Saturday, January 30, 2010

बाध्यतामा

बाध्यतामा,
‘माया’ दिइरहन पनि सकिन
‘छाया’ लिइरहन पनि सकिन
बरु,
म पिडा सहन तयार भएँ ।

सत्य ‘बुझाउन’ पनि सकिन
कुरा ‘लुकाउन’ पनि सकिन
बरु,
म बहुलाउन तयार भएँ ।

मैले ‘बाचा’ गर्न पनि सकिन
मैले ‘नाता’ तोड्न पनि सकिन
बरु,
म छत्पतिदै जिउन तयार भएँ ।

विवशतामै,
न त ‘आउ’ भन्न सकें
न त ‘जाउ’ भन्न सकें
बरु,
म एक्लै हिंड्न तयार भएँ ।

बाध्यतामा नै,
मैले ‘हाँसिदेउ’ मात्र भन्न सकें
मलाई ‘त्यागिदेउ’ मात्र भन्न सकें
बरु,
म सधैं आँशुमा बग्न तयार भएँ
बस्,
म नशामा बिलीन हुन तयार भएँ
म प्रेम चितामा जल्न तयार भएँ ।
29 Jan,’10

Friday, January 29, 2010

हटेका मेरो भ्रमहरु

छिमेकीहरु,
बैगुणी रैछन्
मिलेर भएन
कुल्चने रैछन्
सहेर पनि भएन
अब त,
मलाई यसरी मिल्नु छैन
थप ज्यादती सहनु पनि छैन ।

कपुत नेताहरु,
असक्षम रैछन्
बुइ चदाएर भएन
पत्थर रैछन्
सत्य बुझाएर पनि भएन
अब त,
फेरि काँधमा बोक्नु छैन
भन्नु पनि केही बाँकी रहेन ।

छिमेकीसँग झुकेर पनि भएन
नेताहरुलाई भुकेर पनि भएन
उनिहरु ठान्दा रैछन्,
हामीलाई अझै गिराउनु पर्छ
हामीलाई सधैं पिराउनु पर्छ ।

अब त मौनता तोड्नु पर्छ
धैर्यताको बाँध फोड्नु पर्छ
झुकाउनेलाई जित्नै पर्छ
भुकाउनेलाई थुक्नै पर्छ ।

नत्र पटक पटक,
बुद्ध भारतीय भनेर
लेखिरहनेछन जकारीयाहरु
लुम्बिनी उतैको भनेर
धावा बोलिरहनेछन छिमेकीहरु
र,
चुपचाप समर्थन गरिरहनेछन
हाम्रै रगत मिसिएका पाखण्डी भरौटेहरु ।
29 Jan,’10

Wednesday, January 27, 2010

म र मेरो देश

म, आमाको गर्भैदेखि देशको थिएँ
जन्मेर पनि 'मेरो देश' नै भनें
तर, मेरो देशले मलाई
न राम्रो नाना दियो
न मिठो चाचा दियो
दियो त,
सिर्फ उड्ने रहरहरु
र, आकाश छुने चाहनाहरु ।

म, बामे सर्दासर्दै देशको थिएँ
हुर्केर पनि देशकै भएँ
तर, देशले मलाई
न राम्रो पाठशाला दियो
न त सबल स्वास्थ्य दियो
दियो त, भोको पेट दियो
जोतिनु पर्ने साहुको खेत दियो ।

आजसम्म पनि देशले मलाई
मुखमा हाल्न न ‘आटो’ दियो
पाखुरी बजार्न न ‘माटो’ दियो
दियो त केवल,
चर्को घाम झै महँगी दियो
कठ्याङ्रिन चिसो अबिश्वास दियो
सास फेर्न प्रदुषित हावा दियो ।

म सधैं मेरो देशकै थिएँ
म सधैं मेरो देशकै भएँ
मैले देशलाई सधैं मेरो भनें
तर, मेरो देशले मलाई
न कहिले आफ्नो ठान्यो
न त, कहिले आफ्नो भन्यो
ठान्यो त सधैं गरिवी मात्र
भन्यो सधैं देशको रोगी मात्र ।

अधिकार दिएन
स्वतन्त्रता दिएन
समानता दिएन
सिर्फ,
मेरो पौरख लियो
मेरो पहिचान लियो
मेरो स्वाभिमान लियो ।

तर पनि,
मैले अझै भन्न छाडेको छैन
मैले भन्न छाड्ने पनि छैन
यो मेरो देश हो
म मेरो देशको हुँ
म मेरो देशलाई हुँ ।
27 Jan.’10

Tuesday, January 26, 2010

गजल

बदलिन्छन मान्छेहरु, मौसम झै क्षणमै साथी
फरक मन फरक मुटु, सबैको किन साथी ?

बिहानीमा नौलो उषा, ल्याउने भन्थे डाँडामाथि
आज फेरी सुर्य ग्रहण, आँफै किन लाउछन साथी ।

हिजोका तिनै स्यालहरु, आज पनि अघी पछी
आफ्नै लाग्ने मान्छेहरु, खुट्टा किन तान्छन साथी ।

आश देखाइ दरिद्रलाई, बनिदिन्छन निकै जाती
आफु अग्लो हुनलाई, बुई किन चद्छन साथी ।

बिन्ती गर्छन् देखाउदै, रक्तमुछेल घायल छाती
एकैछिनलाई जादुगरको, चटक किन चोर्छन साथी ।

ज्ञानीले नै रेतिदिन्छन, चेतनाको नरम घाँटी
राम्रो मान्छे बन्छु भन्दै, छल किन गर्छन साथी ।

अध्यारोलाई चिर्न लाग्दा, निभाइदिन्छन सानो तुकी
उज्यालोको डरले हो कि, रातमै किन खेल्छन साथी ।

सज्जनहरु तल तल, दुर्जनहरु झन माथि
जताततै छक्कापन्जा, दाउ किन चाल्छन साथी ।

एकाध मान्छे भ्रम हुन कि, चलन यस्तो स्वार्थी
आफु खुशी छेपारा झै, रङ किन फेर्छन साथी ।

सन्चो पार्न आलो घाउमा, नुनचुक छर्केपछि
निर्दयीले फेरि पनि, भक्कानिएर किन रुन्छन साथी ।
03 June,'09

Saturday, January 23, 2010

सामाजिक परिवर्तनका लागि विद्यार्थी बर्गको भूमिका

आफ्नै चालमा हिडिरहेको टिक टिके घडीको सुइ पनि एउटा निश्चित समयमा चलिरहेको हुँदैन । माईक्रो सेकेन्ड हुँदै सेकेन्ड र मिनेटको हिसावले ढिलो भैरहेको हुन्छ । आज मानव सभ्यता र समाज गुफाको बसाइबाट आधुनिक भब्य महलसम्म आइपुगेको छ । यसले के पुष्टि गर्दछ भने समय अनुक्रममा बातावरण पनि परिबर्तित छ । हामी स्वयम ब्यक्ती पनि स्थिर कहिल्यै हुँदैनौ र छैनौ, भलै त्यस्तो भ्रम पालेका हुन्छौ । रामापिथेकसको अवस्थाबाट आज बिकसित मान्छे भएका छौ । बाँदरे व्यबहारबाट शिष्त र सभ्य स्वभाव बनाएका छौ । सबै आ-आफ्नै स्तर र तवरबाट समय र परिस्थिती अनुकुल परिवर्तन भैरहेका हुन्छौ । केवल फरक के हो भने पहिलेको आदिम युगदेखी आजको बर्तमान अवस्थामा आउन हजारौ अध्याय पार गर्दा दिलो रुपमा थियो तर अहिले बिस्तारै र सुस्तबाट बिकासक्रम अती नै छिटो गतिमा अगाडि बदिरहेको छ । अबुझ दिमागहरु सचेत बनिरहेका छन, फोहोर बस्तिहरु स्वच्छ हुँदै गैरहेका छन । बिग्रहित समुदायले पनि एक आपसमा समाहित भएर समाज बनाउदै एकताको महत्व बुझिरहेका छन । वास्तवमा भन्नुपर्दा हिजोको युग भन्दा आजको युग धेरै कुरामा फरक छ र आजको युग र बातावरण भन्दा भोलिको दिन निश्चित रुपमा भिन्नै हुनेछ । हिजोका अग्रज पुर्खाहरु आजका पुष्ता जती बिबेकशिल र बुद्धिमान थिएनन र भोलिका नयाँ पुष्तासँग हाम्रो बिबेक तुलना गर्न अबश्य पनि अप्थ्यारो पर्नेछ । तर यसो भन्दैमा यो कुरा सबै ब्यक्तीमा लागु हुँदैन र मान्नु पनि हुँदैन । जस्तो कि अल्बर्ट आइन्स्ताइनले गरेका आबिश्कार आजका जुनसुकै ब्यक्तिले पनि गर्न सम्भव छैन । कुल युगको अध्यायको तुलना गरेर मात्र त्यस्तो निचोड दिन सकिन्छ । यि सब परिवर्तन समयले एक्लै ल्याएको कदापी होइन । आजको समाज यती चाडै परिवर्तन हुनुमा एउटा सचेत बुद्धिजिवी बर्गको ठुलो हात छ । आजका बुद्धिजिवी भनेका हिजोका विद्यार्थी हुन र आजका संबाहक भनेका हिजोका तिनै मुनाहरु हुन । तसर्थ, सिकिरहने नवपल्लविहरु नै सबै परिवर्तनका मुख्य कारक हुन । उनिहरुको निती र सचेतता बिना समाज चाडै बिकसित हुनु असम्भवप्राय छ । समयले घिसार्दै बदल्नु अर्कै हो तर मगजले फेर्नु भनेको बिकासक्रमले नयाँ गती लिनु हो र नौलो उच्च आयाम थप्नु हो ।

परापुर्वकालदेखी नै हाम्रा पुर्खाहरुले शिक्षाको अती आबश्यक भएको महशुस गरिसकेका थिए । हाम्रै मुलुकको ईतिहासले पनि यही प्रमाणित गर्दछ । त्यसैले त होला, उनिहरुले आफ्नो छोराछोरिहरुलाई कुनै गुरुको सेवामा तल्लिन रहन खताउथे । धेरै भन्दा धेरै र राम्रो भन्दा पनि निकै राम्रो शिक्षा दिन गुरुका आश्रमहरुमा पठाउने गर्दथे । त्यसै शिलशिलामा पाठशालाहरु सन्चालनमा ल्याउन जोड गरे । पाठशालाहरु धमाधम स्थापना हुन थाले पछी समुदायका सबै अभिभावकले आत्मनिर्णय गरेर आ-आफ्ना सन्तानहरुलाई पढ्न लगाउनु पक्कै पनि अचम्म होइन किन कि पढेका र नपढेका बच्चाहरुमा धेरै गुणहरुको भिन्नता हुन्छ । सबैको उद्देश्य भनेको आफु अशल हुनु र परिवार सभ्य गराउनु तथा एकिक्रित रुपमा समाजको अनुहार फेरबदल गर्नु नै हो । तिनै गुरु आश्रमहरुमा पढेका विद्यार्थीहरुले त्यतिखेर आफ्नो गाउँ तोलको स्थितिको सुधार गरेका थिए र त्यही निती र पथ अनुरुप आज पनि ठुला ठुला विश्वबिद्यालयहरुमा पढेका ज्ञानी विद्यार्थीहरुले यतिखेर सिङो मानव र संसारको रुप फेरबदल गरिरहेका छन । यि सबै कसरी सम्भव छ भने ज्ञान आर्जन गरिरहेका, शिक्षाको रसमा दुबुल्की मारिरहेका एउटा बर्गबाट मात्र सम्भव छ, त्यो हो विद्यार्थी बर्ग । समाजमा विद्यार्थीहरुको बिशेष स्थान र उचित सम्मान छ किन कि उनिहरुले पुरै सानो झुपडीदेखी लिएर सारा दुनियाँ परिवर्तन गर्ने सामार्थ्य राख्छन । उनिहरुको क्षमता, पौरख र रचनात्मक कार्य सधैं नयाँ परीमार्जित चुचुरो उक्लने महत्वपूर्ण खुद्किलो हुने गर्दछ ।

