Saturday, August 28, 2010

तिम्रै खुशी


मनभरिको आशिष देउ,
मेरो आफ्नै मान्छेहरु
सातौ जन्म सराप देउ,
मेरो पराइ मान्छेहरु

चौतारीको वरपिपललाई, अब चार्ने छैन
एकैछिनको साईनो गाँस्दै, भ्रम छर्ने छैन
क्षणमै फुट्ने फोका बनी बाँच्न सकिनँ
दुइता जीवन सँग सँगै हाँस्न सकिनँ
जनम-मरण बुझाई देउ,
मलाई सङी भन्नेहरु
दु:ख-रोदन बल्झाइ देउ,
मलाई बैरी ठान्नेहरु

बिबशताको पाहुर बोकी, म टाढा जादैछु
क्षितिजको जून भेट्न, यो यात्रा थाल्दैछु
सम्झनिमा आँखा चिम्लि एक्लै भेट्न आउनु
अजम्बरी माया साट्न भाखा हाल्दै गाउँनु
फूलै फूलको बाटो देखाउ,
शिखर चूमोस् भन्नेहरु
काँडै काँडा मात्र बिछ्याउ,
बिचमै गलोस् भन्नेहरु

छाडि जाने रहर होइन, आत्मा रुवाएर
पाईलाहरु रुक्न खोज्छन्, आसुँ चुहाएर
जुगौ जुग सँगै हुन धर्ती-आकाश भरी
सहनुछ धेरै पिडा एउटा बिछोड प्यारी
फाटेको मन सिलाई देउ,
मलाई माया गर्नेहरु
धुजा धुजा बनाइ देउ,
मलाई घृणा गर्नेहरु

मनभरिको आशिष देउ,
मेरो आफ्नै मान्छेहरु
सातौ जन्म सराप देउ,
मेरो पराइ मान्छेहरु
23 Aug,’10

Saturday, August 21, 2010

बिचलन

सर्पलाई
जती नै दया गर
चोखो दुध पिलाउ
तर
एकदिन जरुर
आफ्नो दन्ते-बिष
फ्याकेरै छाड्छ
डस्छ, डसेरै जान्छ ।

माकुरा
आँफै जालो बुन्छ
संसार देखेर दंग हुन्छ
बिचरा !
त्रिप्त समागम नै अभिशाप बन्छ
मातृ दायित्वकै कारण
मातृत्वकै चाहनाले
सर्वस्व ठानेको सन्तानबाट
जीवन सजाय भोग्न वाध्य हुन्छ ।

मान्छेलाई
गर्नु विश्वाश गर
उसको चिसो भगाईदिन
आफ्नै हात खुट्टा जोरेर
अगेनाको न्यानोले सेकाउ
तर
भर्खरको भर्खरै
अधिकांश मनुवाहरु
तातोले सेक्दा सेक्दै
तिम्रै मुटु-पसिना खोसेर
भोक-प्यास मेट्न खोज्छन्
केही मनुवाहरु
भोली सबेरैदेखी
मुखमा राम राम
बगलीमा छुरी हुन्छन्
ति निर्लज्जहरु, ति बैगुणीहरु
ति मान्छे भनिने अमान्छेहरु ।

मैले, कहिले काही
अमिलो अमिलो मन लिएर
धमिलो धमिलो आत्माहरु भित्र
मान्छेले मान्छे भएर खोज्दा
आँफैले आँफैलाई भेट्दिनँ
वा, 'म मान्छे हुँ' भन्ने नै बिर्सन्छु !?
र, यो घोषणा गर्न पुग्छु
म बिषालु सर्प होईन
म अबिबेकी माकुरा पनि होईन
म ठोकुवा नै गर्न सक्छु
म कदापी हुँदै होईन
तर
यो ठोकुवा कहिल्यै गर्न सकिनँ
गुण, धर्म र दायित्व बिर्सिने
बिचलित आचरन बोकेको
सुन्दर आबरण ओडेको
म बिबेकशील जन्तु हुँ ।
म सर्वश्रेष्ठ मान्छे हुँ ।
20 Aug,'10

सपना र बुवा

धेरै पछी सपनीमा बुवालाई देखें ।
मनभित्र गुम्सिएका बहहरु पोखें ।

हराएथे खुशीहरु हाँस्दा हाँस्दै ओठबाट
दुख्दैथे दिनहरु इश्वरकै त्यो चोटबाट
भर्खरै आसुँ रुक्यो, खुशीहरु फर्कियो कि
देखिरा'को सपना नै बिपना पो भैदियो कि ।

बर्षौ पछी सपनीमै बुवालाई दोगें ।
सन्चो र बिसन्चोको खबर'नि सोधें ।

फुल्नै नपाई कोपिलामै चुडिएको टुसा म
खुल्नै नपाई मिर्मिरेमै छोपिएको उषा म
बसाउदैछ फूलहरु, धर्ती-आकाश खुल्यो कि
भोगिरा'को बिपनी नै सपनी पो भैदियो कि ।

धेरै पछी बुवाको आशिर्वाद पाएँ ।
परिवारको ठेगाना नि सबै बताएँ ।

सारा रहर अधुरो थ्यो सपना'नि अधुरै भो
घरमै आएर बुवा फेरी एक्लै एक्लै जानु भो
यो जीवनमा सँगै हुने अब चाहना मात्र रैछ
सपना त झूठो थियो, बिपना नै साँचो रैछ ।

धेरै पछी सपनीमा बुवालाई देखें ।
मनभित्र गुम्सिएका बहहरु पोखें ।
21 Aug,'10

पुन:मिलन

मलाई पनि लागेको थिएन तर बिभिन्न कारण बस म अली लामो समय नै ब्लगबाट टाढा भएछु । अब दुई महिना भन्दा बदी समय पछी फेरी ब्लग लेखनमा फर्किने प्रयासमा छु । यो लामो बिछोडलाई बिर्सिएर पुनर्मिलनको जमर्को गरिरहेको छु ।