Wednesday, January 27, 2010

म र मेरो देश

म, आमाको गर्भैदेखि देशको थिएँ
जन्मेर पनि 'मेरो देश' नै भनें
तर, मेरो देशले मलाई
न राम्रो नाना दियो
न मिठो चाचा दियो
दियो त,
सिर्फ उड्ने रहरहरु
र, आकाश छुने चाहनाहरु ।

म, बामे सर्दासर्दै देशको थिएँ
हुर्केर पनि देशकै भएँ
तर, देशले मलाई
न राम्रो पाठशाला दियो
न त सबल स्वास्थ्य दियो
दियो त, भोको पेट दियो
जोतिनु पर्ने साहुको खेत दियो ।

आजसम्म पनि देशले मलाई
मुखमा हाल्न न ‘आटो’ दियो
पाखुरी बजार्न न ‘माटो’ दियो
दियो त केवल,
चर्को घाम झै महँगी दियो
कठ्याङ्रिन चिसो अबिश्वास दियो
सास फेर्न प्रदुषित हावा दियो ।

म सधैं मेरो देशकै थिएँ
म सधैं मेरो देशकै भएँ
मैले देशलाई सधैं मेरो भनें
तर, मेरो देशले मलाई
न कहिले आफ्नो ठान्यो
न त, कहिले आफ्नो भन्यो
ठान्यो त सधैं गरिवी मात्र
भन्यो सधैं देशको रोगी मात्र ।

अधिकार दिएन
स्वतन्त्रता दिएन
समानता दिएन
सिर्फ,
मेरो पौरख लियो
मेरो पहिचान लियो
मेरो स्वाभिमान लियो ।

तर पनि,
मैले अझै भन्न छाडेको छैन
मैले भन्न छाड्ने पनि छैन
यो मेरो देश हो
म मेरो देशको हुँ
म मेरो देशलाई हुँ ।
27 Jan.’10

2 comments: