Friday, June 17, 2011

सुनको पोते

सुनको पोते चाह्यौ तिमीले, फूलको माला मैले ।
धनको स्वर्ग माग्यौ तिमीले, मनको स्वर्ग मैले ।

भेटघाट भाग्य भन्थे, मलाई खेल भयो
चोखो माया गर्नु पनि, कस्तो छल भयो
सुनको मोह गर्यौ तिमीले, जूनको मोह मैले
देवी देउता पुज्यौ तिमीले, पिरतिलाई मैले ।

रुन गाह्रो भन्छन यहाँ, मलाई शिरानी भो
त्याग गर्न साह्रो भन्छन, पिडा बिसौनी भो
धनको मोल जित्यौ तिमीले, जूनको मुस्कान मैले
मान्छेहरु पुज्यौ तिमीले, एउटा ह्रिदय मैले ।

सुनको पोते चाह्यौ तिमीले, फूलको माला मैले ।
धनको स्वर्ग माग्यौ तिमीले, मनको स्वर्ग मैले ।
16 June 2011

तिमी र झुल्के घाम

साथी!
तिमीलाई थाहै छ
मलाई बिहानी मन पर्छ
किन कि,
मलाई उस्तै-उस्तै लाग्छ
तिमी र झुल्के घाम ।

बिहानीको झुल्के घाम
शिरुको यौवनसँग लहसिदा
शितको थोपा लजाएको पल
मलाई औधी मन पर्छ
किन कि,
मलाई उस्तै प्यारो लाग्छ
त्यो परिवर्तनशील समय ।

मेरो एक अब्यक्त रहर
तिम्रो सुहागको द्रिश्यबलोकन गरी
सर्माएर शिर निहुरिदा पनि
हर्षित उत्तेजनाले उफ्रिने मन
किन कि,
त्यो आशा र भबिश्य भेट्न
छिप्पिएको धैर्यता आतुर छ ।

साथी!
म जंकोटको पिडाले बिक्षिप्त छु
किन कि,
मलाई झनै प्यारो छ
जन्मभूमी र मातृभूमी ।

मेरो एउटै चाहना छ
टुकीहरु बल्नुपर्छ-थोत्रा झुपडीहरुमा
बच्चाहरु रुनुपर्छ-सुनसान घरहरुमा
हलिहरु नारिनुपर्छ-बाँझो खेतहरुमा
भालेहरु बास्नुपर्छ-रातको बिदाईमा
तसर्थ,
मेरो साथी!
गर्भबाट स्वप्न भ्रुण होइन
हुर्केकै शिशु आत्मा जन्मिनुपर्छ
तिमीलाई प्रसव ब्यथाको सन्जीवनी
म निर्धक्क पिलाइदिनेछु ।
12 June,’011

कमरेड

कमरेड!
अब त हदै भएन र!?
झुतको खेती नि पाकिसक्यो
झुठा आश्वासन नि पुगिसक्यो
मिठा कुरा'नि अब तिता भए
गुलिया नारा'नि अमिला भए
निसंकोच!
जनसेवक र राष्ट्रसेवक भनिनेले नै
जनता र राष्ट्रसँग
सधैं छलछाम-झालझेल
यो कस्तो बिचित्रको खेल खेल्यौ?
तिम्रो गरम भाषणले साह्रै गर्‍यो
चर्को नाराले भतभती पोल्यो
कमरेड!
अब त हदै भएन र भन्या!
अब अलिकती नैतीकता छ भने
कृपया
इमान्दारीपूर्बक जिम्मेवारीबोध गरेर
नरम भाषण र शान्त आसनबाट
प्रगतिको खेती मात्र गरे हुन्थ्यो
चर्कै चर्को बिकास गरे हुन्थ्यो
उकुसमुकुस यो बातावरणमा
शितल बायु छरे हुन्थ्यो
कमरेड!
अब त साँच्ची हदै भयो ।
12 June,’011

Friday, June 3, 2011

बियोग

इस्पाट झै देखिए नि
खोक्रो छु म भित्र भित्रै
सम्हालिएर हिंडें पनि
छरपस्त छु यत्र तत्रै ।

हृदयमा साँचे मैले
काँडा बिझाइ दियो
नचाहेरै आज फेरी
आँखा रुझाइ दियो ।

ताल झै चोखो शान्त प्रित
चट्याङ् बन्नु रहेछ
सुघन्धित त्यो हाम्रो नाता
लठ्याइ जानु रहेछ ।

