Tuesday, December 21, 2010

अबैधानिक‘रेड लाईट एरिया’बाट

मेरो एक प्रश्न छ
मेरै माटोसँग ।

म नपुंसक!
वा
अक्षम मुलुक!?

निभेका छन घरका चुल्होहरु
लुलाएका छन प्रगतिहरु
अङभङ मनहरु यत्रतत्र
छरपस्ट छन शान्ती दीपहरु ।

दोष कसको?
मेरै वा मेराको?

हरियाली सपनाको खास्टो ओडेर
मुग्लान पसेका रहरहरु
यौवनमै खङरङ सुकेर दल्दा
गरिबीको बिदाइ गर्ने एयरपोर्टले
मृत्युको बाकस उपहार थापिरहेछ-निर्लज्ज ।

उद्देश्य चुम्ने आकांक्षा बोकेर
दक्षता चद्न गएका युवा खुट्टाहरु
भोक-प्यासले रन्थनिएर थलिदै
यात्राको पिडादायी, स्वभाविक अन्त्य भैरहेछ ।

हराभरा स्वप्निल मुनाहरु
रङिचङी नफुल्दै कोपिलामै
मलामीका लस्करहरु चियाउदै
ओइलाउदै कुहिरहेछन बिबशताले ।

न दृष्टिदोष हो, न त कर्णदोष
नकावी कोठाहरुमा लुटिएका छन चेलीहरु
सम्बेदनाहिनताको बिपक्षमा दिउसै
पवित्र अस्मिताका चिच्याहतहरु
घरिघरी म सुनिरहेछु
रेड लाइट एरियाबाट ।

मेरो एक सर्त छ
मेरो देशसँग ।

मर्मको अर्थ खुल्ने गरी झरेका
ति आसुँहरुसँग केही गुनासो छैन
खुशीको महल बन्ने गरी बगेका
ति पसिनाहरुसँग मेरो चित्त दुखाई छैन
तर,
पराइ भूमिलाई आफ्नै ठान्नु पर्ने बाध्यतालाई
मानवीय स्वाभिमानसँग जोख्दाखेरी
हिसावकिताव ठ्याक्कै मिल्नु पर्यो ।

हो,
समयले मुल्य पाउनैपर्छ ।
लेखाजोखा बराबरी हुनैपर्छ ।
मेरो यही एउटै सर्त छ ।

ओ! मेरो देश
ओ! देशवासी
मेरो बिमती छ
कर्णालीको भोकमरी
खाडीले टार्न सक्दैन!
रोल्पाको घाउ
इराकले पुर्न सक्दैन ।

यो सुनुवाई खोज्दैछु
कि बुवाको बिर्य परिक्षीण गरियोस
कि पुन: आमाकै डिम्ब सेचन गरियोस
एक देशभक्त सन्तान त जन्मनै पर्छ ।

मेरो एउटै आग्रह छ
यही एउटा घोषणा छ
अबैधानिक 'रेड लाईट' एरियाबाट ।
17 Dec,’10

3 comments:

  1. http://www.facebook.com/profile.php?id=628643762#!/notes/chandra-gharti-magar/abaidhanika-reda-laita-eriyabata/475143186443

    ReplyDelete
  2. हामी पुष्टौ देखी यही नियती भोगिरहेछौ । अब एउटा पुष्टाले इमान्दारिपुर्बक त्याग नगरे सम्म यसबाट सजिलै छुटकारा पाउने पनि छैनौ । हामीसँग मात्र दुइटा बिकल्प छन, कि आफ्नै मात्र उज्ज्वल भबिश्य कि मुलुकको भाबी उज्यालो भबिश्य ।
    राजु दाइको टिप्पणी नै हाम्रो वास्तबिक यथार्थ हो । कुलानन्द सरले भन्नु भए झै अब उन्मुक्ति पाउने तर्फ सोच्नै पर्छ । जसले समस्या भोगेको हुन्छ उसैले समाधान पनि देखेको हुन्छ । यहाँ टिप्पणी गर्नु हुन्ने आदरनीय अग्रज र मित्रहरुले यो राम्ररी देख्नु, बुझ्नुभा'छ । अधिकांश त देशको सेवा गर्ने चाहना हुँदा हुँदै पनि बाध्यताले देश बाहिर हुनुहुन्छ । तसर्थ उपायहरुको दिर्घकालिन खोजी गर्न छलफल गर्न सकिन्छ ।
    श्रीराम जीको टिप्पणीले मन बेस्सरी पोल्यो । प्रदेशमै एक सच्चा नेपालीको धर्म निभाउनुभएछ । म्रित आत्माको चिर शान्तिको कामना !

