हिजो दाङ फोन गरेको थिएँ । माइला दाजुसँग कुरा गरे, उहाँ अली बिरामी हुनु हुने रहेछ । केही दिन अघी एक हप्ता ओछ्यान परेर भर्खर अली सन्चो भैराख्नु भएको रहेछ । भाउजु पनि बिरामी भएर स्कुल नजानु भएको ४/५ दिन भैसक्नु भएछ । बिरामी पर्नुको कारण पनि केही थाहा छैन रे । डाक्टरले केवल औषधी खान भनेको रहेछ, त्यस्तो गम्भिर बिरामी केही होइन रे । रोग नै पहिचान नगरि औषधी दिएको रहेछ । डाक्टरले भने अनुसार औषधी नियमित खान र बेला बेलामा 'चेक अप' गर्न जान भनें । अबको एक हप्तामा कुवेत जानलाई एक लाख पचास हजार पैसा लिएर तुरन्त काठमाडौं आउन म्यान पावर कम्पनीले भनेको छ रे । उहाँलाइ आफ्नो ज्वरो भन्दा त बिदेश जाने चिन्ताले बदी सताएको पाएँ ।
जेठि दिदीकी ठुलि छोरी कर्मिता भान्जी पनि दाङ आएकी रहिछिन । अस्ती घर जाँदा स्ताफ नर्स पढ्ने चाहना गरेकी दिदिले सुनाउनु भएको थियो । उनको गंगालाल हृदय केन्द्रमा मुटुको अप्रेसन गरेर १२-१३ बर्षबाट बल्ल हिंड्न सकेकी हुन । त्यो भन्दा अघी उनी सिर्फ केही पाइला हिंड्ने बित्तिकै सास फुलेर ठ्याच्च बस्ने गर्थिन । उनले आँफैले अरु बिरामीको सेवा गर्ने इच्छा राखेको सुन्दा मन निकै हर्षित भएको थियो । तर अब उनी पैसाको समस्याले नर्स नपढ्ने भइछिन् । उनकी बुवा मलेसियामा हुनुहुन्छ । बुवाले मलेशिया गएर कमाएको पैसाले पुग्ने कुरै भएन । उनिसँग बोल्ने उपयुक्त शब्द नै भेटिन मैले । खाली बोलिने शब्द मात्रको त के नै अर्थ हुन्छ र ! जब उनले रोजेको नै पुर्याउने सामर्थ्य मसँग अलिकती पनि छैन भने !? यद्धपी, हरेश नखाएर राम्ररी पढ्न र ठुलो उदेश्य लिएर अघी बद्ने कोशीस जारी राख्न खोक्रो सल्लाह दिएँ ।
घर दाङ नै भए पनि कलेजमै चिन्जान र राम्रो साथी भएका मेरो आत्मिय मित्र गिरेन्द्र । आज अन्लाईन च्याट भयो । अहिले EPS कार्यक्रम अन्तर्गत सरकारले लिएको परीक्षा उतिर्ण गरेर कोरिया उड्ने पालो कुर्दै काठमाडौंमा बसिरहेका छन । तर जान पाउने-नपाउने, कहिले जाने केही ठेगान छैन । अझै अब कामदार पठाउने प्रकृया रोक्न लागेको हल्ला रहेछ । घरबाट पैसा उदाएको भनेर जहिले कच-कच । उनी भन्छन,"निकै तेन्सन छ, अहिले तिमीसँग कुरा गरेर खुशी र हल्का महसुस गरेकोछु ।"
मेरो मनमा ति तिनै जनाको याद आइरहेको छ । जसले आ-आफ्नो भबिश्य खोज्न आँफैमा भन्दा अरुमा निर्भर हुनु परेको छ । मेरी भान्जिले एस.एल.सी. मा राम्रो नम्बर लिएर के भयो त ? उनको परिश्रम र लगनको सफलताले उत्साहित भएको घडीमा प्रोत्साहन पाउनु भन्दा उनी पक्कै निराश हुनेछिन । जब उनले आफ्नो रोजाइ र चाहना अनुरुप पढ्न पाउदिनन र परिणामत: भोली उनी कुनै सामान्य जागिर गर्लान तर उनी भन्दा नराम्रो र कमजोरले पैसाको आतमा जबर्जस्ती राम्रो संस्थामा भर्ना पाउछ र भोली त्यही ब्यक्तिलाई ज्यु-नमस्कार चदाउनु पर्छ । उनमा कति हिनताबोध होला ? त्यतिबेला के उनको धारणा आफ्नो परिवार र आफ्नो समाज प्रती सकारात्मक रहला ? उनी पछी पर्नुमा कस्को दोष रहन्छ ? आफ्नो कर्तब्यबाट को पन्छियो ? निस्चित रुपमा उनको अबिभावक र उनको प्यारो मातृभूमी जस्ले उनलाई राम्रो शिक्षा दिन सकेन र उनलाई आफ्नो सहि भबिश्यबाट बन्चित गरायो । ठीक यही बेला हाम्रो देशको सरकार एक जना भावना तामाङको परिश्रम र सफलतामा गोहिको आसुँ बगाइरहेको थियो । मानौ देशमा एकै मात्र भावना बैनि छिन्, जसले आमा र उनको संघर्षलाई खेर जान दिएनन् । हाम्रो सरकार कहिलेबाट घर घरका भावना बैनिहरुको दु:ख सुनेर यसरी नै रुन शुरु गर्ला ? अर्थात आफ्नो सहि कर्तव्य बुझ्न सक्ला ?
मेरो साथी सधैं श्रम मन्त्रालय जान्छन, बुझ्छन र फर्किन्छन तर कुनै छेउ पुच्छर लाग्दैन । उनी आँफैलाई थाहा छैन कि उनी साँच्ची जाने नै हुन कि सरकारले आफ्नै नागरिक माथि खेलवाद गर्दैछ ? उनी भन्छन,"यदी कसैलाई काखा र कसैलाई पाखा गरे, साथीहरुले शायद आन्दोलन गर्ने भन्छन होला ।" मैले उनको कुरामा सहमति जनाएर अझै उक्साए,"हो गर्नै पर्छ । कति अनुचित काममा त दुई चार जनाले सडक जाम गर्दैमा र टायर बाल्दैमा माग पुरा गर्ने सरकारले तिमीहरुको मागमा गैर जिम्मेवारीपन देखाउन मिल्दै मिल्दैन । सरकारले नै लिएको परीक्षा उतिर्ण गरेका छौ । तिमिहरुसँग नैतीक बल छ, त्यसैको आधारमा तिमीहरुले उचित न्याय पाउनै पर्छ ।"
मेरो दाजु बिरामी हुनुहुन्छ । अघिल्लो पटक साउदी अरब जाँदा उँट मालिकहरुको षड्यन्त्रमा परी २८ महिना जेल कताएर भर्खर फर्किनु भएको हो । उहाँ नेपाल फर्किनु अगावै बुवा स्वर्गे हुनु भएको दु:खद खबर सुन्नु भएछ र केही पैसा माया मारेर आउनु भएछ । अस्ती सम्म अब बिदेश गएर अनाबस्यक दु:ख खप्न नजाने कुरा बारम्बार दोहोर्याउनु हुन्थ्यो तर अहिले आएर फेरी उतै खाडी मुलुकमा आफ्नो भबिश्य देख्नु भएछ र खोज्न जाने निर्णय गर्नु भएछ । एक लाख पचास हजार दलाललाई तिरेर भए पनि पैसाको लागि आफ्नो जिउ ज्यानको बाजी मार्नु पक्कै पनि रहर होइन । उहाँको बिचार थियो, देशमै केही रोजगारी मिल्यो भने यही बस्ने, दु:ख पाए पनि आफ्नै ठाउँमा पाउने तर पराइ मुलुकमा गएर पसिना नबगाउने । तर हाम्रो देशको सरकार गरीब नेपालीको प्राण, रगत र पसिनासँग आर्थिक लाभको राम्रो उत्पादन गर्न सिपालु छ तसर्थ अरुको दु:ख ब्यथाले केही अर्थ राख्दैन । बहिरो छ हाम्रो देशको अन्धा सरकार ।