संसार नै 'जितें' सोच्थें
उनको सामु हुँदा पहिले
खुट्टाहरु लुलाईगए
उनकै सामु पर्दा अहिले ।

ओछ्यानले रुवाइदिदा
उज्यालोको शरण पर्छु
अन्धकार भो उज्यालो नै
बियोगी म जिउदै मर्छु ।

तस्बिर साँच्ने यि आँखाहरु
प्रिय छन ब्यथा पोखे पनि
खोजिरहन्छन आशै आशमा
आउछिन कि अझै भनी ।

आगोले के पोल्दो हो र !
सम्झनिमा पिरोलिदा
दु:ख भोग्न के गाह्रो र !
बाटो बिचमै अल्मलिदा ।

खै कुन्नी कती होलान
उनकै लागि जिउनेहरु
उस्तै होलान मैले जस्तै
ब्यर्थ आसुँ पिउनेहरु ।
18 May, 2011

मे'११

- Few cries n few laughs make a little big man, ME!
5 May 2011

-"All that I am, or hope to be, I owe to my angel mother.” ~ Abraham Lincoln

-"God could not be everywhere and therefore he made mothers." ~ Jewish Proverb
Happy Mother's Day!
08 May 2011

- Either I will change or ll be changed!
(जब म मातृभूमी फर्केको थिएँ, नेपाल बदल्ने ठुलो अठोट लिएर आएको थिएँ तर अचेल नेपाल मलाई बदल्ने दुस्साहस गर्दैंछ । म नेपाल बदलिनुपर्छ भन्छु, नेपाल मलाई पो बदल्न खोज्दैछ । हामीले अहिलेसम्मको ईतिहासलाई हेर्दा राजनीति फोहोरी खेल होइन भन्ने आधार पनि पाउन सकेका छैनौ । आजभोलि जताततै राजनैतिक हस्तक्षेपले हरेक क्षेत्रलाई झनै घीनलाग्दो बनाइ दिएको छ । यस स्थितिमा केही बाँकी रहेका आशा र विश्वाश पनि तुट्नुका साथै थप बित्रिष्ना उत्पन्न भैदिन्छ । मेरो कुनै खाश निती नभए पनि नैतिकता छ र यसैमा म अडिग छु र रहनेछु ।)
10 May 2011

- ए मान्छे!
तिमी बिश्वास गर न
"गधालाई धोएर कहिल्यै गाई हुँदैन ।"
15 May 2011
(मैले मान्छेको व्याबहारिक पक्ष बोल्न खोज्दैछु, यहाँ राजनैतिक पूर्बाग्रही र प्रतिशोधको भावना पोखिन्छ । लेख्नुस्, मान्छेको गुण र स्वभाव आफ्नै अनुभवमा यहाँलाई हार्दिक स्वागत र मुरी मुरी धन्यवाद छ तर गलत ठाउँमा यि कुरा अशोभनीय हुन्छन चाहे जतिसुकै सहि नै किन नभैदिउन । नेपाल अगाडि नबद्नुमा हाम्रा यस्तै कमजोरी र पछौटेपनले गर्दा पनि हो । मुख्य समस्या अरुमा भन्दा पनि हामी आँफैभित्र छ । देशको दुर्गति हुनुमा नेतालाई मात्र दोष दिएर हामी जनता चाँही चोखो हुनैसक्दैनौ । आखिर जनताले नेता बनाउने न हो । नेता त जनताले गरेका निर्णयको उपज मात्र हुन । तेङ्बे जी, यदी मौका मिलेछ भने यो तपाईंको प्रश्न अर्थात जिज्ञासा माओवादी पार्टीको कुनै नेता कार्यकर्ता वा प्रधानमन्त्री वा गृहमन्त्रीलाई नै राख्नुस्, शायद उचित जवाफ पाउनुहुनेछ । अन्यथा, मैले जस्तै हेर्दै जानुस् आँफै देख्नु हुनेछ । नेपालको कुन नेता र कुन मन्त्री तथा कुन घटना पो उदाङिन बाँकी छ र !? भोली नभए पर्सीसम्म त देखी नै हालिन्छ नि । हिजो अस्ती पनि देखिएकै हो क्या रे!)

