Wednesday, January 20, 2010

माणिकलाल, मृत्‍यु र नयाँ घर

गाउँमा एउटा नयाँ घर चाडै थपिन गैरहेको थियो । सुनिन्थ्यो, त्यो घर त गाउँमै अहिलेसम्मको ठुलो घर हो रे । घर बनाउने कामदारहरुले मुख्य मिस्ट्रीको नाप अनुसार भताभत घरको जग खनिरहेका थिए । त्यो हुनेवाला घर माणिकलाल सुनारको थियो । जातले सुनार भए पनि माणिकलाल हाम्रो अती नै मिल्ने साथी थियो । हाम्रो जन्मदिनमा पनि थोरै फरक छ । म र बुद्धी माणिकलालको बन्दै गरेको घरको जगमा घरि यता र घरि उता उफ्रिदै माणिकलाललाई बोलाइरहेका थियौ । अरुबेला हामीलाई खेल्न बोलाउने माणिकलाल त्यसदिन बाहिर निस्किएन । धेरै बेरसम्म कुर्दा पनि उसको आवाज समेत सुनिएन । निकै बेर पछी उसको आमा निस्किएर भनिन्," आज माणिकलाललाई अली सन्चो छैन, भोली ठीक भयो भने तिमीहरु सँगै खेल्न आउछ । तिमीहरुले बोलाएको सुनेर भित्र एक्लै रोइरहेकोछ । अहिले तिमीहरु खेल्न जाउ ।" तर हामीलाई सधैंको साथी नभएर एक्लै खेल्न जानै मन लागेन । हामीले उसको आमालाई बिन्ती बिसाए झै गरी आग्रह गर्यौ," एकैछिनलाई मात्र भए पनि पठाइदिनु न, एकछिन सँगै खेलेर छुट्टीहाल्छौ नि ।" मणिकलालको आमाको मनलाई छोराको रहरले पगालेर हो वा हाम्रो अनुरोधमा हामीमाथि दया जागेर हो, जोडले अनुमतिको लागि चिच्याइन," ए मणिकलालको बा, यसले पनि खेल्न जान नपाएर रोइरहेकोछ, उसको साथीहरु पनि एक्लै जान मानिरहेका छैनन्, के गरम् ? एकछिनलाई पठाइदिम् ?" उताबाट ठाडो जवाफ आयो," पर्दैन, पर्दैन । बिरामी हुँदा हुँदै पनि धुलोमा किन खेल्नु पर्‍यो ? झनै बिरामी पर्छ । जती रुन्छ, बरु रुन दे ।" चर्को आवाज सुनेर हामी एकाएक निराश भयौ । माणिकलालको बुवा तेकबहादुर सुनार, अरुको नजरमा जतीसुकै समझदार र बुझक्कद कहलिए पनि हामीलाई भने अलिकती पनि त्यस्तो लागेन । हामीले त्यसदिन माणिकलाललाई देख्नै पाएनौ, उ रोएको पनि सुनेनौ । त्यो एकै दिन थियो, हामीले पहिलो पटक माणिकलाललाई बोलाउन गएको र माणिकलाल बिना एक्लै खेल्न हिंडेको पनि ।

