Sunday, February 28, 2010

होली अझै आएको छैन


सानो छदा
रङ्गीचङ्गी मान्छेहरु देखेर
अनौठो मान्दै हेर्थें
अली पछी,
आँफै पनि फागु कुरेर
अरुलाई छ्याप्दै
अरुबाट छ्यापिदै
रमाइलो गर्दै खेल्न थालें
रङहरुको पर्ब होली ।

बर्षको एउटा मौका
साथीसङिको साथ
हातमा रङ
मनमा उमङ
जोशै जोशमा
बर्षौ बर्ष खेलियो होली ।

जानेर/नजानेर
बुझेर/नबुझेर
कहिले रहरले
कहिले करले
धेरै होली खेलियो ।

तर, लाग्दैछ अचेल
औचित्यहिन यो होली
दैत्यराज हिरण्यकश्यपु
निस्फिक्री राज गरिरहेछन
होलीका वरको दुरुपयोग गर्दै
आडम्बरको प्रहार गरिरहेछिन
प्रहृलाद भने पटक-पटक
मेरै सामु खरानी भैरहेछन् ।

सोच्दैछु,
म किन होली खेलिरहेछु ?
हिरण्यकश्यपु जुगौ जुगदेखी
रगतको होली खेलिरहेको बेला
होलीका मेरो टाउकोमाथि चदेर
मेरो मंश लुछिरहेको बेला
ब्रह्मा आफ्नो खुशी र स्वार्थमा
वरदान बाडिरहेको बेला
बिष्णुभक्त प्रहृलाद आगोमा
दनदनी जलिरहेको बेला
अर्थात,
लखन थापा मगर, गंगालाल श्रेष्ठ,
दिलबहादुर रम्तेलहरुको रगतमा
म किन होली खेलिरहेछु ?
दानवहरुको खुरुखुरु आज्ञा मान्दै
मेरो रगतमाशु किन चदाईरहेछु ?

सोधिरहेछु आँफैलाई,
मैले ब्रह्माको शक्ति नाश कहिले गर्ने ?
हिरण्यकश्यपुको बध कहिले गर्ने ?
होलीकाको चीर दहन कहिले गर्ने ?
म रगतको आहलमा डुबेर
प्रहृलादको खरानीमा छट्पतिदै
मेरै रगतको होली कहिलेसम्म खेल्ने ?

अब भने प्रण गर्नैपर्छ
हिरण्यकश्यपु, होलीका
ब्रह्मा र गुरुमापाहरुको
सत्यानाश गरेको क्षण
सत्यले जितेको दिन
स्वतन्त्रताको उत्सव मान्न
चोखो रङको अविर छर्नेछु
मेरो खुशीको होली खेल्नेछु ।
28 Feb,’10

Thursday, February 25, 2010

समय-चक्र

एक समय,
सुखद दिनहरु
हरपल उनीसँग रम्थें
जताततै खुशी देख्थेँ
संसार भन्नु नै उनी
उनी भन्नु नै संसार
यत्ति नै जीवन सोच्थें
यत्तिकै लागि जिउथें ।

एक साँझ,
सुनसान अध्यारोमा
उनले,
बाधेका जीवन-बाचा भुल्दै थिइन्
खाएका कसम पनि तोड्दै थिइन्
म बिन्ती गर्दै थिएँ
अन्योल भबिश्य साक्षी राखेर
विश्वाश नहराउन सम्झाउदै थिएँ ।

एउटा रात,
चकमन्न र सन्नाटा लिएर
झन झन छिप्पिदै थियो
म पिडाले आहत थिएँ
कोल्टे फेर्दै-फेर्दै भक्कानिदै थिएँ
झरिरहेका आसुँ ऐनामा हेर्दै
आँफैलाई सान्त्वना दिदै थिएँ
भट्किएका सपनाले थिचिएर
जिउने न मर्ने गरी घायल थिएँ
र पनि,
उनको बाँकी इज्जत बचाउनलाई
मेरै बेइज्जत गर्दै थिएँ ।

एक मिर्मिरे बिहान,
ताराहरु हराउदै थिए
डुबोका शीतहरु चुमेर
बालक घाम चम्किए झै
मेरो परेलीका अश्रु चम्किएर
बाँचेर हाँस्न उर्जा दिदै थिए
म झिनो आशा लिएर
बेहोशीबाट बिउँझीदै
नविन बिहानीको समीपमा
लुलाएका ति पाइलाहरु
फरक बाटोमा चाल्दै थिएँ
हर्ष, आनन्द र उत्साह
धेरैपछी अनुभुव गर्दै थिएँ ।

