Saturday, August 22, 2009

तीजको शुभकामना


म ९/१० बर्षको हुदो हुँ । गाउँमा एक प्रकारको फरक रौनक छाउथ्यो, त्यो पनि बिशेष गरी ग्रिहिणी र छोरी चेलीहरुमा । हरितालिका तीज आउन एक महिना जती अगाडि नै गाउँमा निकै चहलपहल शुरु हुन्थ्यो । सबै महिलाहरुले एक आपसमा भेटेर कहिले देखी नाँच्न थाल्ने हो सल्लाह गर्ने गर्दथे । बुदी उमेरका बज्यैहरु देखी सानी बच्चा उमेरका बहिनिहरु पनि तीज आएकोमा निकै खुशी हुन्थे । दिनभरी मेलापात सकाएर राती खाना खाइसकेपछी बल्ल गाउँको स्कुलमा सबै जना जम्मा हुन्थे । म पनि भाउजु र दिदीहरु सँग सँगै नाच हेर्न जान्थें । बर्षाको बेला भएकाले घरबाट निस्कदा प्राय: पानी परिरहेको हुन्थ्यो, त्यती मात्र नभएर निस्पट्ट अध्यारो पनि हुन्थ्यो । दिनभरि खेतमा कडा परिश्रम गरेर जती सुकै थकाई लागे पनि साँझ भने सबै भेला हुन्थे । गाउँभन्दा धेरै टादाबाट पनि नाँच्न र नाँच हेर्न आउने गर्दथे । कोठाको अध्यारो चिर्न सबैले पालो पालो गरी जसो तसो लाल्तिन लिउने पालो हुन्थ्यो, कि त पैसा उठाएर मट्टितेल किन्ने गर्दथे । त्यसैको मधुरो उज्यालोमा मध्य रातसम्म पनि गाउने र नाँच्ने गर्दथे । सधैंजसो पानीमा रुझ्दै र बिझ्दै नै भए पनि सबै जना सके जती स्कूलमा छिटो भेला हुने गर्दथे ।

म सानैदेखी अली लजालु स्वभावको थिएँ । तै पनि, मैले मादल बजाउन कहिल्यै सिकेन, हाम्रो घरमा पनि थिएन तर खै कसरी कताबाट मैले मादल बजाउन जानेछु । महिलाहरुमा मादल बजाउन अलिक राम्रो माइली सुनार्नीलाई मात्र आउथ्यो । घरको काम र सानो बच्चाहरु सम्हाल्नु पर्ने भएकाले उनी सधैं आउन सक्ने कुरै थिएन । त्यसैले, कान्छी दिदीलाई सबैले आउन र मलाई पनि साथमा ल्याउन सम्झाउथे । मलाई पनि जसरी भए पनि मादल बजाइदिन आउन भन्थे । सबैको प्यारो म, तिजको दिनसम्म त अझै प्रिय हुन्थें । शायद मादलको सुर-ताल मिलाउन बर्ष दिनमा आउने त्यही तिजले धेरै नै सिकाएको जस्तो लाग्छ । तिजको दिनमा समेट मलाई जसरी पनि मादल बजाइदिन आग्रह गर्थेँ । तिजको दिन बिभिन्न ठाउँबाट आएका समुहहरु हुन्थे । उनिहरुको एक आपसमा अघोषित प्रतिस्पर्धा पनि हुने गर्दथ्यो । नाच्नेहरुमा को भन्दा को कमको भावना हुन्थ्यो । हेर्नेहरुले पनि कुन गाउँको कस्ले राम्रो नाँच्यो भन्ने ध्यान हुन्थ्यो । स्कुलको चौर भरी नाच्ने र हेर्ने मान्छेहरु हुने भएकाले म लुकेर हेर्थे । कसैले देखेर मादल बजाउन बोलाऊलान् भन्ने डरले म साथीहरुको पछाडि उभिन्थें । उनिहरुको गीतमा नारिहरुकै पिर र ब्यथा हुन्थ्यो । माइतीको सम्झना, आफ्नो स्वामीको दिर्घायु कामना, छोरी हुनुको पिडा, रुदिवादी समाज प्रतिको गुनासो, पढ्न नपाएर जीवनमा पाएको दु:ख, छोरा र छोरीमा गरिएको भेदभाव, जन्म घर र बुवा आमालाई छाडेर कर्म घर जानु पर्दाको बाध्यता, समाजमा चल्दै आएको गलत संस्कार प्रति आपत्ति, यस्तै यस्तै हुन्थे उनिहरुको गीतहरुमा ।

