Monday, September 30, 2013

दुई दिनको अबधीमा करीब १७०० बिरामीको सेवा गर्ने मौका पायौं

२०४२ साल माघ २६ गत्ते जंकोट-४, रोल्पामा जन्मनुभएका चन्द्र बहादुर घर्ती मगर पेशाले स्वास्थ्यकर्मी हुनुहुन्छ । समाजसेवाको लागि कुनै पनि मुल्य चुकाएर लाग्नुपर्ने भावना बोक्नुभएका उहाँले भर्खरै रोल्पाको माडीचौरमा स्वर्गिय बुवा मैसर घर्ती मगरको स्‍मृतिमा जिल्ला स्तरको स्वास्थ्य शिबिरको आयोजना गर्नुभयो । समाजसेवा भनेपछी भुतुक्कै हुने चन्द्र घर्ती मगरसँग नबिन लोचन मगरले गरेको कुराकानीको सारसंक्षेप..

१) भर्खरै रोल्पाको माडीचौरमा जिल्ला स्तरको निःशुल्क दुइदिने स्वास्थ्य शिविर सम्पन्न गर्नुभयो, समग्रमा कस्तो रह्यो ?
- सर्ब प्रथम त मैले एमबिबिएसको आफ्नो अध्ययन पुरा गरिसकेको दुई बर्षभित्रमा आफ्नै जन्मथलोमा एउटा स्वास्थ्य शिबिर राख्छु भनेर पहिले नै डायरीमा लेखेको थिएँ । त्यसैले अहिले आफ्नो गाउँ ठाउँको लागि बर्षौ अघी बनाएको एउटा योजना पुरा गर्न पाउदा अती नै खुशी छु । हामीले दुई दिनको अबधिमा करीब १७०० बिरामीहरुको सेवा गर्ने मौका पायौ जुन अनुमान गरेको भन्दा बदी नै थियो । मैले जंकोट, कोटगाउँ, ह्वामा र कोर्चावाङ गाबिससम्मको बिरामी आउँलान भन्ने सोचेको थिएँ तर यहाँ आउँदा भावाङ, गैरिगाउँ कुरेली, मिरुल, धबाङ र लिवाङ गाबिसका बिरामी पनि जचाउन आइपुग्नुभयो । ६ जना डाक्टर, ३ जना स्टाफ नर्स, २ जना ल्याब टेक्निसियन, २ जना ल्याब असिस्टेन्ट, २ जना फार्मसिस्ट लगायत स्वास्थ्य चौकी जंकोटका ३  जना र स्थानीय २ जना स्वास्थ्यकर्मीको टोली उपचार छिटो र छरितो बनाउन लागिपरेका थियौ । तै पनि तेस्रो दिन बिहानसम्म पनि जचाउन आउनेको भिड थियो । हामीलाई आकस्मिक बिरामीहरु हेर्नुपर्ला जस्तो लागेको थिएन तर हामीले ९ जना इमर्जेन्सी बिरामी पनि हेर्नुपर्‍यो जसमध्ये ३ जनालाई केही बेरको उपचार पछी भर्ना भएर थप उपचारका गर्न जिल्ला अस्पाताल रिफर गर्यौ भने बाँकी अरुले औषधी लिएर घर फर्किनुभयो । हामीले आफ्नो क्षमता अनुसार सक्दो सेवा दिने भनेर नै यहाँसम्म आएका थियौ र सक्दो गर्यौ । तसर्थ, यसलाई राम्रो नराम्रो, सफल असफल यहाँको समुदायले कसरी मुल्याङ्कन गर्नुहुन्छ त्यो नै समग्रतामा शिबिर कस्तो रह्यो भन्ने निचोड हुनेछ जुन मैले पनि थाहा पाउने अपेक्षा गरिरहेकोछु ।

२) एउटा यस्तो बुवा जसले हजुरहरु जस्ता समाजसेवी छोराछोरीको जन्म दिनुभयो, कसरी सम्झना गर्नुहुन्छ ?
 - यो शिबिर मेरो बुवा स्वर्गीय मैसर घर्ती मगरकै स्मृतिमा आयोजित प्रथम निशुल्क स्वास्थ्य शिबिर थियो । मैले यो शिबिर बुवालाई देखाउने गरी योजना बनाएको थिएँ तर दुर्भाग्य बस मेरो तेस्रो बर्षको सुरुवातमै बुवा स्वर्गे हुनुभयो । त्यो खबर जेठा दाजुले दिनुभयो । मैले आफुलाई सम्हाल्नै सकिन, बेस्सरी रोएँ । अर्को दिन म नेपाल आएँ । बाटोभरी आमाको निकै याद आयो । दुबैजना दाजु बिदेश हुनुहुन्थ्यो, दुबै जना दिदीहरु आफ्नो घर व्यबहार सुल्टाउदै फुर्सद थिएन । बुवा उता अस्पतालको शैयामा सन्तानलाई गुहार्दै प्राण त्याग्नु भएछ ।
उहाँ निकै आशावादी मान्छे हो र मृत्‍युलाई पनि सजिलै पचाउन सक्ने आँट थियो । उहाँले मलाई आफु बिस्तारै सन्चो हुँदै गैरहेकाले चिन्ता नगरेर पढाईमा ध्यान दिन गरेको अन्तिम आवाजहरु अझै मेरो कानमा ठोक्किन आउछन । 

 उहाँ स्वभावले मिलनसार हुनुहुन्थ्यो । सेवा उहाँको जीवन मार्ग थियो चाहे समाजसेवा होस् वा मानवसेवा । बगेर खेर गैरहेको पानीलाई सङाल्न एक्लै पोखरी खनेर गाउभरिका गाइभैसी र भेडाबाख्रालाई पानी खुवाउने ब्यबस्था गर्नुभयो । भारी बोकेर चद्न गाह्रो हुने दिस्कोलाई फोडेर सम्याउनुहुन्थ्यो, चिप्लिने बाटोलाई मिलाउनुहुन्थ्यो । बारीमा फलफुल र सागसब्जी लगाएर जसले खाए पनि धर्म हुने, पुण्य कमाइने मान्यता राख्नुहुन्थ्यो । अरुको कहिल्यै कुभलो नचिताउने बरु आफुले सकेको सहेर गुण लाउनुपर्ने कुरा गर्नुहुन्थ्यो । बुवाको धरातल र उचाइ हेर्दा अन्य पुरुषहरु सामान्य लागेर आउछन ।  मेरो लागि उहाँ एक अशल मान्छे र आदर्शवान बुवा हुनुहुन्छ जसको तुलना अरु कसैसँग हुनैसक्दैन ।  म यस्तो बुवाको भाग्यमानी छोरो हुँ जसको अनुपस्थितिमा पनि अझै सयौ मान्छे हाम्रो परिवारको खुशीको कामना गर्छन् र उहाँलाई सम्झेर आसुँ बगाउछन । 

३) धेरै मान्छेहरु गाउँभन्दा बाहिर अथवा सुगम ठाउँतिर गएपछि गाउँलाई भूल्ने गर्छन् तर तपाईं त सामाजिक कार्यको लागि गाउँतिरै फर्किनुभयो, यस्तो प्रेरणा कसरी प्राप्त भयो ?
- म कक्षा ५ सम्म जंकोटमै पढे र माबि माडीचौर, गोर्खा बोर्डिङ हुँदै काठमाडौंसम्म पुगे । त्यसपछी त झनै ५ बर्ष चाइनामै बिताउनुपर्यो । तर जुनदिन देखी म आफ्नो गाउँ, आफ्नो आमाबुवा र दौतरीहरुलाई छाडेर गएँ त्यसपछिका दिनहरुमा पनि कोही कहिल्यै टाढा भएनन । म जहाँ भए पनि कहिले काही नराम्रो सपना देखेर झस्किदै मध्यरातमा एक्लै तड्पिरहेको हुन्थे, कहिले रमाइरहेको हुन्थे । मैले कहिले काही फर्केर हेर्दा जती गाउँको नजिक आउन खोज्छु त्यती टाढा हुँदै गैरहेको जस्तो लाग्छ । झुपडी र गगनचुम्बी भवनहरु देखे, बसे । गाउँ शहर सबैतिर घुमे अनेक किसिमका मान्छेहरुसँग भेटे तर मेरो मनमा स्वार्थीपन कहिल्यै पलाउन सकेन । म दाङ झर्दा अब गाउँलाई बिर्सिन्छस , हामीलाई बिर्सिन्छस भन्ने साथीहरु अहिले आफ्नो पुरानो थलो जंकोट हो भन्नसम्म अप्ठ्यारो मान्छन । मैले आबश्यक परे सम्झिने नपरे बिर्सिने मेरो स्वभावले नै दिदैन । म अहिलेसम्म हरेक बिदाहरुमा मौका पाउनसाथ गाउँ आइरहेकोछु । गाउँको निश्चलता, मिलाप र मिजास अन्त कमै मात्र पाईन्छ । गाउँ र गाउँले प्रेमका मुहान हुन । जहाँ मेरो सालनाल गाडीएको भावनात्मक सम्बन्ध त छ नै पेशागत रुपमा पनि मेरो आवश्यकता गाउँमा छ । मैले काठमाडौंको वीर अस्पतालमा काम गर्दा जती सन्तुष्टि पाउथे त्यती सन्तुष्टि नर्भिक अस्पतालमा पाउथेन त्यसैले नै म अहिले आफ्नै अञ्चलमा नियुक्ती लिएर आएकोछु । मैले भेदभाव गर्न त खोजेको होइन तर साँच्चीकै दीन दुखीहरुलाई सेवा गर्न पाउदा भिन्नै आनन्द आउदोरहेछ । मेरो आमाको जीवन किसानीमै खर्चिनुभो, मेरी दिदीले अझै किसानी गर्नुहुन्छ, मेरो दाई, मेरो साथीहरु, मेरो आफन्तहरु सबै अझै पनि तल्लो बर्गमै छन जसले महँगो अस्पातलसम्म पुग्ने हैसियत राख्दैनन । त्यसैले मलाई सहज दंगले उहाँहरुले पाउनुपर्छ र म उहाँहरुको साझा सेवक बन्नुपर्छ भन्ने मेरो चाहना हो ।  

४) शिविर सञ्चालनको लागि जिल्ला अस्पताल रोल्पा र अन्य क्रियाशिल विभिन्न संघसंस्थाहरुको सहयोग कस्तो रह्यो ?
- हामीले जिल्ला अस्पतालसँग समन्बय गरेर नै गएका थियौ किन कि स्वास्थ्यसेवासँग सम्बन्धित कार्यक्रम भएको हुनाले त्यसो गर्नु जरुरी पनि थियो । जनस्वास्थ्यबाट निशुल्क बितरण गरिने केही औषधी पनि माग गरेका थियौ तर प्रकृयागत कारणले नमिल्ने रहेछ । पछी स्वास्थ्य चौकी जंकोटबाट माग फारम भरेर केही औषधी लिएका थियौ । आबश्यक जती  बाड्यौ र बाँकी चाँही फिर्ता गरिदियौ ।
तिलगंगा सामुदायिक आँखा अस्पताल अन्तर्गत सामुदायिक आँखा अस्पतालले पनि दुई दिन नै निशुल्क आँखा शिबिर सन्चालन गर्यो । हामीले जसरी सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेका थियौ, त्यो पायौ । त्यो पनि खुशीको अर्को पाटो हो ।

५) अब यस्तो खालको कार्यक्रम फेरिपनि हुन्छ या हुँदैन ?
- यसपालिको कार्यक्रमको आयोजना र ब्यबस्थापनको जिम्मा माडी जलजला युवा क्लव जंकोटले लिएको हो, बिशेष आर्थिक तथा प्राबिधिक सहयोग मेरी आमा श्रीमती मनमाया घर्ती मगरको हो । कार्यक्रम सम्पन्न भैसके पछी बिभिन्न प्रतिकृयाहरु आइरहेका छन । सबैले राम्रो कामको थालनी गर्यो भनिरहेका छन । म त अर्को पटक गर्दा अझै ब्रिहत रुपमै लानुपर्छ भन्ने पक्षमा छु त्यसैले नै ब्यानर र टिकेटमा पनि स्वर्गिय मैसर घर्ती मगरको स्मृतिमा आयोजित 'प्रथम' निशुल्क स्वास्थ्य शिबिर लेखिएकोछ ।