आज मेरी प्यारी भान्जी, मेरो प्यारो साथी र मेरो आदरनीय दाजुको मात्र यो दुर्दशा भैरहेको छैन कि बरु सिङो मुलुक भर धेरै नेपालीले यस्तै नियती भोग्नु परिरहेको छ । गिरेन्द्रको बदलामा कोही चिने जानेको पहुँचवालाको मान्छे कोरिया पुगेर पैसा पनि पठायो होला, छुट्टी पनि मनाउन आयो होला तर मेरो साथीसँग त्यस्तो चाकरी र ठुलै मान्छे लगाउने गुण र योग्यता केही छैन । त्यसैले, आज-आज र भोली-भोलीको मिथ्या कुरामा काठमाडौंमा बसेर अरु रिन बोक्न बिबश छन । आफ्नै देशमा बसौ र केही गरौ भन्ने स्वभावका मेरो दाजुले आफ्नो आत्मसम्मानलाई निमोठेर भए पनि अरुको माटोमा आफ्नो पसिनाको लगानी गर्न वाध्य हुनुहुन्छ । उहाँलाइ राम्रोसँग थाहा छ कि त्यहा हिरा फल्दैन, स्याउला भरे जस्तो पैसा उठाउन पाइदैन, हुँदैन । अझै दिनहुँ भित्र भित्रै कयौ पटक मरेर मात्र दुई पैसा पाक्छ भन्ने धेरै राम्रोसँग थाहा छ र पनि देशका अरु बिकल्पमा भोटे ताल्चा मारिएको छ । खुल्ला गरिदिएको छ त केवल उही बिदेश जाने असहज तर सहज लाग्ने बाटो ।
सबैको निशानी दाम र नाम कमाउने नै हुन्छ । तर यहाँ त नागरिकको अस्तित्व हराएको चिन्ता भन्दा देश चलाऊने सिपालु संचालकको अबश्यक्ता हो । देश उँभो लगाउने कोही नभएर होइन, इमान्दार बिचारहरु अपहेलित र अघोषित रुपमा बहिस्क्रित गरिएर हो । राष्ट्रिय गीत गाउनेहरु बिदेशी महाजनको भजन गाउनु पर्छ, देश बिकाश गर्न चाहनेहरु प्रदेशको बिकास गर्न जानुपर्छ, प्रगती रुचाउने मान्छेहरु पराइको जन्जिरमा बाधिनु पर्छ । अनी कसरी हाम्रो देश अघी बद्न सक्छ ? न त पढ्ने बातावरण हुन्छ, न त रोजगारी न कुशल राज्य सन्चालन । यस्तो अवस्थामा कसरी हामी खुशी हुन सक्छौ ? कसरी 'सुन्दर शान्त नेपाल' गीतमा स्वर भर्न सक्छौ ? कसरी 'यो नेपाली शिर उचाली' गर्बका साथ गाउन सक्छौ ? सक्छौ त केवल 'यो मन त मेरो नेपाली हो' भन्न । तर त्यतिले मात्र नपुग्दो रहेछ, जनता हाँस्न, नागरिक बाँच्न, देश चल्न । अब त केही गर्नै पर्छ । यो अन्योवलतालाई चिर्नै पर्छ । हामी नेपालीको परिचय हामी नेपालीलाई नै दिनै पर्छ । नत्र पछी पछी सम्म पनि हामी अल्मलिनै रहनेछौ । पछील्लो नयाँ पुस्ता आफ्नो सुन्दर सपनालाई हत्या गरेर सानो साँघुरो जीवन बाचिरहनेछन । हाम्रो पुस्ता आफ्नो उज्ज्वल भबिश्यको आशमा यता उता गरिरहनु पर्नेछ । अघिल्लो पुस्ता आफ्नो अस्वस्थताको वाबजुद बिदेशको बाटो रोज्नु पर्ने बाध्यता दोहोरी नै रहनेछ । समग्रमा, सबैले आफ्नो सहि दिशा बिराएर नजानिदो गरी लगातार पलायन रोजी रहेका हुनेछौ ।
Wednesday, August 5, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment