Friday, November 24, 2017

चुनाव बारे

प्रतिनिधि सभाका लागि हाम्रो रोल्पामा प्रत्यक्षतर्फ बर्षमान पुन 'क. अनन्त', समानुपातिकतर्फ पूर्वसभामुख ओनसरी घर्ती 'क. उषा' र प्रदेशसभा २ का लागि दीपेन्द्र पुन 'क. सिजल' तथा समानुपातिकतर्फ प्रदेशसभाका लागि कर्मलाल परीयार 'क. एमजीत' ल​गाय​त​का स​क्षम उम्मेद​वार​ह​रु हुनुहुन्छ । नेपाली राजनीतिमा उहाँहरुको भिन्नै ईतिहास छ, सवै जना उत्तिकै त्याग गरेका र समर्पित नेताहरु हुनुहुन्छ । क. अनन्त र क. उषा केन्द्रिय तहमा, क. सिजल र क. एमजीत जिल्ला र प्रदेशमा प्रतिभाशाली र प्रभावशाली युवा नेत्रित्व भएकाले अहिले रोल्पामा उहाँहरु जस्तो क्षमतावान युवाहरुको विकल्प पनि देखिदैन । हिजो हामीले कमरेड अनन्त, उषा, सिजल र एमजीत बनाउन सवैले सकेको ताकत लगाएर सहयोग गर्यौ अब आज उहाँहरुलाई मत दिएर सेवा लिउने समय आएकोछ । जंकोटको सम्पूर्ण भोट उहाँहरुलाई दिएको अवस्थामा भोलिका दिनमा हामीलाई शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक र भौतिक बिकास लगायतका काममा आइपर्ने समस्याहरु समाधान गर्न पक्कै पनि धेरै नै सहज हुने विश्वास छ । स्थानीय तहदेखी प्रदेश र राष्ट्रिय स्तरसम्म एउटा मजबुत सन्जाल र संपर्क पनि स्थापना हुनेछ, जसले गर्दा हाम्रा समस्याका सुनुवाई र सहजिकरण चुस्त रुपमा हुनसक्ने सम्भावना रहन्छ । राष्ट्रिय, प्रदेश र जिल्ला स्तरमा स्थापित उम्मेदवारहरुलाई हामीले चुन्न पाउनु अर्को खुशीको कुरा पनि हो ।
उहाँहरु सवै जना जनयुद्धको ठुलो बलिदानी प्रसव पिडापछी जन्मिएका र रगतले सिंचिएर हुर्किनुभएका नेताहरु हुनुहुन्छ । युद्धका कठिन कालमा उहाँहरुलाई बचाउनका लागि आँफै मर्न तयार भयौ, हुर्काउन अनेक दु:खकष्ट र भोक तिर्खा सह्यौ, आफुले छाक नखाइ-नखाइ खुवायौ, जाडोमा नओदी-नओदी न्यानो ओदायौ । उहाँहरुलाई सक्षम पार्न थुप्रै दिनरात खट्यौ, धेरै पिडा ब्यहोर्यौ । उहाँह​रुप्र​ति भ​रोसा न​हुदो हो त​ आफ्नै परिवार र आफन्त गुमाउनुपर्दाको पिडालाई पचाएर यती सजिलै सम्हालिन सक्थेनौ होला । आफ्नो जीवन साथी र अंगदान गरेर पनि गर्व गर्न सक्थेनौ होला । हाम्रो माया निस्वार्थ र निसर्त थियो भन्ने कसैलाई कुनै शंका छैन । हिजो राज्यले बिभेद गर्यो, आवाज उठाउदा उल्टै दमन गर्यो किन कि न राज्य हाम्रो जस्तो थियो न त हामीले पनि राज्यलाई आफ्नो नै ठान्यौ । तर, अव हिजोको त्यो स्थिती बदलिएकोछ । जनता राज्यप्रति बफादार र राज्य जनताप्रति जिम्मेवार हुनुपर्ने समय भएकोछ । राज्यको विभिन्न अंगहरुमा आँफै पनि सहभागि हुनैपर्ने बेला आएकोछ । आज त्यही जनता र राज्य बिचको पुल छान्ने अवसर पाउदा यसलाई आफ्नो अनुकुल सदुपयोग गरौ । सिङो रोल्पालीले शान्ति, सुशासन, सम्रिद्धी एवम् सामाजिक न्याय र समतामुलक समाजकै लागि मिलिजुली योगदान गर्यौ अब हाम्रो सामु त्यसको जबर्जस्त औचित्य पुष्टि गर्ने चुनौती उभिएकोछ । यतिबेला नेता र जनता सवैले बिगतमा रोल्पाको भुमिमा बगेका रगत र आसुँहरुको कदर गर्ने क्षण आएकोछ । हिजोका दिनमा रोल्पाली भएर न आफ्नै घरमा सजिलो गरी बाँच्न पायौ न त अन्य कुनै ठाउँमा नै सजिलै बाँस पायौ । रोल्पाली भएकै कारणले जताततै सधैं हेपियौ, हिंस्रक भनियौ, हेयको द्रिश्यले हेरियौ । अव हामीले प्रमाणित गर्नैपर्छ कि हामीले नागरिक अधिकार मागेका थियौ । मर्नु र मार्नु रहर थिएन, बाध्यतामा पर्यौ । हिंसा नभइ बिद्रोह र क्रान्ति गरेका थियौ । ध्वंस होइन, बिकास मागेका थियौ । असमान व्यबहार र अन्धकार जिन्दगीको बदला समानता र सुन्दर भबिश्य चाहेका थियौ । तसर्थ, हाम्रो परिवार र आफन्तहरुको रगतलाई साक्षी राखेर सोचौं । आफ्नो हृदयको दु:ख र पिडालाई नभुलेर सोचौं । अलिकती अतितका दयनिय दिनहरु सोचौं, अली बदी आउने उज्यालो दिनहरुलाई सोचौं । हाम्रा भाइबहिनी र छोराछोरीको शिक्षा, स्वास्थ्य र उज्वल भबिश्यका लागि सोचौं । सवैभन्दा त आफ्नै जीवन र खुशीको लागि सोचौं । बिगत, बर्तमान र भबिश्य सवै सोच्ने सहि समय यही नै हो । अन्यथा, भोलिका दिनहरु पनि हिजोकै जसरी बिभेद र अभावमा गुजार्नुपर्ने हुनसक्छ ।

