Sunday, July 19, 2020

एमसिसी सम्बन्धि

- राष्ट्रिय स्वाधीनतासँग जोडिएर जनस्तरमै गम्भीर प्रश्नहरु उठिसकेपछि सम्बन्धित व्यक्तिहरुले आशंकालाई प्रष्ट पार्ने र छलफल गरेर विवादलाई साम्य पार्नुनुपर्नेमा उल्टै संसदबाट पारित गर्न हतारो गर्नुले नियतमा केही खोट छ कि भन्ने आशंका गर्न सकिन्छ । 
- एमसिसिलाई जसरी पनि पास गर्नुपर्छ भन्नेहरु नै कतिपय बुदामा रहेका शब्दप्रति विश्वस्त रहेनछन् जुन आफैंले स्वीकार्छन् । बिरोध गर्नेहरुको माग भनेकै सम्झौतामा जति पनि अमुर्त कुराहरु छन्, स्पष्टसँग ब्याख्या गरिनुपर्छ भन्ने छ । केही बुदाहरु संशोधन नभएसम्म जनता सजिलै आश्वस्त हुने आधार पनि देखिदैन । यहि अवस्थामा जनता खारेजीकै पक्षमा देखिन्छन् । कसैले भिख दिए पनि त लिन्न भन्न मिल्छ भने संसदले त झन् जनभावना प्रष्ट रूपमा बोल्नुपर्छ ।
- राष्ट्रघाटी महाकाली सन्धी गर्न मुख्य भूमिका खेलेकाहरु नै एमसिसी पारित गर्न लागिपरेको देखेर धेरैजसोलाई अझै बदी ससंकित बनाएको छ । यता शेर बहादुर र केपीले छिटो पास गरौ भन्ने उता अमेरिकाले नेपाल चिनको प्रभावमा पर्नुहुन्न, सहयोग नलिइ हुन्न भन्ने आशय प्रकट गर्नुले धेरैको मनमा चिसो पसेकोछ ।
- राष्ट्रियता र दीर्घकालीन असर पर्ने सवालमा एकाध राजनैतिक पार्टी वा व्यक्तिको चाहनालाई प्रमुख मानेर स्वेच्छाचारी र हुकुमी निर्णय गर्न खोज्नु सर्वथा गलत छ ।
- बिदेशी सहयोग लिनुपर्छ तर दाताले अशल भावनाका साथ दिएको हुनुपर्छ । हामीलाई आबश्यक परेकोछ भन्दैमा जस्तोसुकै शर्त स्विकारेर भए पनि लिनैपर्छ भन्ने बाल हठ राख्नु बेठीक छ । केही रकमका लागि देश नै बन्दकी राख्न कुनै पनि नागरिक तयार हुँदैन ।
- यत्तिको इच्छाशक्ति र प्रतिबद्धता त बरु आफैंले देश बनाउनमा प्रयोग गरेको भए देश उहिल्यै बन्थ्यो होला, देशभर जयजयकार पनि हुनेथ्यो ।
- आफैं चाहिँ केही नगर्ने, सधैं अरुको मात्रै आश गरिरहने परनिर्भर मानसिकता नत्यागेसम्म मुलुक समृद्ध पार्ने जतिसुकै भाषण र जति वटा सम्झौता गरे पनि त्यो फगत भ्रमजाल मात्रै हुनेछ ।
- हाम्रो खोपडीमा लागेको बिर्को खोल्न दिला भैसकेको छ । अब चाहिँ जतिसक्दो चाडो विवेकको दकनी खोल्ने प्रण गरौं । 

प्रतिनिधि सभाबाट जसरी संविधान संसोधन विधेयक सर्वसम्मतिले पारित गरेको ऐतिहासिक दिनमा सम्पूर्ण नेपालीलाई गौरवान्वित महशुस भएको थियो । सांसदहरू संसदमा बोलिरहदा हामीलाई कुन नेता कुन पार्टीको भन्ने हेक्का समेत भएन । सबै हाम्रै हुन् भन्ने भावना जागृत भएको थियो । सांसदहरूको बोलीमा जस्तै व्यबहारमा पनि एकरुपता र इमानदारीता कायम रहोस् । जनताले सधैं दृढतापूर्वक साथ दिनेछन् । 
हाम्रो भूमी फिर्ता ल्याउन जनताहरु एकजुट र एकमत भएर बल सुन्दर दंगले सटिक पास मिलाई दिएका छन् । अब सरकारले गोलपोष्टमा चाडै कुटनैतिक बल प्रहार गरेको र गोल भएको हेर्न चाहन्छन् । एमसिसीका सन्दर्भमा पनि त्यस्तै राष्ट्रिय एकता झल्कियोस् । 

सबै नेपाली आशावादी छौं । 
19th June, 2020 

Friday, July 10, 2020

नेकपाको आन्तरिक कलह र वर्तमान सरकारको औचित्य

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चुनावको पूर्वसन्ध्यामा गरेको गठबन्धन अन्ततः पार्टी एकतासम्म पुगेकोछ । राजनैतिक तरलताले आजित जनताहरुले स्थिर सरकारको पक्षमा खुलेरै भोट दिए पनि । करीब दुई तिहाई जनमत प्राप्त कम्युनिष्ट सरकारले अब राष्ट्रिय हितमा धमाधम काम गर्ने अपेक्षा थियो । तर यथार्थमा भने त्यसो हुन सकेको छैन ।

दुई वटा कम्युनिष्ट पार्टी मिलेर बनेको नेकपामा नेताहरुको सम्बन्ध घरी सुमधुर हुने र घरी चिसिने क्रममा अहिले फेरि आन्तरिक कलहले उत्कर्ष रुप लिदैछ । एकता अगावै अधिकांशले नेकपाभित्रको सम्भावित आन्तरिक शक्ति सन्तुलन सम्बन्धि गरेको अनुमान अहिले आएर मेल खाएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपि ओली पार्टीभित्रका हरेक कमिटीमा अल्पमतमा परेका छन् । मुख्यतः उनको आफ्नै शैली र स्वभावकै कारण अप्ठ्यारोमा परेका हुन् । सरकारमाथी अहिले तित्राको मुखै बैरी भन्ने उखान चरितार्थ भैरहेको छ ।

नेकपा नेतृत्वको झण्डै दुई तिहाई बहुमत प्राप्त सरकारलाई थुप्रै जनपक्षीय काम गर्नसक्ने ठुलो अवसर जुरेको थियो । ६ वटा प्रदेशमा आफ्नो एकल सरकार, कमजोर प्रतिपक्षी, मधेसी दलको साथ र जनताको अपार समर्थनले गर्दा बाताबरण अत्यन्तै अनुकुल हुदाहुदै पनि जनसरोकारको सवालमा शुरुदेखी नै चुक्दै जादा जनतामा असन्तोष र आशंका बद्दै गएर बिस्तारै गुनासो र बिरोध हुन थाल्नु स्वभाविक थियो । सरकारले जनताको समस्यालाई बुझेर सम्बोधन गर्दै जानुपर्नेमा उल्टै विभिन्न आक्षेप लाउने, बिल्ला भिराउने, अपत्यारिलो गफ हाँक्ने गर्नाले सकारात्मक आलोचना गर्ने तप्कालाई आक्रोशित पार्दै लग्यो । बेला कुबेलाका असान्दर्भिक चुट्किला र टुक्काहरुले पनि मनोरञ्जन दिनुको सट्टा बरु तितोपिरो पार्दै गयो । समयक्रममा आफ्नै पार्टीभित्र पनि त्यो असन्तुष्टि चुलिदै गएर अहिलेको परिस्थिति उत्पन्न हुन पुगेको हो । पार्टीभित्र छलफल र सामुहिक निर्णय गर्दै सोही अनुसार अगाडि बदेको भए यो अवस्था नआउन सक्थ्यो तर त्यसो हुन सकेन । त्यसैले प्रधानमन्त्री अहिले भित्र र बाहिर सबैतिरबाट आक्रमणको तारो बन्न पुगेका छन् जुन निश्चित थियो ।

बिश्व नै कोरोना महामारीको संकटबाट गुज्रिरहेको बेला नेपाल अछुतो रहने सम्भावना थिएन । कोरोनासँग जुध्नका लागि स्वास्थ्य मन्त्रालय मार्फत आवश्यक पूर्वतयारी खासै केही गरिएको थिएन । जब संक्रमण देखिन थाल्यो तुरुन्तै देशभर लकडाउन गरियो, जुनबेला कुर्सी हल्लिरहेको संयोग पनि परेको थियो । जनताहरु केही दिन धैर्यतापूर्वक बसे तर संक्रमितहरु बद्न थाले । लकडाउन चाडै खुल्ने सम्भावना थिएन, यता दैनिक ज्यालादारी गरेर परिवार पाल्नेहरु ठुलो समस्यामा परे । कोहि बच्चा बोकेरै चैत बैशाखको चर्को घाममा अत्यन्तै कष्टकर यात्राका वावजुद भोकभोकै हिडेरै आफ्नो थातथलो फर्किन बाध्य हुनथाले । सबैले देखेका त्यत्रो हुलका हुल मान्छेलाई नदेख्ने सरकारले उनीहरुको पिडा सुन्ने र बुझ्ने सामर्थ्य राख्ने कुरै थिएन । लकडाउन गरेर कोरोना नियन्त्रणमा अहोरात्र खटिनुपर्ने र जनजीवन सहज पार्न कोसिस गर्नुपर्नेमा सरकार भने अचानक पार्टी फोर्ने अध्यादेश जारी गर्ने, बन्दाबन्दीमै सांसद र पूर्व आइजिपीलाई तराईतिर झारेर अर्को पार्टीको सांसद उठाएर ल्याउन निर्देशन दिने, बालुवाटारबाट बीचबीचमा फोन गर्दै आश्वासन बाँड्ने, निवासमै भोजभतेर र सांगीतिक कार्यक्रममा झुम्ने, सिमानामा आएकालाई सुरक्षित तरिकाले प्रवेश गराउन अनिच्छा गर्ने जस्ता कार्यहरु गरिरह्यो । स्वास्थ्य सामाग्री खरिदमा अनियमितता, प्रधानमन्त्री निकटका व्यक्तिहरु अनुचित आर्थिक कारोबारमा संलग्नता, जताततै भ्रष्टाचारको दुर्गन्ध फैलिरहदा प्रम भने कानुनी रूपमा छानबिन गर्नतिर लाग्नुभन्दा बचाउ गर्दै पारदर्शीताको आवाज उठाउनेलाई तीखो कटाक्ष गर्न थाल्दा उनको बोली निरस र फिक्का सुनिदै गयो । सरकारको बेमौसमी योजनाहरु एक पछि अर्को असफल हुँदै जानु र अलोकपृय गतिविधिहरुमाथी प्रश्न उठ्न थालेसँगै नैतिक रूपमा गिर्दै गएको सरकार आफ्नै कारण पार्टीभित्रै संख्यामा पनि कमजोर बन्न पुग्यो । सरकारले प्रभावकारी काम गर्न नसकेकै कारण नेकपाको जनमत घट्न थालेको अनुमान लाउन सकिन्छ ।

वाइडबडी काण्डमा जनताले प्रश्न उठाउदा स्पष्ट पार्नुभन्दा कुनै छानबिन नगरिकन मन्त्रीलाई निर्दोष करार गर्ने, सुन काण्डमा ब्यापारीसँग मिलिमतो गरेर अनुसन्धान प्रतिबेदन नै सामसुम पार्ने, गोकुल फोन काण्डमा पैसा बुझेको प्रमाण खोज्ने, ओम्नि र यतिसँग रातारात सेटिङ मिलाउने तर संसद र पार्टी बैठकमा आफुले नाम नै नसुनेको, थाहै नपाएको, विधि सम्मत निर्णय गरिएको, मन्त्री संलग्न नरहेको अन्तसन्त कुरा गर्दै हिड्ने गर्नाले समस्या झन् बल्झिदै गयो । रुकुममा भएको सामुहिक नरसंहार, अव्यवस्थित क्वारेन्टाइन, क्वारेन्टाइनमै बलात्कार, झाडापखालाकै कारण उपचार नपाई छट्पटिदै प्राण त्यागेका, सिमाना र सडकमा भोकै मरेका जनताका बारे बेखबर रहे झैं केही शब्द बोल्न आवश्यक नठान्ने जस्ता शैलीले नागरिक चिदिदै जानुका साथै आफ्नो सरकार छ भन्ने कतै पनि महसुस गर्नै सकेनन् । तर प्रधानमन्त्री संसदको रोष्ट्रममा बसिबसि विवादित एमसिसीको पक्षमा कुर्लिने, बेसार बारे धारा प्रवाह प्रवचन दिने, सरकारको गुणगान गाउने, राष्ट्रपतिको भरमग्दुर बचाउ र विपक्षीलाई ओठे जवाफ फर्काएर मक्ख पर्ने मात्रै नभएर सरकारले बलात्कार गरेको हो र? यसोउसो गर्न सिकाएको हो र? मारेको हो र? भन्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिदै सरकार सफल भएको जबर्जस्ती मान्दिनैपर्ने, नमान्ने जतिलाई गणतन्त्र बिरोधी, कसैबाट परिचालित हुल र उच्छृङ्खलको उपमा भिराइदिनमै ध्यान केन्द्रित गरिरह्यो । यसले आउने दिनका बारे राम्रो संकेत गरिरहेको थिएन ।

लकडाउनको बेला ड्युटीबाट फर्किरहेका स्वास्थ्यकर्मी र औषधी किन्न निस्किएका सर्वसाधारणलाई प्रहरीले लठ्ठी बर्साउने र लात हान्ने, डायलाइसिस गर्नैपर्ने बिरामीलाई समेत बाहिर निस्किनै नदिने, गरीबहरुले भोकै मर्न थाल्यौं भन्दा राहत उपलब्ध गराउनु पर्नेमा बाँचे भोलीपर्सी नि खान पाइन्छ भनेर भित्रै थुनेर राख्ने तर सरकारका मान्छेहरु भने तराई पहाड मनपरि डुलिरहने, तन्नेरीका हुललाई कहिले वकिल कार्यालय त कहिले प्रहरी कार्यालयतिर गएर नारा लाउन आदेस दिने कामहरु जायज थिएनन् । राष्ट्रपति चाहिँ खुल्ला सडकमा अगाडि पछाडी दायाँबायाँ सेना प्रहरीको ताँती लगाएर राजसी ठाँटमा साइरन बजाउदै संसद भवन सवार हुने अनि भुइँ टेक्नै नमिल्ने झै गरेर सेनाद्वारा रातो कार्पेट विछ्याउनै पर्ने, शितल निवासमा करोडौंको गलैँचा र साजसज्जा, मन्त्री क्वाटरमा जिमखाना जस्ता गतिविधि देख्दा धेरैलाई फ्रान्सका सम्राट न्युरोकै याद दिलाइरह्यो । राष्ट्रपति एउटा ब्यक्ति मात्रै होईन, सम्मानित संस्था हो । संवैधानिक संस्थाहरु पंगु हुँदै जानुको अर्थ शरीरको अंगहरु क्रमशः फेलियरतिर गएर मान्छेको मृत्यु हुनु जस्तै हो । त्यतातिर गम्भीर भएर समयमै होश पुर्याउन जरुरी छ ।

भारतले हाम्रो भुभाग समेत राखेर नक्सा प्रकाशित गरेपछि सरकारलाई जनताले हाम्रो देशको नक्सा पनि तुरुन्तै जारी गर्न ६/७ महिनादेखि निरन्तर दबाब दिइरहे तर प्रधानमन्त्रीले नक्सा त जत्ती पनि छाप्न सकिन्छ नि भन्ने हलुको टिप्पणी गर्ने, जग्गा नै फिर्ता ल्याउने हो भनेर टारिरहने, नीति तथा कार्यक्रममा समेत नक्साको बिषय नराख्ने तर सचिवालयले राख्नैपर्ने अडान लिएपछि बल्लतल्ल अन्तिम समयमा समेटिएको कुरालाई चाहिँ आफुले गरेको भन्दै एक्लै जस लिनखोज्ने आत्मकेन्द्रित र ब्यक्तिवादी सोचलाई विवेकशील कसैले पनि अशल मान्न नसक्ला । कम्युनिष्ट पार्टीमा त झनै ब्यक्तिभन्दा पार्टी प्रधान हुन्छ । भलै यसको श्रेय जनताले प्रधानमन्त्रीलाई नै दिएका छन् र इतिहासले पनि उनैलाई दिइरहनेछ ।

केपी ओलीको आफ्नै विशिष्ट गुण र वैगुणहरु छन् । परिस्थितिको अनुकुलता र प्रतिकुलतालाई आकलन गरेर बोल्ने उनको स्वभाव देखिन्छ । बरु त्यहीँ कुरा त्यहीँ दिन अर्को ठाउँमा गएर ठ्याक्कै उल्टो कोणबाट पनि बोल्दिन धक मान्दैनन् । तर यसपाली एकरुपता देखाएका छन् । आफ्नै नेतालाई भारतीय एजेन्ट करार गर्ने र व्यबहार पनि सोही अनुसार गर्ने । सकेसम्म पार्टीलाई बेवास्ता गर्ने, बैठक राख्दै नराख्ने, पार्टीका बहुमत सदस्यले गरेको निर्णय नमान्ने अर्थात नसुन्ने, थकाउने, गलाउने र आफुले चाहेकै जसरी सम्झौता गराउने । त्यसो हुन नसके पार्टी नै फुटाउने । त्यहीँ रणनीति अन्तर्गत स्थायी कमिटीको बैठकलाई खुल्ला चुनौती दिइरहेका छन् । आफ्नै सरकारी निवासमा चलिरहेको पार्टी बैठकमा उपस्थित नहुने, नेताहरूको कुरा सुन्न चासो नदिने तर विपक्षी दल, अख्तियार प्रमुख र प्रधानन्यायाधीशलाई रातिराति बोलाएर भेट्ने, लकडाउन लागू नहुने गरि केही युवाहरुलाई अरुको लागि निषेधित क्षेत्र घोषणा गरिएको माइतीघर मण्डलामा समर्थनमा नारावाजी गर्न लगाउने, अहिलेको पार्टी फोरेर पूर्वपार्टी चलाउने मनसायले आफू निकटका व्यक्तिहरुलाई निर्वाचन आयोगमा दल दर्ता गर्न पठाउने क्रियाकलापहरु निर्धक्क भएर गरिरहेका छन् ।

संसद अधिबेशन अन्त्यको निर्णय गर्न समेत सभामुखसँग परामर्श गर्न आवश्यक ठानेनन् । आफ्नै पार्टीमा छलफल त के जानकारी नै दिएनन् । प्रतिपक्षीले त झन् कुनै सुइँको नै पाएनन् । बिहान पार्टीको अर्का अध्यक्षसँग संसद चालू राख्ने सहमति अनि प्रतिपक्षीलाई राति संसदमा मिलेर एमसिसी टेबल गर्न आग्रह गर्ने तर हठात अर्को दिन मन्त्री परिषद बैठकमा मन्त्रीहरू आइनपुग्दै संसदलाई रत्यौली खेल्ने थलो नबनाउने भन्दै अध्यादेशको दोका खुल्लै राख्न संसद अन्त्यको निर्णय गर्न हिच्किचाएनन् । अध्यादेश ल्याउन, फिर्ता गर्न र संसद अधिबेशन अन्त्यको निर्णय जति हतारमा भएको थियो, त्यत्तिकै तेज गतिमा राष्ट्रपतिको अनुमोदन पनि भएकोछ । यसो हुनुमा एउटै मात्र कारण प्रधानमन्त्री र राष्ट्रपतिको नियमित भेटघाट र सहकार्यको प्रतिफल हो । बालुवाटारले सकेसम्म आफैले गुट भेला गर्ने, फकाउने, लोभ्याउने, धम्क्याउने र नसके शितल निवास रिफर गर्ने कार्य नाजायज र खेद्जनक छ । यसरी राष्ट्रकै उच्च र सम्मानित पदको गरिमा र मर्यादा कायम रहिरहन्छ भन्ने ठान्नु आपत्तिजनक छ ।

मानौं, यतिबेला सरकारमा अरु नै कोही रहेका हुँदा हुन् त प्रधानमन्त्रीले कति जोडतोडले छिर्केमिर्के कटाक्ष गरिरहेका हुँदा हुन् ? पार्टीमा उनी विपक्षमा रहेको भए उनी संयमित हुँदै वार्ता गरिरहेका हुन्थे होलान् ? सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा उनको बहुमत हुदो हो त अहिलेसम्म के कस्ता निर्णय गरिसकेका हुन्थे होलान् ? अहिले पार्टी गणित त्यस्तो छैन तसर्थ अनुमान मात्रै लाउन सकिन्छ । आफुलाई जबजको उत्तराधिकारी ठान्ने तर जवजकै आधारभूत मान्यतालाई व्यबहारमा नमान्ने अराजक, अलोकतान्त्रिक, अहंकारी, स्वेच्छाचारी र ब्यक्तिवादी सोचाइले देश, पार्टी, विचार र स्वयम् आफैलाई पनि फाइदा गर्दैन ।

कांग्रेस नेतृत्वको सरकारले नेपालमा संविधान जारी गरेकोमा असन्तुष्टि प्रकट गर्दै भारतले नाकाबन्दी गरेको थियो । मधेसवादी दलहरु आन्दोलनमा थिए । लगत्तै केपी ओली प्रधानमन्त्री भए । नाकाबन्दीको मुकाबिला देशभक्त जनताले डटेर गरिरहेका थिए । प्रधानमन्त्री ओली भने कुटनैतिक पहल गरेर स्थितिलाई सामान्य बनाउन तत्परता देखाउनुभन्दा कुर्सीमा बिराजमान भएर मधेसी र पहाडी भनेर उत्तेजना फैलाउन उद्दत थिए । मधेसमा गोलीले युवाहरू दल्दै गर्दा रुखबाट पाकेका एकदुई आँप झर्नु नौलो कुरा नभएको बताउथे । ईन्डियासँग चाइना कार्ड प्रयोग गर्थे तर व्यबहारमा भने कुनै औपचारिक प्रक्रिया थालेनन् । फलस्वरूप देशमा जातीय दंगाको खतरा बदिरहेको थियो भने दुबै छिमेकी मुलुकसँगको परराष्ट्र सम्बन्ध छिन्नभिन्न अवस्थामा पुग्दै थियो । संघ, प्रदेश र स्थानीय तहको निर्वाचन अनिश्चित थिए । आफ्नै पार्टी नेताहरूले पहल गरेको र साक्षी बसेको सत्ता साझेदारी दलसँगको आलोपालो लिखित सम्झौतालाई पनि नेताहरुको आग्रहका वावजुद अस्वीकार गरिदिए । परिणामस्वरूप संसदमा अविश्वास प्रस्ताव दर्ता भएसँगै अघिल्लो पटकको उनको कार्यकाल टुङ्गिएको थियो । नेकपाभित्रको आन्तरिक मामिला छिट्टै साम्य नहुने हो भने पुनः त्यस्तै पुनरावृत्ति हुने सम्भावना देखिदैछ । नेकपाका नेता कार्यकर्ताले प्रस्तुत गर्ने उदारता र संयमताले नै नेकपाको भविष्य निर्धारण गर्नेछ ।

