प्रतिनिधि सभाका लागि हाम्रो रोल्पामा प्रत्यक्षतर्फ बर्षमान पुन 'क. अनन्त', समानुपातिकतर्फ पूर्वसभामुख ओनसरी घर्ती 'क. उषा' र प्रदेशसभा २ का लागि दीपेन्द्र पुन 'क. सिजल' तथा समानुपातिकतर्फ प्रदेशसभाका लागि कर्मलाल परीयार 'क. एमजीत' लगायतका सक्षम उम्मेदवारहरु हुनुहुन्छ । नेपाली राजनीतिमा उहाँहरुको भिन्नै ईतिहास छ, सवै जना उत्तिकै त्याग गरेका र समर्पित नेताहरु हुनुहुन्छ । क. अनन्त र क. उषा केन्द्रिय तहमा, क. सिजल र क. एमजीत जिल्ला र प्रदेशमा प्रतिभाशाली र प्रभावशाली युवा नेत्रित्व भएकाले अहिले रोल्पामा उहाँहरु जस्तो क्षमतावान युवाहरुको विकल्प पनि देखिदैन । हिजो हामीले कमरेड अनन्त, उषा, सिजल र एमजीत बनाउन सवैले सकेको ताकत लगाएर सहयोग गर्यौ अब आज उहाँहरुलाई मत दिएर सेवा लिउने समय आएकोछ । जंकोटको सम्पूर्ण भोट उहाँहरुलाई दिएको अवस्थामा भोलिका दिनमा हामीलाई शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक र भौतिक बिकास लगायतका काममा आइपर्ने समस्याहरु समाधान गर्न पक्कै पनि धेरै नै सहज हुने विश्वास छ । स्थानीय तहदेखी प्रदेश र राष्ट्रिय स्तरसम्म एउटा मजबुत सन्जाल र संपर्क पनि स्थापना हुनेछ, जसले गर्दा हाम्रा समस्याका सुनुवाई र सहजिकरण चुस्त रुपमा हुनसक्ने सम्भावना रहन्छ । राष्ट्रिय, प्रदेश र जिल्ला स्तरमा स्थापित उम्मेदवारहरुलाई हामीले चुन्न पाउनु अर्को खुशीको कुरा पनि हो ।
उहाँहरु सवै जना जनयुद्धको ठुलो बलिदानी प्रसव पिडापछी जन्मिएका र रगतले सिंचिएर हुर्किनुभएका नेताहरु हुनुहुन्छ । युद्धका कठिन कालमा उहाँहरुलाई बचाउनका लागि आँफै मर्न तयार भयौ, हुर्काउन अनेक दु:खकष्ट र भोक तिर्खा सह्यौ, आफुले छाक नखाइ-नखाइ खुवायौ, जाडोमा नओदी-नओदी न्यानो ओदायौ । उहाँहरुलाई सक्षम पार्न थुप्रै दिनरात खट्यौ, धेरै पिडा ब्यहोर्यौ । उहाँहरुप्रति भरोसा नहुदो हो त आफ्नै परिवार र आफन्त गुमाउनुपर्दाको पिडालाई पचाएर यती सजिलै सम्हालिन सक्थेनौ होला । आफ्नो जीवन साथी र अंगदान गरेर पनि गर्व गर्न सक्थेनौ होला । हाम्रो माया निस्वार्थ र निसर्त थियो भन्ने कसैलाई कुनै शंका छैन । हिजो राज्यले बिभेद गर्यो, आवाज उठाउदा उल्टै दमन गर्यो किन कि न राज्य हाम्रो जस्तो थियो न त हामीले पनि राज्यलाई आफ्नो नै ठान्यौ । तर, अव हिजोको त्यो स्थिती बदलिएकोछ । जनता राज्यप्रति बफादार र राज्य जनताप्रति जिम्मेवार हुनुपर्ने समय भएकोछ । राज्यको विभिन्न अंगहरुमा आँफै पनि सहभागि हुनैपर्ने बेला आएकोछ । आज त्यही जनता र राज्य बिचको पुल छान्ने अवसर पाउदा यसलाई आफ्नो अनुकुल सदुपयोग गरौ । सिङो रोल्पालीले शान्ति, सुशासन, सम्रिद्धी एवम् सामाजिक न्याय र समतामुलक समाजकै लागि मिलिजुली योगदान गर्यौ अब हाम्रो सामु त्यसको जबर्जस्त औचित्य पुष्टि गर्ने चुनौती उभिएकोछ । यतिबेला नेता र जनता सवैले बिगतमा रोल्पाको भुमिमा बगेका रगत र आसुँहरुको कदर गर्ने क्षण आएकोछ । हिजोका दिनमा रोल्पाली भएर न आफ्नै घरमा सजिलो गरी बाँच्न पायौ न त अन्य कुनै ठाउँमा नै सजिलै बाँस पायौ । रोल्पाली भएकै कारणले जताततै सधैं हेपियौ, हिंस्रक भनियौ, हेयको द्रिश्यले हेरियौ । अव हामीले प्रमाणित गर्नैपर्छ कि हामीले नागरिक अधिकार मागेका थियौ । मर्नु र मार्नु रहर थिएन, बाध्यतामा पर्यौ । हिंसा नभइ बिद्रोह र क्रान्ति गरेका थियौ । ध्वंस होइन, बिकास मागेका थियौ । असमान व्यबहार र अन्धकार जिन्दगीको बदला समानता र सुन्दर भबिश्य चाहेका थियौ । तसर्थ, हाम्रो परिवार र आफन्तहरुको रगतलाई साक्षी राखेर सोचौं । आफ्नो हृदयको दु:ख र पिडालाई नभुलेर सोचौं । अलिकती अतितका दयनिय दिनहरु सोचौं, अली बदी आउने उज्यालो दिनहरुलाई सोचौं । हाम्रा भाइबहिनी र छोराछोरीको शिक्षा, स्वास्थ्य र उज्वल भबिश्यका लागि सोचौं । सवैभन्दा त आफ्नै जीवन र खुशीको लागि सोचौं । बिगत, बर्तमान र भबिश्य सवै सोच्ने सहि समय यही नै हो । अन्यथा, भोलिका दिनहरु पनि हिजोकै जसरी बिभेद र अभावमा गुजार्नुपर्ने हुनसक्छ ।
२०६४ सालमा पहिलो पटक देशमा संबिधानसभा हुनु अघी पनि बिदेशबाट नै एउटा सार्वजनिक चिट्ठी लेखेको थिएँ । अहिले फेरी एउटा आग्रह गर्दैछु । हामी सधैं अरुकै कथित शासनमा पर्यौ । आँफै शासन गर्ने तहमा पुग्नु त टाढाकै कुरो रह्यो, छेउछाउसम्म पनि पुग्नै पाएनौ । हामीलाई न सत्ताको नजिक जान दिए न त आँफैले पनि कुनै भेउ नै पायौ । तर अब आँफै शासक बन्ने, आँफै शासक छान्ने र आँफै शासित हुने अवस्था आएकोछ । एउटा टोल र गाउँमा मात्र नभइ राष्ट्रिय स्तरमै पनि हामीहरु राम्रो परीणाम र सहि निष्कर्ष ल्याउन बहस र छलफल गर्न तयार हुँदैछौ । देश र जनताका बिरुद्ध हुने गलत काम रोक्नका लागि बिरोध पनि गरौ र सच्चिदै सहकार्य गरेर अघी बदौ । सवैजना एकजुट भएर हरेक घरमा चुल्हो बल्ने खालको अशल राजनैतीक संस्कार बसालौ र नयाँ परम्पराको थालनी गरौ । प्रत्येक नागरिकले अहिले निर्वाचनमा आफ्नो नागरिक अधिकार र कर्तव्य निर्बाह गरौ र खबरदारी गरेर बसौ । उम्मेदवारहरु जनताको भोटले निर्वाचन जित्ने हुन्, आफ्नै बलबुताले स्वत: बदुवा भएको किमार्थ ठान्नु भएन । जनप्रतिनिधिले जनताको अभिमतलाई सधैं सम्मान गर्दै जनतालाई गरेको प्रतिबद्धता पुरा गर्दै जानुपर्दछ । जनमतको घोर अपमान हुने गरी जागिर खान मात्र गएको भ्रम पालेर ५ बर्ष शहरतिरै अलप हुने प्रब्रितीलाई तोड्नुपर्छ । जनताले पनि आफ्नैलाई विश्वाश नगरि पराइको भर पर्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु सरह हुनसक्छ । त्यसैले, यो कसैको पक्षमा चुनावी अपिल भन्दा पनि भोलिका लागि जे आवश्यकता देखेकोछु, त्यही भनिरहेको हुँ । यसलाई जंकोट डाँडाको चौतारोमा गफ गरे जस्तै वा धापाल डाँडामा शितल मार्दै कुरा गरे जस्तै या कुनै धारातिर पानी भर्दाभर्दै सल्लाह गरे जस्तै जस्तै हो । तर थोरै फरक अर्थ छ, हाम्रो गाउँठाउँं, जिल्ला र देशको भलाईका लागि सहि उम्मेदवारले चुनाव जित्न जरुरी छ । र, त्यो जिताउने शक्ति हामी जनताकै हातमा छ । अवको निर्णय आवेगले नभइ विवेकले गरौ र उचित उम्मेदवारलाई बिजयी गराऔ ।
जय नेपाल!
०७ मंसिर २०७४
23rd Nov 2017
No comments:
Post a Comment