हिजो,
आज,
उनको स्वार्थमा हारेर
थुप्रैको मन जितेकोछु ।
उनको साथ छुटेर
धेरैको प्रिय बनेकोछु ।
उनको अबिश्वास बिर्सेंर
मेरो भबिश्य सजा'कोछु ।
एउटा प्रेमी गुमाएर मैले
मेरो बर्तमान बाँचेकोछु ।
आफ्नो सिङो जीवन पाएकोछु ।
July,‘09

Friday, February 19, 2010

हाँसो मात्र चाह्यौ भने

हाँसो मात्र चाह्यौ भने हाँस्न सक्छु सधैंभरी ।
आसुँ मात्र चाह्यौ भने रुन सक्छु धरधरी ।

मेरो खुशी तिमी नै हौ तिम्रै लागि बाँचें
मनको चोखो महल मैले तिम्रै लागि साँचें
मेरो बाटो हिड्न छाडि तिम्रो पाइला बनिदिन्छु
साथ दिने बचन दिए अमृत पनि थुकिदिन्छु ।

हाँसो मात्र चाह्यौ भने हाँस्न सक्छु सधैंभरी ।
आसुँ मात्र चाह्यौ भने रुन सक्छु धरधरी ।

कल्पनामा आउँदा तिमी उमंगको चुली चदें
बिलाई जाँदा छाती चस्की फेरी ऐठन परें
मैले माया गर्नेलाई जम्मै मुटु अर्पिदिन्छु
जीवन मागे हाँसी-हाँसी भाकल'नि गरिदिन्छु ।

हाँसो मात्र चाह्यौ भने हाँस्न सक्छु सधैंभरी ।
आसुँ मात्र चाह्यौ भने रुन सक्छु धरधरी ।
२०६१-०५-०१
ललितपुर

Wednesday, February 17, 2010

भर्च्युअल साईनो

मेरो हिमाल,
कहिल्यै हाँसेको देखिन ।
मेरो पहाड,
कहिल्यै बाँचेको देखिन ।
मेरो तराई,
कहिल्यै सजेको देखिन ।

न पूर्व-पश्चिम,
सँगै हिंडेको देखेको छु ।
न उत्तर-दक्षिण,
मिठो बोलेको सुनेको छु ।
न त सिङो मुहारमा,
उज्यालो कान्ती देखेको छु ।

मैले त,
जून हाँसेको मात्र देखें
बायु बाँचेको मात्र देखें
आकाशको श्रिंगार मात्र देखें ।

बरु,
ताराहरु सँगै हिंडेको देखेकोछु ।
सुर्य र जूनको मिलाप देखेकोछु ।
रातमा टह-टह ज्योति देखेकोछु ।

त्यसैले,
म सधैं कल्पनामा
जूनसँग हाँस्न सिकें
बायुसँग बाँच्न खोजें
आकाशसँग सिङारिन चाहें
र, तिनकै गीत गाउन थालें ।

तर,
यथार्थमा
न जूनले हसाँयो मलाई ।
न बायुले बचाँयो मलाई ।
न आकाशले सजायो मलाई ।
न गाउन कसैले सघायो मलाई ।

तसर्थ,
अब बल्ल
मेरो गीत चिनेको छु
र, भन्न जानेको छु,
मेरो हिमाल हाँस्नु पर्छ ।
मेरो पहाड बाँच्नु पर्छ ।
मेरो तराई सजिनु पर्छ ।

अब मैले,
नयाँ गीत लेख्न सिकेको छु
एकै स्वरमा,
नयाँ गीत गाउन थालेको छु
डाँफे-मुनाल नाँच्नु पर्छ ।
लाली गुराँश फुल्नु पर्छ ।
धानका वाला झुल्नु पर्छ ।
हिमाल, पहाड र तराईमा
पूर्व-पश्चिम, उत्तर-दक्षिणमा
मेरै माटोमा, मेरै देशमा ।
16 Feb,’10