सुर्य अब पश्चिमबाट उदाउछ, नेपाललाई वार्षिक सवा अर्ब फाइदा आउछ, महाकाली सन्धि राष्ट्रिय हितमा छ भन्दै सन्धि गरेर संसदबाट अनुमोदन गर्न प्रमुख भूमिका खेल्नेहरु नै पुनः एमसिसी सम्झौता मार्फत मुलुक समृद्ध बनाउने जिद्दी गर्नु, सित्तैमा त्यत्रो पैसा आइरहेको भनेर र्याल चुहाउनु, अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रन्छ भन्ने पिरले सार्वभौम र स्वाधीनताको ख्याल नगरी जसरी नि पास गर्न तम्सिनु कुनै अनौठो भएन, आश्चर्य त जब यिनै मान्छेहरु संसद र सडकमा खुंखार देशभक्त र खाटी राष्ट्रवादी कहलिन्छन् । यिनकै समर्थनमा सडकमा होहल्ला गर्दै केही थान जवानहरु प्रदर्शनमा कुर्लिन्छन् । सरकार गठन भएदेखि नै जनताप्रति उत्तरदायी बन्न जाँगर नदेखाएकै कारण मुख्य जिम्मेवारीबाट सरकार चुक्दै गयो । देश बिदेशमा रहेका नेपालीले देशलाई आर्थिक र बौद्धिक सहयोग गर्न जुटिरहदा सरकार भने एकपछी अर्को भ्रष्टाचार काण्डमा फसिरह्यो । महामारी संकटमा समेत स्वास्थ्य सामाग्रीमा कमिसनको खेल खेल्छ, विपत्तिमा उद्द्वार गर्नुपर्ने नागरिकमाथि व्यापार गर्छ । जसको कारण केही मन्त्रीले गरेका राम्रा कामहरू पनि ओझेलमा परिरहे । समग्र मूल्याकंन गर्दा मुलुकमा सुशासन कायम गर्न सरकार असफल भएकै हो ।

कोरोना महामारी पश्चात् देशमा बेरोजगारी र भोकमरीले विकराल समस्याको रुप लिने निश्चित छ । गरीबहरु बादीमा बग्ने, पहिरोले पुरिने, घरबारविहीन हुने र शीत लहरले मृत्युु हुने जस्ता सधैंको समस्या दोहोरिने नै छ । हरेक वर्ष उस्तै प्रकृतिको समस्या दोहोरिइरहदा पनि रोकथाम, नियन्त्रण र क्षति न्यूनीकरण गर्न आवश्यक योजना बनाउन सकेका छैनौं । अबको तहसनहस अर्थतन्त्र उकास्न, जनताका समस्या हल गर्न, छिमेकीसँग बिग्रदो कुटनैतिक सम्बन्ध सुधार्न, कोरोना बिरुद्ध लड्न, अनिकालको सामना गर्न, रोजगारी सिर्जना गर्नका लागि कुनै स्पष्ट र ठोस योजना नै बनेको छैन । सरकार बेकारमा तथ्यहिन कुरालाई प्रमाणित गर्नमै सकेजति शक्ति खर्चिरहेको छ । तसर्थ वर्तमान सरकारको औचित्य लगभग सकियो । अबको कठिन परिस्थितिलाई सम्हालेर नेतृत्व प्रदान गर्नसक्ने ब्यक्तिको आगमन नै अहिलेको आवश्यकता हो ।

सक्षम र योग्य कमान्डरलाई चिन्ने लडाइँको मैदानमै हो । तसर्थ केपी ओलीलाई प्रधानमन्त्रीका रूपमा चिन्ने उपयुक्त समय यहि नै थियो । अध्यक्षबाट हटाउने नहटाउने उनको पार्टी नेकपाको नितान्त आन्तरिक बिषय हो । सांगठनिक विधी नमान्ने र अनुशासन उल्लंघन गर्नेलाई पार्टीको निर्णय नै सर्वोपरि हुनसक्छ । विधि र प्रक्रियाको वकालत गर्ने तर विधि लागू गर्न हिम्मत नगर्नेहरु पनि उत्तिकै जिम्मेवार छन् । कुनै ब्यक्तिकै कारण संस्थाले क्षति व्यहोर्नुपर्छ भने त्यो दुर्भाग्यपूर्ण हुनेछ । नेकपा फुट्ला भन्ने चिन्ताले देशलाई भड्खालोमा हाल्ने र जनताहरु सती जानुपर्ने कुरामा कदापी सहमत हुन सकिन्न ।

आम जनताले देशको निम्ति कसैले इमान्दारीपूर्वक जादु गरोस् भन्ने चाहेका छन् । त्यो सम्भावना त छैन तै पनि जनताले खोजेको बेला सरकार भएको अनुभुति हुनुपर्छ । नेतृत्वको अग्निपरिक्षा संकटको घडिमै हुने हो । यथास्थितिमा रुमल्लिएर बेथितिलाई मौलाउनु दिनुभन्दा नयाँ विकल्प खोजिनु पर्छ । केपी बसेको कुर्सीमा अर्को कोहि ब्यक्ति आउने बित्तिकै चमत्कार हुने होईन तै पनि बीसको उन्नाइस पो हुन्छ कि भन्ने आशा गर्नुपर्छ । अर्को आउनेले पनि सुशासन दिन नसकेको खण्डमा फेरि अर्को उत्तम विकल्पको खोजी गरिनैपर्छ । जबसम्म साच्चिकैको सहि नेतृत्व भेटिदैन तबसम्म अनेक विकल्पमा जानैपर्छ । यदी निस्वार्थ नेतृत्व चयनमा लाग्यौ भने स्वभाविक रुपले एकदिन स्थायी वा स्थिर सरकार या सजिलैसँग फेरबदल नहुने जनताको सरकार पक्कै पाउनेछौं । अहिले तुरुन्तै चाहेर मात्रै त्यो सम्भव छैन तर आम जनताले सचेत दंगबाट व्यवस्था र नेताको खोजी भने निरन्तर जारी राखिरहनु पदर्छ ।
२६ असार २०७७ 

Sunday, June 28, 2020

उनीलाई

बदलिएछ कि समय
बदलिछु आफैं
भिन्नै उमंग छ मनमा
खोजीरहेको अमुल्य चिज भेटाए झै
मुल बाटो भेट्न हतारिएको बटुवा झैं
कस्तो अनौठो व्यग्रता
कस्तो चन्चल प्रतीक्षा
धर्तीआकाश नै मुस्कुराइरहे झैं ।

एकै उद्देश्य
एकै गन्तव्य
समाहित भएछु निसन्देह
एक सहयात्री
एक सारथि बनेर
उप्रान्त
हिड्नु छ तिमीसँगै निरन्तर
र पुग्नुछ धेरै पर परसम्म
संघर्षको कष्टकर यात्रामा हाँसीखुशी ।

हाँस्दै साथमा
रुदै काखमा
हरपल हरक्षण
जीवन जिउने अभिलाषाले पुलंकित स्वप्नहरु
दकमक्क फुल्दैछन् यामहरु छोपिने गरि
पलाउदै छन् बाह्रैमास सुगन्ध छर्ने यादहरु
लालायित अन्तर्मनका मीठो तरंगहरु
मेरी तिमीलाई ।

तिम्रो एक इन्च उचाई अझै बद्छ भने
तिम्रो पाइला एक फड्को अघि सर्छ भने
तिम्रो खुट्टालाई निसंकोच काध थाप्न के भो र!

मभित्रै बसेकी छ्यौ सधैं सधैंलाई
जिन्दगीभर सुखदुःखको साक्षी बन्ने मान्छे
जुनी जुनीलाई पुग्ने अजम्बरी प्रण मेरो
मबाट हामी भैसकेको छु
तिम्रो सेतो जुत्ताको हिफाजत गर्न सकूँ ।

चित्रविचित्र सम्बन्धहरु
टक्टकाएर झर्ने पाइतलाको धुलो
बैँसमै वइलाएर झर्ने शिरफूल
विश्वासको अग्लो चुचुरो अट्ने तिम्रो दिल
तिमी भएरै
निकै फरक लाग्दैछ समय
उस्तै फरक लाग्दैछ मेरो जिन्दगी नै ।
१३ असार, २०७७

Saturday, June 13, 2020

गाउँतिर फैलिदै कोरोना

अहिले विश्वभरी महामारीको रुप लिएको कोभिड-१९ नयाँ कोरोना भाइरस त हो तर कोरोना भाइरस भने नयाँ होईन । योभन्दा अगाडि मानव जातिले धेरै प्रकारका कोरोना भाइरसको सामना गरिसकेका छौं । यस अघिका सार्स र मर्स कोरोना भाइरसको मृत्युदर क्रमशः ~१०% र ~३५% थियो जुन निकै उच्च दर हो जब कि कोभिड-१९ को संक्रमणले हुने मृत्युदर जम्मा २-४% मात्रै देखिन्छ । यसरी मृत्युदरलाई तुलना गरेर हेर्दा अहिलेको भाइरसलाई पहिलेको भन्दा कमजोर मान्नुपर्छ तर हलुको रूपमा लिएर लापरबाही गर्ने भुल भने गर्नुहुदैन ।

बिश्वमै उत्कृष्ट स्वास्थ्य प्रणालीको अभ्यास गर्ने भनिएका देशहरू नै कोरोनाका सामु घुँडा टेकिरहेको सन्दर्भमा नेपालमा कोरोना भाइरस संक्रमित भेटिन थालेसँगै सरकारले लकडाउन घोषणा गर्नैपर्ने बाध्यता थियो किनकि कोरोनासँग जुध्नलाई आवश्यक मानसिक र भौतिक पूर्वतयारी पर्याप्त मात्रामा गरिएकै थिएन । अरु देशहरूले पनि कोरोना नियन्त्रण गर्न यहीँ उपाय अपनाइरहेका थिए । लकडाउन हुनेबित्तिकै देशैभरी मान्छेहरुमा भाइरसले अब सखाप पार्नेभयो भन्ने अल्पबुझाई र चेतनाको कमीले गर्दा गाउँशहर जताततै त्रसित वातावरण बन्न पुग्यो । अहिलेसम्म समाजमा त्यो सन्त्रास कायमै छ जसले धेरैलाई रातदिन विक्षिप्त हुनेगरी सताइरहेको छ । यी सम्भावनालाई ध्यान दिएर नै मैले लकडाउन लगत्तै कोरोना सम्बन्धि केही जानकारीसहित फेसबुकमा आफ्नो नम्बर पनि शेयर गरेको थिएँ । अहिले मान्छेहरुमा रोगको बारेमा थुप्रै चेतना त आएको छ तर अझै पनि धेरै व्यक्तिहरुमा अस्पष्ट र अन्धाधुन्ध बुझाई रहेकाले निकै आतंकित भएको पाइएको छ । विशेषगरी जोखिम समुहहरु नै रोग बारे अनविज्ञ रहदा भोलिका दिनमा स्थिति नियन्त्रण बाहिर गयो भने अकल्पनीय मानवीय क्षति हुन सक्दछ । सामाजिक सन्जाल, टिभी, रेडियो, पत्रिकामार्फत कोरोना बारे लगातार प्रसारण भइरहेको हुनाले मलाई केही लेखिरहन जरुरी लागेको थिएन तैपनि लकडाउन खुकुलो भएसँगै पहाडी क्षेत्रमा पनि संक्रमितको संख्यामा वृद्धि हुँदै गइरहेकाले आफुलाई लागेको कुरा लेख्दा अलिकति भए पनि कोरोना नियन्त्रणमा सहयोग पुग्छ कि सोचेर लेख्ने निधो गरेकोछु ।

नेपालमा लकडाउनले शुरुका दिनदेखि नै ज्यालादारी गर्ने श्रमिक र  विपन्न वर्गलाई प्रत्यक्ष असर गरेको भए पनि यस अवधीभर पहाडी र हिमाली जिल्लाहरुमा जनजीवनलाई भने त्यति असर पुर्याएको थिएन । गाउँमा सबैको घरमा खानलाई भकारीभरि अन्न, बारीमा तरकारी, धारामा पानी भएकाले केही नुनतेल बाहेक अरु चिज खासै जोहो गर्न कठिनाई भोग्नु परेन । अरु बेलामा जस्तै अर्मपर्म, खेतीपाती र मेलापात निरन्तर चलिरहेकै थियो । तर शहरबजारमा करीब असी दिन कर्फ्यु सरह लागू भएको लकडाउनको प्रतिक्रिया स्वरुप लकडाउनको अन्य विकल्प खोज्नुपर्ने दबाबका कारण सरकारले नै अब खुकुलो पार्दै जाने भएपछि चाहिँ पहाडी र हिमाली भेगतिर पनि संक्रमितहरुको आवतजावत हुनसक्ने सम्भावना भएकाले सबैजना सचेत र समवेदनशील हुन अति जरुरी छ । अब लकडाउन खुकुलो भएसँगै गाउँघरतिर पनि संक्रमण फैलिनसक्ने र संक्रमितको संख्या बद्न सक्नेछ ।

अधिकांश मान्छेहरुलाई आजकाल स्वास्थ्यमा देखिने अन्य समस्यालाई पनि कोरोनाले पो छोयो कि भन्ने भ्रमले गर्दा छट्पटी बदेको देखिन्छ । एलर्जी, रुघाखोकी, सिजनल फ्लू र कोरोना भाइरसका लक्षणहरु एक अर्कोसँग मेल खाने भएकाले आम मान्छेले फरक छुट्याउन नसक्दा अनावश्यक मानसिक तनावबाट गुज्रिनु परेको छ । तसर्थ यी लक्षणहरु थाहा भयो भने केही तनाव कम हुनसक्छ भन्ने हेतुले छोटकरीमा लक्षणहरु उल्लेख्य गर्नु उपयुुक्त ठानेकोछु ।
एलर्जी: सुख्खा खोकी, हाच्छ्यु आउनु, नाकबाट पातलो सिंगान बग्नु, आँखा चिलाउनु र आँखाबाट पानी आउनु
रुघाखोकी: खोकी, हाच्छ्यु, घाँटी बस्नु, नाकबाट पानी बग्नु
फ्लू: खोकी, नाक र घाँटीमा म्युकस जम्नु, जीउ दुख्नु, टाउको दुख्नु, मन्द ज्वरो आउनु
कोरोना: उच्च ज्वरो, सुख्खा खोकी, हाच्छ्यु आउनु, नाक बग्नु, थकाइ महशुस हुनु, टाउको दुख्नु, घाँटी बस्नु, सास फेर्न अप्ठ्यारो हुनु
यदि कसैलाई यस्तो लक्षणहरु देखिएमा स्वास्थ्यकर्मीलाई तुरुन्तै खबर गर्नुपर्छ । उहाँहरुको सल्लाहअनुसार उपचारको जरुरत पर्नसक्छ वा आफैं होम क्वारेन्टाइनमा बस्नुपर्ने पनि हुनसक्दछ ।

सर्वसाधारणले के गर्ने र के नगर्ने:
नगर्नुपर्ने:
- भिडभाडमा नजाने, पूजापाठ र भोजभतेर नगर्ने
- अनावश्यक हिडडुल नगर्ने
- हात नमिलाउने, अंकमाल नगर्ने
- हातले नाक, मुख र आँखा नछुने
- शाकाहारी भोजन गर्ने वा माछामासु तथा अण्डा राम्ररी पकाएर मात्रै खाने
- पशुपंछीबाट सक्दो टाढा रहने
- क्वारेन्टाइनमा बसेकालाई शंकास्पद र हेयको नजरले नहेर्ने

गर्नुपर्ने:
- नियमित साबुनपानीले हात धुने
- सम्भव भएसम्म मास्क, पन्जा र चस्मा लगाउने
- हाछ्यु गर्दा कुहिनो वा रुमालले नाक मुख छोप्ने
- गाउँमा सामुहिक धारा प्रयोग हुने हुनाले टुटीलाई साबुनपानीले नियमित पखालिरहने
- दुई मिटर जतिको भौतिक दुरीलाई सदैव कायम राख्ने
- खानपिनमा मह, लसुन, अदुवा, बेसार, मिठी, धनिया, कागतीमा जोड दिने

क्वारेन्टाइनमा बस्नेहरूले:
- देशको परिस्थितिलाई बुझेर सरकारी चिज निशुल्क पाइन्छ भन्ने सोचले अनावश्यक सुविधाको माग नगर्ने, अधिक अपेक्षा नराख्ने
- आफ्नो सीप अनुसारको सिर्जनात्मक काममा व्यस्त रहने
- ध्यान र योग अभ्यास गर्ने
- धेरैजसो स्कुलहरुलाई नै क्वारेन्टाइन स्थल बनाइएको हुनाले त्यहाँ स्वविवेकले सरसफाइ गर्ने, बगैंचा बनाउने
- पिसिआर टेस्ट नेगेटिभ आएपछि मात्रै घर जाने मानसिकता बनाउने र घर गएको एक हप्तासम्म पनि घरमै सेल्फ आइसोलेसनमा बस्ने

जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुले:
- उचित खाने, बस्ने, पानी, साबुन र शौचालयको व्यवस्था गरिदिने
- जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुले क्वारेन्टाइन स्थलमा नियमित निरीक्षण, हेरचाह, परामर्श र उत्प्रेरित पार्ने खालको कुराहरू गर्ने
- पिसिआर टेस्ट गरेर मात्रै घर पठाउने व्यवस्था मिलाउने
- संक्रमित संख्यालाई ख्याल गरेर अतिरिक्त क्वारेन्टाइन तयारी अवस्थामा राख्ने

बिशेष अभियान:
- पालिका, वडा कार्यालय, स्वास्थ्य चौकी, क्लब, स्कुल र युवाहरू मिलेर भौतिक दुरीलाई ख्याल गर्दै टोलटोलमा मनोबैज्ञानिक परामर्श र सचेतना अभियान संचालन गर्ने । जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षित र सचेत तप्काको सूचनामूलक कुरालाई सुनेर सर्वसाधारणको आत्मबलमा अधिक वृद्धि हुनेछ ।
- जोखिम समुहलाई बढी ध्यान दिने: बिश्वभरिको तथ्यांकले जेष्ठ नागरिकहरु र दिर्घरोगीहरुलाई तुलनात्मक रूपमा सजिलैसँग संक्रमण र मृत्यु भएको देखाएकोछ । तसर्थ, साठी बर्षभन्दा बढी उमेरका र सुगर, प्रेसर, दम, मुटु, मृगौला, क्यान्सर लगायतका बिरामीहरुलाई सक्दो अरुको सम्पर्कमा नजान सल्लाह दिने, संक्रमण भएमा हुनसक्ने खतराको बारेमा जानकारी दिने ।
- नगरपालिका र गाउँपालिकाहरुले चेकजाँच छिटोछरितो बनाउन साझेदारीमा पिसिआर मेसिन खरिद र स्वास्थ्य जनशक्ति थप्नका लागि सामुहिक छलफल गरेर उचित विकल्प निकाल्ने
- फ्रन्टलाईनमा खटिने स्वास्थ्यकर्मीहरुलाई सम्भावित भयावह स्थितिका लागि मौजदात राख्न ध्यान दिने

बैज्ञानिकहरुद्वारा कोरोना भाइरस कोभिड-१९ को संक्रमण चमेरा वा अर्को कुनै वन्यजन्तुबाट भएको अनुमान गरिएको छ । चीनबाट संक्रमण हुन शुरु भइ युरोप र अमेरिकी शक्तिशाली मुलुकहरूलाई तहसनहस पार्दै महामारीको रुपधारण गरि पुनः एसियामै प्रवेश गरेको छ । ईन्डियामा भाइरस फैलिन थालेसँगै उता रहेका नेपालीहरु घर फर्किने क्रम ह्वात्तै बद्नु स्वभाविक थियो । सरकारले नेपालमा पनि भाइरस फैलिनसक्ने सम्भावनालाई हेरेर तुरुन्तै लकडाउन गर्ने सहि निर्णय गर्दागर्दै पनि स्वास्थ्य क्षेत्रमा आवश्यक प्राविधिक तयारी गर्न चुक्नु र सिमानाका सामुदायिक भवन र होटेलहरुलाई धमाधम सुविधाजनक क्वारेन्टाइन बनाउदै परिस्थिति अनुसार व्यवस्थित नयाँ क्वारेन्टाइन निर्माणमा लाग्नुपर्थ्यो । सिमानामा जथाभावी आवातजावतलाई कडाइ गर्दै व्यबहारिक रूपमा प्रवेशको प्रबन्ध गर्नुपर्थ्यो । नेपाल भित्रिएकालाई केही समय क्वारेन्टाइनमा राखेर पिसिआर जाँच गर्दै स्थानीय तह र प्रदेशको समन्वयमा सुरक्षित दंगले घरघरमा पुर्याउनु पर्थ्यो । यदि त्यसो गरिएको भए हाम्रो गाउँहरु पुरै सुरक्षित रहने र जनजीवन सामान्य अवस्थामै चलिरहने सम्भावना थियो तर सरकारले विपत्तिको बेला आफ्नो देश भित्रिन चाहने आफ्नै जनताहरुलाई उतै रोक्ने र छेक्ने कठोर नीति मात्रै लिने गल्ती गर्यो । जसले गर्दा नागरिकहरु सिमापारी कष्टकर समयमा आफुलाई अनाथ महसुस गर्नुपर्यो । देशको सिमानामा मात्रै नभएर देशभित्रै पनि पहुँच हुनेहरूलाई लकडाउन कडाइका साथ लागु हुनसकेन, केवल पहुँच नभएका गरिबहरुलाई मात्रै निर्ममतापूर्वक लकडाउनको पालना गर्न बाध्य पारियो । दैनिक ज्यालादारीमा पेट पाल्नेहरु भोकभोकै बच्चा च्यापेर हप्तौं हिडेर आफ्नो थातथलो जानुपर्ने परिस्थिति आइपर्यो । सिमानाबाट रातारात हजारौं मान्छे नेपाल पसेर बिना चेकजाँच आफ्नो गाउँगाउँ पुगे, बजारमा पावर हुनेहरु मनपरि यताउता गरिरहे । नागरिकहरुलाई गरिएको यस्तै असमान व्यबहारले गर्दा असन्तुष्टि चुलिदै गएपछि सरकार रक्षात्मक हुनुपरेको छ । सरकारसँग जनतालाई भोकको विकल्पमा राहत दिने सामर्थ्य छैन । लकडाउन लम्बिदै गएर निम्न मध्यम वर्गलाई असर गर्न थालेपछि उनीहरु बिरोध गर्दै बाहिर निस्किन थाल्दा लकडाउन खुकुलो पार्नैपर्ने अवस्था आउने निश्चित थियो । लामो समयसम्म देश नै बन्दाबन्दीमा राख्नु उचित र सम्भव पनि थिएन किनकि औषधी तुरुन्तै पत्ता लाग्ने सम्भावना अत्यन्तै न्यून छ । यस अघिका सार्स र मर्स कोरोना भाइरसहरुको पनि कुनै खोप वा औषधी अहिलेसम्म पत्ता नलागिसकेको हुनाले अझै कहिलेसम्म कुर्नुपर्ने हो भन्ने कुनै ठेगान छैन । स्वास्थ्यकर्मीहरुले बिरामीलाई अहिले गर्नसक्ने भनेको जे जति औषधी र उपलब्ध प्रविधि छ त्यसैमा निर्भर रहेर उपचार गर्ने मात्रै हो । बिज्ञानले अन्तर्महादेशीय मिसाइलको बिकास त गर्यो, अर्को ग्रहमा पुग्नसक्ने यान पनि आविष्कार गर्यो, पृथ्वीलाई नै कयौं पटक ध्वस्त पार्नसक्ने अस्त्रशस्त्रको निर्माण त गर्नसक्यो तर प्रकृतिको सामु सधैं लाचार हुनुपरेको छ । प्रकृतिलाई अज्ञानताबस चुनौती दिएकै कारणले सिङ्गो मानव जातीले यस्तै कहालीलाग्दो परिणाम बेलाबखत भोग्नुपरेको छ । त्यसैले लकडाउनले संक्रमणलाई जित्न असम्भव थियो । यो त केवल महामारीको समयलाई केही दिलो गराएर तयारी गर्ने सुनौलो अवसर मात्र थियो ।

सरकारले लकडाउन गरे सँगसँगै महामारी नियन्त्रणका लागि शहर र सिमामा व्यवस्थित क्वारेन्टाइन तयार पार्न नसक्नु, सरकारी अस्पतालमा आइसोलेसन वार्ड, आइसियु र भेन्टिलेटर थप्न नसक्नु, निजी अस्पताललाई प्रयोगमा ल्याउन नसक्नु, स्वास्थ्य सामग्री खरिदमा दिलासुस्ती गर्नु, सम्भावित जोखिमको सामना गर्न प्रष्ट मोडालिटी बनाउन नसक्नु, तिनै तहका सरकारका बीचमा आपसी समन्वय र सहकार्य हुन नसक्नु, स्वास्थ्यविदहरुको सुझावलाई बेवास्ता गर्नु, चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई संकटमा परिचालन गर्ने निश्चित पद्धति तयार नपार्नु जस्ता लापरबाहीले गर्दा संक्रमणकालमा सरकार आफैं झन्झन् अकर्मण्यतामा फस्दै गयो । संघीय सरकारको यस्तो रवैयाका वावजुद स्थानीय तहमा खटिएका जनप्रतिनिधिहरुले निर्वाह गरेको भूमिका भने असाध्यै सराहनीय र तारिफयोग्य छ ।

यतिबेला हामी गम्भीर परिस्थितिबाट गुज्रिरहेका छौं । कोरोनाका कारण हाम्रो अस्तव्यस्त स्वास्थ्य प्रणालीमा रहेको प्वाल मात्रै नभएर राज्य संचालन गर्ने शैलीमै भ्वाङ देखिने डर छ । अहिले संसारका सम्पूर्ण मान्छेहरु सामाजिक, मानसिक, आर्थिक सबै हिसाबले खल्बलिएका छौं । तर कठिन समयसँग भिड्ने र उम्कने जुक्ति नगरी धरै छैन । पहाडी र हिमाली भेगका लागि लकडाउनभन्दा लुजडाउन बदि खतरनाक सावित हुनसक्छ । कोरोनालाई समुदाय स्तरमा फैलनबाट रोकेर मानवीय क्षति कम गर्न सजगता अपनाउनु सबैको जिम्मेवारी हो । नागरिक र सरकारले हातेमालो गर्दै कोरोनाबिरुद्ध लडेर मात्रै महामारीलाई चाडै परास्त गर्न सफल हुनेछौं । यस्तो अवस्थामा आफू रोग सर्नबाट जोगिने र अरुलाई सार्नबाट जोगाउने नै उपयुक्त उपाय हो । आफू बच्नु र अरुलाई बचाउनु सबैको कर्तव्य र धर्म हो । त्यो भनेको सामाजिक र भौतिक दुरी कायम गरेर आफ्नो दैनिकी जारी राख्नु हो । त्यसो त कोरोना लागेको व्यक्तिसँग सम्पर्क हुने बित्तिकै सरिहाल्ने र रोग लाग्दैमा मरिहाल्ने पनि होईन । जुनसुकै रोगलाई जित्न पनि आत्मबल नै बलियो शक्ति हो । गाउँमा मान्छेहरुको जीवनशैली राम्रो छ, खानपिन स्वच्छ छ र घरहरु पनि केही दुरीको फरकमा हुनाले अझै फाइदा हुनेछ । सबैभन्दा मुख्य अस्त्र चाहिँ व्यक्तिगत सावधानी नै हो । तसर्थ, आफ्नैं लागि आत्मघाती नबनौं र अरुको जीवनको लागि पनि खतरा नबनौं । यहि नै अचुक मन्त्र हो । 

Sunday, May 31, 2020

बालापन बाँच्न खोज्दा

बिहान ह्वामा धुरी हेर्यो
साँझ थुर्पा धुरी हेर्यो
फुला उठेको मकै खादै
भुक्क फुलेको रोटी च्याप्दै
दिनभरि रमाई रमाई गाउँ डुल्यो ।

अति रमाइलो थ्यो घामपानी
औधी पृय थिए इन्द्रेणी फूलहरु
धापालसँग टाँसिएको आकाश छुने
कस्तो अदभूत थ्यो रहर पनि ।

मनभरी बोल्दा नि हुने
पेटभरी माग्दा नि पाइने
सुते पनि, उठे पनि
रोएरै जिते पनि हुने ।

उहिले खास नभए पनि
सवैसवै भए जस्तै
अहिले सबै भएभए जस्तो
तर केहि खास हराए जस्तो ।

आफ्नै मर्जीले नबिउँझीन उर्दी छ
मनको कुरा नबोल्न आदेस छ
गरिबीकै मुनि चिनेको अक्षरहरु
जान्ने भएर नलेख्न हुकुम छ ।

देश भताभुङ्ग छ
व्यवस्था लथालिङ्ग छ
कसैलाई छाती चिथोर्नुछ
कसैलाई मंश लुछ्नु छ
कसैलाई मुटु चाख्नु छ
हेर्दाहेर्दै
देश निरस निरस हुँदैछ
राष्ट्रियता खोक्रो खोक्रो हुँदैछ
सरकार भने तिनैलाई भाला ठमाइरहेछ
आफैंले जथाभावी छुरी चलाइरहेछ ।

समाज हेर्छु
खलवल खलवल देख्छु
सरकार हेर्छु
धरमर धरमर देख्छु
गाउँ हेर्छु
सुत्केरीहरु दोकोमै मरिरहेको देख्छु
शहर हेर्छु
रोगीहरु ठेलामै टड्पिरहेको देख्छु
गरीवीले थिचिएर थिलथिलो निधारहरु
कुपोषणले चाउरिएका शिशुहरु
कतै कठ्याङ्रिएका लाशहरु
कतै पहिरोले पुरिएका परिवारहरु
करोडौको हेलिकप्टर भने राजधानीमा जगेडा हुन्छ
उता जनताहरु मलामी गइरहेका छन्
यता शासकहरु सलामी थापिरहेका छन्
प्रशासन हेर्छु
ज्यानमारासँग चियर्स गर्दैछ
अदालत हेर्छु
भ्रष्टचारीकै पक्षमा फैसला सुनाइरहेकोछ
लेखेर के नै हुन्छ र सोच्छु
बोलेर छुच्चो नबनु सोच्छु
मुर्दासँग जीउँदो बात नगरुँ भन्छु
बरु बालापनमा फर्किन खोज्छु
दौँतरीसँग बेस्सरी दगुर्ने मन गर्छु
तर उसैगरी रमाउनै नसक्ने भएछु ।

अक्षर चिनाउने निरक्षर मेरी आमा
च्याटिएको लुङिलाई नमन
माटो प्रेम चिनाउने मेरो बुवा
प्रदेशमा थापेको छातीप्रति सलाम
देशभक्ति बुझाउने मेरो दाजु
सामाजिक मनप्रति कृतज्ञ छु
न्याय सिकाउने मेरी दिदी
जीवन संघर्षप्रति गर्व छ ।

उखुबारीमा दिनहुँ
बहिनी निर्मलाहरुको सास थुनिन्छ
भेरी नदीको वहावमा
दिउँसै नवराजहरु बिलिन हुन्छन्
कतै वर्गीय खाडल देख्छु
कतै अधर्मको चीत्कार सुन्छु
कतै जातीय क्रन्दन
कतै लिङ्गीय दमन
कतै हिंसाको डमडमी छ
कतै आस्थाको विचलन छ
शहरभरी महँगा स्कुलहरु छन्
चोकचोकमा निर्दयी अस्पतालहरु छन्
अनाथ अनागरिक अमान्छेहरु
शिक्षाको भिक्षा चाहिरहेका छन्
ओखतीको आश गरिरहेका छन्
स्वतन्त्र र स्वाधिन राज्य खोज्दै
राज्यसँग न्यायको भिख मागिरहेछन्
निउरोहरु बाँसुरीको धुनमा मस्त छन्
गोयवल्सहरु सारंगीको तालमा लट्ठ छन्
नसुने झै म कसरी गरुँ
नदेखे झै म कसरी गरुँ
बोल्नै नआए झै मौन म कसरी रहूँ
बरु शिर झुकाएरै बिन्ती गर्न बाध्य छु
सरकार! जवाफ देउ
सरकार! इन्साफ देउ ।

अचेल मेरो दैनिकी बदलिएको छ
हरेक दिन नयाँ अवतार फेरिएकोछ
म बुद्ध भएर जन्मिन्छु
गान्धी भएर हुर्किन्छु
दिनभर मार्क्स भएर जिउछु
राती स्टालिन र हिटलर भएर मर्छु ।

मैले बाँचिरहेको दुनियाँ अर्कै छ
म बाँच्न चाहेको समाज झन् भिन्नै छ
देश बुझाइमै बिशाल अन्तर परेछ
जनजनकै भोगाई असमान भएछ
म एकदिन लेख्न बोल्न छाड्नेछु शायद
र चुपचाप पाइलाहरु चाल्न थाल्नेछु ।

सुदुरपश्चिम भोकमा छ
सुदुरपूर्व रोगमा छ
दरवार अझै प्यासमा छ
शितल निवास गहिरो शोकमा छ
देशको दुर्दशाले म आहत छु
मभन्दा बहुत दुखेकोछ सिंहदरवार बालुवाटार
यसर्थ कि
समय उसको बिरुद्धमा छ
अर्को चुनावमा जिन्दावाद र मुर्दावाद भन्नेहरु मर्दैछन्
पार्टीको चिन्हमा सरासर ल्याप्चे ठोक्नेहरु मर्दैछन्
खाडी गएर रेमिट्यान्स पठाउने कामदारहरु घट्दैछन्
सचेतहरु मासुभात र रक्सीमा बिक्न इन्कार गर्दैछन्
म तिनको झुटा सपना बोक्ने भरिया बन्न राजी छैन ।

Friday, May 22, 2020

दुष्ट छिमेकी

छिमेकीले
मेरो आँगनलाई रछ्यान बनायो
चुपचाप सहेर बसें ।

अस्तितिर चल्ला हरायो
बाख्रो हरायो
पानी हरायो
पिंदीको दुङ्गा हरायो ।

काँडेबार लाउँ
पिर मान्छ कि सोच्छुँ
बोलचाल रोकूँ
मर्दापर्दा चाहिएला सोच्छुँ
हुदाहुदै
हिजो त दिउसै दोका नै फोरियो ।

आज त झन् सबेरै
घरभित्रैबाट छोरी चोरियो
बाहिर
बारी चोरियो
माथि
लेकै चोरियो
वल्लो गाउँ नै चोरियो ।

कपटी!
खुल्ला दिललाई घात गर्दैछस्
कठै!
तेरै अहंकारले आफैं जल्दैछस् ।

कसरी सोचिस् तैले
मेरो पुर्ख्यौली नासो हडप्ने
कसरी आँट्न सकिस्
मेरो पुस्ताको छाती चिथोर्ने
कत्रो दुस्साहस गरिस्
स्वाभिमानी इतिहास मेट्ने
कस्तो छली नियत तेरो
नेपाली बंशज सखाप पार्ने
तेरो तिखा दाह्रा नङ्राहरु विरुद्ध
मैले अझै प्रतिकार गर्न नहुने!?

छिमेकी सम्झेर सहनु सहियो
मेरो सर्वस्व लुटिन खोजियो
दुष्ट छिमेकी!
अब त मेरो सबथोक फिर्ता चाहियो ।
२०७७/०२/०७

Wednesday, August 28, 2019

ओलीको बोली र रविको छवि

जनयुद्ध र जनआन्दोलनमा जनताले गरेको बलिदान र त्यागले ल्याएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीतालगायत संविधानमा ब्यबस्था गरिएका सामाजिक न्यायका विरुद्ध विभिन्न बहानामा सडकबाट चर्को आवाज उठ्दै जानू राष्ट्रका लागि कदापि शुभसंकेत होईन ।

देशभक्त नेपालीले त्यत्रो खुनपसिना बगाएर ल्याएको परिवर्तनलाई एउटा पत्रकार रविरुपी आँधीले यति सजिलैसँग हल्लाइदिन खोज्नु देशको लागि निकै घातक छ भलै उल्टाउन सक्ने सामर्थ्य भने राख्दैन र तत्कालै त्यो संभावना पनि छैन ।

तर यिनै ऐतिहासिक परिबर्तनको विपक्षमा यस्तो नकारात्मक माहोल बन्दै जानुको सबैभन्दा जिम्मेवार चाहिँ राज्यसत्ताको गलत रवैया नै हो । अहिले देखिने अधिकांश भद्रगोल स्थितिको मुल कारक तत्व ओली सरकारको बोली, कार्यशैली र व्यबहार नै हुन् । एनसेल काण्ड, वायडबडी काण्ड, सुन काण्ड, निर्मला काण्ड, डा. गोविन्द केसी काण्ड, आदि जस्ता भ्रष्टाचार, अपराधिक घटनाहरु र जनतासँग प्रत्यक्ष सरोकार राख्ने जनजीविकाका सवालमा उचित सम्बोधन हुनुपर्छ भन्ने व्यापक जनचाहना हुनु तर सरकारले खासै चासो नदिनुले जनभावना उद्धेलित हुदैजानु स्वभाविक नै थियो । अनेकौं भ्रष्टाचार काण्डमा आँखा चिम्लेर बस्ने सरकार कहिले गायकको पछि, कहिले पाइलटको पछि त कहिले पत्रकारको हुर्मत लिनखोज्नु र सत्तापक्षका नेताकार्यकर्ताहरु पनि बिषयबस्तुलाई सुक्ष्म दंगले केलाएर प्रधानमन्त्री र मन्त्रीलाई सचेत गराउन छाडी बफादार अरिंगाल बन्ने होडबाजीमा लाग्नु नै परिस्थिति झन्झन् प्रत्युत्पादक बन्दै गएको हो भन्नेमा दुई मत छैन ।

रविले नेपाली नागरिकता त्यागेको सन्दर्भमा उनको घोर बिरोध पनि गरिएकै थियो । कार्यक्रम प्रस्तुत गर्दा सधैं आक्रामक शैली अपनाउनु पनि सबै प्रशंगमा त्यति शोभनीय देखिदैन । कतिपय बिषयबस्तुहरु केवल सस्तो लोकप्रियताकै लागि गरेको जस्तो भाण पनि पर्छन् । तर धेरै जनाले जहाँ जहाँ आफ्नो चित्त दुखेको महशुस गरे त्यहाँ उनको त्यहीँ बोलीले मल्हमको काम गर्दै गयो । जे कुरा बोल्न सकेका थिएनन् त्यस्तै अभिव्यक्ति रविले जोड जोडले दिदै गए । बिदेशमा अलपत्र परेका नेपालीदेखि देशभित्र देखिएका बेथितिको बिरोधमा उनले जसरी कार्यक्रम संचालन गर्दै गए त्यसले कुशासनले आजित मनहरुमा रहेको उकुसमुकुसलाई प्रकट गर्न मद्धत गर्यो । सामान्य नागरिकहरुले राज्य मेरो लागि पनि हो भन्ने अनुभुति गर्नुको सट्टा आफुलाई अनाथ सरह ठान्दै गएका थिए । राज्यले सम्बोधन नगरेका तिनै कुराहरुमा रवि आकर्षक दंगले चिच्याए, जुन सबैले सुने । कुनैबेला सबै समस्याको एकै उद्धारकर्ता कहलाइएका ओली समयक्रममा ओलीको बोलीभन्दा रविको बोली पृय लाग्न थाल्यो । यसै कारण रविको छवि यसरी उज्यालियो कि दुई तिहाईको घाम सरकार छाँयाको रुपमा आम जनमानसमा बुझिन थाल्यो । राज्यको हरेक अंगमा सुधारको अपेक्षा गरिएकोमा उल्टै भ्रष्ट र माफियासँग लहसिदै गएको आभास हुँदै गयो । देशलाई अनेक तरिकाले खोक्रो बनाउने धमिराहरुलाई सरकारले कारबाही गर्न छाडेर झन् उन्मुक्ति दिलाउने प्रयत्नमा पो लाग्दैछ कि भन्ने आशंका उब्जिदै जादा शक्तिशाली बाम सरकारले जनबिश्वास गुमाउँदै जानु निश्चित थियो ।

राजतन्त्रको विकल्पमा ल्याएको गणतन्त्रमा स्थानीयदेखि केन्द्रसम्मकै नेताहरु देश र समाजप्रति गैरजिम्मेवार देखिनु, पद र प्रतिष्ठाप्रति उत्तरदायी नहुनु, खुल्लमखुल्ला भ्रष्टाचारमा मुछिनु, कमिसन लिएर माफिया, दलाल र ठेकेदारहरुको पक्षपोषण गर्नु, प्रशासनिक क्षेत्रमा कुनै सुधार नहुनु, आत्मकेन्द्रित, गुटबन्दी र पारिवारिक लाभमा अल्झिने स्वार्थीहरुकै कारणले सिङ्गो ब्यबस्थाप्रति वितृष्णा र प्रश्न उब्जिनु तथा लुटतन्त्रको झल्को हुन थाल्दा सचेत र इमान्दार देशभक्तहरुको मनमा समेत आलोचनात्मक आशंका जन्मिनु नाजायज थिएन । जहाँ जहाँ सरकार चुक्दै गयो, सरकारको अभाव खड्किदै गयो त्यहाँ त्यहाँ रविले खरो आवाज बुलन्द गर्दै गए र जनताको निराश मनलाई केही हदसम्म तरंगित बनाउन सफल रहे । त्यसैको फलस्वरूप ओलीको बोलीमा विश्वास घट्दै गयो भने रविको मजबुत छवि स्थापित हुँदै गयो । जनताले सरकारलाई भन्दा बढी भरोसा रविलाई गर्ने आत्मनिर्णय गर्न बाध्य हुँदै गए । तसर्थ, जनता सिर्फ रविको पक्षमा उर्लिएका होइनन् बरु सरकारको अकर्मण्यताको विपक्षमा छन् भन्ने बुझ्न जरुरी छ । जब सरकारले तदारुकताका साथ जनचाहना अनुरुप काम गर्दै बिश्वास आर्जन गर्न थाल्छ तब जनताले आँखा चिम्लेर जे गर्छन् सहि गर्छन् भन्ने मनोभावना सिर्जित हुँदै जान्छ । तत्पश्चात स्वत: जनसमर्थन बद्दै जानुका साथै सडकको आकस्मिक आवेगहरु पनि मत्थर हुँदै जानेछन् । त्यसको पहिलो शर्त चाहिँ नेतृत्वपंक्ति पारदर्शी र नैतिकवान हुनैपर्छ ।

मुख्यतः रविको पक्षमा यत्रो दिन यत्रो जनलहर निरन्तर सडकमा उर्लिरहनुमा आफ्नै क्षमता र उनले गरेको सामाजिक कामहरुकै कारणले हो साथै राज्य संयन्त्रको निकम्मापनले पनि मलजल गरेको हो । अहिले धमिलो पानीमा माछा मार्न खोज्ने तत्वहरु सल्बलाउन खोज्नु कुनै अनौठो होईन । यतिबेला आआफ्नो स्वार्थ हेरेर धदिया थाप्ने पात्रहरु थुप्रै छन् । तर माथि उल्लेखित राजनैतिक र सामाजिक परिबर्तनका बिरुद्ध उठेका लोकतान्त्रिक असहमति बाहेक कुनै पनि अराजक कदमहरु न्यायोचित हुनैसक्दैनन्, तिनलाई नियन्त्रण गरिनै पर्छ । यी तत्वलाई सम्पुर्ण रुपमा निस्तेज र असफल पार्ने दायित्व सरकारकै हो । सरकारको जनमुखी कार्यले नै हो । देशलाई आवश्यक पर्दा जनता साथमा थिए र सधैंभरी साथमा हुनेछन् । अबको शासन ब्यबस्थाको विकल्प पश्चगामी होईन, अहिलेकोभन्दा अझै उन्नत मात्रै हुनसक्छ ।

रवि हुन् वा अरु कोहि । कुनै घटनामा मुछिएपछी कानुनी रुपमा छानबिन त हुनैपर्छ । दोषी भए सजाय पाउनुपर्छ, निर्दोष भए कोहि फसाइनुहुन्न र पीडितले जसरी नि न्याय पाउनैपर्छ । तर, महत्वपूर्ण कुरा त यो हो कि सरकार आफैं भरोसायोग्य हुनुपर्यो र न्यायालयप्रति आम जनतालाई बिश्वास दिलाउन सक्नैपर्छ । राजनैतिक भागबन्डामा छानिने न्यायाधीशहरु भएकैले न्याय/अन्यायको फैसला पनि राजनैतिक नेतृत्वबाट नियोजित र अभिप्रेरित हुनसक्छ भन्ने अविश्वासकै उपजस्वरुप सडकमा अनेक नाराहरु घन्किन थालेका हुन् । र ती नाराहरु देश र जनताको हितमा छन् या छैनन्, औचित्यपूर्ण छ या छैन भन्ने निर्क्योल गर्न सरकारले ढिलो गर्नुहुन्न । तिनको जवाफ नदिइ सरकारले कानमा तेल हालेर बसेर हुदैन, ब्यबहारबाट नै पुष्टि गर्दै जान सक्नुपर्छ । रविले आम मान्छेको बिश्वास जित्नु राम्रो हो तर उनीभन्दा पनि अझै भरपर्दो र बिश्वासिलो सरकार हुनुपर्छ ।

ओलीको शैलीबाट रविको उदय अनि रविको नालबाट परिबर्तनको हत्या गर्ने दुस्साहस कसैबाट नगरियोस् । बेलैमा चेतना भया!

Tuesday, February 19, 2019

सलाम! होमलाल भेनाजु

पश्चिमतिर फर्केको मुल दोका, रातो माटोले लिपेको घर । घरभित्र पस्ने सिंदी उक्लेर गएपछी सानो कोठा । त्यही भएको दोकाबाट भित्र पसेपछी मझेरी अनि विचतिर चुल्हो । चुल्होको दक्षिणतिर एउटा झ्याल । त्यही चुल्होमा पकाइएको आलुमा काउली मिसाइएको तरकारी र भात । धेरै जना जंकोटी युवाहरुले एकैसाथ सँगै मझेरीमा बसेर गफिदै खाना खाइरहेको द्रिश्य । घरबाहिर बाटोको छेउमा अग्लो मेवाको वोट अनि  त्यसको टुप्पोमा फलेको दुई वटा पाकेको फल ।

हामी सानो छदैदेखी माडिचौरको माघी मेला साह्रै चर्चित थियो । माघे संक्रान्तीको दिनबाट सुरु हुन्थ्यो, क्रमस: २/३ दिनमा मान्छेको ठुलो भिड लाग्थ्यो अनि फेरी पातलिदै गएर ४/५ दिनमा पुरै मेला फाट्थ्यो । त्यतिबेला मेला माडीखोलाको वारी खेतमा र पारी किनाराको मैदानमा लाग्थ्यो तर बदी चाँही पल्लोपट्टि नै भरिएको हुन्थ्यो । हामीहरु बुद्धी, अर्जुन, ज्ञानेहरुसँग जंकोटबाट त्यहाँको चहलपहल र होटेलबाट उडेका धुवाँलाई नियालेर बस्थ्यौ । अली ठुलो हुँदै गएपछी चाँही घरमा ५ रुपैयाँ खर्च मागेर आँफै मेला भर्न जानथाल्यौ । एक रुपैयाँको जेरी खान्थ्यौ अनि माडीखोलाको चिसो पानी तनक्कै हुनेगरी पिएपछी दिनभरिलाई भोक पुरै हराउथ्यो । अर्को एक रुपैयाँको सिट्टी किनेर फुक्दै यताउती कुद्थ्यौ, खोला तर्न डर लाग्थ्यो त्यसैले छेउमा गएर पानीलाई छुन्थ्यौ मात्रै । खोलाले बगाउछ भनेर आमाले अह्राउनु भएको कुरा सम्झेर पनि होला, किनारातिरै खेल्थ्यौ । खोलामा ससाना दुंगा र पातहरु चाँही फाल्थ्यौ र बगाउदै लगेको रमाइलो मान्दै हेर्थ्यौ । तर हाम्रै उमेरका देखिने माडिचौरका केटाहरु भने नदिमा पौडिएको देखेर अनौठो लाग्थ्यो । प्रायजसो दुई दिन मेला हेरेर घर फर्किन्थ्यौ । माघीमेलाका यस्ता थुप्रै सम्झनाहरु स्मृतिमा अझै ताजै छन् । ति कुराहरु प्रसँग आउँदा खोल्दै जानेछु । हुन त हाम्रो उमेर जसरी नै माडी खोलामा धेरै पानी बगिसक्यो । ती कुराहरुको अर्थ पनि छैन । समयसङै उहिलेको माघी मेला पनि अहिले त रोल्पा महोत्सवमा परीणत भईसकेकोछ ।

२०४९/५० सालतिर जस्तो लाग्छ, म पनि माघी मेला भर्न माडिचौर गएको थिएँ । जलजला युवा क्लबले क्लबका लागि केही आर्थिक जोहो गर्नलाई मेलामा साँस्कृतिक कार्यक्रम देखाउने तय गरेको थियो । त्यसका लागि केही समय अघीदेखी नै गाउँमा रिहर्सल पनि गरेको थियो । त्यतिबेला भलिबल, फुटवल र अहिलेको जस्तो अन्य विधाहरुमा प्रतिस्पर्धा गर्ने र पुरुस्कार जित्ने हुँदैनथ्यो । क्लवले साँस्कृतिक कार्यक्रम देखाउने भएकाले होला कलाकारहरुको टोली पनि अलिक ठुलै थियो । क्लबका सम्पूर्ण पदाधिकारी र कलाकारहरुलाई खान र बस्ने खर्च क्लवले व्यहोर्ने गरी सम्पूर्ण ब्यबस्थापन होमलाल भेनाजुले आफ्नै घरमा गर्नुभएको थियो । म पनि त्यही घरमा दिदीसङै बसेको थिएँ । मैले खाने खाना पनि क्लबको भान्सासङै पाक्थ्यो तर मेरो लागि भनेर अलिकती चामल र तरकारी चाँही होमलाल भेनाजुले छुट्टै थपिदिनुहुन्थ्यो । मैले फूल गोपीको तरकारी पहिलो पटक त्यही खाएको हुँ कि जस्तो पनि लाग्छ । मैले माथि सुरुमै उल्लेख गरेको घर होमलाल भेनाको हामी बसेको त्यही घर थियो । अहिले त त्यो घर भत्काएर त्यसको ठाउँँमा दुंगाले छाएको नयाँ घर बनाउनु भएकोछ ।

त्यतिबेला त्यहाँ पकाइने भात र तरकारी सवै होमलाल भेनाजु र दिदीले आफ्नै खेतमा उत्पादन गर्नुभएको भनेर मैले अलीअली सुनेकोथिए । आफ्नै खेतको चामल, आलु, काउली, टमाटर, प्याज, लसुनलगायत सवै आवश्यक खाद्द्य सामाग्रीहरु केही पनि अन्त किन्नुपरेको थिएन । त्यसबेला आम्दानी त कती नै पो गर्नुभयो होला र तर जुन व्यबसायिकता अपनाउनुभयो त्यो भने तारिफयोग्य छ । म माडिचौर पढ्ने बेलामा पनि स्कुलबाट घर फर्किदै गर्दा कहिले काही दिदीभिनाजुहरुसँग घरमुनिको खेततिरै भेट हुन्थ्यो । उहाँहरुले बेलाबेलामा आलु, बन्दा र टमाटरहरु झोलामा हालेर दिनुहुन्थ्यो । उहाँहरुले त्यसरी दर्शाउनु भएको आत्मियताको प्रभावले नै होला, मलाई उहाँहरु प्रतिको आदरभाव कहिल्यै कमी भएन । त्यती मात्रैले पनि पक्कै नहोला, उहाँहरु दिगो सम्बन्ध राख्न सिपालु, मिजासिलो र मिलनसार हुनुहुन्छ । अशल मान्छे भएकैले बरु उहाँहरु प्रतिको सम्मान झन् झन् बदेर गइरह्यो ।

रोल्पा नगरपालिकाद्वारा संचालित दोस्रो बृहत कृषि तथा औद्योगिक मेला प्रदर्शनीमा सहभागी भएर प्रथम हुनुभएको रहेछ । त्यो खबर सुनेर मनमनै हर्षले गदगद भएकोछु, हृदयदेखी नै हार्दिक बधाई पनि दिन चाहन्छु । यही सँगसङै मेरो मानसपतलमा अनायस मलाई मेरो बाल्यकालको त्यो झझल्को आइरह्यो । उहाँहरुले कहिलेदेखी आफ्नै बारीमा यसरी तरकारी खेती थाल्नुभयो ठ्याक्कै थाहा भएन तर मैले थाहा पाएदेखी नै उहाँहरु निरन्तर आफ्नै बारीमा उसैगरी खटिरहनु भएकोछ । हामीहरुले जागिर दिएनन् भनेर नेताहरुलाई गाली गरेर समय खेर फालिरहेका हुन्छौ, रोजगार छैन भन्दै जाँडरक्सी खाएर गाउँमा हल्लिदै हिडिरहेका हुन्छौ, पढ्नसक्ने अवस्था हुँदाहुँदै पनि पदाइ छाडेर बरालिरहन्छौ, देशमै केही गर्नसक्ने सम्भावनालाई लट्याउदै ब्याजमा ऋण खोजेर बिदेश जान लालयित हुन्छौ तर आफ्नै गाउँठाउँँमा केही गर्न सकिन्छ कि भन्ने तिर चाँही ध्यान नै दिन चाहन्नौ । होमलाल भेना, जो कम्तिमा पनि २५ बर्षदेखी आफ्नै खेतमा अनवरत पसिना बगाइरहनु भएकोछ । शायद उहाँले आफु र आफ्नो परिवारको जीवन धान्न र दैनिक आवश्यकता पुरा गर्न अहिलेसम्म कसैको ज्यालामजदुरी समेत गर्नुभएको छैन । अरुको हप्किदप्की सहनुपरेको छैन र अरुले आफुखुशी तोकिदिएको निश्चित भाऊमा आफ्नो श्रमपसिना बेच्नुपरेको छैन । बुवाले भन्ने गर्नुहुन्थ्यो,"सवैभन्दा ठुलो त दुंगामाटोसँग खेल्नु हो । खेतबारीमा जती पसिना बगाउन सकियो, त्यती आम्दानी दिन्छ । जमिनले हामीलाई कहिल्यै मार्दैन ।" होमलाल भेनालाई देख्दा बुवाले भनेको यही कुरा झलझली सम्झिन्छु ।

हामीले कल्पना गर्ने र भोग्ने यथार्थमा धेरै भिन्नता हुनसक्छ । अरुलाई देखाइने र गरिने चरित्रमा फरक पर्नसक्छ । केही अपवाद व्यक्तिहरु बाहेक हाम्रोसामु रहेको वास्तविकता तितो नै छ । हामीले राजनीतिको आडमा देशलाई लुट्न उद्दत हुन्छौ । समाजसेवाको बहनामा आफ्नो स्वार्थ पुर्ती गर्छौ । धेरै पढेलेखेको भनेर अरुको काँधमा जबर्जस्ती चद्न खोज्छौ । आँफैलाई मात्र धेरै जानेबुझेको ठानेर अरुको अपहेलना गरिरहेका हुन्छौ । हामीले अरुलाई पाठ पदाउन त निकै माहिर भएका छौ तर व्यबहारमा भने असाध्यै तुच्छ हुँदैगएका छौ । यी र यस्तै कारणले नै हाम्रो समाज सामाजिक आदर्शबाट च्युत हुँदै गैरहेकोछ र समतामुलक भावना र आत्मियता हराउदै गैरहेकोछ । खासमा दिनहुँ हामीभित्रको गुणलाई मारेर बैगुणलाई बदावा दिदै गैरहेका छौ र प्रतिदिन खोक्रो समाज र खोक्रो आदर्श बाँच्न वाध्य हुँदैछौ । हामीले हाम्रो लागि जुन महत्वहीन कुरा हो, त्यसमा बदी नै समय र महत्व दिइरहेका हुन्छौ तर जुन हाम्रो लागि असाध्यै महत्वपूर्ण छ त्यसलाई वास्ता नै गरेका हुदैनौ । एक निन्द्रामै रकेट चदेर चन्द्रमा पुग्ने, क्षणभरमै देशलाई कायापलत गरिदिने हावा गफ लाउन र सुनेर ताली बजाउन बानी परेकाछौ तर आफ्नै जीवनस्तर कसरी उकास्ने र सचेत समाज कसरी निर्माण गर्ने बारे चाँही जाँगर नै चलाऊन्नौ । हाम्रो आचरणलाई पवित्र देखाउन अनावश्यक अनेक स्वाङ र भ्रम पारिरहेका हुन्छौं । मेरो बिचारमा त हामीले जीवनमा खास बुझ्नुपर्ने धेरै कुराहरु छन् जस्तो लाग्दैन । हाम्रो दास मानसिकता र आफुलाई अरुकै ज्यामी ठान्ने बिचार बदल्न मात्र जरुरी छ । अरुको मुख ताक्ने प्रब्रितीलाई त्यागेर हामीले आफ्नो लागि आँफैले गर्नुपर्छ र त्यो गर्न आँफै सक्षम छौ भन्ने सोच र संस्कार बिकास गर्यौ भने त्यो सबै सम्भव पनि छ । जवसम्म आफ्नै खुट्टामा उभिन सक्दैनौ, आफ्नै पेट भर्न र जिउ दाक्न सक्दैनौ तवसम्म दुनियाँको जम्मै आविस्कार र चमत्कार सवै मिठ्या नै हुन् । अव 'भोटमा सुन छ, कान मेरो बुच्चै'को उखान दोहरिनु अगावै सचेत र सजगतापुर्बक आत्मनिर्भर हुने बाटो अवलम्बन गरिनुपर्छ । हामीहरु कसैको घोडा र लौरो बन्नुलाई नै वास्तविक परिवर्तन र प्रगती ठान्नु व्यर्थ छ । कुनै पनि परिवर्तन अरुले भन्दिदैमा आउने होइन, त्यो आफ्नै जीवनको हरेक बिहानसाँझ महशुस गरिनुपर्छ । अझै पनि आफ्नै पिशाबको न्यानोपनमा धेरैबेर भुलिरह्यौ भने एकछिनपछी पछुताउनु बाहेक अरु केही गर्नसकिदैन । हामीहरु अहिलेसम्म त चुकिसक्यौ तर अब त्यो गल्तीलाई सच्याउनैपर्छ । होमलाल भेनाले जस्तै आँफै मालिक र आँफै कामदार वनेर स्वरोजगार हुने बाटो अवलम्बन गर्नतिरै सोचौ, आफ्नै घरआँगनमा कुनै उपाय खोज्न थालौ र आँफैमा लागु गरौ । आफ्नै घरमा परिवारसँग साँझबिहान दु:खसुख बाड्दै, सँगै बसेर मिठोमसिनो खाँदै, आपतविपतमा छिमेकीसँग हातेमालो गर्दै जीवन ब्यथित गर्नु जस्तो सन्तुष्टि र आनन्द अरु के नै होला र! होमलाल भेनाजु आँफैमा एक अशल व्यक्तित्व, समझदार र सफल कृषकको उदाहरण हुनुहुन्छ । उहाँ जस्तै कसरी वन्न सकिन्छ, आफ्नै खेतवारीमा काम गरेर पनि सुखिखुशी जीवनयापन कसरी गर्न सकिन्छ, हामीले सो सिक्नैपर्छ । उहाँको स्वाभिमान, पौरख, परिश्रम र लगाव हामीले अनुसरण गर्नैपर्छ । हाम्रो समाजलाई अहिले होमलाल भेना जस्तै थुप्रै पौरखी र मेहनती व्यक्तिहरुको खाँचो छ र त्यो उत्प्रेरणा हामीभित्र पनि पैदा हुनैपर्छ । उहाँ जस्तै सोंच भएका व्यक्तिहरुले मात्रै आफ्नो जीवन, परिवार र सिङो समाजको अनुहार बदल्नसक्ने शक्ति र सामर्थ्य राख्नुहुन्छ । दिदीभेनाजुहरुको जीवनशैली, बिचार र निरन्तर श्रम गर्ने कलालाई हार्दिक सम्मान प्रकट गर्दै भबिश्यका लागि अझै प्रगतिको शुभकामना ।

