Wednesday, February 17, 2010

भर्च्युअल साईनो

मेरो हिमाल,
कहिल्यै हाँसेको देखिन ।
मेरो पहाड,
कहिल्यै बाँचेको देखिन ।
मेरो तराई,
कहिल्यै सजेको देखिन ।

न पूर्व-पश्चिम,
सँगै हिंडेको देखेको छु ।
न उत्तर-दक्षिण,
मिठो बोलेको सुनेको छु ।
न त सिङो मुहारमा,
उज्यालो कान्ती देखेको छु ।

मैले त,
जून हाँसेको मात्र देखें
बायु बाँचेको मात्र देखें
आकाशको श्रिंगार मात्र देखें ।

बरु,
ताराहरु सँगै हिंडेको देखेकोछु ।
सुर्य र जूनको मिलाप देखेकोछु ।
रातमा टह-टह ज्योति देखेकोछु ।

त्यसैले,
म सधैं कल्पनामा
जूनसँग हाँस्न सिकें
बायुसँग बाँच्न खोजें
आकाशसँग सिङारिन चाहें
र, तिनकै गीत गाउन थालें ।

तर,
यथार्थमा
न जूनले हसाँयो मलाई ।
न बायुले बचाँयो मलाई ।
न आकाशले सजायो मलाई ।
न गाउन कसैले सघायो मलाई ।

तसर्थ,
अब बल्ल
मेरो गीत चिनेको छु
र, भन्न जानेको छु,
मेरो हिमाल हाँस्नु पर्छ ।
मेरो पहाड बाँच्नु पर्छ ।
मेरो तराई सजिनु पर्छ ।

अब मैले,
नयाँ गीत लेख्न सिकेको छु
एकै स्वरमा,
नयाँ गीत गाउन थालेको छु
डाँफे-मुनाल नाँच्नु पर्छ ।
लाली गुराँश फुल्नु पर्छ ।
धानका वाला झुल्नु पर्छ ।
हिमाल, पहाड र तराईमा
पूर्व-पश्चिम, उत्तर-दक्षिणमा
मेरै माटोमा, मेरै देशमा ।
16 Feb,’10

2 comments:

  1. http://greaternepal.wordpress.com/2010/02/17/newsong/

    ReplyDelete
  2. http://www.facebook.com/note.php?note_id=308799796443

    ReplyDelete