जंकोट आँफैमा एक ऐतिहासिक गाउँ हो । यसको नामाकारण र यहाँको मानव वसाइ सम्बन्धी अनेक किम्बदन्तिहरु सुन्दै आएका छौ । हाम्रो आफ्नै ऐतिहासिक महत्व, सामाजिक पहिचान र अस्तित्व छ जसलाई जोगाउदै समय अनुसार अझै अगाडि बद्नुपर्छ भन्ने लागेर अलिकति केही बिषयहरु उठान गर्न खोजेको छु । अहिले स्थानीय तहमा जंकोट दुई वडामा छुट्टिएको भए पनि भावनात्मक रुपमा अझै एकै ठाउँमा नै रहेकाले साविक जंकोटकै सन्दर्भमा आफुलाई लागेको केही कुराहरु राख्न चाहन्छु । यि नितान्त मेरो ब्यक्तिगत बुझाई र भोगाइ मात्र हुन् तसर्थ शाश्वत सत्य हुने कुरै भएन ।
मैले थाहा पाएदेखी नै रोल्पा जिल्लाभरिमै जंकोटको बिशेष स्थान छ । यसको भौगलिक सुन्दरता, राजनैतीक, शैक्षिक, साँस्कृतिक, खेलकुद, लाहुरे संस्कार, मिश्रित जातीय बसोबास लगायत अरु धेरै कारणले यसको भिन्नै पहिचान भएको हुनुपर्छ । जंकोटीहरुले एकअर्का प्रतिको सम्मान, मिलाप र आवश्यक पर्दा एकजुट हुने स्वभाव जन्मिदै लिएर आएको जस्तो लाग्छ । यो गुण सवैका लागि लोभलाग्दो मात्र नभइ डाहालाग्दो पनि छ । मलाई सानैदेखी मेरो घर जंकोट भन्न पाउदा गौरवको अनुभुती हुन्थ्यो । अहिले पनि अरुबाट जंकोटको महिमा र प्रशंसा सुनेर आनन्द महशुस हुन्छ । तर कहिलेकाही भने मनमनै सोचिरहदा गम्भिर हुन्छु र आँफैलाई प्रश्न सोध्छु,"के अवका जंकोटी पुष्ताले पनि जंकोटी भएकै कारण मैले जसरी नै गौरवान्वित हुने सौभाग्य पाउलान् त? अर्थात् के गर्व गर्नलायक जंकोटको प्रतिष्ठा र छवी आउने दिनमा पनि कायम रहला त?"
त्यसो त आज पनि अरुका सामु शीर निहुराउदै हामीले लज्जित हुनुपर्ने स्थिती छैन । सवैले आआफ्नै तरिकाले गाउँठाउँको इज्जत राख्न सक्दो मेहेनत र संघर्ष गरिरहकै छौ तै पनि पहिलेको जस्तै उत्साहजनक प्रगतिका लागि अहिले नै छलफल र चिन्तन गरिएन भने भोलिका दिनहरु सुखद नहुन सक्छन् । हिजोको पुष्ताले जंकोटका लागि धेरै राम्रा उदाहरणीय कामहरु गरिदिनुभयो अव आजको पुष्ताले भोलिका लागि केही उदाहरणीय कार्यहरु गर्नैपर्छ । अन्यथा, यो निरन्तरतालाई टोडिदा पछी गएर कुनैदिन अवश्य पछुताउनुपर्नेछ । हामीले पहलकदमी लिने समय दिलो हुँदै गैरहेकोछ । मेरो बिचारमा हामी अहिले पनि पहिलेकै प्रगतीको ग्राफमा सन्तुष्ट रहिरहनुहुँदैन किन कि अरुले तिव्र वेगमा आफुलाई उचाइतिर बदाइरहेका छन् । हामी सधैं यसैमा मात्र सिमीत रहिरह्यौ भने हाम्रो जंकोट र जंकोटीहरु भोलिका दिनमा अरुसँगको प्रतिस्पर्धामा पछाडि पर्नुपर्ने अवस्था आउने पो हो कि भन्ने चिन्ता सवैमा देखिन्छ, जुन निकै खुशीको संकेत हो । गाउँमा रहेर धेरै ब्यक्तिहरुले विभिन्न अप्ठ्याराका वावजुद रातदिन गाउँको लागि खटिरहनु भएकोछ । केही ब्यक्तिहरु गाउँभन्दा टाढा रहेर पनि सक्दो योगदान गरिरहनुभएको छ । उहाँहरु सवैले समाजका लागि थुप्रै कामहरु गरिरहनुभएकै छ, त्यो त सवैलाई विदितै छ जुन सम्मानीय छ । त्यसको अवमुल्यण कसैबाट गरिनुहुन्न, त्यस्तो नसम्झिइयोस् र नगरियोस् पनि । यहाँ मैले आफ्नो जन्मस्थलप्रतिको दायित्ववोध गरेर मात्र केही विकल्पहरु खोज्ने प्रयत्न गरेको हुँ । हामीले काम गरेर परीणाम नदेखाउदासम्म लेखेर वा बोलेर मात्र हुने त केही पनि होइन । तै पनि, केही अर्थ राख्छ कि भन्ने हेतुले अहिले गर्नै पर्ने जस्तो लागेका केही कामहरु उल्लेख गर्न चाहन्छु ।
> शिक्षा:
- माडीचौर स्कुलको ब्यबस्थापन र प्रशासनमा कडाइका साथ सुधार गर्ने । यो प्रयास सफल भएको खण्डमा यही नमूना जंकोटका अन्य स्कुलहरुमा पनि लागु गर्ने । योजना सफल पार्न समुदाय नै सार्वजनिक रुपमै हरपल प्रतिवद्ध रहने । सामाजिक र आर्थिक अभियान समेत थाल्ने । कम्प्युटर र पुस्तकालयहरुको स्थापनामा लाग्ने ।
- नयाँ शैक्षिक ऐन अनुसार थप छलफल गर्दै योजनाहरु बनाउदै अगाडि बद्ने ।
- बाल संझाललाई सकृय राख्ने ।
- अनुशासनको कडा पालना गर्ने र गराउने ।
> स्वास्थ्य:
- शिशु स्वास्थ्य, प्रसुती सेवा, अपाङ्ग, दिर्घ रोगी र जेष्ठ नागरिकहरुलाई लक्षित गरी घरदैलो सेवा, बिशेष घुम्ती सेवा र परामर्श प्रदान गर्न स्थानीय तह र उपस्वास्थ्य चौकी सकृय रहने र यिनै संस्था मार्फत् जिल्ला अस्पतालसँग आवश्यक समन्वय गरिरहने ।
> कृषि:
- जीविकोपार्जनका लागि गरिदै आएको परम्परागत कृषि पेशालाई आधुनिकीकरण र व्यबसायिकरणमा रुपान्तरण गर्नका लागि जिल्ला कृषि तथा पशुपालन, वन कार्यालयसँग समन्वय गर्ने । सम्भव भए कृषि विज्ञहरुको निरिक्षण गराउन पहल गर्ने र आवश्यक सुझाव लिने ।
- मातो अनुकुलको अन्न, तरकारी र फलफूलहरुको आधुनिक बिउविजन, कागती, सुन्तला, अम्वा, आँप, केरा, भटमास, सिमी, अलैंची खेती तथा पशुमा कुखुरा, बाख्रा, बंगुर, माछा, माहुरी पालन, आदिको आधुनिक उत्पादन र व्यवासायिकरणमा केन्द्रित हुने ।
- साना घरेलु उध्योगहरुको सम्भाव्यता अध्ययन र प्रोत्साहन गर्ने ।
- व्यक्तिगत, सामुहिक वा सहकारी प्रणाली अपनाउने ।
> क्लव:
- सवैको उपस्थितिमा ब्रिहत छलफल गरेर अधिवेशनबाट योग्य नेतृत्व र कार्यकारी समिती चयन गर्ने (सकेसम्म ३० बर्ष मुनिका) । अरुले सकृय रुपमा साथ र सहयोग गरिरहने ।
- नियमित आयस्रोतको खोजी गर्ने ।
- विभिन्न विभागहरु निर्माण गर्ने, दक्षता र निपुणताको आधारमा उपयुक्त सदस्यलाई उक्त बिभागको जिम्मेवारी दिने - जस्तै: सामाजिक, शैक्षिक, राजनैतिक, आर्थिक, खेलकुद, साँस्कृतिक, संचार विभाग, आदी ।
- गाउँभन्दा बाहिर स्वदेश र विदेशमा रहेका जंकोटीहरुसँग निरन्तर सम्वन्ध स्थापित गराइराख्न प्रविधिसँग अभ्यस्त सदस्यलाई संपर्क ब्यक्तिको जिम्मेवारी दिने ।
- जनजीविकासँग सम्बन्धित विविध कृयाकलाप र सामाजिक विक्रितीका विरुद्ध क्लवको अगुवाइ र निर्णयअनुसार युवाहरु परिचालन गर्ने ।
- एक घर-एक सदस्य अनिवार्य बनाउन पहल गर्ने ।
- प्रहरी कार्यलय, आमा समुहलगायतका जंकोट गाविसमा कृयाशील अन्य संस्थाहरुको सहकार्यमा धुम्रपान, मध्यपान, जुवा-तास, बाल विवाह, सम्बन्ध बिच्छेद, छुवाछुत, लैंगिक हिंसा, अनैतीक कार्य जस्ता कृयाकलापलाई निरुत्साहित हुने गरी बिशेष अभियान थाल्ने ।
विद्ध्यार्थीहरुका लागि स्कुल शिक्षा आर्जन गर्ने थलो हो भने सामाजिक संस्कार सिक्ने ठाउँ घरपरिवार र समाज नै हो । क्लबहरुले ब्यक्तिभित्र रहेका ति ज्ञान र संस्कारलाई व्यबहारमा उतार्न थप बिकास र परिस्कार गर्नका लागि उचित बातावरणको सिर्जना गरिदिनुपर्छ । आफु पढ्ने स्कुलका शिक्षक, बस्ने समाजका अगुवाहरु र आफ्नो गुणको पहिचान गर्न मद्धत गर्ने क्लबको सहि मार्गनिर्देशन हुनसकेको खण्डमा शायद वालबालिकाले गलत बाटो अँगाल्ने सम्भावना न्युन हुँदै जानेछ । भबिश्यका लागि देशको कर्णधार उत्पादन गर्ने स्कुलहरुले शैक्षिक बातावरण सिर्जना गर्न नसक्नुको अर्थ अरुको काम गर्ने तल्लो स्तरको कामदार तयार पारिदिनु मात्र हो भने सभ्यता र संस्कार दिन नसक्ने परिवारले अप्रत्यक्ष रुपमा विक्रितीलाई निम्त्याउनु र मलजल गर्नु नै हो । तसर्थ, स्कुल, क्लब, बुद्धिजिवीहरु, जनप्रतिनिधीहरु, राज्यका अन्य अंगहरु र समाजमा कृयाशील सामाजिक संस्थाहरुको उचित समन्वय र सहकार्य गरेर अघी बद्न सकेमा हाम्रो गाउँको धेरै समस्याहरु स्वत: समाधान हुनसक्छन् । शिक्षित र सभ्य समाज वनाउने नै हो भने यसका लागि हामी जंकोटीहरु आँफैप्रति बदी नै निर्मम हुनुपर्ने हुन्छ । बुवाआमाहरुले छोराछोरीको भबिश्य सोचेर, युवाहरुले समाज उत्थान गर्ने जिम्मेवारी लिएर, पेशाकर्मीहरुले जागिर वा नोकरी मात्र होइन कि कर्तव्य ठानेर, अन्य अग्रज र जंकोटीहरुले आफ्नै प्रतिष्ठा सम्झेर द्रिड गर्नुपर्दछ । समाजलाई सही दिशामा हिडाउने यो अत्यन्तै कठिन कार्य हो तर बलियो इच्छाशक्ति छ र सवैले अठोट गर्यौ भने यो सम्भव छ । अरुले जंकोटमा सवै क्षेत्रका सफल अग्रज र सक्षम युवाहरु छन् भन्ने गर्छन् र मलाई पनि त्यो सत्य नै लाग्छ । हो, हाम्रो जंकोट सफल र सक्षमहरुको महासागर नै हो तर अव हामी जंकोटीलाई अरुले तिर्खा लाग्दा प्यास मेट्न नसकिने पानी नभनुन् । अग्रजहरुलाई ससम्मान आभार प्रकट गर्दै अव म र महरुले ठोस काम गर्नका लागि वेलैमा सोच्नैपर्छ । हामीले एक्लाएक्लै कसैले कही गर्न सक्दैनौ, गर्यौ भने पनि त्यो दिगो हुँदैन । आआफ्नो ठाउँबाट के-के कामहरु कसरी गर्न सकिन्छ, मिलिजुली गरौ । यहाँहरु सवैको अमुल्य साथ र सुझावको आशा छ ।
धन्यवाद!
10th Nov, 2017
Friday, November 17, 2017
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment