Saturday, August 21, 2010

सपना र बुवा

धेरै पछी सपनीमा बुवालाई देखें ।
मनभित्र गुम्सिएका बहहरु पोखें ।

हराएथे खुशीहरु हाँस्दा हाँस्दै ओठबाट
दुख्दैथे दिनहरु इश्वरकै त्यो चोटबाट
भर्खरै आसुँ रुक्यो, खुशीहरु फर्कियो कि
देखिरा'को सपना नै बिपना पो भैदियो कि ।

बर्षौ पछी सपनीमै बुवालाई दोगें ।
सन्चो र बिसन्चोको खबर'नि सोधें ।

फुल्नै नपाई कोपिलामै चुडिएको टुसा म
खुल्नै नपाई मिर्मिरेमै छोपिएको उषा म
बसाउदैछ फूलहरु, धर्ती-आकाश खुल्यो कि
भोगिरा'को बिपनी नै सपनी पो भैदियो कि ।

धेरै पछी बुवाको आशिर्वाद पाएँ ।
परिवारको ठेगाना नि सबै बताएँ ।

सारा रहर अधुरो थ्यो सपना'नि अधुरै भो
घरमै आएर बुवा फेरी एक्लै एक्लै जानु भो
यो जीवनमा सँगै हुने अब चाहना मात्र रैछ
सपना त झूठो थियो, बिपना नै साँचो रैछ ।

धेरै पछी सपनीमा बुवालाई देखें ।
मनभित्र गुम्सिएका बहहरु पोखें ।
21 Aug,'10

No comments:

Post a Comment