Showing posts with label गीत. Show all posts
Showing posts with label गीत. Show all posts

Friday, March 8, 2013

गीत: म त्यही हुन्छु


जती निर्मम ठान्छौ मलाई निर्दयी म छैन
जती कोमल सोच्छौ त्यती नरम पनि छैन
मलाई बुझ्न नजिक आइ मुटु छाम्नै पर्छ
चोखो माया फुलाउन त बेर्ना सार्नै पर्छ

सुख दु:ख दुबै छन मेरो पनि जीवनमा
चाहेको पाउनै पर्छ भन्या छैन यो मनमा
मिल्ने जती खुशीहरु अरुसँग बाड्नै पर्छ
हृदयहरु साटिकन हाँशी-खुशी बाँच्नै पर्छ

कहिले काही हातहरु खोसिए झै लागे भने
कहिले तिम्रो आँखाहरु पोखिए झै लागे भने 
आँशु पुछ्दै अधर चुम्न म समिपमै हुन्छु
हात ठाम्न साथ दिन सधैं म त्यही हुन्छु । 
July 23 2012

दिदीको गीत: तिज


चुल्होचौको दिकीजाँतो गर्नु पर्ने दिनभरी
भित्र-भित्रै माइतीकै याद मनभरी ।

साथीसङी भाइ र बहिनी रुदै थिए म आउँदा
कती खुशी हुन्छन होला माइत म जादा ।  

बुवाआमा बुदाबुदी भाइ र बहिनी सानै छन
साँझ बिहान कसोगरी के के खाँदै छन ।

जन्म घर छाड्नै पर्ने छोरीको कर्म यो
कसले बुझ्न सक्ला बरै हाम्रो मर्म यो । 
2012 

Friday, January 18, 2013

आग्रह


जाउ साथी घुम्नलाई लिवाङ बजार
जन्माउने रोल्पालाई लगाउ नजर 

जलजला पहाड उस्तै साहस
अरुको छैन भो तिम्रै छ आश

नदिमा पुल छैन गाउँमा बिजुली
हिजो झै आज छन् सोझा रोल्पाली

न पानी न शिक्षा न त उपचार
सेवा नै धर्म हो गरौ उपकार

सङ्लो छ माडी झन् सङ्लो यो मन
स्पर्श गर्न आउ सुनिदेउ धड्कन 
Dec 21, 2012

Friday, September 9, 2011

ब्यथाहरु

ब्यथाहरु सोधें आमा पिडाहरु हर्न सकिनँ ।
रुकेका गला सुनें नयाँ भाका भर्न सकिनँ ।

निधारको बत्ती निभ्यो दिव्य ज्योति छर्दा छर्दै
चाल नै नपाई सुक्यो मुल प्यासी मन भर्दा भर्दै
निन्द्रा पनि भाग्छ अचेल सपनीमा झस्काएर
निथ्रुक्क छ ह्रिदय मेरो भित्र भित्रै रसाएर ।

दु:ख मात्र सोधें आमा सुख दिन सकिनँ म ।
घाऊ मात्र सोधें आमा निको पार्न सकिनँ म ।

आधा संसार अध्यारो भो बुवा गए पछी
पुरै संसार बल्छ तर आमा हाँसे पछी
अजर-अमर छैनन् अरु जन्माउने हुन अजम्बरी
खुशी दिने सन्तानलाई इश्वर ति सधैं भरी ।

हाँसे जस्तो गरे आमा भित्र हाँस्न सकिनँ म ।
निराश मन भेटें पनि आशा छर्न सकिनँ म ।
ओठ मात्र खोले आमा ह्रिदय बोल्न सकिनँ म ।
29 Aug 2011

Friday, August 19, 2011

अधल परे

अधल परे मै मरी जाउला, तँ चाँही बचेँस् है ।
मृत्‍युको रित मै टारि जाउला, तँ हाँसी रहेस है ।