Tuesday, February 16, 2010

कोटडाँडाको झण्डा

बसन्तको याम
रमाइलो एक साँझ
भाँडाकुटी खेल्दा खेल्दै
दिदीले धुरु-धुरु रुदै भनिन्,
भाइ, अब म जान्छु है!
‘कहाँ जाने’ भनेर सोधिन
तर, मेरो स्विक्रिती थिएन
बरु, दिदीसँगै जान तम्सिएँ
म बिचरा! अवोध बालक ।

उनी निकै हतारमा थिइन्
निकै पारीको डाँडा देखाउदै भनिन्
"उ त्यो 'कोटडाँडा' हो,
अनि चुचुरोको चाँही 'झण्डा' ।"
र, भन्दै गइन्,
“हो, म त्यही कोटडाँडा जान लागेको
त्यही पुरानो झण्डा फेर्नलाई ।"

मैले नियालेर हेरें
र, देखें पनि फर्फर गरिरहेको त्यो
'कोटडाँडाको पुरानो झण्डा' ।

म नराम्ररी तर्सिदै सोधिरहें,
उनी जवाफ दिइरहिन्
किन जाने ?
“झण्डा फेर्न ।“
कसरी जाने ?
“संघर्ष गर्दै ।“
कोसँग जाने ?
“सहयात्रीसँग ।“
अनि के हुन्छ ?
“मेरो प्यारो भाइ,
मान्छे-मान्छे बराबर बन्न
सबै थिचोमिचो हटाउन
हामी स्वतन्त्र र मुक्त हुन
यि सवै तिम्रै लागि गर्दैछु ।"


धेरै नबुझिने केहि सत्य थियो त्यो
गर्नेहरु जती जम्मै नाङा
बाङाहरु सवै चङ्गा
हामी त थिचिइएका-हेपिइएका
सधैं किल्चिइका मिचिइका ।

मैले पनि अड्डी कसें
धेरै जिद्धी गर्दै भनें,
म छोरा हुँ ।
मैले केही पढेको छु ।
म चतुर छु ।
तर, दिदीले भनिन्
म छोरी हुँ ।
म अनपद हुँ ।
म इमान्दार छु ।
तसर्थ,
म त झन जानैपर्छ ।

बलिन्ध्र आसुँ बहाउदै
प्राणलाई हत्केलामा राखेर
खैचडी र मादल झोलामा बोक्दै
अधेरीमै अप्थ्यारो बाटो लागिन्
र, जादा जादै भनी रहिन्,
उज्यालोमा पुतलीको पिछा गर्नेछु
अध्यारोमा जुनकिरीको साथ हिंड्नेछु
जँगलका नरभक्षीलाई जित्दै जानेछु
भाइ! आफ्नो ख्याल गर है
बुवाआमाको राम्रो सेवा गर है
आमालाई नरुन भन्देउ!
बाबालाई पिर नगर्न भन्देउ!
म त चाडै पुग्नुछ
कतै म लक्ष्यमा चुकेछु भने
कतै म पुगिनछु भने
मेरो पाइला पछ्याउदै
तिमी आँफै बाटो खोजेर, खनेर आउ
तिमी आँफै बुझेर, भोगेर आउ
तिमी धेरै पढेर, सिकेर आउ
त्यो कोटडाँडाको झण्डा फेर्नलाई
आउ, तर बचेँर आउ ।

हरेक बिहान, हरेक साँझ
हरेक क्षण दिदीको यादमा
एकोहोरो रुदै रुदै कटाएँ
दिदिको यात्रा सफलताको कामना गरिरहेँ
हरेक क्षण त्यो झण्डालाई चियाउदै
नयाँ झण्डाको प्रतिक्षा गरिरहें
र, एक मिर्मिरेमा
छाँया झै देखिने एक हुल मान्छेहरु
कोटडाँडाको शिखरतिर लम्किरहेको देखें
चुचुरोमा बिहानी उषासँग जम्काभेट गर्दै 
कोटडाँडाको पुरानो झण्डालाई उखेलिदिए
क्षितिज भरी सुनौलो किरण फिजाइदिए
र, सफलताको नयाँ झण्डा फहराइदिए ।

अर्को बिहान,
एक बिरंगना युद्ध जितेर आइन्
एक योद्धा उद्देश्य चुमेर आइन्
काखमा क्रान्तिको एक चिनो बोकेर आइन् 
बधाई! महान लालयोद्धा
समाज बदल्ने अठोट पुरा गरेकोमा
मान्छे मान्छे बिचको बिभेद हटाएकोमा
रुदिवादी किल्ला तोडेर नयाँ झण्डा गाडेकोमा ।

भाईको लागि त
एक चेली कोशेली लिएर माइत आइन्
तर, मेरी मायालु दिदीकी अनुहारमा
पहिले झै चन्चलता पाउन सकिनँ
उनको उर्बर समय लहलह पलाएको देखिनँ
उस्तै त्यो कल्कलाउदो उमेर पनि भेटिनँ ।
जीवनको प्रिय एक दशक उतै त्यागिन्
साथमा थियो त,
पाहुर भनेर एक सहयात्री हात
क्रान्तिको प्रतिक एक सन्तान
अनी फरक परिचय थियो
समाजकी दिदी, देशकी छोरी,
बर्तमानकी आमा ।

धेरै साथीसँगी उतै छुटेछन्
सन्ते काका, बले दाइ, रामु भान्जा,
गिरमान बाजे, गंगा मामा, दिलमाया भान्जी,..
कोही अल्मलिएछन् बिच बाटोमै
कमरेड बरुण, प्रभात दाइ,.. अरु अरुहरु ।

र आज,
थोरै पढेर, थोरै भोगेर
थोरै सिकेर, थोरै सुनेर
धेरै धेरै सहेर, अलिअलि परेर
दिदीको चिनोलाई साक्षी राख्दै
झण्डाको रक्षक बन्ने कसम खाँदैछु
यदी,
सालीकहरु मालिक बन्न खोजे भने
गिद्धहरु सिद्ध कहलिन थाले भने
आस्थाको झण्डा उखेल्ने दुस्प्रयास गरे भने
निगरानी राख्नुछ जाग्रम रहेर
किन कि,
कोटडाँडाको झण्डा फेर्नलाई
मेरो सुखद बाल्यकाल गुमाएकोछु
कोटडाँडाको झण्डा फहराउनलाई
हजारौको रगत पसिना यिनै आँखाले देखेको छु ।

म चाहन्छु,
मेरी दिदी अब कतै नजाउन 
अरु भाइहरुले दिदिहरु नगुमाउन   
त्यसैले,
कोटडाँडाको झण्डा बचाउनलाई
म सधैं जाक्तै बसेकोछु, बस्नेछु
अब कोटडाँडाको झण्डा रक्षा गर्नु
मेरो जिम्मा हो, मेरो अधिकार हो
मेरो दायित्व हो, मेरो कर्तब्य हो ।

०५ फेबुररी, २०१०

शान्दोङ, चाइना  

Saturday, February 13, 2010

गजल

एक्लै रम्ने मनलाई, साथ खोजू लाग्न थाल्यो ।
बिरानो मान्छेसँग, साईनो जोडू लाग्न थाल्यो ।

नजरको बाणले हानी, भागि हिड्ने दोबाटोमा
भन्देउ न तिम्रो नाम, जपूँ जपूँ लाग्न थाल्यो ।

फर्की फर्की हेर्दा मैले, तर्किएर हिड्छौ किन
नजिक यतै आइदेउन, सँगै हिडूँ लाग्न थाल्यो ।

ओठले बोल्ने सबै कुरा, आँखाको मिठो भाषा
जादुमयी तिम्रो धुन, सुनी रँहू लाग्न थाल्यो ।

मुटुभित्र बस्यौ पृय! बाटो मोड्न सक्दिन म
तरंगियो ‘चन्द्र’ आज, सिन्दुर भरुँ लाग्न थाल्यो ।
7 Oct,' 09

Wednesday, February 10, 2010

प्रश्नलाई प्रश्न

मायालु मन पनि, फेरी दुख्छ किन ?
पत्थर झै साह्रो मुटु, पग्लिन्छ किन ?

हिडिरहने पाइलाहरु, पनि थाक्छन किन ?
सुन्दर आँखाबाट, आसुँ बग्छन किन ?

बाहिर शान्त मन, टाढा उड्छ किन ?
खाली नै जानुछ, लोभ लाग्छ किन ?

चिताएकै पुर्याउने, सपना हुन्छ किन ?
बिचमै झस्केर, अधुरै रहन्छ किन ?

नदेखिने पिडाले, निकै पोल्छ किन ?
नजोडिने साइनोले, यती गाँस्छ किन ?

