Monday, December 13, 2010

चमत्कार

जिउदा जिउदै
जीवन मरेछु थाहै नपाई
अलिकती उनकै कारणले
अलिकती मेरै कारणले ।

पाउनु र गुमाउनु
भेटिनु र छुटिनु
मीठो नियती रैछ
जिन्दगी र प्रेमको ।

तर आश्चर्य भो!
सदाबहार फूलिरहने
अजम्बरी फूल वइलाएछ
भावनाको अविरल मूल
आज एकाएक सुकेछ ।

यो एउटा चमत्कार हो
यो नै यथार्थ पनि ।

कतै भेट्ने आशमा
धर्तीभरी चियाउछन आँखाहरु
आँफैलाई सोध्छु
सपनालाई कुल्चेर उनी
उतै अलप भईछिन् ।

भुपु मायालु त
अर्कै लोकमा बसाइ सरिछिन्
तर
म उनिसङै बासै सर्न पनि सकिनँ
बरु ग्रेट वालमा पाइला टेकेंर
आँखा चिम्लिदै बिर्सिदिने संकल्प गरें 
चमत्कारी ग्रेट वालको भूईमा
यो अर्को चमत्कार बनाएँ ।

चन्द्रमाले ग्रेट वाल देख्छ भने
ग्रेट वालले त झन चन्द्रमा देख्छ नै 
मैले उनको चन्द्रलोक चियाएँ
उनले पनि मलाई पक्कै नियालिन होला ।

म मर्दा मर्दै
अब जीवन जिउन थालेकोछु । 

३० अक्टोबर, २०१०

बेइजिङ, चाइना

No comments:

Post a Comment