै छोरो पो महाको शत्रु निस्कियो । उसले आफ्नो जिन्दगी त बर्बाद पारिसक्यो, मलाई समेत जीवन र मरणको दोसाँधमा पुर्याइदियो । आफ्नो नशाका लागि मेरो पल्टनको सारा खुशी र यादहरुको चिनोलाई लिलाम गर्न खोज्दैछ नि डाक्टर बाबु ।"
एक मनले सोचें, नचाहिने कुराहरु नसोधी बसेको भए पनि हुन्थ्यो । अर्को मनले सोचें, कुहिरोले छोपे सरी दाकिएको हृदयको उकुसमुकुस अलिकति भए पनि हटेर पो जाला कि!
म कहाँ आउने बिरामीको घाउ सन्चो पार्नु मेरो दैनिक कर्तव्य हो तर आज म आफैं पनि भित्रभित्रै बेस्सरी घायल भएँ । भनूँ, छियाछिया नै भएँ । अलि बदी नै भावुक पनि भएँ । एकाएक ठुलै रेक्टर भुकम्पको महशुस गरें । रन्थनिएँ पनि, शायद ।
साँझतिर क्षितिजमा अस्ताउनै लागेको सूर्य जस्तै समय घर्केका बृद्धअबस्थाको बुबालाई सहारा दिनुको सट्टा पिडा दिने कथित ब्यापारी छोरोलाई सम्झेर म नि:शब्द भएँ । कस्तो निष्ठुर मन! मभित्रको आक्रोस र करुणाको भेल एकैपटक उर्लेर आयो । तन र मनमा एकैचोटि हलचल मच्चियो । म हायलकायल भएँ । जसोतसो आफैंलाई सम्हाल्ने कोशिस गरें ।
खै किन हो कुन्नि! एकाएक दुनियाँभरका छोराहरुप्रति घृणा भाव पो जागेर आउन थाल्यो । आफूलाई पनि छोरा भएकोमा सराप्नु सरापे । मैले नजन्माएको छोरोलाई समेत कपुत सम्झिएँ । अशल छोराको धर्म निर्वाह गर्न नसकेकोमा आमाबुबाप्रति हृदयदेखि माफी पनि मागें । एकछिन एक स्वतन्त्र मान्छे बनेर सोच्ने प्रयत्न गरें । मानव चोला र चलनलाई गहिरिएर समिक्षा गरें ।
अचानकमै दुखेको दिलभित्र पराकम्पन जान जारी नै थियो । एकछिन मौन रहें । आफ्नै थिलथिलो अन्तर्मनसँग बात मारे । यसो गर्नु मेरो सानैदेखिको बानी पनि हो ।
म रोगको निदान गर्ने डाक्टर त भए तर यस्ता जीवनको समाधान दिनसक्ने डाक्टर बन्न सकिनछु ।
यस्तै नालायक छोराहरुलाई हुर्काउने समाजको उपचार गर्ने डाक्टर बन्न त झन् बाँकी नै पो रहेछ ।
20 May 2025