- Buddha was born in Nepal!
He was our natinal hero n will always be !
Happy Buddha Jayanti!
17 May 2011 (२२ महिनासम्म सडकमा राष्ट्रिय स्वाधिनताको चर्को नारा लगाउने माओवादी पार्टीले त्यस अबधिभर कम्तिमा पनि एक पटकसम्म न बुद्धको नाम उच्चारण गर्‍यो, न त बुद्धको जन्मस्थल लुम्बिनी बारे भारतले बिश्वसामु छरिरहेको भ्रमको बिरोध नै गर्‍यो । शायद देशका हजार ठाउँमा सभाहरु आयोजना गरेर भाषनमा गर्जियो होला तर राष्ट्रिय मुद्धा उठाउने भन्दा बदी त प्रतिशोध मात्र पोखिरह्यो, सिर्फ गाली मात्र गरिरह्यो । दुष्ट छिमेकीले गरिरहेको षड्यन्त्र र ईतिहास बङ्याउने दुस्साहस बारे मुख खोल्ने आबश्यक कहिल्यै ठानेन ।)

- हरेक मौसममा थुटुनो मिठ्याउदै र हातको कुहिनोसम्म रस चुहाउदै सत्ताको फल चुस्न पल्केको कांग्रेसले राष्ट्रिय एजेन्डा लिएर बहसमा उत्रिनुको सट्टा हिनताबेगमा मुर्मुरिदै भूई चिथोर्नुको केही अर्थ रहनेछैन । यि महाजनहरुका गुलिया भाषण अर्को नौटंकी बाहेक केही हुँदै होइन । हामी जनताका लागि शान्ती र संबिधान समस्या होइन, समाधान हो । सरकार सर्त होइन, अनिबार्य आवश्यकता हो ।
20 May 2011

- बोल्ने देवता!
21 May 28, 2011

- It may be hard but be always ready to speak your mind!
24 May 28, 2011

- "With every step that you take with courage, you receive a thousand fold help from God."-Unknown
26 May 28, 2011

- Know your Dream, know your illusion
Know your destiny, see your vision!
28 May 28, 2011

- संबिधानसभा न बिगठन हुनेछ, न त निस्कृय नै । देशलाई खरानी र जनतालाई मलामी बनाउने दिवास्वप्न नदेखेकै जाती हुनेछ । एउटा भएको बैधानिक निकायलाई भङ गरेर थप अस्थिरता निम्त्याउन चाहने देशद्रोहीका बिरुद्ध मुकाविला गर्दै उचित फैसला गर्ने समय हो यो ।
28 May 2011

गीत - कहिले उनीलाई

कहिले उनीलाई भेट्न नपाई, पल-पल तड्पिरहेँ ।
कहिले उनीले देख्लान् भनी, क्षण-क्षण झस्किरहेँ ।

माया भन्नु यस्तै रहेछ, अतितलाई साँच्नु पर्ने
जित्दा जित्दै हार्दा पनि, जिन्दगी यो बाँच्नु पर्ने
बिर्सिसकेँ भन्छु तर भित्र भित्रै सम्झिरहेँ
सम्हालिन खोज्छु तर आँखाहरु रुझिरहे ।

बाचा-बन्धन भन्नु रहेछ, एकैटर्फी/एकलौटी तोड्न मिल्ने
लेखिएको साईनो पनि, भाग्यबाट मेट्न मिल्ने
अजम्वरी प्रेम थियो, दुई दिनलाई थियौं हामी
जुनी-जुनी सङै भन्थ्यौं, आफै दियौं दागबत्ती ।

पहिले उनीलाई भेट्न नपाई, पल-पल तड्पिरहेँ ।
अहिले उनीले देख्लान् भनी, क्षण-क्षण झस्किरहेँ ।
16 May, 2011

Saturday, May 21, 2011

अन्तिम संकल्प

जंकोटमा जन्मिएर शिशु
हुर्किदै, बद्दै, खेल्दै
थोरै पढ्यो, थोरै बुझ्यो ।

दाङतिर झर्दै गर्दा
बाल्यकालिन बिछोडले पिरोलिदै
रोयो, बेस्सरी रोयो
दौतरीलाई पनि खुब रोवायो ।

आमा भन्छिन,
"नरो, बा! नरो
तेरै लागि न हो ।"

उसलाई दाङले रोल्पा चिनायो
जन्मस्थलको चोखो प्रेम बुझायो ।

दाङमा केही पढ्यो, केही देख्यो
नयाँ केही सिक्यो, केही बुझ्यो ।

काठमाडौंतिर गुड्दै गर्दा
रोल्पाको यादमा तड्पिएर
दाङसँगको लामो दुरी नाप्दै
छट्पटियो, निकै भक्कानियो ।