६) तपाईंको नजिकै रहेर शिविर सम्पन्न गर्नको लागि सहयोग गर्ने सहयोगी दाताहरुलाई कसरी सम्झनुहुन्छ ?
- मैले जुन उद्देश्यका साथ जजस्लाई प्रस्ताव राखे धेरैले सहयोग गर्नुभएकोछ । मैले केही औषधी कम्पनीहरुसँग पनि सहयोग मागे र उनिहरुले मिल्ने जती सहयोग गरेका पनि छन । केही औषधी किनेर पनि बाडिएकोछ । जजसले सहयोग गर्नु भएकोछ उहाँहरु सबैप्रती म क्रितज्ञ छु । 

७) अन्तमा, सनस्टार साप्ताहिक मार्फत् भन्नेपर्ने कुरा केही छन् कि ?
- शिक्षा र स्वास्थ्यले मानव जीवनमा प्रत्यक्ष सरोकार राख्दछन । यि कुराहरुलाई त्यती महत्व दिएको देखिदैन तर सनस्टार साप्ताहिकले यस्लाई बिशेष महत्वका साथ स्थान दिएरहेकोमा धन्यवाद दिन चाहन्छु साथै यो कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नु हुने सबैमा बिशेष आभारी छु । 


नवीन लोचनमगर
कार्यकारी सम्पादक
*****************
देवी गुरुङ
सहसम्पादक
************
सनस्टार राष्ट्रिय साप्ताहिक
लिबाङ-६, रोल्पा

Friday, March 8, 2013

अनुरोध! शान्तिलाई

सयौको माझमा पनि बिरानोमा एक्लो छु म
हाँसी रहे झै गरे पनि आसुँ लुकाइ रुदैछु आज
हर्षित पार्न मनलाई भौतारिदैछु उनकै लागि
पर्खि पर्खि बसेकोछु फर्क मेरी शान्ती!

कोइ जादुगरले लायो कि मोहनी तिमीलाई
निष्ठुरी बनिकन छाडेर हिड्यौ मलाई
नदेखाउन अरुलाइ चाहेको जस्तो नानाभाँटी
रातदिन बिलापमा छु फर्की आउ है शान्ती ।  

पश्चिम पुगें लुम्बिनी भेटेन कोइ पनि
मध्य भ्याएँ स्वयम्भु र पशुपती घुमी
जहाँ धाएँ मनमा तिम्रै अभाव कान्ती
पूर्व लागें तिमीलाई पाउने आशमा शान्ती ।    

धेरै थिए साट्नु पर्ने कुराहरु जीवनका
सत्य थिए वाचाहरु झुटा होइनन यौवनका
सोध्न गएँ भ्रिकुटीलाई भेटिइन जानकी नि
सवै भन्छन मेरो लागि तिमी नै हौ रे शान्ती । 

बोलाए नि अरुले तिम्रो नाम चिच्याइ चिच्याइ
अङाल्न आतुर छु पिरतीको मान्द्रो बिछ्याइ
मौनतामा भित्र भित्रै तिम्रै याद झलझली
फूलमाला उन्न थाल्छु आउ है मेरी शान्ती ।
चाडै आउ है मेरो आँखाको ज्योति बनी
हुने छ संसार हराभरा नत्र खरानी
टद्पिदैछु एक्लै एक्लै तिम्रै नाम जपी
चौतारीमा कुर्दै हुन्छु आउ है प्यारी शान्ती
मेरी मनकी प्यारी शान्ती ।

