मङ्सिर त पोहोर साल पनि आएकै हो
परार साल त झन चिसो मङ्सिर भोगेको हो
तर न्यानो गरी आएकोछ यसपालिको मङ्सिर
सङ-सङै लिएर एक जोडा मान्छेहरु
अनि, अगाडि एक जोर कफी कपहरु ।
वरीपरी सारा बहार छाएकोछ
कफीहरु बयेली खेलिरहेछन
उनी मन्द-मन्द मुस्कुराइरहेछिन
प्रफुल्ल मुद्रामा शिर झुकाएर
म अनायस कफीको चुस्कीहरु लिइरहेछु ।
पानी, ताप र कफीको मिश्रण सरी
सपनीमा थोरै बिपना सजाउदै
बिपनीमा केही सपना मिसाउदै
मधुरो धुनमा जूनलाई साक्षी राखेर
जीवनभरको तरंग भर्नलाई
एक सिप आशाको
एक सिप खुशीको
अर्को सिप विश्वाशको ………
अर्को उत्साहको गर्दै
पुरै कप रित्तै पारीदिएँ ।
तातो कफीको उमंग र स्पर्श
जिउभरी ल्याएको नौलो अनुभुति
स्तनपानपछी हाँस्ने शिशु ओठहरु झै
बेस्सरी बुर्कुसी मारिरहे भित्रभित्रै ।
लुलायो कि झै भो ह्रिदय तब
मङ्सिर तुषारोको महिना हो - भन्ने नै भुलेछु
जिउ नै भिजाउने सीत पर्छ - भन्ने नै बिर्सेंछु ।
क्षणभरमै अहा!
पुरानै चिसो मङ्सिरले अँगालो हाल्यो
कठ्याङ्रिएर मन लकलक काप्यो
मेरो प्रिय मंसिर!
म पनि उसैगरी पो रित्तिएछु
जसरी रित्तिएका थिए हाम्रै सामु
भरिएका एक जोर कफीका कपहरु ।
मेरो प्यारो मङ्सिर!
यि रित्ता कपहरु त छिन-छिनमै भरिनेछन
तर कठै!
मेरो यो रित्तो मन फेरी कहिले भरिएला!
उस्तै गरी यो जिन्दगी कसरी भरिएला!?
०१ मङ्सिर,
२०७० तुल्सिपुर, दाङ
No comments:
Post a Comment