आमा भन्छिन,
"नरो बा! नरो
धेरै पढेर आएस ।"

काठमाडौंले अली बदी देखायो
प्रगती, दुर्गति, युद्ध, शान्ती
बिपन्न झुपडी र सम्पन्न महल चिनायो
जिल्ला र राजाधानीको सम्बन्ध खुलायो ।

समयले भबिष्य खोज्यो
उद्देश्य चुनेर गन्तब्य रोज्यो
बिदेशतिर उड्दा उड्दै
सुन्दर सपना देख्यो
थोरै कर्तव्य सिक्यो, थोरै जिम्मेवारी बुझ्यो ।

त्यो द्रिड संकल्पका वाबजुद
माता र मातृभूमीको बिछोडमा
ऊ हृदयदेखी धुरुधुरु रोयो ।

आमा भन्छिन,
"नरो बा! नरो
योग्य बनेर आएस ।"

"जननी जन्मभुमिश्च स्वर्गदपी गरियसी ।"

बिदेश अझ बदी खुल्यो
मानवीय स्वास्थ्य पढायो
सामाजिक मर्यादा घोकायो
बिकास-बिनाश र ईतिहास देखायो
शान्ती चखायो, सभ्यता सिकायो
स्वाभिमान र राष्ट्रियता बुझायो ।
………………१…………………

अब उसलाई सोधिनेछ
के देख्यो, के-के चिन्यो
कती सिक्यो, कती बुझ्यो
गाउँले सोध्नेछ, शहरले सोध्नेछ
सोध्नेछन उसको सखाले, दौतरीले ।

आमाले फेरी भन्नेछिन,
"गर, बा! गर
तेरो आँशुको योग्यता पुष्टि गर ।"

ऊ निरन्तर परिक्षणमा हुनेछ
अर्थात, म निरन्तर परिक्षणमा हुनेछु ।
……………२…………………

यहाँ यस्तै छ
गर्छु भन्नेहरु मरेर गएका छन
नगरेर, नसकेर
उसो त गर्छु नभन्नेहरु पनि
मरेर नै गएका छन ।

जनम-मरण बिज्ञान नै हो ।

मलाई यकिन हुन्न
म सिर्फ मर्छु वा केही गरेरै मर्छु
मेरो चिता पनि बन्ला या नबन्ला !?
तर, यो निश्चित छ
मृत्‍यु पछी मेरो लाशलाई
मुल्याङ्कनको कठगरामा उभिनुपर्नेछ
र, मलामीले पक्कै प्रश्न सोध्नेछन
"जीवन र मृत्‍युको उचाई" ।

म चाहन्छु,
मेरो लाश जुरुक्क उठेर
एक-एक प्रश्नको जवाफ दियोस
हरेक जिज्ञासु मलामीलाई पूर्ण शान्ती मिलोस
अन-त-मा
खिन्न र दु:खी आत्मियताको सतीत्व
त्यो एउटा चिता दनदनी बल्न थालोस ।
………………३……………
16 May 2011

Thursday, May 12, 2011

अन्त्य श्री

मान्छेहरु अचेल
आफुलाई भन्दा अर्कैलाई बदी माया गर्न थालेका छन
आफ्नोमा भन्दा अरुकोमा ब्यर्थै लोभिन थालेका छन
त्यसैले त,
जिन्दगीको हरेक पल हाहाकार बाँच्न बिबश छन
यमलोक र मर्त्यलोकका घर-गल्ली, सडक-दरवार
जताततै हाहाकार र कोलाहल मच्चिरहेछ
म पनि सुन्छु, देख्छु
अपराध, असन्तुष्टि, अनुशासनहिनता, अराजकता,.. ।

प्रिथ्बीलोक बेस्सरी चिच्याउछ
उसको खुशीमा यमलोकले आँखा लगायो रे!
यमलोक क्रोधले गर्जिन्छ
उसको दूतको जागिरै खोसियो रे!
यमदुत ओछ्यानबाट नबिउँझीदै
मर्न चाहनेहरुको लस्कर दोकैमा पुग्छ रे!

न बाँचेका छन, न बाँच्न नै दिएका छन
आफ्नै धर्ती छाडेर नरकतिर तछाडमाछाड कुदिरहेछन
यि मान्छेहरु मर्न र मारिन किन यती लालयित छन ह!?

ए! मान्छेहरु
ति फोस्रा नरकको स्वत: मोहभङ पार्नलाई
अब सधैं सधैंलाई दानवीय पेशा त्यागेर
पुन: मानवीय धर्म अँगाल्ने होइन ?
किन कि
हामी आँफैले अन्त गर्नुछ
मर्त्यलोक र यमलोकमा गुन्जिरहेको
त्यो ध्वास, अहम र सप्पै अनर्थहरु ।
11 Apr,’011

Thursday, May 5, 2011

शीर

“जे छ शीरमै छ”
सबैले यस्तै भन्छन
मलाई हेर्न मन लाग्यो
आखिर के रैछ त शीरमा ?
चत्रक्क!
आफ्नै शीर काटिदिएँ ।

अरु केही देखिनँ
एउटा अनौठो!
सामुन्ने आफ्नै शीर देखें
अर्को अनौठो!
मेरो त कपाल फुल्दै रहेछ
भक्कानिएर रुन मन लाग्यो ।

तर, ‘म’ त गुमेछु
म अब ‘म’ रहिनछु
नराम्ररी झस्किएँ
झत्तपत्ट् शीर हातमा उठाएँ
टाउकोका जम्मै काला केसहरु पनि
शायद अब सेतै फुल्नेछन ।

अचानक,
मेरै लाग्ने मधुरो आक्रितीले
अद्रिष्य रहेरै बेस्सरी झपार्यो
ए मनुवा!
तेरै अबमुल्यन किन गर्दैछस ?
तेरो अस्तित्व किन मास्दैछस ?
‘तँ’ भनेकै तेरो शीर न हो ।

ए मान्छे हो!
हो त रैछ
जीवनको सुख-शान्ति र आत्मसम्मान
हाम्रो पूर्ण अस्तित्व त शीर नै पो रैछ
म नतमस्तक भएर
फेरी मान्छे बन्नकै लागि
छुट्याएको शीर पुन: जोडिदिएँ ।
25 Apr ‘11

Monday, May 2, 2011

दुई बर्ष दुई दिन पछी

बुवाको देहान्त भएको पनि आज दुई बर्ष दुई दिन भैसक्यो । यस अबधीभर हामीले धेरै समय रोएर कटायौ, थोरै समय हाँस्न खोजेर बितायौं । आफुमाथि जे आइपर्छ सो भोग्नै पर्ने र सहनै पर्ने नियतिका कारण असह्य भए पनि जसोतसो जिउन वाध्य भएका छौं ।

मलाई बुवा बिना सुरु भएका ति पिडादायी दिनहरु बिताउन निकै गाह्रो भएको थियो । जतिखेर पनि आँखा अगाडि बुवाको मुस्कुराइरहेको शान्त स्वरुप आउथ्यो, दिमागमा बुवाकै याद मात्र झलझली आइरहन्थ्यो । पढ्न बस्थें, बुवासँग सम्बन्धित रोग र तिनका प्राय लक्षणहरु हुन्थे अनी रुदै-रुदै कम्प्युटर बन्द गरिदिन्थें । मनलाई अन्तै मोड्न र अली शान्त पार्न बाहिर पार्कतिर निस्कन्थें, बाटोको छेउछाउ बुदाबुदी मान्छेहरु तुक्रुक्क बसिरहेका हुन्थे । कोही बुवाहरुले छोराको हात समाएर रमाउदै हिडिरहेका हुन्थे । कोही बुदा मान्छेहरुको अनुहारमा बुवा देख्थें, त कोही बच्चाहरुको अनुहारमा स्वयम आँफैलाई भेट्थेँ । अनी झन मुटु कतक्क खाएर आउथ्यो, दु:ख झन-झन बदेर आउथ्यो । तर पनि आफुलाई सम्झाइरहें, सकी नसकी चित्त बुझाउने कोशीस गरिरहन्थें, गरिरहें ।

मलाई अझै पनि राम्ररी याद छ, बुवाको शोकमा खुशी हराएको बेला बि.बि.सी. नेपाली सेवाले पहिलो खुशी दिलाएको थियो । लगभग दुई महिनाको अन्तरालमा मैले पहिलो पटक खुशीसँग साक्षर गरेको थिएँ । त्यो दिन जेष्ठ १४ गत्ते थियो, लोकतन्त्र दिवसको दिन । बि.बि.सी. ले मेरो टिप्पणीलाई छनौट गरेर आफ्नै आवाजमा प्रसारण गर्ने मौका दिएको थियो । मैले धेरैपछी बल्ल त्यो दिन कता कता अन्तरात्मामा अली अली भए पनि हर्षको अनुभुती गरेको थिएँ । त्यसदिन, मलाई पुराना खुशीका आफ्नै दिनहरुको थोरै स्पर्श र स्मरण भएको थियो ।

मलाई सधैंभरी बुवाको अभाव भौतिक रुपमै खट्किरहेको त थियो नै, मानसिक रुपमा भित्र भित्रै गल्दै पनि गएको थिएँ । त्यो निर्दयी क्षणहरुमा मन मिल्ने एउटा प्रिय साथी नहुँदा म प्रायजसो गुम्सिएर नै बसेँ । मलाई दौतरीहरुको सम्झनाले खुब पोलेको थियो । मनभित्र भावनाको उकुसमुकुस र आलो घाऊको पिडाले निकै मर्माहत र साह्रै कमजोर भएको थिएँ । अहिलेसम्म त्यत्तिको मेरो आत्मबल कहिल्यै घटेको थिएन, त्यत्तिको कमजोर छु भन्ने आफुलाई कहिल्यै लागेको पनि थिएन । मेरो मनमा एउटै कुरा आउथ्यो," भगवान! नेपाल छिट्टै गएर आमासँग हरेक समय सङै बिताउन पाउँ । मेरो आमाको आयु मेरोबाट घटाएर भए पनि अझै धेरै बर्ष थपिदेउ ।" तर समय न चाडो न त ढिलो चल्ने हो । त्यो समय मेरो बसमा थिएन । मलाई आफ्नो अध्ययनको पुरा समय त बिताउनै पर्ने थियो । त्यतिखेरको चरम निराशालाई सान्त्वना दिन फेसबुकले मलाई राम्रो साथ दिएको थियो । शायद मैले फेसबुकमा भेटेका ति पवित्र आफन्तहरुको ऋण कहिल्यै तिर्न सक्ने छैन । म सधैंभरिका लागि आभारी रहनेछु ।
-----------------------------------------
म इन्टर्न्शिप गर्न नेपाल आउने भए पछी बुवा बिनाको घरमा पहिलो पटक कसरी पाइला टेक्ने भन्ने डर थियो । मेरी आमालाई बुवाबिना एक्लो पाउदा कसरी मन थाम्न सकुँला, जस्ता अनेक तर्कनाहरुले पिरोलिरह्यो । मेरै लागि जेठा दाजुले पनि नेपाल आउने योजना बनाउनु भएछ । काठमाडौंमा भेटेर सँग सङै घर जाने सल्लाह भएको थियो । त्यसै अनुरुप उहाँ अप्रिल ३ मा नेपाल आउनुभयो तर मेरो अली नमिल्ने भयो । तसर्थ, मेरो बस्ने ब्यबस्थाहरु मिलाएर दुई हप्ता पछी बल्ल रोल्पा जानुभएको थियो । रोल्पामा आमा हुनुहुन्छ, दिदी भेनाजुहरु हुनुहुन्छ, सबै इष्तमित्र हुनुहुन्छ । आज फोन गर्नुभयो र एउटा खुशीको कुरा सुनाउनुभयो । बुवा स्वर्गे भएको दुई बर्ष पुगेको दिन हाम्रो गाउँको स्कुललाई बुवाको नाममा एक लाख सहयोग गर्दिनुभएछ । यो सुन्दा मेरो छाती घमण्डले होइन गर्वले गमक्क फुलेको थियो ।

