Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Friday, March 8, 2013

गइन् उनी


अलग थिए बाटाहरु मिलाएर गइन् उनी ।
बुन्दै थिए सपनाहरु बिलाएर गइन् उनी ।

हरियाली देख्थें सारा, सधैं सुन्दर दृष्‍टि
स्थिर मेरा नजरहरु हिलाएर गइन् उनी ।

खोपिकन रित्तो रित्तो, मेरो मन-मुटु भरी
अनगिन्ती यादहरु दिलाएर गइन् उनी ।

जुगौ बाँच्न खुशी साट्न, सङै खोज्यौ संजीवनी
ऐले बिषका प्यालाहरु पिलाएर गइन् उनी ।

सुहाएन कि निष्ठुरीलाई, ओदाएको आफ्नोपन  
फाटेका ति साइनोहरु सिलाएर गइन् उनी ।
23 August 2012

Saturday, February 16, 2013

गजल: खोइ!


भै गयो कमरेड! कती गर्छौ खोक्रो भाषण हामीलाई 
के-के नै गर्छु भन्थ्यौ झन्, चर्को भो शासन हामीलाई ।

मार्यौ, मार्न लायौ हाम्रै दिन पक्का आउछ भनी
रगतले लपक्क लट्पटियौ, खै त सिंहासन हामीलाई ।

लालाबाला टुहुरो बनाइ, पुछ्यौ सिन्दुर चेलीको
लुकी-छिपी अझै पाप् गर्ने, दिदैछौ कासन हामीलाई ।

सारा दु:ख बिर्सिकन लडि जित्यौ तिम्रो लागि
अपाङ्ग भो बस्ती आज, देउ खाने राशन हामीलाई ।
January 17, 2013

Tuesday, January 25, 2011

गजल-पाइलाहरु चाल्दै जानू

नथाकेर नरुकेर, पाइलाहरु चाल्दै जानू ।
सफलताका सुनौला, यात्राहरु थाल्दै जानू ।

सोचे जस्तो हुन्न सधैं, गाह्रो साह्रो आइपर्छ
गोरेटोका अबरोध, पर्खालहरु ढाल्दै जानू ।

हुन्न सधै झिलिमिली, संघर्षका मोडहरु
अध्यारा ति झुपडीमा, दियोहरु बाल्दै जानू ।

रिस-राग इर्श्या भित्र , भेटिदैन परमात्मा
बरु दुखित टुटेका, मनहरु टाल्दै जानू ।

नजिक-टाढा दुरी हो , मन पर हुदै हुन्न
परिधिमा नबाँधेर , सेवाहरु पाल्दै जानू ।
09 Jan,’11

गजल-भनिदिनु

सोधिन् भने निष्ठुरीले, नाता जोड्यो भनिदिनु ।
खोजिन् भने निष्ठुरीले, बाचा तोड्यो भनिदिनु ।

एकै तालमा एकै दिशा, पाईला चाल्न नसकेर
पछी पछी हिंड्न छाडि, बाटो मोड्यो भनिदिनु ।

सङै जिउने सङै मर्ने, कसमहरु खाए पनि
बाध्यताले जीवन साथी, अर्कै खोज्यो भनिदिनु ।

फल्ने फुल्ने भबिश्यको, स्वप्नहरु उमारेर
आँखा चिम्ली मनको मुना, अन्तै गोड्यो भनिदिनु ।

हाँस्दाहाँस्दै उनको सामु, आसुँ झर्थे कहिलेकाही
अतितलाई सम्झीएर, रुन छोड्यो भनिदिनु ।
14 Jan,’11

Monday, January 10, 2011

गजल-आउँदैछुँ म

आशा राख्नु घरको जग, खार्न आउँदैछुँ म ।
बाझो खेतमा हल गोरु, नार्न आउँदैछुँ म ।

छिमेकीको साँधपारि, देखें हरियाली
प्रगतिको बीज अब, छर्न आउँदैछुँ म ।

उम्रिदैथे टुसाहरु, शीत लागेछ कि!
बिकासको बेर्ना अब, सार्न आउँदैछुँ म ।

बचेँका ति मुना भन्दा, झार झाङिदैछन
गोड्मेल र जल अब, चार्न आउँदैछुँ म ।

उब्जाउ जती सखाप पार्छन्, सधैं बाँदरले
स्वाभिमानको बार अब, बार्न आउँदैछुँ म ।
01 Jan,’11
फुयान्शा, चाइना

Sunday, November 7, 2010

कस्ले अचेल


गाउँ घरमा कसोगरी, अचेल तिहार छिर्छ साथी ।
दौतरीको सम्झनाले, अचेल ह्रिदय पिर्छ साथी ।

तिहारकै कुरा गर्थ्यौ, बाटोभरी स्कुल जादा
रमाइ-रमाइ त्यस्तै कुरा, अचेल कस्ले गर्छ साथी ।

'बुद्धी' पनि घरमै छ रे, 'ज्ञाने' छुट्टी आको छ रे
बाल्यकालका सुबाशहरु, अचेल कस्ले छर्छ साथी ।

खेल्दैछौ रे देउसीभैलो, साथीसङी मिलिकन
मैले लेख्ने तिहार गीत, अचेल कस्ले कोर्छ साथी ।

'श्याम' नै रैछ गाना गाउने, 'कुम' देउसी भट्याउने नै
मैले भिर्ने मादल चाँही, अचेल कस्ले भिर्छ साथी ।

आँगनमा घेरा बनाइ, लहरोमा नाच्थ्यौ गाउँथ्यौ
खाली भाको मेरो ठाउँमा, अचेल कस्ले भर्छ साथी ।

थकान र भोक-प्यासले, लखतरान पर्दाखेरी
सुन्तलाको बोट चढि, अचेल कस्ले झार्छ साथी ।

जंकोट सकाइ माडिचौर, कोर्चावाङ र कोटगाउँ पुग्थ्यौ
हामले जस्तै माडि-हुङ्री, अचेल कस्ले तर्छ साथी ।
07 Nov,’10

Sunday, May 30, 2010

गजल - उनकै यादमा

माया लाउन एक्लै मैले, जिएँ उनकै यादमा ।
बिछोड भुल्न आसुँ पनि, पिएँ उनकै यादमा ।

तिमी हाँसे मै हाँसुला, भन्दै छाडि गए पनि
अतितमा च्याटेको मन, सिएँ उनकै यादमा ।

हात थियो साथ थियो, एकै थियो बाटो पनि
आफ्नै बाटो खोज्ने विश्वाश, लिएँ उनकै यादमा ।

बाचाहरु झुठा बनाइ, उनी चोखो भए पनि
बियोगको जीवन मेरो, दिएँ उनकै यादमा ।

अचेल सङ्लो मुल भाछु, एउटा खोलो सुके पनि
हिजो-अस्ति धुमिल दल झै, थिएँ उनकै यादमा ।
30 May,’10

Tuesday, May 18, 2010

गजल - चुक्यौं हामी

रुदै रुदै भेट्यौं हामी रुदै रुदै छुट्यौं पनि ।
हाँसिखुशी बस्यौं हामी पल पल लुट्यौं पनि ।

धरतीको दुई कुना टाढा टाढा भएर 'नि
दुई मन दुई मुटु एकै ठाउँ जुट्यौं पनि ।

बिचार र भावनाले बेस्सरी नै कस्सेपछी
भित्रभित्रै अकारण निकै जोडले फुट्यौं पनि ।

जीवन् जिउन जीवनकै वाचा कसम् गर्यौं हामी
हराभरा पल्लव् मुना टुप्पोबाटै थुट्यौं पनि ।

यात्रा पुरा गर्न एउटा बिन्दुलाइ ताकेकाथ्यौं
बिसाउने निहु गरी धेरै बेर सुत्यौं पनि ।

अजम्बरी प्रेम जोडी बन्ने लक्ष्य बिर्सिएर
निमोठेर सपनालाई नराम्ररी भुट्यौं पनि ।

केही बेरमै टुहि जाने मायाजाल सफल् पार्न
आँखा चिम्ली निधारमा चुट्नसम्म चुट्यौं पनि ।
17 May,’10

Monday, May 17, 2010

गजल - मेरो जीत ठानें

तिमीसँग चोखो नाता, गाँस्नु मेरो जीत ठानें ।
तिमी सँगै सधैं बाँच्नु, हाँस्नु मेरो जीत ठानें ।

समीपमा भेटें जब सुकोमल निष्छल् भाव
मन्का सारा अबिश्वास, नास्नु मेरो जीत ठानें ।

पिरतिमा समर्पणको हृदय साक्षी पाएँ पछि
तिखो तिखो काँडाहरु, मास्नु मेरो जीत ठानें ।

अन्धकारलाई हटाएर उज्यालोको पर्खाइमा
बिहानीमा भालेसँगै, बास्नु मेरो जीत ठानें ।

अनगिन्ती दुनियाँको असंख्य यो भिड्मा पनि
नयनमा तिम्रै रुप, टाँस्नु मेरो जीत ठानें ।
16 May,’10

Sunday, May 9, 2010

गजल - आमाहरु

हुरीबतास चलिरा'छ, झ्याल ह्वाङै होला ।
चिसो बदिरा'छ कठै ! जिउ नाङै होला ।

जुरेलीले चारो टिप्दा, कटक्क मन खायो
खाइसक्यो, खाँदैछ कि, पेट भोकै होला !?

भर्भराउदै बल्न छाड्यो, निभ्यो घरको आगो
चुल्हो सम्झी बिरानोमा, आशु झार्दै होला ।

सपनीमा शिरानीमै, फुलिराथ्यो फूल
बा-आमाको आशिर्वाद, साकार पार्दै होला ।

क्षण-क्षण निमेषमा, उसैको छ याद
मनमुटु सम्हालेर, खाममा सार्दै होला ।
04 May,’10
ति महान आमाहरुलाई, जो आफु निरक्षर भएर पनि सन्तानलाई साक्षर-सफल बनाउन चाहन्छन ।
ति महान बुवाहरुलाई, जसले आँफै दु:ख सहेर पनि सन्तानलाई सम्पन्न र सुखिखुशी देख्न चाहन्छन ।
ति आमाहरुको नाममा, जसले मुटुको टुक्रो आफ्नो सन्तानहरु भन्दा धेरै टाढा रहेर रातदिन आसुँ बहाइरहेका छन् ।

Monday, April 26, 2010

गजल - बाधक नेता


लोकतन्त्र ल्याए पनि शोकतन्त्र दियौ नेता ।
संम्रिद्ध जन चाहनामा बाधक भयौ नेता ।

बलिदान र योगदानको उच्च कदर गर्न छाडि
प्यास मेट्न सहिदको आलो रगत पियौ नेता ।

शान्ती र संबिधानको सुगा रटाइ तिम्रो
नैतिकता र आदर्शको कुन राजनीति गर्यौ नेता !?

परिवर्तनको स्वप्नफूल फुलाउने आकांक्षामा
आश्वासनको खेतमा झुटा बिज छरी रह्यौ नेता ।

अन्योलताको निकासपछि बिकासको आशा थियो
मानवीय संबेदनाहिन फगत जीवन जियौ नेता ।

मरिरा’छन गरीबहरु जीवनजलको अभावमा
कुर्सी च्याप्ने कुर्सी ताक्ने मोह मात्र पाल्यौ नेता ?

सहमतीय राजनीति निर्बिकल्प बुझ्दा बुझ्दै
सहकार्य, एकताको मूल मन्त्र भुल्यौ नेता ।
24 April,’10
लोकतन्त्र दिवसका दिन लेखेको भए पनि जनताको ऐतिहासिक बिजय भएको उत्सबलाई निरस पार्नु उपयुक्त लागेन त्यसैले, आज मात्र तपाईंहरु माझ यो कोशेली पस्किदैछु ।

Saturday, February 13, 2010

गजल

एक्लै रम्ने मनलाई, साथ खोजू लाग्न थाल्यो ।
बिरानो मान्छेसँग, साईनो जोडू लाग्न थाल्यो ।

नजरको बाणले हानी, भागि हिड्ने दोबाटोमा
भन्देउ न तिम्रो नाम, जपूँ जपूँ लाग्न थाल्यो ।

फर्की फर्की हेर्दा मैले, तर्किएर हिड्छौ किन
नजिक यतै आइदेउन, सँगै हिडूँ लाग्न थाल्यो ।

ओठले बोल्ने सबै कुरा, आँखाको मिठो भाषा
जादुमयी तिम्रो धुन, सुनी रँहू लाग्न थाल्यो ।

मुटुभित्र बस्यौ पृय! बाटो मोड्न सक्दिन म
तरंगियो ‘चन्द्र’ आज, सिन्दुर भरुँ लाग्न थाल्यो ।
7 Oct,' 09

Sunday, February 7, 2010

गजल

फुसुफुसु सास फेर्नु मात्र, जिन्दगी हो भन्दिन म ।
घुमन्ते झै आफ्नै जीवन, लीलाम गर्न सक्दिन म ।

देशको लागि जन्मेको म, देशकै लागि जिउछु भन्थें
तर आज भुवा जस्तो, जीवन जिउन सक्दिन म ।

सबैका लागि लडिकन, अमर सहिद बन्छु भन्थें
तर आज पहिचानहिन, सहिद बन्न सक्दिन म ।

अन्यायलाई पछारेर, न्यायमुर्ती हुन्छु भन्थें
तर आज कुतर्कको, बहस गर्न सक्दिन म ।

देशलाई हाँक्ने स्वाभिमानी, प्यारो मान्छे बन्छु भन्थे
तर आज अभिमानहिन, भ्रष्ट बन्न सक्दिन म ।

सूर्य जस्तै सदाबहार, उज्यालो पो बाड्छु भन्थें
तर आज शान्त तालको, बिम्ब हुन सक्दिन म ।

तिर्खालुका प्यास मेट्न, स्वच्छ मुल बन्छु भन्थें
तर आज दुर्घन्धित, दल बन्न सक्दिन म ।

अध्यारोलाई चिर्न सक्ने, नौलो बिहान बन्छु भन्थें
तर आज कुहिरोको, प्रकाश बन्न सक्दिन म ।

कहिल्यै कतै नरुकिने, सफल लक्ष्य लिन्छु भन्थें
तर आज क्षणमै थकित, यात्री बन्न सक्दिन म ।

गरीबका झुपडीको, सुन्दर गजुर बन्छु भन्थें
तर आज कपटीलाई, हजुर भन्न सक्दिन म ।

युगौ युग आस्थाको, आदर्श जीवन बाँच्छु भन्थें
तर आज दाममा बिक्ने, पशु बन्न सक्दिन म ।
05 Feb,’10

Tuesday, January 26, 2010

गजल

बदलिन्छन मान्छेहरु, मौसम झै क्षणमै साथी
फरक मन फरक मुटु, सबैको किन साथी ?

बिहानीमा नौलो उषा, ल्याउने भन्थे डाँडामाथि
आज फेरी सुर्य ग्रहण, आँफै किन लाउछन साथी ।

हिजोका तिनै स्यालहरु, आज पनि अघी पछी
आफ्नै लाग्ने मान्छेहरु, खुट्टा किन तान्छन साथी ।

आश देखाइ दरिद्रलाई, बनिदिन्छन निकै जाती
आफु अग्लो हुनलाई, बुई किन चद्छन साथी ।

बिन्ती गर्छन् देखाउदै, रक्तमुछेल घायल छाती
एकैछिनलाई जादुगरको, चटक किन चोर्छन साथी ।

ज्ञानीले नै रेतिदिन्छन, चेतनाको नरम घाँटी
राम्रो मान्छे बन्छु भन्दै, छल किन गर्छन साथी ।

अध्यारोलाई चिर्न लाग्दा, निभाइदिन्छन सानो तुकी
उज्यालोको डरले हो कि, रातमै किन खेल्छन साथी ।

सज्जनहरु तल तल, दुर्जनहरु झन माथि
जताततै छक्कापन्जा, दाउ किन चाल्छन साथी ।

एकाध मान्छे भ्रम हुन कि, चलन यस्तो स्वार्थी
आफु खुशी छेपारा झै, रङ किन फेर्छन साथी ।

सन्चो पार्न आलो घाउमा, नुनचुक छर्केपछि
निर्दयीले फेरि पनि, भक्कानिएर किन रुन्छन साथी ।
03 June,'09

Sunday, October 18, 2009

दिदी फेरी रुने भईन्


तिहारमा माइत जान, दिदी औंला भाच्दै होलिन ।
मनका कुरा मेलापातमा, सङीसँग साट्दै होलिन ।

भाइको लागि माला भनी, फूलहरु उन्दा उन्दै
प्रदेशी यो भाइको चिठ्ठी, दोहोर्याएर पढ्दै होलिन ।

सयपत्री, मखमली र, जमरा'नि छरिन रे
ओइलिएको फूल हेर्दै, आसुँ धारा झार्दै होलिन ।

बर्षभरी भाइ आउने, निकै आशा गर्दै थिइन् रे
खाली खाली आँगन देख्दा, बेस्सरी दुख्दै होलिन ।

पिडा थप्दा भाईटिकाले, पोहोर झै यो साल पनि
सधैंभरी आफ्नै भाग्य, खोतैखोत सोच्दै होलिन ।

उज्यालो त्यो जन्मघर, अन्धकार देखे पछी
हाँस्दै हाँस्दै आउने दिदी, रुदै रुदै फिर्दै होलिन ।
18 Oct,'09
भाइटिकाको दिन

Wednesday, October 14, 2009

अचेल किन मेरो जंकोट

भरिपूर्ण मेरो जंकोट, किन अचेल खाली भा'छ ।
शान्तिको गीत गाउदा'नि, दुनियाको गाली पा'छ ।

थरी थरिका फूल फुलाउने, सिपालु माली भा'थ्यो
अचेल किन मेरो जंकोट, खडेरीको वाली भा'छ ।

अस्तीसम्म ओत लाग्ने, अप्ठ्यारोको पाली भा'थ्यो
अचेल किन मेरो जंकोट, फोहोर फाल्ने नाली भा'छ ।

आफ्नो-पराइ सबै चिन्ने, अरुको सधैं ताली पा'थ्यो
अचेल किन मेरो जंकोट, च्यातिएको चाल्नी भा'छ ।

कवच बनी बाण छल्ने, रुखको डाली भा'थ्यो
अचेल किन मेरो जंकोट, शिकारीको थाली भा'छ ।

जीवन मरणको धरापमा, न्यायको मुली भा'थ्यो
अचेल किन मेरो जंकोट, असत्यको फुली भा'छ ।

खुनै खुनको कुलो बग्दा, खेतालाको फाली भा'थ्यो
अचेल किन मेरो जंकोट, जमिन्दारको हली भा'छ ।

मेरै गीत देश बिउझाउने, समानताको चाली भा'थ्यो
अचेल किन मेरो जंकोट, मुखियाको जाली भा'छ ।

भरिपूर्ण मेरो जंकोट, किन अचेल खाली भा'छ ।
शान्तिको गीत गाउदा पनि, दुनियाको गाली पा'छ ।
13 Oct, '09