दिमखोला !
अझै याद छ मलाई
कलकल गर्ने तिम्रो बोलीमा
चौडा तिम्रो छात्तीमा, झरनामा
खुल्ला हृदय र जिस्किने बानीमा
हाँसिरहन्थ्यौ सधैं सधैं
हसाइरहन्थ्यौ सधैं सधैं
यसैमा म पनि रमाइरहन्थें
लाग्थ्यो,
अशली जिन्दगी जिउन कसैले जानेको छ त
त्यो तिमी नै हौ
कसैले सिक्न चाहेमा पनि
सिकाउने गुरु तिमी नै हौ
मैले तिमीलाई कहिल्यै निराश र दुखी देखिन
सधैं सुशील, कन्चन र चन्चल मात्र देखिरहेछु ।
दिमखोला !
तर,
आज मसँग सधैं झै हाँस्ने र हसाउने खबर छैन
म त तिमीलाई एउटा मृत्यु खबर पो दिन खोज्दैछु
बिन्ती! माफ गर मलाई
नसके पनि सुनाउनु परेकोछ
नचाहेर पनि भन्नु परेकोछ
तिम्रो नाममा दु:खद खबर बोकेर आएकोछु
हो, एउटा पिडादायी खबर
पिडा नै पिडाले भरिएको कुम्लो लिएर आएकोछु ।
दिमखोला !
कुनै दिन तिम्रो काखमा
एउटा टुहुरो शिशु लदिबुदी खेल्न आएको थियो रे
सौतेनी आमाको चोटले आहत बनेर
तिम्रो पाउमा रुन आएको थियो रे
त्यो बालक,
आमा खोज्दै तिम्रो नजिक आएर चियाउदा
तिमीले तिम्रै अमृतजल पिलाएर
आमाकी दुधको तिर्सना मेटाइदियौ रे
फकाइ फुलाई गरेर आसुँ पुछिदिदै
अङालोमा सुम्सुम्याएका थियौ रे
अनी हराएको उसको मुस्कान हेर्न
हाँस्दै रुदै जिस्किदै खेल्थ्यौ रे
उसैको सुख र खुशीको लागि
बिभिन्न जीवन खेल सिकाएथ्यौ रे
अप्ठ्यारोसँग जुध्न र जित्न
आत्मबल र ज्ञान दिलाएथ्यौ रे ।
जीवनका हरेक पलहरुमा
साथ र हात दिएथ्यौ रे ।
तर अब,
उही टुहुरो बालक,
तिम्रो सज्जन सहपाठी,
तिमीले सिकाएका ज्ञानहरु
तिमीसँगको साईनो हामीलाई छाडेर
सधैं सधैंका लागि बिदा भएर जानुभयो !
दिमखोला !
हो,
उहाँले हामीलाई एक्लै छाडेर जानुभयो
उहाँले भन्नुहुन्थ्यो, बारम्बार
"जानेबेलामा, अन्तिम पटक
दिमखोलासँग भेट गराइदेउ
दिमखोलासँग बिदा लिन्छु
गुण तिर्न नसकेकोमा माफि माग्छु"
तर,
उहाँको चाहना बिपरित
हामीले झन झन टाढा पुर्यायौ
उहाँले एकचोटि तिमीलाई भेटेर
शिशु र बाल्यकालदेखिको सम्झना
मुटुमा साँचेर जाने अन्तिम इच्छा
हामीले पुरा गरिदिन सकेनौ ।
दिमखोला !
क्षमा गर है !
हाम्रो बुवालाई निष्ठुरी ठान्दै नठान
हाम्रो देवतालाई अपवित्र मान्दै नमान
हाम्रो जन्मदातालाई स्वार्थी सोच्दै नसोच
दोषी त हामी हौ
मन दुखाऔ, चित्त दुखाऔ, हामीसँग
गाली देउ, सराप देउ, हामीलाई नै
हाम्रो गल्तिको सजायमा हाम्रो बुवालाई
स्वर्ग जाने बाटोमा नअल्झाउनु है
स्वर्गको दोका बन्द नगर्दिनु है, कसैगरी
अन्तिम शास रहुन्जेल पनि
तिम्रै नाम जपिरहनुभाथ्यो
अन्तिम धड्कन चलुन्जेल पनि
तिमीलाई भेट्न चाहिरहनुभाथ्यो
उहाँ त चाहनुहुन्थ्यो,
बाँचे पनि तिम्रै अमृत-जलले बचाइदियोस्
जाने नै भए पनि तिम्रै काखमा प्राण जावस्
तर,
दिमखोला !
आशै आशमा बस्यौ हामीहरु
अन्तिमसम्म पनि ठुलो सपना देखिरह्यौ
अनी अहिले
न त उहाँ तिमीसँग, तिम्रै काखमा
न त हामीसँग, हाम्रै साथमा
रहनु भएन कसैसँग, कसैको माझमा
एक्लै एक्लै जानुभयो, कहिल्यै नफर्किने गरी
हामीलाई सधैं सधैंका लागि टुहुरो पारेर जानु भयो ।
दिमखोला !
डमाकुर र मान्डलिपलाई पनि यो खबर पुर्याइदिनु
पोतल, बिचिवाङ र राङ्सी भीरलाई पनि यो कुरा भन्नु
झिम्फु, राङ्झिना र किउलिवाङलाई पनि यही खबर गर्नु
अब कसैले नपर्खिए हुन्छ
हाम्रो सामु उहाँ अब कहिल्यै आउनु हुन्न
बरु, सबैले माफ गरुन्
अन्तिम बिदा माग्न पाउनु भएन
चाहदा चाहदै पनि समयले हतार गर्यो
सपना जस्तो लाग्ने बिपना भैदियो
अब उहाँको अन्तिम सन्देश मात्र छ ।
धेरै नरुनु, चिन्ता नलिनु
धेरै नपिर्नु, धेरै नदुख्नु
आँफैलाई सम्हाल्नु, विश्वाश नहार्नु
अजर-अमर तिम्रो अमृत-जल
तोके-टुहुरालाई पिलाइरहनु
असहायको दौतरी बनिरहनु
सबैलाई कृपा गरिरहनु
निश्छल माया पाइरहनु
तिमी निरन्तर यसरी नै
बगिरहनु, बगिरहनु, बगिरहनु,.. ।
20 May,'09
Sunday, April 4, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment