म ऐलेको छोरो
प्यारो कुमारीत्वसँग साटिएको
एउटा भ्रुण हुँ ।
उस्तै प्रिय हुदो हो
मेरी आमालाई’नि अरुलाई झै
आफ्नो अस्मिता ।
अर्पण-हरण कति विपरित है!
राजीखुशीको समर्पणमा
गर्भभित्र सिर्जाइएको त्यो
खुशीको भ्रुण
सपनाको भ्रुण
जीवनको भ्रुण ।
‘भ्रुण’ अब ‘म’ भैसकेको छ
ति जम्मै 'म' भैसकेका छन
सवै-सवै अब 'मेरा' भैसकेका छन ।
अचेल मेरी आमा,
मलाई नै आफ्नो खुशी सोच्छिन
मलाई नै आफ्नो सपना ठान्छिन
मलाई नै आफ्नो जीवन भन्छिन
मलाई नै आफ्नो आत्मा मान्छिन ।
एउटा खुशीसँग अर्को खुशी खोज्छिन
एउटा सपनासँग अर्को सपना देख्छिन
एउटा जीवनसँग अर्को जीवन रोज्छिन
एउटा आत्मासँग अर्को आत्मा जोड्छिन ।
मैले हिंड्ने बाटोलाई सम्याउदै
मेले देख्ने सपनालाई अंगाल्दै
मैले रोज्ने जीवनलाई अन्माउदै
मेरो सफलटा देख्ने आशामा
दिनमा पनि सपना बुन्छिन
रातमा पनि जाक्तै बस्छिन
सपनाकै यान वनाइ
मलाई काखमा च्यापेर शयर गर्छिन
मलाई अग्लो चुचुरो देखाउदै माथि-माथि
झन-झन शिखरतिर लम्किरहेछिन
मेरी आमा,
मेरी बुदी आमा उकाली चढिरहेछिन ।
२०७१/०९/०३
घोराही, दाङ
No comments:
Post a Comment