इश्वरको कृपा पाएर हामी, सँगै छौ एक जोडी
दैबको आदेश मान्नु नै पर्छ, कोही अघी कोही पछी
म गए पनि खुशीको यात्रा जारी नै राखेस् है ।
अधल परे मै मरी जाउला तँ चाँही बचेँस् है ।

धिक्कार्दै कठै भाग्यलाई आमा, रुनेछिन् शोकमा
सम्झेर मलाई डुब्नेछन् सङी, आँशुको आहालमा
निधारको लेखा सकियो भनी सम्झाएर राखेस् है ।
मृत्‍युको रित मै टारि जाउला तँ हाँसी रहेस् है ।

अधल परे मै मरी जाउला, तँ चाँही बचेँस् है ।
मृत्‍युको रित मै टारि जाउला, तँ हाँसी रहेस् है ।
4 August 2011
(सम्पूर्ण 'तँ' हरु प्रती समर्पित)

Friday, June 17, 2011

सुनको पोते

सुनको पोते चाह्यौ तिमीले, फूलको माला मैले ।
धनको स्वर्ग माग्यौ तिमीले, मनको स्वर्ग मैले ।

भेटघाट भाग्य भन्थे, मलाई खेल भयो
चोखो माया गर्नु पनि, कस्तो छल भयो
सुनको मोह गर्यौ तिमीले, जूनको मोह मैले
देवी देउता पुज्यौ तिमीले, पिरतिलाई मैले ।

रुन गाह्रो भन्छन यहाँ, मलाई शिरानी भो
त्याग गर्न साह्रो भन्छन, पिडा बिसौनी भो
धनको मोल जित्यौ तिमीले, जूनको मुस्कान मैले
मान्छेहरु पुज्यौ तिमीले, एउटा ह्रिदय मैले ।

सुनको पोते चाह्यौ तिमीले, फूलको माला मैले ।
धनको स्वर्ग माग्यौ तिमीले, मनको स्वर्ग मैले ।
16 June 2011

Friday, June 3, 2011

गीत - कहिले उनीलाई

कहिले उनीलाई भेट्न नपाई, पल-पल तड्पिरहेँ ।
कहिले उनीले देख्लान् भनी, क्षण-क्षण झस्किरहेँ ।

माया भन्नु यस्तै रहेछ, अतितलाई साँच्नु पर्ने
जित्दा जित्दै हार्दा पनि, जिन्दगी यो बाँच्नु पर्ने
बिर्सिसकेँ भन्छु तर भित्र भित्रै सम्झिरहेँ
सम्हालिन खोज्छु तर आँखाहरु रुझिरहे ।

बाचा-बन्धन भन्नु रहेछ, एकैटर्फी/एकलौटी तोड्न मिल्ने
लेखिएको साईनो पनि, भाग्यबाट मेट्न मिल्ने
अजम्वरी प्रेम थियो, दुई दिनलाई थियौं हामी
जुनी-जुनी सङै भन्थ्यौं, आफै दियौं दागबत्ती ।

पहिले उनीलाई भेट्न नपाई, पल-पल तड्पिरहेँ ।
अहिले उनीले देख्लान् भनी, क्षण-क्षण झस्किरहेँ ।
16 May, 2011

Wednesday, November 17, 2010

गीत - भूल

भुईमा फुल्ने गुलाफलाई, आकाशमा रोप्न खोजेछु ।
घामपानीमा खुल्ने इन्द्रेणी, घुम्तोले छोप्न खोजेछु ।

जीवनभरी अल्झाइदिने, छललाई चिन्न नसक्दा
निस्ठुरीले उल्ताइदिएका, पललाई भुल्न नसक्दा
आफ्नै छाया सम्झिएर, घामले झै माया गरेंछु
साँचेर उन्को आक्रिती, हृदयमा खोप्न खोजेंछु ।

साँचो मन नबुझ्नेले, के बुझ्थिन मेरा चोटहरु
आफु चोखिएर भनिन रे, धेरै'थे मेरा खोटहरु
पठ्थर रैछ घाट पाएँ, फूल सम्झी साथ दिएछु
झिसमिसेको जूनकिरीलाई, आशाको जून सोचेंछु ।

भुईमा फुल्ने गुलाफलाई, आकाशमा रोप्न खोजेछु ।
घामपानीमा खुल्ने इन्द्रेणी, घुम्तोले छोप्न खोजेछु ।
जानी जानी झुठो आक्रिती, हृदयमा खोप्न खोजेंछु ।
04 Nov,’10

Saturday, August 28, 2010

तिम्रै खुशी


मनभरिको आशिष देउ,
मेरो आफ्नै मान्छेहरु
सातौ जन्म सराप देउ,
मेरो पराइ मान्छेहरु

चौतारीको वरपिपललाई, अब चार्ने छैन
एकैछिनको साईनो गाँस्दै, भ्रम छर्ने छैन
क्षणमै फुट्ने फोका बनी बाँच्न सकिनँ
दुइता जीवन सँग सँगै हाँस्न सकिनँ
जनम-मरण बुझाई देउ,
मलाई सङी भन्नेहरु
दु:ख-रोदन बल्झाइ देउ,
मलाई बैरी ठान्नेहरु

बिबशताको पाहुर बोकी, म टाढा जादैछु
क्षितिजको जून भेट्न, यो यात्रा थाल्दैछु
सम्झनिमा आँखा चिम्लि एक्लै भेट्न आउनु
अजम्बरी माया साट्न भाखा हाल्दै गाउँनु
फूलै फूलको बाटो देखाउ,
शिखर चूमोस् भन्नेहरु
काँडै काँडा मात्र बिछ्याउ,
बिचमै गलोस् भन्नेहरु

छाडि जाने रहर होइन, आत्मा रुवाएर
पाईलाहरु रुक्न खोज्छन्, आसुँ चुहाएर
जुगौ जुग सँगै हुन धर्ती-आकाश भरी
सहनुछ धेरै पिडा एउटा बिछोड प्यारी
फाटेको मन सिलाई देउ,
मलाई माया गर्नेहरु
धुजा धुजा बनाइ देउ,
मलाई घृणा गर्नेहरु

मनभरिको आशिष देउ,
मेरो आफ्नै मान्छेहरु
सातौ जन्म सराप देउ,
मेरो पराइ मान्छेहरु
23 Aug,’10

Saturday, August 21, 2010

सपना र बुवा

धेरै पछी सपनीमा बुवालाई देखें ।
मनभित्र गुम्सिएका बहहरु पोखें ।

हराएथे खुशीहरु हाँस्दा हाँस्दै ओठबाट
दुख्दैथे दिनहरु इश्वरकै त्यो चोटबाट
भर्खरै आसुँ रुक्यो, खुशीहरु फर्कियो कि
देखिरा'को सपना नै बिपना पो भैदियो कि ।

बर्षौ पछी सपनीमै बुवालाई दोगें ।
सन्चो र बिसन्चोको खबर'नि सोधें ।

फुल्नै नपाई कोपिलामै चुडिएको टुसा म
खुल्नै नपाई मिर्मिरेमै छोपिएको उषा म
बसाउदैछ फूलहरु, धर्ती-आकाश खुल्यो कि
भोगिरा'को बिपनी नै सपनी पो भैदियो कि ।

धेरै पछी बुवाको आशिर्वाद पाएँ ।
परिवारको ठेगाना नि सबै बताएँ ।

सारा रहर अधुरो थ्यो सपना'नि अधुरै भो
घरमै आएर बुवा फेरी एक्लै एक्लै जानु भो
यो जीवनमा सँगै हुने अब चाहना मात्र रैछ
सपना त झूठो थियो, बिपना नै साँचो रैछ ।