धन्यवाद गलकोट

 आदरणीय गलकोटबासी आमाबुवा, दाजुभाइ एवम् दिदीबहिनीहरु,

जनआन्दोलन ०६२/६३ पश्चात् पनि मुलुकले करीब एक दशक संक्रमणकालीन प्रसव पिडा भोग्नुपर्यो । देशमा ठुलो राजनीतिक उथलपुथलपछि आएको परिवर्तनले जनतामा नौलो आशा पलाएको थियो । गाउँ शहरतिर सबैको मनमा बिशेष उमंग र उत्साह छाएको थियो । त्यहीँ परिवेशमा स्थानीय तहको चुनाव हुँदै गर्दा म यहाँ उम्मेदवार बनेर आउछु भन्ने सोचेको पनि थिएन तर पार्टीले निर्णय गरि उप मेयरको उम्मेदवार बनाएर पठायो । हजुरहरुले बिश्वास गरेर मलाई निर्वाचित बनाई आफ्नो जनप्रतिनिधिको रूपमा जिम्मेवारी सुम्पिनुभयो । यहाँहरुले गरेको भरोसाप्रति सदैव सम्मान प्रकट गरिरहने छु । मलाई योग्य सम्झेर अवसर प्रदान गर्ने पार्टी नेतृत्वलाई पनि धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
पहिलो पटक स्थानीय सरकारको अभ्यास हुँदै गर्दा चुनिएका हामी जनप्रतिनिधिहरु सबै नयाँ थियौं त्यसैले ऐतिहासिक परिवर्तनलाई संस्थागत गर्दै लाने र जनआकांक्षालाई सम्बोधन गर्दै जाने जिम्मेवारी बहन गर्नु आफैमा अग्निपरिक्षा थियो । जनताको आवश्यकता र अपेक्षालाई सीमित स्रोत साधनको भरमा पुरा गर्नखोज्नु वास्तवमा निकै चुनौतीपूर्ण थियो ।
स्थानीय सरकार संचालनका लागि स्पष्ट कानुन बनि नसकेको अवस्था, आवश्यक जनशक्ति र भौतिक पुर्वाधारको अभाव, जनप्रतिनिधिका अधिकार क्षेत्रमै अन्योलता, कोभिड महामारी जस्ता थुप्रै प्रतिकुलताका वावजुद नगरको सर्वाङ्गिन बिकास र नगरबासीहरुलाई सुशासन दिन हर समय हर सम्भव अत्यधिक प्रयत्न गरिरह्यौं जुन यहाँहरु सबैले धेरैथोरै महशुस गर्नुभएकै होला ।
आदरणीय गलकोटबासी आमाबुवा, दाजुभाइ एवम् दिदीबहिनीहरु,
विगत पाँच बर्षमा नगर प्रमुख आदरणीय भरत शर्मा गैरेको नेतृत्वमा नगरपालिकाभित्र थुप्रै नयाँ कामहरू सम्पन्न भएका छन् भने केही राम्रा कामको थालनी भएका छन् । भौतिक पुर्वाधार निर्माण, विद्यालयहरुको गुणस्तर सुधार, स्वास्थ्य सेवामा स्तरोन्नति, सामाजिक मेलमिलाप, मुद्दा मामिलामा तथ्यपरक छानबिन र न्यायीक फैसला, खानेपानी, सिंचाइ र सरसफाइ, आत्मनिर्भर पालिका बनाउन आय आर्जन र उत्पादनमुलक क्षेत्र पहिचान र अनुदान, कृषि, पर्यटन, उद्यम, स्वरोजगार, खेलकुद, समाज उत्थान र सशक्तीकरण, ज्येष्ठ नागरिक, विपन्न, महिला, एकल महिला, दलित, अपांगलाई सुविधा, बाल मैत्री अभियान, आर्थिक पारदर्शीता र चुस्त सेवा प्रवाह, भ्रष्टाचार बिरुद्ध शुन्य सहनशीलता लगायतका महत्त्वपूर्ण कामहरू नै हाम्रो प्राथमिकतामा थिए । हाम्रो ध्यान नगरको भौतिक बिकासका साथसाथै सामाजिक र मानवीय बिकासमा थिए । आम मान्छेमा राजनीतिप्रति रहेको गलत बुझाईलाई सकारात्मकतातिर बदल्न ईमान, निष्ठा, नैतिकता र संस्कार व्यबहारमै देखाउने चेष्टा पनि गर्यौं । यसको समग्र मुल्यांकन गलकोटबासी सबैले गर्नुभएकै होला ।
यहाँहरुलाई यो विश्वास दिलाउन चाहन्छु कि सबैको सामुहिक प्रयासले नगरपालिकाको जग मजबुत किसिमले खारिएकोछ जसको परिणामस्वरूप नेपाल सरकारद्वारा आधिकारिक रूपमा गरिएको कार्यसम्पादन मूल्याकंनमा गलकोट नगरपालिका नेपालभरिमै सातौं र गण्डकी प्रदेशमा दोस्रो बनाउन सफल भयौं । अब आउने नेतृत्वले यसलाई निरन्तरता दिनुका साथै गलकोटको समुन्नतिका लागि व्यवस्थित दंगले योजनाहरु थप परिस्कृत पार्दै जानेछ भन्नेमा विश्वस्त छु । मलाई लाग्छ, गलकोटको समग्र विकास नै हामी सबैको साझा र एउटै मात्र उद्देश्य हो ।
सचेत नागरिकको लागि सामाजिक जिम्मेवारी जीवनको अन्तिम बिन्दुसम्मै रहन्छ भने पदीय जिम्मेवारी निश्चित अवधीका लागि मात्रै हुन्छ । यस अवसरलाई सक्दो सदुपयोग गर्नुपर्नेमा म पहिल्यै प्रष्ट थिएँ त्यसैले आफ्नो कार्यकालभर जनताप्रति उत्तरदायी रहेर सच्चा सेवक बनिरहने प्रतिबद्धता गरेकी थिएँ । त्यहीँ प्रतिबद्धतालाई पूरा गर्नका लागि भोक, प्यास, थकान र निन्द्राको रत्तिभर परवाह नगरी रातदिन खटिदाखटिदै अहिले आएर मलाई पाँच बर्ष पनि छिट्टै बितेको महशुस भइरहेको छ । हजुरहरुको साथ, सहयोग र स्नेहले मलाई समाजका लागि अझै लगनशील भएर लागिरहन थप हौशला र उर्जा मिलेको छ ।