सधैं जित्नेले'नि, आखिर झुक्छ किन ?
नजिकको सुन्यतामा, निकै रुवाउछ किन ?

बाँच्दा-बाँच्दै जीवन, एकदिन दल्छ किन ?
जिउनलाई जन्मेर, मान्छे मर्छ किन ?
08 Feb,’10

Tuesday, February 9, 2010

मेरो बुवा

समय छिटो हिड्यो कि, बुवा!
म नै ढिलो भएँ!?
सुई चाडो कुद्यो कि, बुवा!
पाईलाहरु सुस्त चालें!?

दु:ख गरी सुख दियौ
सन्तानलाई, बुवा ।
गरीबबाट धनी पार्यौ
परिवारलाई, बुवा ।
जिउभरी छोपिदियौ
नाङे-भाङ्रेलाई, बुवा ।
झुप्रोमा जन्म्यौ-हुर्क्यौ
हामी महलमा, बुवा ।
जन्मस्थललाई माया गर्यौ
देखायौ संसार, बुवा ।
काँडाहरु आँफै कुल्च्यौ
हामीले फूलमा, बुवा ।
तर आज बिधुवा पार्यौ
हाम्री आमालाई, बुवा ।
सहाराहिन बनाइ छाड्यौ
लालाबालालाई, बुवा ।
रुवावासी बनाइ गयौ
छिमेकीलाई, बुवा ।
अध्यारो र सुनसान पायौ
हाम्रै घरलाई, बुवा ।

सुखी परिवार दुखी भयौ
अचानकमै, बुवा ।
टुहुराको सन्तान टुहुरै बन्यौ
मान्छेको चोला, बुवा ।
बिपन्नबाट सम्पन्न भयौ
फेरी दरिद्र, बुवा ।
सबै-सबै चदाउन चाह्यौ
नमिल्ने रहेछ, बुवा ।
घरको धुरी-मुली गुमायौ
नफिर्ने गरी, बुवा ।
हेर्दा हेर्दै खरानी पायौ
आँखा सामु, बुवा ।
जताततै आशाले खोज्यौ
नभेटिने रैछ, बुवा ।
बुवा-बुवा चिच्याउदै भन्यौ
नपाईने साईनो, बुवा ।

साथमा हुन पाइँन म
प्रदेशी छोरो, बुवा ।
चाहेरै पनि योग्य भईनँ
बचाउनलाई, बुवा ।
आसुँ पुछ्न'नि भ्याएनँ
चाहदा चाहदै, बुवा ।
अन्तिम उपदेश'नि छुताए
आउँदा आउँदै, बुवा ।
अन्तिम बोली'नि सुनिनँ
अधुरै भो इच्छा, बुवा ।
मेरै हातले खुवाउन पाइँन
पानी माग्दा, बुवा ।
छेउमा सहारा हुन सकिनँ
अन्तिम क्षणमा, बुवा ।
सेवा गर्न लेखिनछु
सराप नदिनु, बुवा ।

कुनै कर्तब्य पुरा गरिनँ
सम्झेकैछु, बुवा ।
गुमाए पनि आदर्शलाई
आत्मा साक्षी, बुवा ।
सधैं मेरो भगवानलाई
पुजिराछु, बुवा ।
सेवा गर्न अर्को जुनी
कुरिराछु, बुवा ।
गह्रौ सबै बिडो पनि
ठामिराछु, बुवा ।
मुटु साह्रै पोले पनि
सहिराछु, बुवा ।
भित्र भित्रै दले पनि
सम्हालिराछु, बुवा ।
खुट्टाहरु लर्बराए पनि
हिडिराछु, बुवा ।

सपना साकार पार्नेछु
भुल्ने छैन, बुवा ।
मरेकालाई ब्युताउने आशिष
चुकाउने छैन, बुवा ।
रोएकालाई हसाउने अर्ती
बिर्सिने छैन, बुवा ।
जूनकिरी बनी अध्यारो चिर्छु
अल्मलिने छैन, बुवा ।
दियो बनी उज्यालो दिन्छु
निभ्ने छैन, बुवा ।

