Wednesday, March 21, 2018

साक्षी

सौभाग्यले बाँचेकाहरु
भञ्ज्याङमा ठिङ उभिएर
सुइ-सुइ सुस्केरा हाल्नलाई हो र!?

ति बम र बन्दुकहरु
नक्कली थिए झै पनि लाग्छन
यत्रतत्र छरिएका लाशहरु
नलागेका होइनन पटक पटक

कहिले भयानक सपना झै
कहिले कम्प्युटरका खेल झै

अफशोच!
बेसहाराका खिन्न अनुहार हेर्दा
बिधुवा र टुहुराहरुको पिडा देख्दा
आफ्नै ह्रिदय सत्य लागेर आउछ ।

घर आँगनमै चल्यो
'सफाया' अभियानहरु
हाम्रै गाउँमा चलाए
'कर्डन एण्ड सर्च' अप्रेसनहरु
तर पनि जिउदो रहेको म 
लोकतन्त्रको बिउ वचाउनलाई हो कि!
स्वतन्त्रताको विरुवा उमार्नलाई होला!?

निरन्कुशताको विरुद्ध वोल्दा
आतंककारी भनेकै हुन
हिंसाको विरोध गर्दा
बुर्जुवा भनेकै हुन
भुमध्ये रेखाको मझदारमा ट्वाल्ल उभिएर 
जीवन मरणको हिसावमा रुमलिदै 
लुकिछिपी सास फेर्ने पशु त पक्कै हुँदै होईन ।

13th Nov 2017

स्याङ्याङ्, चाइना

No comments:

Post a Comment