एउटा लाहुरे । पैसाको लागि आफ्नो जिन्दगी बन्धकी राखेर प्रदेश पसेको मान्छे । जो कसैको कल्पनामा पनि निर्मम अनी अती क्रुर प्रतिबिम्ब झल्किन्छ । तर त्यसको ठीक बिपरित एउटा सम्बेदनशील मन जंकोटलाई हृदयदेखी माया गरिरहेछ । शिक्षाको सानो बिरुवालाई बचाउन र हुर्काउन कोमोल माली बनेर पानी सिंचिरहेछ । अध्यारोमा निभ्न लागेको मधुरो बत्तिलाई थोरै भए पनि हत्केलाले हावा छेक्न खोजिरहेछ । शिक्षाको ज्योति फैलाउने स्कुलका लागि केही किरण थपिरहेछ । भन्न मन लाग्यो, 'जँकोटको अशली छोरा' । मैले अहिले इमान्दरिपुर्बक भन्नु पर्दा 'मेरै दाजु साइनोको सेन्टिमेन्ट' मात्र छैन, एउटा जँकोट गाउँवासीको नाताले भनिरहेकोछु । अलिक पैसा कमाएर आफ्नो छोरा छोरीलाई शहरबजारका बोर्डिङ स्कुलतिर भर्ना गर्नेहरुले आफ्नो गाउँका ति गरीब आफन्तहरुको बालबच्चाहरुले पढ्ने स्कुल र शैक्षिक स्तरका बारे चिन्ता गर्नु र सकेको योगदान गर्न खोज्नु एउटा गहन जिम्मेवारीपन हो ।

मेरो दाजुले अर्काको मातोलाई आफ्नै जसरी सेवा गरेर कमाउनु भएको पैसा लिएर आफ्नै गाउँ र गाउँलेका लागि थोरै खर्चिनु भयो, एउटा गाउँवासीको नाताले मैले पनि गाउँको लागि केही गर्नु आफ्नो कर्तव्य ठानेकोछु । यो मेरो लागि यो थप हौशला बन्नेछ ।
मेरो दाजुको नाताले जसरी उहाँ अरु लाहुरेले झै ब्यक्तिगत जीवन भन्दा बिपरित गाउँ, समाज र देशको प्रगती र परिवर्तन बारे प्रिथक मान्यता राख्नु हुन्छ, त्यसरी नै मैले पनि गाउँ, समाज र देश बिकासका लागि केही उन्नतिशील कार्य गर्ने प्रण गर्दछु र मेरो जन्मस्थललाई केही न केही योगदान दिनु आफ्नो कर्तव्य ठान्दछु ।
अन्तमा बुवाको मार्गदर्शन अनुरुप हामी सधैं अघी बदिरहौं ।
हाम्रो बुवाको आत्माले सदैव शान्ती पाइरहोस् ।
हार्दिक श्रद्धान्जली !
3rd April 2011

अप्रिल '११

- The First win!
9 May 2011

- Political Corruption !?
31 May 2011

- Mother and motherland are interrelated. I want my father’s bliss in my every steps and mother to be with me in my every success. I know I must speak so many things right now but I am very emotional. I don’t know which things to speak and what not to. It’s really hard situation for me to decide. I desperately want to share my happiness with every houses and every person of my village, my district and whole country. This happiness should enter in every hut n I hope to be seen in all the faces of my fathers’ mothers and brothers and sisters of my motherland
4 April 2011

- In the name of our Father, for the happiness of our Mother!
6 Apr 2011

- Into the System!
9 Apr 2011

- Safe journey Brother!
15 Apr 2011

- Precious moments with living god!
16 Apr 2011

- Never walk with a selfish and never die for a traitor.

- Always stay with the person who brings brightness in your face.

- Why do we always pray god to save us when he is always killing us!
18 April 2011

- नायक हरिबंश आचार्य लगायत सपरिवारमा गहिरो समबेदना साथै दिबङत आत्माको चीर शान्तिको कामना ।
20 Apr 2011

- आफ्नो अगाडिकालाई ठोकेर, छेउछाउकालाई घोचेर र पछाडिकालाई रोकेर आधिपत्य जमाउनु कुशल नेत्रित्व क्षमता होइन ।
21 Apr 2011

- ईतिहासमा पटक पटक धोका पाएर पनि नचेतेका अचेत हामी जनताले अब चाँही सचेत भएर आफ्नै लागि पनि 'लोकतन्त्र' ल्याउने पो हो कि !?
24 Apr 2011

- अब परेवाहरुका बिरुद्ध कागहरुको आकाश बन्द पनि हुनेछ ।
27 Apr 2011

- झान्क्री बाजेले झान्क्री मामालाई कहिल्यै पनि २२ आँख्लो मन्त्र जप्न सिकाउनु भएनछ, सधैं २१ आँख्लो मात्र ।
25 Apr 2011

- बिडम्बना! हामी नेपालीहरुको । कसैले चाँही दु:खको मुल्य नचिनेर कहिल्यै सुख नखोज्ने, कसैको फेरी सुख पाएर दु:ख गर्ने बानी नै नहुने l
26 Apr 2011