२०६४ सालमा पहिलो पटक देशमा संबिधानसभा हुनु अघी पनि बिदेशबाट नै एउटा सार्वजनिक चिट्ठी लेखेको थिएँ । अहिले फेरी एउटा आग्रह गर्दैछु । हामी सधैं अरुकै कथित शासनमा पर्यौ । आँफै शासन गर्ने तहमा पुग्नु त टाढाकै कुरो रह्यो, छेउछाउसम्म पनि पुग्नै पाएनौ । हामीलाई न सत्ताको नजिक जान दिए न त आँफैले पनि कुनै भेउ नै पायौ । तर अब आँफै शासक बन्ने, आँफै शासक छान्ने र आँफै शासित हुने अवस्था आएकोछ । एउटा टोल र गाउँमा मात्र नभइ राष्ट्रिय स्तरमै पनि हामीहरु राम्रो परीणाम र सहि निष्कर्ष ल्याउन बहस र छलफल गर्न तयार हुँदैछौ । देश र जनताका बिरुद्ध हुने गलत काम रोक्नका लागि बिरोध पनि गरौ र सच्चिदै सहकार्य गरेर अघी बदौ । सवैजना एकजुट भएर हरेक घरमा चुल्हो बल्ने खालको अशल राजनैतीक संस्कार बसालौ र नयाँ परम्पराको थालनी गरौ । प्रत्येक नागरिकले अहिले निर्वाचनमा आफ्नो नागरिक अधिकार र कर्तव्य निर्बाह गरौ र खबरदारी गरेर बसौ । उम्मेदवारहरु जनताको भोटले निर्वाचन जित्ने हुन्, आफ्नै बलबुताले स्वत: बदुवा भएको किमार्थ ठान्नु भएन । जनप्रतिनिधिले जनताको अभिमतलाई सधैं सम्मान गर्दै जनतालाई गरेको प्रतिबद्धता पुरा गर्दै जानुपर्दछ । जनमतको घोर अपमान हुने गरी जागिर खान मात्र गएको भ्रम पालेर ५ बर्ष शहरतिरै अल​प​ हुने प्रब्रितीलाई तोड्नुपर्छ । जनताले पनि आफ्नैलाई विश्वाश नगरि पराइको भर पर्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु सरह हुनसक्छ । त्यसैले, यो कसैको पक्षमा चुनावी अपिल भन्दा पनि भोलिका लागि जे आवश्यकता देखेकोछु, त्यही भनिरहेको हुँ । यसलाई जंकोट डाँडाको चौतारोमा गफ गरे जस्तै वा धापाल डाँडामा शितल मार्दै कुरा गरे जस्तै या कुनै धारातिर पानी भर्दाभर्दै सल्लाह गरे जस्तै जस्तै हो । तर थोरै फ​र​क अर्थ छ, हाम्रो गाउँठाउँं, जिल्ला र देशको भलाईका लागि सहि उम्मेदवारले चुनाव जित्न जरुरी छ । र, त्यो जिताउने शक्ति हामी जनताकै हातमा छ । अवको निर्णय आवेगले नभइ विवेकले गरौ र उचित उम्मेदवारलाई बिजयी गराऔ ।
जय नेपाल!
०७ मंसिर २०७४
23rd Nov 2017