आफ्नो कार्यकालको अन्तिम दिन आफ्नै आत्माप्रति इमान्दार रहेर, गलकोटको भूमिलाई साक्षी राखेर यति भन्न सक्ने भएछु कि पदीय जिम्मेवारीमा रहदाखेरी जति गरे मेरो क्षमताले भ्याएसम्म गरे, जे गरे अशल नियतका साथ गरे । समग्र गलकोट र सम्पूर्ण गलकोटबासीका पक्षमा गरे । हजुरहरुले दिनुभएको हरेक मतको कदर गर्दै नगरको हित हुनेगरी र नगरले जित्ने गरि प्रयत्न गरेकी छु । मेरो कार्यकालभर यहाँहरुको शिर झुक्ने कुनै पनि अनैतिक, अनुचित कार्य गरेको छैन र भविष्यमा समेत त्यस्तो कुनै दुष्कर्म गर्नेछैन । जनप्रतिनिधिबाट सन्तुष्टिका साथ बिदा भएर जादै गर्दा यहाँहरुलाई यो मेरो वाचा भयो ।
कुनै पनि चिजप्रति अधिक आसक्ति राख्ने मेरो स्वभाव छैन । मेरो क्षमता र योग्यताभन्दा बदी अनावश्यक महत्वाकांक्षा पनि राख्ने गरेको छैन । मैले राजनीतिमा कुनै पद पाउछु, पैसा कमाउछु भनेर लागेको कदापी होईन । राजनीति भनेकै पद प्राप्ति हो भन्ने अर्थमा लिएकी पनि छैन । सामाजिक न्यायका लागि बोल्नुलाई मेरो कर्तव्य ठान्दछु र मानवीय सेवालाई नै मेरो धर्म मान्दछु । राजनीतिक सामाजिक समस्याहरुको दीर्घकालीन समाधान शुद्ध चेत र सामुहिक प्रयासले मात्रै सम्भव छ जो कसैको पदीय जिम्मेवारी गौण कुरा हो । राजनीतिक र सामाजिक आन्दोलनको यात्रा अनवरत चलिरहन्छ, चलिरहनेछ । मेरो सवालमा पनि त्यहीँ लागु हुनेछ ।
हिजो म आउदै गर्दा अलि काँचो थिएँ, आज जादै गर्दा केही पाको र अनुभवी भएकी छु । स्थानीय तहमा जिम्मेवारी वहन गर्दैगर्दा मैले अझै नजिकबाट समाजको खास अवस्था बुझ्ने र धेरै कुरा सिक्ने मौका पाए । अति विकट गाउँका घरघरमा पुग्दा प्रत्यक्ष देखेका कहालिलाग्दो जनजीविकालाई छिट्टै सहज बनाउने अठोट लिन पाएँ । यिनै भुइँ तहका जनताको भोगाइबाट प्राप्त सिकाईहरु आउने दिनमा पक्कै समाजकै निम्ति उपयोगी हुनेछन् । यहीँको चिसो पानी पिउदै, शीतल हावामा सास फेर्दै र यहीँको माटोमा खेल्दै हुर्किएकी सामान्य घरकी एउटी छोरी हुँ । सौभाग्यबस्, केही समयावधीका लागि एउटा पदमा रहेर आफ्नो गाउँठाउँको सेवा गर्ने अवसर पाए, निष्पक्ष रहेर सबैको जनप्रतिनिधि भएर गरे । नगरलाई आफ्नो घरभन्दा धेरै माया गरे, परिवारभन्दा जनतालाई नै धेरै समय दिए । अब पनि मेरो तर्फबाट गर्नसक्ने आवश्यक सहयोग निरन्तर रहिरहने छ । यहाँहरुको मत र मन दुबै पाएकोमा आफुलाई भाग्यमानी ठान्दै अब पनि यस्तै आशिर्वाद पाइरहनेमा विश्वस्त छु । आजको दिनदेखि म नगरपालिकाको भवनमा नरहे पनि नगरबासीका मनमनमा छु भन्ने आत्मविश्वास राखेकी छु । आगामी दिनहरूमा पनि हाम्रो सम्बन्ध र सम्पर्क सधैं यस्तै सुमधुर र सहजरूपमा रहिरहनेछ । हजुरहरुसँग सुख साट्न र दुःख बाड्न पाउदा अत्यन्तै खुशीको अनुभुति गरेकी छु र गर्नेछु । बरु मैले अञ्जानमा केहि गल्ती गरेकी रहेछु भने आफ्नै छोरी सम्झेर, आफ्नै दिदीबहिनी ठानेर माफी दिनुहुनेछ भन्ने आशा राखेकी छु ।
अन्तमा, नगरको जिम्मेवारीमा हुँदा जति मैले गरे त्योभन्दा बदी नै पाएकी छु । यस्तो उपयुक्त वातावरण सिर्जना गरिदिनु हुने नगर प्रमुख, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृतलगायत सम्पूर्ण कर्मचारीहरु, प्रहरी प्रशासन, राजनीतिक दलहरु, सामाजिक संघ संस्थाहरु, बौद्धिक बर्ग, सञ्चारकर्मी मित्रहरू, गलकोटबासी आमाबुवा, दाजुभाइ एवम् दिदीबहिनीहरु, शुभेच्छुक महानुभावहरु सबैको साथ, सहयोग, सहकार्य र सल्लाह, सुझाव, सद्भावका लागि हृदयदेखि नै आभारी छु, रहिरहने छु ।
गलकोटको शान्ति, सुशासन र समृद्धिको यात्रामा सधैं सँगसँगै रहिरहने प्रण गर्दै र नगरले अझै तीब्र गतिमा काँचुली फेर्दै जाने अपेक्षा राख्दै सम्पूर्ण नवनिर्वाचित जनप्रतिनिधिहरुलाई पुनः हार्दिक बधाई एवम् कार्यकाल सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु ।
धन्यवाद ।
रेनुका काउचा मगर
निवर्तमान उप मेयर
गलकोट नगरपालिका, बागलुङ