२० माघ २०७५

Thursday, January 24, 2019

पागलको विपक्षमा

ए! पागल  
कहिल्यै नखुल्ने भो चेत तिम्रो 
सतिले सरापेको मुलुक भन्थे  
तिमीलाई चाँही कसले सरापेछ हँ? 
आँफै अर्धपागल म 
धन्नै तिम्रो संगतले पुरै पागल भईनछु ।  

दुर्गममा चिकित्सक नपुगेर के भो र ?   
गरीब विरामी अकालमै मरे नि के भो र ? 
विपन्नले पढ्न नपाएर के नै हुने हो र ? 
माफियाले सरकार चलाए पनि 
नेताहरु विदेश गई उपचार गरेर आए पनि 
आखिर तिमीलाई हुने नाफाघाटा के छ र!? 

खानेलाई खान देउ 
मर्नेलाई मर्न देउ 
जसको शक्ति छ 
उसैको भक्तिगान गर्ने त हो 
सवै मान्छेलाई वरावरी देख्ने तिम्रो दृष्टिभ्रम 
सवै नागरिकलाई समान सोच्ने तिम्रो दोषी मन 
कठै! तिम्रो पागलपन । 

पुष्तौपुष्ता पुग्ने भ्रष्टाचार गर्नलाई  
न सत्ता चाहिएकोछ तिमीलाई   
न त भत्ता नै 
अपराधबाट चोखिन 
न कसैको सुरक्षा चाहिएकोछ 
न त राज्यको संरक्षण नै 
कुर्सीमा बस्नेका रङ धेरै फेरिए 
तिमी किन कहिल्यै फेरिन्नौ?  
बुदी आमाकोभन्दा वदी देशको माया गरेर  
आफ्नै ज्यानलाई मारेर गरीबको चिन्ता गरेर 
यस्तो के अनर्थ गर्न खोजिरहेछौ?   
कठै! तिम्रो बहुलापन । 

तिम्रो सोंच 
तिम्रो नैतीकता 
तिम्रो भावना 
सवै सवै त्यागिदेउ 
वरु गिज्याउनदेउ साँझ बिहान तिम्रै निष्ठालाई   
त्यागी न हौ तिमी  
त्यसै त अरुकै लागि जीवन त्याग्न तयार छौ  
न श्रीमती 
न छोराछोरी  
किन गर्दैछौ बेथितीको विरोध?     
कसका लागि बसाल्नुछ - संस्कार?   
ए! पागल
यो तिम्रो कस्तो जिद्दि मन !?  

वाणले छियाछिया शरीरको असह्य पिडा सहदै   
तिखा तीरैतीरैको ओछ्यानमा पल्टिरहेको भिष्मपितामह झै  
अविचलित, निसंकोच, द्रिद, शान्त, शान्त 
ए! पागल 
तिम्रो पाउ छोएर मेरो अन्तर्मनले प्रणाम भनिरहेछ  
तर 
तिमीले झै अन्न र पानी त्याग्ने आँट छैन मसँग 
मभित्रको लोभ, स्वार्थ, मोहलाई जितेर 
न त अरुको सुर्ता गर्दै पागल वन्ने सामर्थ्य नै  
ए! पागल  
अरुकै निम्ती प्राण दिन तयार 
यो तिम्रो कस्तो बिचित्र तन!? 
तिम्रो यो कस्तो पवित्र मन!? 

ए! पागल 
म पागल बन्न नसक्नेरहेछु
कृपया! तिमी नै अर्धपागल वनिदेउ 
फोहोरमा सुहाउने झिंगाहरुलाई 
भन्किनदेउ त्यतै रछ्यानतिर  
प्रिय! पागल 
निस्वार्थ सेवाको अभियोगमा यमराज  
जारी गर्दैछ अहंकारको रेडकर्नर नोटिस तिम्रै नाउँमा       
सत्याग्रहीको सम्मान गर्दै सरकार  
अभिनन्दनको शान्दार कात्रो बुन्दैछ  
तिमी भने निश्चिन्त 
बुझाईरहेछौ - सत्य र धर्म     
खोजिरहेछौ - कोठीमा बन्देज न्याय  
चाहिरहेछौ - मानवता 
मागिरहेछौ - नागरिक हक 
र बसिरहेछौ आमरण अनसन      
यो तिम्रो कत्रो आत्मबिश्वास!?  
तिमी कस्तो दुर्लभ पात्र!? 
तिम्रो यो कस्तो चरित्र!? 
प्रिय! पागल  
बिन्ती छ  
अरुकै लागि सर्वस्व त्याग्न तयार तिमी 
अव तिम्रै पागल ब्रम्हज्ञान पनि त्यागिदेउ ।   

११ माघ २०७५  
हुबेई, चाइना 

Wednesday, January 16, 2019

सुनछहारी

सुनछहारी! 
पुस्तौदेखी बेहिसाव बगिरहेछ 
कलकल 
निरन्तर ।    

केवल पानी त कहाँ बग्यो र!?  
छालसँग खिइदै सुन पनि बगिरह्यो  
गहनाले सजिने आमादिदीहरुको रहरहरु 
बर्खे भेलले त झन निर्मम मुग्लान कटाइरह्यो ।  

नाक र कानहरु बुच्चै पारेर  
बगिरहेछ, पवित्र कहलिदै सुनपानी झरना 
सतिसाल झै ठिङ उभिएकोछ ईतिहास  
तर समयसङै ओझेल पर्दै गैइरहेछ रोल्पा । 

जती बाझै छन खेतका आलीहरु 
त्यस्तै छन रित्तिएका काख पनि  
जती उजाडिए रोल्पाली भिरपाखा 
त्योभन्दा खुइलिएका अचेल मनहरु 
कसले लायो - सुन 
कहाँ मिसियो - पानी 
मुल पुरै बेखबर छ 
जसरी बेखबर छन आमाहरु 
तिनै बगेका रहरहरु खोज्न निस्किएका सन्तान बारे । 

पानीसङै सुन बगिरहेछ 
जून रोज्दा आफ्नै गुण हराइरहेछ 
एउटा सिङो जुगको उर्जा भरेर     
सपनाको सफल उडान गर्दागर्दै 
अन्तै पो भएछ रोल्पाको आकस्मिक अवतरण । 
०१ माघ २०७५
15th Jan 019 

मन्जुरिनामा

आमा!  
तिम्रै यादमा वेचैन छु अचेल 
ओखोतीमुलो लिएर पौरखभरी 
हतारमा छु बिसेक पार्नलाई । 

गोडा दुख्दा उठ्नलाई  
टेक्ने लठ्ठी वन्न सकिनँ 
खोकी लाग्दा जुध्नलाई  
कुनै वुटी दिन सकिनँ 
साथै नभए पनि 
छेउमा नरहे पनि 
मर्म बुझेकोछु आमै  
म वेस्सरी दुखेकोछु आमै ।   

आमा! 
गाउँ आफ्नो रहेन 
शहर आफ्नो भएन 
प्रदेश त झन कसरी आफ्नो होला र!   
एक्लै छाडेर टाढा जानलाई  
चाहना त मेरो कहाँ थ्यो र! 
मन नलाई नलाई 
आँखा रुवाई रुवाई 
कठोर वन्न विवश छु आमा । 

जती जती नजिक हुनखोज्छु 
त्यती त्यती टाढा धकिलिदैगाछु   
ताकेको दिशा नै फरक परेछ कि! 
हिंडेको पाइलाकै चाल विरेछ कि!  
बिहानी भेट्न हतारिदै जती पूर्व कुद्छु 
उत्ती नै पो हुत्तिदै पश्चिम पुग्छु 
जत्ती उत्तरतिर शिखर चद्न खोज्छु 
त्योभन्दा वेसी नै पो दक्षिण भास्सिन्छु  
शान्ति खोज्दाखोज्दै आँफै आशान्त वन्छु 
पुस्तक पद्दा पद्दै समाज झनै दुर देख्छु 
जसको डर छ मलाई  
उनैको भर छ तिमीलाई  
छुच्चोलाई जाती मान्छौ 
अल्छिलाई राम्रो ठान्छौ  
अमर्यादितलाई प्यारो भन्छौ 
तिम्रै पिरले आमै 
दिनहरु हाँसेर वितेका छैनन 
रातहरु निदाएर कटेका छैनन  
जती तिम्रो विसन्चोको खबर सुन्छु 
विक्षिप्त म अजङको ददेलो हुन्छु 
मभित्रको न्याय र धर्ममा आगो झोसेर  
भर्खरै गएर श्रद्धान्जली दिउ झै लाग्छ 
कुपुतहरुका सारा लस्कर भष्म पारुँ झै लाग्छ 
तर, अहँ सक्दैन 
अन्धा साङ्लोले वाँधिएका जागरुक कुकुरहरु  
अनिष्ट रोक्नलाई जोड जोडले भुकिरहेछन   
बहुला हात्ती वितण्डा मच्चाउदै सिंहदरवार पसिरहेछ 
म टुलुटुलु हेरिरहेछु  
आफ्नै आँशुमा डुव्छु र जवर्जस्ती निभ्छु 
जती सोच्छु, त्यती आफुलाई मुर्दा सम्झिन्छु 
आमा!   
वरु वैध अपराधी करार हुन राजी छु   
म तिम्रो वैध सन्तान अवैध जिउन चाहन्न  
म वैध अपराधी कवोल गर्न मन्जुर छु 
म वैध अपराधको सजाय भोग्न तयार छु । 
२०७५ पौष २३ 
9th Jan 019
स्याङ्याङ्, चाइना