म १४ बर्षको हुँदा बोर्डिङ स्कूलमा पढ्नका लागि दाङ झरेको थिएँ । त्यसपछी भने मलाई कहिल्यै आफ्नो दिदीबहिनीहरु त्यसरी दिल खोलेर नाचेको हेर्ने र गाएको सुन्ने सुनौलो मौका मिलेन । तिजको बहारसङै उनिहरुको मन निकै चङ्गा हुन्थ्यो, त्यो म जस्तो सानो बालकले पनि सजिलै बुझ्न सक्थें । घरको त्यती ठुलो भोजले थिचिएर पनि तिजको बेलामा त्यो अलिकती पनि आभास हुँदैनथ्यो । म अहिले पनि सम्झन्छु, दिनभरी घरधन्दाको थकानलाई बिर्सेंर कसरी त्यस्तो जाँगर र फुर्तिका साथ नाँच्न सकेका होलान् !? बिहानै फेरी उही जातोबाट शुरु हुन्थ्यो दिनचार्य । म दाङमा रहदा पनि तीजको दिन नाच हेर्न निस्कन्थें । प्रायजसो म नयाँ बजार र फुर्सेकालीतिर नाँचेको हेर्न जान्थें । त्यसपछी काठमाण्डौमा कलेज पदिरहदा चाँही पाटन र मंगलबजार तिर जान्थें । म जहाँ सुकै रहे पनि रमाइलो त हुन्थ्यो नै तर अर्को स्वार्थ चाँही मेरो बाल्यकालको तिर्सना मेटाउनु पनि हुन्थ्यो । सोचिरहेको हुन्थें, सुनिरहेको हुन्थें, "कान्छा, लौ मादल बजाइदिनु पर्‍यो ।" तर त्यो त मेरो कल्पना मात्र थियो । जे होस्, म जहाँ सुकै भए पनि तीज आउँदा म मेरो बाल्यकाल सधैं सम्झिरहेकै हुन्छु, ताजै पाइरहेको हुन्छु ।

यस पटक नेपालमा तीजको चहलपहल अली चाडै शुरु भए जस्तो लाग्यो । तीज आउनु धेरै अघी नै अनलाइन खबरहरु र दैनिक पत्रीकाहरुमा पनि रातो सारी पहिरिएका दिदी बहिनिहरुलाई देख्न सकिन्थ्यो । म सानो छदा गाउँमा सामान्य तरिकाले नै तीज मनाएको देखेको थिएँ । दाङमा अली ताम्झामका साथ मनाएको देखें । काठमाडौंमा त्यो अझै बदी देखें । मलाई त लागेको थियो, तीज महिलाहरुको लागि चलाएको बिशेष पर्ब हो । उनिहरुको दु:ख-ब्यथा पोख्न र बिर्साउन सिर्जाएको पर्ब हो । तर अहिले जती देखिरहेको छु, त्यो मेरो बाल बुझाई गलत साबित हुँदै गैरहेको छ । महिलाहरुको पर्ब भनेर मान्दै आएको परम्परा त रहेछ तर यो महिलाहरुको भन्दा पनि पुरुष अर्थात पतिहरुको लागि गरिएको भक्ति नै हो । पतिको स्वस्वास्थ्य र दिर्घायु कामनाको पवित्र बिचारले मनाइएको तिज सकारात्मक छ । सबैलाई आ-आफ्नो आस्था, विश्वाश र स्वतन्त्रताको उपयोग गर्ने अधिकार पनि छ तर तिजको नाममा गरगहना प्रदर्शन र आफ्नो स्वास्थ्यले साथ नदिदा नदिदै पनि लोग्नेको लागि ब्रत लिनु जस्ता बिकृतिलाई पक्कै पनि राम्रो मान्न सकिदैन । यस्ता खराब नियत र गलत प्रब्रितिलाई दिदीबहिनीहरुले पनि गम्भिर भएर सोच्नु उपयुक्त होला । फेरी तीज आँफैमा महिलाहरुलाई दास ठान्ने हिन्दू र परम्परावादिहरुले चलाएको कुसंस्कार मात्र हो । आफ्नो परम्परागत पर्बलाई मनाउने र जगेर्णा गर्ने नाममा बिसंगतिले पनि बदावा पाइरहेको देखिन्छ । पुरुषहरुले आफ्नो पत्नीको लागि कहिल्यै तिजको ब्रत बस्नु परेको छैन, न त छोरीहरुको लागि जितिया ब्रत नै बस्नु परिरहेकोछ । घर र समाज राख्न पत्नि र छोरीहरुको अहम भूमिका हुँदा हुँदै पनि उनिहरुले गुमनाम जीवन गुजार्नु पर्ने बाध्यता छ । 'महिला र पुरुष समान हुन्' भन्ने महिला अगुवाहरुले पनि तीजको नाममा पतीभक्तिको सान्दर्भिकता देख्नु निकै दयनीय कुरा हो । बर्षभरी नारी अधिकारको नारा भट्याउने, भाषन गर्ने तर व्याबहारिकतामा चाँही लोग्नेको हातगोडामा दोग्ने र पखालेर पानी खानुपर्छ भन्ने संकिर्ण मानसिकता नै मुख्य दोषी हो । समाजमा स्थापित महिलाहरुले सम्पूर्ण दिदी बहिनीहरुलाई तीजको औचित्य बारे प्रस्त पार्नु र सचेत गराउनु जरुरी देखिन्छ । शिक्षित दिदीबहिनीहरुले एक्लै परिवर्तन गर्न तम्सिएर मात्रै पनि समस्याको न्युनिकरण गर्न असम्भवप्राय छ त्यसैले सचेत पुरुषहरुसँग हातेमालो गर्दै सके जती परिवर्तन गर्ने प्रयासमा लाग्नु र लागिरहनु आबश्यक छ । पित्रीसत्तामक प्रणालीको आचरसंहितालाई नारी धर्म मानेर सधैं चुल्हो चौकोको चौघेरामै सिमीत भैरहेका दिदीबहिनीहरुले पनि आजको युग अनुसार त्यो भन्दा बाहिर निस्किने प्रयत्न गर्नु समयको अर्को माग भैसकेको छ । अन्तमा, हाम्रो सामु आइपुगेको हिन्दू महिलाहरुको यस महान पर्ब तीजको उपलक्ष्यमा संसारभर छरिएर रहनु भएका सम्पुर्ण दिदी बहिनीहरुमा सुस्वास्थ्य, दीर्घायु, शान्ति एवम् उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु ।
22 Aug,'09

3 comments:

  1. एकदम राम्रो! बाल्यकालको संझना जस्ताको तस्तै राख्नुभएच--मलाई मेरो गाउँघर संझाइदियो।हो ठाउँ समय परिस्थिति र सम्पन्नताले मानिसको प्रस्तुति फरक फरक बनाइदिन्छ। समयको परिवर्तन संगै सामाजीक रितिस्थितिमा पनि परिवर्तन आउछ। धन्यवाद चन्द्रभाई

    ReplyDelete
  2. रमा दिदिको कमेन्त पाएर मेरो यो लेख बदी ओजपूर्ण भएकोछ भन्ने ठानेको छु । धन्यवाद दिदी ।

    ReplyDelete
  3. संस्मरण र विचार अती मन पर्‍यो। पक्कै पनि हाम्रो व्यवहारिक पक्ष नबद्लेसम्म बोलेर केही हुने वाला छैन। हिन्दू नारिको पर्व भनिए पनि नारिलाई अझ दासी बनाउने संस्कार हो तीज। नारिले आज नाच्छ गाउँछ तर के उसको लागि हो त? यदी आज नारिहरुले गर्ने कृयाकलाप आफ्नै लागि थियो भने के यी श्रीमान ज्युहरुले गर्न दिन्थे होलान? यो सोचनिय कुरा हो। अरु भन्दा पनि यहाँले पनि उठाउनुभएको बुढोको गोडा धोएर त्यो प्रदुशित र दुर्गान्ढित पानी पिउनु कती पाशविक कुरा हो। खोइ हाम्रो महिलाहरुले कहिले बुझ्ने यो कुरो?

    ReplyDelete