    यो कबिता केही बिबादस्पाद होला जस्तो पनि लागेको थियो तर त्यो भएन । शायद देशको बर्तमान परिस्थिती सँग हामी कोही पनि खुशी नभएर होला । देशको कमजोरी अबश्य होइन, माटोको गल्ती केही होइन, सबै दोष हाम्रै हो । जसले गर्दा यो दु:खद दिनहरु आइपरे पनि बाझो चोक्टोहरुमा बिरुवा बनी उम्रिने कोशीस गर्यौ भने बिस्तारै हाम्रो मुलुक पक्कै हराभरा हुनेछ । अनी दिलो-चाडो सम्रिद्ध नेपालका सम्रिद्ध नेपाली बन्ने छौ ।

    डा. कबिताराम सरको 'अस्विक्रित आन्दोलन' बारे पहिल्यै केही जानकार रहे पनि त्यती ज्ञान चाँही मसँग छैन । तर यो सत्य हो कि हाम्रो नियती कैदीको छोरो भन्दा अलिकती पनि भिन्न छैन ।
    म पनि,
    मलाई बाँध्ने मर्यादाको बिरुद्धमा छु । अर्को पोइ वरण गर्न नसक्ने आमाको बिरुद्धमा छु । मर्यादाको दुहाई दिने नपुङ्सक बाबुको बिरुद्धमा छु ।
    किन कि,
    "यहाँ नयाँ मान्छे त जन्मनै पर्छ ।"

    मैले यती भन्न हिच्किचाएन, यदी यती समय सान्दर्भिक र चोटिलो साहित्य पहिल्यै पढेको भए मेरो यो कबिता जन्मिने पनि थिएन ।
    मेरा आदरणीय अग्रज र मित्रहरु, जो इच्छुक हुनुहुन्छ, आ-आफ्नो बिचार राख्न कन्जुस्याइ नगरिदिनुहोला ।

    दिपक खड्का सरले यहाँ राख्नु भएको बिचार हचुवामा आएको अबश्य होइन । उहाँले आफ्नै आँखाले देखे-भोगेको, भित्रैबाट लागेको र बिगतमा सँगालेका अनुभवको सुक्ष्म निचोड पनि हो भन्ने लाग्छ । आज 'राजनागरिक' को जन्म र आबश्यकता झन झन बदेर गैरहेको छ । मलाई विश्वाश छ, राजनागरिकले नै अशल राजनेता जन्माउनेछ । नेतादेखी जनता र जनतादेखी नेतासम्म सबैले गम्भिरतापूर्बक आत्मसमिक्षा र आत्मबोध गर्न सक्यौ भने हाम्रो आकाशमाथि मडारिएको कालो बादल पक्कै पनि हटेर जान बेर लाग्ने छैन । मैले माथि पनि भनेकोछु, हामीले हाम्रो इच्छा शक्ती र खुबी 'will power and ability' को अधिकतम प्रयोग जती राम्ररी गर्न सक्छौ, हाम्रो प्रगती, सुख, शान्ती र सम्रिद्धी लगायत सम्पूर्ण चिज यसैमा भर पर्नेछ ।
    कबिताराम सरको अस्विक्रित सिर्जनाहरु पढेर आफुलाई स्पष्ट पार्दै जाने आशा गरेकोछु । यहाँहरुको प्रतिकृयाले म खुशी त छु नै, बैचारिक खालका धारणाहरुले गर्दा आफुलाई अझ परिस्क्रित हुन मद्धत पुग्नेछ ।

    मैले सबैलाई भाग लाउन असमर्थ रहे पनि आँफैले खोज्दै आएर Like गर्नु हुने र कमेन्ट छाड्नु हुने मेरा आदरणीय अग्रजहरु, हितैषी मित्रहरु सबै प्रती क्रितज्ञ छु । मलाई बडो पिडा हुन्छ, अहिले मैले बैधानिक एरियाबाट यो घोषणा गरेको छैन तर म चाहन्छु, मैले बैधानिक एरियाबाट नै यो उद्घोष गर्नु परोस । मेरो यो बिनम्र आग्रह हो । शायद सुन्नुपर्नेहरु द्वारा कहिल्यै नसुनिएको आवाज पनि हो भन्ने लाग्छ । हाम्रो यो चाहना ढिलोचाडो अबश्य पुरा हुन्छ भन्ने आशा बचाई राखौ । हामीले आफ्नो इच्छा शक्ति र खुबीको प्रयोग गरौ अनी चाडै बन्नेछ सम्रिद्ध नेपाल, बन्नेछौ सम्रिद्ध नेपाली ।
    यहाँहरुले कबितामा दिनुभएको समयका लागि हृदयदेखी नै आभारी छु । यहाँहरुको सकारात्मक प्रतिकृयाले मलाई केही लेखिरहन सदा मार्ग दर्शन गरिरहनेछन । यहाँहरुले दिनुभएको असीम माया नै मेरो लागि उत्साह र प्रेरणाका स्रोत हुन । आउने दिनहरुमा पनि निरन्तर यस्तै माया र प्रेरणाको अपेक्षा राख्दै हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

    ReplyDelete