हामी माणिकलालको घरबाट कहाँ गयौ र कोसँग कुन खेल खेल्यौ, अहिले केही पनि यादमा छैन । त्यसदिनको अरु सबै कुरा भुले पनि बुद्धिले भनेको कुराको भने मलाई अझै पनि राम्ररी सम्झना छ । माणिकलाल नआउने नै बुझे पछी हामी उसको आँगनमा फर्किरहेका थियौ । त्यहीबेला बुद्धिले भन्यो," हेर, नयाँ घर बनाए पछी त त्यस परिवारको एकजनालाई कालले अबश्य लग्छ रे ।" उसको कुराले अली सशंकित हुँदै मैले पनि कुरा जोडे," जहानको ठुलो मान्छेलाई कि जसलाई भए पनि ? कि त्यसैले हो र माणिकलाल बिरामी परेको !?" बुद्धिले पनि मतिर नफर्किएर नै जवाफ दियो," बुदो मान्छे कि बच्चा त्यो चाँही थाहा भएन तर एकजना भने मर्नै पर्छ रे ।" मलाई बुद्धिमाथि विश्वाश थियो तर बुद्धिको कुरा प्रती भने त्यती विश्वाश लागेन । मैले नपत्याएको भावमा भनेको थिएँ," होइन होला यार । आफ्नो जहानको मान्छे मर्ने कुरा जानी जानी नत्र नयाँ घर कसले पो बनाउथे होला र !" बुद्धिले पनि विश्वाश नमाने झै गरी बोल्यो, " खोई यार, अस्ती धारामा गाउँका दाईहरुले यही कुरा गरिरहेको सुनेको थिएँ ।" बुद्धिले आफुले यत्ती मात्र सुनेको बतायो । हामी सानै भए पनि बोली सकेर अन्तिममा 'यार' थेगो थप्ने गर्थ्यौ । वास्तवमा यारको अर्थ हामीले बुझेका थिएनौ । लाहुरेहरुले बोल्ने भाषा हो भनेर सुनेका थियौ । हामी लाहुरे नभएकाले यार नथपेर बोल्ने प्रयास पनि गर्यौ तर बोलीमा मिठास नहुने र असुहाउदो सुनियो भनेर फेरी यार जोडेर नै बोल्ने निधो गर्यौ । यस कुरालाई तुङ्याएर हामीले कुन कुरा गर्यौ त्यो भने अलिकती सम्म पनि सम्झना छैन । शायद डण्डी-बियोको कुरा गरेको हुनुपर्छ किन कि डण्डी-बियोको मौसम थियो त्यो ।

गाउँको लगभग शिरानतिर एकै लहरमा हाम्रो घर छ । मुनिबाट माणिकलालको घर, बिचमा बुद्धिको अनी थोरै माथि चाँही मेरो । स्कुल र हाम्रो घर बिचको दुरी पनि करीब करीब बराबरी छ । पाँचसम्म पढाई हुने हाम्रो स्कुल ठीक हाम्रो घरको सामुन्ने छ । हामी तिनै जना एक कक्षामा पद्थ्यौ । शायद अ, आ फालिसकेका थिएनौ क्या रे ! क, ख को त नाक-मुख देख्ने कुरा पनि भएन । माणिकलाल स्कुलको हाजिरीमा गयल भएको पनि धेरै दिन भैसकेको थियो । अब उसले परीक्षा दिन नपाउने भयो । परीक्षा नै दिए पनि पास हुने सम्भावना एकदम कम थियो । मैले अ, आ फालेर क, ख पढ्न थालेको दुई दिनमै ज्ञ, ज्ञा पनि फालिसकेको थिएँ । अड्किदै भए पनि बिस्तारै अली अली अक्षर पनि बोलाउन थालें । हस्तसिंह मास्टरले अब म दुईमा जाने पक्का भनेकाले मेरो मन नजानिदो पाराले प्रफुल्लित थियो । आफु दुईमा जाने र आफुसँगैको साथी एकमा नै पढ्नु पर्ने भयो भन्ने कुराले भन्दा पनि म फेल नहुने खुशीले गदगद भएको थिएँ । अर्को मनले आफ्नो साथीसँग छुट्टीने भयौ भन्ने सोचेर नरमाइलो पनि लागेर आयो । जे होस्, मैले कालोपाती बोक्न छाडेर कापीमा लेख्ने लगभग पक्कापक्की नै भयो भने माणिकलाल अझै एक बर्ष कालोपाती बोकेर नै स्कुल जानु पर्ने पक्का जस्तै भयो । केही समय पछी माणिकलाल पानी भर्न पानी टन्कीमा जर्किन बोकेर उभिरहेको देखेको थिएँ । छिमेकका आईमाईहरुले उसको आमालाई "माणिकलाल त सन्चो भईसकेछ त !" भनिरहेका थिए तर उसको आमाले भने अरुको कुरा इन्कार गर्दै आफुसँग जबर्जस्ती गरेर मात्र पानी भर्न आएको बताइरहेकी थिइन् । दिउसो अली जाक्तै देखिए पनि ज्वरोले राती राती निकै च्यापेर ल्याउथ्यो रे । रातभरी दुख्यो भनेर सुत्न नै दिदैनथ्यो रे । अस्पतालले पनि नसक्ने भयो रे । उसको पेटभित्र रहेका सर्प र जुकाले रगत चुसिरहेका छन् रे । उनले यती भनी नसक्दै माणिकलाल हाच्छ्यु गर्दै एकोहोरो आवाज निकालिरह्यो । पानी भर्न आएका केहीले राम्रो डाक्टरकोमा जचाइलग्न भन्दै सल्लाह दिदै थिए भने, कोही रमाइलो मान्दै हाँसे पनि । अनियन्त्रित आवाज सँग सँगै उसले आफ्नो ज्यान पनि नियन्त्रण गर्न सकेन । भुइमा दल्नै आटेको बेला पानी भर्न पालो पर्खिरहेका छिमेकीले उठाएर उसको घरसम्म पुर्याए । म सिर्फ तुलुतुलु हेर्नु बाहेक केही गरिन, हेरि मात्र रहें ।

बिहान बिउँझीएर आँखा मिच्दै यताउती हेरें । जातो पिसेको गुरुरुरु आवाज आइरहेको थियो । दिदी र दाजुले शायद मकै पिसिराख्नु भएको थियो होला । बुवाले चुल्होको पल्लोपत्ती सधैंको ठाउँमा बसेर अरु दिन झै चिया पिइरहनु भएको थियो । आमा बाहिर कतैबाट आएर मुल दोकाबाट भित्र पसेको चाल पाएँ । उहाँले दिदिलाई जातो रोक्न भन्दै भन्नुभयो," बैनी, आज राती तेकबहादुरको छोरा रहेन रे । अब जातो नपिस, पिस्न मिल्दैन ।" आमाको यो कुराले मा झसँग भएँ । ओछ्यानबाटै कान ठाडो ठाडो बनाएर थप कुरा सुन्न खोजे। यत्तिकैमा दिदीले अनौठो, जिज्ञासा र सहानुभुति मिश्रित स्वरमा सोध्नुभयो," माणिकलाल मर्यो रे !?" आमाले हो भन्ने भावले जिउदो नरहेकाहरुको नाम नभन्न सम्झाउनु भयो । म ओछ्यानमै ठहरै परें । आमा मेरो नजिक आउनुभएको थाहा पाएर निदाएको झै स्वाङ पारीरहें । के सोचेर हो आमाले उठाउनु भएन तर एकछिन पछी सधैं झै शान्त र नरम लवजमा भन्नु भयो," भाइ, उठ है अब । घाम उदाउन लागिसक्यो । मुख धोएर बाहिरतिर चिसो चिसो हावा खान जाउ ।" म साँच्ची त्यसै गर्न दोकामा निस्कनै थालेको थिएँ । दिदिले भन्नु भयो," तँ खुब भरखर उठिराछस्, तेरो साथी मर्यो रे ।" तर मैले सोधिन, माणिकलालको बनिरहेको त्यो घर निभ्जियो कि निभ्जिएन । माणिकलाल र मेरो सम्बन्ध आमाले राम्ररी बुझ्नु भएकाले होला । आमाको त्यो बिहानको बोली कती मलिन थियो, मैले अहिले आएर बल्ल महशुस गरिरहेको छु । मलाई लाग्छ, मेरो बालसखाको मृत्‍युले आमा पनि निकै बेचैन हुनु भएको हुनुपर्छ ।