नेपालको सन्दर्भमा हेर्दा पनि बिगतमा के भेट्न सकिन्छ भने शिक्षा मान्छेलाई नभै नहुने आधारभुत खाँचो हो तर पनि व्याबहारिकतामा त्यो देखिएको थिएन, भएको छैन । न त राणा कालको १०४ बर्षे कथित शासनमा छिटो तरिकाले भएको कसैले अनुभव गरे, न त अहिलेको शाह बंशीय अदाई सय बर्ष अघी देखिको शासन प्रणालीमा प्रगती गरियो । जब नेपालको शैक्षिक स्थिती नाजुकदेखी जतिल बन्दै गयो, त्यसपछी नेपालका केही गन्नेमान्नेका छोराछोरीहरु भारततिर पढ्न गए । त्यहाको अंग्रेज शासन, सामन्तवाद र नेपालको एकतन्त्रिय राणा शासनको अनुहारमा एकरुपता देखेर विद्यार्थीहरु एकजुत हुँदै शसक्त बिरोध र क्रान्ति गर्ने निती लिए । विद्यार्थीहरुको परिवर्तन प्रतिको चाहना, बिद्रोही भावना र सहि भूमिकाबाट नै यस्तो सम्भव भएको थियो । यो विद्यार्थीहरुको अदम्य शाहसको एउटा ज्वलन्त उदाहरण हो । त्यसबेला क्रान्ति नायक विद्यार्थी शहीदहरुले आफ्नो ज्यानको आहुती दिन रत्तिभर पनि हिच्किचाएनन । उनिहरुलाई सामुन्ने उभिएर गोली हान्दा पनि मुक्तिको आवाज बोल्न छाडेनन । गोलीले छाती छेदेर जादा पनि राष्ट्रघाती कुशासकहरु बिरुद्धको नारा लगाइरहे । उनिहरुको जिन्दावाद र मुर्दावादका उद्घोषले सुतेकाहरु पनि ब्युझिए । उनिहरुका रगत त्यसै पुछिएर गएन, मातोमा सोसिएर गएन । उनिहरुले सुनौलो बिहानीको लालकिरण आभास गराए । फलत: विद्यार्थीको परिवर्तित बिचार अनुसार २००७ सालमा देशमा प्रजातन्त्र आयो । सबै खुशीले मध्यरातमै रङले खेले । प्रजातन्त्रको स्थापनासँग सँगै विद्यार्थीको आकाँक्षा र भूमिकालाई मध्यनजर गरेर शैक्षिक स्तर माथि उकास्ने निर्णय गरियो, सफल पनि भैरहेको थियो । त्यसै अन्तरालमा २०१७ सालमा राजा महेन्द्रले पञ्चायत घोषणा गरिदिए तर पनि खासै असर पारेन । जब नयाँ शिक्षा प्रणालीको नाममा २०२८ सालमा नयाँ कदम चालियो तब शैक्षिक प्रगती धराशायी बन्दै गयो । पञ्चायत कालको लोकप्रियता र शैक्षिक स्तरको सशक्तता ओरालो लाग्न थालेपछि विद्यार्थीकै मुख्य भूमिकामा २०३६ सालमा जनमत संग्रह सम्भव भयो । त्यसैको हौशला र आधारमा २०४६ सालको जनआन्दोलन सफल भयो । ईतिहासका विद्यार्थीले खेलेका यस प्रकारका गहन भूमिकालाई कसैले पनि भुल्न सक्दैन । बर्तमानमा पनि ठुला साना राजनैतिक पार्टीहरुले शिक्षण संस्थाहरुलाई अघी सारेर मुल एजेन्डा बनाउन चाहन्छन । विद्यार्थी र शिक्षकको माग र अस्तित्वको मुल्य बुझ्न खोजे जस्तो गर्दछन । विद्यार्थीहरुलाई सभा, जुलुस र -यालिहरुमा उतार्न चाहन्छन । यसैको नकरात्मक परिणाम स्वरुप संघ,संस्थाका प्रमुखहरु राजनीतिमा सलग्न हुन्छन र शिक्षाको नाउमा राजनीतिले नजानिदो गरी बदावा पाउन थाल्दछ र साथ साथै अघोषित राजनीति पनि चल्न थाल्दछ । आजको वास्तविक यथार्थ भन्नु पर्दा विद्यार्थीहरु साँच्ची चेपुवामा परेर सिर्जनशिल विद्यार्थी बन्न पाएका छैनन । उनिहरुलाई स्वबिबेक प्रयोग गर्न दिइएको छैन । विद्यार्थीहरु बाध्यतामा आफ्नो संघ-सस्था प्रमुखको पछी पछी लाग्दा लाग्दै उनिहरुको राजनीति अन्जानमा शुरु हुन्छ, अनी केही छिनमै सिद्धिन्छ पनि । अवसरवादी र भ्रश्त मान्छेहरु अघी सर्छन अनी घुसपैठ, अत्याचार, बलात्कार, भ्रश्तचार, दमन र प्रतिरोधले गाउँ र पुरै देशमा छ्याप्छ्याप्ती स्थान पाउछन । भ्रश्त र लाचार अगुवाहरुले देशमा नयाँ आयाम नथपेर नै अनाबश्यक चर्चा कमाउछन । वास्तविक हकहित र अधिकार चाहने संघ-संस्थाले आफ्नो पहिचान नै फैलाउने अबसर नै पौदैन । उनिहरु जहिल्यै छत्रछायामा मात्र परिरहने हुनाले आजका विद्यार्थी बर्गले सम्पूर्ण अप्थ्याराहरुलाई मोलेर एकको सत्ता दुई पाईला अघी सर्न आब्श्यक छ । हामीले आफ्नै पहलमा समाज परिवर्तन गर्न लाग्नु पर्दछ, त्यो आँट देखाउनै पर्दछ ।