एउटा माझीको खोजी

 अचेल चोकचोकमा रास्वपाको पसल चल्दैरैछ । निलो ब्यानरमा घण्टी चिन्ह राखेर छेउछाउमा जो देखिन्छन् सबैलाई `आउ, आउ´ भन्दै बोलाएर हस्ताक्षर गर्न बाध्य पार्ने रैछ्न् ।

यो सत्य हो, रविमाथि राजनीतिक प्रतिशोध साधिएकै हो तर निर्धक्कसाथ भन्न सकिन्छ उनी चोखो छैनन् किनकि रबि दोषी हुन् भन्ने पर्याप्त आधारहरु छन् । उनी र उनी जस्ता योजनाबद्ध ठगी गर्नेहरुलाई त राज्यले जेलमा पालेर राख्ने होईन बरु दैनिक श्रममा लाउनुपर्छ जसले गर्दा पीडितहरुको रकम क्रमिक रूपमा असुल हुँदै जावस् । पीडितहरुको मनमा न्याय प्रणालीप्रति विश्वास जाग्ने र राज्य छ भन्ने गरि उचित फैसला हुनुपर्थ्यो भलै नीतिनियम नै संशोधन गर्नु किन नपरोस् ।
सवाल, रविको बदमासी किन छानबिन भयो र किन सजाय पाए भन्ने हुनुहुदैन बरु उनी जस्तै अपराध गर्नेहरुको कुकर्म किन छानबिन भएन र सजाय किन पाएनन् भन्ने हुनुपर्छ । पार्टीभित्र नेताकार्यकर्ताले एकअर्कालाई, परिवारभित्र आफ्नै परिवारलाई र आफूले आफैंलाई समेत प्रश्न सोध्ने हिम्मत गर्नुपर्छ । गलत गर्ने जोसुकै होउन्, सबैले सजाय पाउनैपर्छ । यसरी औचित्यहिन उद्देश्यका लागि बाटोमा हिडिरहेका सर्वसाधारणलाई जबर्जस्ती हस्ताक्षर गराएर अपराधको भागिदार बनाउनु हुँदैन ।
रास्वपा अरु पार्टीभन्दा फरक देखिने र लामो यात्रा तय गर्ने गरि विकल्पका रूपमा आएको हो भने एनजीओ आईएनजीओ जस्तो छबि त्यागेर स्पष्ट राजनीतिक कार्यदिशाका लागि मन्थन गर्नुपर्ने देखिन्छ । अरु दल र अरु नेताभन्दा भिन्न रहेर जनताको सपना पुरा गर्छु भन्ने तर सिङ्गो पार्टी यसरी सधैंजसो एकोहोरो रविको दाकछोप गर्नमा समय र शक्ति खर्च गर्नु व्यर्थ छ ।
पुराना दलहरूप्रतिको वितृष्णाका कारण जनताले विकल्प अवश्य खोजेका छन् तर रवि चरित्रको विकल्प अर्को झुटको पुलिंदा मात्रै देखिदैछ । स्वतन्त्रको नाउँमा अर्को असहिष्णु र कट्टर पक्षधरताको उदय हुन खोज्दैछ । अहिले जनतामा आशा जगाउने र जनताको बिश्वासलाई व्यवहारिक रुपमै पुष्टि गर्ने नेतृत्व चाहिएको छ । राजनीतिमा छलछाम, झालझेल, षड्यन्त्र धेरै भयो । भ्रष्ट र अपराधीको त खडेरी नै छैन । खाँचो त मनमा समाज सुधार्ने र देश बनाउने इमान्दारिता, नैतिकता र दृढ़ इच्छाशक्तिको हो ।
15th July 2025

हिजोअस्तितिर भ्रष्टाचारीलाई संरक्षण गरिरहेको र अरुकै आदेश पालना गरिरहेको गाइगुइ चलिरहेकै थियो ।
अहिले आएर गृहमन्त्री आफैं धन्दामा मुछिएको कुरा आउन थाल्यो ।
गलत भए सजायको भागिदार बन्नुपर्छ, कि त गलत गर्नेलाई कारबाही गर्नुपर्छ ।
हातमा कलम भएर मात्रै सुन्दर कथा नलेखिने रहेछ ।
देशको सुनौलो भविष्य लेख्ने कलम हातमा लिएका गृहमन्त्री लेखकले सुशासनको कुरुप कथा लेख्न थालेछन् ।
आफ्नै इच्छाअनुसार वा अरुकै इशारामा यस्ता कुकर्म भइरहेका हुन् त्यो त निष्पक्ष अनुसन्धान र छानबिन भएपछि मात्रै थाहा हुनेछ ।
विगतमा झैं चोख्याउने मनसायले गरिएका छानबिनले उल्टै अपराधीलाई उन्मुक्ति मिल्नेछ ।
गृहमन्त्री देशप्रति जिम्मेवार हुने हो कि कुनै पार्टी वा अमुक घरानाको स्वार्थप्रति?
स्वतन्त्र नागरिकहरु यस्तो पाखण्डी राज्यप्रति कसरी विश्वस्त हुने होला है!?
26 May 2025

मान्छेको निर्णय कहिलेकाहीँ गलत हुनसक्छ तर नियत सहि हुनुपर्छ ।
उर्जामन्त्रीको न निर्णय सहि छ न त नियत नै । उनी पहिल्यैदेखि एक विवादित ब्यक्ति हुन् ।
उनलाई सच्याउने मन न उनको पार्टीलाई छ न त प्रधानमन्त्रीलाई, किनकि उनी रोजाईको प्रिय मान्छे हुन् । उनीभन्दा अब्बल र योग्य अर्को पनि उनी जस्तै पात्र मात्रै छनोट हुनसक्छ ।
सत्तामा चित्र फेरिन्छ, राज्यको खास चरित्र त यस्तै नै छ ।
उनी त, जस्तो जरा उस्तै हाँगा मात्रै हुन् । जुन बोट त्यसकै फल मात्रै हुन् ।
यस्ता बिषबृक्षको राजनीतिक बिरुवा रोप्ने, गोडमेल र मलजल गर्ने उस्तै खेतीवाल चाहिँ हामी जनताहरु नै हौं ।
अब त सोचौं, बुझौं र चेतौं ।
22 May 2025

गणतन्त्रका विरुद्ध राजसंस्था फर्काउन तम्सिनेलाई हतकडी लाउन सक्ने दुई तिहाई सरकार!
अनि
बिजुली बत्तीका विरुद्ध ममबत्तीको युग फर्काउन खोज्ने प्रधानमन्त्री, उर्जामन्त्री र प्राधिकरण प्रमुखले चाहिँ सजायको भागिदार हुनुपर्दैन?
रवि र रवीन्द्रहरुलाई कारबाही किन गरियो भन्ने प्रश्न होईन,
सवाल कानुन सबैलाई समान दंगले लागू हुनुपर्छ भन्ने हो ।
न नैतिकता न उत्तरदायित्व ।
धन्य छौ सरकार!
17 May 2025

अहिलेको पुर्वराजा ज्ञानेन्द्र शाहकै शैलीमा केहि मान्छे भेला पार्दै विस्तृत शान्ति सम्झौता, समग्र शान्ति प्रक्रिया, राजनीतिक दलहरूको सहमति र मन्त्री परिषदको निर्णयविरुद्ध बोल्दै हिड्ने तत्कालीन प्रधानसेनापति रुक्मांगद कटुवाललाई प्रचण्ड सरकारले बर्खास्त गर्दा राष्ट्रपतिलाई गुहार्नजाने कांग्रेस-एमालेकै शिर्ष नेतृत्वगन थिए ।
तत्कालीन संस्कृति मन्त्री गोपाल किराँतीले पशुपतिमा ईन्डियन पुजारी हटाएर नेपाली पुजारी नियुक्त गर्दा गौशाला चोकमा सडक अवरुद्ध पारेर चर्को भाषन गर्दै विरोध प्रदर्शन गर्ने पनि कांग्रेस एमालेकै वरिष्ठ नेताहरू थिए ।
सत्ता र शक्तिलाई चंगुलमा पारेर स्वार्थपूर्ति गरिरहेका माफियाहरु र कृतिम लोडसेडिङ गरेर देश लुट्न पल्केका भ्रष्टहरुको आकांक्षाबिपरित अध्यारोबाट देशलाई उज्यालोतिर लिएर जनताको मुहारमा आशा जगाउन सफल चहकिलो कुलमान घिसिङ बाधक थिए नै । जनताले उनको कार्यक्षमताको उच्च मूल्याकंन गर्दागर्दै पनि पुरा कार्यकाल काम गर्न नदिएर बर्खास्त गर्ने पनि कांग्रेस एमालेकै सरकार ।
आज रातभरि आत्मग्लानीले छट्पटिएर बिहानसम्म प्रधानमन्त्री वा उर्जामन्त्रीको राजिनामा पो आउला कि भन्ने झिनो आश थियो तर आएनछ । अब भरेभोलिसम्म पनि आएन भने चाहिँ सिंहदरबारको कुर्सीबाट गलहट्याएर सडकमा पछार्दै बाग्मती र बिष्णुमतीको ढलढलमा मिल्काइदिए देशलाई ठुलो योगदान हुनेछ ।
कुलमान घिसिङको पवित्र छविमा मन्त्री परिषदको निर्णयले खासै माने नराख्न पनि सक्छ तर सत्तापक्ष र प्रतिपक्ष दलहरूको मात्रै नभई आम जनताको भविष्यका लागि भने अहिलेको परिस्थिति आफैंमा एउटा अग्नि परिक्षा हो ।
यो देशमा कुलमान घिसिङहरु कहिलेसम्म यसैगरी शूलीमा चदिरहनुपर्ने हो?
25 March 2025