धेरै पछी सपनीमा बुवालाई देखें ।
मनभित्र गुम्सिएका बहहरु पोखें ।
21 Aug,'10

Wednesday, May 5, 2010

गीत – आग्रह

नेपाली हौं, एकताको माला उन्न थालौं ।
मलिलो छ मातृभूमी, फूल रोप्न थालौं ।

जनताको आँखा कान भाषणले नछेकिदेउ
गरीबको छाक काटी बिलासमा नबसिदेउ
कुर्सी छाड, मोह त्याग, राष्ट्र बाहक बन
ब्यक्ति होइन, पार्टी होइन, राजनेता बन ।

सिमानाको सुरुक्षामा सैनिकलाई पठाऔ
जनधनको रक्षा गर्न प्रहरीलाई खटाऔ
संबिधान लेख्न सभासद सदनमा बस
मिलिजुली जनता देश बिकासमा जुट ।

छिमेकीले हाम्रो भुमि चोर्ने दाउ गरिरा'छ
युद्धबिमान नेपाली आकाशमाथि उडिरा'छ
अखण्डित राष्ट्रियता हस्तक्षेपले टुट्नसक्छ
स्वाभिमान सार्वभौम स्वतन्त्रता गुम्नसक्छ ।

नेपाली हौं, एकताको माला उन्न थालौं ।
मलिलो छ मातृभूमी, फूल रोप्न थालौं ।
03 May,’10

Saturday, April 24, 2010

तेरो-मेरो होइन बिन्ती!


बुद्धको सन्तान हामी शान्त जीवन बाँचौ ।
संसारकै अग्लो शिर सधैं उच्च राखौं ।

मधेशमा बस्यौ हामी भयौ मधेशी
पहाडमा जन्म्यौ हामी भयौ पहाडी
पूर्व-पश्चिम हुर्केका छौ कोही हिमाली
कालोगोरो बर्ण हाम्रो सबै नेपाली ।

कुमार्गलाई आजै त्यागी सुमार्गमा लागौ ।
कुबुद्धिलाई आजै छाडि सुबुद्धिले सोचौ ।

एउटा हाँस्दा सबै हाँस्ने हाम्रो चोखो मन
मिलिजुली बस्ने हाम्रो आफ्नै नेपालीपन
फरक भेषभुषा हाम्रो जात नेपाली
वीरहरु गाउछौ शान्ती झण्डा उचाली ।

परिश्रमी पाखुरीलाई सिर्जनामा लगाऔ ।
पसिनाले माटो सिची देशमै कमल फुलाऔ ।

दिदीको आसुँ बग्दा बहिनीले पुछ्नुपर्छ
भाइको चोट दाइलाई पनि बराबर दुख्नुपर्छ
चारै दिशा हिंड्न छाडि एउटै पाइला चालौं
तेरो-मेरो होइन बिन्ती! हाम्रो नेपाल भनौं ।

बुद्धको सन्तान हामी शान्त जीवन बाँचौ ।
संसारकै अग्लो शिर सधैं उच्च राखौं ।
17 April,’10

Thursday, April 15, 2010

तितो सत्य

तितो सत्य भन्न म बिबश छु है मेरी छोरी ।
आँखाभरी आसुँ तिमी नबगाउ है प्यारी छोरी ।

तिमी खेल्ने काख आज अचानक अलप हुँदा
तिमीलाई चुम्ने ओठ एकाएक बिलाई जाँदा
विश्वाश गर्न गाह्रो होला कसरी यो हुन्छ भनी
तितो सत्य भन्न म बिबश छु है मेरी छोरी ।

लुकाएर लुक्ने थिएन साँचो कुरा धेरै दिन
जसलाई धेरै चाहन्थ्यौ उही छाडि जाने किन
धेरैबेर रोइरह्यौ रे दु:खद खबर सुनेपछी
आँखाभरी आसुँ तिमी नबगाउ है प्यारी छोरी ।

बालक मन रुदा मुटु छिया छिया हुन्छ छोरी
आँखाभरी आसुँ तिमी नबगाउ है प्यारी छोरी
तितो सत्य भन्न म बिबश छु है मेरी छोरी ।
08 April,’10

Friday, April 9, 2010

मुल खम्बा दलेपछी

घर भट्के जस्तै भयो मुल खम्बा दलेपछी ।
दियो निभे जस्तै भयो ठुलो मान्छे गएपछी ।

हाँसी-खुशी जन्ती आउने हाम्रा सबै मान्छेहरु
एकोहोरो रोइरहेछन भोज दिने भान्छेहरु
अचानक चट्याङ् पर्दा अश्रुबर्षा दर्किरह्यो ।
आँखाबाट छानो सरी आशु झन बर्सिरह्यो ।

सम्हालिनु पर्दोरहेछ सारा धर्ती हल्लिदा'नि
बाँच्न कर लाग्दोरहेछ बेस्सरी मन दुख्दा पनि
मीठो बोली मन्द हाँसो सम्झनामा बाँकी रह्यो ।
जन्मैदेखी माया दिने न्यानो काख रित्तो भयो ।

बाँचुन्जेल जती पायौ अब छैन कहिल्यै पनि
अर्को साईनो पाईन्छ रे एउटा जुनी फेरे पनि
इश्वरको बरदान पाउन आत्मालाई पुजिरा'छु ।
भगवानको दया पर्खि यताउती खोजिरा'छु ।

घर भट्के जस्तै भयो मुल खम्बा दलेपछी ।
दियो निभे जस्तै भयो ठुलो मान्छे गएपछी ।
10 June,’09

Friday, April 2, 2010

बीस चैत्र दुई हजार पैसठ्ठी साल

बीस चैत्र दुई हजार पैसठ्ठी साल ।
हाम्रै घरमा आयो बरै निर्दयी काल ।

तीन छोरा बिदेशमा भाग्य लेख्दा लेख्दै
दुई छोरी कर्म घरमा आसुँ पुछ्दा पुछ्दै
छोरा! छोरी! भन्दा भन्दै रोकिएछ शास
आमाले रोक्दा रोक्दै जीवन भो'रे लाश ।

अन्तिमसम्म दिमखोलाको पानी माग्दा माग्दै
बिरानोमा शैयाबाट पुर्खौली घर खोज्दा खोज्दै
बाँच्छु भन्दा भन्दै कठै! भएछ स्वर्गवास
आमाले छेक्दा छेक्दै जीवन भो'रे लाश ।

सङिनिले दोग्दा दोग्दै कठ्याङ्रिएछ हात
धेरै खोजिन् तार्न तर तारिएन दैबी रित
कुर्दा कुर्दै सन्तानलाई अधुरो भो आश
आमाको अङालोमै बुवा हुनुभयो रे लाश ।

बीस चैत्र दुई हजार पैसठ्ठी साल ।
हाम्रै घरमा आयो बरै निर्दयी काल ।
२० चैत्र, २०६६

Friday, February 19, 2010

हाँसो मात्र चाह्यौ भने

हाँसो मात्र चाह्यौ भने हाँस्न सक्छु सधैंभरी ।
आसुँ मात्र चाह्यौ भने रुन सक्छु धरधरी ।

मेरो खुशी तिमी नै हौ तिम्रै लागि बाँचें
मनको चोखो महल मैले तिम्रै लागि साँचें
मेरो बाटो हिड्न छाडि तिम्रो पाइला बनिदिन्छु
साथ दिने बचन दिए अमृत पनि थुकिदिन्छु ।

हाँसो मात्र चाह्यौ भने हाँस्न सक्छु सधैंभरी ।
आसुँ मात्र चाह्यौ भने रुन सक्छु धरधरी ।

कल्पनामा आउँदा तिमी उमंगको चुली चदें
बिलाई जाँदा छाती चस्की फेरी ऐठन परें
मैले माया गर्नेलाई जम्मै मुटु अर्पिदिन्छु
जीवन मागे हाँसी-हाँसी भाकल'नि गरिदिन्छु ।

हाँसो मात्र चाह्यौ भने हाँस्न सक्छु सधैंभरी ।
आसुँ मात्र चाह्यौ भने रुन सक्छु धरधरी ।
२०६१-०५-०१
ललितपुर

