Monday, September 30, 2013

दुई दिनको अबधीमा करीब १७०० बिरामीको सेवा गर्ने मौका पायौं

२०४२ साल माघ २६ गत्ते जंकोट-४, रोल्पामा जन्मनुभएका चन्द्र बहादुर घर्ती मगर पेशाले स्वास्थ्यकर्मी हुनुहुन्छ । समाजसेवाको लागि कुनै पनि मुल्य चुकाएर लाग्नुपर्ने भावना बोक्नुभएका उहाँले भर्खरै रोल्पाको माडीचौरमा स्वर्गिय बुवा मैसर घर्ती मगरको स्‍मृतिमा जिल्ला स्तरको स्वास्थ्य शिबिरको आयोजना गर्नुभयो । समाजसेवा भनेपछी भुतुक्कै हुने चन्द्र घर्ती मगरसँग नबिन लोचन मगरले गरेको कुराकानीको सारसंक्षेप..

१) भर्खरै रोल्पाको माडीचौरमा जिल्ला स्तरको निःशुल्क दुइदिने स्वास्थ्य शिविर सम्पन्न गर्नुभयो, समग्रमा कस्तो रह्यो ?
- सर्ब प्रथम त मैले एमबिबिएसको आफ्नो अध्ययन पुरा गरिसकेको दुई बर्षभित्रमा आफ्नै जन्मथलोमा एउटा स्वास्थ्य शिबिर राख्छु भनेर पहिले नै डायरीमा लेखेको थिएँ । त्यसैले अहिले आफ्नो गाउँ ठाउँको लागि बर्षौ अघी बनाएको एउटा योजना पुरा गर्न पाउदा अती नै खुशी छु । हामीले दुई दिनको अबधिमा करीब १७०० बिरामीहरुको सेवा गर्ने मौका पायौ जुन अनुमान गरेको भन्दा बदी नै थियो । मैले जंकोट, कोटगाउँ, ह्वामा र कोर्चावाङ गाबिससम्मको बिरामी आउँलान भन्ने सोचेको थिएँ तर यहाँ आउँदा भावाङ, गैरिगाउँ कुरेली, मिरुल, धबाङ र लिवाङ गाबिसका बिरामी पनि जचाउन आइपुग्नुभयो । ६ जना डाक्टर, ३ जना स्टाफ नर्स, २ जना ल्याब टेक्निसियन, २ जना ल्याब असिस्टेन्ट, २ जना फार्मसिस्ट लगायत स्वास्थ्य चौकी जंकोटका ३  जना र स्थानीय २ जना स्वास्थ्यकर्मीको टोली उपचार छिटो र छरितो बनाउन लागिपरेका थियौ । तै पनि तेस्रो दिन बिहानसम्म पनि जचाउन आउनेको भिड थियो । हामीलाई आकस्मिक बिरामीहरु हेर्नुपर्ला जस्तो लागेको थिएन तर हामीले ९ जना इमर्जेन्सी बिरामी पनि हेर्नुपर्‍यो जसमध्ये ३ जनालाई केही बेरको उपचार पछी भर्ना भएर थप उपचारका गर्न जिल्ला अस्पाताल रिफर गर्यौ भने बाँकी अरुले औषधी लिएर घर फर्किनुभयो । हामीले आफ्नो क्षमता अनुसार सक्दो सेवा दिने भनेर नै यहाँसम्म आएका थियौ र सक्दो गर्यौ । तसर्थ, यसलाई राम्रो नराम्रो, सफल असफल यहाँको समुदायले कसरी मुल्याङ्कन गर्नुहुन्छ त्यो नै समग्रतामा शिबिर कस्तो रह्यो भन्ने निचोड हुनेछ जुन मैले पनि थाहा पाउने अपेक्षा गरिरहेकोछु ।

२) एउटा यस्तो बुवा जसले हजुरहरु जस्ता समाजसेवी छोराछोरीको जन्म दिनुभयो, कसरी सम्झना गर्नुहुन्छ ?
 - यो शिबिर मेरो बुवा स्वर्गीय मैसर घर्ती मगरकै स्मृतिमा आयोजित प्रथम निशुल्क स्वास्थ्य शिबिर थियो । मैले यो शिबिर बुवालाई देखाउने गरी योजना बनाएको थिएँ तर दुर्भाग्य बस मेरो तेस्रो बर्षको सुरुवातमै बुवा स्वर्गे हुनुभयो । त्यो खबर जेठा दाजुले दिनुभयो । मैले आफुलाई सम्हाल्नै सकिन, बेस्सरी रोएँ । अर्को दिन म नेपाल आएँ । बाटोभरी आमाको निकै याद आयो । दुबैजना दाजु बिदेश हुनुहुन्थ्यो, दुबै जना दिदीहरु आफ्नो घर व्यबहार सुल्टाउदै फुर्सद थिएन । बुवा उता अस्पतालको शैयामा सन्तानलाई गुहार्दै प्राण त्याग्नु भएछ ।
उहाँ निकै आशावादी मान्छे हो र मृत्‍युलाई पनि सजिलै पचाउन सक्ने आँट थियो । उहाँले मलाई आफु बिस्तारै सन्चो हुँदै गैरहेकाले चिन्ता नगरेर पढाईमा ध्यान दिन गरेको अन्तिम आवाजहरु अझै मेरो कानमा ठोक्किन आउछन । 