११ भाद्र २०६१
थसिखेल, ललितपुर   




गाउँ र शहर


गाउँ भन्नु गाउँ हो
शहर भन्नु शहर नै
यही नै त छ भिन्नता ।

शहरको जननी हो - गाउँ
शहरीयाको पुर्ख्यौली हो - गाउँ
गाउँ सुसम्पन्न हो
शहर सुसज्जित हो
ए! मेरो साथी, आउ
हामी सँग-सँगै एउटा ठाउँ जाउँ ।

गाउँको त्रिष्णा मेट्नलाई
मैले कसरी शहर रोज्नुँ?   
यहाँ गाउँमा जस्तै
कहाँ हुनु - स्वच्छता
कहाँ देख्नु - सुन्दरता
कहाँ पाउनु - आत्मियता
धेरै नै भो गाउँ नगा’को पनि
ए मेरो साथी 
म त अचेल पाखे भाछु ।

ए शहरीया साथी!
गाउँ सजाउनलाई
जाउँ मसङै हिड उतैतिर ।
२८ मार्च, २०१२

धापासी, काठमाडौं

नव-जीवन


यसैलाई भन्दा हुन
चखेवाका जोडा-जोडी

टुसाहरु सङै
मन पलायो होला  
कोपिला हुँदै
प्रेम फुल्यो होला
यो सुघन्ध फैलियो

सन्तान मोह
पुष्टाको आश
बंशको निरन्तरता
चरम सुख हो कि!

असह्य पिडा भोग्नुछ
तर प्रसव रहर
जन्म दोधार
तर विश्वाश

जन्म्यो
खुशी भएँ
रोएन
छट्पटिएँ
जोडले रोयो
सबै हाँस्न थाल्यौं
बिपरित
तर कस्तो यो
पर्याय सम्बन्ध!

जनम - भय
मृत्यु - भय
अनौठो जीवन - मान्छेको
यही रैछ खुशीको चाङ    

०३ मे, २०१२

धापसी, काठमाडौं

गीत: म त्यही हुन्छु


जती निर्मम ठान्छौ मलाई निर्दयी म छैन
जती कोमल सोच्छौ त्यती नरम पनि छैन
मलाई बुझ्न नजिक आइ मुटु छाम्नै पर्छ
चोखो माया फुलाउन त बेर्ना सार्नै पर्छ

सुख दु:ख दुबै छन मेरो पनि जीवनमा
चाहेको पाउनै पर्छ भन्या छैन यो मनमा
मिल्ने जती खुशीहरु अरुसँग बाड्नै पर्छ
हृदयहरु साटिकन हाँशी-खुशी बाँच्नै पर्छ

कहिले काही हातहरु खोसिए झै लागे भने
कहिले तिम्रो आँखाहरु पोखिए झै लागे भने 
आँशु पुछ्दै अधर चुम्न म समिपमै हुन्छु
हात ठाम्न साथ दिन सधैं म त्यही हुन्छु । 
July 23 2012

गइन् उनी


अलग थिए बाटाहरु मिलाएर गइन् उनी ।
बुन्दै थिए सपनाहरु बिलाएर गइन् उनी ।

हरियाली देख्थें सारा, सधैं सुन्दर दृष्‍टि
स्थिर मेरा नजरहरु हिलाएर गइन् उनी ।

खोपिकन रित्तो रित्तो, मेरो मन-मुटु भरी
अनगिन्ती यादहरु दिलाएर गइन् उनी ।

जुगौ बाँच्न खुशी साट्न, सङै खोज्यौ संजीवनी
ऐले बिषका प्यालाहरु पिलाएर गइन् उनी ।

सुहाएन कि निष्ठुरीलाई, ओदाएको आफ्नोपन  
फाटेका ति साइनोहरु सिलाएर गइन् उनी ।
23 August 2012

दिदीको गीत: तिज


चुल्होचौको दिकीजाँतो गर्नु पर्ने दिनभरी
भित्र-भित्रै माइतीकै याद मनभरी ।

साथीसङी भाइ र बहिनी रुदै थिए म आउँदा
कती खुशी हुन्छन होला माइत म जादा ।  

बुवाआमा बुदाबुदी भाइ र बहिनी सानै छन
साँझ बिहान कसोगरी के के खाँदै छन ।

जन्म घर छाड्नै पर्ने छोरीको कर्म यो
कसले बुझ्न सक्ला बरै हाम्रो मर्म यो । 
2012 

Saturday, February 16, 2013

गजल: खोइ!