१० बज्यो । स्कुलको दोस्रो घण्टी पनि बज्यो । हामी सबै बिद्यार्थीले आ-आफ्नो कक्षा अनुसार स्कुल चौरमा लाईन बनायौ । हेडसरले हाम्रो विद्यालयमा पढ्ने साथीको मृत्‍यु भएकाले एक दिन शोक बिदा दिएको जानकारी दिनुभयो । सबै विद्यार्थीले उनको अन्तिम संस्कार गरिने ठाउँ बत्योगा डाँडासम्म जान भन्नुभयो । आमाले पनि बिहान अह्राउनु भएको झलक्क सम्झिएँ । आमाले भन्नु भएको थियो," तिम्रो मिल्ने साथी हो । उसको लाशलाई घरबाट निकालेर मलामीहरु बत्योगा डाँडातिर हिंड्ने बेलामा फूल र पाती चदाइदिनु । त्यो देखेर उसको आत्मा हाँसिराखोस् । बिचरा ! किन यती छोटो आयु लेखेर आएछ ।" आमालाई सोधेको थिएँ," मरिसके पछी देख्ने, चिन्ने, सुन्ने र थाहा पाउने हुन्छ र आमा ?" आमाले विश्वाश दिलाउनुभयो," जिउदो मान्छेले थाहा नपाए पनि मरेको मान्छेलाई थाहा हुन्छ ।" ११ बजेतिर गाउँका मान्छेसँगै हामी पनि मलामी भएर बत्योगा डाँडासम्म पुग्यौ । ठुलाहरुले सानालाई लाशको नजिक नआउन हप्काइरहे पनि म घरबाट नै उसको लाशको पछी पछी लागेर बत्योगा डाँडासम्म नै पुगें । हातमा फूल र डुबो उचालेर दुई हात जोड्दै मन मनै प्राथना र प्रश्न गर्दै हिडिरहेको थिएँ," माणिकलाल, मलाई देखिरहेका छौ ? म तिम्रो साथी पछी पछी छु है ।" आफ्नै साथीलाई कहिल्यै नतर्साउन पनि सम्झाउदै थिएँ । केहीबेरमा चिता तयार भयो र लाशलाई चितामा चदाउने बेला भयो । उसको आमा र बज्यै उसको लाशमा झुन्डिदै बिलाप गरी गरी रोए । उसको लाश छोपेको कपडा दनदनी बल्न थाल्यो । एकछिनमा माणिकलालको जिउ पनि आगोले जल्न थाल्यो । उसको म्रित शरीरको दुखाईले मलाई नराम्ररी पोल्न थाल्यो । म हिक्का छाडेर रुदै घरतिर दौडिएँ । वल्लोपट्टिको डाँडा नकातुन्जेल फर्की फर्की हेर्दै आसुँ पुछ्दै र सकी नसकी थाम्ने प्रयास गर्दै हिडिरहें । पछी धेरै पछी पनि यताउता हिंड्ने बेला उसको चौपारीमा सधैं फूलपाटी चदाउथें । उसको माया मार्न एकछिन बिसाउथें । माणिकलालले देख्छ कि देख्दैन तर मैले भने उसलाई सधैं त्यही नै देखी रहन्थे । उसले त बिर्सियो होला तर मैले भने सधैं सम्झी रहें, उसैगरी सम्झी नै रहनेछु ।

मैले पढ्न भनेर शहर पसे पछी गाउँ एक पटक पनि नफर्किएर नै आइ. ए. सकाएँ । त्यसपछी उतैवाट ईण्डियन आर्मीमा भर्ती भएँ । तराईमा एकतले घर पनि बनाएँ । सबै ब्यबस्था मिलाएर परिवारलाई सार्न खोज्दै गर्दा अचानक बुवाको स्वर्गे भयो । मेरो पल्तन काश्मिरमा थियो । काश्मिरको पनि मुख्य क्याम्पभन्दा निकै टाढा हिउ नै हिउ जमिरहने बिकट एरियामा थियो । खबर बेलैमा पाउन सकेन । बुवाको देहान्त भएको दुई हप्ता पछी मात्र थाहा भयो । घर आउने छुट्टी मिलाउन प्रकृया चाल्दा चाल्दै अर्को एक हप्ता त्यही बित्यो । खबर पाउन साथ छुट्टी मिलेन, पछी छुट्टी थोरै पाएकाले घर आउँदा आउँदै सकिने भयो । बुवाको दाहसंस्कार गर्ने सौभाग्य त पाएन तर दुई तीन महिना पछी कुन मुखले म आमाको सामु आफ्नो अनुहार देखाउन आउनु ? यस्तै थुप्रै कुराहरु सोचेर पाएको एक महिनाको छुट्टी पनि क्यान्सिल गरिदिएँ । त्यसपछी आमाले तराई झर्न मान्दै मान्नु भएन । नयाँ घर र बुवाको मृत्‍युसँगै बुद्धिलाई पनि सम्झिएँ । बुद्धिले पनि दुबइ गएर कमाएको पैसाले सदरमुकाममा एउटा घर किनेको रहेछ । उसले पनि बुवाआमालाई गाउँमा अब धेरै दु:ख नगर्न बरु नयाँ घरतिर सर्न भन्दै रहेछ । उ बिदेशमै रहदा उसको पनि बुवाको दु:खद निधन भएछ । आँफैलाई सम्झाएर आमालाई सम्हाल्न नसकेको बेला नयाँ घरको बसाइ महत्वपूर्ण हुने कुरा भएन । बुद्धिको हालत सुनेर धेरै दिनसम्म पनि हाँस्न र खान सकेको थिएन । त्यैबेला मेरो स्नाइपियर्स अफिसरको लागि बिशेष कोर्स चल्दै थियो । मैले कोर्समा त्यती राम्रो गर्न नसकेकाले छानिन निकै गाह्रो भएको थियो । मलाई नयाँ घर र मृत्‍युको सत्य असत्य पिडाले सारा कुरा गौण बनाइ दिएको थियो । हरेक क्षण मेरो दिमागमा एउटै कुरा घुमिरह्यो । धेरै पटक सोचिरहें, माणिकलाल, बुद्धी र हाम्रो नयाँ घर ।

आज १४ बर्ष पछी म बल्ल मेरो जन्मस्थल फर्किएकोछु । ढुङ्गाले छाएको पुरानो स्कुल घर पनि अहिले जस्टा पाताले छाइएको रहेछ । कहिले हातमा मोजाको बल उचालेर त कहिले गुराँशको भुण नचाउदै हिंडेको पनि दुई दशक बदी भैसकेछ तर पनि भरखरै जस्तो लागिरहेकोछ । तितो मिठो भएर बारम्बार सम्झनामा झलझली आउने गरेका लहरै उभिएका तीन वटा घरले मलाई छेद् हानिरहे झै लागिरहेकोछ । मेरै सामुन्ने स्कुल चौर र लुकामारी खेल्ने गरेको छेउको खरिको रुख आँखैमा प्रत्यक्ष उभिरहेका छन् । सबै भन्दा माथि मेरो घर, बिचमा बुद्धिको घर अनी अलिकती तल माणिकलालको नयाँ घर । सबै मौन मात्र पाइरहेकोछु । आँफैले पनि बुझ्न सकेको छैन, माणिकलाल बितेको अहिले बर्षौ भैसक्यो र पनि मलाई माणिकलालकै घर भन्न मन लाग्छ । माणिकलालको भाइबहिनी मेरै अघी उभिरहदा पनि अनायास मेरो मुखबाट उही माणिकलाल नै फुस्किरहन्छ । कुन मोहले यती साह्रो गाँजेको हो मैले अझै भेउ पाउन सकेको छैन ।

हुन त बुझ्न नसकेका कुराहरु पनि धेरै नै छन् । आजसम्म पनि नयाँ घर पछीको एउटा मृत्‍यु सत्य नै हो कि अन्धबिश्वास केही खुट्याउन सकिरहेको छैन । केही छुत्याउन सकेको छैन, मेरो र बुद्धिको नयाँ घर र हाम्रा बुवाहरुको मृत्‍युमा कुन संयोग थियो, कुन सत्य थियो । तर अचेल पनि नयाँ घरको चाहनासँग जन्मिएको मृत्‍युको भयले सधैं तर्साइ रहन्छ । रहर बनेर पलाएका चाहनालाई पनि अनायास आउने त्रासको पहिरोले पुरिदिन्छ । मैले देखेको र भोगेकोलाई नै आधार मानेर विश्वाश गर्ने हो भने एउटा मृत्‍यु निश्चित रुपमा सहनै पर्ने रहेछ तर संयोग र अन्धबिश्वासलाई सत्यतासँग जुधाउन खोज्नु ठुलो गल्ती हो । असत्यलाई जबर्जस्ती सत्यको दाम्लोले बाध्न खोज्नु झन् ठुलो अन्धबिश्वास र भ्रम हो । बरु सत्य के हो भने यही कुरा दोहोर्याएर अहिलेसम्म मैले कसैबाट सुनेको छैन । तर मसँग कुनै उपाय छैन, बालापनमा दौतरीको सम्झना बनेर मुटुमा भासिएको भ्रमबाट कसरी र कहिले उम्किन सक्नेछु । मैले कसैलाई सोधेको पनि छैन, माणिकलालको मृत्‍यु नयाँ घर बनाएकाले भएको हो वा उपचार नगरिएको रोगको कारणले ? यो पनि थाहा छैन कि, उसको मृत्‍यु नयाँ घर बनिसके पछी भएको हो वा नयाँ घर तयार हुनु अगावै ? उसको नयाँ घरको जन्म र उसको आफ्नै मृत्‍युमा के अन्तर्सम्बन्ध थियो ? जसले गर्दा मलाई बाल्यकालदेखी आजसम्म पनि लगातार घोचिरहेकोछ । म सधैंभरी निरिही भएर चुपचाप सहिरहेकोछु र शायद यसरी नै दुखाई सहिरहनु पर्नेछ । यो कुराको रहस्य र उत्तर मैले न त बिपनामा अरुलाई सोधें, न त सपनामा मेरो दौतरी माणिकलालको आत्मालाई नै ।
18 Nov,’09

No comments:

Post a Comment