 उहाँ स्वभावले मिलनसार हुनुहुन्थ्यो । सेवा उहाँको जीवन मार्ग थियो चाहे समाजसेवा होस् वा मानवसेवा । बगेर खेर गैरहेको पानीलाई सङाल्न एक्लै पोखरी खनेर गाउभरिका गाइभैसी र भेडाबाख्रालाई पानी खुवाउने ब्यबस्था गर्नुभयो । भारी बोकेर चद्न गाह्रो हुने दिस्कोलाई फोडेर सम्याउनुहुन्थ्यो, चिप्लिने बाटोलाई मिलाउनुहुन्थ्यो । बारीमा फलफुल र सागसब्जी लगाएर जसले खाए पनि धर्म हुने, पुण्य कमाइने मान्यता राख्नुहुन्थ्यो । अरुको कहिल्यै कुभलो नचिताउने बरु आफुले सकेको सहेर गुण लाउनुपर्ने कुरा गर्नुहुन्थ्यो । बुवाको धरातल र उचाइ हेर्दा अन्य पुरुषहरु सामान्य लागेर आउछन ।  मेरो लागि उहाँ एक अशल मान्छे र आदर्शवान बुवा हुनुहुन्छ जसको तुलना अरु कसैसँग हुनैसक्दैन ।  म यस्तो बुवाको भाग्यमानी छोरो हुँ जसको अनुपस्थितिमा पनि अझै सयौ मान्छे हाम्रो परिवारको खुशीको कामना गर्छन् र उहाँलाई सम्झेर आसुँ बगाउछन । 

३) धेरै मान्छेहरु गाउँभन्दा बाहिर अथवा सुगम ठाउँतिर गएपछि गाउँलाई भूल्ने गर्छन् तर तपाईं त सामाजिक कार्यको लागि गाउँतिरै फर्किनुभयो, यस्तो प्रेरणा कसरी प्राप्त भयो ?
- म कक्षा ५ सम्म जंकोटमै पढे र माबि माडीचौर, गोर्खा बोर्डिङ हुँदै काठमाडौंसम्म पुगे । त्यसपछी त झनै ५ बर्ष चाइनामै बिताउनुपर्यो । तर जुनदिन देखी म आफ्नो गाउँ, आफ्नो आमाबुवा र दौतरीहरुलाई छाडेर गएँ त्यसपछिका दिनहरुमा पनि कोही कहिल्यै टाढा भएनन । म जहाँ भए पनि कहिले काही नराम्रो सपना देखेर झस्किदै मध्यरातमा एक्लै तड्पिरहेको हुन्थे, कहिले रमाइरहेको हुन्थे । मैले कहिले काही फर्केर हेर्दा जती गाउँको नजिक आउन खोज्छु त्यती टाढा हुँदै गैरहेको जस्तो लाग्छ । झुपडी र गगनचुम्बी भवनहरु देखे, बसे । गाउँ शहर सबैतिर घुमे अनेक किसिमका मान्छेहरुसँग भेटे तर मेरो मनमा स्वार्थीपन कहिल्यै पलाउन सकेन । म दाङ झर्दा अब गाउँलाई बिर्सिन्छस , हामीलाई बिर्सिन्छस भन्ने साथीहरु अहिले आफ्नो पुरानो थलो जंकोट हो भन्नसम्म अप्ठ्यारो मान्छन । मैले आबश्यक परे सम्झिने नपरे बिर्सिने मेरो स्वभावले नै दिदैन । म अहिलेसम्म हरेक बिदाहरुमा मौका पाउनसाथ गाउँ आइरहेकोछु । गाउँको निश्चलता, मिलाप र मिजास अन्त कमै मात्र पाईन्छ । गाउँ र गाउँले प्रेमका मुहान हुन । जहाँ मेरो सालनाल गाडीएको भावनात्मक सम्बन्ध त छ नै पेशागत रुपमा पनि मेरो आवश्यकता गाउँमा छ । मैले काठमाडौंको वीर अस्पतालमा काम गर्दा जती सन्तुष्टि पाउथे त्यती सन्तुष्टि नर्भिक अस्पतालमा पाउथेन त्यसैले नै म अहिले आफ्नै अञ्चलमा नियुक्ती लिएर आएकोछु । मैले भेदभाव गर्न त खोजेको होइन तर साँच्चीकै दीन दुखीहरुलाई सेवा गर्न पाउदा भिन्नै आनन्द आउदोरहेछ । मेरो आमाको जीवन किसानीमै खर्चिनुभो, मेरी दिदीले अझै किसानी गर्नुहुन्छ, मेरो दाई, मेरो साथीहरु, मेरो आफन्तहरु सबै अझै पनि तल्लो बर्गमै छन जसले महँगो अस्पातलसम्म पुग्ने हैसियत राख्दैनन । त्यसैले मलाई सहज दंगले उहाँहरुले पाउनुपर्छ र म उहाँहरुको साझा सेवक बन्नुपर्छ भन्ने मेरो चाहना हो ।  

४) शिविर सञ्चालनको लागि जिल्ला अस्पताल रोल्पा र अन्य क्रियाशिल विभिन्न संघसंस्थाहरुको सहयोग कस्तो रह्यो ?
- हामीले जिल्ला अस्पतालसँग समन्बय गरेर नै गएका थियौ किन कि स्वास्थ्यसेवासँग सम्बन्धित कार्यक्रम भएको हुनाले त्यसो गर्नु जरुरी पनि थियो । जनस्वास्थ्यबाट निशुल्क बितरण गरिने केही औषधी पनि माग गरेका थियौ तर प्रकृयागत कारणले नमिल्ने रहेछ । पछी स्वास्थ्य चौकी जंकोटबाट माग फारम भरेर केही औषधी लिएका थियौ । आबश्यक जती  बाड्यौ र बाँकी चाँही फिर्ता गरिदियौ ।
तिलगंगा सामुदायिक आँखा अस्पताल अन्तर्गत सामुदायिक आँखा अस्पतालले पनि दुई दिन नै निशुल्क आँखा शिबिर सन्चालन गर्यो । हामीले जसरी सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेका थियौ, त्यो पायौ । त्यो पनि खुशीको अर्को पाटो हो ।

५) अब यस्तो खालको कार्यक्रम फेरिपनि हुन्छ या हुँदैन ?
- यसपालिको कार्यक्रमको आयोजना र ब्यबस्थापनको जिम्मा माडी जलजला युवा क्लव जंकोटले लिएको हो, बिशेष आर्थिक तथा प्राबिधिक सहयोग मेरी आमा श्रीमती मनमाया घर्ती मगरको हो । कार्यक्रम सम्पन्न भैसके पछी बिभिन्न प्रतिकृयाहरु आइरहेका छन । सबैले राम्रो कामको थालनी गर्यो भनिरहेका छन । म त अर्को पटक गर्दा अझै ब्रिहत रुपमै लानुपर्छ भन्ने पक्षमा छु त्यसैले नै ब्यानर र टिकेटमा पनि स्वर्गिय मैसर घर्ती मगरको स्मृतिमा आयोजित 'प्रथम' निशुल्क स्वास्थ्य शिबिर लेखिएकोछ ।

६) तपाईंको नजिकै रहेर शिविर सम्पन्न गर्नको लागि सहयोग गर्ने सहयोगी दाताहरुलाई कसरी सम्झनुहुन्छ ?
- मैले जुन उद्देश्यका साथ जजस्लाई प्रस्ताव राखे धेरैले सहयोग गर्नुभएकोछ । मैले केही औषधी कम्पनीहरुसँग पनि सहयोग मागे र उनिहरुले मिल्ने जती सहयोग गरेका पनि छन । केही औषधी किनेर पनि बाडिएकोछ । जजसले सहयोग गर्नु भएकोछ उहाँहरु सबैप्रती म क्रितज्ञ छु । 

७) अन्तमा, सनस्टार साप्ताहिक मार्फत् भन्नेपर्ने कुरा केही छन् कि ?
- शिक्षा र स्वास्थ्यले मानव जीवनमा प्रत्यक्ष सरोकार राख्दछन । यि कुराहरुलाई त्यती महत्व दिएको देखिदैन तर सनस्टार साप्ताहिकले यस्लाई बिशेष महत्वका साथ स्थान दिएरहेकोमा धन्यवाद दिन चाहन्छु साथै यो कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नु हुने सबैमा बिशेष आभारी छु । 


नवीन लोचनमगर
कार्यकारी सम्पादक
*****************
देवी गुरुङ
सहसम्पादक
************
सनस्टार राष्ट्रिय साप्ताहिक
लिबाङ-६, रोल्पा