एउटा ब्यक्ति कसैको लागि नायक र कसैको लागि खलनायक लाग्न सक्छ जुन स्वभाविक र प्राकृतिक कुरा हो । जस्तो कि अहिले हाम्रोमा देउवा, ओली र प्रचण्ड छन् । कसैका आदर्श पात्र, कसैका अमनका पात्र ।
सहकारी ठगीमा जेल परेका रवि र उपकुलपति नपाएको झोकमा पेशा र देश नै त्याग्ने घोषणा गरेका डाक्टर रामेश कोइराला पनि त्यस्तैत्यस्तै पात्र हुन् जो अहिले चर्चामा छन् ।
देशभर हाल हजारौं कैदीबन्दी छन् । कतिपय त झन् निर्दोष पनि होलान् । जेलको बास त उनीहरुलाई पनि कष्टकर नै हुदो हो किनकि हामीलाई थाहै छ जेलको हालत बेहाल छ । सम्पूर्ण बन्दीहरुको सहज दैनिकीमा ध्यान पुर्याउनु निकै जायज हो तर सत्तापक्ष, प्रतिपक्ष, मानवअधिकार आयोग सबैले रविको मात्रै सेवासुबिधाको चिन्ता गर्ने हो या दीर्घकालीन जेल सुधारको प्रयत्न थाल्ने? उनीद्वारा पीडितहरुलाई क्षतिपूर्ति कसले, कसरी र कहिले भराउने? गहन छलफल त त्यता पनि हुनुपर्ने होला ।
देशमा योग्य र इमान्दार चिकित्सक हजारौं छन् जसले जस्तोसुकै परिस्थितिमा पनि देश नछाड्ने बरु देशमै गर्ने र देशमै मर्ने संकल्प लिएका छन् । एकजना अनुभवी चिकित्सकले देशको सेवा गर्दागर्दै अकस्मात् देशै त्याग्ने घोषणा गरेको सुन्नुपर्दा कसलाई पो प्रिय लाग्ला र! नामी चिकित्सकले देश त्यागेको दुःखद् खबरले नमीठो त पक्कै लाग्छ । दक्ष जनशक्ति पलायनले देशलाई नै ठुलो क्षति पुग्छ तर आफ्नो इच्छाअनुसारको निर्णय भए सब ठिक र नभए सिस्टम नै बेठीक भन्ने मानसिकता भने कदापि सहि होईन । कुनै पार्टीको फेरो समातेर वा कुनै नेताको भजन गाएर योग्य हुन खोज्नु नै सबैभन्दा ठुलो अयोग्यता हो । गलत सुत्रको प्रयोग गर्दा आउनसक्ने गलत परिणामलाई पनि स्वीकार गर्नुपर्ने हुन्छ । बरु स्वास्थ्य क्षेत्रमा स्वच्छ प्रतिस्पर्धा, कार्य मूल्याकंन र सक्षमताको पक्षमा वकालत गर्दै पार्टीगत भागबन्डाको विरुद्ध समग्र स्वास्थ्य प्रणाली सुधारको नेतृत्व पो गर्नुपर्थ्यो कि!?
सहकारी ठगले डाका मारे, केही नेताकार्यकर्ताले गोहीको आँसु झारे । राज्यले न्याय नदिएर अत्याचार गर्यो । दलहरू संसदमा रविलाई अन्याय भयो भन्दै रोस्ट्रम कब्जा गरिरहेका छन् । यस्तो रवैया देखेर रवि समूहले ठगेका पीडितहरुको मन कति पोल्दै होला?
डाक्टर रामेश विशेषज्ञ चिकित्सक हुन् । उनको कामप्रतिको लगावले बिरामीको बिश्वास पनि जितेकै थिए । त्यसका अलावा उनले अमुक दल र नेताको चर्को बिरोध गर्थे, मन पर्नेको पक्षपोषण गर्थे । आफ्नो अनुकुल भए गलतै सहि भन्ने जुन जुक्ति लगाए आज आफै त्यसैको एम्बुसमा परेर धराशायी भए । जसले जीवनभर स्वतन्त्र रहेर पेशागत मुल्य र मान्यतालाई बचाइरहे, राज्यबाटै पाइलापाइलामा अपहेलना सहिरहे र आत्मसम्मानका लागि अयोग्यताको बिल्ला लगाइरहे - यतिबेला तिनीहरु मनमा केके सोच्दै होलान्!? यसरी कोहि मजदुरी गर्नजाने, कोहि बिदेशी नागरिक बन्नजाने, यो बिदेश जाने क्रम नरोकिएसम्म न देश उँभो लाग्छ, न त शिर उँचो हुनेछ ।
मुख्य जड समस्या पात्र नभई प्रवृत्तिको हो । देशको बेथिति र प्रणालीको हो । एकाध मान्छेको नियतले नभई अधिकांश हीन मानसिकताको बिगबिगीले निम्त्याएको खराब राज्यको चरित्र हो । हरेक क्षेत्रमा गलत राजनीतिको धमिरा पसेकोछ, गलत ब्यक्तिहरुको हालीमुहाली चलेको छ । गाउँको कुनाकाप्चादेखी सिंहदरबारका अंसअंसमा अराजनीतिक, अराजक र अनागरिक बिचौलियाका हुल व्याप्त छन् । त्यो हुल नष्ट नगरी र तिनको जगजगी अन्त्य नगरिकन नयाँ र राम्रो गर्न एकदमै कठिन छ । स्वभावैले फोहोर गन्हाने र फूल बसाउने हुन् । फोहोरीका पिछा गर्न छाडेर जबसम्म थिति बसाल्न, संस्कार सिक्न र फूल रोप्नतिर लाग्दैनौ तबसम्म यस्तै नियति दोहोरि नै रहनेछ । अब देशमै बस्ने हरेक नागरिकको विकल्प भनेको कि त अनेकौं कुकृतिको भागिदार बन्ने हो, कि चुपचाप किनारमा साक्षी बस्ने हो कि त, विष पिउने मन्जुरीनामा हस्ताक्षर गरेर परिवर्तनका लागि प्रतिकारमा उत्रिने हो ।
समयले सबैका लागि अलार्म बजाइरहेकै छ ।
16th Aug 2025
No comments:
Post a Comment