अप्ठ्यारोमा आत्मबल
थपिदिनु, बुवा ।
निराशालाई मनबाट
पन्छाइदिनु, बुवा ।
बिपत्तिमा काध सधै
थापिदिनु, बुवा ।
दोबाटोमा बाटोहरु
चिनाइदिनु, बुवा ।
दोधारमा अल्मलिदा
सम्झाइदिनु, बुवा ।
अद्रिश्यमै हामीलाई
हेरिरहनु, बुवा ।
प्रेरणा र आशिर्वाद
छरिरहनु, बुवा ।
सफलतामा स्वर्गैबाट
हाँसिदिनु, बुवा ।
शान्ती मिलिरहोस, बुवा ।
07 Feb,’10
(सबै परिवारलाई जुटाएर मात्र मेरो जन्मदिन मनाउने योजना बनाएको थिएँ । तर, बिडम्बना! मेरो चाहना पुरा नहुँदै बुवाले सधै सधैंका लागि आकस्मिक रुपमा हामीलाई छाडेर जानुभयो । बुवाको बाँच्ने इच्छा हुँदा हुँदै पनि नियतिले जबर्जस्ती उठाएर लग्यो । यस जन्ममा आफ्नो कर्तब्य केही निभाउनै पाइँन । बाहिर नदेखिने यो बेदनाले भित्र भित्रै निकै पोलिरहेको छ । तसर्थ, अर्को जुनीमा म मेरो बुवाको 'बुवा' को रुपमा जन्मिन पाउ र यस जन्मको भार थोरै भए पनि उतार्न सकू भन्ने मेरो जन्मदिनमा भगवानसँग एउटै कामना गरेकोछु ।)

Monday, February 8, 2010

मेरी आमा

मेरी आमा !
मेरी प्यारी आमा !
गर्भमै कष्ट दिएँ
जन्मदा पिडा दिएँ
हुर्केर दु:ख दिएँ
बदेर पिर दिएँ ।

आसुँ लुकायौ
मेरो खुशी देख्न ।
जाडो सह्यौ
मेरो जिउ दाक्न ।
भोक भोकै बाँच्यौ
मेरो पेट भर्न ।
रातदिन अनिदो बस्यौ
मेरो ख्याल गर्न ।

माया गर्यौ
अटेरी भएँ ।
कुरा बुझायौ
अधैर्य बनें ।
हाँस्न सिकायौ
उल्तै रुवाए ।
बोल्न सिकायौ
अनादर बोलें ।
हिंड्न सिकायौ
टाढा टाढा गएँ ।

तिमीले सबै दियौ
मैले सबै लिएँ
तिमीले सबै गुमायौ
मैले सबै पाएँ
बदलामा,
कहिल्यै केही मागिनौ
न त मैले दिएँ
दिन्छु दिन्छु भन्दा भन्दै
अमुल्य चिज खोज्दा खोज्दै
अहिलेसम्म केही भेटिन ।
त्यसैले, आमा !
यसपाली पनि दिने केही भएन ।

आमा !
प्यारी आमा !
खुम्चिएको तिम्रो निधार हेर्छु
चाउरिएका गाला हेर्छु
खिरलो पाखुरी हेर्छु
‘नेटो’ काट्दै गरेको उमेर हेर्छु
सधैं यसैगरी,
तिमीलाई हेरिरहेको मात्र हुन्छु ।

हरेक मेरो 'किन' प्रश्नमा
तिमी सधैं दोहोर्याइरहन्छौ,
तारा झै चम्किरहन
घाम झै बिहानी दिन
जूनमामा झै सुन्दर बन्न
इन्द्रेणी झै मुस्कान छर्न ।

मेरी आमा !
मेरी प्यारी आमा !
बलेसीमा के नै बग्यो र !?
तिम्रो आसुँ बगिरहदा ।
घरको खम्बा के नै मक्यो र !?
तिम्रो हाडमासु गलिरहदा ।
मझेरी र आँगन के नै रित्यो र !?
तिम्रो मन सधैं खाली खाली रहदा ।
घरधन्दा के नै बिथोलियो र !?
तिम्रो शान्त मन लथालिङ हुँदा ।
र पनि,
अझै तिमी भन्दैछौ
तिम्रो खुशीको लागि ।
तिम्रो सुखको लागि ।
तिम्रो भबिश्यको लागि ।
तिम्रो बुदेसकालको लागि ।
तर,
मेरी आमा !
मेरी प्यारी आमा !
मलाई किन कहिल्यै भन्दैनौ !?
यि सारा सहदैछौ सन्तानका लागि ।
यि सब त्याग गर्दैछौ मेरै लागि ।
07 Feb,’10
(जन्मदिनको एउटै 'कामना' छ, अर्को जुनीमा म मेरी आमाको 'छोरा' वा 'छोरी' हुनलाई नभएर, म मेरी आमाकी 'आमा' बन्नका लागि मात्र जन्मिन पाऊ ।)

Sunday, February 7, 2010

गजल

फुसुफुसु सास फेर्नु मात्र, जिन्दगी हो भन्दिन म ।
घुमन्ते झै आफ्नै जीवन, लीलाम गर्न सक्दिन म ।

देशको लागि जन्मेको म, देशकै लागि जिउछु भन्थें
तर आज भुवा जस्तो, जीवन जिउन सक्दिन म ।

सबैका लागि लडिकन, अमर सहिद बन्छु भन्थें
तर आज पहिचानहिन, सहिद बन्न सक्दिन म ।

अन्यायलाई पछारेर, न्यायमुर्ती हुन्छु भन्थें
तर आज कुतर्कको, बहस गर्न सक्दिन म ।

देशलाई हाँक्ने स्वाभिमानी, प्यारो मान्छे बन्छु भन्थे
तर आज अभिमानहिन, भ्रष्ट बन्न सक्दिन म ।

सूर्य जस्तै सदाबहार, उज्यालो पो बाड्छु भन्थें
तर आज शान्त तालको, बिम्ब हुन सक्दिन म ।

तिर्खालुका प्यास मेट्न, स्वच्छ मुल बन्छु भन्थें
तर आज दुर्घन्धित, दल बन्न सक्दिन म ।

अध्यारोलाई चिर्न सक्ने, नौलो बिहान बन्छु भन्थें
तर आज कुहिरोको, प्रकाश बन्न सक्दिन म ।

कहिल्यै कतै नरुकिने, सफल लक्ष्य लिन्छु भन्थें
तर आज क्षणमै थकित, यात्री बन्न सक्दिन म ।

गरीबका झुपडीको, सुन्दर गजुर बन्छु भन्थें
तर आज कपटीलाई, हजुर भन्न सक्दिन म ।

युगौ युग आस्थाको, आदर्श जीवन बाँच्छु भन्थें
तर आज दाममा बिक्ने, पशु बन्न सक्दिन म ।
05 Feb,’10

Monday, February 1, 2010

अपूर्ण कविता

हे! साथी हो
अब त उठौं
चेतनाको नयाँ यात्रा थालौं
स्वाभिमानी आफ्नोपन खोजौं ।

कालापानीमा बिदेशी परेड खेल्दा
सुस्तामा सिमा स्तम्भ मिचिदिदा
दिउसै छोरी-चेलीको अस्मिता लुटेर
वस्तीमा आगो लगाइ अत्याचार गरिदिदा
दुख्यो, जति दुख्नुछ - दुखिसक्यो
दुख्न अब के नै पो बाँकी छ र!?
झुक्यो, जति झुक्नुछ - झुकिसक्यो
झुक्न अझै के नै पो बाँकी रह्यो र!?

हे! युवा हो
अब त बिउझौं
गौरबको नौलो कथा रचौं
अस्तित्वको शान्ती युद्ध छेडौं ।

०९ जून, २००९ 
वयफाङ, चाइना  

(जुनदिन हाम्रो देशलाई हामीले बिदेशी हस्तक्षेपबाट मुक्त गर्नेछौ र हामीले चाहेको जस्तो स्वतन्त्र राष्ट्रको महशुस गर्नेछौ, त्यही दिन मात्र फेरी अर्को शीर्षकमा एउटा कविता लेखिनेछ.. 'पूर्ण कविता' । हो, हामी पूर्ण कविता लेख्नैपर्छ, भिन्न सिर्जनाको सुनौलो रचना गर्नैपर्छ । एकै स्वरमा मिलेर राष्ट्रिय गीत गाउनै पर्छ ।
मरेर होईन, बचेँर लडौ !
हटेर होईन, डटेर बदौ !!
हारेर होईन, जितेर बाँचौ !!! )
___यो कबिता जून १५, २००९ को Global Day of Action Against Indian Aggression in Nepal 'भारतीय बिस्तारवाद बिरुद्ध अन्तरराष्ट्रिय अभियान' को अबसरमा लेखिएको हो ।