Thursday, November 19, 2009

खबरदारी गर्न उठौं

शोषनबाट मुक्ति पाउन, मुठ्ठी कसेर उठौं ।
बलिदानको रक्षा गर्न, खबरदारी गर्न उठौं ।

एक नाङ्लो अन्न पाउन, लुगा सिउने कटुवाल बाजे
‘खल’ उठाउन जीवन भरी, फलाम ठोक्ने सुनार बुवा
लोकतन्त्र आईसक्यो, स्वतन्त्र जीवन बाँचौ ।
संबिधानसभा भईसक्यो, न्याय खोज्न हिंडौ ।

जन्मजात मान्छे हुन, ठगिएका दलितहरु
देशको कुना काप्चा, चेपिएका अपहेलितहरु
गरीब भोका नाँगा सारा, अधिकार लिन जुटौ ।
शोषित-पीडित जनता सबै, एकजुट भई उठौं ।

शाहुको तमसुक च्यात्न, कमैया बस्नेहरु
पुष्टौ पुष्टा अशिक्षित, बेरोजगार मान्छेहरु
जाली ऋनमा प्राण फाल्ने, मजदुरहरु जागौं ।
श्रम गरी आधा खाने, किसानहरु बिउझौं ।

जमिन्दार मुखियाको, अत्याचारसँग जुध्नुपर्छ
नेताको मिठो भाषन, स्वार्थी बिचार बुझ्नुपर्छ
परिवर्तनलाई बचाउन, सचेत पाईला चालौं ।
संबिधानमा समान हुन, नागरिक आवाज बोलौं ।

शोषनबाट मुक्ति पाउन, मुठ्ठी कसेर उठौं ।
बलिदानको रक्षा गर्न, खबरदारी गर्न उठौं ।
05 Nov,’09

Saturday, November 7, 2009

बुद्धको देशमा अब

बुद्धको देशमा अब, युद्ध हुनुहुन्न ।
चार जात छत्तिस बर्ण, कोही रुनुहुन्न ।

बुवा आमा मारिएर, टुहुरा छन छोराछोरी
रुदै रुदै बाँचिरा'छन्, सहाराहिन बुदाबुदी
बिधुवाको आसुँ अब, झर्न दिनु हुन्न
एउटै घरमा रुने-हाँस्ने, हामी गर्नु हुन्न ।

बन्दुकको आवाज रोकौं, बारुदको गन्ध
त्यागौ हामी हत्याहिंसा, छाडौं नेपाल बन्द
युवाहरुको रगत अब, बग्न दिनु हुन्न
बलिरहेको दियो अब, निभ्न दिनु हुन्न ।।

हिमाल पहाड तराई हाम्रो, साझा अस्तित्व हो
संसारको शिर हाम्रो, पौरख र स्वाभिमानको
प्रगतिको बाटो अब, आँफै रोक्नु हुन्न
सृजनाको माटो अब, खेर फाल्नु हुन्न ।।।

बुद्धको देशमा अब, युद्ध हुनुहुन्न ।
चार जात छत्तिस बर्ण, कोही रुनुहुन्न ।
21 Oct,’09

Monday, October 12, 2009

म त लाहुरे

बुवा लाहुरे हुनुहुन्थ्यो, थुप्रै काकाहरु पनि लाहुरे हुनुहुन्थ्यो । पछी दाजु पनि लाहुरे हुनुभयो, गाउँका अरु छिमेकी दाजुहरु पनि लाहुरे हुन थाल्नुभयो । लाहुरे जीवन बाहिरी रुपमा हेर्दा जतीसुकै सुन्दर लागे पनि लाहुरे भएर कती बाध्यतासँग जुध्नु पर्छ भन्ने मैले नजिकबाट देखेको छु । लाहुरेको परिवार जतिसुकै सम्पन्न र सुखी देखिए पनि भित्री रुपमा कती पिडा लुकाएर हाँसिरहेको हुन्छ भन्ने मैले जन्म जात नै भोग्न थालेको हुँ । एक जना लाहुरे वा लाहुरेको परिवार हुनु नै अरुले नभोगेको एउटा फरक पिडादायी अनुभुतीलाई आत्मसात गर्नु हो । घरको मुल मान्छे भए पनि सानो बालक भए पनि, हरेक पल आफ्नो पूर्ण परिवारको खोजी गरिरहन्छ । अझै चाडपर्बको बेला त सबैको हृदयमा नदेखिने गरी सन्नाटा छाइरहेको हुन्छ । र पनि, उता लाहुरे प्रदेशमा आँशुले अनगिन्ती रुमाल बिझाए पनि चिठ्ठीमा लेखिरहेको हुन्छ," मैले त यसपालिको पर्ब निकै रमाइलो गरेर मनाएँ ।" यता परिवारले जबर्जस्ती पत्रको जवाफ लेखिरहेका हुन्छन," हामीले एकदम धुमधामका साथ मनायौं ।"

म स्कुलमा पढिरहेको बेला दशै तिहारको बिदामा रोल्पा गएको थिएँ । भाईटिकामा माहिला दाजु र म मात्र जेठी दिदीको हातबाट टिका थाप्यौ । जेठा दाजु यु.के. मा हुनुहुन्थ्यो भने कान्छी दिदी घरमा साथै रहे पनि महासमरको यात्रामा हुनुहुन्थ्यो । हाँसि-खुशी टिका लगायौं तर पनि मेरो मन कता कता जेठा दाजुलाई सम्झिरहेको थियो । शायद भित्र भित्रै सबैलाई केही न केही अभावको महशुस त हुदो हो तर पनि समयलाई बुझेर चित्त बुझाउनु पो ठुलो कुरा हो । त्यही दिन घरको उपल्लो तलामा गएर म आँफै प्रदेशमा युद्ध लडिरहेको लाहुरे बनेर एउटा गीत लेखेको थिएँ । आज पुरानो डायरी पल्ताउदा त्यही गीत देखेर तिहारको बेलामा यहाँ राख्नु उचित नै होला ठानेर जस्ताको त्यस्तै राखेकोछु ।

गीत
---

तिम्रो भाई परे दिदी म त लाहुरे
तिम्रो दाई परे बहिनी बिदेशको बाहुरे

पूर्वको किरण दोकैमा परे ( दिदी भाई आउछु पर्खिनु )२
सुर्यको छाँया धुरिमा देखे ( बहिनी दाई फर्किन्न सोच्नु )२
युद्धको आवाज कानमा परे ( दिदी भाईटिका नगन्नु )२
बन्दुकको गोली पोकोमा ल्याए ( बहिनी वारीको फूल नचार्नु )२
तिम्रो भाई ....
तिम्रो दाई ....

म आएँ भने दिदी र बहिनी गुन्युचोलो साटौंला
लडाईंमा परें दुश्मनलाई जित्दै सकेमा म बाँचुला
गोली नै खाएँ नरोएरै ( दिदी बुवा आमा सम्हाल्नु )२
प्रदेशमै मेरो रगत सुके ( बहिनी भाईलाई सम्झाउनु )२
तिम्रो भाई ....
तिम्रो दाई ....

मेरो दल्के टोपी भुलेर पनि ( दिदी भान्जालाई नदिनु )२
मायाले मेरो पिरोल्दा पनि ( बहिनी बदला नसोच्नु )२
भाईटिकामा अरुलाई देख्दा ( दिदी आसुँ नझार्नु है )२
सुनसान देखी माइतलाई कहिल्यै ( बहिनी माया नमार्नु है )२
तिम्रो भाई ....
तिम्रो दाई ....

०५९-०७-२० भाईटिकाको दिन
( लाहुरेको कठोर चिनारी भए पनि कोमोल भावना र माटो प्रेम सधैं मुटु भित्र सँगालेर तितो यथार्थलाई सहिरहेको हुन्छ ।)