राज्यको उच्च निकायमा पुगेका ब्यक्तिहरु बारम्बार अनियमिततामा मुछिनु नौलो कुरा रहेन ।
देशमा अनैतिक, ठगी धन्दा, भ्रष्टाचारजस्ता जघन्य मुद्दामा फरार सांसदहरु संसद भवनमा गएर तलबभत्ता बुझ्नमिल्ने, मञ्चमा अतिथिको आसनमा सरकारकै प्रमुखसँग कुम जोडेर बस्नमिल्ने अमर्यादित र अराजक लोकतन्त्रको अभ्यास भइरहेको छ ।
उनीहरुको मनमा अपराधको भागिदार बन्नुपर्ने त्रास रत्तिभर छैन बरु सिंहदरबारभित्र र बाहिर गर्दै कानुनलाई आफू अनुकुल प्रयोग गर्नसक्नेमा निर्धक्क देखिन्छन् ।
प्रहरीको फरार सुचीमा रहेका अधिकांश ब्यक्तिहरु प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र दलहरुकै राजनीतिक छत्रछायामा हुर्केका हुन् र छन् ।
अनौठो तर सामान्य जस्तै लाग्ने, भ्रष्टाचारीको मुखै नहेरी सिधै अंगालो हाल्ने प्रधानमन्त्रीकै बानी जो छ ।
आयोग, अदालत, अख्तियार, प्रहरी-प्रशासन जताततै सीमित व्यक्तिहरुको अंशबन्डा र सेटिङमा चलिरहेको छ । देशमा यस्तै परिदृष्य दोहोरिने क्रम जारी छ ।
राज्यकै अंग र पार्टी कार्यालयहरु बेथितिको उत्पादन केन्द्र भए । अब यिनको विकल्प सोच्नैपर्ने, खोज्नैपर्ने अवस्था आइसक्यो ।
सुशासनको भाषण त जनतालाई भ्रमित पार्न कपटीहरुले गर्ने छलछाम र कालो जादू मात्रै हो ।
हामी जनता नै छौं उस्तै!
सधैंभरि यिनका झूटा कुरा पट्याइरहने ।
अबेला नहुँदै सोचौं ।
15th May 2025

अशल नागरिकहरु न हिजोको राजाका पक्षमा छन् न त आजका ।
दलहरु कसैले सरकारमा बसेर त कसैले सडकमा उत्रेर नौटंकी गरिरहेकै कारण जनतामा उत्पन्न असन्तुष्टि र आक्रोशलाई देखेर पश्चगामीहरु बढता उत्साहित हुँदै सल्बलाउन थालेका हुन् ।
यथार्थमा चाहिँ देशमा राजतन्त्र फर्किने सम्भावना अति न्यून छ । यदि गद्दीमा फर्किएछ भने पनि रथमा नभई बयलगाडामै चदेर सयर हुने पक्का छ ।
देशका जिम्मेवार राजनीतिक पार्टीहरुले सधैं प्रतिगमनको भय र भ्रम छर्दै स्वार्थको रोटी सेकाइरहने मानसिकता त्यागेर परिवर्तनको आशा र उर्जा प्रबाह गर्ने कार्यक्रम तय गर्नेतर्फ लाग्नैपर्छ । नेताहरुको ध्यान तामझामको आन्दोलन गर्नेमाभन्दा जनजीविकाका मुद्दाहरु सम्बोधन गर्ने र आफ्नो आचरण सुधार्नेमा पुगोस् तब न राष्ट्रियता र लोकतन्त्र मजबुत बन्नेछ ।
जनताहरु सुशासन र समृद्धिको अगुवाई गर्ने भरपर्दो साझा संस्था र नेतृत्वको खोजीमा छन् । त्यो अवसरको सदुपयोग गर्नुहोस् ।
जय नेपाल!
28 March 2025

हिजो राजतन्त्रको विकल्प गणतन्त्र थियो तर आज गणतन्त्रको विकल्प गणतन्त्रकै उच्चतम अभ्यास हो ।
अहिले गणतन्त्रप्रति सबैभन्दा बढी खतरा गल्लीमा हिड्ने कुकुरबाट नभई मुल सडकमा भुक्ने कुकुरहरुबाट नै छ ।
सचेत नागरिकहरुले पहिलेका र अहिलेका राजा भन्दै पक्ष र विपक्षमा गाईजात्रा देखाइरहनु समय सान्दर्भिक छैन । अहिलेको युगमा पनि कसैको दास बन्न यति विघ्न मरिहत्ते गर्नु निकै आश्चर्यजनक पनि छ ।
जनतालाई सधैं व्यवस्थाको भरिया बनाई सत्ताको सिंहासनमा विराजमान हुने अनि मनपरि दलतन्त्र चलाउदै राज्य दोहन गर्ने भ्रष्ट महाराजाहरु विरुद्ध आन्दोलन गर्नु पो आजको आवश्यकता हो ।
सबैले पटकपटक सत्ता प्राप्तिका लागि जनतालाई भर्र्याङ् मात्रै बनाए अब जनताले निर्मम आत्मसमिक्षा गरि आफ्नो भविष्य र देशको हितका लागि कठोर निर्णय पो लिनुपर्ने हो कि!?
10 March 2025

जिन्दगीको जिजिविषा

उड्नु, झर्नु र फेरि उड्नु
पौडिनु, डुब्नु र फेरि पौडिनु
कुद्नु, लड्नु र फेरि कुद्नु
बारबार अवसर छ कोसिस गर्नलाई
सिर्फ आँट गर्नुपर्छ सिक्नेहरु
जिउनुपर्छ बाँच्नेहरु
तर
जन्मपछि जरुर मर्ने मान्छे
एउटा अहंकारी जीवनचक्र बाँचुन्जेल
अस्पष्ट भ्रमलाई प्रष्ट सत्य मान्छ
अखण्डित सत्यलाई खण्डित भ्रम ठान्छ
यसैगरी दिनानुदिन यथार्थको हत्या गरिरहन्छ
अनि आफैं विलीन हुन्छ ब्रह्माण्डमा एकदिन ।

अत्याचारीले न्यायको वकालत गर्ने
भ्रष्टाचारीले सुशासनको भाषण गर्ने
पापीले धर्मको प्रवचन दिने
ब्यभिचारीले आदर्शको गफ दिने
ठगले नैतिकताको पाठ पढाउने
अपराधीले शान्तिको गीत गाउने..
वरिपरि त्यस्तैत्यस्तै मान्छेको वाहवाहि छ ।
सबैलाई देखावटी चर्चा चाहिएको छ, दुनियाँलाई ईमानको हाँक दिनुछ तर व्यबहारमा चाहिँ आफू कहिल्यै इमान्दार बन्नु परेकोछैन ।
सधैं यसरी नै चल्छ भने चलोस्
समाजको भलो होस्
देशको जय होस् ।
भवतु सब्ब मंगलम् ।
1st Aug 2025

उ बल्न चाहन्छ
बरु जल्न तयार छ
उभित्रको फिलिङ्गो कोइला बन्नुअगावै
उ उज्यालो छर्न चाहन्छ
मान्छेकै खोजीमा छ एउटा मान्छे ।
4 Jan 2025
सम्मान छ
जो सधैं मलाई प्रेम गर्छन्
अरुको भलाई मात्रै सोच्छन्
अशल मनले सत्कर्म र धर्म निर्वाह गर्छन्
आभारी छु
जसको शुभेच्छाले दुःख दूर भएर जान्छ ।

जहाजको उडानसँगै तिम्रो सपनाको पनि उडान भएको छ ।
उड्नु जस्तै महत्त्वपूर्ण सुरक्षित अवतरण हुनु पनि हो ।

हिड्ने क्रममा जहाँ जहाँ पुगिन्छ
यादसँगसँगै यात्राको
हरेक पाइलाका डोबहरु रहनेछन् ।

आज, अचानक
हो, आफूले आफैंलाई
फुलबारीमा उडिरहेको पुतली सम्झिएँ ।

जीवन यात्रा हो..
सम्झनै सम्झनाको थैली पनि हो ।
#दार्जिलिङ: हाम्रो सिमानाभन्दा भावना प्यारो छ
समयको रित, सम्बन्धको जीत
हामी सहपाठीहरु..
प्रकृतिलाई नियाल्छु, अंगालेर हेर्छु
एकनासले नाँचिरहेको, गाइरहेको, हाँसिरहेको देख्छु
प्रकृति!
सबथोक क्या सुन्दर छ
अनि म प्रायः शान्त रहन्छु ।

रविको छवि र रामेशको आवेस

 एउटा ब्यक्ति कसैको लागि नायक र कसैको लागि खलनायक लाग्न सक्छ जुन स्वभाविक र प्राकृतिक कुरा हो । जस्तो कि अहिले हाम्रोमा देउवा, ओली र प्रचण्ड छन् । कसैका आदर्श पात्र, कसैका अमनका पात्र ।