Friday, November 17, 2017

हाम्रै जंकोट वारे

जंकोट आँफैमा एक ऐतिहासिक गाउँ हो । यसको नामाकारण र यहाँको मानव वसाइ सम्बन्धी अनेक किम्बदन्तिहरु सुन्दै आएका छौ । हाम्रो आफ्नै ऐतिहासिक महत्व, सामाजिक पहिचान र अस्तित्व छ जसलाई जोगाउदै समय अनुसार अझै अगाडि बद्नुपर्छ भन्ने लागेर अलिकति केही बिषयहरु उठान गर्न खोजेको छु । अहिले स्थानीय तहमा जंकोट दुई वडामा छुट्टिएको भए पनि भावनात्मक रुपमा अझै एकै ठाउँमा नै रहेकाले साविक जंकोटकै सन्दर्भमा आफुलाई लागेको केही कुराहरु राख्न चाहन्छु । यि नितान्त मेरो ब्यक्तिगत बुझाई र भोगाइ मात्र हुन् तसर्थ शाश्वत सत्य हुने कुरै भएन । मैले थाहा पाएदेखी नै रोल्पा जिल्लाभरिमै जंकोटको बिशेष स्थान छ । यसको भौगलिक सुन्दरता, राजनैतीक, शैक्षिक, साँस्कृतिक, खेलकुद, लाहुरे संस्कार, मिश्रित जातीय बसोबास लगायत अरु धेरै कारणले यसको भिन्नै पहिचान भएको हुनुपर्छ । जंकोटीहरुले एकअर्का प्रतिको सम्मान, मिलाप र आवश्यक पर्दा एकजुट हुने स्वभाव जन्मिदै लिएर आएको जस्तो लाग्छ । यो गुण सवैका लागि लोभलाग्दो मात्र नभइ डाहालाग्दो पनि छ । मलाई सानैदेखी मेरो घर जंकोट भन्न पाउदा गौरवको अनुभुती हुन्थ्यो । अहिले पनि अरुबाट जंकोटको महिमा र प्रशंसा सुनेर आनन्द महशुस हुन्छ । तर कहिलेकाही भने मनमनै सोचिरहदा गम्भिर हुन्छु र आँफैलाई प्रश्न सोध्छु,"के अवका जंकोटी पुष्ताले पनि जंकोटी भएकै कारण मैले जसरी नै गौरवान्वित हुने सौभाग्य पाउलान् त? अर्थात् के गर्व गर्नलायक जंकोटको प्रतिष्ठा र छवी आउने दिनमा पनि कायम रहला त?" त्यसो त आज पनि अरुका सामु शीर निहुराउदै हामीले लज्जित हुनुपर्ने स्थिती छैन । सवैले आआफ्नै तरिकाले गाउँठाउँको इज्जत राख्न सक्दो मेहेनत र संघर्ष गरिरहकै छौ तै पनि पहिलेको जस्तै उत्साहजनक प्रगतिका लागि अहिले नै छलफल र चिन्तन गरिएन भने भोलिका दिनहरु सुखद नहुन सक्छन् । हिजोको पुष्ताले जंकोटका लागि धेरै राम्रा उदाहरणीय कामहरु गरिदिनुभयो अव आजको पुष्ताले भोलिका लागि केही उदाहरणीय कार्यहरु गर्नैपर्छ । अन्यथा, यो निरन्तरतालाई टोडिदा पछी गएर कुनैदिन अवश्य पछुताउनुपर्नेछ । हामीले पहलकदमी लिने समय दिलो हुँदै गैरहेकोछ । मेरो बिचारमा हामी अहिले पनि पहिलेकै प्रगतीको ग्राफमा सन्तुष्ट रहिरहनुहुँदैन किन कि अरुले तिव्र वेगमा आफुलाई उचाइतिर बदाइरहेका छन् । हामी सधैं यसैमा मात्र सिमीत रहिरह्यौ भने हाम्रो जंकोट र जंकोटीहरु भोलिका दिनमा अरुसँगको प्रतिस्पर्धामा पछाडि पर्नुपर्ने अवस्था आउने पो हो कि भन्ने चिन्ता सवैमा देखिन्छ, जुन निकै खुशीको संकेत हो । गाउँमा रहेर धेरै ब्यक्तिहरुले विभिन्न अप्ठ्याराका वावजुद रातदिन गाउँको लागि खटिरहनु भएकोछ । केही ब्यक्तिहरु गाउँभन्दा