सामाजिक मुहार फेरबदल गर्न विद्यार्थी बर्गबाट मात्रै सम्भव छ । हामी सबैले अब कसैको माध्यमबाट परिवर्तन देख्ने आशा गरिरहनु हुँदैन । भोलि देश हाम्रो काँधमा आउनेछ र त्यसको संचालक हामी हौ । त्यसैले हिजो र आजकालाई उचित सम्मान र सजाय दिन किन पछी पर्ने ? विद्यार्थीहरुले देशमा ल्याउन चाहेको आधुनिक परिवर्तन किन नहुने ? युगको माग अनुरुप अगाडि बदिरहेका बिकसित मुलुकहरुको साथ किन नलिने ? आखिर हामीबाट भोली देश चलाऊनु नै छ भने किन आज कातर र कायर सरह तुलु तुलु हेर्दै निरिही बनेर बसिरहने ? हाम्रो सुन्दर देश र भाबी भबिश्यलाई कहिले सम्म बर्बाद बनाएको चुपचाप सहिरहने ? थोपा थोपा मिलेर समुन्द्र बन्छ, पाईला पाईला हिंडेर गन्तब्य पुगिन्छ । यो यथार्थलाई विद्यार्थी बर्गले छित्तै बुझ्न जरुरी छ र यसलाई आत्मसात गर्न हिच्किचाउनु र डराउनु पनि हुँदैन । दिलो गरियो भने त अबेर नै भैसक्छ । अब हामीले आँफैलाई सोध्ने बेला आइसकेको छ । उनिहरु हिंडेको भ्रष्ट र दुषित बाटोमा नै हामी पनि कहिलेसम्म पशु सरह हिडिरहने हो ? अहँ, कत्ती सुहाउदैन । हामी आँफैले सोछेको नयाँ गोरेटोबाट परिवारतित समाजको लागि कदम बदाउनै पर्दछ । यसैको सन्दर्भमा विश्वबिख्यात शिक्षाबिद माइकल फ्रेरेरको भनाइ सम्झिनु उचित ठान्दछु," शोषित बर्गले शोषकको ठाउँ लिदैमा समाज परिवर्तन हुँदैन ।" हो, समाजमा बिकास र परिवर्तन गर्नका लागि त सधैं स्वच्छ मन र तनले सत्य बचन दिनु पर्दछ । बचनलाई प्रतिबद्ध रहेर विश्वाशअले मुर्तरुप दिनु पर्दछ । समयले कसैलाई बदल्दैन बरु समयलाई बदल्ने क्षमता राख्नु पर्दछ । अचेल हामीले सुन्ने देख्ने गरेका भाषन त केवल स्वार्थी र म्रितलाश हुन । त्यसैले सबैको मनमा यस्तो भावना उजागर हुनु पर्दछ कि सच्चा देशभक्त र स्वच्छ बिचारका नागरिकबाट मात्र सम्भव र निस्चित छ । तिनै प्रतिभाहरु विद्यार्थी बर्गबाट नै प्रस्फुतित हुन्छन । जसरी अङ्रेजी साहित्यकार विलियम वर्ल्डस्वर्थले भनेका छन कि " बच्चा नै मानिसको बुवा हो " । हो, त्यसरी नै विद्यार्थी बर्ग पनि प्रगतिको सुचक हुन र सानो कक्षामा घोकिएको सुन्दर, शान्त र बिशाल नेपालको द्योतक हो ।

यसर्थ, विद्यार्थी सचेतताका संबाहक हुन । उनिहरु सधैंभरी सिर्जनात्मक र परिबर्तित समाजका पक्षधर हुन्छन । उनिहरुमा बलियो आधारस्तम्भ हुन्छ, जुन न त तोदिन सक्छ न त रोकिन नै । उनिहरुको उर्लिदो मनहरु निरन्तर रुपमा मानव जीवन र नौलो भबिश्य बोकेको उज्यालो बिहानीतिर समर्पित हुन्छ । उनीहरु सुर्य उदाए पछी अस्ताउछ र जन्म भए पछी मृत्‍यु अबश्यभावी छ भन्ने बैज्ञानीक मान्यताको कदर गर्दछन । उनिहरुले सैद्दान्तिक रुपले आँफैमा लागु गर्न पनि चुक्दैनन । उनीहरु एक शब्दमा भन्नु पर्दा परिबर्तित समाजका सपना र पर्याय हुन । मुख्य चाँही आजैदेखी आफु बदलिनु पर्छ र सकेजती थोरै भए पनि समाजप्रती योगदान दिन पछी पर्नु हुँदैन । परिवर्तनको समर यात्रामा दुर्घटनाहरु भएकै थिए, भैरहेकै छन र हुन्छन नै होला । तर हाम्रो भन्नु त केवल आफ्नो दुई पाईला मुनिको मातो मात्रै हो । त्यो, जो जहाँ गए पनि कसैले खोस्न सक्दैन । रसियन कवि लियो टोल्स्टयले भने जस्तै जन्मदा, जिउदा र मर्दामा हरक्षण सबैको मातो आफुसँग नै हुन्छ । यहाँ नेपाली साहित्य जगतकी कहिल्यै नअस्ताउने तारा पारीजातको भनाइ निकै सान्दर्भिक छ । " हामीले जती बाँचे पनि नयाँ समाजको लागि डटिरहनु पर्दछ । ताकेको दुरुष्त ठाउँमा कहिल्यै पुगिदैन, आखिर गन्तब्य पनि परिवर्तनशील छ ।" पारीजातको यही भनाइको सहयताले मेरो कलमलाई यसै चौतारीमा बिसाउछु नयाँ घर, नयाँ समाज र फेरिएको देशको आशमा ।
२०६०
आइन्स्टाइन एकेडेमी, ललितपुर
(कलेज खुल्ला निबन्ध प्रतियोगितामा प्रथम स्वरुप पुरुस्क्रित)

Wednesday, January 20, 2010

माणिकलाल, मृत्‍यु र नयाँ घर

गाउँमा एउटा नयाँ घर चाडै थपिन गैरहेको थियो । सुनिन्थ्यो, त्यो घर त गाउँमै अहिलेसम्मको ठुलो घर हो रे । घर बनाउने कामदारहरुले मुख्य मिस्ट्रीको नाप अनुसार भताभत घरको जग खनिरहेका थिए । त्यो हुनेवाला घर माणिकलाल सुनारको थियो । जातले सुनार भए पनि माणिकलाल हाम्रो अती नै मिल्ने साथी थियो । हाम्रो जन्मदिनमा पनि थोरै फरक छ । म र बुद्धी माणिकलालको बन्दै गरेको घरको जगमा घरि यता र घरि उता उफ्रिदै माणिकलाललाई बोलाइरहेका थियौ । अरुबेला हामीलाई खेल्न बोलाउने माणिकलाल त्यसदिन बाहिर निस्किएन । धेरै बेरसम्म कुर्दा पनि उसको आवाज समेत सुनिएन । निकै बेर पछी उसको आमा निस्किएर भनिन्," आज माणिकलाललाई अली सन्चो छैन, भोली ठीक भयो भने तिमीहरु सँगै खेल्न आउछ । तिमीहरुले बोलाएको सुनेर भित्र एक्लै रोइरहेकोछ । अहिले तिमीहरु खेल्न जाउ ।" तर हामीलाई सधैंको साथी नभएर एक्लै खेल्न जानै मन लागेन । हामीले उसको आमालाई बिन्ती बिसाए झै गरी आग्रह गर्यौ," एकैछिनलाई मात्र भए पनि पठाइदिनु न, एकछिन सँगै खेलेर छुट्टीहाल्छौ नि ।" मणिकलालको आमाको मनलाई छोराको रहरले पगालेर हो वा हाम्रो अनुरोधमा हामीमाथि दया जागेर हो, जोडले अनुमतिको लागि चिच्याइन," ए मणिकलालको बा, यसले पनि खेल्न जान नपाएर रोइरहेकोछ, उसको साथीहरु पनि एक्लै जान मानिरहेका छैनन्, के गरम् ? एकछिनलाई पठाइदिम् ?" उताबाट ठाडो जवाफ आयो," पर्दैन, पर्दैन । बिरामी हुँदा हुँदै पनि धुलोमा किन खेल्नु पर्‍यो ? झनै बिरामी पर्छ । जती रुन्छ, बरु रुन दे ।" चर्को आवाज सुनेर हामी एकाएक निराश भयौ । माणिकलालको बुवा तेकबहादुर सुनार, अरुको नजरमा जतीसुकै समझदार र बुझक्कद कहलिए पनि हामीलाई भने अलिकती पनि त्यस्तो लागेन । हामीले त्यसदिन माणिकलाललाई देख्नै पाएनौ, उ रोएको पनि सुनेनौ । त्यो एकै दिन थियो, हामीले पहिलो पटक माणिकलाललाई बोलाउन गएको र माणिकलाल बिना एक्लै खेल्न हिंडेको पनि ।

हामी माणिकलालको घरबाट कहाँ गयौ र कोसँग कुन खेल खेल्यौ, अहिले केही पनि यादमा छैन । त्यसदिनको अरु सबै कुरा भुले पनि बुद्धिले भनेको कुराको भने मलाई अझै पनि राम्ररी सम्झना छ । माणिकलाल नआउने नै बुझे पछी हामी उसको आँगनमा फर्किरहेका थियौ । त्यहीबेला बुद्धिले भन्यो," हेर, नयाँ घर बनाए पछी त त्यस परिवारको एकजनालाई कालले अबश्य लग्छ रे ।" उसको कुराले अली सशंकित हुँदै मैले पनि कुरा जोडे," जहानको ठुलो मान्छेलाई कि जसलाई भए पनि ? कि त्यसैले हो र माणिकलाल बिरामी परेको !?" बुद्धिले पनि मतिर नफर्किएर नै जवाफ दियो," बुदो मान्छे कि बच्चा त्यो चाँही थाहा भएन तर एकजना भने मर्नै पर्छ रे ।" मलाई बुद्धिमाथि विश्वाश थियो तर बुद्धिको कुरा प्रती भने त्यती विश्वाश लागेन । मैले नपत्याएको भावमा भनेको थिएँ," होइन होला यार । आफ्नो जहानको मान्छे मर्ने कुरा जानी जानी नत्र नयाँ घर कसले पो बनाउथे होला र !" बुद्धिले पनि विश्वाश नमाने झै गरी बोल्यो, " खोई यार, अस्ती धारामा गाउँका दाईहरुले यही कुरा गरिरहेको सुनेको थिएँ ।" बुद्धिले आफुले यत्ती मात्र सुनेको बतायो । हामी सानै भए पनि बोली सकेर अन्तिममा 'यार' थेगो थप्ने गर्थ्यौ । वास्तवमा यारको अर्थ हामीले बुझेका थिएनौ । लाहुरेहरुले बोल्ने भाषा हो भनेर सुनेका थियौ । हामी लाहुरे नभएकाले यार नथपेर बोल्ने प्रयास पनि गर्यौ तर बोलीमा मिठास नहुने र असुहाउदो सुनियो भनेर फेरी यार जोडेर नै बोल्ने निधो गर्यौ । यस कुरालाई तुङ्याएर हामीले कुन कुरा गर्यौ त्यो भने अलिकती सम्म पनि सम्झना छैन । शायद डण्डी-बियोको कुरा गरेको हुनुपर्छ किन कि डण्डी-बियोको मौसम थियो त्यो ।

गाउँको लगभग शिरानतिर एकै लहरमा हाम्रो घर छ । मुनिबाट माणिकलालको घर, बिचमा बुद्धिको अनी थोरै माथि चाँही मेरो । स्कुल र हाम्रो घर बिचको दुरी पनि करीब करीब बराबरी छ । पाँचसम्म पढाई हुने हाम्रो स्कुल ठीक हाम्रो घरको सामुन्ने छ । हामी तिनै जना एक कक्षामा पद्थ्यौ । शायद अ, आ फालिसकेका थिएनौ क्या रे ! क, ख को त नाक-मुख देख्ने कुरा पनि भएन । माणिकलाल स्कुलको हाजिरीमा गयल भएको पनि धेरै दिन भैसकेको थियो । अब उसले परीक्षा दिन नपाउने भयो । परीक्षा नै दिए पनि पास हुने सम्भावना एकदम कम थियो । मैले अ, आ फालेर क, ख पढ्न थालेको दुई दिनमै ज्ञ, ज्ञा पनि फालिसकेको थिएँ । अड्किदै भए पनि बिस्तारै अली अली अक्षर पनि बोलाउन थालें । हस्तसिंह मास्टरले अब म दुईमा जाने पक्का भनेकाले मेरो मन नजानिदो पाराले प्रफुल्लित थियो । आफु दुईमा जाने र आफुसँगैको साथी एकमा नै पढ्नु पर्ने भयो भन्ने कुराले भन्दा पनि म फेल नहुने खुशीले गदगद भएको थिएँ । अर्को मनले आफ्नो साथीसँग छुट्टीने भयौ भन्ने सोचेर नरमाइलो पनि लागेर आयो । जे होस्, मैले कालोपाती बोक्न छाडेर कापीमा लेख्ने लगभग पक्कापक्की नै भयो भने माणिकलाल अझै एक बर्ष कालोपाती बोकेर नै स्कुल जानु पर्ने पक्का जस्तै भयो । केही समय पछी माणिकलाल पानी भर्न पानी टन्कीमा जर्किन बोकेर उभिरहेको देखेको थिएँ । छिमेकका आईमाईहरुले उसको आमालाई "माणिकलाल त सन्चो भईसकेछ त !" भनिरहेका थिए तर उसको आमाले भने अरुको कुरा इन्कार गर्दै आफुसँग जबर्जस्ती गरेर मात्र पानी भर्न आएको बताइरहेकी थिइन् । दिउसो अली जाक्तै देखिए पनि ज्वरोले राती राती निकै च्यापेर ल्याउथ्यो रे । रातभरी दुख्यो भनेर सुत्न नै दिदैनथ्यो रे । अस्पतालले पनि नसक्ने भयो रे । उसको पेटभित्र रहेका सर्प र जुकाले रगत चुसिरहेका छन् रे । उनले यती भनी नसक्दै माणिकलाल हाच्छ्यु गर्दै एकोहोरो आवाज निकालिरह्यो । पानी भर्न आएका केहीले राम्रो डाक्टरकोमा जचाइलग्न भन्दै सल्लाह दिदै थिए भने, कोही रमाइलो मान्दै हाँसे पनि । अनियन्त्रित आवाज सँग सँगै उसले आफ्नो ज्यान पनि नियन्त्रण गर्न सकेन । भुइमा दल्नै आटेको बेला पानी भर्न पालो पर्खिरहेका छिमेकीले उठाएर उसको घरसम्म पुर्याए । म सिर्फ तुलुतुलु हेर्नु बाहेक केही गरिन, हेरि मात्र रहें ।

बिहान बिउँझीएर आँखा मिच्दै यताउती हेरें । जातो पिसेको गुरुरुरु आवाज आइरहेको थियो । दिदी र दाजुले शायद मकै पिसिराख्नु भएको थियो होला । बुवाले चुल्होको पल्लोपत्ती सधैंको ठाउँमा बसेर अरु दिन झै चिया पिइरहनु भएको थियो । आमा बाहिर कतैबाट आएर मुल दोकाबाट भित्र पसेको चाल पाएँ । उहाँले दिदिलाई जातो रोक्न भन्दै भन्नुभयो," बैनी, आज राती तेकबहादुरको छोरा रहेन रे । अब जातो नपिस, पिस्न मिल्दैन ।" आमाको यो कुराले मा झसँग भएँ । ओछ्यानबाटै कान ठाडो ठाडो बनाएर थप कुरा सुन्न खोजे। यत्तिकैमा दिदीले अनौठो, जिज्ञासा र सहानुभुति मिश्रित स्वरमा सोध्नुभयो," माणिकलाल मर्यो रे !?" आमाले हो भन्ने भावले जिउदो नरहेकाहरुको नाम नभन्न सम्झाउनु भयो । म ओछ्यानमै ठहरै परें । आमा मेरो नजिक आउनुभएको थाहा पाएर निदाएको झै स्वाङ पारीरहें । के सोचेर हो आमाले उठाउनु भएन तर एकछिन पछी सधैं झै शान्त र नरम लवजमा भन्नु भयो," भाइ, उठ है अब । घाम उदाउन लागिसक्यो । मुख धोएर बाहिरतिर चिसो चिसो हावा खान जाउ ।" म साँच्ची त्यसै गर्न दोकामा निस्कनै थालेको थिएँ । दिदिले भन्नु भयो," तँ खुब भरखर उठिराछस्, तेरो साथी मर्यो रे ।" तर मैले सोधिन, माणिकलालको बनिरहेको त्यो घर निभ्जियो कि निभ्जिएन । माणिकलाल र मेरो सम्बन्ध आमाले राम्ररी बुझ्नु भएकाले होला । आमाको त्यो बिहानको बोली कती मलिन थियो, मैले अहिले आएर बल्ल महशुस गरिरहेको छु । मलाई लाग्छ, मेरो बालसखाको मृत्‍युले आमा पनि निकै बेचैन हुनु भएको हुनुपर्छ ।

१० बज्यो । स्कुलको दोस्रो घण्टी पनि बज्यो । हामी सबै बिद्यार्थीले आ-आफ्नो कक्षा अनुसार स्कुल चौरमा लाईन बनायौ । हेडसरले हाम्रो विद्यालयमा पढ्ने साथीको मृत्‍यु भएकाले एक दिन शोक बिदा दिएको जानकारी दिनुभयो । सबै विद्यार्थीले उनको अन्तिम संस्कार गरिने ठाउँ बत्योगा डाँडासम्म जान भन्नुभयो । आमाले पनि बिहान अह्राउनु भएको झलक्क सम्झिएँ । आमाले भन्नु भएको थियो," तिम्रो मिल्ने साथी हो । उसको लाशलाई घरबाट निकालेर मलामीहरु बत्योगा डाँडातिर हिंड्ने बेलामा फूल र पाती चदाइदिनु । त्यो देखेर उसको आत्मा हाँसिराखोस् । बिचरा ! किन यती छोटो आयु लेखेर आएछ ।" आमालाई सोधेको थिएँ," मरिसके पछी देख्ने, चिन्ने, सुन्ने र थाहा पाउने हुन्छ र आमा ?" आमाले विश्वाश दिलाउनुभयो," जिउदो मान्छेले थाहा नपाए पनि मरेको मान्छेलाई थाहा हुन्छ ।" ११ बजेतिर गाउँका मान्छेसँगै हामी पनि मलामी भएर बत्योगा डाँडासम्म पुग्यौ । ठुलाहरुले सानालाई लाशको नजिक नआउन हप्काइरहे पनि म घरबाट नै उसको लाशको पछी पछी लागेर बत्योगा डाँडासम्म नै पुगें । हातमा फूल र डुबो उचालेर दुई हात जोड्दै मन मनै प्राथना र प्रश्न गर्दै हिडिरहेको थिएँ," माणिकलाल, मलाई देखिरहेका छौ ? म तिम्रो साथी पछी पछी छु है ।" आफ्नै साथीलाई कहिल्यै नतर्साउन पनि सम्झाउदै थिएँ । केहीबेरमा चिता तयार भयो र लाशलाई चितामा चदाउने बेला भयो । उसको आमा र बज्यै उसको लाशमा झुन्डिदै बिलाप गरी गरी रोए । उसको लाश छोपेको कपडा दनदनी बल्न थाल्यो । एकछिनमा माणिकलालको जिउ पनि आगोले जल्न थाल्यो । उसको म्रित शरीरको दुखाईले मलाई नराम्ररी पोल्न थाल्यो । म हिक्का छाडेर रुदै घरतिर दौडिएँ । वल्लोपट्टिको डाँडा नकातुन्जेल फर्की फर्की हेर्दै आसुँ पुछ्दै र सकी नसकी थाम्ने प्रयास गर्दै हिडिरहें । पछी धेरै पछी पनि यताउता हिंड्ने बेला उसको चौपारीमा सधैं फूलपाटी चदाउथें । उसको माया मार्न एकछिन बिसाउथें । माणिकलालले देख्छ कि देख्दैन तर मैले भने उसलाई सधैं त्यही नै देखी रहन्थे । उसले त बिर्सियो होला तर मैले भने सधैं सम्झी रहें, उसैगरी सम्झी नै रहनेछु ।

मैले पढ्न भनेर शहर पसे पछी गाउँ एक पटक पनि नफर्किएर नै आइ. ए. सकाएँ । त्यसपछी उतैवाट ईण्डियन आर्मीमा भर्ती भएँ । तराईमा एकतले घर पनि बनाएँ । सबै ब्यबस्था मिलाएर परिवारलाई सार्न खोज्दै गर्दा अचानक बुवाको स्वर्गे भयो । मेरो पल्तन काश्मिरमा थियो । काश्मिरको पनि मुख्य क्याम्पभन्दा निकै टाढा हिउ नै हिउ जमिरहने बिकट एरियामा थियो । खबर बेलैमा पाउन सकेन । बुवाको देहान्त भएको दुई हप्ता पछी मात्र थाहा भयो । घर आउने छुट्टी मिलाउन प्रकृया चाल्दा चाल्दै अर्को एक हप्ता त्यही बित्यो । खबर पाउन साथ छुट्टी मिलेन, पछी छुट्टी थोरै पाएकाले घर आउँदा आउँदै सकिने भयो । बुवाको दाहसंस्कार गर्ने सौभाग्य त पाएन तर दुई तीन महिना पछी कुन मुखले म आमाको सामु आफ्नो अनुहार देखाउन आउनु ? यस्तै थुप्रै कुराहरु सोचेर पाएको एक महिनाको छुट्टी पनि क्यान्सिल गरिदिएँ । त्यसपछी आमाले तराई झर्न मान्दै मान्नु भएन । नयाँ घर र बुवाको मृत्‍युसँगै बुद्धिलाई पनि सम्झिएँ । बुद्धिले पनि दुबइ गएर कमाएको पैसाले सदरमुकाममा एउटा घर किनेको रहेछ । उसले पनि बुवाआमालाई गाउँमा अब धेरै दु:ख नगर्न बरु नयाँ घरतिर सर्न भन्दै रहेछ । उ बिदेशमै रहदा उसको पनि बुवाको दु:खद निधन भएछ । आँफैलाई सम्झाएर आमालाई सम्हाल्न नसकेको बेला नयाँ घरको बसाइ महत्वपूर्ण हुने कुरा भएन । बुद्धिको हालत सुनेर धेरै दिनसम्म पनि हाँस्न र खान सकेको थिएन । त्यैबेला मेरो स्नाइपियर्स अफिसरको लागि बिशेष कोर्स चल्दै थियो । मैले कोर्समा त्यती राम्रो गर्न नसकेकाले छानिन निकै गाह्रो भएको थियो । मलाई नयाँ घर र मृत्‍युको सत्य असत्य पिडाले सारा कुरा गौण बनाइ दिएको थियो । हरेक क्षण मेरो दिमागमा एउटै कुरा घुमिरह्यो । धेरै पटक सोचिरहें, माणिकलाल, बुद्धी र हाम्रो नयाँ घर ।

आज १४ बर्ष पछी म बल्ल मेरो जन्मस्थल फर्किएकोछु । ढुङ्गाले छाएको पुरानो स्कुल घर पनि अहिले जस्टा पाताले छाइएको रहेछ । कहिले हातमा मोजाको बल उचालेर त कहिले गुराँशको भुण नचाउदै हिंडेको पनि दुई दशक बदी भैसकेछ तर पनि भरखरै जस्तो लागिरहेकोछ । तितो मिठो भएर बारम्बार सम्झनामा झलझली आउने गरेका लहरै उभिएका तीन वटा घरले मलाई छेद् हानिरहे झै लागिरहेकोछ । मेरै सामुन्ने स्कुल चौर र लुकामारी खेल्ने गरेको छेउको खरिको रुख आँखैमा प्रत्यक्ष उभिरहेका छन् । सबै भन्दा माथि मेरो घर, बिचमा बुद्धिको घर अनी अलिकती तल माणिकलालको नयाँ घर । सबै मौन मात्र पाइरहेकोछु । आँफैले पनि बुझ्न सकेको छैन, माणिकलाल बितेको अहिले बर्षौ भैसक्यो र पनि मलाई माणिकलालकै घर भन्न मन लाग्छ । माणिकलालको भाइबहिनी मेरै अघी उभिरहदा पनि अनायास मेरो मुखबाट उही माणिकलाल नै फुस्किरहन्छ । कुन मोहले यती साह्रो गाँजेको हो मैले अझै भेउ पाउन सकेको छैन ।

हुन त बुझ्न नसकेका कुराहरु पनि धेरै नै छन् । आजसम्म पनि नयाँ घर पछीको एउटा मृत्‍यु सत्य नै हो कि अन्धबिश्वास केही खुट्याउन सकिरहेको छैन । केही छुत्याउन सकेको छैन, मेरो र बुद्धिको नयाँ घर र हाम्रा बुवाहरुको मृत्‍युमा कुन संयोग थियो, कुन सत्य थियो । तर अचेल पनि नयाँ घरको चाहनासँग जन्मिएको मृत्‍युको भयले सधैं तर्साइ रहन्छ । रहर बनेर पलाएका चाहनालाई पनि अनायास आउने त्रासको पहिरोले पुरिदिन्छ । मैले देखेको र भोगेकोलाई नै आधार मानेर विश्वाश गर्ने हो भने एउटा मृत्‍यु निश्चित रुपमा सहनै पर्ने रहेछ तर संयोग र अन्धबिश्वासलाई सत्यतासँग जुधाउन खोज्नु ठुलो गल्ती हो । असत्यलाई जबर्जस्ती सत्यको दाम्लोले बाध्न खोज्नु झन् ठुलो अन्धबिश्वास र भ्रम हो । बरु सत्य के हो भने यही कुरा दोहोर्याएर अहिलेसम्म मैले कसैबाट सुनेको छैन । तर मसँग कुनै उपाय छैन, बालापनमा दौतरीको सम्झना बनेर मुटुमा भासिएको भ्रमबाट कसरी र कहिले उम्किन सक्नेछु । मैले कसैलाई सोधेको पनि छैन, माणिकलालको मृत्‍यु नयाँ घर बनाएकाले भएको हो वा उपचार नगरिएको रोगको कारणले ? यो पनि थाहा छैन कि, उसको मृत्‍यु नयाँ घर बनिसके पछी भएको हो वा नयाँ घर तयार हुनु अगावै ? उसको नयाँ घरको जन्म र उसको आफ्नै मृत्‍युमा के अन्तर्सम्बन्ध थियो ? जसले गर्दा मलाई बाल्यकालदेखी आजसम्म पनि लगातार घोचिरहेकोछ । म सधैंभरी निरिही भएर चुपचाप सहिरहेकोछु र शायद यसरी नै दुखाई सहिरहनु पर्नेछ । यो कुराको रहस्य र उत्तर मैले न त बिपनामा अरुलाई सोधें, न त सपनामा मेरो दौतरी माणिकलालको आत्मालाई नै ।
18 Nov,’09

Tuesday, January 19, 2010

एउटा मिनी-घनचक्कर

ए ! आफ्नै लाग्ने अपरिचितहरु
ए ! पराई लाग्ने आफन्तिहरु
दोधारमा नराखी,
भनिदेउ न मलाई
मैले कसको विश्वाश गरु ?
मैले कसको मन राखू ?
मैले कसलाई हितैषी ठानू ?
कसको सखा: हुँ म ?
कसको मान्छे हुँ म ?
आफ्नै ठानेकाले दुखाइदिन्छन
पराई सोचेकाले सम्हालिदिन्छन
एउटा सरल उत्तर देउ न मलाई
एउटा साँचो जवाफ देउ न मलाई
ए ! आफ्नै लाग्ने अपरिचितहरु !!
ए ! पराई लाग्ने आफन्तिहरु !!
13 June,'09

ऊ र म

मेरो हाँसो उसलाई
असीमित खुशी बन्छ
मेरो आसुँ उसलाई
असह्य पिडा बन्छ ।

नदेखिने साईनो यो
नभेटिने मिलन यो
मेरै लागि बाँचेको छ ऊ
उसैको लागि बाँचेको छु म ।
16 Jan, ‘10

Monday, January 18, 2010

के हो त प्रेम ?

कोही भन्छन प्रेम, दुई मुटुको मेल हो ।
कोही भन्छन प्रेम, दुई मुटुको जेल हो ।।

कोही भन्छन प्रेम, चोखो मन हो ।
कोही भन्छन प्रेम, स्वार्थी पन हो ।।

कोही भन्छन प्रेम, एकै जात हो ।
कोही भन्छन प्रेम, घाटै घाट हो ।।

कोही भन्छन प्रेम, पुर्णेको जून हो ।
कोही भन्छन प्रेम, रङिन चुन हो ।।

कोही भन्छन प्रेम, भबिश्यको आश हो ।
कोही भन्छन प्रेम, बैँशको प्यास हो ।।

कोही भन्छन प्रेम, सङ्लो मुल हो ।
कोही भन्छन प्रेम, बल्झिराख्ने शुल हो ।।

कोही भन्छन प्रेम, सुगन्धित फूल हो ।
कोही भन्छन प्रेम, जीवनको भुल हो ।।

कोही भन्छन प्रेम, सुन्दर रुप हो ।
कोही भन्छन प्रेम, सुन्दर कुरुप हो ।।
18 Jan,'10

Saturday, January 16, 2010

तिम्रो भाग्य

भाग्य लेख्न सिक्छु भन्छौ,
कहाँ मेत्या छ र !?
भाग्य टिप्न जान्छु भन्छौ,
कहाँ फल्या छ र !?
भाग्य खोज्न हिड्छु भन्छौ,
कहाँ हरण पर्या छ र !?

भाग्य भाग्य मात्र भन्छौ,
कि तिमी नै पो लिलाममा छौ र !?
16 Jan, '10

रातो आवरण

समाज फेर्न हिंड्नेहरु,
नयाँ मान्छे नबनिकन
देश फेर्छु भन्नेहरु,
मुल प्रणाली नफेरिकन
बिडम्बना !
उनै,
दुनियाँ बदल्छु भन्नेहरु
आँफु मात्र बदलिए ।
संसार जित्छु भन्नेहरु
आँफै कायर बनिदिए ।
16 Jan, '10

Saturday, January 9, 2010

तिमीलाई नै

बन्दछ स्पात थक्करमै
उम्रन्छ वाबियो अक्करमै
अत्तर नै घाऊमा ओखती
देखिन्न उषा सबेरै नउठी ।

पाठ सिकाउछन वाधाले
बलियो बनाउछन काँडाले
हल्लिन्छ पाइला थल'नि
बदी राख अचल बनी ।

ढुङ्गा मुनि टुसाको फल हेर
खम्बा बिना नाचेको झाल हेर
न बास न चारो चरिको
हाँसो छ सधैं थरी थरिको ।

पहाड फुती बन्छ मैदान
भेल बगेर हुन्छ सागर
अस्तु नै उत्तम श्री गणेश
थाकेर तिमी नखाउ हरेश ।

देखिन्न जून बादलले
छेकिन्छ घाम कुहिरोले
घामपानीले इन्द्रेणी
नौलो सृजना जहिले'नि ।

धुप र धुवा बले पनि
आत्मा साक्षी रहे पनि
साधु र चोर नछुताइ
शीतल चौतारी सबैलाई ।

लतरम्म आँश फल्दछ
गर्मीमा वायु चल्दछ
सोच्यो कि त्यो पुग्दछ
असम्भव पनि झुक्दछ ।

सुक्दैन भरेर मुहानमा
थिचिन्न मान्छे ज्ञानमा
सक्षम बनेर नझुली
बुझाउ तत्व नभुली ।

दु:खमा छिपेको सुख
हारमा लुकेको जित
रोज सबै सामु छन
खोज सबै तिम्रै हुन ।
10 Jan, '10