सहकारी ठगीमा जेल परेका रवि र उपकुलपति नपाएको झोकमा पेशा र देश नै त्याग्ने घोषणा गरेका डाक्टर रामेश कोइराला पनि त्यस्तैत्यस्तै पात्र हुन् जो अहिले चर्चामा छन् ।
देशभर हाल हजारौं कैदीबन्दी छन् । कतिपय त झन् निर्दोष पनि होलान् । जेलको बास त उनीहरुलाई पनि कष्टकर नै हुदो हो किनकि हामीलाई थाहै छ जेलको हालत बेहाल छ । सम्पूर्ण बन्दीहरुको सहज दैनिकीमा ध्यान पुर्याउनु निकै जायज हो तर सत्तापक्ष, प्रतिपक्ष, मानवअधिकार आयोग सबैले रविको मात्रै सेवासुबिधाको चिन्ता गर्ने हो या दीर्घकालीन जेल सुधारको प्रयत्न थाल्ने? उनीद्वारा पीडितहरुलाई क्षतिपूर्ति कसले, कसरी र कहिले भराउने? गहन छलफल त त्यता पनि हुनुपर्ने होला ।
देशमा योग्य र इमान्दार चिकित्सक हजारौं छन् जसले जस्तोसुकै परिस्थितिमा पनि देश नछाड्ने बरु देशमै गर्ने र देशमै मर्ने संकल्प लिएका छन् । एकजना अनुभवी चिकित्सकले देशको सेवा गर्दागर्दै अकस्मात् देशै त्याग्ने घोषणा गरेको सुन्नुपर्दा कसलाई पो प्रिय लाग्ला र! नामी चिकित्सकले देश त्यागेको दुःखद् खबरले नमीठो त पक्कै लाग्छ । दक्ष जनशक्ति पलायनले देशलाई नै ठुलो क्षति पुग्छ तर आफ्नो इच्छाअनुसारको निर्णय भए सब ठिक र नभए सिस्टम नै बेठीक भन्ने मानसिकता भने कदापि सहि होईन । कुनै पार्टीको फेरो समातेर वा कुनै नेताको भजन गाएर योग्य हुन खोज्नु नै सबैभन्दा ठुलो अयोग्यता हो । गलत सुत्रको प्रयोग गर्दा आउनसक्ने गलत परिणामलाई पनि स्वीकार गर्नुपर्ने हुन्छ । बरु स्वास्थ्य क्षेत्रमा स्वच्छ प्रतिस्पर्धा, कार्य मूल्याकंन र सक्षमताको पक्षमा वकालत गर्दै पार्टीगत भागबन्डाको विरुद्ध समग्र स्वास्थ्य प्रणाली सुधारको नेतृत्व पो गर्नुपर्थ्यो कि!?
सहकारी ठगले डाका मारे, केही नेताकार्यकर्ताले गोहीको आँसु झारे । राज्यले न्याय नदिएर अत्याचार गर्यो । दलहरू संसदमा रविलाई अन्याय भयो भन्दै रोस्ट्रम कब्जा गरिरहेका छन् । यस्तो रवैया देखेर रवि समूहले ठगेका पीडितहरुको मन कति पोल्दै होला?
डाक्टर रामेश विशेषज्ञ चिकित्सक हुन् । उनको कामप्रतिको लगावले बिरामीको बिश्वास पनि जितेकै थिए । त्यसका अलावा उनले अमुक दल र नेताको चर्को बिरोध गर्थे, मन पर्नेको पक्षपोषण गर्थे । आफ्नो अनुकुल भए गलतै सहि भन्ने जुन जुक्ति लगाए आज आफै त्यसैको एम्बुसमा परेर धराशायी भए । जसले जीवनभर स्वतन्त्र रहेर पेशागत मुल्य र मान्यतालाई बचाइरहे, राज्यबाटै पाइलापाइलामा अपहेलना सहिरहे र आत्मसम्मानका लागि अयोग्यताको बिल्ला लगाइरहे - यतिबेला तिनीहरु मनमा केके सोच्दै होलान्!? यसरी कोहि मजदुरी गर्नजाने, कोहि बिदेशी नागरिक बन्नजाने, यो बिदेश जाने क्रम नरोकिएसम्म न देश उँभो लाग्छ, न त शिर उँचो हुनेछ ।
मुख्य जड समस्या पात्र नभई प्रवृत्तिको हो । देशको बेथिति र प्रणालीको हो । एकाध मान्छेको नियतले नभई अधिकांश हीन मानसिकताको बिगबिगीले निम्त्याएको खराब राज्यको चरित्र हो । हरेक क्षेत्रमा गलत राजनीतिको धमिरा पसेकोछ, गलत ब्यक्तिहरुको हालीमुहाली चलेको छ । गाउँको कुनाकाप्चादेखी सिंहदरबारका अंसअंसमा अराजनीतिक, अराजक र अनागरिक बिचौलियाका हुल व्याप्त छन् । त्यो हुल नष्ट नगरी र तिनको जगजगी अन्त्य नगरिकन नयाँ र राम्रो गर्न एकदमै कठिन छ । स्वभावैले फोहोर गन्हाने र फूल बसाउने हुन् । फोहोरीका पिछा गर्न छाडेर जबसम्म थिति बसाल्न, संस्कार सिक्न र फूल रोप्नतिर लाग्दैनौ तबसम्म यस्तै नियति दोहोरि नै रहनेछ । अब देशमै बस्ने हरेक नागरिकको विकल्प भनेको कि त अनेकौं कुकृतिको भागिदार बन्ने हो, कि चुपचाप किनारमा साक्षी बस्ने हो कि त, विष पिउने मन्जुरीनामा हस्ताक्षर गरेर परिवर्तनका लागि प्रतिकारमा उत्रिने हो ।
समयले सबैका लागि अलार्म बजाइरहेकै छ ।
16th Aug 2025