टाढा रहेर पनि सक्दो योगदान गरिरहनुभएको छ । उहाँहरु सवैले समाजका लागि थुप्रै कामहरु गरिरहनुभएकै छ, त्यो त सवैलाई विदितै छ जुन सम्मानीय छ । त्यसको अवमुल्यण कसैबाट गरिनुहुन्न, त्यस्तो नसम्झिइयोस् र नगरियोस् पनि । यहाँ मैले आफ्नो जन्मस्थलप्रतिको दायित्ववोध गरेर मात्र केही विकल्पहरु खोज्ने प्रयत्न गरेको हुँ । हामीले काम गरेर परीणाम नदेखाउदासम्म लेखेर वा बोलेर मात्र हुने त केही पनि होइन । तै पनि, केही अर्थ राख्छ कि भन्ने हेतुले अहिले गर्नै पर्ने जस्तो लागेका केही कामहरु उल्लेख गर्न चाहन्छु । > शिक्षा: - माडीचौर स्कुलको ब्यबस्थापन र प्रशासनमा कडाइका साथ सुधार गर्ने । यो प्रयास सफल भएको खण्डमा यही नमूना जंकोटका अन्य स्कुलहरुमा पनि लागु गर्ने । योजना सफल पार्न समुदाय नै सार्वजनिक रुपमै हरपल प्रतिवद्ध रहने । सामाजिक र आर्थिक अभियान समेत थाल्ने । कम्प्युटर र पुस्तकालयहरुको स्थापनामा लाग्ने । - नयाँ शैक्षिक ऐन अनुसार थप छलफल गर्दै योजनाहरु बनाउदै अगाडि बद्ने । - बाल संझाललाई सकृय राख्ने । - अनुशासनको कडा पालना गर्ने र गराउने । > स्वास्थ्य: - शिशु स्वास्थ्य, प्रसुती सेवा, अपाङ्ग, दिर्घ रोगी र जेष्ठ नागरिकहरुलाई लक्षित गरी घरदैलो सेवा, बिशेष घुम्ती सेवा र परामर्श प्रदान गर्न स्थानीय तह र उपस्वास्थ्य चौकी सकृय रहने र यिनै संस्था मार्फत् जिल्ला अस्पतालसँग आवश्यक समन्वय गरिरहने । > कृषि: - जीविकोपार्जनका लागि गरिदै आएको परम्परागत कृषि पेशालाई आधुनिकीकरण र व्यबसायिकरणमा रुपान्तरण गर्नका लागि जिल्ला कृषि तथा पशुपालन, वन कार्यालयसँग समन्वय गर्ने । सम्भव भए कृषि विज्ञहरुको निरिक्षण गराउन पहल गर्ने र आवश्यक सुझाव लिने । - मातो अनुकुलको अन्न, तरकारी र फलफूलहरुको आधुनिक बिउविजन, कागती, सुन्तला, अम्वा, आँप, केरा, भटमास, सिमी, अलैंची खेती तथा पशुमा कुखुरा, बाख्रा, बंगुर, माछा, माहुरी पालन, आदिको आधुनिक उत्पादन र व्यवासायिकरणमा केन्द्रित हुने । - साना घरेलु उध्योगहरुको सम्भाव्यता अध्ययन र प्रोत्साहन गर्ने । - व्यक्तिगत, सामुहिक वा सहकारी प्रणाली अपनाउने । > क्लव: - सवैको उपस्थितिमा ब्रिहत छलफल गरेर अधिवेशनबाट योग्य नेतृत्व र कार्यकारी समिती चयन गर्ने (सकेसम्म ३० बर्ष मुनिका) । अरुले सकृय रुपमा साथ र सहयोग गरिरहने । - नियमित आयस्रोतको खोजी गर्ने । - विभिन्न विभागहरु निर्माण गर्ने, दक्षता र निपुणताको आधारमा उपयुक्त सदस्यलाई उक्त बिभागको जिम्मेवारी दिने - जस्तै: सामाजिक, शैक्षिक, राजनैतिक, आर्थिक, खेलकुद, साँस्कृतिक, संचार विभाग, आदी । - गाउँभन्दा बाहिर स्वदेश र विदेशमा रहेका जंकोटीहरुसँग निरन्तर सम्वन्ध स्थापित गराइराख्न प्रविधिसँग अभ्यस्त सदस्यलाई संपर्क ब्यक्तिको जिम्मेवारी दिने । - जनजीविकासँग सम्बन्धित विविध कृयाकलाप र सामाजिक विक्रितीका विरुद्ध क्लवको अगुवाइ र निर्णयअनुसार युवाहरु परिचालन गर्ने । - एक घर-एक सदस्य अनिवार्य बनाउन पहल गर्ने । - प्रहरी कार्यलय, आमा समुहलगायतका जंकोट गाविसमा कृयाशील अन्य संस्थाहरुको सहकार्यमा धुम्रपान, मध्यपान, जुवा-तास, बाल विवाह, सम्बन्ध बिच्छेद, छुवाछुत, लैंगिक हिंसा, अनैतीक कार्य जस्ता कृयाकलापलाई निरुत्साहित हुने गरी बिशेष अभियान थाल्ने । विद्ध्यार्थीहरुका लागि स्कुल शिक्षा आर्जन गर्ने थलो हो भने सामाजिक संस्कार सिक्ने ठाउँ घरपरिवार र समाज नै हो । क्लबहरुले ब्यक्तिभित्र रहेका ति ज्ञान र संस्कारलाई व्यबहारमा उतार्न थप बिकास र परिस्कार गर्नका लागि उचित बातावरणको सिर्जना गरिदिनुपर्छ । आफु पढ्ने स्कुलका शिक्षक, बस्ने समाजका अगुवाहरु र आफ्नो गुणको पहिचान गर्न मद्धत गर्ने क्लबको सहि मार्गनिर्देशन हुनसकेको खण्डमा शायद वालबालिकाले गलत बाटो अँगाल्ने सम्भावना न्युन हुँदै जानेछ । भबिश्यका लागि देशको कर्णधार उत्पादन गर्ने स्कुलहरुले शैक्षिक बातावरण सिर्जना गर्न नसक्नुको अर्थ अरुको काम गर्ने तल्लो स्तरको कामदार तयार पारिदिनु मात्र हो भने सभ्यता र संस्कार दिन नसक्ने परिवारले अप्रत्यक्ष रुपमा विक्रितीलाई निम्त्याउनु र मलजल गर्नु नै हो । तसर्थ, स्कुल, क्लब, बुद्धिजिवीहरु, जनप्रतिनिधीहरु, राज्यका अन्य अंगहरु र समाजमा कृयाशील सामाजिक संस्थाहरुको उचित समन्वय र सहकार्य गरेर अघी बद्न सकेमा हाम्रो गाउँको धेरै समस्याहरु स्वत: समाधान हुनसक्छन् । शिक्षित र सभ्य समाज वनाउने नै हो भने यसका लागि हामी जंकोटीहरु आँफैप्रति बदी नै निर्मम हुनुपर्ने हुन्छ । बुवाआमाहरुले छोराछोरीको भबिश्य सोचेर, युवाहरुले समाज उत्थान गर्ने जिम्मेवारी लिएर, पेशाकर्मीहरुले जागिर वा नोकरी मात्र होइन कि कर्तव्य ठानेर, अन्य अग्रज र जंकोटीहरुले आफ्नै प्रतिष्ठा सम्झेर द्रिड गर्नुपर्दछ । समाजलाई सही दिशामा हिडाउने यो अत्यन्तै कठिन कार्य हो तर बलियो इच्छाशक्ति छ र सवैले अठोट गर्यौ भने यो सम्भव छ । अरुले जंकोटमा सवै क्षेत्रका सफल अग्रज र सक्षम युवाहरु छन् भन्ने गर्छन् र मलाई पनि त्यो सत्य नै लाग्छ । हो, हाम्रो जंकोट सफल र सक्षमहरुको महासागर नै हो तर अव हामी जंकोटीलाई अरुले तिर्खा लाग्दा प्यास मेट्न नसकिने पानी नभनुन् । अग्रजहरुलाई ससम्मान आभार प्रकट गर्दै अव म र महरुले ठोस काम गर्नका लागि वेलैमा सोच्नैपर्छ । हामीले एक्लाएक्लै कसैले कही गर्न सक्दैनौ, गर्यौ भने पनि त्यो दिगो हुँदैन । आआफ्नो ठाउँबाट के-के कामहरु कसरी गर्न सकिन्छ, मिलिजुली गरौ । यहाँहरु सवैको अमुल्य साथ र सुझावको आशा छ । धन्यवाद! 10th Nov, 2017  

Tuesday, July 19, 2016

मेरो स्कुल जिप्स

बिरताको चिनो गौरवपूर्ण गाँठा
लाहुरे दाजुहरु सिर्जनशिल दाँचा
स्वदेशको माया गर्ने सच्चा सपुतहरु
सजेको चाहने नेपालको पखेरु ।

ज्यानको बाजी थाप्ने सिपाही भए नि
जन्मभुमिको शान राख्ने छौ स्वाभिमानी
पसिना बगाइकन कष्टमा दिन कटाएर
ज्योति छर्न चाहेछौ शैक्षिक किरण फिजाएर ।

जिप्सरुपी सुर्यको भएकोछ उदय
नफस्टाएको देशमा शिक्षाको बिजय
समाजको बिकृति पुरै हटाउनलाई
लाग्दैछ जिप्स देशको नाम उकास्नलाई ।

सयौ युवाको पाखुरी लगाइएको छ यहाँ
धेरै उन्नत बिउ पनि छरिएको छ यहाँ
भावी सन्तान यसैका सक्षम होलान कि
लाहुरेका सन्देश बुझी प्रगती गर्लान कि ।

चोखो र निश्छल भाव यसैमा समेटिएकोछ
अनुशासनको सिमा कोरी ज्ञानपुन्ज बनाइएकोछ
मिलिजुली पढि लेखी योग्यता लिदैछन 
प्रकाश छावस गाउँ शहर जिप्सलाई हेर्दैछन ।  

उद्देश्य बिना हतारिने शैक्षिक भिडमा
गन्तव्य लिइ बदेकोछ नयाँ शैलिमा
कामना छ जिप्सलाई आफ्नो लक्ष्य चुम्नु  
लर्बराए नि कैले काही अगाडि नै बद्नु ।

२८ पौष, २०५९

रब्बे, घोराही दाङ   

छोरीकी चिठ्ठी

गर्भ दिने बाबालाई लेख्दैछिन चिठ्ठी
कविले स्वर्ग कल्पना गरे झै उनले पनि
बाजे र बज्यैको अनुहार सक्षी राखी
दुई मुहार एक बनाउदै यस्तै होलान भनी ।

काखमै नखेलेको छोरीको चिठ्ठी पद्दा
हाँस्छन वा आसुँ झार्छन होला
छोरीको अक्षरमा स्वदेशी भाव देख्दा
प्रदेशमा कसो गरी पद्छन होला ।

चिन्नेलाई नेपाल देश सबथोक हो
नचिन्नेलाई गौतम बुद्ध बुद्ढु हो  
कुशल बुवालाई त्यो चिठ्ठी भार हो  
अशल नागरिकलाई मुटु जलाउने खर हो ।

कसले बुझ्छ उनले के बाध्यता देखाउदैछिन
कसलाई थाहा उनले के सन्देश पठाउदैछिन
चिठ्ठी लेख्न नसकी नजानी पनि कोर्दैछिन  
के के लेखिन खै चार पाना त भराइ नै सकिन ।

लाहुरेको कथा र ब्यथा सुन्दा सुन्दै
मानिन्छिन उनी त पूर्ण अनुभवी झै
झस्किन्छिन रातमा लडाईंको कुरा सम्झिदै
लाग्दो हो आँफैले घोर युद्द लगिरहे झै । 

मायाको टुक्रा बिदेशमै हराउछ कि सोंची
निदाएको बेला टिपें एक अंश मैले पनि
*'तराइमाको महिदानमा' हत्तार नदेखाउनु ड्याडी
भेट्न मन लायकोछ तपाईं आउनुहुन्छ कहिले?

*लडाइको मैदानमा
१८ पौष, २०५७

घोराही, दाङ

अनुरोध! प्यारी शान्तिलाई

सयौको माझमा पनि बिरानोमा एक्लो छु म
हाँसी रहे झै गरे पनि आसुँ लुकाइ रुदैछु आज
हर्षित पार्न मनलाई भौतारिदैछु उनकै लागि
पर्खि पर्खि बसेकोछु फर्क मेरी शान्ती!

कोइ जादुगरले लायो कि मोहनी तिमीलाई
निष्ठुरी बनिकन छाडेर हिड्यौ मलाई
नदेखाउन अरुलाइ चाहेको जस्तो नानाभाँटी
रातदिन बिलापमा छु फर्की आउ है शान्ती ।  

पश्चिम पुगें लुम्बिनी भेटेन कोइ पनि
मध्य भ्याएँ स्वयम्भु र पशुपती घुमी
जहाँ धाएँ मनमा तिम्रै अभाव कान्ती
पूर्व लागें तिमीलाई पाउने आशमा शान्ती ।    

धेरै थिए साट्नु पर्ने कुराहरु जीवनका
सत्य थिए वाचाहरु झुटा होइनन यौवनका
सोध्न गएँ भ्रिकुटीलाई भेटिइन जानकी नि
सवै भन्छन मेरो लागि तिमी नै हौ रे शान्ती । 

बोलाए नि अरुले तिम्रो नाम चिच्याइ चिच्याइ
अङाल्न आतुर छु पिरतीको मान्द्रो बिछ्याइ
मौनतामा भित्र भित्रै तिम्रै याद झलझली
फूलमाला उन्न थाल्छु आउ है मेरी शान्ती ।

चाडै आउ है मेरो आँखाको ज्योति बनी
हुने छ संसार हराभरा नत्र खरानी
टद्पिदैछु एक्लै एक्लै तिम्रै नाम जपी
चौतारीमा कुर्दै हुन्छु आउ है प्यारी शान्ती
मेरी मनकी प्यारी शान्ती ।

११ भाद्र २०६१
थसिखेल, ललितपुर   




Tuesday, February 3, 2015

चिंहानको खोजी

स्वप्नदोष हो कि
कल्पदोष मेरो
वा दृष्टिदोष हो  
जीवन पाउन कठिन 
जिउन झन कठिन ।  

एउटा सत्य नि दाइ  
म मरेको दिन 
दिदीले चुल्होचौको छाड्नुहुनेछ 
वहिनीले एकदिन 
पानी भर्न धारामा जानुपर्नेछैन 
कान्छाले पनि एकदिन 
स्कुल विदा पाउनेछन 
तर, मलाई भन्नुस त दाइ   
मेरो मृत्‍युपछी   
मेरो लागि कुन ठाउँ खाँली छ ?  
मेरो लाश राख्नलाई  
धरतीको कुन भाग खाँली छ ? 
अर्थात 
हामीलाई फाल्न, गाड्न वा जलाउन 
हाम्रो सुरुक्षित जमिन कहाँनिर छ ? 
भन्नुस त मेरो दाइ  
पृथ्वी हाम्रो साझा स्थल होइन र ?       

मर्नु त छदैछ अबश्य 
तर पनि वाँचुन्जेल किन  
यि सत्यहरु सत्य हुँदैनन !?

जिउदो छदै चिंहान खोज्नु पर्ने
खोजेर पनि नभेटिने  
हाम्रो भुई कसले चोर्यो दाइ ?   
हाम्रो भुई खै कहाँ छ दाइ ? 

२०७१/०९/२१ 
घोराही, दाङ 

मेरी आमा उकाली चढिरहेछिन

म ऐलेको छोरो
प्यारो कुमारीत्वसँग साटिएको
एउटा भ्रुण हुँ ।

उस्तै प्रिय हुदो हो  
मेरी आमालाई’नि अरुलाई झै
आफ्नो अस्मिता । 

अर्पण-हरण कति विपरित है!

राजीखुशीको समर्पणमा 
गर्भभित्र सिर्जाइएको त्यो
खुशीको भ्रुण
सपनाको भ्रुण
जीवनको भ्रुण ।

‘भ्रुण’ अब ‘म’ भैसकेको छ 
ति जम्मै 'म' भैसकेका छन  
सवै-सवै अब 'मेरा' भैसकेका छन । 

अचेल मेरी आमा,  
मलाई नै आफ्नो खुशी सोच्छिन
मलाई नै आफ्नो सपना ठान्छिन  
मलाई नै आफ्नो जीवन भन्छिन
मलाई नै आफ्नो आत्मा मान्छिन ।
     
एउटा खुशीसँग अर्को खुशी खोज्छिन
एउटा सपनासँग अर्को सपना देख्छिन
एउटा जीवनसँग अर्को जीवन रोज्छिन
एउटा आत्मासँग अर्को आत्मा जोड्छिन ।

मैले हिंड्ने बाटोलाई सम्याउदै
मेले देख्ने सपनालाई अंगाल्दै
मैले रोज्ने जीवनलाई अन्माउदै
मेरो सफलटा देख्ने आशामा
दिनमा पनि सपना बुन्छिन
रातमा पनि जाक्तै बस्छिन 
सपनाकै यान वनाइ
मलाई काखमा च्यापेर शयर गर्छिन
मलाई अग्लो चुचुरो देखाउदै माथि-माथि   
झन-झन शिखरतिर लम्किरहेछिन      
मेरी आमा, 
मेरी बुदी आमा उकाली चढिरहेछिन ।  
२०७१/०९/०३ 

घोराही, दाङ   

कफी र मङ्सिर

मङ्सिर त पोहोर साल पनि आएकै हो 
परार साल त झन चिसो मङ्सिर भोगेको हो  
तर न्यानो गरी आएकोछ यसपालिको मङ्सिर 
सङ-सङै लिएर एक जोडा मान्छेहरु    
अनि, अगाडि एक जोर कफी कपहरु ।    

वरीपरी सारा बहार छाएकोछ  
कफीहरु बयेली खेलिरहेछन  
उनी मन्द-मन्द मुस्कुराइरहेछिन 
प्रफुल्ल मुद्रामा शिर झुकाएर        
म अनायस कफीको चुस्कीहरु लिइरहेछु ।  

पानी, ताप र कफीको मिश्रण सरी      
सपनीमा थोरै बिपना सजाउदै 
बिपनीमा केही सपना मिसाउदै 
मधुरो धुनमा जूनलाई साक्षी राखेर   
जीवनभरको तरंग भर्नलाई    
एक सिप आशाको 
एक सिप खुशीको 
अर्को सिप विश्वाशको ………
अर्को उत्साहको गर्दै     
पुरै कप रित्तै पारीदिएँ । 

तातो कफीको उमंग र स्पर्श        
जिउभरी ल्याएको नौलो अनुभुति    
स्तनपानपछी हाँस्ने शिशु ओठहरु झै  
बेस्सरी बुर्कुसी मारिरहे भित्रभित्रै ।   

लुलायो कि झै भो ह्रिदय तब                
मङ्सिर तुषारोको महिना हो - भन्ने नै भुलेछु 
जिउ नै भिजाउने सीत पर्छ - भन्ने नै बिर्सेंछु ।  

क्षणभरमै अहा!     
पुरानै चिसो मङ्सिरले अँगालो हाल्यो  
कठ्याङ्रिएर मन लकलक काप्यो  
मेरो प्रिय मंसिर! 
म पनि उसैगरी पो रित्तिएछु  
जसरी रित्तिएका थिए हाम्रै सामु  
भरिएका एक जोर कफीका कपहरु ।  

मेरो प्यारो मङ्सिर!  
यि रित्ता कपहरु त छिन-छिनमै भरिनेछन 
तर कठै!  
मेरो यो रित्तो मन फेरी कहिले भरिएला!  
उस्तै गरी यो जिन्दगी कसरी भरिएला!?  
०१ मङ्सिर,
२०७० तुल्सिपुर, दाङ