भै गयो कमरेड! कती गर्छौ खोक्रो भाषण हामीलाई 
के-के नै गर्छु भन्थ्यौ झन्, चर्को भो शासन हामीलाई ।

मार्यौ, मार्न लायौ हाम्रै दिन पक्का आउछ भनी
रगतले लपक्क लट्पटियौ, खै त सिंहासन हामीलाई ।

लालाबाला टुहुरो बनाइ, पुछ्यौ सिन्दुर चेलीको
लुकी-छिपी अझै पाप् गर्ने, दिदैछौ कासन हामीलाई ।

सारा दु:ख बिर्सिकन लडि जित्यौ तिम्रो लागि
अपाङ्ग भो बस्ती आज, देउ खाने राशन हामीलाई ।
January 17, 2013

खोजी

एउटा टिप्छ
अर्को देख्छ
अनी चटक्क छाडेर
च्याप्प छोप्छ  
छिनभरमा   
पुन: अर्को ताक्छ ।

घुमाइ फिराइ हेर्छ
मन पर्छ/मन पर्दैन
गुणी/ बैगुणी
एकनाश हुन्न रैछ
हेराइ,
बुझाई,
छामाई
भिन्न छ
आफ्नै जिन्दगी ।

फरक मान्छे
फरक चिज
सबै फरक
नितान्त फरक ।

पलपल हाँस्छ
सधैंको लागि
पलपल बाँच्छ  
सबैको लागि
तर कतै-कतै 
कोपिलाहरु निमोठिदा
हिलो र पानीमा फुल्ने फूल
आज बिस्तारै रोयो ।

कठै नि!   
अस्थाइ बबुरोलाई
अचेल खोज्दैमा बित्दो छ  
स्थाइ मान्छे
स्थाइ नाम
स्थाइ भबिश्य
स्थाइ जिन्दगी ।
10th Feb 2013

Friday, January 18, 2013

आग्रह


जाउ साथी घुम्नलाई लिवाङ बजार
जन्माउने रोल्पालाई लगाउ नजर 

जलजला पहाड उस्तै साहस
अरुको छैन भो तिम्रै छ आश

नदिमा पुल छैन गाउँमा बिजुली
हिजो झै आज छन् सोझा रोल्पाली

न पानी न शिक्षा न त उपचार
सेवा नै धर्म हो गरौ उपकार

सङ्लो छ माडी झन् सङ्लो यो मन
स्पर्श गर्न आउ सुनिदेउ धड्कन 
Dec 21, 2012

सवाल जिन्दगीको


सवाल थियो
प्रिय जिन्दगीको ।

संक्रमणकालिन समयको घेराभित्र
बन्दी पारिएको म
कि पार लाउनु पर्ने
कि भार ठाम्नु पर्ने ।

मस्किदै आइन् अगाडिबाट
पार लाउन गाह्रो लाग्यो
निसंकोच डुबुल्की मारे
फनफनी त्यो भुमरीमा
बेस्सरी सर्किएँ जानी-जानी  
सवाल थियो जिन्दगीको ।

जोशिदै आइन् पछाडिबाट
भार ठाम्न गाह्रो लाग्यो 
निसंकोच खुट्टालाई ठेस लाएँ
अनायस ठुलो ठक्कर खाइ रन्थनिएँ 
सवाल थियो जिन्दगीको ।

गुज्रिनु थिएन खराब जीवनसँग
किन कि
सवाल थियो मेरै जिन्दगीको ।

दाँया हेर्छु, बाँया हेर्छु
उनी हुन्छिन सङ-सङै
माथि हेर्छु, तल हेर्छु
उनी हुन्छिन सङ-सङै
आहा! स्वतन्त्रता
आहा! जिन्दगी
न पार लाउनु पर्ने
न भार ठाम्नु पर्ने
यो जित दुई जिन्दगीको
सवाल रै'छ यि दुई जिन्दगीको ।
23 December 2012